शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४०३२ - कर्तव्य ज्यान

भाग: ३१ साल: २०४६ महिना: चैत्र अंक: १२

निर्णय नं. ४०३२     ने.का.प. २०४६                        अङ्क १२

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४६ सालको फौ.पु.नं. २६२

फैसला भएको मिति :      २०४६।११।३०।३ मा

पुनरावेदक/वादी : घिसन यादवको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

विपक्षी/प्रतिवादी : रुपन्देही जिल्ला हनैया गा.पं.वार्ड नं. ६ बस्ने बिक्रम यादव अहिरसमेत

मुद्दा : कर्तव्य ज्यान

§  साधारण कुटपिट भएको ठाउँमा एक पक्षले अर्को पक्षलाई मारोभन्ने शब्द प्रयोग भई कुटपिट हुनु खास गरी यो वारदात स्थल रुपन्देही जिल्लामा साधारण चलन चल्तीमा आउने भाषा भएकोले सो प्रयोग भएको शब्दबाट भएको वारदातको परिप्रेक्षमा ज्यानै मारिदेउ भनी बचन दिएको अर्थ लगाउन मिल्ने देखिन नआएकोले साधारण लात मुक्काले कुटपिट भइरहेको ठाउँमा आई पुगी साले चमारलाई मारभनी कुटपिट गर्ने छोरालाई भनेकै देखिए पनि त्यसबाट ज्यानै मारिदेउ भनी बचन दिएको भन्न नमिल्ने ।

(प्रकरण नं. २३)

पुनरावेदक, वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्नेत

फैसला

            न्या. हिरण्येश्वरमान प्रधान : पश्चिमाञ्चल क्षेत्रीय अदालतको २०४६।१।५ को फैसला उपर चित्त नबुझाई श्री ५ को सरकारको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय यस प्रकार छ ।

            २.    बिक्रम यादवले शीतल चमारसंग तिम्रो गाउँको घर मलाई देउ म पैसा दिन्छु र ८ नं. पर्ति जग्गा दर्ता गराई दिन्छु भनी प्रलोभनमा पारी घर लिई शितललाई जग्गा जोती खाउ भनी ८ नं. पर्ति जग्गा जोत गोड गरी आएकोमा २०४१।१।२३ गतेका दिन शितल चमारले कित मेरो पैसा देउ या घडेरी छोडी देउ भनी कुरा गर्दा वाद विवाद भई सत्यनारायणले शितल चमारलाई कुटपिट गरेको देखी नपिट भन्दा निजको बाबु बिक्रम यादव आई पिट भनी बचन दिंदा सो बचन मानी सत्ननारायणले शितल चमारलाई भुँईमा पछारी कुटपिट गरी बेहोस भएपछि मानिस जुटी पानी खुवाउने कायम गर्दा कुनै परिवर्तन नभएकोले डाक्टर बोलाउन पर्‍यो भनी कुरा गर्दा पाहुन थारुले सत्यनारायणलाई पठाएको छु भनी भनेको र त्यसलाई पठाउन हुँदैन भन्दा भागेमा म जिम्मेवार छु भनी पाहुन थारुले भने तर सत्यनारायण भाग्ने शंका भएकाले म समेतका अन्य मानिस भई खोज्न जाँदा फेला नपरेकाले घरमा फर्की आउँदा शितल चमार मरिसकेका रहेछन् । निजलाई कुटपिट गरी मार्ने सत्यनारायण यादव, वचन दिने बिक्रम यादव र भगाउने पाहुन थारु समेतलाई पक्राउ गरी सजायँ समेत गरी पाउँ भन्ने समेत व्यहोराको घिसन यादवको जाहेरी दर्खास्त ।

            ३.    मेरो जेठाजु शितल चमारलाई कुटपिट गरी मार्ने सत्यनारायण यादव बचन दिने बिक्रम यादव र सत्यनारायणलाई भगाउने पाहुन थारुलाई कारवाही गरी सजायँ समेत गरी पाउँ भन्ने समेत व्यहोराको चीनकी चमारनीले प्रहरीमा गरेको कागज ।

            ४.    सत्यनारायणको बाबु बिक्रम यादवले मेरो जेठाजु शितल चमारलाई तिम्रो घर मलाई देउ म तिमीलाई पैसा दिन्छु र ८ नं. पर्ति जग्गा व्यवस्था मिलाई दिन्छु भनेकाले मृतक जेठाजुले घर दिएको निज बिक्रम यादवले हालसम्म पनि सो घरको रुपैयाँ दिएका छ्रैनन् । २०४१।१।२३ गतेका दिन सत्यनारायणसंग घरको पैसा माग्दा विवाद भई जेठाजु शितल चमारलाई सत्यनारायणले एक्कासी लात मुक्काले हान्दा मैले नहान भन्दा भन्दै र घिसन यादवले समेत नपीट भन्दै थिए । सोही अवस्था विक्रमले साले चमारलाई मार देखा जाला भनेकोले सो बचन मानी दुवै हातले समाई उठाई भुँईमा पछारेपछि म रोई हल्ला गर्न लागें । त्यसपछि गाउँका मानिस जुटी पानी खुवाई हावा दिई पानी छम्कन लागें कसैले डाक्टर बोलाउन पर्‍यो भन्दा पाहुन थारुले सत्यनारायण गएको छ भनेका थिए । शितल चमार बाँच्दैन । सत्यनारायणलाई छोड्न हुँदैन भन्दा पाहुन थारुले सत्यनारायण भाग्दैन भागेमा म जिम्मेवार छु भनेका थिए । खोज्दा फेला परेन । जेठाजु साँझ पख मरे । मेरो पति पहिले नै मरी सकेको सासू घरमा नभएको हुँदा र म घुँडा दुखी हिंड्न नसक्ने हुँदा गा.स.स. घिसन यादव आई जाहेरी गरेका हुन । अतः मार्ने सत्यनारायण यादव बचन दिने विक्रम यादव र भगाउने पाहुन थारुलाई कानुन बमोजिम सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको मिति २०४१।१।२८ गतेको चिनकी चमाइनीको कागज ।

            ५.    २०४१।१।२२ गते मेरो छोरीको विवाहको लागि मानिस आएको र ऐ.२३ गते विवाह सकी छोरीलाई केही पर सम्म बिदा गरी फर्की घरमा आउँदा छोरा सत्यनारायणले मृतक शितल चमारलाई हात मुक्काले हान्दै गरेको देखी शितल चमारले मैले घरको रु. ८५०।दिउँला भनेकोमा पैसा नदिएकोले बीच बीचमा झगडा हुन्थ्यो र पाहुना आउँदा बेइज्जत गर्ने उद्देश्यले पाहुनाको अगाडि समेत मागेकोले छोरा सत्यनारायणले शितललाई पिट्दै गरेको देखी अरु मार भन्ना साथ छोराले शितललाई भुँईमा पछारेको थियो । सुस्तरी हान भनेको मर्ने गरी हानेछ शितलको बुहारी र घिसन यादवले मार्‍यो भनी हल्ला गरेकाले गाउँका मानिसहरु आए । बिंउझिन्छिनकी भनी शितललाई खटियामा सुताई पानी छम्कने र पंखा लगाउने काम भयो शितल बेहोस हुँदाकै अवस्था पाहुन थारुले मेरो छोरा सत्यनारायणलाई डाक्टर बोलाउने निहुले भगाउन लगाए । सत्यनारायणलाई पठाउन हुँदैन भन्दा पाहुनले भाग्दैन भागेमा जिम्मेवारी छु भनेका थिए । सोही चोटको पिरले शीतल चमार मरेका हुन भन्ने समेत व्यहोराको बिक्रम यादबले मिति ०४१।१।३१ गते प्रहरीमा गरेको बयान कागज ।

            ६.    २०४१।१।२२ गते बुहारीको निम्ता खान गएको थिएँ । निम्ता खाई ऐ.२३ गते आउँदा शितल चमारलाई खटियामा सुताई पानी छम्कने पंखा हम्काउने काम गरेको देखी के के भयो भनी सोद्धा शितल चमार मर्न लाग्यो भनी भनेकी हुँदा डाक्टर बोलाउन पर्छ भनी भन्दा त्यसबेला सत्यनारायणले म डाक्टर बोलाउन जान्छु भन्दा ठीक छ बोलाई ल्याउ भनेको हुँ भाग्छ भन्ने मलाई थाहा थिएन । सत्यनारायणले शितल चमारलाई कुटपिट गरी मारेका हुन भन्ने कुरा म घरमा आई हेर्न जाँदा थाहा पाएको हुँ । सत्यनारायणलाई जानेर भगाएको होइन । औषधि लिन पठाउँदा मैले भगाएको देखिए कानुनले हुने सजायँ सहन मञ्जुर छु भन्ने समेत व्यहोराको पाहुन थारुले मिति २०४१।१।३१ गते प्रहरीमा गतेको बयान कागज ।

            ७.    मृत्युको कारण बाधा भई स्वासकृया बन्द हुने हो भन्ने मिति ०४१।१।२४ गतेको मृतक शितल चमारको लाश जाँचको प्रतिवेदन ।

            २०४१।१।२३ गते म जाहेरवालाको घरमा गारो लगाई रहेको अवस्थामा दिनको अं. ३ बजेको समयमा सत्यनारायणले शितल चमारलाई कुटपिट गरेको छ भन्ने सुनी सो ठाउँमा आई हेर्दा शितल चमार बेहोस अवस्थामा थियो । बिक्रम, सत्यनारायण र पाहुन थारु पनि त्यहीँ थिए । मानिस गर्न लाग्यो डाक्टर बोलाउन पर्‍यो भन्ने कुरा गरी घाइते पट्टि सबैजना लागेको समयमा सत्यनारायण भागेछ । सत्यनारायण कहाँ छ भनी भन्दा डाक्टर बोलाउन गएको छ भनी पाहुन थारुले भनेको सुनेको हुँ । शितल चमारलाई बिक्रम यादवले आफ्नो छोरा सत्यनारायणलाई पिट भनी बचन दिएकोले कुटपिट गर्दा मृत्यु भएको हो । कुटपिट गर्नु पर्ने कारण शितल चमारले घरको मोल बिक्रमले नदिई माग्दा सोही रिसइवीबाट कुटपिट गरी मारेको हो । बिक्रमले कुटपिट गर्न बचन दिएको र सो बचन मानी सत्यनारायणले हात मुक्काले हिर्काएको हो भन्ने सुनेको हुँ भन्ने समेत व्यहोराको कुथुर थारु समेतले बकी लेखाई दिएको मिति ०४१।२।१७ गतेको सरजमीन मुचुल्का ।

            ८.    यसमा सत्यनारायण र बिक्रम यादवले मुलुकी ऐन ज्यानसम्बन्धीको १ नं. को कसूर गरेको सिद्ध हुन आएकोले प्रतिवादी सत्यनारायण यादवलाई सोही ऐनको १३(३) अनुसार र मार भनी बचन दिने बिक्रम यादवलाई सोही ऐनको १३(४) अनुसार हुने र सत्यनारायणलाई भगाउने प्रतिवादी पाहुन थारुलाई सोही ऐनको २५ नं. बमोजिम सजायँ हुने माग दावी गरी पक्राउमा परेका विक्रम यादव र प्रतिवादी पाहुन थारुलाई यसैसाथ प्रस्तुत गरिएको र फरार रहेका सत्यनारायणको हकमा अदालतबाटै कानुन बमोजिम गरिपाउँ भन्ने संयुक्त प्रहरी प्रतिवेदन माग दावी ।

            ९.    २०४१।१।२३ गते विहान खाना खाई वन घुसरी भन्ने ठाउँमा बजार गर्न गएको र साँझ मात्र घर फर्की आएको हुँ । वारदात भयो भनेको समयमा म वन घुसरी बजारमा छु । बजारबाट घर फर्किंदा शितल चमार मरेका रहेछन् । को कसले कसरी मारे बताउन सक्दिन । मृतकसंग मेरो केही रिसइवी छैन । प्रहरीमा भएको कागजमा भएको सहिछाप मेरो हो । सही गर भनेबाट डरत्रासले मैले सही गरी दिएको हुँ मैले बचन दिई सत्यनारायणले हानेको भन्ने कुरा झुठ्ठा हो । मैले कुटपिट गर्नमा बचन दिएको नहुँदा म निर्दोष छु । झुठ्ठा अभियोगबाट सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी विक्रम यादव (अहिर) ले मिति २०४१।२।१२ गते अदालतमा गरेको बयान ।

            १०.    २०४१।१।२३ गतेका दिन १० बजे विवाहको निम्तामा ससुराली सितपुर गाउँमा गई साँझ घाम डुब्ने बेलामा मात्र घर फर्की आएको हुँ । घर फर्किंदा प्रतिवादी सत्यनारायणको घरमा शितल चमारको लाश पल्टिएको थियो । गाउँका मानिसहरु जम्मा थिए । सत्यनारायण र बिक्रम यादवलाई सो ठाउँमा देखिन मैले सत्यनारायणलाई भगाएको होइन । मृतक शितल चमारसंग मेरो केही रिसइवी छैन । कुन समयमा कसले के परिबन्दबाट मार्‍यो म वारदात समयमा नभएको हुँदा बताउन सक्दिन । प्रहरीमा भएको कागजमा भएको सहिछाप मेरो हो सही गर भनी जबरजस्ती सही गराएका हुन् । प्रतिवादी सत्यनारायणलाई मैले भगाएको होइन भन्ने समेत व्यहोराको प्रतिवादी पाहुन थारुले मिति ०४१।२।२२ गते अदालतमा गरेको बयान ।

            ११.    जाहेरवाला सरजमीनका मानिस तथा प्रतिवादीहरुका साक्षी समेतको बकपत्र भई मिसिल संलग्न रहेको र फरार रहेको प्रतिवादी सत्यनारायण यादवको अंश रोक्का रहेको कागजात मिसिल संलग्न रहेछ ।

            १२.   प्रतिवादी सत्यनारायणको हकमा अंश रोक्का भएको मितिले ६ वर्ष भित्र हाजिर भएमा वा पक्राउ भई आएका बखत कारवाही गर्ने गरी अ.बं. १९० नं. बमोजिम मुलतवी राखिदिने र मिसिल संलग्न चश्मदित व्यक्तिहरुको भनाई प्रतिवादीको बयान समेतको मूल्यांकनबाट प्रतिवादी विक्रम यादवले मार भनी बचन दिएको हुँदा निजलाई जन्मकैद हुने ठहर्छ । मर्ने शितल चमारलाई कुटपिट गरी प्रतिवादी सत्यनारायण भागी बेपत्ता भएको कारणबाट निजलाई भगाउनमा प्रतिवादी पाहुन थारुको संलग्नता छ भन्ने कुरा प्रमाणित हुन आउँदा प्रतिवादी पाहुन थारुलाई दावी बमोजिम रु. २०।जरिवाना हुने ठहर्छ । विक्रम अहिरको हकमा कानुन बमोजिम हुने सजायँ ठहर भए तापनि शितल चमारलाई मार्नमा पूर्वयोजना वा कारण थियो थिएन भन्ने तर्फ विचार गर्दा घर जग्गाको विषयमा छोरा सत्यनारायणसंग झगडा भई कुटपिट भइरहेको देखी अझै कुट भनी बचन दिएको भए तापनि ज्यानै लिनका लागि बचन दिएको मिसिलबाट देखिँदैन । शितल चमारलाई बचाउने प्रयास समेत गरेको देखीएको र विक्रमको उमेर ६५ वर्षको बृद्ध अवस्थाको मानिस भएको र मार्ने नियत लिई कुटपिट गर्नमा बचन दिई घटनाको शुरुवात समेत भएको नदेखिएको हुँदा बिक्रम अहिरको मानसिक र शारीरिक स्थिति हेर्दा जन्मकैद गर्दा चर्को पर्ने देखिएकोले निजलाई ५ वर्ष कैद वा थुनामा बसेको अवधिसम्मको मात्र कैद सजायँ गरी बाँकी कैद मिनाहा दिनु पर्ने कुरा चित्तमा लागेको हुँदा राय व्यक्त गरेको छु भन्ने मिति ०४२।२।२२ गतेको रुपन्देही जिल्ला अदालतको फैसला ।

            १३.   उक्त फैसलामा चित्त बुझेन । साविती कागज जाहेरी दर्खास्त सरजमीनको कागज बाझिएको तर्फ कुनै मूल्यांकन नै नगरी मलाई हराइएको फैसला बदर गरी न्याय पाउँ भन्ने समेत व्यहाराको प्रतिवादी बिक्रम यादवले प.क्षे.अ.मा गरेको पुनरावेदनपत्र ।

            १४.   उक्त फैसलामा चित्त बुझेन सक्कल मिसिल अवलोकन नगरी मलाई हराइएको फैसला बदर गरी न्याय पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी पाहुन थारुले प.क्षे.अ.मा गरेको पुनरावेदनपत्र ।

            १५.   यसमा प्रतिवादी विक्रम अहिरले मृतकलाई कुटपिट गर्न बाहेक ज्यान मार्नका लागि बचन दिएको भन्ने नदेखिएकोले रुपन्देही जिल्ला अदालतको फैसला फरक पर्ने देखिँदा अ.बं. २०२ नं. तथा क्षेत्रीय अदालत नियमावली, २०३६ बमोजिम छलफलको लागि पश्चिमाञ्चल क्षेत्रीय सरकारी वकील कार्यालयलाई सूचना दिई पेश गर्नु भन्ने प.क्षे.अ. संयुक्त इजलासको मिति ०४४।१।६ गतेको आदेश ।

            १६.    यसमा मृतकको भाइ बुहारी चिन्की चमाइनलाई अदालतले बुझेको नदेखिनाले निजलाई बुझ्न यो मुद्दाको मिसिल शुरु रुपन्देही जिल्ला अदालतमा पठाई कार्य सम्पन्न भई आएपछि जगाउने गरी हाल प्रस्तुत मुद्दा मुलतवी राखी दिनु भन्ने मिति ०४४।४।१८ गतेको प.क्षे.अ.संयुक्त इजलासको आदेश ।

            १७.   आदेश बमोजिमको काम सम्पन्न भइआएकोले मुलतवी जगाइएको छ भन्ने २०४५।२।२० को प.क्षे.अ.को आदेश ।

            १८.   यसमा प्रतिवादी विक्रम यादवले मृतकलाई मार्न बचन दिएको भन्ने कुरामा जाहेरी र जाहेरवालाको बकपत्रको व्यवहारमा एक रुपता नभएको, मृतक बेहोस रहेको अवस्थामा ती प्रतिवादीले पंखा हम्की बसेको भनी सरजमीनका व्यक्तिहरुले बकी लेखाई दिएको निज स्वयंले बयान दिंदा पनि आफूले मार्नमा बचन दिएको होइन भनेको समेतबाट मृतकको ज्यान मार्नमा यी प्रतिवादीले बचन दिएको देखीन नआएकोले प्रतिवादी विक्रम यादवले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ ।

            १९.    प्रतिवादी पाहुन थारुले घायल रहेको मृतक शितललाई औषधि उपचार गर्नु पर्दछ भन्ने सोची डाक्टर बोलाउन पठाएको हो भागोस् भनी पठाएको होइन भनी अदालतमा गरेको बयानलाई निजका साक्षीहरुले बकपत्रबाट पुष्टि गरेको तथा मृतकलाई मार्ने सत्यनारायणलाई मृतकको मृत्यु नहुँदैको अवस्थामा डाक्टर बोलाउन पठाएको हुँदा मृतक मरेको अवस्थामा ज्यान मरिसकेको कुरा चाल पाई भगाएको नदेखिएको हुँदा प्रतिवादी पाहुन थारुले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४६।१।५।२ को फैसला ।

            २०.   पश्चिमाञ्चल क्षेत्रीय अदालतको उक्त फैसला चित्त बुझेन । प्रतिवादी बिक्रमले अधिकार प्राप्त अधिकारी समक्ष आफूले मार भनी बचन दिएकोमा कसूर स्वीकार गरी बयान गरेको पाइन्छ । जाहेरवालाको जाहेरी र अदालतको बकपत्रबाट तथा सरजमीनको भनाईबाट पनि निजले मार भनी बचन दिएको भन्ने भनाई पुष्टि भइरहेको छ । प्रतिवादी पाहुन थारुले मृतक मर्छ कि भनी कुराकानी हुँदैका अवस्थामा प्र.सत्यनारायणलाई डाक्टर बोलाउने निहुँमा बोलाउन पठाएको कुरा स्वीकार गर्दै अधिकार प्राप्त अधिकारी समक्ष बयान गरेका छन् र निजको भनाई जाहेरवाला तथा सरजमीनका मानिसहरुको भनाईबाट पुष्टि भइरहेको छ । यस्तो अवस्थामा दुवै प्रतिवादीहरुलाई आरोपित कसूरबाट सफाई दिने गरी गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रहरी प्रतिवेदन माग दावी अनुसार सजायँ गरी पाउँ भन्ने समेत वादी श्री ५ को सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

            २१.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीका तर्फबाट खटिई आउनु भएका विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्नेतले गर्नु भएको बहस समेत सुनियो ।

            २२.   प्रस्तुत मुद्दामा पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला मिलेको छ छैन सो निर्णय दिनुपर्ने हुन आयो ।

            २३.   यसमा पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट विपक्षी प्रतिवादीहरुले सफाई पाउने ठहर्‍याएकोमा श्री ५ को सरकारतर्फबाट अभियुक्त मध्येका विक्रम यादवले कुटपिट भएको ठाउँमा आई कुटपिट गर्ने भनिएको आफ्नो छोरालाई साले चमारलाई मार देखाजाला भनी बचन दिएपछि निज छोरा सत्यनारायणले मर्ने शितल चमारलाई भुँइमा पछारेको भनी देखाई जाहेरी दर्खास्त दिएको र अदालतमा आई बकपत्र गर्दा पनि सो कुरा देखाएकै हुँदा निजको जाहेरी र बकपत्र फरक परेको भन्न नमिली वारदात स्थलमा रहेकी मर्नेकी बुहारी चिनकी चमारनीले पनि सोही बमोजिमको कुरा देखाई प्रहरीमा कागज गरेको निज मुद्दा कारवाहीमा छँदै मरिसकेबाट सम्म अदालतमा आई बकपत्र हुन नपाएको भए पनि जाहेरवालाको उक्त भनाई समर्थन भइरहेको समेतबाट निजलाई सफाई दिएको नमिल्ने र अभियुक्त पाहुन थारुको हकमा पनि मर्ने शितल चमार कुटपिटबाट चोट लागी बेहोस भएपछि निज पाहुन थारुले कुटपिट गर्ने सत्यनारायणलाई डाक्टर बोलाउन पठाएको कुरा प्रहरीमा सकार गरी भगाएमा जो ठहर्छ भनी कागज गरेको र जाहेरवाला तथा चिनकीले पनि सोही बमोजिमको कुरा देखाई प्रहरीमा गरेकोमा जाहेरवालाले अदालतमा आई बकपत्र गरी समर्थन गरेको र चिनकी मरीसकेको कारणबाट सम्म आउन नपाएकोबाट समर्थन हुन नआए पनि दावी बमोजिम सजायँ हुनुपर्ने भन्ने जिकिर लिई यस अदालत समक्ष पुनरावेदन गरेको देखिन्छ । बहसमा उपस्थित हुने विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्नेतले सोही जिकिर लिई बहस गर्नु भएको छ । मुद्दाको वस्तुस्थिति र बहस जिकिरबाट समेत जुन वारदातको कारणबाट मर्ने शितलको मृत्यु भएको छ सो वारदातमा साधारण कुटपिट सम्म भइरहेको र सो कुटपिटमा कुनै हतियार प्रयोग भएको देखिन आएको छैन । यस्तो साधारण कुटपिट भएको ठाउँमा एक पक्षले अर्को पक्षलाई मारोभन्ने शब्द प्रयोग भई कुटपिट हुनु खास गरी यो वारदातस्थल रुपन्देही जिल्लामा साधारण चलन चल्तीमा आउने भाषा भएकोले सो प्रयोग भएको शब्दबाट भएको वारदातको परिप्रेक्षमा ज्यानै मारिदेउ भनी बचन दिएको अर्थ लगाउन मिल्न देखिन नआएकोले साधारण लात मुक्काले कुटपिट भइरहेको ठाउँमा आई पुगी साले चमारलाई मारभनी कुटपिट गर्ने छोरालाई भनेकै देखिए पनि त्यसबाट ज्यानै मारीदेउ भनी बचन दिएको भन्न मिल्दैन र शितल घायल भई लडेपछिको अभियुक्तको व्यवहारबाट पनि सो कुरा पुष्टि हुन आएकोले अभियुक्त बिक्रम यादवले मर्ने शितल चमारको ज्यानै मारिदेउ भनी बचन दिएको नठहर्‍याएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ ।

            २४.   अब अभियुक्त पाहुन थारुको हकमा विचार गर्दा निजले प्रहरीमा कागज गर्दा पनि शितल कुटपिटबाट बेहोस भएको अवस्थामा कुटपिट गर्ने सत्यनारायण डक्टर बोलाउन जान्छु भनी गएको भनी सम्म भनेको जाहेरवालाले जाहेरी दिँदा पनि पाहुन थारुले सत्यनारायण गएको छ भनी भनेको भनी देखाएको र मर्नेकी बुहारी चिनकीले पनि सोही बमोजिम सत्यनारायण गएको छ भनी पाहुन थारुले भनेको भनी सम्म भनेकोबाट निज अभियुक्त पाहुन थारुले नै पठाएको भनी कसैले भनेको नदेखिई सत्यनारायणलाई पठाउन नपर्ने भनी भन्दा भाग्दैन भागे म जिम्मेवार छु भनीसम्म भनेको भन्ने देखिन आएकोबाट अभियुक्त पाहुन थारुले भगाउनैका लागि सत्यनारायणलाई डाक्टर बोलाउने निहुँ गरी पठाएको भन्न युक्तिसंगत नदेखिएकोले निजले समेत सफाई पाउने ठहर्‍याएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४६।१।५।२ को इन्साफ मनासिब ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

           

उक्त रायमा म सहमत छु ।

 

न्या. गजेन्द्रकेशरी बास्तोला

 

इति सम्वत् २०४६ साल फाल्गुण ३० गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु