निर्णय नं. ४७२९ - ज्यान

निर्णय नं. ४७२९ ने.का.प. २०५० (क) अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह
माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी
सम्वत् २०४६ सालको फौ.पु.नं. ३६४
२०४६ सालको फौ.सा.नं. ६१
फैसला मिति: २०४९।१२।१६।२
पुनरावेदक: जिल्ला मकवानपुर कोगटे गा.वि.स वडानं. ४ घर भै हाल जिल्ला कार्यालय कारागार शाखा पर्सा विरगंजमा थुनामा बस्ने मोती बहादुर रेग्मी ।
विरुद्ध
वादी/प्रत्यर्थी: जिल्ला मकवानपुर कोगटे गा.पं. वडानं. ४ बस्ने कृष्ण बहादुर आलेमगरको जाहेरीले श्री ५ को सरकार ।
मुद्दा : ज्यान ।
(१) आफूलाई राती आश्रय दिने जेठी आमालाई निजको गहना, पैसाको लोभमा फसी मार्ने कृयामा सम्मिलिन भएको समेत बयानबाट देखिंदा निजलाई ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम सजाय गरेको शुरु इन्साफ सदर गरेको ना.अं.अ. को फैसलालाई सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्ने ।
(प्र.नं. ३१)
(२) स्वतन्त्र तथा भरपर्दो प्रमाणबाट पुष्टि हुन नआएको अवस्थामा केवल सह अभियुक्तको पोलाइबाट मात्र निजलाई कसुरदार ठहराउन न्याय संगत नहुने ।
(प्र.नं. ३२)
पुनरावेदक तर्फबाट: विद्वान वैतनिक अधिवक्ता श्री होम नाथ ढुंगाना
प्रत्यर्थी तर्फबाट: विद्वान सरकारी अधिवक्ता श्री मोहन बहादुर थपलिया
फैसला
न्या. रुद्र बहादुर सिंह
१. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर चित्त नबुझि सर्वोच्च अदालत नियमावली बमोजिम दर्ता भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छः–
२. घरमा एक्लै बसी आउनु भएकी सासू हरिमायाको घरमा गाई वस्तु फुस्की रहेको, मानिस यताउती हिडेको नदेखिई पंच समेत गई हेर्दा चोटा तलामा मृत्यु भै सुती रहेको अवस्थामा देखिएकोले कर्तव्य परी मरेको शंका लागि जाहेर गर्न आएको छु भन्ने समेत व्यहोराको अर्जुन बहादुर आचार्यको जाहेरी ।
३. म पहिला देखि नै हेटौंडा आई बसेको, घरमा आमा हरिमाया एक्लै बस्तु हुन्थ्यो, ज्वाई अर्जुन बहादुरले आमालाई थाहा नभएको मानिसले मारेको भनी भन्ने आएबाट गई हेर्दा सिरकले ओडाई राखेको फेला परी आमालाई कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ भन्ने समेत व्यहोराको कृष्ण बहादुर आले मगरको जाहेरी ।
४. हरिमायाको मृत्यु भएको ठाउँमा गई हेर्दा बरपर सरसामान खाने अनाज भाडा वर्तन भएको टंका वाक्साहरु खुला भई कागजपत्रहरु छरिएको लास फुलेको टाउको तालुमा छाला लोत्केको, रगत वगी कपडा गुन्द्रीमा लागी सकेको भन्ने समेत लास प्रकृति मुचुल्का ।
५. मेरी जेठी आमा हरिमायालाई मिति २०४२।२।१२ गते राती मोती बहादुर, शेर बहादुर, तिलक बहादुरको छोरा जेठा मगर समेतले बन्चरोले हानी मृत्यु भएको हो । पहिलो बयानमा लेखिएका कृष्ण बहादुर रेग्मी र जित बहादुर मगरले कर्तव्य गरेका छैनन् भन्ने समेत व्यहोराको हिरा बहादुर आले मगरको अधिकार प्राप्त अधिकारी समक्ष ततिम्बा सहितको बयान ।
६. हरिमाया कर्तव्य गरी मारी चोरी गरेको भनिएका सामान हिरा बहादुर, शेर बहादुर, मोति बहादुर, जित बहादुर, कृष्ण बहादुरको घरमा खान तलासी गर्दा फेला नपरेको भनी गरिएको भिन्ना भिन्नै खान तलासी मुचुल्का ।
७. मैले हरिमायालाई कर्तव्य गरी मारेको छैन । नगद, सुन, चाँदी लिएको छैन । निजलाई मार्नुपर्ने कुनै कारण छैन, हिरा बहादुरलाई पक्राउ गराएकोले मलाई पोलेको हो भन्ने समेतको कृष्ण बहादुर रेग्मीको अधिकार प्राप्त अधिकारी समक्ष भएको कागज ।
८. मैले हरिमायालाई कर्तव्य गरी मारेको होइन, मार्नुपर्ने कुनै रिस इवी छैन । पक्राउ परेका हिरा बहादुरले मसँग भएको कुटपिट मुद्दाको रिस इवीबाट झुटा पोल गरेको हो भन्ने समेतको जित बहादुरको अधिकार प्राप्त अधिकारी समक्ष भएको बयान कागज ।
९. हिरा बहादुर आले मगर, मोती बहादुर रेग्मी, शेरबहादुर रेग्मी र जेठा मगरले हरिमायालाई कर्तव्य गरी मारेकोमा पूरा विश्वास लाग्छ । कृष्ण बहादुर रेग्मी, जित बहादुर मगरले कर्तव्य गरी मारेको होइन भन्ने समेत व्यहोराको सर्जमिन मुचुल्का ।
१०. हिरा बहादुर आले मगर, मोती बहादुर रेग्मी, शेर बहादुर रेग्मी, जेठा राना मगर समेत जना ४ ले पोष्टमार्टम समेतको आधारमा ज्यान सम्बन्धीको १३ नं. अनुसार कसुर गरी मारेको सिद्ध हुन आएकोले ज्यान सम्बन्धीको १३(३) नं. अनुसार सजाय हुन र कृष्ण बहादुर र जित बहादुरको हकमा मुद्दा चलाउन सबुद प्रमाण नपुग्ने देखिएको भन्ने समेत व्यहोराको उल्लेख गरी पेश भएको प्रहरी प्रतिवेदन ।
११. प्र. मध्ये हिरा बहादुरले ज्यान जस्तो अपराधमा झुटा पोल गर्ने कारण नहुँदा कृष्ण बहादुर रेग्मी र जित बहादुर आले मगरलाई ज्यान सम्बन्धीको १३ (३) नं. बमोजिम सजायको माग दावी भएको सरकारी वकिलको छुट्टै प्रतिवेदन पत्र ।
१२. मिति २०४२।२।१२ गते माहिली आमाको घरमा जान लागेकी थिए । बाटोमा शेर बहादुर, मोती बहादुर समेत सँग भेट भयो, उनीहरुले तेरो माहिली आमाको गोरु, खसी, बोका बिक्री गरेको छ, पैसा धेरै होला भनेर उनीहरुसँग माहिली आमाको घरमा गयौ । राती त्यहाँ बास बस्यौ । राती मोती बहादुरले माहिली आमालाई करणी गर्दै रहेछ, त्यति बेला शेर बहादुरले मोती बहादुरलाई निदालबाट बन्चरो झिकेर दिए । मलाई पनि हान के हेरेको भने, मैले समेत भै हरिमायालाई कर्तव्य गरी मारेको हो भन्ने समेत व्यहोराको हिरा बहादुरले अदालत समक्ष गरेको ततिम्बा बयान ।
१३. म समेत भै मृतक हरिमायालाई मारेको र मार्ने सल्लाह दिएको समेत होइन भन्ने समेतको कृष्ण बहादुरको अदालतमा भएको बयान ।
१४. म त्यस दिन बारदात भएको ठाउँमा नभई गाउँकै राम बहादुर ठाँडाको आमा मरेकोले कृयापुत्रीलाई कुर्न गएको थिए । हिरा बहादुरको बाबुसँग कुटपिट मुद्दा परेको रिसबाट मलाई झुटा पोल गरेको मात्र हो, मैले अपराध गरेको छैन भन्ने समेत व्यहोराको जितबहादुर आले मगरको अदालत समक्ष भएको बयान ।
१५. म २०४२ साल जेष्ठ १० गते चौतारा गएको थिए । म समेत भै रक्सी फुल खाई हिरा बहादुरको माहिली आमालाई मारेको होइन, हिरा बहादुरले भनेको पाईन्ट मेरो होइन भन्ने समेत व्यहोराको प्र. मोती बहादुरको अदालतमा भएको बयान ।
१६. हिरा बहादुर र म कुलेखानीमा काम गर्दा झगडा भएको थियो । मलाई अपराधमा किन पोले थाहा छैन, मैले हरिमायालाई मारेको होइन भन्ने समेत व्यहोराको जेठा लेखिएको जगत बहादुर राना मगरको अदालतमा भएको बयान ।
१७. प्र. हिरा बहादुरको बयान झुठ्ठा हो, मैले पञ्चहरुमाथि शान्ति सुरक्षाको लागि जि.प्र.का र जिल्ला कार्यालयमा निवेदन दिएको थिए । त्यसै कारणबाट म माथि सर्जमिनले शंका देखाएको हो, मैले नबिराएको हुँदा सजाय पाउनुपर्ने होइन भन्ने समेत व्यहोराको प्र. शेर बहादुरको अदालतमा भएको बयान ।
१८. प्र. मोती बहादुरले ज्यान मारेको होइन भनी वकपत्र गर्ने निजकै साक्षी केशरी पौडेल र कृष्ण बहादु ठकुरी, जित बहादुर, टेक बहादुर, लाल बहादुर जित बहादुरले कर्तव्य गरी हरिमायालाई मारेका होइन भनी वकपत्र गरेको । प्र. शेर बहादुरले पनि आफ्ना साक्षीद्वारा वकपत्र गराएको ।
१९. मेरी सानी आमालाई कर्तव्य गरी मारेकोमा पूरा विश्वास लाग्छ भनी कृष्णबहादुर आले मगरले, हिरा बहादुर समेतले कर्तव्य गरेको विश्वास लाग्छ भन्ने सर्जमिनका मानिस भक्त बहादुर समेतले छुट्टाछुट्टै वकपत्र गरेको ।
२०. प्र कृष्ण बहादुर र जित बहादुरले सबुदको अभावमा सफाई पाउने ठहर्छ प्र. जेठा भन्ने जगत बहादुरले हरि मायालाई मार्नेमा चोट छाडेको वा समाइएको थियो भनी प्र. हिरा बहादुरले भन्न नसकेको समेतबाट ज्यान सम्बन्धीको १७(२) बमोजिम ५ वर्ष कैद हुने र प्र. हिरा बहादुर आले मगर, मोती बहादुर रेग्मी र प्र. शेर बहादुरको हकमा प्रहरी प्रतिवेदन बमोजिम ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम जन्म कैद हुने ठहर्छ भन्ने समेत व्यहोराको शुरु मकवानपुर जिल्ला अदालतको मिति २०४४।२।१३ को फैसला ।
२१. शुरुले सफाई नपाउने प्रतिवादीलाई सफाइ दिएको हकमा र कम सजाय गरेको प्रतिवादीलाई सफाई दिएको हकमा र कम सजाय गरेको प्रतिवादीको हकमा गरेको इन्साफ चित्त बुझेन । प्रहरी प्रतिवेदन बमोजिम गरिपाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको नारायणी अञ्चल अदालतमा परेको पुनरावेदन पत्र ।
२२. प्रमाणको समूचित मूल्यांकन नगरी पूरा सजाय गरेको इन्साफ चित बुझेन भन्ने प्र. मोती बहादुरले ना.अं.अ. मा गरेको पुनरावेदन पत्र ।
२३. कृष्ण बहादुर र जित बहादुरले सफाइ पाउने, जगत बहादुरलाई ५ वर्ष कैद हुने र मोती बहादुर, हिरा बहादुर र शेर बहादुरलाई जन्मकैद हुने ठहराएको शुरुको इन्साफ मनासिव ठहर्छ भन्ने समेत व्यहोराको ना.अं.अ. को मिति २०४५।६।४ को फैसला ।
२४. सजाय घटी नपाउनेमा सजाय घटाए तर्फ सफाई दिन नमिल्नेमा सफाई दिए तर्फको प्रतिवादीहरुलाई प्रहरी प्रतिवेदन माग दावी बमोजिमनै सजाय गरिपाउँ भन्ने वादी श्री ५ को सरकारको म.क्षे.अ.मा परेको पुनरावेदन पत्र ।
२५. मैले प्रमाण ऐन, २०३१ को दफा २७ र २९ नं. बमोजिम आफ्नो इन्कारी सम्बन्धमा प्रमाणको भार पुर्याउँदा पुर्याउँदै ज्यान सम्बन्धीको १३(३) नं. अन्तर्गत सजाय गर्न मिल्ने होइन । फैसला अन्यायपूर्ण छ, शुरु र नारायणी अञ्चली इन्साफ बदर गरी न्याय पाउँ भन्ने समेत व्यहोराको प्र. मोती बहादुरको म.क्षे.अ. मा परेको पुनरावेदन पत्र ।
२६. प्र. मोती बहादुरलाई ज्यान सम्बन्धीको १३ (२) नं. बमोजिम कसुरदार ठहराएको ना.अं.अ.को फैसला मनासिव ठहर्छ, साधकको रोहबाट हेरिएका प्र. हिरा बहादुर प्र. शेर बहादुरको हकमा लुगा, गहना पैसाको लोभमा फसी सम्मिलित भएको कारणबाट निजलाई ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम सजाय गर्न गरेको ना.अं.अ. को इन्साफ मनासिव ठहर्छ । श्री ५ को सरकार र प्र. मोती बहादुरको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने समेत व्यहोराको म.क्षे.अ. को २०४६।६।५ को फैसला ।
२७. म.क्षे.अ. को त्रुटिपूर्ण फैसलामा चित्त बुझेन ६० वर्ष पुगेकी वृद्ध महिलालाई आफैले करणी पनि गर्नु, आफैले बन्चरोले पनि हिर्काउने कार्य हुनै सक्तैन । साथै सह अभियुक्तको पोललाई अन्य स्वतन्त्र प्रमाणबाट प्रमाणित हुन नआए सम्म सह अभियुक्तको विवादास्पद पोलको आधारमा ज्यान जस्तो गम्भीर अपराधमा सजाय गर्न मिल्दैन अतः मैले अपराध नगरेको हुँदा सजायबाट मुक्त गरिपाउँ भन्ने समेत व्यहोराको प्र. मध्येको मोती बहादुर रेग्मीले कारागार मार्फत यस अदालतमा पठाएको पुनरावेदन पत्र ।
२८. नियम बमोजिम आजको दैनिक पेशी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट उपस्थित विद्वान वैतनिक अधिवक्ता श्री होमनाथ ढुंगानाले प्रतिवादी मोती बहादुर रेग्मीले मृतक हरिमायालाई कर्तव्य गरी मारेको होइन । सह अभियुक्तको पोललाई अन्य स्वतन्त्र प्रमाणद्वारा समर्थित नभएसम्म दोषी ठहर गर्न मिल्दैन । सह अभियुक्तको पोल विवादास्पद छ । ठोस प्रमाण विना मेरो पक्षलाई दोषी ठहर गरेको बिलकुल अन्याय भएको छ । अपराध गर्दा बरामद भएको पेन्ट मेरो पक्षको होइन । पेन्ट भन्ने कुरा सामान उचाइ र जिउँ डाल भएको जो सुकैलाई पनि ठिक हुने हुँदा पेन्ट मेरो पक्षलाई ठीक भएको भन्ने आधारबाट मात्र दोषी ठहर गर्न मिल्दैन । ६० वर्षकी वृद्ध महिलालाई करणी गरी बंचरोले हिर्काएर मार्ने अवस्था हुँदैन । मार्नुपर्ने कारण खसी, बोका बेचेको रुपैया लिनको लागि भन्ने जुन उल्लेख गरेको छ, सो कुरा मृतकले खसी, बोका बेचेको रुपैया र मृतकसँग रहेको सुन चाँदी मेरो पक्ष लगायत अन्य कुनै अभियुक्तबाट बरामद भएको छैन । यसर्थ अपराधसँग प्रत्यक्ष सरोकार राख्ने सबुद फेला नपरेसम्म अपराधी कायम गर्न विलकुल न्याय विपरित हुने हुँदा मेरो पक्षले सफाइ पाउनु पर्दछ भन्ने समेत गर्नु भएको बहस र विपक्षी श्री ५ को सरकार तर्फबाट उपस्थित विद्वान सरकारी अधिवक्ता श्री मोहन बहादुर थपलियाले ने.का.प. २०४४ नि.नं. ३०६० को नजीर उल्लेख गर्नु हुँदै सह–अभियुक्तको पोललाई स्वतन्त्र प्रमाणबाट पुष्टी भएको छैन भन्दैमा सह–अभियुक्तको पोललाई विचारै नगर्ने भन्न हुदैन । यो कुरा मुद्दाको तथ्यमा भर पर्दछ, सह अभियुक्तको पोल पुष्टी हुनै पर्दछ भन्ने अनिवार्य छैन । घटनास्थलमा बराबद भएको पेन्ट मोती बहादुर रेग्मीकै हो भनी साक्षी र सर्जमिनका मानिस समेतले किटानी लेखाई दिएबाट निजकै हातबाट मृतकको मृत्यु भएको पुष्टी भएकोले म.क्षे.अ. को फैसला सदर कायम रहनुपर्दछ भन्ने समेत वहस प्रस्तुत गर्नुभयो ।
२९. अब म.क्षे.अ. को फैसला मिले नमिलेको के रहेछ सो विषयमा निर्णय दिनु परेको छ ।
३०. यसमा प्रतिवादी मध्येका मोती बहादुर रेग्मीको मात्र पुनरावेदन परेको देखिंदा निजको हकमा पुनरावेदनको रोहबाट हेरी निर्णय तर्फ विचार गर्दा हिराबहादुर आले मगर र फरार रहेका मोती बहादुर रेग्मी, शेर बहादुर रेग्मी, जेठा रानामगर समेत ४ जनाले मृतक हरिमायालाई कर्तव्य गरी मारेको देखिएकोले, फरार रहेका मोती बहादुर रेग्मी, शेर बहादुर रेग्मी, र जेठा राना मगर समेतलाई समाहन जारी गरी निजहरु तीनै जनालाई र पक्राउ परेका हिरा बहादुर आले मगर समेत ४ जनालाई मुलुकी ऐन ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम सजाय हुन र प्र. जुङ्गे भन्ने कृष्ण बहादुर प्र. जित वहादुर उपर प्रहरी र सरकारी वकीलको बीच मतैक्य हुन नसकी सरकारी वकिलको पृथत रायबाट सोही महलको १३(३) नं. बमोजिम आरोप सहितको प्रतिवेदन रहेको देखिन्छ । घटनास्थलमा बन्चरो बरामद भएको र मृतक हरिमायालाई लागेको चोटबाट रगत बगी कपडा र गुन्द्रीमा लागी सुकेको भन्ने लास जाँच मुचुल्काबाट देखिएको र देवे्र कन्चटमा घाउ चोट भएको, नाक नजिक फयाकचर भएको टाउकोको चोटको कारणले मृत्यु भएको भन्ने शव परिक्षण प्रतिवेदनमा उल्लेख भएको तथ्यबाट समेत मृतक हरिमायाको मृत्यु कर्तव्यबाट भएको देखिन आउँछ । प्रतिवादी मोती बहादुर रेग्मीले अदालतमा बयान गर्दा कसुरमा इन्कार रही बयान गरेको भए पनि सह–अभियुक्त हिरा बहादुर आले मगरले आफू अपराधमा सरिक भएकोमा सावित भई निज प्र. मोती बहादुरलाई पोली निज मोती बहादुरले मृतकलाई करणी समेत गरेको र पहिलो चोट बन्चरोले निज प्र. मोती बहादुरले नै प्रहार गरेको हो, बरामद भएको पोलिष्टरको खैरो पाइन्ट मोती बहादुरकै हो भनी अधिकार प्राप्त अधिकारी समक्ष र अदालतमा समेत किटानी बयान गरेको देखिन्छ । उक्त बरामद भएको पेन्ट निज मोती बहादुरकै हो भनी सर्जमिनका सबै मानिसले एकै मिलानको सर्जमिन गरि दिएका र अदालतमा समेत आई सोही कुरालाई पुष्टी गरी वकपत्र गरि दिएको पाइन्छ । सह–अभियुक्त हिरा बहादुरले आफ्नो बयानमा प्र. मोती बहादुरले मृतक हरिमायालाई बन्चरोले टाउकोमा प्रहार गरेको भनी निजले बयानमा उल्लेख गरेको कुरा टाउकोको चोटको कारणले मृत्यु भएको भन्ने शव परिक्षण प्रतिवेदनबाट समेत पुष्टी भएको देखिन्छ । फेला परेको पेन्ट मोती बहादुरकै हो भनी सर्जमिन मुचुल्का र प्र. हिरा बहादुरको बयान समेतबाट पुष्टी हुन आउँछ । उपयुक्त तथ्य एवं प्रमाण समेतबाट मोती बहादुरको पेन्ट घटनास्थलमा रहे भएको प्रमाणित भएपछि अपराधमा निज प्र. मोती बहादुर रेग्मीको संलग्नता थिएन र निर्दोष रहेछ भन्ने अवस्था देखिंदैन । तसर्थ निज प्र. मोती बहादुरले सफाई पाउनु पर्दछ भन्ने विद्वान अधिवक्ताको बहससँग सहमत हुन सकिएन । प्रतिवादी मोती बहादुर रेग्मीलाई ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम कसुरदार ठहराएको शुरुको जोहरी फैसलालाई सदर गरेको नारायणी अञ्चल अदालतको फैसला मनासिव ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ । प्रतिवादी मोती बहादुर रेग्मीको पुनरावेदन जिकिर पुग्न सक्तैन ।
३१. साधकको रोहबाट हेरिएका अरु प्रतिवादीहरु प्र. हिरा बहादुर रेग्मी र प्र. शेर बहादुरको हकमा विचार गर्दा प्र. हिरा बहादुरले अदालत समेतमा बयान गर्दा हरिमायालाई चोट छोडी मारेको भन्ने आरोपित कसुर गरेकोमा सावित रहेको देखिन्छ । आफूलाई राती आश्रय दिने जेठी आमालाई निजको गहना, पैसाको लोभमा फसी मार्ने क्रियामा सम्मिलित भएको समेत बयानबाट देखिंदा निजलाई ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम सजाय गरेको शुरुको इन्साफ सदर गरेको ना.अं. अ. को फैसलालाई सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ ।
३२. अब अर्का प्रतिवादी शेर बहादुर रेग्मीको हकमा म.क्षे.अ. ले ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम जन्मकैद हुने ठहराएको सम्बन्धमा निज प्र. शेर बहादुरले निदालबाट बन्चरो झिकी मोती बहादुरलाई दिएको हुन भनी प्र. हिरा बहादुरले पोलेको भएपनि अन्य स्वतन्त्र प्रमाणबाट समर्थित हुन आएको देखिएन । स्वतन्त्र तथा भरपर्दो प्रमाणबाट निजको संलग्नता पुष्टी हुन नआएको अवस्थामा केवल सह–अभियुक्तको पोलाइबाट मात्र निजलाई कसुरदार ठहराउन न्यायसंगत हुदैन । अतः निजले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ । म.क्षे.अ. बाट निजलाई कसुरदार कायम गरी ज्यान सम्बन्धीको १३(३) बमोजिम सजाय गरेको मिलेको नदेखिंदा निजको हकमा सम्म शुरुको सदर गरेको नारायणी अञ्चल अदालतको फैसला मनासिव ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४६।६।५ गतेको फैसला मिलेको नदेखिंदा उल्टी हुन्छ अरु तपसिल बमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिए बमोजिम प्रतिवादी शेर बहादुर रेग्मीले आरोपित कसुरबाट सफाइ पाउने ठहरेकोले जिल्ला अदालत लगायत मध्यमाञ्चल क्षेत्रीय अदालत समेतको फैसलाले राख्ने गरेको जन्मकैदको लगत कट्टा गरि दिन भनी लेखि पठाउन का.जि.अ. तहसिल शाखामा लगत दिनु ––––––––– १
प्र. मध्येको मोती बहादुर रेग्मीको पुनरावेदन परेकोले निजको हकमा साधकको लगत कट्टा गरि दिनु –––––––– २
मिसिल नियमानुसार गरी बुझाइ दिनु ––––––––– ३
उक्त रायमा म सहमत छु ।
न्या. कृष्णजंग रायमाझी
इति सम्वत् २०४९ साल चैत्र १६ गते रोज २ शुभम् ।