निर्णय नं. ६९६६ - हाडनाता करणी

निर्णय नं. ६९६६ ने.का.प. २०५७ अङ्क १२
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा
माननीय न्यायाधीश श्री केदारनाथ आचार्य
सम्वत २०५४ सालको फौ.पु.नं. ... १६४१
फैसला मितिः २०५७।१२।२४।६
मुद्दाः – हाडनाता करणी ।
पुनरावेदक/वादीः जिल्ला स्याङजा दारसिं दहथुम गा.वि.स. वडा नं. ६ ठुलोगाउँ बस्ने सफाइ तुल मिया
विरुद्ध
विपक्षी/प्रतिवादीः ऐ.ऐ. बस्ने अब्दुल करिम मिया समेत
§ वादीले चार पुस्ता भित्रको नातामा जानी-जानी हाडनातामा करणी गरेकोले सजाय गरी पाउँ भन्ने जुन दावी लिएको छ त्यसलाई प्रतिवादीले अस्वीकार गरी हाडनातामा करणी नगरेको भनी प्रतिउत्तर फिराएको देखिन्छ । वादी प्रतिवादीको बीचमा हाडनातामा करणी भएको हो भनी वादीले आफ्नो फिराद पत्रमा लेखेको बाहेक चार पुस्ता भित्रको भनी लेखी दिएको पाइएपनि तथ्ययुक्त सबूदबाट पुष्टि नभएको मुलुकी ऐन हाडनातामा करणी गर्नेको महलको १०क नं. को कानूनी व्यवस्था हेर्दा यस महलमा अन्य नम्बरहरुमा जुनसुकै कुरा लेखिएको भएतापनि आफ्नो जात वा कुलमा चलि आएको चलन अनुसार विवाह वा करणी गर्न हुने नाता सम्बन्धमा विवाह वा करणी भएकोमा यो ऐन बमोजिम सजाय हुने छैन भन्ने कानूनी प्रावधान रहेको देखिन्छ । आफ्नो जात वा कुलमा चलि आएको चलन नभएको भनी जिकिर लिई हाडनातामा करणी गरेको कुरा तथ्ययुक्त अन्य सबूद प्रमाणबाट वादीले पुष्टी गराउन सकेको नदेखिएको अवस्थामा केवल फिराद दावीको मात्र आधारले हाडनातामा करणी गरेको भन्न ठहर्याउन न्यायोचित नदेखिने ।
(प्र.नं.१३)
पुनरावेदक वादी तर्फबाटः विद्बान अधिवक्ता श्री नरप्रसाद थापा
विपक्षी प्रतिवादी तर्फबाटः
अवलम्बित नजिरः
फैसला
न्या.हरिप्रसाद शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त उतार र ठहर यसप्रकार छः
2. मेरो साहिलो छोरा अहमत अलि मियाको विवाहित श्रीमती विपक्षी सुभुन मिया हुँदा विपक्षी अब्दुल करिम मिया र सफाइ दिनको जेठा बाबु तर्फको नाति नाता पर्ने र छोरा अहमत अलि मियाको जेठा बाजे तर्फका ४ पुस्ताका छोरा नाता पर्दछन । विपक्षी मध्येकी सुभुन मियालाई मेरा छोरा अहमद अलि मियाले विधिवत विवाह गरी ल्याएको बुहारीतर्फ १ छोरी जायजन्म भै हाल ३ वर्ष जतिकी जीवित छन । छोरा महमत अलिमिया रोजगार निमित्त विदेश अरब तर्फ बसेका छन । विपक्षी बुहारीले अन्यत्र लोग्ने मानिससँग अनुचित सम्बन्ध कायम गरी गर्भधारण गरेको शंका लागि सोधपुछ गर्दा अब्दुल करिम मियाको करणी विर्यबाट गर्भ रहन गै करणी मौका मौकामा हुने गरेकाले हाल गर्भ ४ महिना पुगि ५ महिना लागेको हुनुपर्दछ भनेकी हुँदा विपक्षीहरुलाई समेत जुटाई सोधपुछ रोहवर गर्दा करणी लिनु दिनु गरेको कुरामा विपक्षीहरु सावित भएको र निज सुभुनलाई लगाउन दिएका धनमाल गहना लगाउने गरेको नदेखिई खोइ गहना भनी कुरा हुँदा माइती बाबुका घरमा राख्न दिएको छु भनेको हुँदा रोहवर हुदा कै दिन गहना धनमाल चाहियो भन्दा अब्दुल करिम मियालाई दिएकी छु भनेकीले विपक्षी सुभुनलाई विपक्षी अब्दुल करिम मियाको साथ निजको घरमा भित्र्याइएको र धनमाल बुझाउन नल्याएकोले विपक्षीहरुको घरमा जाँदा विपक्षीहरु भागी हिडेको भन्ने थाहा भएकोले धनमाल र जारी तर्फ अहमत अलीले दिने हुँदा हाडनाता तर्फ हाम्रो मुस्लिम जातीमा असर पर्ने हुँदा हाडनातामा ४ पुस्ता भित्रका आमा छोरा नातामा जानी जानी हाडनातामा करणी गरेकोमा विपक्षी अब्दुल करिम मियालाई हाडनाता करणीको ३ नं. बमोजिम र विपक्षी सुबुन मियालाई ऐ.को १० नं. बमोजिम सजाय गरी पाउँ भन्ने समेत सफाइ तुल मियाको फिराद पत्र ।
3. विपक्षीको छोरा अहमद अलि र म अब्दुल करिमको बीचमा ७ पुस्ता भन्दा टाढाको पुस्तावारी पर्दछ । हामी अब्दुल करिम र सुभुनका बीचमा २०४३ साल वैशाख महिनामा विवाह भएपछि एक छोरीको जन्म भयो । वादीको छोरा अहमद अलिसँग म सुभुनको विवाह भएको र ५ छोरा नाता पर्ने अब्दुल करिमसँग म सुभुनको विवाह भएको र ४ पुस्ताको छोरा नाता पर्ने अब्दुल करिमसँग करणीमा बिग्री पोइल गई हाडनाताको कसूर गरेको समेत होइन । म अब्दुल करिमले विपक्षी छोरा बुहारीको करणी गरी हाडनाताको कसूर गरेको समेत होइन । विपक्षीले २०४८ साल आषाढ १५ गते मेरो घरमा आई मेरो छोरा अहमद अरबबाट आएपछि तुरुन्त नगद मौज्दात नहुँदा मसँग अहिले रुपैया छैन भनी मैले दिइन । सोही विषयमा निहुँ झिकी मौखिक विवाद निकाली त्यति रुपैयाको कारोबार पनि नचलाउने भएपछि फतुरो मुद्दा लगाएर भएपनि दुःख हैरानी नदिई छाड्ने छैन भनी जवाफ गरेको हुँदा सोही कारणबाट यो मुद्दा दायर गरेको हो । जारीको कसूर कायम भएमा मात्र हाडनाता करणीको प्रश्न आउने भएकोमा मुल विवादमा मुद्दानै नपरेकोले यो मुद्दा अ.वं. १८० नं. बमोजिम खारेज गरी विपक्षीलाई नै सजाय गरी झुठ्ठा आरोपबाट सफाई पाउँ भन्ने समेत व्यहोराको अब्दुल करिम मिया समेतको संयुक्त प्रतिउत्तर जिकिर ।
4. जिल्ला अदालतको आदेशानुसार वादी र प्रतिवादीहरुका साक्षीले बकेको बकपत्र तथा डोरबाट भै आएको मिति २०४९।१।२२ को सर्जमिन मुचुल्का मिसिल सामेल रहेछ ।
5. यसमा वादीको बुहारी प्रतिवादी सुभुन मिया र प्रतिवादी अब्दुल करिम मिया बीच हाडनातामा करणी लिनुदिनु गरी बसेको देखिन आउदा वादी दावी बमोजिम प्रतिवादी सुभुन मियालाई ऐ.ऐनको १० नं. ले ॥१५ दिन कैद हुने ठहर्छ भन्ने समेतको स्याङजा जिल्ला अदालतको फैसला ।
6. स्याङजा जिल्ला अदालतको त्रुटिपूर्ण निर्णय वदर गरी हाम्रो प्रतिउत्तर जिकिर बमोजिम सफाइ पाउँ भन्ने समेत प्रतिवादीहरुको पुनरावेदन जिकिर ।
7. यसमा बुहारी हाडनाता करणीमा बिग्रेको भनी ससुरालाई फिराद गर्ने अधिकार स्पष्ट रुपमा कानूनले दिएको अवस्था नहुँदा र अ.वं. १० नं. बमोजिम अनुमति लिई दायर गरेको प्रस्तुत मुद्दामा समेत सार्वजनिक हित वा सरोकार निहित रहेको भन्ने पनि नदेखिनुका साथै विवाह भएको मिति खुलाई फिराद दायर गरेको अवस्था समेत नहुँदा यसै लगाउको जारी मुद्दामा पन्जिकाधिकारीको कार्यालयको पनि दार्सिङ गा.पं. को प्रमाण पत्र २०४८ सालमा लिई पेश गरेको लिखतलाई प्रमाणमा लगाई गरेको शुरु स्याङजा जिल्ला अदालतको फैसला फरक पर्ने देखिँदा छलफलका निमित्त अ.वं. २०२ नं. बमोजिम विपक्षीलाई झिकाई पेश गर्नु भन्ने पुनरावेदन अदालतको आदेश ।
8. वादी महमद अलि मिया र प्रतिवादी अब्दुल करिम मिया समेत भएको धनमाल मुद्दा र जारी मुद्दा समेत सँगै साथै पेश भएको रहेछन ।
9. मुलुकी ऐन हाडनाता करणी गर्नेको १०क नं. ले आफ्ना जात वा कूलमा चलि आएको चलन अनुसार विवाह वा करणी गर्न हुने नाता सम्बन्धमा विवाह वा करणी भएकोमा हाडनाता करणीको महल बमोजिम सजाय नहुने उल्लेख भएको र वादीले दावी लिएको पुस्तावारीलाई तथ्ययुक्त सबूद प्रमाण पेश गरी हाडनाता भित्र पर्ने भनी पुष्टि गर्न नसकेको अवस्थामा शुरु स्याङजा जिल्ला अदालतको फैसला नमिलेकोले उल्टी हुने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत पोखराको फैसला ।
10. शुरु इन्साफ उल्टी गर्ने गरेको पुनरावेदन अदालत पोखराको फैसलामा चित्त बुझेन । सो फैसला वदर गरी शुरु जिल्ला अदालतको फैसला सदर थामी पाउँ भन्ने समेत व्यहोराको वादीको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
11. नियम बमोजिम दैनिक पेशी सूचिमा चढी आज यस इजलास समक्ष पेश हुन आएको पुनरावेदन सहितको मिसिल कागजात अध्ययन गरियो । पुनरावेदक वादी तर्फबाट विद्बान अधिवक्ता श्री नरप्रसाद थापाले मेरो पक्ष सफाइ तुल मिया र प्रतिवादी ४ पुस्ता भित्रका हुन भन्ने कुरा पुस्तेवारीबाट देखिन्छ । काकी नाता पर्ने बुहारीसँग करणी लिनु दिनु गरेकोले हाडनाता करणीको महल अन्तर्गत अपराध गरेकोले पुनरावेदन अदालत पोखराको फैसला वदर गरी शुरु जिल्ला अदालतको फैसला सदर थामी पाउँ भनी बहस गर्नु भयो ।
12. विद्बान अधिवक्ताको उल्लेखित बहस सुनी हाडनातामा करणी गरेको ठहर्याएको शुरु जिल्ला अदालतको फैसला उल्टी गरेको पुनरावेदन अदलत पोखराको फैसला मिलेको छ, छैन, पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन, निर्णय दिनु परेको छ ।
13. निर्णयतर्फ विचार गर्दा, सुभुन मियालाई मेरा छोराले विवाह गरी एक छोरीको जायजन्म भै हाल छोरा साउदी अरब तर्फ गएको बखत गाउकै छोरा नाता पर्ने अब्दुल करिम मियाको करणी विर्यबाट गर्भ रहन गएको भन्ने निज बुहारी र अब्दुल करिम मिया सावित भएकाले निजहरुलाई हाडनाताको महलको ३ नं. ले हदैसम्म सजाय गरी पाउँ भन्ने समेत वादीको मुख्य दावी र वादीले मागेको रुपैया मैले दिन नसकेको कारणबाट यो झुठ्ठा मुद्दा दिएका हुन भन्ने अब्दुल करिम मियाको र वादीको छोरा अहमद अलीसँग विवाह भएको र चार पुस्ताको छोरा नाता पर्ने अब्दुल करिमसँग करणीमा नबिग्रएको हुँदा झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको अब्दुल करिम र सुभुन मियाको संयुक्त प्रतिउत्तर जिकिर भै विवाद परेको प्रस्तुत मुद्दामा वादीको बुहारी सुभुन मिया र प्रतिवादी अब्दुल करिम मियाका बीच हाडनातामा करणी लिनु दिनु गरी बसेको देखिन आउछ । वादी दावी बमोजिम प्रतिवादी अब्दुल करिम मियालाई हाडनाता करणीको ३ नं. बमोजिम २ महिना कैद हुने र प्रतिवादी सुभुन मियालाई ऐ.ऐनको १० नं. ले १५ दिन कैद हुने ठहर्छ भन्ने शुरु स्याङजा जिल्ला अदालतबाट फैसला भएकोमा सो फैसलामा चित्त बुझेन भनी प्रतिवादीको पुनरावेदन पर्दा शुरुको इन्साफ उल्टी भै प्रतिवादीहरुले सफाई पाउने ठहर्छ भन्ने पुनरावेदन अदालतको फैसला उपर वादीको यस अदालतमा पुनरावेदन पर्न आएको पाइयो । वादीले चार पुस्ता भित्रको नातामा जानी-जानी हाडनातामा करणी गरेकोले सजाय गरी पाउँ भन्ने जुन दावी लिएको छ त्यसलाई प्रतिवादीले अस्वीकार गरी हाडनातामा करणी नगरेको भनी प्रतिउत्तर फिराएको देखिन्छ । वादी प्रतिवादीको बीचमा हाडनातामा करणी भएको हो भनी वादीले आफ्नो फिराद पत्रमा लेखेको बाहेक चार पुस्ता भित्रको भनी लेखी दिएको पाइएपनि तथ्ययुक्त सबूदबाट पुष्टि नभएको मुलुकी ऐन हाडनातामा करणी गर्नेको महलको १०क नं. को कानूनी व्यवस्था हेर्दा यस महलमा अन्य नम्बरहरुमा जुनसुकै कुरा लेखिएको भएतापनि आफ्नो जात वा कुलमा चलि आएको चलन अनुसार विवाह वा करणी गर्न हुने नाता सम्बन्धमा विवाह वा करणी भएकोमा यो ऐन बमोजिम सजाय हुने छैन भन्ने कानूनी प्रावधान रहेको देखिन्छ । आफ्नो जात वा कुलमा चलि आएको चलन नभएको भनी जिकिर लिई हाडनातामा करणी गरेको कुरा तथ्ययुक्त अन्य सबूद प्रमाणबाट वादीले पुष्टी गराउन सकेको नदेखिएको अवस्थामा केवल फिराद दावीको मात्र आधारले हाडनातामा करणी गरेको भन्न ठहर्याउन न्यायोचित देखिएन ।
14. अतः शुरु स्याङजा जिल्ला अदालतले वादी दावी बमोजिम हाडनातामा करणी गरेको ठहर्याइ सजाय गर्ने गरेको फैसला पुनरावेदन अदालत पोखराले उल्टी गरी प्रतिवादीले सफाई पाउने ठहर्याएको इन्साफ कानूनतः मिलेकै देखिँदा मुनासिव ठहर्छ । वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.केदारनाथ आचार्य
इति सम्वत २०५७ साल फागुन २३ गते रोज ३ शुभम्...........