शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १२११ - ज्यान

भाग: २० साल: २०३५ महिना: बैशाख अंक:

निर्णय नं. १२११     ने.का.प. २०३५

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री हेरम्बराज

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

सम्वत् २०३४ सालको फौ.सा.नं. ३४

फैसला भएको मिति :      ०३५।११।१६।४ मा

वादी :       रामधारी सहनीको जाहेरीले वादी श्री ५ को सरकार

विरुद्ध

विपक्षी : जि. रौ.प्र.मटिओन पञ्चायत रतुमौली वैरिया बस्ने रेसमी मलाहिनी समेत

मुद्दा : ज्यान

(१)   घर पछाडि लुकाइराखेको रगत लागेको बसिल्ला फेला परेको भन्ने हकमा रगत कहिले लागेको र के को रगत हो सो कुराको जाँचसमेत भएको देखिँदैन, यस स्थितिमा प्रहरीका समक्ष गरेको बयानको आधारमा मात्र कसूरदार ठहराउन न्यायोचित नपर्ने ।

 (प्र.नं. २०)

वादी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय

प्रतिवादी तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री सुभाषचन्द्र नेम्वाङ्ग

फैसला

            न्या. हेरम्बराज : ०२८।३।५ गतेको दिन बागमती पारी वेतियामा जग्गा रोपाइँ गर्न गएको ऐ.आषाढ ८ गतेको बिहान नाम नजानेका मानिस २ जना आई रेशमीको घरमा राती डाँका पर्‍यो तिम्रो आमालाई मारिदियो भन्दा रमौली गई हेर्दा मरिरहेकोले रेशमीले मारेको पूर्ण विश्वास लाग्छ । कानूनबमोजिम कारवाही गरिपाउँ भन्नेसमेत रामधारीको जाहेरी दर्खास्त ।

            २.    घटना हुनुभन्दा अघिल्लो दिन रेशमीको घरमा गाउँकै जिया सहनी मनकराय समेत भई र रेशमीसँग नमालुम के कुरा गरे त्यसको भोलिपल्ट राती अं.२ बजे रेशमी मेरो ढोकामा आई मेरो घरमा चोर डाँका आए भनेको म गई हेर्दा कुनै चोर डाँका थिएनन । गुहारमा गएका अरू गाउँलेहरु समेत भई हेर्दा सुरतिया चढाइमा सुतेकी निजको मुख टाउको निजकै फरियाले छोपेको देखी रेशमीले त्यहाँ डाँकाहरुले खुन गरी छोपेर हिँडेछन भनी निजको टाउकोमा ओढाएको फरियाको फेर हटाइदिँदा गर्दनमा केही काटी मरिरहेको देख्यौं । सो ठाउँ वरपर रगत नदेखिएको अन्यत्र काटीमारी ल्याई सुताएको र जिया सहनी मनक रेशमीसमेतको राय सल्लाहबाट हामीलाई फसाउने नियतले कर्तव्य गरी मारेको शङ्का लाग्छ । फरिया र बसिलासमेत रेशमीकै हो भन्नेसमेत असर्फि सा तेलीसमेतको सर्जमिन मुचुल्का ।

            ३.    रेशमीको घर पछाडि लुकाइराखेको बसिलाको बिंडमा रगत लागेको समेत देखिएको सो हतियार मेरो हो भनी नैमियासमेतले सनाखत गरेको र निजको बुहारी नैमियाले राती सासुले नै हानी मारेको भन्ने बयान गरेको समेतबाट सुरतियालाई रेशमीले कर्तव्य गरी मारेको भन्ने देखिने हुँदा निजउपर ज्यानसम्बन्धीको १३ (१) अन्तर्गत सजाय हुन र निजको बुहारी नैमियाले अपराधमा इन्कार गरेको सासुले मारेको हेरी रही जाहेर समेत नगरेमा निज नैमियाउपर ज्यानसम्बन्धीको १७ नं. को देहाय दफा ३ बमोजिम सजाय हुन जियालालउपर सबै सर्जमिनले रेशमीको सरसल्लाहमा पसेको भनी शङ्का देखिएकोले निज जियालालउपर ज्यानसम्बन्धीको १७ नं को दफा ३ बमोजिम सजाय हुन नैमिया रेशमीको मत सल्लाहमा परेको भन्ने सबूद नहुँदा अपरध देखी जानी जाहेर नगरेमा निज नैमियालाई ज्यानसम्बन्धीको २२।२३ नं. को अभियोग लाग्न सक्ने भई ऐ.को २५ नं. बमोजिम सजायको माग गरी प्रहरी प्रतिवेदन परेको ।

            ४.    २०२८साल आषाढ ७ गते बेलुका रात अं.१२ बजे म बच्चालाई दुध खुवाइ राखेको थिएँ । सासु सुरतीयामा सुतेको ठाउँमा गई हसुवा निकाली सुरतीयामाथि २।३ पल्ट प्रहार गरिन । मलाई सासुले बाहिर जा भनेकोले बच्चा च्यापी बाहिर भागी गएँ । सासुले डाँका पर्‍यो भनी हल्ला गरेको डाँका आएको होइन । सासुले कसैलाई नभन्नु भनेकोले सो मारेको कुरा नभनेको हुँ भन्नेसमेत नैमिया मलाहीको प्रहरीमा भएको ठाडो बयान ।

            ५.    आषाढ ७ गतेको रात मेरो घरमा सुरतियालाई कर्तव्य गरी मारेको खबर भोलिपल्ट १०।११ बजे सुनी घर आई हेर्दा सुरतियालाई काटी मारेको लास रहेछ । कसले मारेको भन्दा आमा रेशमीले डाँका आई मारे भनी भनेको ठाउँमा हल्ला सुनेको वारदातको दिन घरमा थिइन कसले मार्‍यो भन्न सक्दिन मैले कर्तव्य गरी मारेको होइन भन्नेसमेत गर्भु सहनी मलाहको बयान ।

            ६.    रातको अन्दाजी १२ बजे ५।६ जना भित्र आए सुरतीयालाई काट्न मार्न लागेकोले डरले म गाउँकै देव रतियाको घर साम्ने गई डाँका आए भनी कराएँ । गाउँका मानिसहरु आउँदा डाँकुहरु भागिसकेका थिए । घरमा हेर्दा सुरतियालाई काटी मारिसकेको रहेछ । गाउँकै रुदलमलाहा, सुखवामलाहा, घुरखेल, गोविन्द मलाहा, रामऔतार सत्यनारायणलाई बोलीबाट चिने मैले लगाएको धोतीमा लागेको रगत नातीको घाउखटिराको हो । बुहारी नैमियाले मलाई किन पोल गरी जान्दिन म निर्दोष छु भन्नेसमेत रेशमी मलाहिनको कागज ।

            ७.    भाइ र म खेतीको लागि बागमती पार गएका थियौं । सुरतियालाई काटी मारेको कुरा उहीँ सुनेको हो । घरमा आई कसले मार्‍यो भन्दा डाँका आई मारेको भनी आमा रेशमीले भन्दथिन । गाउँका मानिसहरु डाँका आएका छैन भन्दथे, फेला परेको खन्ति बसिला हसुवासमेत मेरै घरैको हो । आमा रेशमीले सुरतीयालाई मार्न पर्ने कारण केही थिएन । सुरतीयालाई मार्नमा सरिक भएको र सहमति समेत मेरो छैन भन्ने जितु सहनी मलाहाको बयान ।

            ८.    ०२८।३।७ गतेको राती मर्ने सुरतिया, मेरो सासु रेशमी र म एउटै कोठामा सुतेका थियौं । डाँका आए भाग भाग भनी मलाई भनेबाट गाउँतिर गएँ मानिसहरु आएपछि घर जाँदा मर्ने सुरतियाको बायाँ गर्धन, काँध र गालामा काटिएको थियो । सुरतियासँग सासुको झैझगडा थिएन । कसले मार्‍यो आँखाले नदेखिएकोले भन्न सक्दिन भन्नेसमेत नैमिया मलाहिनको अदालतमा भएको बयान ।

            ९.    उक्त रात बुहारी म र सुरतिया एउटै कोठामा सुतेका थियौं । रातको करिव १ बजेतिर लाइटको उज्यालो आएकोले डाँका डाँका भनी बुहारीलाई ब्युँझाई नाती समेत लिई गाउँतिर भागी गयौं । सुरतियालाई पनि भाग भन्दा म गरिब छु किन भाग्नु भनी त्यहीँ बसिरहेको थिइन । पछि गाउँका मानिसहरु समेत आई बत्ती बाली हेर्दा सुरतियाको घाँटी तथा गलामा काटिएको थियो । जितुवा मलाह, औतार सत्यनारायण, रुदल, मुखवाको बोलीबाट सुरतियालाई मार्ने यिनीहरु नै हुन भन्ने शङ्का लाग्छ । मैले मार्नुपर्ने रिसइवी पनि छैन र मैले मारेको पनि छैन भन्नेसमेत रेशमी मलाहिनको बयान ।

            १०.    वारदात हुँदाको बखत म आफ्नै घरमा छु । मैले रेशमी मलाहिनसँग मिली सुरतियालाई मारेको छैन । वारदात भएको आँखाले नदेखिएकोले को को भई मारे थाहा छैन भन्नेसमेत खैरु सहनीको बयान ।

            ११.    आषाढ ७ गते सुकल सहनीको घर र जवारामा बसी ८ गते घर आएको हुँ मर्ने सुरतियालाई डाँकुहरुले मारिदिए भनी रेशमी भन्दथिन । कसले मार्‍यो मैले नदेखेकोले भन्नसक्दिन भन्ने जियालाल सहनीको बयान ।

            १२.   रेशमी छोरा गर्भुले जितु मलाहको स्वास्नी लगेकोमा गर्भको विरुद्ध मैले बोलेकोले सोही रिसबाट रेशमीले मलाई शङ्का देखाएको हुन । मर्ने सुरतियालाई मार्नेमा मेरो हात हैन भन्नेसमेत सुखवा सहनीको बयान ।

            १३.   मर्ने सुरतियासँग मेरो रिसइवी छैन । रेशमीको र मेरो बाबु रामऔतारसँग रिसइवी परेको थियो सोही रिसले म र मेरो बाबुउपर शङ्का देखाएकी हुन सुरतियालाई मार्नमा मेरो हात छैन भन्नेसमेत सत्यनारायण मलाहको बयान ।

            १४.   सुरतियासँग मेरो कुनै रिसइवी छैन । रेशमीको छोरा गर्भुले जितु मलाहको स्वास्नी लगेको किन यसो गरेको भन्दा रेशमी मसँग रिसाएकी थिइन । सोही रिसइवीले म र मेरो छोराउपर शङ्का देखाएकी हुन । सुरतीयालाई मार्नमा मेरो हात छैन भन्नेसमेत रामऔतार मलाहको बयान ।

            १५.   घुर खेल सहनी मलाह र रुदल सहनीले रामऔतार मिलानकै बयान गरेको ।

            भाइ र म बागमती पारी खेती गर्न गएका थियौं । सुरतीयालाई कसले हत्या गर्‍यो भन्दा आमा रेशमी डाँकाहरुले मारे भन्नुहुन्थ्यो मसमेत भई सुरतियालाई मारेको छैन भन्नेसमेत जितु सहनी मलाहको बयान ।

            गर्भुसहनी मलाहाले पनि जितु सहनी मलाहा मिलानकै बयान गरेको ।

            १६.    प्र. रेशमी र रेशमीको बुहारी नैमियाले गरेको बयानमा नै परस्पर बाझिएको देखिन आयो । रेशमीको भनाइअनुसार डाँकाहरु आई डाँकाहरुले सुरतियालाई मारेको होकी भन्नालाई वारदात अवस्थामा सँगै घरमा भएको बुहारी नैमियाले डाँका आएको देखिन भनेकी र बुझिएका सर्जमिनहरुले पनि डाँका आएको भन्ने कुरा झुठ्ठा देखाई सर्जमिन गरेकोसमेतबाट डाँकाहरुले सुरतियालाई मारेको भन्ने नदेखिने निज रेशमीले पोल गरेको प्रतिवादीहरुले सुरतीयालाई मारेको ठहर्दैन । वारदात भएको अवस्था रेशमी र बुहारी नैमियामात्र घरमा रहेको र मर्ने सुरतियालाई मार्ने निजै रेशमीको हात भएको भन्ने कुरा निजकै बुहारी नैमियाको बयानबाट समेत देखिएकोले सुरतियालाई मार्ने प्र.रेशमीको हात ठहर्छ निज रेशमीलाई ज्यानसम्बन्धीको १३ नं. को ३ दफाले जन्मकैद हुन्छ । जन्मकैद गर्दा चर्को पर्ने देखिएकोले १० वर्षमात्र कैद हुनुपर्छ । निजको बुहारी नैमिया पनि मत सलाहमा परेको देखिँदा निजलाई ज्यानसम्बन्धीको १७ नं. को ३ दफाले २ वर्ष कैद हुन्छ भन्नेसमेत रौतहट जिल्ला अदालतको जाहेरी फैसला ।

            १७.   अभियुक्त रेशमीकै कर्तव्यबाट सुरतियालाई मारेको ठहराई निजलाई ज्यानसम्बन्धीको १३ नं. को दफा ३ बमोजिम जन्मकैद गर्ने गरेको नैमियाले सुरतियालाई कर्तव्य गरी मार्नबाट रोकेको समेत नदेखिँदा मतलब होइन भन्न नमिल्ने भनी ज्यानसम्बन्धीको १७ नं. को ३ दफाअनुसार कैद वर्ष २ को सजाय गर्ने गरेको र प्रतिवादी जितु सहनी गर्भ सहनी, रुदलमलाह, मुखवा मलाह, धूर खेल मलाह, औतार भन्ने राम औतार सत्यनारायण मनक, राम, जियालाल, सहनी मलाह, रामविलास ग्वारसमेतलाई रिहाइ दिने गरेको इन्साफ मनासिव छ । आफ्नै घरमा सुरतियालाई आश्रय दिई आफूकहाँ रहेको देखिन आएको र सुरतियालाई मार्न पर्ने तथ्ययुक्त रिसइवी देखिन नआएको अवस्थामा रेशमीलाई जन्मकैदको सजाय गर्न चर्को लागेकोले घटी सजायको लागि अ.बं.१८८ नं. बमोजिम राय व्यक्त गरेको छौं भन्नेसमेत मध्यमाञ्चल क्षेत्रीय अदालतको जाहेरी फैसला ।

            १८.   वादी श्री ५ को सरकारतर्फबाट रहनुभएको विद्वान सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय प्रतिवादी रेशमी मलाहीन समेतका तर्फबाट रहनुभएको विद्वान वैतनिक अधिवक्ता श्री सुभाषचन्द्र नेम्वाङ्गले गर्नुभएको वहससमेत सुनियो । म.क्षेत्रीयअदालतको फैसला मनासिव वेमनासिव के हो ? सोकुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

            १९.    यसमा मर्ने सुरतियालाई रेशमीले मारेको र निजको बुहारी नैमियाले मारेको हेरी जाहेर नगरेमा रेशमीलाई ज्यानसम्बन्धीका १३ नं. को देहाय दफा ३ बमोजिम र नैमियालाई २५ नं. बमोजिम सजाय हुन प्रहरी प्रतिवेदन परेकोमा रौतहट जिल्ला अदालतले सुरतीयालाई मारेको ठहराई रेशमीलाई जन्मकैद र नैमियालाई मत सल्लाहमा परेको भनी २ वर्ष कैद गर्नेगरेको ईन्साफ सदर गरी मध्यमाञ्चल क्षेत्रीय अदालतले जाहेरी फैसला गरेको देखिन्छ ।

            २०.   सुरतीयालाई डाँकाहरुले मारेको हुन मैले मारेको छैन भनी प्रहरी र अदालतमा रेशमी इन्कारी भएको नैमियाले प्रहरीमा सासुले मारेको भनेकोमा अदालतमा इन्कार रही उक्त बयान खण्डन गरेको पाइन्छ । मिसिल प्रमाणबाट सुरतीयालाई मार्नुपर्ने रिसइवी र चस्मदित गवाह कोही देखिँदैन । रेशमीको घर पछाडि लुकाई राखेको रगत लागेको बसिल्ला फेला पारेको भन्ने हकमा उक्त रगत कहिले लागेको र के को रगत हो सो कुराको जाँचसमेत भएको देखिँदैन, यस स्थितिमा रेशमीकी बुहारी नैमियाले प्रहरीका समक्ष गरेको बयानको आधारमामात्र कसुरदार ठहर्‍याउन न्यायोचित नपर्ने हुँदा मध्यमाञ्चल क्षेत्रीय अदालतले सुरुको सदर गरी जाहेर गरेको ईन्साफ मिलेन । निजहरुले सफाई पाउने ठहर्छ । तपसीलबमोजिम गर्नु ।

 

तपसील

प्रतिवादी रेशमी मालाहिन र नैमियामलाहिन कै माथि ईन्साफ खण्डमा लेखिएबमोजिम सफाई पाएकोले २०२९।५।१ को रौतहट जिल्ला अदालतको फैसलाले देहायबमोजिम लगत कट्टा गरी अंश सर्वस्व फुकुवा गरिदिनु भनी रौ.जि. अ.मा पुर्जि गर्न का.जि. अ.मा लगत दिने................१

प्रतिवादी २ दुई वर्ष देहायका प्रतिवादीहरुले जमानी वापतमा दिएको देहायबमोजिमको धरौट रु.फिर्ता नदिएको भए फिर्ता दिनु भनी रौ.जि. अ.मा पुर्जि गर्न का.जि. अ.मा लगत दिनु.............२

प्र.जियालाल सहनी मलाह के रु.२०००।, प्र.रुदमलाह के रु.५०।, प्र.सत्यनारायण मलाह के रु.५०।, प्र.जितु भन्ने धुरखेल मलाह के रु.५०।, प्र.गर्भु सहनी मलाह के रु.५०।, प्र.खैरु सहनी मलाह के रु.५०।, प्र.मुखा सहनी मलाह के रु.१००।, प्र.मुखा सहनी मलाह के रु.५०।, राम औतार मलाह के रु.५०।, प्र.जितु सहनी मलाह के रु.५०।,

नियममानुसार गरी मिसिल बुझाई दिनु ...................३

 

म सहमत छु ।

 

न्या. बब्बरप्रसाद सिंह

 

 

इति सम्वत् २०३५ साल फाल्गुण १६ गते रोज ४ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु