शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १२१५ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश जारी गरिपाउँ

भाग: २० साल: २०३५ महिना: बैशाख अंक:

निर्णय नं. १२१५     ने.का.प. २०३५

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल

सम्वत् २०३५ सालको रिट नं. ८३०

आदेश भएको मिति : ०३५।११।२५।६

निवेदक : का.न.पं. वार्ड नं. १७ क्षेत्रपाटी बस्ने रामलाल श्रेष्ठ

विरुद्ध

विपक्षी : का.न.प.वार्ड नं. १७ क्षेत्रपाटी बस्ने हिरालाल श्रेष्ठ

विषय : उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश जारी गरिपाउँ

(१)   नगरपञ्चायत ऐनको दफा ४९(२) अनुसार अदालतबाट हक बेहक छुट्याई आएपछि मात्र नक्शा पासको कारवाई गर्नुपर्ने ।

(प्र.नं. १०)

आदेश

            न्या. त्रैलोक्यराज अर्याल : विपक्षी काठमाडौं नगरपञ्चायत बैठकको ०३५।६।४ को नक्शा पास गरिदिने निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन पर्न आएको छ ।

            २.    मुद्दाको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यसप्रकार छ : पूर्व साझा ढलापात पश्चिम मूलसडक उत्तर आफ्नै किलास र सोदेखि उत्तर रामलाल श्रेष्ठको घर दक्षिण भक्तिदास श्रेष्ठको घर किलास यति ४ किल्लाभित्रको का.न.पं.१७ वडा अन्तर्गत का.जि. क्षेत्रपाटी टोलको घर जमिनसम्म भत्काई हाल घर बनाउँदा आफ्नै छुट्टै किलास बनाउने तला ५ कोठा ४ सिमेण्टको गारोले जोडी नेपाली ढाँचाबाट साईड प्लामा देखाएको ठाउँमा नक्शाबमोजिमको घर बनाउन पाउँ भन्ने नक्शावाला वादीको दर्खास्त ।

            ३.    साझा ढलापातदेखि पूर्व रामहरि मानन्धरको घर छ निजलाई सँधियार देखाउन पर्ने देखिएको छैन । रामहरिले उक्त ढलापात खिचोला गर्‍यो भनी मेरा नाउँमा उजूरी गरी कारवाही चलिरहेको यसै नक्सा, फाँटमा छ । ढलापात मेरो एकलौटी हकभोग चलन चल्तीको हो, सोतर्फ वादीले वालाफाला गरी आफ्नो पनि हकदैया देखाउने प्रयास गरेको हुनाले त्यस्तो मेरो एकलौटी ढलापात कुनै किसिमको झ्याल ढोका वार्दली हाल्ने र वालाफाला गर्न दिन मञ्जुर छैन । ढलापात एकलौटी कायम नगरेसम्म घर बनाउन नपाओस् । विपक्षी र मेरो घरको बीचको किलास गारोलाई निजको एकलौटी भनेको कुरा होइन । छिँडीसहित तीन तला उक्त गारो किलास दुवैजनाको साझा हो, सोमाथि दुई तल्ला थपेको छ तसर्थ छेडी माटन चोटा तल्लासँगको किलास गारो साझा हो, भन्नेसमेत प्रतिवादीको उजूरी ।

            ४.    दर्खास्तवाला हिरालाल श्रेष्ठको र उत्तरतर्फ उजुरवाला रामलाल श्रेष्ठको घरबीच छिँडी तल्लामा २०चौंडाइ मोटन तल्लामा १८ र सोदेखि माथि १५इञ्च चौंडाइको गारो देखिन्छ । दरखास्तवाला हिरालाल श्रेष्ठको घर ३ तल्ला भई बीचमा किलाससमेत भित्र पारी बनिरहेको देखिन्छ । उजुरवाला रामलालको घर उक्त बीच गारोबाहेक गरी ६ तल्ला भई बनिरहेको देखिन्छ भन्ने का.मु.ओभरसियरको ०३५।४।१७।३ को प्रतिवेदन ।

            ५.    प्रतिवादको उजूरी मनासिव नदेखिँदा वादीको नक्सा पास हुने ठहर्छ भन्ने बहुसंख्यक सदस्यहरु र नक्सा दरखास्तवाला हिरालाल श्रेष्ठ र उजुरवाला रामलाल श्रेष्ठ भएको नक्सा पास मुद्दामा पूर्वतर्फको सगोल जग्गामा मुख्य विवाद देखिएको र का.न.पं.ले बुझेको प्रमाणबाट सो विवादको सगोल जग्गा साझा देखिन आएको नक्सा दरखास्तवालाले सो साझासागल जग्गामाथि टप राखी बाथरुम बनाउने प्रस्तुत नक्साबाट देखिन आएको र का.न.प. समेतबाट नक्सा पास गरी दिने ठहर गरेकोमा हामीहरुलाई चित्त नबुझेकोले असहमति जनाएको छौं भन्ने अल्पसंख्यक सदस्यहरुले राय लगाई ०३५।६।४।४ मा निर्णय भएको रहेछ ।

            ६.    हक बेहकको प्रश्न उठिसकेपछि निर्णय गर्न विपक्षी नगरपञ्चायतलाई अधिकार छैन । जुन कुरा प्रत्यक्ष रुपले गर्नु हुँदैन सो कुरा अप्रत्यक्ष रुपले पनि गर्नु नहुने अधिकारक्षेत्रात्मक सर्वमान्य अवधारणा हो । प्रस्तुत मुद्दामा विपक्षी न.पं.ले प्रत्यक्ष रुपबाट यो यसको ठहर्छ नभने पनि नक्साबमोजिम बनाउन दिने नक्सा पास गरिदिने भन्ने ठहराएपछि पूर्वको सागल साझा र उत्तरको गारो एकलौटी भन्न विपक्षीको दावा कायम गरेको स्वतः मान्न पर्दछ । मेरो उजूरी किन कतिकारणले मनासिव भएन एक शब्द पनि निर्णयमा उल्लेख गरिएको छैन ।

            ७.    विपक्षी काठमाडौं नगरपञ्चायतको लिखितजवाफमा ढलापात कुनै असर नपर्ने भएकोले न.पं.ऐन, २०१९ बमोजिम नक्सा पास हुने ठहर्छ भनी न.पं.सभाको बहुमतले निर्णय गरिदिएको हो । निज विपक्षी निवेदकलाई अर्काको जग्गामा घर बनाउन दिन्न भन्ने अधिकार नभएको हुँदा विपक्षीको निवेदन खारेज गरिपाउँ भन्नेसमेत उल्लेख गरेको रहेछ ।

            ८.    विपक्षी हिरालाल श्रेष्ठको लिखितजवाफमा हक बेहक छुट्याउनुपर्ने कुरा निर्णय भएको नभई हकबेहक छुट्याउनुपर्ने अवस्थामा नै नभएको, उजुरवालाले प्रमाण छैन भनी प्रमाण पेश नगरेको र हकबेहक सम्बन्धमा प्रमाणको मूल्याङ्कन गरी निर्णयसमेत नभएको अवस्थामा कानूनविपरित निर्णय भयो भन्ने न्यायसंगत हुँदैन । निवेदकको निवेदन माग खारेज गरिपाउँ भन्नेसमेत उल्लेख गरेको रहेछ ।

            ९.    निवेदक तर्फका विद्वान अधिवक्ता श्री कृष्णजंग रायमाझी विपक्षी काठमाडौं नगरपञ्चायत तर्फका विद्वान अधिवक्ता श्री झुलेन्द्रप्रसाद छत्कुली र विपक्षी हिरालाल श्रेष्ठतर्फका विद्वान अधिवक्ता श्री शङ्कर घिमिरेसमेतले गर्नुभएको वहससमेत सुनियो । निवेदकको मागबमोजिमको आदेश जारी गर्नुपर्ने नपर्ने के हो ? सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

            १०.    यसमा का.न.पं.१७ वडा अन्तर्गत का.जि. क्षेत्रपाटी टोलको घरजमीनसम्म भत्काइ हाल घर बनाउँदा आफ्नै छुट्टै किलास बनाउने तला ५ कोठा ४ सिमेन्टको गारोले जोडी नेपाली ढाँचाबाट साइड प्लानमा देखाएको ठाउँमा नक्साबमोजिमको घर बनाउन पाउँ भन्ने वादीको नक्सा दरखास्त परेको उत्तर आफ्नो किलास र सोदेखि उत्तर रामलालको घर भनी लेखेकोले विपक्षी र मेरो घरको बीचको किलास गारोलाई निजको एकलौटी भनेको सो कुरा होइन, छेडी सहित तीन तल्ला उक्त गारो किलास दुवैजनाको साझा हो भन्नेसमेत प्रतिवादीको उजूर भएबाट उत्तरतर्फको किलास गारोमा तेरोमेरोमा हकवेहक परेको प्रष्ट देखिन्छ । यसरी तेरो मेरो परी हक बेहक छुट्याउनुपर्ने देखिन आएपछि नगरपञ्चायत ऐन, २०१९ को दफा ४९ (२) अनुसार अदालतबाट हकबेहक छुट्याई आएपछि मात्र नक्सा पासको कारवाही गर्नुपर्नेमा सो नगरी पास गर्ने ठहर गरेको काठमाडौं नगरपञ्चायतको निर्णय उपयुक्त ऐनको त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । कानूनबमोजिम गर्नु भनी यो आदेशको प्रतिलिपि विपक्षीकहाँ पठाई नियमानुसार गरी फाइल बुझाइदिनु ।

 

म सहमत छु ।

 

न्या. सुरेन्द्रप्रसाद सिंह

 

इति सम्वत् २०३५ साल फागुन २ गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु