शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६९६९ - जग्गा खिचोला चलन, हक कायम दर्ता वदर दर्ता

भाग: ४३ साल: २०५८ महिना: बैशाख अंक:

निर्णय नं. ६९६९   ने.का.प. २०५८    अङ्क १.२

 

पूर्ण इजलास

माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय

माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य

माननीय न्यायाधीश श्री केदार प्रसाद गिरी

संम्वत २०५६ सालको दे.पु.इ.नं....५७

फैसला मितिः २०५७।५।१५।५

 

मुद्दाः जग्गा खिचोला चलन, हक कायम दर्ता वदर दर्ता ।

 

पुनरावेद/प्रतिवादीः सिरहा जिल्ला जानकीनगर गां.वि.स. वडा नं. ४ बस्ने जगाई दाशको श्रीमती  वर्ष ८४ की सुदामा वनियाइन समेत

विरुद्ध

प्रत्यर्थी/वादीः ऐ.ऐ. बस्ने रामेश्वरदाशको श्रीमती अं. वर्ष ७४ की सखिया वनियाइन

 

    पुनरावेदक पक्षका विद्वान अधिवक्ताले सर्वप्रथम मिसिल संलग्न नक्सा मुचुल्कालाई वहस जिकिरमा आधार बनाउनुभएको छ । निजद्वारा तारेख नै नतोकेको दिनमा नक्सा भएको तर मेरो पक्षले सही नगरेको भनी नक्सा कैफियतगलत तथ्य लेखिएको भन्ने जिकिर लिएको सम्बन्धमा त्यस्तो नक्सा गर्ने व्यक्तिहरु उपर समयमा नै नालिस उजुर गरी आफ्नो जिकिर कायम गराएको देखिन आउँदैन । तसर्थ हालको अवस्थामा आएर नक्सा सम्बन्धी त्यस किसिमको वहस जिकिर स्वीकारयोग्य नदेखिएको हुँदा सो नक्सा प्रमाणग्राहय नै देखिने ।वादीले २०१८।१२।२३ मा घरायसमा गरिदिएको भरपाइको आधारमा वादीले अंश बुझी लिई अरु जग्गाको दावी छोडिदिएको भन्ने पुनरावेदक पक्षेका अर्को जिकिरतर्फ विचार गर्दा उक्त भरपाइमा जगाइदाशले सखिया वनियाइनलाई गरिदिएको राजिनामाको उल्लेख गरी सिरहा इलाका अदालतको फैसलाले सखियाले ३ विगाहा जग्गा र विगो समेत भरि पाउनेमा जग्गा विगाहा २१२० मात्र लिई ०० र विगो समेत छाडिदिनेसम्म व्यहोरा उल्लेख भएको देखिन आउँछ । लिखतको अर्थ गर्दा सो लिखत गर्नुपर्ने स्थिति र त्यसपछिको पक्षहरुको व्यवहार समेतको समुचित विचार गरी सो लिखतको सम्पूर्ण व्यहोरालाई समेत हेर्नुपर्छ । विवादित लिखत अवलोकन गर्दा फैसलाले पाउने विगो र जगाइको नाउँको ज.वि. ३० जग्गा मध्ये ज.वि.०० मात्र जग्गा छाडी ज.वि.२१२० जग्गा बुझी भरपाइ गरिदिएको देखिन्छ । अंश जस्तो नैसर्गिक हक छोडेको भन्ने अर्थ गर्नलाई लिखतमा नै अंश छोडेको व्यहोरा जनिनु पर्ने र त्यस्तो नजनिएकोमा लिखतको व्यहोराबाट जे जति कुरा छोडेको हो त्यति मात्र छोडेको अर्थ गर्नुपर्ने स्पष्ट छ । प्रस्तुत लिखतले जगाइको नाउँको ३० जग्गा पाउनेमा २१२० लिई मुद्दाको विगो समेत छोडी कागज गरेकोलाई आप्mले भोगचलन गरी आएको घरवासको आफ्नो लोग्नेको संयुक्त नाउँमा साविक दर्ता रहेको जग्गा समेतको हक छाडी भरपाइ गरिदिएको भन्ने सो लिखतको व्यहोराबाट देखिन आउँदैन । सो लिखत भएको धेरै वर्षपछि राजकुमार दास वादी र यस मुद्दाका वादी प्रतिवादी भएको जग्गा खिचोला मुद्दामा रामेश्वरदासकी श्रीमती सखिया वनियाइन र यस मुद्दाका प्रतिवादीहरु जगाइदाशकी पत्नी छोराहरु समेतले संयुक्त प्रतिउत्तर फिराउँदा रामेश्वर साहु जगाइ नाउँ दर्ताको साविक कि.नं. १६५८, १६९९ र १७०० को ०१० जग्गामा सखिया समेतको घरवास भोग भएको हाम्रो बीचमा चलअचल वण्डा भई हामी छुट्टी भिन्न भएपनि घरवासको जग्गा पृथक पृथक नछुट्याई घरमात्र वेग्लावेग्लै बनाई सखिया समेतले घर छुट्याई भोगिआएको भन्ने उल्लेख गरेको प्रमाणको मिसिलबाट देखिन्छ । साथै सोही मुद्दाको नक्सा मुचुल्काको न.नं.. १२ मा सखियाका भोग चलनको घर देखाइएको र सोही जग्गा यस मुद्दाको मिति २०५१।१।२८ को नक्सा मुचुल्कको विवादित जग्गासँग मिले घिडेको देखिन आएबाट उपरोक्त भरपाइ भएको २६ वर्षपछि सम्म पनि विवादित जग्गामा वादी कै भोग चलन सही  आएको देखिन आउँछ । सो प्रमाणको मुद्दाको मिति २०४४।१०।७ को मिलापत्रको वोलीमा समेत प्रतिवादीहरुको आ आफ्नो हकभोग हुने गरी वादीले सबै प्रतिवादी उपरको दावी छाडिदिएको प्रमाणबाट देखिन आएकोले उपरोक्त कागजातहरुबाट समेत सखियाले मिति २०१८।१२।२३ गरिदिएको घरायसी घरपाइबाट साविकमा निजको पतिको नाममा समेत संयुक्त दर्ता भएको हाल मिन्ही जनिएको घरवासको जग्गा समेत निजले छोडपत्र गरिदिएको भन्ने अर्थ गर्न सकिने देखिन नआउने ।

(प्र.नं. १८ र १९)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री कमलनारायण दास र श्री अमर थापा

प्रत्यर्थी वादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

अवलम्वित नजिरः

 

फैसला

न्या. केदारनाथ उपाध्यायः पुनरावेदन अदालत राजविराको मिति २०५२।८।२८ को फैसला उपर यस अदालतमा पर्न आएको पुनरावेदन निर्णयार्थ पेश हुँदा संयुक्त इजलाशका माननीय न्यायाधीशहरु बीच मतैक्य नभइै सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) अनुसार यस इजालाश समक्ष पशे हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा तथा ठहर यसप्रकार छ ।

२.  मूल पुरुष हिमाको २ छोरामा जेठा जगाइ, कान्छा रामेश्वर हुन । जगाइको २ पत्नीमा जेठी विपक्षी सुदामा, कान्छी विपक्षी सरधा हुन । जगाइका २ छोराहरु क्रमशः विपक्षी रामलखन, देवलखन, लक्ष्मण हुन । कान्छा रामेश्वरकी पत्नी म सखिया हुँ । विपक्षी सरधा र सुदामा मेरो जेठानी, विपक्षी रामलखन, देवलखन, लक्ष्मण भतिजा हुन । मेरो छोरा नभै एकमात्र छोरी पूmलोवतीको विवाह सपतलालसँग भएको, छोरी आफ्नो पतिको घरमा नबसी मेरै घरमा बसी मेरो सेवा टहल गर्ने गरकीले मेरो मृत्यु पछि हक खाने हकदार छोरी फुलोवती हुन । पुस्तावली मध्येका हिमा, जगाई र रामेश्वरको मृत्यु भैसकेको छ । गाउँ ब्लक भित्रको घडेरी जग्गाको  र घरको रीतपूर्वक वण्डा विपक्षीहरु र मेरो बीचमा भएको छैन । सो देखि वाहेकको चल द्दनमाल तथा अचलमा धान खेतहरु समेत विपक्षी र मेरो बीचमा वण्डा भई छुट्टी सकेको छ । विपक्षीको पति पिता जगाइ तथा मेरो पति रामेश्वर समेतका नाममा संयुक्त दर्ता रहेको १९९२ सालको नापी श्रेस्ता अनुसार जि.सि.प्र.ध. मौजे खोक्सी हाल गा.वि.स. जानकीनगर वडा नं. ४ सा.कि.नं. १६५८ माहावीर सो पश्चिम, डगर सो पूर्व, ८ ऐ सा.कि.नं. १६९९ को राजकुमार सो उत्तर गंगा सो दक्षिणको ०९ र मेरो पति रामेश्वरको नाममा एकलौटी घरवास मिन्हा दर्ता रहेको मौजे खोक्सीको रास्ता सो पूर्व ०२ समेत ०१० मध्ये आधा ०५ मेरो अंश हकमा परेकोले सो जग्गा मध्ये पूर्वतर्फबाट ०१० र दक्षिण तर्फबाट ०५ समेत ०१५ जग्गा मिति २०४८।९।१३ गते शनिवार विहान ९ बजेदेखि १० बजेसम्म जवरजस्ती खिचोला गरेकोले सो खिचोला मेटाई चलन चलाई पाउँ र उक्त मेरो अंश हकको ०५ जग्गा रामेश्वर जगाई नामको दर्ता वदर गरी मेरो नाममा दर्ता गरी मैले दाखिल गरेको कोर्ट फि विपक्षीहरुबाट दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको वादीको फिरादपत्र ।

    ३.  वादी दावीको जग्गा खिचोला गरेको छैन । वादी दावीको जग्गामा वादीको हक कायम दर्ता वदर र दर्ता हुनु पर्ने होइन । वादीको पति र हामीहरुको बीच अंश मुद्दा चली सो अंश मुद्दा २०१८।९।२८ गते फैसला भई सकेको र २१२० जग्गा हाम्रा पिताजी जगाइले विपक्षीलाई मिति २०१८।१२।२३ गते मालपोत कार्यालय सिराहामा पास गरि दिएको र विपक्षीको अंश दावी छाडी मिति २०१८।१२।२३ गते भरपाइ गरि दिएकोले वादीले दावा नर्ग पाउनुपर्ने होइन। वादीको दावाको जग्गामा वादीको हकदैया छैन । वादी दावा झुट्टा हो । झुट्टा दावाबाट फुर्सद गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरुको संयुक्त प्रतिउत्तरपत्र ।

४.  वादी प्रतिवादीहरुको साक्षीहरुको आदेशानुसार वकपत्र भई मिसिल सामेल रहेको ।

    ५.  मिति २०१८।१२।२३ गतेको सक्कल मिसलि देखाउँदा सुनाउँदा देखे सुने, सो सक्कल लिखतमा लागेका ल्याप्चे छाप व्यहोरा सद्दे हो भन्ने समेत व्यहोराको वादी वा. सुर्यनारायण दासले मिति २०४९।६।२७ मा गरेको वयान मिसिल सामेल रहेको ।

६.  मिसिल संलग्न सबूद प्रमाणको आधारमा वादीले दावी गरेको जग्गा वादीले अंश वापत पाएको पनि नदेखिएको अवण्डा रहेको भन्ने पनि नदेखिएको अवस्थामा वादी दावीको जग्गामा प्रतिवादीहरुले खिचोला गरेको भन्ने र सो जग्गा वादीको अंश शक कायम रहेको नदेखिदा दर्ता वदर गरी वादीका नाममा दर्ता हुन्छ भन्न समेत नसकिने हुँदा वादी दावी पुग्न सक्तैन भन्ने समेत व्यहोराको सिराहा जिल्ला अदालतको २०५१।३।१३ को फैसला ।

७.  सबूद प्रमाण्को मूल्याङ्कन नगरी शुरु जिल्ला अदालतले गरेको त्रुटिपूर्ण फैसला वदर गरी वादी दावा बमोजिम दर्ता वदर गरी मेरा नाममा दर्ता समेत गरी पाउँ भन्ने समेत व्यहोराको पुनरावेदन पत्र ।

८.  वादी राजकुमार दाश प्रतिवादी सरधा र सखिया समेत भएको मिति २०४४।१०।७ मा सिराहा जिल्ला अदालतबाट मिलापत्र भएको घर उठाई जग्गा खिचोला मेटाइ चलन चलाई पाउँ भन्ने मुद्दामा सरधा र सुखियाले प्रतिउत्तर दिंदा चल  अचल वण्डा भई छुट्टिए पनि घरवासको जग्गा पृथकपृथक नछुटी घरमात्र वेग्ला वेग्लै बनाई बसी भोगी आएको भन्ने उल्लेख भएको देखिंदा सो सन्दर्भबाट शुरुको इन्साफ फरक पर्न सक्ने देखिंदा अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावलीको बमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने समेत पुनरावेदन अदालत, राजविराजको आदेश ।

    ९.  प्रमाणको दे.नं. १५८२ संयुक्त प्रतिउत्तरमा सबैको घरवास पृथक पृथक छुटाई भोगी आएको तथ्य स्वीकार गरेका, अंश मुद्दाको परिणाम पश्चात पारित भरपाईको अतिरिक्त दावाको उक्त कित्ता जग्गाहरु मध्ये आधि ०५ पुनरावेदक वादीको भए सो कुरा प्रतिउत्तरमा देखाउनु पर्ने नदेखाएबाट दुवै पक्षले व्यवहारमा परस्परमा घरवास बनाई छुटाई निरन्तर भोगी आएको व्यवहार प्रमाणबाट देखिने हुनाले नक्सा कुण्डलीको न. नं. १, २ र ८ मा पुनरावेदक वादीको हक भोग निरन्तर देखिंदा उक्त न.नं. १, २ र ८ सम्ममा वादी दावीको जग्गामा वादीको हक कायम समेत हुने ठहर्छ । सो वाहेकका अन्य न.नं. हरुमा पुनरावेदकले वादी दावी गरेको देखिंदा ती न.नं. मा दावी पुग्दैन । तसर्थ प्रमाणको मूल्याङ्कन नै नगरी दावी नपुग्ने ठहर गरेको शुरु सिराहा जिल्ला अदालतको फैसला सो हदसम्म आंशिक उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत राजविराजको मिति २०५२।८।२८ को फैसला ।

१०. पुनरावेदन अदालत राजविराजबाट भएको उपरोक्त फैसलामा चित्त बुझेन । विपक्षी वादीले हाम्रो लोग्ने तथा पिता जगाईदाश माथि सिराहा जिल्ला अदालतमा अंश मुद्दा दायर गर्नु भएकोमा ३ विगाहा जग्गा छुट्याई पाउने गरी मिति २०१८।९।२८ मा फैसला भए पश्चात २०१८।१२।२३ का दिन सिराहा मालपोत कार्यालयमा अंश हक जग्गाको लिखत पास गरी गराई विगाहा २१२० जग्गा मात्र लिई अरु ०० को दावी नगर्ने गरी लिखत भएको छ । सोही दिन विपक्षीले अंशको दावी छाडी भरपाइ गरेकी हुन । उक्त कागजातहरु विपक्षीलाई देखाउँदा सद्दे भनी वयान समेत गरेकी छन् । उक्त अंशको लिखतमा साविक सा.कि.नं. १६५६, १६९९ र १७०० को उल्लेख छैन । यसरी यी तीन कित्ता जग्गाहरुमा विपक्षीको हक स्थापित भएको सबूद प्रमाणको अभावमा विवादित जग्गामा विपक्षीको मौखिक भनाइको आधारमा निजको हक कायम हुने गरी उक्त फैसला भएको छ । प्रमाणको दे.नं. १५८२ को जग्गा खिचोला चलन घर उठाई पाउँ भन्ने मुद्दामा मिति २०४४।१०।७ मा मिलापत्र हुँदा दावी छोडाई मिलापत्र भएकोले उक्त मुद्दा बाट समेत विपक्षीलाई ति जग्गामा हक प्राप्त भएको छैन । उक्त मुद्दाको प्रतिउत्तरमा विपक्षीको कुन कि.नं. कति क्षेत्रफलमा घर छ त्यो समेत केही प्रष्ट नभएकोले त्यस्तो प्रतिउत्तर विपक्षीको प्रमाण लाग्न सक्ने अवस्था छैन । साथै २०५१।१।२८ मा भएको नक्सा वदर गर्न उजुरी दिएकोमा सो समेतको उपेक्षा गरी सो नक्सा समेतलाई आधार मानी फैसला गरिएको समेत हुँदा उक्त फैसला त्रुटिपूर्ण भएकोले वदर गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरुको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

    ११.  पुनरावेदन अदालतले प्रमाणमा लगाएको वादी राजकुमार दाश प्रतिवादी रामचन्द्र दाश समेत भएको दे.नं. १५८२ को मुद्दामा २०४४।१०।७ मा मिलापत्र भएकोमा न.नं. २, ३ र १० समेतको उल्लेख भएको र सो मुद्दामा मिति २०४४।७।२ को नक्सा मुचुल्का सित विवादित मुद्दामा २०५१।१।२८।४ मा भएको नक्सा मुचुल्का समेत मिलाई भिडाई हेर्दा आपसमा मिल्न भिड्न आएको भन्न नमिल्ने हुँदा पुनरावेदन अदालत राजविराज सप्तरीको फैसला फरक पर्ने देखिंदा अ.व. २०२ नं. अनुसार विपक्षी झिकाई आएपछि वादी सखिया देवी प्रतिवादी जगाई वानियाइन भएको २०१८ सालको अंश मुद्दाको छिनुवा मिसिल सिराहा जिल्ला अदालतबाट झिकाई आएपछि पेश गर्नु भन्ने यस अदालतबाट भएको आदेश ।

१२. मिति २०१८।१२।२३ मा पारित भरपाइ लिखतमा विवादको मिन्ही घरवास घडेरी सम्बन्धमा कुनै कुरा उल्लेख नभएपनि वादी राजकुमार प्रतिवादी यिनै वादी प्रतिवादी भएको घर उठाई जग्गा खिचोला मेटाई चलन भन्ने मुद्दाको प्रतिउत्तर पत्र लेखाइबाट समेत वादीको घरवास विवादित जग्गामा नभएको भन्न सकिने अवस्था देखिंदैन । साविक कि.नं. १६५८, १६९९ र १७०० को मिन्ही घरवास रामेश्वर र जगाईको नाममा संयुक्त दर्ता रहेको र प्रस्तुत मुद्दा मिति २०५१।१।२८ मा भएको नक्सामा पनि विवादितको साविक कि.नं. भित्रको न.नं. १, २ र ८ को घरवास वादीकै भोग चलनमा रहेको देखिएकोले वादीको होइन भन्ने प्रतिवादीको कथन आफ्नै पूर्व स्वीकारोक्तिको प्रतिकूल समेत हुँदा कानूनसंगत देखिन आएन । तसर्थ न.नं. १, २ र ८ को घरवासमा वादीको हक कायम हुने ठहर्याएको पुनरावेदन अदालत राजविराजको इन्साफ मिलेकै देखिंदा मनासिव ठहर्छ भन्ने समेत व्यहोरोको माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझीको राय।

    १३. विवादित जग्गा वादीका अंश भागमा परेको हो भन्ने कुराका प्रमाण वादीले गुजार्न सकेको छैन । अंश मुद्दा पर्नु भन्दा अगाडि १९९२ सालमा विवादित जग्गा रामेश्वर र जगाइको नाममा दर्ता रहेको पनि देखिन्छ । मुद्दा पर्नु अघि सगोलमा रहँदाको दर्ता देखाएपनि वादीले अंश वापत आफूले पाउनु पर्ने जग्गा भरपाइ गरी बुझी लिइसकेपछि सगोलमा हुँदाको दर्ताको नाताले अंश पाउने बाँकी छ भन्न मिल्ने देखिदैन । यस्तो अवस्थामा विवादित न.नं. १, २ र ८ को घर जग्गामा वादीको हक कायम हुने ठहर गरी शुरुको फैसलालाई आंशिक उल्टी गरेको पु.वे.अ. राजविराजको फैसला नमिलेकोले सो हदसम्म उल्टी हुने ठहर्छ । पुनरावेदन अदालत राजविराजको फैसला मनासिव ठहराएको माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझीको रायसँग असहमत हुँदा सो निरोपणको लागि सर्वोच्च अदालत नियमावलीको, २०४९ को नियम ३(१)(क) बमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वाको राय सहितको यस अदालत संयुक्त इजलासको मिति २०५६।९।५ को फैसला ।

    १४. नियमानुसार पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादी तर्फका विद्वान अधिवक्ताद्वय श्री कमलनारायण दास र श्री अमर थापा तथा प्रत्यर्थी वादीका तर्फबाट प्रतिरक्षार्थ उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकन्द रेग्मीले गर्नु भएको वहस सुनियो ।

    १५. यसमा प्रतिवादीका पिता पति जगाई र मेरा पनि रामेश्वर समेतका नाममा संयुक्त दर्ता रहेको १९९२ सालको नापी श्रेस्ता अनुसार जिल्ला सिरहा प्र.ध. मौजे खोक्सी हाल जानकीनगर गा.वि.स. वडा नं. ४(क) को साविक कि.नं. १६५८, १६९९ र १७०० को ०१० मध्ये ०५ मेरो अंश हकमा परेको र सो जग्गा मध्ये पूर्वतर्फबाट ०१० र दक्षिण तर्फबाट ०५ समेत ०१५ जग्गामा विपक्षीहरुले खिचोला गरेकोले सो मेटाई चलन चलाई पाउँ र मेरो अंश हकको ०५ जग्गा रामेश्वर र जगाइको नामको दर्ता वदर गरी मेरो नाममा दर्ता गरी पाउँ भन्ने फिराद दावी रहेको देखिन्छ । प्रतिवादीको जिकिरमा पति पिता जगाईले मिति २०१८।९।२८ को सिरहा इलाका अदालतको फैसाला र तदुपरान्त निज वादीलाई २०१८।१२।२३ मा पास गरिदिएको लिखत र सोही मितिमा वादीले अंशको दावी छाडी गरिदिएको भरपाई समेतबाट दावीको घर जग्गामा वादीको हक नलाग्ने भन्ने उल्लेख भएको देखिन्छ । शुरु जिल्ला अदालतले वादी दावी नपुग्ने ठहर गरेकोमा सो फैसला केही उल्टी गरी पुनरावेदन अदालत राजविराजले अदालतबाट भएको २०५१।१।२८ को नक्साको न.नं. १, २ र ८ को जग्गामा वादीको हक भोग देखिएको भनी सो हदसम्म वादी दावी कायम गरी अरुमा वादी दावी नपुग्ने ठहराई शुरुको फैसला केही उल्टी गरी पुनरावेदन किनारा गरेको देखिन्छ । त्यस उपर प्रतिवादीको यस अदालतमा परेको पुनरावेदनमा संयुक्त इजलासका माननीय न्यायाधीश बीच मतैक्य हुन नसकी प्रस्तुत मुद्दा यस इजलास समक्ष पेश हुन आएको देखिन आउँछ ।

१६. पुनरावेदक तर्फबा विद्वान अधिवक्ता श्री कमलनारायण दासले वादीद्वारा २०१८।१२।२३ मा घरायसमा गरिदिएको भरपाइलाई दुवै पक्षले स्वीकार गरेकोले सोही भरपाइको आधारमा वादीले अंश बुझिलिई अरु जग्गाको दावी छोडिदिएको भन्ने वहस प्रस्तुत गर्नु भएको छ । साथै अदालतबाट भएको नक्सा सम्बन्धमा तारेखै नतोकिएको दिनमा नक्सा भएकोमा समेत मेरो पक्ष उपस्थित भएर पनि सही नगरेको भन्ने नक्सा केफियतमा लेखिएको गलत तथ्य र अ.वं. १७१ नं. विपरीतको नक्साको आधारमा वादीको हक कायम गर्ने गरी भएको पुनरावेदन अदालत राजविराजको इन्साफ उल्टी हुनपर्छ भन्ने समेत समेत वहस जिकिर प्रस्तुत गर्नु भएको छ । पुनरावेदक तर्फबाटै उपस्थित हुनु भएका अर्का विद्वान अधिवक्ता श्री अमर थापाले माथि उल्लेख गरे बमोजिम भरपाइको व्यहोरामा आफ्नो वहस जिकिर आधारित गर्नु भएको देखिन आउँछ । प्रत्यर्थी वादी तर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले राजकुमार दाश वादी र प्रतिवादी यसै मुद्दाका वादी प्रतिवादी समेत भएको प्रमाणको जग्गा खिचोला मुद्दामा प्रतिवादीहरुले मिति २०४४।३।२२ मा फिराएको संयुक्त प्रतिउत्तर, सो मुद्दामा मिति २०४४।७।२ मा भएको नक्सा र मिति २०४४।१०।७ मा भएको मिलापत्र समेतमा निर्भर गर्दै पुनरावेदन अदालतको इन्साफ सदर हुनुपर्छ भन्ने वहस प्रस्तुत गर्नु भएको छ ।

    १७. दुवै पक्षका विद्वान कानून व्यवसायीहरुको उल्लेखित वहस जिकिर समेतलाई विचार गर्दा प्रस्तुत मुद्दामा वादी प्रतिवादीहरु बीच भएको सिरहा इलाका अदालतको फैसला र तदुपरान्त सोही वर्ष भएको राजिनामा पारित कागज, घरायसी अंश छोडपत्रको कागज र राजकुमार दाश र यी वादी प्रतिवादीहरु बीच चलेको मुद्दाको मिसिल संलग्न कागजातबाट विवादको जग्गाको सम्बन्धमा मिति २०१८।१२।२३ को भरपाइको स्वभाविक अर्थ के हुन आउँछ ? र उपरोक्त प्रमाणको मूल्याङ्कनबाट विवादित जग्गामा वादीको हक पुग्ने भई प्रतिवादीले खिचोला गरेको ठहरी वादीले चलन चलाई पाउने समेत ठहराएको पुनरावेदन अदालत राजविराजको मिति २०५२।८।२८ को फैसला मिलेको छ छैन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने हुन आएको छ ।

    १८. पुनरावेदक पक्षका विद्वान अधिवक्ताले सर्वप्रथम मिसिल संलग्न नक्सा मुचुल्कालाई वहस जिकिरमा आधार बनाउनु भएको छ । निजद्वारा तारेख नै नतोकेको दिनमा नक्सा भएको तर मेरो पक्षले सही नगरेको भनी नक्सा कैफियत गलत तथ्य लेखिएको भन्ने जिकिर लिएको सम्बन्धमा त्यस्तो नक्सा गर्ने व्यक्तिहरु उपर समयमा नै नालिस उजुर गरी आफ्नो जिकिर कायम गराएको देखिन आउँदैन । तसर्थ हालको अवस्थामा आएर नक्सा सम्बन्धी त्यस किसिमको वहस जिकिर स्वीकारयोग्य नदेखिएको हुँदा सो नक्सा प्रमाणग्राहय नै देखियो ।

    १९. वादीले २०१८।१२।२३ मा घरायसमा गरिदिएको भरपाइको आधारमा वादीले अंश बुझी लिई अरु जग्गाको दावी छोडिदिएको भन्ने पुनरावेदक पक्षेका अर्को जिकिरतर्फ विचार गर्दा उक्त भरपाइमा जगाइदाशले सखिया वनियाइनलाई गरिदिएको राजिनामाको उल्लेख गरी सिरहा इलाका अदालतको फैसलाले सखियाले ३ विगाहा जग्गा र विगो समेत भरि पाउनेमा जग्गा विगाहा २१२० मात्र लिई ०० र विगो समेत छाडिदिनेसम्म व्यहोरा उल्लेख भएको देखिन आउँछ । लिखतको अर्थ गर्दा सो लिखत गर्नुपर्ने स्थिति र त्यसपछिको पक्षहरुको व्यवहार समेतको समुचित विचार गरी सो लिखतको सम्पूर्ण व्यहोरालाई समेत हेर्नुपर्छ । विवादित लिखत अवलोकन गर्दा फैसलाले पाउने विगो र जगाइको नाउँको ज.वि. ३० जग्गा मध्ये ज.वि.०० मात्र जग्गा छाडी ज.वि.२१२० जग्गा बुझी भरपाइ गरिदिएको देखिन्छ । अंश जस्तो नैसर्गिक हक छोडेको भन्ने अर्थ गर्नलाई लिखतमा नै अंश छोडेको व्यहोरा जनिनु पर्ने र त्यस्तो नजनिएकोमा लिखतको व्यहोराबाट जे जति कुरा छोडेको हो त्यति मात्र छोडेको अर्थ गर्नुपर्ने स्पष्ट छ । प्रस्तुत लिखतले जगाइको नाउँको ३० जग्गा पाउनेमा २१२० लिई मुद्दाको विगो समेत छोडी कागज गरेकोलाई आप्mले भोगचलन गरी आएको घरवासको आफ्नो लोग्नेको संयुक्त नाउँमा साविक दर्ता रहेको जग्गा समेतको हक छाडी भरपाइ गरिदिएको भन्ने सो लिखतको व्यहोराबाट देखिन आउँदैन । सो लिखत भएको धेरै वर्षपछि राजकुमार दास वादी र यस मुद्दाका वादी प्रतिवादी भएको जग्गा खिचोला मुद्दामा रामेश्वरदासकी श्रीमती सखिया वनियाइन र यस मुद्दाका प्रतिवादीहरु जगाइदाशकी पत्नी छोराहरु समेतले संयुक्त प्रतिउत्तर फिराउँदा रामेश्वर साहु जगाइ नाउँ दर्ताको साविक कि.नं. १६५८, १६९९ र १७०० को ०१० जग्गामा सखिया समेतको घरवास भोग भएको हाम्रो बीचमा चलअचल वण्डा भई हामी छुट्टी भिन्न भएपनि घरवासको जग्गा पृथक पृथक नछुट्याई घरमात्र वेग्लावेग्लै बनाई सखिया समेतले घर छुट्याई भोगिआएको भन्ने उल्लेख गरेको प्रमाणको मिसिलबाट देखिन्छ । साथै सोही मुद्दाको नक्सा मुचुल्काको न.नं.. १२ मा सखियाका भोग चलनको घर देखाइएको र सोही जग्गा यस मुद्दाको मिति २०५१।१।२८ को नक्सा मुचुल्कको विवादित जग्गासँग मिले घिडेको देखिन आएबाट उपरोक्त भरपाइ भएको २६ वर्षपछि सम्म पनि विवादित जग्गामा वादी कै भोग चलन सही  आएको देखिन आउँछ । सो प्रमाणको मुद्दाको मिति २०४४।१०।७ को मिलापत्रको वोलीमा समेत प्रतिवादीहरुको आ आफ्नो हकभोग हुने गरी वादीले सबै प्रतिवादी उपरको दावी छाडिदिएको प्रमाणबाट देखिन आएकोले उपरोक्त कागजातहरुबाट समेत सखियाले मिति २०१८।१२।२३ गरिदिएको घरायसी घरपाइबाट साविकमा निजको पतिको नाममा समेत संयुक्त दर्ता भएको हाल मिन्ही जनिएको घरवासको जग्गा समेत निजले छोडपत्र गरिदिएको भन्ने अर्थ गर्न सकिने देखिन आएन ।

    २०. तसर्थ यस मुद्दामा भएको मिति २०५१।१।२८ को नक्सा मुचुल्काको न.नं. १, २ र ८ को वादी दावीको घरवासको जग्गामा वादीको हक कायम हुने ठहर्याएको पुनरावेदन अदालत राजविराजको मिति २०५२।८।२८ को इन्साफ सदर गर्ने गरेको संयुक्त इजलासका माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझीको राय सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्क्तैन । मिसिल नियमानुसार बुझाई दिनु ।

 

उपयुक्त रायम सहमत छौं ।

 

न्या. अरविन्दनाथ आचार्य

न्या. केदारप्रसाद गिरी

 

इति सम्वत २०५७ साल भाद्र १५ गते रोज ५ शुभम्..............।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु