निर्णय नं. ६९७३ - ज्यान

निर्णय नं. ६९७३ ने.का.प. २०५८ अङ्क १.२
संयुक्त इजालास
माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
सम्वत २०५४ सालको फौ.सा.नं. २३१
आदेश मितिः २०५७।२।२५।४
विषयः ज्यान
वादीः जयराम लुहारको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
प्रतिवादीः दार्चुला जि.उकु. गा.वि.स. वडा नं. ६ बस्ने तिलकराम पार्की
प्रतिवादी नैनराम पार्की, भवानीराम पार्की, गोपाल सिंह कुँवरलाई ५ वर्ष कैद सजाय भएकोमा निजहरुको पुनरावेदन नुहुँदा निजहरुले सजाय पाएको सम्बन्धमा विचार गरिरहनु परेन । सर्वश्वसहित जन्मकैदको सजाय ठहरिएका प्र. तिलकराम पार्कीको सम्बन्धमा विचार गर्दा निजको र मृतकको बीच मार्ने सम्मको पूर्व रिसइवी वा अदावत रहेको भन्ने कुरा कहिँ कतैबाट देखिंदैन । वारदातको अवस्था र घटनाक्रमलाई विचार गर्दा प्रतिवादी तिलकरामले मृतकद्वारा प्रतिवादीको वहिनी माधवीको छाती समातेको कुरालाई लिएर वादविवाद गर्दा मृतकले गाली गर्दै आङमा जाई लागेकोले तत्काल उठेको रिस थाम्न नसकी मृतकको वायाँ कन्चटमा एक थप्पड हानेको भन्ने निज प्रतिवादीले अदालतमा गरेका बयानबाट देखिन आउँछ । आफ्नी वहिनीको छाती मृतकले समाती बेइज्जती गरेकोमा वादविवाद गर्नु प्रतिवादी तिलकरामको निम्ती स्वभाविक भएको त्यस्तो आफ्नो कार्य प्रति पश्चाताप नगरी उल्टै प्रतिवादी तिलकराम उपर नै जाई लाग्ने कार्यबाट प्रतिवादी आक्रोसित हुनुपर्ने कारण विद्यमान रहेको समेत देखिन्छ । सो अवस्थामा मौकामा उठेको रिस थाम्न नसकी थप्पडले हिर्काएकोमा ढुंगामा लड्न गएको कारणले मृत्यु भएको सम्म देखिन आउँछ । प्रतिवादीले थप्पडले हिर्काउनु र मृतक त्यस चोटबाट ढुंगामा लड्नुको बीच साक्षात सम्बन्ध रहेको हुँदा वारदातको प्रकृति मु. ऐन ज्यान सम्बन्धीको १४ नं. को अवस्था सँग मिलेकोले निज प्रतिवादीलाई १० वर्ष कैद गर्नुपर्नेमा सर्वश्वसहित जन्मकैद गर्ने गरेको पुनरावेदन अदालत महेन्द्रनगरको इन्साफ केही उल्टी हुन्छ ।
(प्र.नं.२५)
वादी तर्फबाटः विद्वान उप–न्यायाधिवक्ता श्री ऋषिराम दवाडी
प्रतिवादी तर्फबाटः
अवलम्वित नजिरः
आदेश
न्या. केदारनाथ उपाध्यायः साधक सदरको लागि पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नप्रकार छः
२. सुन्तोला ओखर बिक्री गर्न २०५१।८।४ गते जेलजिवी बजार गएको घर फर्की नआएको छोरा उदय लुहारको लास उकु गा.वि.स. वडा नं. ६ सैन भन्ने ठाउँमा फेला परेकोले जाहेर गर्न आएको छु भन्ने मिति २०५१।८।७ को जयराम लुहारको अपराधको सूचना ।
३. उकु गा.वि.स. को जेलजिवीबाट शंकरपुर जाने मुल बाटो दक्षिण खोलो र सालभाडी भएको जंगलमा बाँया आँखा बन्द रहेको नाक मुखमा रगत लागेको, आँखाको आँखीभौ मुनी एक इन्च चौडा घोचिएको बाँया पट्टीको पुरै कन्चटको भाग सुनिएको, अगाडिको भागमा कुनै निलडाम नभएको, लिंगबाट केही ननिस्केको, अण्डकोष कालो देखिएको, पिठ्युको भागमा छाला खोस्रिएको भन्ने समेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का ।
४. २०५१।८।४ गते म नैनराम पार्कीको घरमा पुगि विडीं खाँदा तिलकराम र निजका बीचको झगडा भै राखेको ठाउँमा पुगी नैनरामले झगना नगर भन्दा निज मृतकले मलाई समेत गाली गरेकोले मैले निजको टाउको समाती जमिनमा घोप्ट्याउँदा ढुंगाले चोट लागेको र अरु तिलकराम, भवानीराम र नैनारामले लात, मुक्काले हान्दा निजले बोल्न छाडेपछि मर्ने हो भनी मृतकको घर जाने बाटोमा सैन भन्ने ठाउँमा राखिदिएको हो, सो अवस्था घुं घुं गर्दै थियो । प्राण जाने समय सो ठाउँबाट खसी ६० मिटर तल गएको होला भन्ने गोपाल सिंह कुँवरले प्रहरी समक्ष गरेको बयान ।
५. २०५१।८।४ गते ६।६ बजे तिर नैनराम र गोपाल सिंह कुँवर आँगनमा बसेका, तिलकराम पार्की र उदय सिंह लोहार आपसमा गाली गरी राखेको अवस्था दाजु नैनराम, गोपाल सिंह झगडा भएको ठाउँमा गै झगडा नगर भनी सम्झाउँदा उअयरामले दाजु नैनरामलाई अश्लिल शब्द प्रयोग गरी गाली गर्दा नैनसिंह र गोपाल सिंहले मृतकलाई केटपिट गरेका, निज लामो सास लिन लाग्दा मर्छ की भन्ने लागी निजको घर जाने बाटो सैन भन्ने ठाउँमा कोल्टे अवस्थामा बसृ जस्तो गरी राखि दिएका हौं । प्राण जाँदा निज त्यो ठाउँबाट लडी तल खसेको होला भन्ने भवानीराम पार्कीले प्रहरीमा गरेको बयान ।
६. २०५१।८।४ गते जोलजिवी मेला हेरी साँझ ६।७ बजे आफ्नो घरमा पुग्दा गोपाल सिंह कुँवर पनि मेरै घरमा बसी राखेको अवस्था घरको अलि तलतिर तिलकराम र उदयराम झगडा गर्न लागेकोले म भवानीराम, गोपाल सिंह कुँवर पनि सँगसँगै आएका मैले मृतक उदयरामलाई झगडा नगर भनी भन्दा निजले आमा चाक्ली गाली गरेपछि रिस उठी निजको गर्धनमा समाती निजको टाउको जमिनतिर ठाक्याउँदा गोपाल सिंहले कपालको रौं समाती मृतकको टाउको जोरले भुईमा ठोक्काएको र भाइ भवानीराम र तिलकरामले लात मुक्काले निजलाई हिर्काउदा निजले बोल्न छाडेपछि मर्ने भो भनी सैन भन्ने ठाउँमा केही तल भिरालोमा छाडेका थियौं । मृतकको मृत्यु हाम्रो कुटपिटबाट भएको हो भन्ने नैनराम पार्कीले प्रहरीमा गरेको बयान ।
७. भिना उदलयले तिम्रो बहिनी माधवीलाई देउ भनी जथाभावी गाली गर्दै मेरो घरमा पुगेका र भोलि कुरा गरौंला भन्दा उल्टै मेरा घाँटी समाती भेष्ट समेत च्याती ढुंगा समाती मलाई हान्न खोज्दा चर्को स्वर गरी कराएपछि नैनराम पार्की, भवानी राम पार्की र गोपाल सिंह कुँवर समेत आई झगडा नगर भन्दा पनि निजले नमानेपछि गोपाल सिंह, नैनरामले गर्दन च्यापी भवानी र मैले हात मुक्काले हानेका र निज वेहोस भै बोल्न छाडेपछि हामी ४ जनाले निजको घर जानेबाटो सैन भन्ने ठाउँ मुनि भिरालोमा राखी छोडेका हौं भन्ने प्र. तिलकराम पार्कीले प्रहरीमा गरेको बयान ।
८. मृतकको मृत्यु मेरुदण्ड र गिदीमा ठूलो चोट पुग्नाले भएको भन्ने लासजाँच रिपोर्ट।
९. २०५१।८।४ गते साँझ ६।७ बजे तिर दाइ तिलकराम र भिनाजु उदयराम रक्सी खाइ हो हल्ला गर्दै आई राखेको देखेपछि म दाइ नैनरामको घर माथि खेतमा पुगेको अवस्था भिनाजुले मेरो हात समाउँदा दाइ तिलकरामले त्यो किन गर्छौ भनी समात्दा म भागी घर गएकी, घरबाट दाजु नैनराम गाउँकै गोपाल सो ठाउँमा आई हो हल्ला भै रहेको थियो र भिनाजु घर गएन। अर्को दिन ६ गते भिनाको लाश देखि निजहरुको कुटपिटबाट निजहरुको मृत्यु भएको हुनु पर्छ भन्ने बुझिएको माधवीले प्रहरीमा गरेको कागज ।
१०. मेरो घर खेतमाथि मृतक उदयराम र तिलकराम पार्की हो हल्ला गरी रहेको अवस्था नैनराम, भवानीराम र गोपाल कुँवर सो ठाउँमा गै गाली किन गछौं भनी नैनरामले सम्झाउँदा मृतकले नमानेपछि चारै जनाले मृतकालाई कुटपिट गरी बोल्न छाडेपछि सैन भन्ने ठाउँमा बोकी पुर्याएको हुनु पर्छ भन्ने प्र. हरिराम पार्कीले प्रहरीमा गरेका बयान ।
११. २०५१।८।४ गते मृतक उदयराम र निजको साला रक्सी खाई झगडा गरी रहेको थिए । २०५१।८।६ गते उदयरामको लाश फेला परेकोले ती चारै जनाले कर्तव्य गरी मारेमा विश्वास लाग्छ भन्ने कालुराम तम्दाले प्रहरीमा गरेका कागज ।
१२. अभियुक्त नैनराम, भवानीराम, गोपाल कुँवर, तिलकराम पार्की समेतले उदयरामलाई कुटपिट गरी मारी सैन भन्ने ठाउँमा फालेका रहेछन् भन्ने कुरा सुनेको थिए भन्ने समेत व्यहोराको बहादुर चन्द समेतेका बस्तुस्थिति मुचुल्का ।
१३. जोलजिवी मेलामा तिलकरामले बहिनी विषयमा भिना साला बीच झगडाको सुरुवात भै माधवीलाई हातपात गर्नुको अलावा एकवर्ष अगाडि विधवा भाउजूलाई समेत हातपात गरी पटक पटक गाली गलौज गरेको बाट मार्र्न मनसाय र पूर्व रिसइवी बाट प्रेरित भई कुटपित गरेको सिद्ध हुन आएकालेल अभियुक्त तिलकराम पार्कीलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं. को कसूरुमा सोही ऐनको १३(३) बमोजिम सजाय हुन र नैनराम पार्की, भवानीराम पार्की, गोपाल सिंह कुँवरले आफूलाई गाली गरेको आवेशमा मृतकलाई हात मुक्काले प्रहार गरी मारेको देखिदा निजहरुलाई ज्यान सम्बन्धी महलको १४ नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग दावी ।
१४. २०५१ मंसिर ४ गते उदयरामले रक्सी खाई तिम्रो अर्की बहिनी माधवी मलाई देउ भनी मेरा आङ समाती लछारपछार गरी मेरा घर तर्फ आउन लागेको र बहिनीको छाती समातको अवस्था त्यसो किन गर्नु हुन्छ भन्दा मलाई गाली गरी जाई लागेकोले रिस उठी निजको बाँया कच्चडमा एक थप्पड हान्दा निज ढली निधार ढुंगामा लाग्न गै हलचल नगरी सास रोकिए पछि मरेको संझी बोटोमा छोड्नु भएन भनी दाइ भवानी राम, नैनराम र गाउँकै गोपाल कुँवरबाट मद्दत मागी उदयरामको मृत लास निजको घर जाने बाटामा राखी घर तिर गएका र नैनराम पार्की, भवानी राम पार्की र गोपाल सिंह कुँवरले मृतकलाई कुटपिट गरेको होइन भन्ने समेत प्र. तिलकराम पार्कीले अदालतमा गरेको बयान ।
१५. गोपाल सिंह कुँवर, नैनराम र म समेत जोलजिवी मेला हेरी घर फर्की आउँदा तिलकराम पार्की उभिएको उदयराम घोप्टो परेको देखि के भएको भनी तिलकरामलाई सोद्धा मेरो बहिनीको मुख समातेकोले रिस उठी मैले हान्दा ढली घोप्टो परेको, गोपालले टाउको उठाई हेर्दा मृतकको निधारबाट रगत बगिरहेकोले अब मर्छ भनी त्यहाँबाट मृतकको घर जाने बाटोमा राखेको हौं म र नैनराम तथा गापालले मृतकलाई कुटपिट गरेको होइन भन्ने प्र. भवानी रामले अदालतमा गरेको बयान ।
१६. मेरो बहिनीको दुध समातेकोले किन बेइज्जत गर्नु हुन्छ भनी धक्का दिंदा ढुंगामा पल्टी टाउकोमा चोट लागी बेहोस भएको हो भनी तिलकरामले भनेपछि गोपालले मृतकलाई पल्टाई हेर्दा निधारबाट रगत आएको थियो । तिलकरामले यो मरेपछि गाउँमा बवाल हुन्छ । गाउँको जाने बाटोमा राखी दिउँ भन्दा म समेत भै उदयरामलाई निज घर जाने बाटोमा डिलमा राखी घरतिर गएका हों । म गोपाल कुँवर भवानीराम पार्कीले मृतकलाई कुटपिट गरेको होइन भन्ने प्र. नैनराम पार्कीले अदालतमा गरेको बयान ।
१७. जोलजिवीबाट नैनाराम समेत घरतिर आउन लाग्दा बाटोमा तिलकराम उभिएको, उदयराम घोप्टो परेको देखि यो के भएको भनी सोद्धा मेरो बहिनी माधवीको दुध समातेको अवस्थामा मैले एकचोट कन्चडमा हान्दा घोप्टो पल्टेको र ढुंगामा लाग्न गै निधारमा घाउ लागेको हो भनी तिलकरामले भनेबाट मैले मृतकको टाउको उठाई हेर्दा निधारबाट रगत बगिराखेको सास नचलेकोले तिलकरामले यो मरेपछि गाउँमा बवाल हुन्छ बाटोमा राखी दिउँ भन्दा मृतकलाई निज घर जाने बाटोमा राखी दिएको हौं । म लगायत नैनराम पार्की, भवानीराम पार्की समेतले मृतकलाई कुटपिट गरेको होइन भन्ने प्र. गोपाल सिंह कुँवरले अदालतमा गरेको बयान ।
१८. बुझिएका व्यक्तिका वकपत्र मिसिल साथ रहेको ।
१९. मृतकलाई मार्नुपर्ने पूर्व रिसइवी नभएको र वहिनीको स्तन समातेको कारणले तत्काल उठेको रिस थाम्न नसकी प्र. तिलकराम पार्कीले हात मुक्काले हानेको कारणबाट उदयरामको मृत्यु हुन गएको देखिंदा तिलकरामलाई ज्यान सम्बन्धी महलको १४ नं. बमोजिम १० वर्ष कैद हुने ठहर्छ । अन्य प्रतिवादी नैनराम पार्की, भवानीराम पार्की, गोपाल ंिसंह कुँवरले उदयरामलाई मार्ने मतलवमा सम्म पसेको आधारमा गर्दा ज्यान सम्बन्धी महलको १७(२) बमोजिम पाँच(५) वर्ष कैद हुने ठहर्छ भन्ने समेत मिति २०५२।३।२६ को शुरु दार्चुला जिल्ला अदालतको फैसला ।
२०. अभियुक्तहरुले प्रहरी समक्ष गरेको साविती वयानलाई प्रमाणयोग्य मानी सकेपछि कसूरदारलाई सजाय तोक्दा ज्यान सम्बन्धी महलको १४ र १७(२) नं. बमोजिम सजाय गर्ने गरेका शुरु फैसला कानूनसंगत छैन । अत अभियोग माग दावी बमोजिम सजाय गरीपाउँ भन्ने वादी श्री ५ को सरकारका तर्फबाट पर्न आएको पुनरावेदन पत्र ।
२१. यसमा प्रतिवादी तिलकराम पार्कीलाई ज्यान सम्बन्धी महलको १४ नं. बमोजिम र अन्य प्रतिवादीहरु नैनराम पार्की, भवानी राम पार्की र गोपाल सिंह कुँवरलाई ज्यान सम्बन्धीको १७(२) नं. बमोजिम सजाय गर्ने शुरु फैसला विचारणीय हुँदा अ.वं. २०२ नं.. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७।४८ बमोजिम छलफलको लागि प्रत्यर्थीहरु झिकाई आएपछि वा म्याद नाघेपछि पेश गर्नु भन्ने पुनरावेदन अदालतको आदेश ।
२२. प्रतिवादी तिलकरामले मर्ने सम्मको चोट हानेको कारणले उदय लुहारको मृत्यु भएको हुँदा मार्ने मनसाय लिएर नै प्र. तिलकरामले हातले उदय लुहारलाई हानी कर्तव्य गरी मारेको देखिन्छ । सो हुँदा निज प्र. तिलकरामलाई ज्यान सम्बन्धी महलको १४ नं. बमोजिम सजाय गर्ने भनी शुरु जिल्ला अदालतले गरेको फैसला मिलेको देखिएन । निजलाई ज्यान सम्बन्धीको १३(३) बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर्छ । वहिनीको इज्जत खातिर प्र. तिलकरामले कुटपिट गरेको कारणले उदय लुहार मर्न गएको र निजलाई मार्नु पूर्व योजना पनि नभएको हुँदा ऐन बमोजिम सर्वश्वसहित जन्मकैद गर्दा सजाय चर्को पर्ने देखिएकोले सजाय घटाइ अ.वं. १८८ नं.. बमोजिम प्र. तिलकराम पार्कीलाई १० वर्ष कैद हुन मनासिव देखि राय जाहेर गरिएको छ भन्ने समेत पुनरावेदन अदालतको २०५३ साल माघ २४ गतेको फैसला ।
२३. प्रतिवादी तिलकरामलाई पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको सजाय गरी मु.ऐ. अ.वं. १८८ नं.. को राय लगाई साधक सदरको लागि साधकको लगतमा दर्ता भई पेश हुन आएको रहेछ ।
२४. उठेको रिस थाम्न नसकी उदयराम र तिलकराम बीच झगडा परेको र तिलकरामले उदयरामलाई हात मुक्का हानेको भन्ने आधारमा शुरुबाट ज्यान सम्बन्धी महलको १४ नं. लगाई प्र. तिलकरामलाई गरेका सजाय उल्टी गरी ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम प्र. तिलकरामलाई सजाय गरेको पुनरावेदन अदालत महेन्द्रनगरको फैसला फरक पर्न सक्ने देखिंदा अ.वं. २०२ नं. बमोजिम छलफलमा सरकारी वकिललाई सूचना दिने भन्ने समेत यस अदालत संयुक्त इजालासको २०५६।४।१२ को आदेश ।
२५. नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी इजलास समक्ष साधक सदरको लागि पेश भई आएको प्रस्तुत मुद्दामा श्री ५ को सरकारको तर्फबाट वहसको लागि उपस्थित विद्वान सरकारी उप न्यायाधिवक्ता श्री ऋषिराम दवाडीले प्रतिवादी तिलकरामलाई १३(३) नं. बमोजिम सजाय गरेको मिलेको छ । अ.वं. १८८ को राय लगाउनु पर्ने अवस्था छैन भनी गर्नु भएको वहस समेत सुनी इन्साफ तर्फ विचार गर्दा प्रतिवादी नैनराम पार्की, भवानीराम पार्की, गोपाल सिंह कुँवरलाई ५ वर्ष कैद सजाय भएकोमा निजहरुको पुनरावेदन नुहुँदा निजहरुले सजाय पाएको सम्बन्धमा विचार गरिरहनु परेन । सर्वश्वसहित जन्मकैदको सजाय ठहरिएका प्र. तिलकराम पार्कीको सम्बन्धमा विचार गर्दा निजको र मृतकको बीच मार्ने सम्मको पूर्व रिसइवी वा अदावत रहेको भन्ने कुरा कहिँ कतैबाट देखिंदैन । वारदातको अवस्था र घटनाक्रमलाई विचार गर्दा प्रतिवादी तिलकरामले मृतकद्वारा प्रतिवादीको वहिनी माधवीको छाती समातेको कुरालाई लिएर वादविवाद गर्दा मृतकले गाली गर्दै आङमा जाई लागेकोले तत्काल उठेको रिस थाम्न नसकी मृतकको वायाँ कन्चटमा एक थप्पड हानेको भन्ने निज प्रतिवादीले अदालतमा गरेका बयानबाट देखिन आउँछ । आफ्नी वहिनीको छाती मृतकले समाती बेइज्जती गरेकोमा वादविवाद गर्नु प्रतिवादी तिलकरामको निम्ती स्वभाविक भएको त्यस्तो आफ्नो कार्य प्रति पश्चाताप नगरी उल्टै प्रतिवादी तिलकराम उपर नै जाई लाग्ने कार्यबाट प्रतिवादी आक्रोसित हुनुपर्ने कारण विद्यमान रहेको समेत देखिन्छ । सो अवस्थामा मौकामा उठेको रिस थाम्न नसकी थप्पडले हिर्काएकोमा ढुंगामा लड्न गएको कारणले मृत्यु भएको सम्म देखिन आउँछ । प्रतिवादीले थप्पडले हिर्काउनु र मृतक त्यस चोटबाट ढुंगामा लड्नुको बीच साक्षात सम्बन्ध रहेको हुँदा वारदातको प्रकृति मु. ऐन ज्यान सम्बन्धीको १४ नं. को अवस्था सँग मिलेकोले निज प्रतिवादीलाई १० वर्ष कैद गर्नुपर्नेमा सर्वश्वसहित जन्मकैद गर्ने गरेको पुनरावेदन अदालत महेन्द्रनगरको इन्साफ केही उल्टी हुन्छ । प्रतिवादी तिलकराम पार्कीलाई ज्यान सम्बन्धी महलको १४ नं. बमोजिम १० वर्ष कैद सजाय हुने ठहर्छ । सर्वश्वसहित जन्मकैदको लगत कायम गर्ने गरेको पुनरावेदन अदालत महेन्द्रनगरका लगत कट्टा गरी १० वर्षको लगत कायम गरी कैद असूल उपर गर्न शुरु अदालतमा लेखी पठाई मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या. अरविन्दनाथ आचार्य
इति सम्वत २०५७ साल जेष्ठ २५ गते रोज ४ शुभम्.......।