शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १२१४ - ....

भाग: २० साल: २०३५ महिना: बैशाख अंक:

निर्णय नं. १२१४     ने.का.प. २०३५

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री हेरम्बराज

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

सम्वत् २०३५ सालको रिट नम्बर ८३५

आदेश भएको मिति : ०३५।११।२४।५

निवेदक : जि. भक्तपुर लुभु गा.पं. वडा नं. ४ माथिघसी टोल बस्ने गोपाल महर्जन

विरुद्ध

विपक्षी : भूमिसुधार शाखा भक्तपुर भूमिसुधार अधिकारी श्री हरिमान थैव मुकाम भूमिसुधार शाखा भक्तपुर समेत

(१)   निवेदकले निजको बाबु मरेपछि ०२४ सालदेखि ०३३ सालसम्म बाली बुझाई लिएको भरपाईबाट नै जग्गाधनीले...निवेदकलाई पत्याएको मान्नुपर्ने ।

(प्र.नं. ७)

निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ

विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्यामप्रसाद खरेल

आदेश

            न्या. हेरम्बराज : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत प्रस्तुत रिट निवेदन पर्न आएको छ ।

            २.    मुद्दाको तथ्य यसप्रकार छ : विपक्षी जग्गाधनीको लुभु.गा.पं. वडा नं. ३(क) को कि.नं. ३४६ को क्षेत्रफल ७० कि.नं. ३६५ को क्षेत्रफल २० र कि.नं. ३६८ को क्षेत्रफल ०२ को जग्गा मेरो पिताजी बुद्धिलाल श्रेष्ठले कमाई आएकोमा निज पिताजी ०२३ साल साउन १६ गते परलोक हुँदा विपक्षी जग्गाधनी चन्द्रबहादुरले मलाई मोही स्थापना गरी राखेकोले ०२४ सालदेखि मैले जोताहा बाली बुझाई भरपाई लिई आएकोमा ०३४ सालको बाली बुझाउन जाँदा बुझी नलिएकोले स्थानीय पञ्चायतमा धरौटी राखी भरपाई लिएको र यसरी आजसम्म सालसालको बाली बुझाई भरपाई समेत लिएको हुँदा मलाई मोहियानी हकको प्रमाणपत्र पाउँ भनी मैले भूमिसुधार शाखा भक्तपुरमा निवेदन दिएकोमा वादी तिर्थ महर्जन र प्रतिवादी चन्द्रबहादुर श्रेष्ठका मोहियानी हक पाउँ भन्ने मुद्दामा प्रतिवादी जग्गाधनी चन्द्रबहादुरले वादी तिर्थ महर्जनलाई पत्याएको र दोहरो कबुलियतसमेत लिए दिएकोबाट तिर्थ महर्जनलाई नै मोहियानी हकको प्रमाणपत्र समेत लिइसकेको र म निवेदकले जग्गाधनीले मलाई पत्याएको कुनै प्रमाणसमेत पेश गर्न नसकेकोबाट भूमिसम्बन्धी ऐन, ०२१ को दफा २६ को उपदफा (१) अनुसार मेरो निवेदन खारेज गर्ने गरी गरेको विपक्षी भूमिसुधार अधिकारीको निर्णय न्यायिक मनको प्रयोग नगरी तथा आफ्नो अधिकारक्षेत्रको अतिक्रमण गरी गरेको उक्त निर्णय बदर भागी छ तसर्थ उक्त निर्णय बदर गरी मेरो हक प्रचलन गरिपाउँ भन्ने गोपाल महर्जनको निवेदन ।

            ३.    विपक्षी भूमिसुधार अधिकारीको निर्णय बदर हुनुपर्ने कारणहरुमा निवेदकले निम्नलिखित जिकिर लिएको छ । २०२४ सालदेखि ०३३ सालसम्म बाली बुझी भरपाई निज जग्गाधनीले दिएबाटै नै जग्गाधनीले मोही पत्याएको ठहर्छ भन्ने सर्वोच्च अदालत फुल बेञ्चबाट नि.नं. ११०६ ने.का.प. २०३४ को पृष्ठ संख्या २९५ मा सिद्धान्त प्रतिपादन गरेको छ । दोहरो कबुलियत नयाँ मोही कायम गर्नु मात्र चाहिने हो र मेरो कुनै प्रमाण नबुझी प्रत्यर्थीको एकलौटी कानून प्रतिकूल कागजहरुको आधारमा कानून विपरित निर्णय गरेको छ र जुन दोहरो कबुलियत विपक्षी जग्गाधनी र तिर्थ महर्जनको बीच आदान प्रदान भएको छ सो पनि रीतपुर्‍याई गरिएको छैन आदि कारणबाट भूमिसुधार अधिकारीको फैसला बदर हुनुपर्छ भन्ने निवेदकको जिकिर ।

            ४.    साविक मोही बुद्धिलाल श्रेष्ठको छोरा स्वस्नीहरुमध्ये जसले बाली बुझाउन ल्यायो उसैलाई भरपाई दिने गरेको हो कुनैलाई मोही निश्चय गरी पत्याएको होइन गोपाल महर्जनलाई पत्याउन मन पनि छैन भन्ने बयान गोपाल महर्जनले मोही हक कायम गरिपाउँ भन्ने निवेदनको सिलसिलामा जग्गाधनी चन्द्रबहादुरले दिएको र तिर्थ महर्जनको मोहियानी हक पाउँ भन्ने मुद्दा तिर्थ महर्जनको नाममा मोही कायम भए कुनै आपत्ति नभएको भन्ने निज जग्गाधनीको बयान र दोहोरो कबुलियतसमेत लिए दिएकोसमेत देखिएकोबाट भू.सं.ऐन, २०२१ को दफा ३६ को दफा २६ को उपदफा (१) अनुसार तिर्थ महर्जनको नाममा नामसारी हुने गरी निर्णय भएको हो र निवेदकको कबुलियत रीतपूर्वक आदान प्रदान नभएको दावीको सम्बन्धमा तिर्थ महर्जनको आफ्नो पिताको मोहियानी हक नामसारी गरिपाउँ भन्ने मुद्दामा कबुलियतमा लिँदा दिँदा निवेदकको दावाबमोजिम रीतपुर्‍याउन नपर्ने र दुवैतर्फबाट पेश गरिएको कागजउपर कीर्ते सद्दे भन्ने उजूर पनि नपरेको र निवेदकले निवेदक नै जोताहा भन्ने रीतको कागज पञ्चायतबाट प्रमाणित गराई रीतको कागज पञ्चायतबाट प्रमाणित गराई पेश गर्नु भएको कागजको महत्व देखिँदैन । तसर्थ उपरोक्त कारणहरुबाट निवेदकको मोहियानी हक कायम गरिपाउँ भन्ने निवेदन यस शाखाबाट खारेज गर्ने गरी गरेको निर्णय कानूनी त्रुटिपूर्ण छैन र निवेदकको रिट निवेदन खारेज गरिपाउँ भन्ने भूमिसुधार अधिकारीको लिखितजवाफ ।

            ५.    माथि उल्लेख गरिएको जग्गाको साविक मोही बुद्धिलालको देहावसान पछि हामी जग्गाधनी चन्द्रबहादुर मोही तिर्थ महर्जन बीच म जग्गावालाले मोही तिर्थ महर्जनलाई पत्याई कबुलियत आदान प्रदानसमेत भइसकेकोमा निवेदक गोपाल महर्जनले भूमिसुधार शाखा भक्तपुरमा मोहियानी हक नामसारी गरिपाउँ भन्ने दिनुभएको निवेदनमा म जग्गाधनीले गोपाल महर्जनलाई पत्याएको छैन पत्याउन मन पनि छैन भनी बयान गरेबाट निज निवेदकको निवेदन खारेज ठहर्ने भन्ने मिति ०३५।५।१६।६ मा भएको फैसला पूर्ण कानूनी छ । बुद्धिलाल श्रेष्ठको मृत्युपछि निजको छोरा स्वास्नीहरुमध्ये कुनैलाई मोही कायम गर्नसक्ने हक जग्गाधनीलाई रहे अनुरुप नै म तिर्थ महर्जनको नाममा मोहियानी हक नामसारी भएकोमा निवेदकले निजको नाममा नामसारी हुनुपर्ने भन्ने पाउने कुनै ऐनले अधिकार नदिएको र निवेदकले पेश गर्नुभएका भरपाईहरु निजलाई जग्गाधनी म चन्द्रबहादुरले मोहीको हैसियतले दिएको होइन र म तिर्थ महर्जनको मोहियानी नामसारी गरिपाउँ भन्ने निवेदन भूमिसुधार शाखा भक्तपुरमा मिति ०३४।१०।१९ मा परिसकेपछि सोही विषयमा विपक्षले मेरो उजूरीबाट अ.बंं.८९ नं. ले पछिको उजूरी खारेज हुनुपर्ने कानूनी व्यवस्था भएको भूमिसुधार शाखाको निर्णय पूर्णत कानूनी छ भन्ने जग्गाधनी चन्द्रबहादुर श्रेष्ठ र तिर्थमहर्जनको संयुक्त लिखितजवाफ ।

            ६.    यसमा निवेदकको जिकिरबमोजिम भूमिसुधार अधिकारी भूमिसुधार शाखा भक्तपुरले निज निवेदकको निवेदन खारेज हुने गरी गरेको निर्णय कानूनी त्रुटिपूर्ण भई बदर भागी छ या छैन भन्नेतर्फ निर्णय दिनु परेको छ ।

            ७.    प्रस्तुत मुद्दामा निवेदकतर्फका वारेस जगतबहादुर विपक्षी तिर्थ महर्जनलाई रोहवरमा राखी निवेदक तर्फबाट रहनुभएको विद्वान वरिष्ठ अधिवक्ता श्री कुशुम श्रेष्ठ तथा विपक्षी चन्द्रबहादुर श्रेष्ठतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्यामप्रसाद खरेल र सरकारी विद्वान अधिवक्ता केदारनाथ उपाध्याय समेतको वहस सुनी मिसिल अध्ययन गरी भूमिसुधार अधिकारीको निर्णय बदर गर्नुपर्ने वा नपर्नेतर्फ निर्णय दिनुपरेको छ । यसमा निवेदक गोपालप्रसाद महर्जनले निजको बाबु मरेपछि ०२४ साल देखि ०२३ सालसम्म बाली बुझाई लिएको भरपाईबाट नै जग्गाधनी चन्द्रबहादुरले निज निवेदक गोपाल महर्जनलाई पत्याई आएको मान्नु पर्छ

            ८.    सर्वोच्च अदालतको फुल बेञ्चबाट नि.नं. ११०६ मा प्रतिपादित सिद्धान्तसमेतबाट यसको पुष्टि हुन्छ । यस प्रतिपादित सिद्धान्तअनुसार गोपाल महर्जनले मोहियानी हक पाउने हुँदा भूमिसुधार अधिकारीको ०३५।५।१६।६ को फैसला उत्प्रेषणको आदेशद्वारा बदर गरिएको छ । विपक्षी भूमिसुधार अधिकारीलाई जानकारीको लागि आदेशको एक प्रतिलिपि महान्यायाधीवक्ताको कार्यालयमार्फत पठाई दिनु र नियमबमोजिम मिसिल बुझाई दिनु ।

 

उक्त रायमा मेरो सहमती छ ।

 

न्या. बब्बरप्रसाद सिंह

 

इति सम्वत् २०३५ साल फाल्गुण २४ गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु