शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४०३३ - उत्प्रेषण

भाग: ३१ साल: २०४६ महिना: चैत्र अंक: १२

निर्णय नं. ४०३३     ने.का.प. २०४६                        अङ्क १२

एक न्यायाधीशको इजलास

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

सम्वत् २०४६ सालको रि.नं. १०२७

आदेश भएको मिति : २०४५।११।१५।२ मा

निवेदक : जि. कञ्चनपुर महेन्द्रनगर न.पं.वडा नं. ८ बस्ने नैनसिंह विष्ट

विरुद्ध

विपक्षी : महाकाली अञ्चल अदालत, कञ्चनपुरसमेत

विषय : उत्प्रेषण

§  तह तह हुँदै प्रमाणको मूल्यांकन गरी अधिकार प्राप्त निकायबाट कानुनले व्यवस्था गरे बमोजिम अन्तिम ठहर भइसकेकोमा तथ्य भित्र प्रवेश गरी असाधारण अधिकार क्षेत्र प्रयोग गरी रिट क्षेत्रबाट हेर्न नमिल्ने ।

(प्रकरण नं. ५)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री लक्ष्मणमणि रिसाल

आदेश

            न्या. पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ ।

            २.    २०३६ सालमा ज.ध.प्र.पु. प्राप्त गरी भोगी आएको जि. कञ्चनपुर म.न.न.पं. वा.नं. ८ प्लट नं. ३(ख) कि.नं. १०३ को क्षे.फ. ०० जग्गाको पूर्व उत्तर १ हिस्सा पार्ने गरी ढुंगा गारो काठ टायलले २ तले पक्की घर मिति २०४२।४।१५ मा लगाई मिति २०४२।८।१२ मा पर्खाल हाल्न कम्पाउण्ड लगाउन लागेकोले मेरो नाउँ दर्ताको कि.नं. १०३ क्षे.फ. ०जग्गाको उत्तरपूर्व दिशातर्फ १।४ हिस्सा पर्ने गरी घर च्यापी खिचोला गरेकोले घर भत्काई खिचोला मेटाई चलन समेत चलाई पाउँ भन्ने विपक्षी चन्द्रादेवीको फिराद भएकोमा क्षेत्रीय बसोवास कार्यालयमा चोरी दर्ता गराए भनी कार्यवाही भइरहेकोमा २०४२।४।२२ मा फिरादीले बयान गर्दा घर बनाउन लागेको हुँ भनी भन्न सक्नु पर्ने घर बनाएको भनी बनेको समय देखाउन सक्नु भएको छैन । मेरा आमा नाउँ दर्ताको कि.नं. १०२ नं. को जग्गा २०३६ सालमा कायम भएको कि.नं. १५ को क्षे.फ. कम भएकोले संशोधन गरी पाउँ भनी निवेदन गरी आएको र २०३० सालमा आमाले घर बनाउनु भएको हो फिराद दावी मु. ऐन घर बनाउनेको ११ नं. , ज.मि.को १८ नं. को हदम्याद भित्र नपरेको हुँदा फिराद खारेज गरी पाउँ भन्ने समेत व्यहोराको मिति ०४२।१२।१८ मा प्रतिउत्तर भएकोमा भई आएको नक्शा मुचुल्का हेर्दा विवादित न.नं. ५ को घर वादीको कि.नं. १०३ भित्र नपरेको देखिँदा वादीको दावी नपुग्ने ठहर्छ भनी शुरु कञ्चनपुर जि. अ.बाट भएको फैसला । सो उपर म.क्षे.अदालतले पुनः नक्शा गरी विवादित घर वादीको जग्गा भित्र नै परेको देखिएकोले घर चलाई पाउने र घर बनाउनेको ४ नं. बमोजिम हुने ठहर्छ भन्ने ठहर गर्‍यो । सो उपर मेरो पुनरावेदन परेकोमा सु.प.क्षे.अ.ले अं.अ.कै फैसला सदर गर्‍यो । सो घर नन्ददेवीले २०३७ साल मै बनाउनु भएको थियो । सो साक्षीबाट पुष्टी छ । २०४२।४।१५ मा बनेको भनेको झुठ्ठा हो । अं.अ.ले पुनः नक्शा गर्ने गरेको आदेश त्रुटिपूर्ण छ । अब २०४५।५।१६ को नक्शामा न.नं. २ र ३ भनी आएको पहिले दावी नभएको ०४३।९।१६ को नक्शा न.नं. ६ र ७ कायम भएको जसलाई वादीले नक्शा मुचुल्कामा नै न.नं. ६ र ७ को घरहरु ०४३ साल असार तिर बनाउनु भएको हो भनी दावी वादी र पारेका छन् । केवल न.नं. ५ लाई मात्र ०४३।४।१५ मा खिचोला गरी बनाएका ०४३।६।१ मा तयार गरेका दावी भइरहेका छ । जुन न.नं. १ मा छ भने यस स्थितिमा दावी नै नभएको पहिलेको न.नं. ६ र ७ र पछिल्लोको न.नं. २ र ३ को घरहरु घर बनाउनेको ४ नं. बमोजिम भत्काउने भनी गरेको फैसला विलकूलै गैरकानुनी छ । दावी एउटै घरमा भएकोमा यसरी निर्णय गर्न मिल्ने हैन । अतः महाकाली अञ्चल अदालत तथा सु.प.क्षे.अ. का त्रुटिपूर्ण फैसला बदर गरी पाउँ भन्ने समेत रिटनिवेदन जिकिर ।

            ३.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा रिट निवेदकका तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री लक्ष्मणमणि रिसालले प्रस्तुत गर्नु भएको बहस जिकिर सुनियो ।

            ४.    अब यसमा विपक्षीबाट लिखितजवाफ मगाउनु पर्ने हो होइन सो को निर्णय दिनु परेको छ ।

            ५.    निर्णयतर्फ विचार गर्दा यसमा विपक्षीले जग्गा खिचोला मेटाई चलन चलाई पाउँ भनी म उपर दिनु भएको फिराद मुलुकी ऐन घर बनाउनेको ११ नं. तथा जग्गा मिच्नेको १८ नं. को हदम्याद भित्र नपरेको स्थितिमा पनि घर चलाई पाउने र घर बनाउनेको ४ नं. बमोजिम हुने ठहर्छ भनी महाकाली अञ्चल अदालत तथा सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतले गर्ने गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी पाउँ भन्ने मुख्य रिटनिवेदन जिकिर देखिन्छ । यो पक्ष विपक्ष बीच जग्गा खिचोला मेटाई चलन चलाई घरबाट उठाई पाउँ भन्ने मुद्दा शुरु कञ्चनपुर जिल्ला अदालतमा चली पुनरावेदन तहबाट महाकाली अञ्चल अदालत तथा सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालत समेतबाट अन्तिम निर्णय भइसकेको देखिन्छ । यसरी तहतह हुँदै प्रमाणको मूल्यांकन गरी अधिकार प्राप्त निकायबाट कानुनले व्यवस्था गरे बमोजिम अन्तिम ठहर भइसकेकोमा तथ्य भित्र प्रवेश गरी यस अदालतको असाधारण अधिकार क्षेत्र प्रयोग गरी रिट क्षेत्रबाट हेर्न नमिल्ने हुँदा निवेदकको माग बमोजिम विपक्षीहरुबाट लिखितजवाफ मगाई रहनु परेन । प्रस्तुत रिटनिवेदन खारेज हुने ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

इति सम्वत् २०४६ साल फाल्गुण १५ गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु