निर्णय नं. ४०३१ - ज्यान

निर्णय नं. ४०३१ ने.का.प. २०४६ अङ्क १२
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४६ सालको फौ.पु.नं. ३१०
ऐ.ऐ.सा.नं. ५६
फैसला भएको मिति : २०४६।११।१६।३ मा
पुनरावेदक/प्रतिवादी : जि. दार्चुला सितौला गा.पं. वार्ड नं. ७ घर भई हाल दार्चुला कारागारमा थुनामा रहेको नथुवा देउरुखी
विरुद्ध
विपक्षी/वादी : सितौला गा.पं. को जाहेरीले श्री ५ को सरकार
मुद्दा : ज्यान
§ लाश नै नभेटिएकोबाट मृतक खीर खाएको कारणबाट मरेको वा कुटपिटबाट मरेको भन्ने यकीन नभएको सो यकीन बेगर सजायँ गर्न नमिल्ने भन्ने हकमा यही कुराको जिकिर सहअभियुक्तले पनि आफ्नो बयानमा लिएको भए पनि लाश आफैंले गाड्न लगेमा सावित भएकोबाट कुटपिटकै चोटबाट मृत्यु भएको ठहर्याई निजलाई सजायँ भई भएको फैसला अन्तिम रहेकोले पुनरावेदक तर्फको यो जिकिरलाई मान्यता दिन नमिल्ने ।
(प्रकरण नं. २४)
पुनरावेदक, प्रतिवादी तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री रामकृष्ण निराला
फैसला
न्या. हिरण्येश्वरमान प्रधान : सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन तथा साधक जाहेर भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :–
२. २०३७।५।२८ का दिन काम विशेषले सितौला गा.पं. सेली बस्ने विरुवा देउरुखीको घरमा अनुवा देउरुखी बसेको र मन देउरुखी गोपडेको घरमा बसेको मौकामा सितौला गा.पं. वा.नं. ७ खड्यान गाउँ बस्ने रेल्चे देउरुखी १, नथुवा देउरुखी १, केशव देउरुखी १ समेत उक्त मितिको रातमा आई विरुवा देउरुखीको घरबाट अनुवा देउरुखीलाई जबरजस्ती साथ बाहिर निकाली कुटपिट गरी घाउ पारी निजकै घरमा बसी रहेकोमा पछि आश्विन ७ गतेका दिन बिहान अनुबा देउरुखीको मृत्यु भएकोले उक्त ३ जनाले लाश जवरजस्ती लगेको कुरा गोपडे देउरुखीबाट थाहा हुन आएकोले कानुनी कारवाही गर्न जाहेर गरेको छु भन्ने समेत मिति २०३७।६।७ को सितौला गा.पं. को जाहेरी दर्खास्त ।
३. २०३७।५।२८ को राति आधा रात बाँकी भएको समयमा केशव, रेल्चे, नथुवा समेत ३ जना आई ढोका खोल भन्दा ढोका खोल्दैनौ भनी भन्दा भई तल्ला कोठाबाट निज नथुवा समेत ३ जनाभित्र कोठामा पसी अनुवा भएको ठाउँमा गई अनुवालाई जबरजस्ती साथ बाहिर निकाली आँगनमा लगी अनुवालाई कुट्दा आवाजसम्म भित्रबाट सुनेकी थिएँ डरले गर्दा केही भन्न सकिन । निजको नाकबाट रगत बगेको थियो त्यसपछि अन्यायीहरुले अनुवाको लाश जबरजस्ती आफ्नो घर खड्यानतर्फ लागेका थिए भन्ने समेतको २०३७।६।१३ को हिरादेवीको बयान ।
४. २०३७।५।२८ गते राती अन्यायी नथुवा देउरुखी समेतले कुटपिट गरी सोहि चोटबाट अनुवाको मृत्यु भएको हो, मृत्युको कारण कुटपिट नै हो । निजको लाशलाई ३ जनाले बोकी राखेको रेल्चे देउरुखीको बुबा जिउने देउरुखीलाई पनि देखेको कुरा मैले पञ्चायतमा भनेको हुँ भन्ने समेत अनुवाको लाश बोकेको देख्ने भन्ने गोपडे देउरुखीको बयान ।
५. दाजु अनुवाको मृत्यु केशवे, रेल्चे र नथुवाको कुटाईको कारणले भएको भन्ने कुरा गापेडेको मुखबाट सुनेको हुँ भन्ने समेतको भने देउरुखीको कागज ।
६. २०३७।५।२८ गतेको राति विरुवाको घरबाट अनुवा देउरुखीलाई नथुवा समेत ३ जनाले बाहिर लगी कुटी सोही कुटाइको चोटले निजको मृत्यु भएको हो । अभियुक्तहरु आश्विन ८ गते देखि बेपत्ता छन् भन्ने समेत सरजमीनका अधिकांश व्यक्तिहरुको एकै मिलानको सरजमीन मुचुल्का ।
७. अनुवालाई कुटपिट गरी मारेको भन्ने मनवीरकी श्रीमती ऐता क्षेत्रीनी समेतका अधिकांश सरजमीनको बकाईबाट अपराध गरेको सिद्ध हुन आएकोले निजहरुलाई मुलुकी ऐन ज्यानसम्बन्धीको १३ नं. को देहाय ३ बमोजिम सजायँको माग दावी र जिउने देउरुखीलाई लाश दबाए छिपाएतर्फ ऐ.ऐनको २५ नं. बमोजिम सजायँको माग गर्दै फरारी अभियुक्तहरुका नाउँमा अदालतबाटै वारेण्ट जारी हुन मिसिल पेश गरेको भन्ने समेतको प्रहरी प्रतिवेदन ।
८. मृतक अनुवा देउरुखी हामीले कुटपिट गरेको पिरले मर्यो वा भने देउरुखीको श्रीमतीले खीर खान दिएको थियो सोही कारणबाट मर्यो भन्न सक्दिन यस भन्दा अगाडि मैले कुनै अपराध गरेको छैन प्रतिवादी केशवले र नथुवाले हिंड भनेकोले गएको हुँ मारौं भन्ने नियतले अनुवा देउरुखीलाई कुटपिट गरेको होइन अनुवालाई लाठी ढुंगा कुनै हात हतियारले कुटपिट गरेको होइन, खाली लात मुड्कीले कुटपिट गरेको हो निजलाई कुटपिट गर्ने हामी ३ जना मात्र हौं, हामी बाहेक अरु कोही होइन । मारौं भन्ने नियतले कुटपिट गरेको नहुँदा सजायँबाट छुटकारा पाउँ भन्ने समेतको प्र.रेल्चे देउरुखीले अदालतमा गरेको बयान ।
९. २०३७।५।२८ गते मेरो बुबा लेनदेनको कामले सितौला गा.पं. खडयान खोली बस्ने गोपडेको घरमा गएका थिए, बुबा राति त्यहिँ बसे बुबाको साथमा भने देउरुखी पनि थिए । प्र.रेल्चे, केशवे र नथुवाले मेरो बुबा गोपडेको घरमा बसेको थाहा पाई राति अं. ११–१२ बजेको समयमा कुटपिट गरी सोही कुटाईको चौटबाट आश्विन ७ गते अनुवाको घरमा आई मृत्यु भयो, बुबालाई कुटपिट गर्ने कारण प्र. रेल्चेको बुबासंग जग्गा सम्बन्धी, प्र.नथुवाले मेरो भाइ बुहारी जारी गरी लगेका सोही रिसइवीले कुटपिट गरेकाले सोही कुटाईको चोटले अनुवाको मृत्यु भएको हो भन्ने समेत करिब एकै मिलानको अदालतबाट बुझिएका सरजमीनका व्यक्ति प्रेम सिं देउरुखी, धम्का देउरुखी, बहादुर देउरुखी, नैनसिंह बुढा, भिम सिंह बुढा समेत जना ११ ले अदालतमा आई गरेको बकपत्र ।
१०. प्रतिवादी केशवे र नथुवा देउरुखीका नाउँमा जि. अ.बाट तामेल भएको म्याद गुजारी बसेका ।
११. पक्राउमा नपरेका प्र.नथुवा देउरुखी केशवे देउरुखी, समेत जनाका हकमा अ.बं. १९० नं. बमोजिम मुल्तवीमा राखी दिने र मृतक अनुवा देउरुखी, प्रतिवादी रेल्चे देउरुखी समेतको कुटाइको पीरको कारणले मरेको देखिन आएकोले यसैको चोटबाट निजको मृत्यु भएको हो भन्ने कुरा खुल्न नआएकोले प्र. रेल्चे देउरुखीलाई ज्यानसम्बन्धी १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद हुन ठहर्छ भन्ने समेतको मिति २०३९।१२।१३ को दार्चुला जिल्ला अदालतको फैसला ।
१२. उपरोक्त जिल्ला अदालतको जाहेरी फैसला श्री सु.प.क्षे. अदालतमा इन्साफ जाँचको लागि पेश हुँदा यो यसको चोटबाट नै निज अनुवाको मृत्यु भएको हो भन्ने कुरा मिसिलबाट खुल्न नआएको र सो कुरा फैसलामा समेत उल्लेख भएबाट ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम जन्मकैदको सजायँ गर्नु पर्नेमा प्र.रेल्चे देउरुखीलाई सर्वश्व गरेको मिलेको देखिँदा सो हदसम्म शुरुको फैसला बदर भई निज प्र.रेल्चे देउरुखीलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम जन्मकैद हुने ठहर्छ भन्ने समेतको मिति २०४२।४।७ को सु.प.क्षे.अदालतको फैसला ।
१३. प्र.रेल्चे देउरुखीलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम जन्मकैद हुने ठहर्याई सु.प.क्षे.अ.ले साधक जाहेर गरेको इन्साफ मनासिब ठहर्छ भन्ने समेतको मिति ०४३।३।१८ को श्री सर्वोच्च अदालत डिभिजनबेञ्चको फैसला ।
१४. प्र.नथुवा देउरुखी २०४२।१०।१३ मा पक्राउ भई प्रहरीको नक्कल मिसिलबाट बयान गराई मुद्दा दायर समेत भइसकेकोले नियमानुसार पेश गर्नु भन्ने २०४४।१।२१ को जि. अ. को आदेश ।
१५. रेल्चे, केशवे र म समेत बिरुवा देउरुखीको घरमा जाँदा मृतक अनुवा त्यहीं थियो, एकै ठाउँमा बसी ढोगभेट भएपछि पैसाको कुराकानी चल्दा रेल्चे र अनुवाको बोलीचाली भई बाहिर आँगनमा गई मृतक अनुवा देउरुखीलाई रेल्चे देउरुखीले धक्का मुक्का गर्न लागेको अवस्था यसरी कुटपिट नगर भनी मैले रेल्चेलाई सम्झाउँदा नमानेकोले त्यसै बखत गोपडेलाई बोलाउन गएको अवस्था गोपडे देउरुखी समेतसंग बाटोमा भेट हुँदा गोपडेलाई साथमा लिई त्यहाँ पुग्दा झगडा शान्त भइसकेको थियो, त्यसपछि हामी गई हाल्यौं, मृतकको नाकबाट रगत बगी रहेको थियो, मैले अनुवालाई कुटपिट गरेको होइन, कुटपिटको कारणले निजको मृत्यु भएको होइन खीर खाएको कारणबाट निजको मृत्यु भएको हो भन्ने समेतको मिति २०४२।१२।१३ को नथुवा देउरुखीले जि. अ.मा गरेको बयान ।
१६. आदेशानुसार प्रतिवादीलाई साक्षी उपस्थित गराउने भनी तारेख तोकिएकोमा सो तोकिएको तारेखमा आफ्नो साक्षी उपस्थित गराउन नसकेको ।
१७. आरोपित कसुर गरेमा इन्कार रहने प्र.नथुवा देउरुखीले अदालतबाट जारी भएको म्यादमा सबूद प्रमाण सहित उपस्थित भई सफाई लिनु पर्नेमा अदालतबाट जारी भएको म्यादै गुजारी फरार रहेबाट समेत आरोपित कसुर गरेको होइन भन्ने प्रतिवादीको बयान प्रतितलायक नहुनुको साथै आफ्नो इन्कारी बयानको सबूत प्रमाण प्र. नथुवाले गुजार्न नसकेको कारणबाट समेत मृतक अनुवा देउरुखी प्र. नथुवा देउरुखी समेतका कुटपिटको चोटबाट मरेको सिद्ध हुन आयो यो यसकै चोटबाट अनुवा देउरुखीको मृत्यु भएको भन्ने कुरा खुल्न नआएको हुँदा प्र. नथुवा देउरुखीलाई प्रहरी प्रतिवेदन माग दावी अनुसार ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम जन्मकैद हुन ठहर्छ भन्ने समेत दार्चुला जि. अ.को मिति २०४४।८।४ को फैसला ।
१८. फैसलामा चित्त नबुझेकोले अ.बं. १०८ नं. बमोजिम मेरा साक्षी बुझी न्याय पाउँ भन्ने समेतको नथुवा देउरुखीको अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।
१९. मिति २०४४।१२।२८ मा प्र.नथुवाका साक्षी बुझ्ने भन्ने अञ्चल अदालतको आदेश ।
२०. मृतक अनुवा देउरुखीलाई प्र.नथुवा देउरुखीले कुटपिट गरेको होइन रेल्चे देउरुखीले कुटेको थियो नथुवा देउरुखीलाई कुटपिट नगर भनी रेल्चेलाई भन्दा नमानेपछि नथुवा देउरुखी बचावटको लागि मानिस ल्याउन तल्लो गोपडेको घरमा आई गोपडे समेतलाई लगी जाँदा झगडा बन्द भएको थियो, सो कुरा मैले देखी थाहा पाएको हुँ भन्ने समेतको गगने महता र प्र.नथुवाले अनुवालाई कुटपिट गरेको थिएन । रेल्चेले कुटपिट गरेको १२ दिनपछि मरेको हो । रेल्चेले कुटपिट गरेको देखेको हुँ । उक्त दिन म पनि घटनास्थलमा थिएँ भन्ने समेतको विरवल महताले अदालतमा गरेको बकपत्र ।
२१. नथुवा देउरुखी अदालतमा आई बयान गर्दा घटना घटेको ठाउँमा आफू गएमा सावित भई बयान गरेको र आफूले मृतकलाई हात नहालेको रेल्चेले मात्र कुटपिट गरेको र सरजमीन र रेल्चेसंग कुनै रिसइवी गर्दा थियो भनी भन्न नसकेको रेल्चेले अदालतमा आई बयान प्र. नथुवाले नै पहिला कुटपिट गर्न शुरु गरेको भनी बयान गरेको पाइन्छ, यता नथुवाका साक्षीहरुले नथुवाले नकुटसम्म भनेका र हात नहालेको हो हामीले त्यही घटना भएको ठाउँमा देखेको भनेको छ । घटना घटेको ठाउँमा अरुको उपस्थित देखिन्छ तर यी साक्षीहरु पनि आएका थिए भनी सरजमीन र घटनास्थलमा भएका मानिसले उल्लेख नगरी घटनामा अन्य व्यक्तिको मात्र उपस्थिति देखाएको पाइन्छ । तसर्थ यी प्रतिवादीले यस्तो अवस्था सम्म आफू भागी भागी हिंड्नु पर्ने कारण पनि नभएको समेतबाट शुरुले निज प्रतिवादीलाई जन्मकैद गर्ने गरेको फैसला बेमनासिब भन्न नसकिने हुँदा दार्चुला जिल्ला अदालतले गरेको इन्साफ मनासिब ठहर्छ भन्ने मिति २०४६।३।१२ को अञ्चल अदालतको फैसला ।
२२. महाकाली अञ्चल अदालतको फैसला त्रुटिपूर्ण हुँदा सो बदर गरी सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी नथुवा देउरुखीको पुनरावेदनमा अनुवा देउरुखीलाई कुटपिट गरी ज्यान मारेमा ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम प्र. नथुवा देउरुखीलाई जन्मकैदको सजायँ गर्ने गरी दार्चुला जिल्ला अदालतले गरेको इन्साफलाई सदर राखी महाकाली अञ्चल अदालतले गरेको इन्साफ मनासिब ठहर्छ भन्ने समेत सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
२३. उक्त फैसला समेत उपर प्रतिवादी नथुवा देउरुखीको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।
२४. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तर्फबाट उपस्थित भई बहस गर्नु हुने विद्वान वैतनिक अधिवक्ता श्री रामकृष्ण निरालाको बहस समेत सुनी सु.प.क्षे.अ. समेतको इन्साफ मनासिब बेमनासिब के रहेछ भन्ने तर्फ विचार गरेमा अभियुक्त पक्राउ परी अदालतमा आई बयान गर्दा मर्ने अनुवालाई मारेमा इन्कार रहे पनि वारदातको समय वारदातस्थलमा रहेको, रेल्चे सित वाद विवाद परी धक्का मुक्का परेको कुरा स्वीकार गरेकोबाट धक्का मुक्का परेको ठाउँमा आफू रहे भएमा सावित रहेको देखिन्छ । अब अभियुक्तको इन्कारी बमोजिम निजले नकुटेको खाली छुट्याइएकोसम्म हो कि भन्नलाई यसै वारदातका अभियुक्त रेल्चेले यी अभियुक्त समेत भई कुटपिट गरेको र लाश समेत गाड्न लगेको कुरा देखाई बयान गरेको निजको सो बयान सरजमीनका गोपडे देउरुखी, हिरादेवी देउरुखी तथा मृतक संगै जाने भने देउरुखी तथा निजले वारदातको भोलिपल्ट भनेबाट थाहा पाउने सरजमीनका अरु व्यक्तिहरु तथा मृतकको छोराको बकपत्रबाट समेत समर्थित भएकोबाट यसै अदालतबाट समेत अभियुक्त मध्येको रेल्चे र निजले देखाएको समेत ३ जनाले कुटपिट गरेकै चोटबाट अनुवाको मृत्यु भएको ठहर्याई निज रेल्चेलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम जन्मकैद हुने ठहर्याएको इन्साफ सदर भई मिति २०४३।३।१८।४ मा फैसला साधक सदर भई रहेको देखिएकोले निजको साक्षीको बकाइकै आधारमा मात्र यो इन्कारीलाई तथा सो सम्बन्धी बहस जिरहलाई मान्यता दिन मिलेन । जहाँसम्म लाश नै नभेटिएकोबाट मृतक खीर खाएको कारणबाट मरेको वा कुटपिटबाट मरेको भन्ने यकीन नभएकोले सो यकीन गर्नु बेगर सजायँ गर्न नमिल्ने भन्ने हकमा यही कुराको जिकिर सहअभियुक्त रेल्चेले पनि आफ्नो बयानमा लिएको भए पनि मर्ने अनुवाको लाश आफैंले गाड्न लगेमा सावित भएकोबाट कुटपिटकै चोटबाट मर्ने अनुवाको मृत्यु भएको ठहर्याई निजलाई सजायँ भई भएको फैसला अन्तिम रहेकोले पुनरावेदक तर्फको यो जिकिरलाई पनि मान्यता दिन नमिलेकोले सु.प.क्षे.अ. समेतले प्र.नथुवा देउरुखीलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैद गर्ने ठहर्याई साधक जाहेर गरेको इन्साफ मनासिब ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन । साधकको लगत समेत काटी मिसिल नियम बमोजिम गरी बझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. बब्बरप्रसाद सिंह
इति सम्वत् २०४६ साल फाल्गुण १६ गते रोज ३ शुभम् ।