निर्णय नं. ९१६४ - लागु औषध खैरो हिरोइन

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुशीला कार्की
माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की
फैसला मिति : २०७०।११।२१।४
०६८-CR-०५४०
मुद्दा :– लागु औषध खैरो हिरोइन ।
पुनरावेदक/वादी : प्रहरी प्रतिवेदनले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी/प्रतिवादी : काभ्रेपलाञ्चोक, सल्ले भुम्लु गा.वि.स. घर भै हाल का.जि. का.म.न.पा. वडा नं. २३ बस्ने राजु लामा
तथा
०६८-CR-०३०८
पुनरावेदक/प्रतिवादी : काभ्रेपलाञ्चोक, सल्ले भुम्लु गा.वि.स. घर भै का.जि. का.म.न.पा. वडा नं. २३ बस्ने हाल केन्द्रीय कारागार कार्यालयमा थुनामा रहेका राजु लामा
विरूद्ध
प्रत्यर्थी/वादी : प्रहरी प्रतिवेदनले नेपाल सरकार
- लागु औषध अपराधको प्रकृति सांगठनिक अपराध भएकोले यस किसिमको अपराधमा मुख्य कर्ता र मतियार नभई सबै मुख्य कर्ता हुने अवस्था हुन्छ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरलाई मान्ने हो भने लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १७ मा भएको उपरोक्त कानूनी व्यवस्था निस्प्रयोजन मात्र नभई षडयन्त्र गर्ने, उद्योग गर्ने, दुरूत्साहन गर्ने र मतियार हुनेलाई सजाय गर्ने विधायिकाको मनसाय नै लुप्त हुन जाने देखिन्छ । विधायिकी मनसाय नै निस्प्रयोजन हुने गरी अदालतले व्याख्यासमेत गर्न नमिल्ने ।
(प्रकरण नं.५)
वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री रेवतीराज त्रिपाठी
प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री सोनी रघुवंश
अवलम्बित नजीर :
सम्बद्ध कानून :
फैसला
न्या.सुशीला कार्की : पुनरावेदन अदालत, पाटनको फैसलाउपर वादी प्रतिवादी दुबैको तर्फबाट पुनरावेदन परी न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर फैसला यसप्रकार छ :–
काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १३ स्थित कालीमाटी चोकबाट कलङ्कीतर्फ जाँदा माली आयल पम्पको ठीकअगाडि सडक किनारामा शङ्कास्पद अवस्थामा जितेशकुमार श्रीवास्तव र राजु लामाको शरीर खानतलासी गर्दा जितेशकुमार श्रीवास्तवको साथबाट लागु औषध खैरो हेरोइन ७० ग्राम, कालो सेतो कलरको सामसुङ लेखिएको मेरो मोबाइलको सिमकार्ड सहितको मोबाइल १ थान तथा हजार दरको नेपाली रू. ३०,०००।– फेला परेको, निजसँगै रहेको राजु लामाको सँगसाथमा कुनै अवैध चीजवस्तु केही फेला नपरेको, निजले बायाँ हातमा लगाएको U.S.B. मोबाइल घडी १ थान फेला परेकोले फेला परेको लागु औषध तथा निज जितेशकुमार श्रीवास्तव र राजु लामालाई पक्राउ गरी लगेको ठीक साँचो हो भन्नेसमेत व्यहोराको मिति २०६६।०७।१७ गतेको खानतलासी एवम् बरामदी मुचुल्का ।
जितेशकुमार श्रीवास्तवले भारततर्फबाट लागु औषध खैरो हेरोइन संकलन गरी ल्याई काठमाडौंतिर बस्ने राजु लामा भन्नेलाई बिक्रीसमेतको कारोबार गर्न लागेका छन् भन्ने विशेष सुराकद्वारा जानकारी प्राप्त हुन आएकोले निजहरूलाई खोजतलास गर्दै जाँदा २०६६।०७।१७ गते साँझको समयमा काठमाडौं महानगरपालिका वडा नं. १३ स्थित कालीमाटी चोकबाट कलङ्कीतर्फ जाँदा माली आयल पम्पको ठीकअगाडि सडक किनारामा दुई जना व्यक्ति शङ्कास्पद अवस्थामा उभिई कुरा गरिरहेको अवस्थामा फेला परेकोले निजहरूसँग सोधपुछ गर्दा पर्सा जिल्ला वीरगन्ज उपमहानगरपालिका वडा नं. १९ नगवा घर भएको उमेर ३५ वर्षको आफू जितेशकुमार श्रीवास्तव नाम बताउने व्यक्ति र काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २३ ओमबहाल बस्ने उमेर ३१ को आफू राजु लामा नाम बताउने व्यक्तिलाई नियन्त्रणमा लिई निजहरूको शरीर खानतलासी गर्दा बरामदी मुचुल्कामा उल्लेख भएअनुसार जितेशकुमार श्रीवास्तवबाट लागु औषध खैरो हेरोइन ७० ग्राम, एक थान मोबाइल र नगद रू. ३०,०००।– राजु लामाले बाँधेको U.S.B. मोवाइल घडी १ थान फेला परेकोले फेला परेको लागु औषध खैरो हेरोइनसहितको दसीको सामानलाई बरामद गरी निज जितेशकुमार श्रीवास्तव र राजु लामालाई पक्राउ गरी आवश्यक कानूनी कारवाहीको लागि यसै प्रतिवेदन साथ दाखिला गराएका छौं । सो सम्बन्धमा थप अनुसन्धान एवम् कारवाही गरी पाउँ भन्ने व्यहोरा समेतको मिति २०६६।७।१७ गतेको प्र.ना.नि. भरतबहादुर शाहसमेतको प्रतिवेदन ।
म काठमाडौंमा बसी काम गर्ने क्रममा राजु लामासँग मेरो चिनजान भई भेटघाट हुने क्रममा राजु लामाले एक दिन मसँग काठमाण्ठौंमा धेरै लागु औषध प्रयोग गर्ने केटाहरू छन् । निजहरूलाई लागु औषध बिक्री गर्न पाए धेरै पैसा फाइदा हुन्छ । तपाई लागु औषध सस्तोमा ल्याई मलाई बिक्री गर्नोस् । म तपाईसँग लागु औषध खरिद गरी मैले अरूलाई आफूलाई नाफा लिई महँगोमा बिक्री गर्छु भनी सल्लाह गरेकोले मैले वीरगन्ज, रक्सौल आवत जावत गर्दा चिनेका महेश राउत भन्नेसँग सम्पर्क गरी निजसँग पटकपटक लागु औषध खरिद गरी ल्याई मसँगै पक्राउमा परेको राजु लामालाई बिक्री गर्दै आएको र मेरो साथबाट बरामद भएको लागु औषध खैरो हेरोइन पनि मैले प्रति ग्रामको रू. ४००।– मा महेश राउतसँग खरिद गरी निज राजु लामाले माग गरेअनुसार प्रति ग्रामको रू. ५००।– का दरले राजु लामालाई बिक्री गर्न भनी मिति २०६६।७।१७ गते साँझ लागु औषध खैरो हेरोइन साथमा लिई कालीमाटी चोकमा राजु लामाको प्रतीक्षा गरी बसेको अवस्थामा निज आइपुगी मलाई लागु औषधको पैसा भनी रू. ३०,०००।– दिई बाँकी रू. ५०००।– पछि दिन्छु भनी मेरो सँगसाथमा रहेको लागु औषध खैरो हेरोइन राजु लामालाई दिन नपाउँदै प्रहरीले हामीलाई पक्राउ गरी बरामदी मुचुल्कामा उल्लेख भएअनुसार मेरो साथमा रहेको लागु औषध खैरो हेरोइन ७० ग्राम सहितको नगद रू. ३०,०००।– मोबाइल र राजु लामाबाट मोवाइल घडी बरामद गरेको हो भन्नेसमेत व्यहोराको प्रतिवादी जितेशकुमार श्रीवास्तवले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
काठमाडौंमा घुमफिर गर्ने क्रममा लागु औषध सेवन गर्ने केटाहरू भएको र निजहरूले लागु औषध हेरोइनको माग गरिरहेकोले लागु औषध हेरोइन सस्तोमा खरिद गरी महँगोमा बिक्री गर्न पाए फाइदा हुने देखी काठमाडौंमा नै चिनेको जितेशकुमार श्रीवास्तवसँग भेट गरी लागु औषध हेरोइन खरिद बिक्री गर्ने कुरा भएपछि हाम्रो सल्लाहअनुसार निज जितेशकुमार श्रीवास्तवले मलाई प्रति ग्राम लागु औषध रू. ५००।– का दरले लागु औषध खैरो हेरोइन बिक्री गर्ने गरेकोले मैले निजसँग पटकपटक लागु औषध खैरो हेरोइन खरिद गरी काठमाडौंमा लागु औषध सेवन गर्ने अनिस, राज, जीवन, सुमन, दवा, राजु, काले, कपिल, सरोजसमेतका केटाहरूलाई आवश्यकता अनुसार प्रति ग्रामको रू. ८००/९०० मासमेत बिक्री गर्ने गर्दै आएकोमा हाल बरामद लागु औषध पनि खरिद गरी लागु औषध सेवन गर्ने अनिस, राज, जीवन, सुमन, दवा, राजु, काले, कपिल, सरोजसमेतका केटाहरूलाई काठमाडौंमा बिक्री गर्ने उद्देश्यले जितेशकुमार श्रीवास्तव र मबीच भएको पूर्व सल्लाहअनुसार मिति २०६६।७।१७ गते बेलुकी कालीमाटी गई जितेशकुमार श्रीवास्तवलाई भेट गरी लागु औषध खैरो हेरोइन खरिद गर्न भनी रू. ३०,०००।– दिए र बाँकी रू. ५०००।– पछि दिन्छु भनी लागु औषध हेरोइनको बारेमा कुराकानी गरिरहेको अवस्थामा मैले जितेशकुमार श्रीवास्तवसँग लागु औषध हेरोइन लिन नपाउँदै प्रहरीले हामीलाई पक्राउ गरी शरीर तलासी लिँदा बरामदी मुचुल्कामा उल्लेख भएअनुसार जितेशकुमार श्रीवास्तवको सँगसाथबाट मोबाइल १ थान नगद रू. ३०,०००।– लागु औषध खैरो हेरोइन ७० ग्राम र मेरो मोबाइल घडी १ थानसमेत बरामद गरेको हो भन्नेसमेत व्यहोराको मिति २०६६।७।२२ गते प्रतिवादी राजु लामाले गरेको बयान कागज ।
बरामद भएको लागु औषध हेरोइनको नमूना परीक्षण गर्दा उक्त नमूनामा “लागु औषध हेरोइन (डाइएसिटाईट मर्फिन) पाइयो” भन्ने व्यहोराको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ललितपुरको मिति २०६६।७।२५ गतेको परीक्षण प्रतिवेदन ।
मिसिल संलग्न प्र.ना.नि. भरतबहादुर शाहसमेतको प्रतिवेदन, खानतलासी तथा बरामदी मुचुल्का, प्रतिवादी जितेशकुमार श्रीवास्तव र राजु लामाको बयान कागज, केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदनसमेतका कागज प्रमाणहरूबाट उक्त कार्य लागु औषध (नियन्त्रण) ऐन, २०३३ को संशोधनसहितको दफा ४ को खण्ड (घ), (ङ) र (च) को कसुर अपराध हुँदा निज प्रतिवादीहरू जितेशकुमार श्रीवास्तव र राजु लामाउपर सोही ऐनको दफा १४ को उपदफा (१) (छ) (२) बमोजिम सजाय हुन तथा प्रतिवादी जितेशकुमार श्रीवास्तवको साथबाट बरामद भएको नगद रू. ३०,०००।– (तीस हजार) लागु औषधको कारोबारबाट आर्जित सम्पत्ति भएकोले उक्त नगद रू. ३०,०००।– समेत सोही ऐनको दफा १८ (क) बमोजिम जफत हुनका साथै सूचना तथा अनुसन्धानमा खटिएका कर्मचारीलाई ऐ. ऐनको दफा १८ (ख) एवम् १८ (घ) अनुसार पुरस्कारको व्यवस्था हुनु साथै वारदातमा संलग्न महेश राउत विदेशी भारतीय नागरिक भएकोले निज नेपाल सरहदभित्र फेला परी पक्राउमा परेको अवस्थामा राजु लामासँग लागु औषध खैरो हेरोइन खरिद गर्ने भनिएका अनिस, राज, जीवन, सुमन, दवा, राजु, काले, कपिल, सरोज भन्ने व्यक्तिहरूको हकमा वास्तविक नाम, थर वतन खुल्न नआएकोले खुली आएका वा पक्राउमा परेको बखत कानूनबमोजिम हुने व्यहोरा मागदावीसहितको अभियोगपत्र ।
मिति २०६६।७।१७ को बरामदी मुचुल्कामा उल्लेखित लागु औषध खैरो हेरोइन ७० ग्राम मबाट बरामद भएको हो, महेश राउतसँग खानको लागि र राख्नको लागि लिएको अवस्थामा मलाई प्रहरीले एक्लै पक्राउ गरेको हो, मैले राजु लामालाई चिनेको छैन, लागु औषधको व्यापार पनि गरेको छैन, मसँग बरामद भएको रकम मेरो कपडाको व्यापारबाट आर्जित रकम हो भन्नेसमेत व्यहोराको प्रतिवादी जितेशकुमार श्रीवास्तवले अदालतमा गरेको बयान ।
म पेन्टरको काम गरी जीवन गुजारा गर्छु नयाँ बानेश्वरबाट टि.बि. को औषधी लिई बहिनीको कोठामा जाने क्रममा बाटैमा प्रहरीले मलाई पक्राउ गरेको हो, जितेशकुमार श्रीवास्तवलाई चिनेको छैन, अभियोग व्यहोरा झुठ्ठा हो, म लागु औषध सेवन गर्ने, खरिद बिक्री गर्ने मानिस होइन भन्नेसमेत व्यहोराको प्रतिवादी राजु लामाले अदालतसमक्ष गरेको बयान ।
प्रतिवादी जितेशकुमार श्रीवास्तवको साथबाट ७० ग्राम लागु औषध हेरोइन बरामद भएको हो भन्नेसमेत व्यहोराको वादीका साक्षी प्रतिवेदक केशव मगरको बकपत्र ।
राजु लामासँगै भएको अवस्थामा प्रतिवादी जितेशकुमार श्रीवास्तवबाट लागु औषध बरामद भएको हो भन्नेसमेत व्यहोराको वादीका साक्षी लोकेन्द्र बहादुर रावतको बकपत्र ।
प्रतिवादी जितेशकुमार श्रीवास्तवले लागु औषधको कारोबार गरेको छैन भन्नेसमेत व्यहोराको प्रतिवादी जितेशकुमार श्रीवास्तवको साक्षी दिपककुमार श्रीवास्तवको अदालतमा भएको बकपत्र ।
प्रतिवादी राजु लामा लागु औषध बिक्री विवरण गर्ने कुरामा निर्दोष छन् । निजले सजाय पाउनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी राजु लामाको साक्षी संगीता लामाले अदालतसमक्ष गरेको बयान ।
प्रतिवादी लागु औषध ओसार पसार एवम् बिक्री वितरण गरेको स्वरूप, प्रकृति एवम् परिस्थिति बरामद भएको लागु औषधको परिमाणबाट जितेशकुमार श्रीवास्तवले गरेको कसुर मात्राको आधारमा लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१) को (५)(२) अनुसार १२ वर्ष कैद र रू. १,४२,०००।– जरीवाना हुने र प्रतिवादी राजु लामालाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १७ अनुसार अपराध गरेवापत हुने सजायको आधा ६ वर्ष कैद र रू. ७१,०००।– जरीवाना हुने ठहर्छ भन्नेसमेत व्यहोराको काठमाडौं जिल्ला अदालतको फैसला ।
बुझ्नुपर्ने प्रमाण नबुझी तथ्यको पर्याप्त विश्लेषण नगरी प्रहरीमा भएको बयानको आधारमा अदालतमा भएको बयानलाई बेवास्ता गरी मेरो प्रमाणहरू प्रमाणमा नलिई सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त एवम् फौजदारी न्यायको सर्वमान्य सिद्धान्त र प्रमाण कानूनको सिद्धान्तविपरीत लागु औषधमा कसुरदार ठहर गरी ६ वर्ष कैद र रू. ७१,०००।– जरीवाना गर्ने गरेको फैसला बदर गरी फुर्सद दिलाई पाउँ भन्ने प्रतिवादी राजु लामाको पुनरावेदन अदालत, पाटनमा पर्न आएको पुनरावेदनपत्र ।
लागु औषध सेवन गर्ने वानीले गर्दा मबाट प्रहरीले बरामद गरेको कुरा मैले अदालतमै स्वीकार गरेको भए तापनि सो को ओसार पसार बिक्री वितरण गर्ने व्यक्ति नभएको सत्य बोलेको कारणबाट मलाई १२ वर्ष कैद र रू. १,४२,०००।– रूपैया जरीवानासमेत हुने गरी उक्त फैसला लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा १४(ज) तथा सम्मानित सर्वोच्च अदालतको नजिर सिद्धान्त तथा फौजदारी न्याय सिद्धान्तविपरीत गरिएको फैसला उल्टी गरी न्यायोचित फैसला गरी पाउँ भन्ने प्रतिवादी जितेशकुमार श्रीवास्तवको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।
प्रतिवादी राजु लामाले अदालतमा बयान गर्दा इन्कार रही बयान गरे पनि घटनास्थलमा दुबै प्रतिवादीसँग रहेबसेको अवस्थामा जितेशकुमारको साथबाट लागु औषध ७० ग्राम र ३० हजार रूपैयाँ बरामद भएको भनी बयान गर्दा दुबै जनाले लागु औषध कारोवार गर्ने गरेको सोही सन्दर्भमा रू. ३०,०००।– रूपैया लिई राजु लामा लागु औषध किन्न गएको सो रकम जितेशकुमारलाई दिई लागु औषध लिन नपाउँदै पक्राउ परेको स्वीकार गर्दै लागु औषध लगेपछि खरिद गर्ने व्यक्तिको नाम समेत खुलाई बयान गरेको देखिएबाट बरामदी मुचुल्कासमेतबाट राजु लामालाई मतियार ठहर गरी आधा सजाय गर्ने गरी भएको फैसला मिलेको छैन । लागु औषध लिनु दिनुसम्मको कार्य सम्पन्न नभए पनि राजु लामाले खरिद गर्न लिई गएको रकम जितेशकुमारलाई दिएको सो रकम बरामद भै अदालतबाट जफत हुनेसमेत ठहर भएको स्थितिमा प्रतिवादी राजु लामालाई माग दावी भन्दा कम सजाय गर्ने गरी भएको फैसला सो हदसम्म त्रुटीपूर्ण भएको हुँदा बदर गरी सुरू अभियोग माग दावीबमोजिम सजाय गरी पाउँ भन्ने नेपाल सरकारको पुनरावेदनपत्र ।
प्र. जितेशकुमार श्रीवास्तवलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१) को (घ)(२) अनुसार १२ वर्ष कैद र रू.१,४२,०००।– जरीवाना हुने र प्र. राजु लामालाई ऐ.को दफा १७ अनुसार अपराध गरेबापत हुने आधा ६ वर्ष कैद रू. ७१,०००।– जरीवाना हुने ठहर्याएको सुरू जिल्ला अदालतको फैसला मिलेकैं देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०६८।१।६ को फैसला ।
प्रतिवादी राजु लामा अदालतसमक्ष इन्कार रहे पनि घटनास्थलमा दुबै प्रतिवादीसँगै रहे बसेको अवस्थामा जितेशकुमारको साथबाट लागु औषध र रकमसमेत बरामद भएको देखिएको अधिकार प्राप्त अधिकारीसमक्षको बयानमा दुबै प्रतिवादीहरूले लागु औषधको कारोबार गर्ने गरेको तथ्यलाई स्वीकार गरेको, एवम् हैसियतमा प्रतिवादी राजु लामालाई कम सजाय गर्ने गरी भएको फैसला त्रुटिपूर्ण छ । लागु औषध मुद्दामा लागु औषध बरामद हुनुनै अपराधिक कार्य स्थापित हुन हो । लागु औषध अपराधको प्रकृति सांगठनिक अपराध भएकोले यस किसिमको अपराधमा मुख्य कर्ता र मतियार नभई सबै मुख्य कर्ता हुने अवस्था हुँदा प्रतिवादी राजु लामालाई जितेशकुमारको मतियार भनी कम सजाय गर्ने गरी भएको पुनरावेदन अदालत, पाटनको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी निज प्रतिवादीसमेतलाई अभियोग दावीबमोजिम सजाय गरी पाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।
मैले अदालतसमक्ष गरेको बयानलाई प्रमाणमा ऋण नगरी सो को विपरीत अधिकारप्राप्त अधिकारीसमक्ष गराइएको बयानलाई मात्र आधार लिने फैसला गर्न मिल्ने हैन, म पुनरावेदकलाई अर्का प्रतिवादीले चिन्दिन भनी स्पष्टरूपमा बयान गरेको र मैले अभियोग दावीबमोजिम कसुर गरेको भनी मान्न मिल्ने स्पष्ट आधार प्रमाण नभएको अवस्थामा देखिँदा देखिदै लागु औषध जस्तो गम्भीर अपराधमा मतियार ठहर्याई सजाय गर्ने गरेको सुरू फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दावीबाट सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी राजु लामाको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।
नियमबमोजिम आजको दैनिक मुद्दा पेसीसूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको सुरू एवम् पुनरावेदन अदालततको रेकर्ड मिसिलसमेतको अध्ययन गरी पुनरावेदक वादीको तर्फबाट विद्वान् सहन्यायाधिवक्ता श्री रेवतीराज त्रिपाठीले लागु औषध जस्तो संगठित अपराधमा मुख्य कर्ता र मतियार नभई सबै मुख्य कर्ता हुने अवस्थामा प्रतिवादी राजु लामालाई समेत अभियोग दावीबमोजिम सजाय हुनुपर्नेमा मतियार ठहर्याई कम सजाय गरेको सुरू फैसला नै सदर गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण भएको बदर गरी प्रतिवादी राजु लामासमेतलाई अभियोग दावीबमोजिम सजाय हुनुपर्छ भनी तथा पुनरावेदक प्रतिवादी राजु लामाको तर्फबाट विद्वान् अधिवक्ता श्री सोनी रघुवंशले अदालतसमक्षको बयानलाई प्रमाणमा नलिई प्रहरीसमक्षको बयानलाई मात्र आधारलिई सजाय गर्ने गरेको सुरू फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादी राजु लामाले अभियोग दावीबाट सफाइ पाउनुपर्ने भनी प्रस्तुत गर्नु भएको बहस जिकिर सुनियो ।
यसमा प्रतिवादीहरू जितेशकुमार श्रीवास्तव र राजु लामाले लागु औषध (नियन्त्रण) ऐन, २०३३ को संशोधनसहितको दफा ४ को खण्ड (घ), (ङ) र (च) को कसुर अपराध गरेको हुँदा निज प्रतिवादीहरूलाई सोही ऐनको दफा १४ को उपदफा (१) (छ) (२) बमोजिम सजाय हुन तथा प्रतिवादी जितेशकुमार श्रीवास्तवको साथबाट बरामद भएको नगद रू.३०,०००।– (तीस हजार) सोही ऐनको दफा १८ (क) बमोजिम जफत गरी पाउँ भन्नेसमेत व्यहोराको अभियोग माग दावी भएको प्रस्तुत मुद्दामा प्रतिवादीमध्येका जितेशकुमार श्रीवास्तवलाई अभियोग माग दावीबमोजिम लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१) को (६) (२) अनुसार १२ वर्ष कैद र रू. १,४२,०००।– जरीवाना र प्रतिवादी राजु लामालाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १७ अनुसार अपराध गरेबापत हुने सजायको आधा ६ वर्ष कैद र रू. ७१,०००।– जरीवाना हुने ठहर्याई भएको सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसला नै सदर हुने ठहर्याई पुनरावेदन अदालत, पाटनले फैसला गरेउपर प्रतिवादी राजु लामासमेतलाई अभियोग माग दावीबमोजिम सजाय हुनुपर्ने भनी वादी नेपाल सरकारको तर्फबाट र सफाइ पाउनुपर्ने भनी प्रतिवादी राजु लामाको तर्फबाट दोहोरो पुनरावेदन पर्न आएको अवस्था रहेछ ।
उल्लिखित तथ्य एवम् विद्वान् सहन्यायाधिवक्ता एवम् विद्वान् अधिवक्ताले प्रस्तुत गर्नु भएको बहस जिकिरसमेतको सन्दर्भमा सुरू फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसला मिलेको छ छैन तथा वादी प्रतिवादी को कस्को पुनरावेदन जिकिर पुग्ने नपुग्ने के रहेछ सो सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
2. निर्णयतर्फ विचार गर्दा यसमा प्रतिवादीमध्येका जितेशकुमार श्रीवास्तवलाई अभियोग माग दावीबमोजिम सजाय गरेको सुरू फैसला सदर गरेको पुनरावेदन अदालतको फैसलाउपर निज प्रतिवादीको तर्फबाट पुनरावेदनको तामेली म्यादभित्र पुनरावेदन परेको अवस्था नहुँदा निजको हकमा केही बोलिरहनु परेन ।
3. प्रतिवादी राजु लामालाई अभियोग दावीबमोजिम सजाय नगरी लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १७ अनुसार अपराध गरेबापत हुने सजायको आधा ६ वर्ष कैद र रू. ७१,०००।– जरीवाना हुने ठहर्याई भएको सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसलालाई नै सदर हुने ठहर्याई पुनरावेदन अदालत, पाटनले गरेको फैसला नमिलेको भन्ने वादी नेपाल सरकारको र सो अनुसार सजाय गरेको फैसला नमिलेको भनी प्रतिवादी राजु लामाको तर्फबाट यस अदालतमा पर्न आएको प्रस्तुत पुनरावेदन जिकिरतर्फ हेर्दा आफूसँगै रहेका प्रतिवादी जितेशकुमार श्रीवास्तवको साथबाट ७० ग्राम लागु औषध खैरो हिरोइन बरामद भएको तथ्यमा कुनै विवाद रहेको देखिँदैन । सो बरामद भएको तथ्यलाई यी पुनरावेदक प्रतिवादीले अन्यथा भन्न सकेको समेत दखिँदैन । यी पुनरावेदक प्रतिवादीको साथबाट लागु औषध बरामद भएको अवस्था नदेखिए पनि लागु औषध सेवन गर्ने केटाहरू आफ्नो सम्पर्कमा रहेकोले लागु औषध हेरोइन सस्तोमा खरिद गरी महँगोमा बिक्री गर्न पाए फाइदा हुने देखी काठमाडौंमा नै चिनेको जितेशकुमार श्रीवास्तवसँग भेट गरी लागु औषध हेरोइन खरिद बिक्री गर्ने कुरा भएपछि सल्लाहअनुसार निज जितेशकुमार श्रीवास्तवले मलाई प्रति ग्राम रू. ५००।– का दरले लागु औषध खैरो हेरोइन बिक्री गर्ने गरेकोले मैले निजसँग पटकपटक लागु औषध खैरो हेरोइन खरिद गरी काठमाडौंमा लागु औषध सेवन गर्ने अनिस, राज, जीवन, सुमन, दवा, राजु, काले, कपिल, सरोज समेतका केटाहरूलाई आवश्यकता अनुसार प्रति ग्रामको रू. ८००/९०० मासमेत बिक्री गर्ने गर्दै आएको, हाल बरामद लागु औषध पनि निजै केटाहरूलाई बिक्री गर्ने उद्देश्यले जितेशकुमार श्रीवास्तवलाई भेट गरी बरामद लागु औषध खरिद गर्नको लागि रू. ३०,०००।– समेत दिई कुराकानी गरिरहेको अवस्थामा जितेशकुमार श्रीवास्तवसँग लागु औषध लिन नपाउँदै प्रहरीले हामीलाई पक्राउ गरेको हो भनी घट्नालाई सिलसिलाबद्धरूपमा बिक्री गर्ने गरेको केटाहरूको नाउँसमेत उल्लेख गरी अधिकारप्राप्त अधिकारीसमक्ष बयान गरेको अवस्था देखिन्छ । पटकपटक लागु औषध खरिद गरी राजु लामालाई बिक्री गर्दै आएको हो मसँग बरामद भएको लागु औषध पनि राजु लामालाई बिक्री गर्न भनी लागु औषध खैरो हेरोइन साथमा लिई राजु लामाको प्रतिक्षा गरिरहेको अवस्थामा निज आइपुगी मलाई लागु औषधको पैसा भनी रू.३०,०००।– दिई बाँकी रू. ५०००।– पछि दिन्छु भनी मेरो सँगसाथमा रहेको लागु औषध खैरो हेरोइन राजु लामालाई दिन नपाउँदै प्रहरीले हामीलाई पक्राउ गरेको हो भनी प्रतिवादी राजु लामाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान व्यहोरालाई पुष्टि हुने गरी बयान गरेको पाइन्छ । निजको सो बयान व्यहोरा अन्यथा हो भनी मान्न मिल्नेसम्मको कुनै ठोस एवम् वस्तुनिष्ठ आधार प्रमाणसमेत मिसिल संलग्न रहेको अवस्था देखिँदैन । मिसिल संलग्न रहेको २०६६।७।१७ गतेको खानतलासी एवम् बरामदी मुचुल्का, प्र.ना.नि. भरतबहादुर शाहसमेतको प्रतिवेदनसमेतले यी पुनरावेदक प्रतिवादी उक्त लागु औषध खरिद बिक्री गर्ने कार्यमा प्रत्यक्ष संलग्न रहेको विवाद रहित तवरबाट संपुष्टि भएको देखिन्छ ।
4. जहाँसम्म एकै हैसियतका यी पुनरावेदक प्रतिवादी राजु लामालाई कम सजाय गरेको नमिलेको, लागु औषध जस्तो अपराधमा मुख्य कर्ता र मतियार नभई सबै मुख्य कर्ता हुने अवस्था हुँदा प्रतिवादी जितेशकुमारको मतियार भनी प्रतिवादी राजु लामालाई सजाय गरेको नमिलेको भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर रहेतर्फ हेर्दा यी प्रतिवादी राजु लामाको साथबाट लागु औषध बरामद भएको अवस्था देखिँदैन । तर पनि लागु औषध खरिद गर्छु भनी प्रतिवादी जितेशकुमारलाई उक्साई विश्वास दिलाई दुरूत्साहन गरेको र लागु औषध खरिद बिक्रीमा मतियार रहेको, लागु औषध किन्न खोजेको तर खरिद कार्य पूरा नहुँदैको अवस्थामा पक्राउ परेको देखिन्छ । प्रतिवादी राजु लामाकै उक्साहटमा लागी केही नाफा हुन्छ भनी आफूले बरामद भएको लागु औषध खरिद गरी ल्याएको भनी प्रतिवादी जितेशकुमारले अधिकारप्राप्त अधिकारीसमक्ष यी प्रतिवादी राजु लामालाई पोल गरी बयान गरेको देखिन्छ । यी पुनरावेदक प्रतिवादी राजु लामाको साथबाट कुनै लागु औषध बरामद भएको नदेखिनुका अतिरिक्त प्रत्यक्षत लागु औषधको कारोबार गरेको तथ्य ठोस आधार प्रमाणबाट संपुष्टि हुन सकेको देखिँदैन । यी प्रतिवादीले बरामद भएको लागु औषधको कारोबार गर्न सहअभियुक्त जितेशकुमारलाई दुरूत्साहनसम्म गरेको देखिन्छ ।
5. लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १७ मा अपराध गर्न षडयन्त्र गर्ने, उद्योग गर्ने, दुरूत्साहन गर्ने र मतियार हुनेलाई सजाय भनी यस ऐनअन्तर्गत सजाय हुने अपराध गर्ने, षडयन्त्र गर्ने, त्यस्तो अपराध गर्न अरूलाई दुरूत्साहन गर्ने वा त्यस्तो अपराध गर्नमा मतियार हुने व्यक्तिलाई सोही अपराध गरेबापत हुने सजायको आधी सजाय हुनेछ भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । लागु औषध मुद्दामा लागु औषध बरामद हुनु नै अपराधिक कार्य स्थापित हुनु हो । लागु औषध अपराधको प्रकृति सांगठनिक अपराध भएकोले यस किसिमको अपराधमा मुख्य कर्ता र मतियार नभई सबै मुख्य कर्ता हुने अवस्था हुन्छ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरलाई मान्ने हो भने लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १७ मा भएको उपरोक्त कानूनी व्यवस्था निस्प्रयोजन मात्र नभई षडयन्त्र गर्ने, उद्योग गर्ने, दुरूत्साहन गर्ने र मतियार हुनेलाई सजाय गर्ने विधायिकाको मनसाय नै लुप्त हुन जाने देखिन्छ । विधायिकी मनसाय नै निस्प्रयोजन हुने गरी अदालतले व्याख्यासमेत गर्न मिल्ने हुँदैन ।
6. अतः पुनरावेदक प्रतिवादी राजु लामाको साथबाट लागु औषध बरामद भएको अवस्था नदेखिए पनि लागु औषध सेवन गर्ने केटाहरू आफ्नो सम्पर्कमा रहेकोले सहअभियुक्त जितेशकुमार श्रीवास्तवसँग बरामद भएको लागु औषध खैरो हेरोइन खरिद गर्नको लागि कुराकानी गरिरहेको अवस्थामा पक्राउ गरेको, सो तथ्यलाई बरामद भएको लागु औषध राजु लामालाई बिक्री गर्न भनी लागु औषध खैरो हेरोइन साथमा लिई राजु लामाको प्रतीक्षा गरी रहेको अवस्थामा मेरो सँगसाथमा रहेको लागु औषध खैरो हेरोइन राजु लामालाई दिन नपाउँदै प्रहरीले हामीलाई पक्राउ गरेको हो भनी प्रतिवादी राजु लामाले गरेको उक्त बयान व्यहोरालाई पुष्टि हुने गरी बयान गरेको निजको सो बयान व्यहोरा अन्यथा हो भनी मान्न मिल्नेसम्मको कुनै ठोस एवम् वस्तुनिष्ठ आधार प्रमाणसमेत मिसिल संलग्न रहेको नदेखिनुको अतिरिक्त मिसिल संलग्न रहेको २०६६।०७।१७ गतेको खानतलासी एवम् बरामदी मुचुल्का, प्र.ना.नि. भरतबहादुर शाहसमेतको प्रतिवेदनसमेतले यी पुनरावेदक प्रतिवादी उक्त लागु औषध खरिद बिक्री गर्ने कार्यमा मतियार रहेको विवाद रहित तवरबाट संपुष्टि भएको देखिँदा सोसमेतको आधार प्रमाणबाट प्रतिवादी राजु लामालाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १७ बमोजिम ६ वर्ष कैद र रू. ७१,०००।– जरीवाना हुने ठहर्याई भएको सुरू काठमाडौं जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनले गरेको फैसला मिलेकै देखिँदा कुनै परिवर्तन गरिरहनु परेन । सो फैसला सदर कायम हुने ठहर्छ । अभियोग माग दावीबाट सफाइ पाउनुपर्ने भन्ने प्रतिवादी राजु लामाको तथा अभियोग माग दावीबमोजिम सजाय हुनुपर्ने भनी वादी नेपाल सरकार दुबैको पुनरावेदन जिकिर पुग्न सक्तैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.भरतबहादुर कार्की
इति संवत् २०७० साल फागुन २१ गते रोज ४ शुभम् ।
इजलास अधिकृत :– हरिकृष्ण श्रेष्ठ