शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४०३० - राजकाज

भाग: ३१ साल: २०४६ महिना: चैत्र अंक: १२

निर्णय नं. ४०३०     ने.का.प. २०४६                        अङ्क १२

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४५ सालको फौ.पु.नं. ५५९

फैसला भएको मिति :      २०४६।११।३०।३ मा

पुनरावेदक/वादी : प्र.ना.नि. देवेन्द्रबहादुर समेतको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

विपक्षी/प्रतिवादी : जि. रुपन्देही कम्हरिया गा.पं. वार्ड नं. २ बस्ने अम्बरबहादुर जि. सी.समेत

मुद्दा : राजकाज

§  बहस तथा पुनरावेदनबाट जुन आधारहरु देखाई वारदात भए गरेको भनी देखाउन खोजिएका छ सो एउटा प्रहरीको प्रतिवेदन मात्र देखिएको छ र त्यसको समर्थन अरु स्वतन्त्र प्रमाणबाट भएको पाइँदैन, जो पर्चा टाँसिएको भनिएको छ सो पर्चा यिनै अभियुक्तहरुले टाँसेको भन्ने पनि कुनै सबूद आएको पाइँदैन । सरजमीनको कुराले पनि अदालतमा बकपत्र भई प्रमाण ऐन, २०३१ ले व्यवस्था गरे बमोजिम प्रामाणिक रुप लिनसकेको समेत नदेखिएकोले क्षेत्रीय अदालतको इन्साफमा तल माथि गर्नु पर्ने कुनै अवस्था नदेखिने ।

(प्रकरण नं. ४१)

पुनरावेदक, वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.

फैसला

            न्या. हिरण्येश्वरमान प्रधान: पश्चिमाञ्चल क्षेत्रीय अदालतको ०४५।८।१ को फैसला उपर चित्त नबुझाई श्री ५ को सरकारको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय निम्न अनुसार छ ।

            २.    मिति २०३७।७।१ गते कम्हरीया गा.पं. ईलाकामा गस्ती घुम्न र राजकाज मुद्दामा फेला नपरेका अम्बरबहादुर जि. सी., विष्णु बोहरालाई पक्राउ गर्न जाँदा कम्हरीया गा.पं. को नि.मा.वि. स्कूल अगाडी क्रान्तिकारी साँस्कृतिक कार्यक्रम भइरहेको रहेछ । सो कार्यक्रमको कलाकारमा अम्बरबहादुर जि. सी., विष्णु बोहरा, अरु नचिनेका ८,९ सय व्यक्तिहरुले श्री ५ वीरेन्द्र मुर्दावाद, पञ्चायती व्यवस्था मुर्दावाद, पुलीस कुत्तालाई मार्नु पर्छ भन्ने नारा लगाई अकस्मात मसंग गएका प्र.स.नि. नारायणबहादुर बस्नेत, समेतलाई ढुङ्गा, लाठी, छुरी प्रहार गर्दै रहेको र सम्झाउँदा पनि नमानी झन उग्र रुप लिई ढुङ्गा मुढाले प्रहार गरी रहँदा प्र.समसुद्दिन पठानको राइफल मागी अनावश्यक अभद्र व्यवहार भएमा गोली चल्छ भनी सम्झाउँदा पनि नमानी हातपात गरेकोले एक राउण्ड हवाई फायर गर्दा एक व्यक्तिले प्र.अहमद अलिको राईफल खोस्न लाग्दा निजलाई लागी घुँडामुनि १ राउण्ड गोली हान्दा केही तितर वितर भएपछि बुझ्दा विजयप्रसाद थारु र तारापति भट्टराई घुँडा तथा पेटको छाला पिंल्साउँदै घायल भएको भन्ने थाहा पाइएको र प्र.स.नि. नारायणबहादुर बस्नेत समेतलाई निजहरुले प्रहार गरेकोले घा जाँच गराई राजकाज (अपराध र सजायँ) ऐन अन्तर्गत कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको प्र.ना.नि. देवेन्द्रबहादुर बस्नेतको २०३७।७।२ गतेको प्रतिवेदन ।

            ३.    घाइते हुने तारापति भट्टराई, विजाप्रसाद थारु मध्ये तारापति भट्टराईको मृत्यु भएको भन्ने जिल्ला प्रहरी कार्यालय पाल्पाको ०३७।७।३ को पत्र ।

            ४.    राजकाज मुद्दामा फरार रहेका अम्बरबहादुर जि. सी., विष्णु बोहरा समेतका उग्रवादी कमनिष्टका मानिसहरुले सरकार विरोधी क्रान्तिकारी नाटक गरेछन भन्ने बुझिएकाले पक्राउ गर्न जाँदा पुलिस कुत्ता डाँकालाई मार्नपर्छ, पञ्चायती व्यवस्था मुर्दावाद, श्री ५ वीरेन्द्र मुर्दाबाद भन्दै ईटा लाठी प्रहार गरी राईफल खोस्न लागेबाट स.ई. देवेन्द्र बस्नेतले प्र.ज. समुसुद्दीन पठानको राइफल मागी १ राउण्ड हवाई फायर गरे र अरु २ जनाले ११ राउण्ड हवाई फायर गरे त्यसपछि नहटी राइफल नै लिने प्रयास गरेबाट १ राउण्ड स.ई.देवेन्द्रबहादुर बस्नेतले तल घुँडा मुनि ताकी फायर गरेका हुन निजहरुले प्रहार गरेको चोट हामीलाई लाग्न गएको हो भन्ने प्र.स.नि.नारायणबहादुर बस्नेत समेतको ०३७।७।२ को प्रतिवेदन ।

            ५.    मिति २०३७।७।१ गतेको राती कम्हरीया गा.पं. वडा नं. २ छपिया वीरेन्द्र प्रा.वि.भवन अगाडि क्रान्तिकारी खालको वर्गीय समाजशीर्षकको नाटक कार्यक्रम भएको गानाको शीर्षक लालसलाम थियो । कार्यक्रम गराउने अम्बरबहादुर जि. सी., विष्णु बोहरा हुन । सो रात प्रहरी अधिकृत समेतका टोली आउँदा श्री ५ वीरेन्द्र मुर्दावाद, पञ्चायती व्यवस्था मुर्दावाद, पुलीस कुत्तालाई मार्नु पर्छ भनी नारा लगाई लाठी ढुङ्गा छुरी समेतले प्रहरी माथि प्रहार गरेका हुन । प्रहरीले सम्झाउँदा पनि नमानेर भिड उत्तेजित भएकाले १ पटक हवाई फायर भएको हो । निजहरुले प्रहरीको राइफल समेत खोस्न लागेकोले आत्म सुरक्षा र राइफल बचाउनका लागि फायर गर्दा तारापति भट्टराई र विजाप्रसाद थारुलाई लाग्न गई घाइते भएका हुन । प्रहरीलाई समेत चोट पटक लागेको छ । अम्बरबहादुर जि. सी. र विष्णु बोहरा कम्युनिष्ट हुन । वर्गीय समाजभन्ने सादा कागजमा लेखेको पर्चा दाखिल गरेका छौं भन्ने समेत व्यहोराको विजयलाल भण्डारी समेतले गरेको सरजमीन मुचुल्का ।

            ६.    अष्टमीको दिनमा वीरेन्द्र प्रा.वि. मा म अम्बरबहादुर जि. सी., विष्णु बोहरा, रतन पोखरेल राजन भुसाल, नेहरु घिमिरे, केन्द्रबहादुर क्षेत्री, सुर्य भक्त उपाध्याय, मानबहादुर महत, धनबहादुर क्षेत्री समेत भई वर्गीय समाजशीर्षकको नाटक २०३७।६।१ बाट रियल्र्सल गरी २०३७।७।१ गते स्कुलको अगाडि स्टेज खडा गरी नाटक देखाएकै अवस्था प्रहरीहरु आए, सबै भाग्न थाले नभाग्नूस भनेको थिएँ । प्रहरी माथि आक्रमण गरेकै कारणले गोली चलाउन बाध्य भएका हुन । बिजा थारु र तारापति भट्टराई समेतका व्यक्तिहरुले नै हुल गरी प्रहरी माथि ढुङ्गा मुढाबाट प्रहार गर्दा प्रहरीहरुलाई चोट लाग्न गएको हो । संकल्प किताबबाट नै शीर्षक वर्गीय समाजभन्ने गीतबाट नाटकको नाम राखिएको हो । अम्बरबहादुर जि. सी., कम्युनिष्ट विचारधाराका व्यक्ति हुन । मैले सरकार विरोधी नारा लगाएको होइन भन्ने समेत व्यहोराको प्रेमकुमार पोखरेलले प्रहरीमा गरेको बयान कागज ।

            ७.    नाइटोको बायाँ पट्टी कोखामा गोली लागेको घाउ १ पछाडि कण्ढो देखि माथि ढाडको बायाँपट्टि गोली लागेको घाउ १ भन्ने तारापति भट्टराईको लाश प्रकृति मुचुल्का ।

            ८.    मिति २०३७।७।१ गते पद्मपाणी बाहुन, खगेश्वर तिवारी, निलप्रसाद बाहुन, चेत नारायण बाहुन बुद्धिसागर बाहुन समेत भई छपियामा नाटक हेर्न गइयो । वीरेन्द्र प्रा.वि.को अगाडि वर्गीय समाजशीर्षक नाटकको नाम रहेछ । कलाकारमा अम्बरबहादुर जि. सी., विष्णु बोहरा, रतन पोखरेल, प्रेम पोखरेल, राजन भूसाल, नेहरु घिमिरे, केन्द्रबहादुर क्षेत्री, सूर्यभक्त उपाध्याय, मानबहादुर, धनबहादुर क्षेत्री, घनश्याम भूसाल समेत थिए । सरकार विरोधी गाना र जय क्रान्तिकारी भनी पुकार गर्दै क्रान्तिकारी नाटक गर्दै थिए । राती ११ बजेतिर प्रहरी त्यहाँ आएपछि कलाकारहरुले पुलिस कुकुरहरु आए यिनीहरुलाई नमारी छाडदैनौं भनी कराई प्रहरी माथि ढुङ्गा लाठी प्रहार गर्न थालियो । प्रहरीले सम्झाउँदै थिए तैपनि मानेनन् र श्री ५ वीरेन्द्र मुर्दावाद, पञ्चायती व्यवस्था मुर्दावाद भन्ने नारा लगाउँदा प्रहरीबाट २ फायर भयो पछि हुलले प्रहरीको राइफल समेत खोस्न जाँदा पुनः २ फायर भएको जस्को गोली मेरो दायाँ घुँडामा र तारापति भट्टराईलाई लागेको हो । तारापति भट्टराईले पनि कम्युनिष्ट पार्टीहरुको साथमा नारा लगाएका हुन भन्ने समेत व्यहोराको विजा भन्ने बिजाप्रसाद थारुले प्रहरीमा गरेको बयान कागज ।

            ९.    २०३७।७।१ गते सो नाटक हेर्न गएको थिएँ । नाम वर्गीय समाजथियो । नाटक प्रगतिशील युवा क्लबको आयोजनामा देखाएको हो । कलाकारमा मैले नचिनेका अम्बरबहादुर जि. सी. विष्णु बोहरा हुन भन्ने सुनेको हुँ । प्रहरीहरु आएपछि दर्शकहरु समेतले प्रहरीहरुलाई ढुंड्डा मुढाले प्रहार गरेका थिए । गोली फायर भएको र निजहरुबाट श्री ५ वीरेन्द्र मुर्दावाद, पञ्चायती व्यवस्था मुर्दावाद भन्ने नारा लगाएको सुनेको हुँ । बिजा थारु र तारापति भट्टराई हुलमा अगाडि गई प्रहरी माथि आक्रमण गर्दा गोली चलेको हो भन्ने समेत व्यहोराको घनश्याम भुसालले प्रहरीमा गरेको बयान कागज ।

            १०.    २०३७।७।१ गते प्रेमकुमार पोखरेल, अम्बरबहादुर जि. सी., विष्णु बोहरा, राजन भुसाल, नेहरु घिमिरे, केन्द्रबहादुर क्षेत्री, सूर्यभक्त उपाध्याय, मानबहादुर महत, धनबहादुर र म समेतले वर्गीय समाज शीर्षकको नाटक गरेको र प्रहरीहरु आउने वित्तिकै पुलिस कुत्तालाई मार्नुपर्छ भनी ढुङ्गा मुढाले प्रहार गरी श्री ५ वीरेन्द्र मुर्दावाद, पञ्चायती व्यवस्था मुर्दावाद भन्ने नारा लगाई प्रहरीको राइफल समेत खोस्न पुग्दा बन्दुक फायर भई बिजाप्रसाद थारु र तारापति भट्टराईलाई लाग्न गएको हो भन्ने समेत व्यहोराको रतन पोखरेलले प्रहरीमा गरेको बयान कागज।

            ११.    बुझिएका सबूद प्रमाणबाट विरुद्ध खण्डमा लेखिएका प्रतिवादीहरुले मिति २०३७।७।१ गतेमा अवैध क्रान्तिकारी वर्गीय समाज नामक नाटकको शीर्षक लिई गाना लाल सलाम जस्ता प्रगतिशील जोशीला जस्ता सरकार विरोधी गाना गाई श्री ५ वीरेन्द्र मुर्दावाद, पञ्चायती व्यवस्था मुर्दाबाद, भन्ने नारा लगाई प्रहरीलाई कुकुर भन्ने अश्लील शब्द प्रयोग गरेका र श्री ५ महाराजाधिराज सरकार तथा श्री ५ को सरकार समेतमा घृणा, द्वेष अवहेलना हुने गरी नाटक देखाएको र नारा लगाएको हुँदा निजहरुले राजकाज (अपराध र सजायँ) ऐन, २०१९ को दफा ६ अनुसार कसूर गरेकाले पक्राउमा परेका रतन पोखरेल, प्रेमकुमार पोखरेल, घनश्याम भुसाल, बिझाप्रसाद थारु, र फेला नपरेका अम्बरबहादुर जि. सी. विष्णु बोहरा, राजन भुसाल, नेहरु घिमिरे, केन्द्रबहादुर क्षेत्री, सूर्यभक्त उपाध्याय, मानबहादुर महत, धनबहादुर क्षेत्री, पदमपाणी बाहुन, खगेश्वर तिवारी, निलप्रसाद बाहुन, चेतनारायण बाहुन, बुद्धि सागर बाहुनलाई कानुन बमोजिम तहाँबाटै झिकाई ऐ.ऐनको दफा ६ को उपदफा (१) र (२) अनुसार सजायँ हुन माग गरिएको छ भन्ने समेत संयुक्त प्रहरी प्रतिवेदन ।

            १२.   प्रहरीमा भएको मेरो बयान स्वइच्छाले गरेको होइन । २०३७।७।१ गते दशैंको उपलक्ष्यमा महाअष्टमीको दिन छपिया दुर्गापुरमा भएको वीरेन्द्र प्रा.वि. को अगाडि वर्गीय समाज नाटक देखाएको हो । सो समयमा प्रहरीहरुलाई स्टेज भित्र पसेकोले होहल्ला भई २ फायर गोलीको आवाज सुनिएको हो । श्री ५ तथा श्री ५ को सरकार प्रति कुनै नराम्रै असर पर्ने खालको नाटक नभएकोले भाग लिएको हुँ प्रहरी प्रतिवेदन दावी बमोजिम मैले कुनै अपराध गरेको छैन भन्ने समेत व्यहोराको प्रेमकुमार पोखरेलले लुम्बिनी अञ्चलाधीश कार्यालयमा गरेको बयान ।

            १३.   मिति २०३७।७।१ गते बडा दशैंको उपलक्ष्यमा छपिया दुर्गापुर स्थित वीरेन्द्र प्रा.वि. को प्राङ्गणमा वर्गीय समाज नामक नाटकको कार्यक्रम भएको हो । सो नाटकमा मैले पनि भाग लिएको थिएँ । प्रेमकुमार, राजन भुसाल, कर्मबहादुर, धनबहादुर र अन्य ससाना भाइ वैनीहरु पनि थिए । अम्बरबहादुर जि. सी., विष्णु वोहरा कहिले काही गाउने बजाउने काममा सहयोग गर्थे । अवैध नारा लगाएको र प्रहरी प्रतिवेदन दावी बमोजिम मैले कुनै प्रकारको कसूर गरेको छैन । युवा क्लवमा रहेका किताबहरुलाई मबाट बरामद भएको भनी प्रतिवेदन साथ दाखिल गरेको हुनुपर्छ भन्ने समेत व्यहोराको रतन पोखरेलले लुम्बिनी अञ्चलाधीश कार्यालयमा गरेको बयान ।

            १४.   प्रहरीमा भएको बयान मैले भने बमोजिम लेखिएको होइन । २०३७।७।१ गतेका दिन साँझ ५ बजे तिर म र मेरै गाउँका पदमपाणि, खगेश्वर, निलप्रसाद चेत नारायण, बुद्धि सागर समेत भई नाटक हेर्न छपिया गाउँमा गएका थियौं । ७ बजेतिर पुगी ९ बजेबाट नाटक शुरु भयो सोही अवस्था हतियार सहितका प्रहरीहरु आई स्टेज भित्र गए । त्यत्तिकैमा दर्शकहरु छितर भए म पनि पछाडितिरबाटै पछि हट्न लागेको अवस्था फायर भएको हो । सो फायर भएको गोलीबाट म र तारापतिलाई लाग्यो । तारापतिलाई मिसन अस्पताल पाल्पामा औषधि गर्न लाँदा उही मृत्यु भएको हो मैले प्रहरी प्रतिवेदन बमोजिम कुनै अपराध गरेको छैन भन्ने समेत व्यहोराको बिझाप्रसाद थारुले लुम्बिनी अञ्चलाधीश कार्यालयमा गरेको बयान ।

            १५.   प्रहरी प्रतिवेदन दावी बमोजिमको अपराध मैले गरेको होइन भन्ने समेत व्यहोराको सूर्यभक्त उपाध्यायको बयान ।

            १६.    मिति ०३७।७।१ गते छपिया दुर्गापुर स्थित वीरेन्द्र प्रा.वि. को प्राङ्गणमा बर्गीय समाज नाटक प्रगतिशील युवा क्लवको आयोजनामा हुन्छ भन्ने थाहा भई घरबाट भाइ बहिनी समेत ५ जना नाटक हेर्न गयौं । राती ९ बजेतिर नाटक शुरु भयो । राती ११ बजेतिर ८।९ जना हात हतियार सहितका प्रहरीहरु एक्कासी स्टेजभित्र पसे । प्रहरीहरु माथि ढुङ्गा मुढा प्रहार भएको र अवैध नारा लगाएको समेत मैले थाहा पाइन । प्रहरी प्रतिवेदन दावी बमोजिम मैले कुनै अपराध गरेको छैन भन्ने समेत व्यहोराको घनश्याम भुसालले लुम्बिनी अञ्चलाधीश कार्यालय बुटवलमा गरेको बयान ।

            १७.   मिति ०३७।७।१ गतेको दिन आमा बिरामी भएको कारणले रेखदेख गरी आफ्नै घरमा छु । उक्त दिन प्रतिवादीहरुसंग मेरो भेटघाट भएको होइन । उक्त दिन म नाटक हेर्न गएको होइन । बिजाप्रसाद थारुको बयान झुठ्ठा हो । म घटनास्थलमा नै नभएको हुँदा मैले प्रहरी प्रतिवेदन दावी अनुसार कसूर गरेको होइन भन्ने समेत व्यहोराको निलप्रसाद भुसालले लुम्बिनी अञ्चलाधीश कार्यालय बुटवलमा गरेको बयान ।

            १८.   मिति २०३७।७।१ गतेको दिन छपिया गाउँमा नाटक हेर्न गएको होइन । म आफ्नै घरमा छु । उक्त दिन साँझ प्रतिवादीहरुसँग भेटघाट भएन । बिझाप्रसाद थारुको बयान झुठ्ठा हो छपियामा नाटक हुँदा प्रहरीद्वारा गोली चली मानिस मरेको भन्ने कुरा सुनी थाहा पाएको हुँ । मैले प्रहरी प्रतिवेदन माग बमोजिम कसूर गरेको होइन किन त्यस किसिमको दावी लिए भन्न सक्दिन भन्ने समेत व्यहोराको खगेश्वर तिवारीले लुम्बिनी अञ्चलाधीश कार्यालयमा गरेको बयान।

            १९.    मिति २०३७।७।१ गते छपिया गाउँमा नाटक हेर्न गएको होइन । त्यस दिन म आफ्नै घरमा छु । बिझाप्रसाद थारुको बयान झुठ्ठा हो । नाटकमा गोली चल्यो भन्ने सुनेको हुँ । प्रहरी प्रतिवेदन दावी अनुसार मैले कुनै कसूर गरेको छैन भन्ने समेत व्यहोराको पदमपाणी सापकोटाले लुम्बिनी अञ्चलाधीश कार्यालयमा गरेको बयान ।

            २०.   प्रहरी प्रतिवेदन दावीको अपराध मैले गरेको होइन भन्ने समेत व्यहोराको प्र.धनबहादुर क्षेत्री, प्र.राजन भूसालले गरेको बयान ।

            २१.   २०३७ साल कार्तिक आउनु भन्दा १५ दिन अघि जग्गा जमीन नभएकोले भारततर्फ नोकरी गर्न गएको हुँ । फाल्गुण महीनाको अन्तिम तिर घर आएको हुँ । प्रहरी प्रतिवेदन दावी बमोजिम मैले कुनै कसूर गरेको छैन भन्ने समेत व्यहोराको मानबहादुर महतले लुम्बिनी अञ्चलाधीश कार्यालयमा गरेको बयान ।

            २२.   २०३७।७।१ गतेको दिन रात छपिया साझा संस्थामा छु । त्यहाँको चौकीदारी पद हुँदा रातीको पालो पहरामा बसेको छु । छपियामा नाटक हेर्न गएको होइन । मैले प्रहरी प्रतिवेदन दावी बमोजिम कसूर गरेको होइन भन्ने समेत व्यहोराको केन्द्रबहादुर थापा क्षेत्रीले लुम्बिनी अञ्चलाधीश कार्यालयमा गरेको बयान ।

            २३.   २०३७।६।१४ गते र २०३७।७।१ गतेको दिन रात म भारत पंजाब अमृतसरमा छु । २०३७।५।२५ गते घरबाट हिंडी चेस फ्याक्ट्रीमा गई नोकरी गरी ०३८।५।२५ गते मात्र घर फर्की आएको । घटना भएको भनिएको दिन मिति र मुद्दाहरुमा म समावेश नभएको हुँदा मैले कुनै अपराध गरेको छैन । प्रहरीले मलाई किन दावी गरे भन्न सक्दिन मैले कुनै अपराध नगरेको हुँदा दावीबाट फुर्सद गरी पाउँ भन्ने समेत व्यहोराको विष्णु बोहराले लुम्बिनी अञ्चलाधीश कार्यालयमा गरेको बयान ।

            २४.   मिति २०३७।६।१४ गते र मिति २०३७।७।१ गतेका दिन रात म भारत पञ्जाब अमृतशर गिज फ्याक्ट्रीमा नोकरी गरी बसेको थिएँ । २०३७ साल असार महीनाको शुरुमा सो ठाउँमा गई २०३८ साल पौष २६ गते मात्र घरमा आएको हुँ । वारदात घट्दाको अवस्थामा म यहाँ नभएकोले उल्लेखित अपराधहरु मैले गरेको छैन । मलाई सरजमीनमा किन पोल गरे थाहा छैन । म उपरको प्रहरी प्रतिवेदन दावी झुठ्ठा हो भन्ने समेत व्यहोराको अम्बरबहादुर जि. सी.ले लुम्बिनी अञ्चलाधीश कार्यालयमा गरेको बयान ।

            २५.   प्रतिवादीहरु एक अर्काले नाटक हुँदा संग संगै थियौं भनी शुरु प्रहरी कार्यालयमा पोल गरी बयान कागज गरी दिएको समेतका प्रमाणबाट प्र.अम्बरबहादुर जि. सी., प्र.प्रेमकुमार पोखरेल, रतन पोखरेल, प्र.विजाप्रसाद थारु, प्र.घनश्याम भूसाल समेतले श्री ५ को सरकारको द्वेष अपहेलना फैलिने किसिमको क्रान्तिकारी नाटक देखाएको देखिन आएकोले राजकाज (अपराध सजायँ) ऐन, २०१९ को दफा ६(२) को अपराध गरेको ठहर्छ र प्र.चेतनारायण बाहुन, प्र.बुद्धि सागर बाहुन, प्र.नेहरु घिमिरेका हकमा फेरार रहेका हुँदा मुलतवी राख्ने र अन्य प्रतिवादी राजन भुसाल, केन्द्रबहादुर क्षेत्री, धनबहादुर क्षेत्री, मानबहादुर महत, सूर्यभक्त उपाध्याय पद्मपाणी बाहुन, खगेश्वर तिवारी, निलप्रसाद बाहुनले सफाई पाउने ठहर्छ भन्ने समेत लुम्बिनी अञ्चलाधीश कार्यालयको मिति २०४०।२।१९ गतेको फैसला ।

            २६.   २०३७।७।१ गते भन्दा दुई दिन अगाडि अर्थात् २०३७।६।२६ गतेका दिन हेटौंडामा मोटर पार्टसको दुकान भएको र सो ठाउँमा टिका लगाउन गएको हुँ । दुर्गापुर स्थित प्रा.वि.मा भएको नाटकमा भाग लिएको वा हेर्न समेत गएको होइन । हेटौंडाबाट फर्की आएपछि दुर्गापुर स्कुलमा नाटक हुँदा हुल दड्डा भई प्रहरीको तर्फबाट गोली चली २ जनालाई गोली लागेकोमा १ जना तारापति भन्ने मरेको कुरा गाउँ घरमा सुनेको हुँ । नाम सुनाइएका प्रतिवादीहरु मध्ये गाउँ छिमेकका संग चिन जान छ । अन्यसंग चिनजान छैन । म नाटकमा थिएँ भनी प्रेमकुमार समेतले गरेको बयान झुठ्ठा हो । मैले प्रहरी प्रतिवेदन दावी अनुसार कसूर गरेको छैन भन्ने समेत व्यहोराको नेहरु भन्ने नेत्रबहादुर घिमिरेले लुम्बिनी अञ्चलाधीश कार्यालयमा गरेको बयान ।

            २७.   प्र.निलप्रसाद समेतका साक्षीको बकपत्र मिसिल सामेल रहेछ ।

            २८.   प्र.नेहरु भन्ने नेत्रबहादुर घिमिरेको साक्षी वीरबहादुर थापा र शिवलाल अधिकारीले गरेको बकपत्र मिसिल संलग्न रहेछ ।

            २९.   प्र.नेहरु भन्ने नेत्रबहादुर घिमिरे आरोपित कसूरमा इन्कारी भई बयान गरेको र निजका साक्षीले निजको बयानलाई समर्थन गरी बकपत्र गरी दिएको देखिँदा प्रहरी प्रतिवेदन दावी अनुसार कसूर अपराध गरेको कुनै ठोस प्रमाण बेगर पोलेकै आधारमा दावी बमोजिमको अपराध गरेको भनी ठहर्‍याउन न्यायोचित नहुँदा निज प्र.नेहरु भन्ने नेत्रबहादुर घिमिरेले प्रहरी प्रतिवेदन दावी अनुसार कसूर गरेको ठहर्दैन भन्ने लुम्बिनी अञ्चलाधीश कार्यालयको मिति २०४२।३।५ गतेको फैसला ।

            ३०.   लुम्बिनी अञ्चलाधीश कार्यालयको फैसलामा चित्त नबुझेकोले पुनरावेदन गरिएको छ । तथ्य प्रमाणको मूल्यांकन नै नगरी गरिएको शुरु फैसला बदर गरी प्रतिवादीहरुलाई शुरु प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ गरी पाउने अनुरोध गरिएको छ भन्ने समेत व्यहोराको श्री ५ को सरकारतर्फबाट गरेको पुनरावेदनपत्र ।

            ३१.   लुम्बिनी अञ्चलाधीश कार्यालयको फैसलामा चित्त बुझेन, सो लुम्बिनी अञ्चलाधीश कार्यालयको त्रुटिपूर्ण फैसला उल्टी गरी मलाई सफाई दिलाई पाउँ भन्ने समेत व्यहोराको प्र.प्रेमकुमार पोखरेलले गरेको पुनरावेदनपत्र ।

            ३२.   लुम्बिनी अञ्चलाधीश कार्यालयको फैसलामा चित्त बुझेन, कानुन र तथ्य प्रमाण र कानुनी सिद्धान्त समेतको मूल्याङ्कन गरी शुरु लुम्बिनी अञ्चलाधीश कार्यालयबाट भएको त्रुटिपूर्ण फैसला बदर गरी हक इन्साफ पाउँ भन्ने समेत व्यहोराको प्र.रतन पोखरेल, प्र.अम्बरबहादुर जि. सी. समेत जना २ को संयुक्त पुनरावेदनपत्र ।

            ३३.   प्रतिवादी पुनरावेदकबाट दाखिल भएको नाटक सरसरती हेर्दा राजनैतिक विषयवस्तु भन्दा सामाजिक देखिएको हुँदा शुरु इन्साफ फरक पर्ने भएबाट अ.बं. २०२ नं. र क्षे.अ.नि.बमोजिम क्षेत्रीय सरकारी वकील कार्यालयलाई सूचना दिई नियम बमोजिम डिभिजनबेञ्चमा पेश गर्नु भन्ने मिति ०४२।८।२० गतेको प.क्षे.अ.को आदेश ।

            ३४.   प्रतिवादी विष्णु बोहराको हकमा लुम्बिनी अञ्चलाधीश कार्यालयको ०४०।२।१९ को फैसलामा कुनै उल्लेखै नगरी नबोलिएको देखिएकोले प्र.विष्णु बोहराको हकमा जे जो ठहर निर्णय गर्नु पर्ने हो गरी पठाउनु भनी मिसिल लुम्बिनी अञ्चलाधीश कार्यालयमा पठाई दिनु । उक्त कार्य सम्पन्न भई आउँदासम्म प्रस्तुत मुद्दाको पुनरावेदनहरु मुलतवी राखी दिएको छ भन्ने प.क्षे.अ.संयुक्त इजलासको मिति ०४४।७।१६ गतेको आदेश ।

            ३५.   २०४०।२।१९ गतेको शुरु फैसलामा सफाई पाउने प्र.विष्णु बोहराको नाम लेख्नसम्म छूट भएको हुँदा सो लेख्न छूट भएको कुरा न्या. प्र.सु. ऐन, २०३१ को दफा १२(ख) को आधारमा यसै आदेशद्वारा सो फैसलामा लेख्न छूट भएको प्र.विष्णु बोहराको नाम लेख्ने सम्बन्धमा सुधार गर्न सकिने भई सुधार गरिएको छ भन्ने मिति ०४४।१०।१२ गतेको लुम्बिनी अञ्चलाधीश कार्यालयको आदेश ।

            ३६.   प्र.विष्णु बोहराको हकमा लुम्बिनी अञ्चलाधीश कार्यालयका २०४०।२।१९ को फैसलामा नबोलिएकोले जे जो ठहर गर्नु पर्ने हो गरी पठाउनु भनी मिसिल लुम्बिनी अञ्चलाधीश कार्यालयमा पठाई कार्य सम्पन्न गरी मिसिल प्राप्त हुन आएको देखिँदा प्रस्तुत मुद्दा मुलतवीबाट जगाई दिइएको छ भन्ने मिति २०४५।२।२० गतेको प.क्षे.अ. संयुक्त इजलासबाट भएको आदेश ।

            ३७.   यसमा प्रदर्शन भएको भनिएको नाटकको पाण्डुलिपी वादी पक्षबाट पेश नभएको, पेश भएको पाण्डुलिपी प्रतिलिपिमा राजकाज (अपराध र सजायँ) ऐन अन्तर्गतको अपराधिक कुरा यो यस प्रकारले रहेको छ भनी वादी पक्षबाट देखाउन नसकेको तथा वादी पक्षबाट वारदात भएको घटेको स्पष्ट गरी तथ्यगत रुपमा प्रमाणित गर्न नसकेको हुँदा प्रस्तुत मुद्दाका सम्पूर्ण प्रतिवादीहरुले सफाई पाउने ठहर्छ । लुम्बिनी अञ्चलाधीश कार्यालयको निर्णय उल्टी हुन्छ भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४५।८।१।४ को फैसला ।

            ३८.   क्षेत्रीय अदालतको उक्त फैसला त्रुटिपूर्ण छ । मिसिल प्रमाणबाट प्र.अम्बरबहादुर, विष्णु बोहरा समेतका कलाकार भई क्रान्तिकारी कार्यक्रम गरी रहेका र अरु नचिनेका ८।९ सय जनाले विभिन्न नाराहरु लगाएको भन्ने कुरा जाहेरवालाको प्रतिवेदनबाट प्रष्ट छ । सो कुरा सरजमीनका मानिसहरुले पनि गरे भएको हो भनी किटानी साथ लेखाई दिएका छन । प्र.प्रेमकुमारले सेठको पाठ लिएको र प्र.रतनले बाजा बजाउने भाग लिएकोमा सावित भई अरु अरु प्रतिवादीहरु उपर पोल गरी बयान गरेका छन । प्र.घनश्याम भुसालबाट शंकाष्पद कागजहरु र प्र.रतनबाट शंकाष्पद पत्र पत्रिकाहरु बरामत भएको छ । यस्तो अवस्थामा विपक्षी प्रतिवादीहरुलाई सफाई दिने गरी गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रस्तुत मुद्दाका प्रतिवादीहरुलाई प्रहरी प्रतिवेदन माग दावी अनुसार नै सजायँ गरी पाउँ भन्ने समेत वादी श्री ५ को सरकारको यस अदालतमा परेको पुनरावेदनपत्र ।

            ३९.   नियम बमोजिम पेशी सुचीमा चढी पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारतर्फबाट खटिई आउनु भएका विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.ले गर्नु भएको बहस समेत सुनियो ।

            ४०.   प्रस्तुत मुद्दामा पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला मिले नमिलेको के रहेछ निर्णय दिनु पर्ने हुन आयो ।

            ४१.   यसमा पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट ठहर हुँदा जुन नाटक खेलेको भनी भनिएको छ सो को पाण्डुलिपी पेश नभएको र पेश भएको प्रतिलिपिमा पनि यो यस्तो राजकाज (अपराध र सजायँ) ऐन, २०१९ ले कायम गरेको अपराध भित्र परेको भनी देखाउन नसकेको गाना गाएको भनेकोमा यो गाना गाएको भनी कुनै प्रमाण पेश गर्न नसकेको, नारा लगाएको भनेकोमा यो यस्तो नारा यसले लगाएको भन्ने कुनै ठोस सबूद पेश गर्न नसकेकोबाट वारदात भए गरेको कुरा नै तथ्यगत रुपमा प्रमाणित हुन नसकेको भनी पुनरावेदन परेका र पुनरावेदन परी डिसमिस गराई बसेका तथा पुनरावेदन नगरेका अरु प्रतिवादीहरुले समेत सफाई पाउने ठहर्‍याएकोमा श्री ५ को सरकारतर्फबाट यस अदालतमा पुनरावेदन गर्दा पनि उक्त ठहरमा उल्लेख भए बमोजिमका सबूद प्रमाणहरु यो यस्तो छ भनी देखाउन नसकी वारदात भए गरेका कुरा सो वारदात भएको कुरा परेको प्रहरीको मौका प्रतिवेदन, टाँसिएको पर्चा तथा भएका सरजमीन समेतबाट पुष्टी हुने भनी देखाई सोही बमोजिम बहसमा उपस्थित हुने विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.ले जिरह लिएको देखिन आएको छ । तर बहस तथा पुनरावेदनबाट जुन आधारहरु देखाई वारदात भए गरेको भनी देखाउन खोजिएको छ सो एउटा प्रहरीको प्रतिवेदन मात्र देखिएको छ र त्यसको समर्थन अरु स्वतन्त्र प्रमाणबाट भएको पाइँदैन । जो पर्चा टाँसिएको भनिएको छ सो पर्चा यिनै अभियुक्तहरुले टाँसेको भन्ने पनि कुनै सबूद आएको पाइँदैन । सरजमीनका कुराले पनि अदालतमा बकपत्र भई प्रमाण ऐन, २०३१ ले व्यवस्था गरे बमोजिम प्रामाणिक रुप लिनसकेको समेत नदेखिएकोले पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा तल माथि गर्नु पर्ने कुनै अवस्था नदेखिँदा पुनरावेदन जिकिर पुग्न सक्दैन । पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४५।८।१।४ को इन्साफ मनासिब ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. गजेन्द्रकेशरी बास्तोला

 

इति सम्वत् २०४६ साल फाल्गुण ३० गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु