निर्णय नं. ६९७८ - अंश

निर्णय नं. ६९७८ ने.का.प. २०५८ अङ्क १.२
संयुक्त इजालास
माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
माननीय न्यायाधीश श्री ज्ञाइन्द्र बहादुर श्रेष्ठ
सम्वत २०५५ सालको दे.पु.नं. ४२८८
फैसला मितिः २०५६।८।२०।२
मुद्दाः अंश
पुनरावेदक/वादीः बाँके जिल्ला कालाफाँट गा.वि.स. वडा नं. ७ बस्ने गयाप्रसाद शर्मा वाहुन
विरुद्ध
विपक्षी/प्रतिवादीः शिवनाथ शर्मा वाहुनको मुद्दा सकार गर्ने र आफ्नो हकमा समेत ऐ.ऐ. बस्ने लालजीप्रसाद शर्मा वाहुन समेत
वादी गया प्रसाद शर्मा वाहुनले प्रतिवादीहरुबाट नीजि आर्जन र बक्सपत्र वाहेकको श्री सम्पत्तिको दुई भागको एक भाग अंश पाउने ठहर्याएको शुरु बांके जिल्ला अदालतको इन्साफलाई केही उल्टी गरी पुनरावेदन अदालत, नेपालगंजले प्रतिवादी लालजी प्रसाद शर्मा वाहुनको जग्गा नीजि आर्जनको ठहर्न आएको नहुँदा निजको जग्गा समेतबाट वादी दावी अनुसार २ भागको एक भाग अंश पाउने ठहर्याई फैसला गरेको देखियो । न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा (१) को खण्डा (ग) बमोजिम तात्विक भिन्नता भएकोमा पुनरावेदन लाग्ने र सो वाहेकको मुद्दामा इन्साफ सदर भएको जतिमा ऐ.ऐनको दफा १२ को उपदफा (१) बमोजिम मुद्दा दोहोर्याई पाउँ भन्ने निवेदन लाग्ने देखिन्छ । सोही बमोजिम नै भनी प्रस्तुत मुद्दामा वादी गयाप्रसाद शर्मा वाहुनको ऐ. ऐनको दफा १२ को उपदफा (१) को खण्डा (क)(ख) अनुसार मिति ०५२।८।२१।४ मा यस अदालतमा मुद्दा दोहोर्याई पाउँ भन्ने प्रस्तुत निवेदन परेको देखिन्छ । यसबाट एकै फैसलाका पक्ष विपक्षीहरु मध्ये पनि कसैले पुनरावेदन र कसैले मुद्दा दोहोर्याई पाउँ भनी निवेदन दिन पर्ने अवस्था पर्न जोन हुन्छ । तर त्यसो नभई शुरुको उल्टी, केही उल्टी गरे भएका निर्णयलाई न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) मा भए मुताविक तात्विक भिन्नता भएको मान्नु पर्ने स्पष्ट भएबाट प्रस्तुत मुद्दाको सम्बन्धमा शुरुको केही उल्टी भएकोमा पुनरावेदन नै दिनुपर्ने ।
(प्र.नं. १५)
पुनरावेदक वादी तर्फबाटः
विपक्षी प्रतिवादी तर्फबाटः
अवलम्वित नजिरः ने.का.प. २०५२, अंक ३, नि.नं. ५०६४, पृष्ठ १८५, ज्ञानबहादुर राई समेत वि.दिलबहादुर राई
आदेश
न्या. अरविन्दनाथ आचार्यः पुनरावेदन अदालत नेपालगंजको मिति २०५२।४।२८।१ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क)(ख) अन्तर्गत वादी यस अदालमा मुद्दा दोहोर्याई पाउँ भन्ने निवेदन परी यस अदालत संयुक्त इजलासको मिति २०५५।३।३०।३ को आदेशबाट दोहोर्याउने निस्सा भइै पनुरावेदनमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः
२. श्रीपत वाहुनको दुई छोरा जेठो प्र. शिवनाथ वाहुन, कान्छो म फिरादी गयाप्रसाद शर्मा वाहुन भै विगत २०३३ साल फाल्गुण महिनासम्म दुवै दाजुभाइ एकासगोलमा बसि आएकोमा त्यसपछि मानो छुटिइ अलग बसेको र प्र. शिवनाथले पुर्खौली सम्पत्ति तथा सो बाट बढे बढाएको रकमबाट खरीद गरी प्र. लालजीप्रसादको नाउँमा राखेको जग्गा जमिनमा समेत मेरो वण्डा लाग्ने हुँदा २०३३ साल फागुन महिनासम्मको चल अचल श्री सम्पत्तिको फाँटवारी अंशवण्डाको २०, २१, २२, २३ नं. बमोजिम लिई सम्पूर्ण श्रीसम्पत्ति दुई खण्ड गरी अंशवण्डाको १, २, ३, ५ नं. बमोजिम म फिरादीको हक भोगको आधी अंश छुट्याई दिलाई भराई पाउँ भन्ने समेत फिराद पत्र ।
३. वादीले उल्लेख गरेको पुस्तावारी वाहेक अन्य व्यहोरा झुठ्ठा हो । पुर्खौली सम्पत्ति १–१०–० मध्ये १५ कठ्ठा जग्गा छुट्याई २०२७ साल जेष्ठ १६ गते घरसारमा वण्डापत्र गरी बसेको हुँदा पुर्खौली सम्पत्ति रजिष्ट्रेशन गराएमा मन्जुर छ भन्ने शिवनाथ शर्म र मसंग पुर्खौली सम्पत्ति नभएको र मैले आफ्नो अथक प्रयाबाट कमाएको सम्पत्तिबाट अंश लिन पाइन्छ कि भनी अंश मुद्दा दिएको हुन निज वादी २०२७ सालमा आफ्नो अंश हक लिई छुट्टी भिन्न हुनु भएको हो भन्ने समेत व्यहोराको लालजीप्रसाद समेतको संयुक्त प्रतिउक्त पत्र ।
४. प्रतिवादीले पेश गरेको घरसारको अंशवण्डाको कागज मेरो र दिपराजको हक हिस्सा मार्नको लागि लालजी र लालजीको साक्षीहरु समेत सबै मिली जालसाजी कागज खडा गरेका हुन भन्ने समेत गयाप्रसाद शर्माले गरेको वयान ।
५. उक्त अंशवण्डाको कागज सद्दे हो भन्ने समेत प्र.वा.स. लालजीप्रसाद वाहुनले गरेको वयान ।
६. वादीले प्रतिवादीहरुबाट अंश पाउनु पर्ने हो भन्ने समेत वादीका साक्षीहरु र वादीले शिवनाथका नाउँको दर्ता जग्गाबाट मात्र पाउनु पर्ने हो, प्र. लालजी र निजको परिवारको नाम दर्ता जग्गा निजको स्वआर्जनको भएकोले त्यसबाट अंश पाउनु पर्ने होइन भन्ने समेत व्यहोराको प्र.का. साक्षीहरुको वकपत्र ।
७. मेरा नाम दर्ताको जग्गा पुर्खौली होइन, मेरो बाबुले नोकरी गरी कमाएको पैसाले मेरो नाउँमा खरीद गरिदिनु भएको हो भन्ने समेत नेमराज शर्मा, विजयराज शर्मा र हेमराज शर्माले गरेको एकै व्यहोराको पृथक पृथक वयान ।
८. वादी गयाप्रसाद र प्र. शिवनाथ एकासगोलका अंशियार दाजुभाइ भएकोमा कुनै विवाद नदेखिंदा वादीले प्रतिवादीहरुबाट मिति २०४७।१२।१९ सम्मको चलअचल श्रीसम्पत्तिबाट दुई भागको १ भाग अंश पाउने ठहर्छ । कालफाँटा गा.वि.स. वडा नं. ६ कि.नं.. ९८ वा.नं. कि.नं. १११, वा.नं. २ को कि.नं. १३, १४, ३४, ५३, ६०, वा.नं. ३ को कि.नं. १२४, १७० वा.नं. ४ को कि.नं. ६१, वा.नं. ७(क) कि.नं. २९३, १६, वा.नं. ३ कि.नं. १५३, १५५, १५७, वा.नं. ४ को कि.नं. ३०७, २०८, ३३३ को जग्गा प्रतिवादी लालजीप्रसादले नीजि आर्जनबाट खरीद गरेको, वा.नं. १ कि.नं. २४, ८७, वा.नं. ९(क) कि.नं. ३७० को जग्ग नेमराज शर्माको नाउँमा खरीद गरेको र बिक्री वितरणबाट प्राप्त गरेको, वा.नं. ७(क) कि.नं. २९ को जग्गा विजयराज शर्माका नाउँमा खरिद गरेको र नरेनापुर गा.वि.स. वडा नं. १(क) कि.नं. ४५९ र ४५२ को जग्गा हेमराज शर्माको नाउँमा खरीद गरेको जग्गा स्वआर्जनबाट खरीद गरेको देखिंदा अंशवण्डाको १८ नं. बमोजिम वण्डा गर्नुपर्ने देखिएन । कुटकुइया गा.वि.स.वडा नं. २(ख) कि.नं. १७५, वा.नं. ६(क) कि.नं. २९६, ४७० र ४८ को ज.वि. २–३–४ को जग्गा निजको श्रीमती सुर्तादेवी वाहुनीले बाबुबाट वकसपत्र पाएको देखिंदा सोमा पनि वण्डा लाग्ने अवस्था छैन भन्ने समेत व्यहोराको बाँके जिल्ला अदालतको फैसला ।
९. शुरु जिल्ला अदालतले फाँटवारीमा उल्लेखित सम्पूर्ण सम्पत्तिमा वण्डा लगाउनु पर्नेमा नीजि आर्जन भनी ठहर गरेको सम्पत्तिमा वण्डा नलगाई भएको शुरुको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला वदर गरी फिराद दावी अनुसार पेश भएको फाँटवारीमा उल्लेखित सम्पूर्ण सम्पत्तिमा वण्डा लगाई पाउँ भन्ने पुनरावेदन जिकिर ।
१०. यसमा प्रतिवादी लालजीप्रसाद र निजका छोराहरुको नाउँमा दर्ता रहेको जग्गाको हकमा पेश भएका लिखत कागजहरुको व्यहोरालाई कही विवेचना र विश्लेषण नै नगरी नीजि आर्जनको ठहर्याई सो जग्गाहरुमा वादीको अंश हक नलाग्ने भनी ठहर गरेको शुरु बाँकै जिल्ला अदालतको इन्साफ फरक पर्न सक्ने हुँदा अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७, ४८ बमोजिम छलफलको लागि विपक्षीहरुलाइै झिकाई उपस्थित भए वा म्याद गुजारे पछि नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत नेपालगंजको आदेश ।
११. प्रतिवादी मध्येका लालजीप्रसाद शर्मा वाहुनको नाउँमा राजिनामाबाट आएको जग्गा नीजि आर्जनको ठहर्न आएको हुँदा सो समेतबाट वादी गयाप्रसाद शर्मा वाहुनले वादी दावी अनुसार २ भाग मध्ये १ भाग अंश पाउने हुँदा सो हदसम्म शुरु बाँके जिल्ला अदालतको इन्साफ केही उल्टी हुन्छ भन्ने पुनरावेदन अदालत नेपालगंजको मिति २०५२।४।२८।१ को फैसला ।
१२. उक्त फैसलामा चित्त बुझेन । सगोलबाट खरिद गरेका जग्गा हो भनी प्रमाणित हुँदाहुँदै निजी आर्जनको जग्गा हो भनी शुरुले गरेको फैसलालाई सो हदसम्म सदर गरेको पुनरावेदन अदालत नेपालगंजको फैसलालाई वदर गरी वादी दावी अनुसार वण्डा गराई पाउँ भन्ने वादी गयाप्रसाद शर्मा वाहुनको यस अदालतमा परेको निवेदन ।
१३. यसमा २०४७ सालमा मानु छुट्टिएको मिति कायम भएपछि सो भन्दा अघि विभिन्न अंशियारी वा निजका एकाघरका सदस्यहरुका नाममा आर्जित भएको सम्पत्ति अंशवण्डाको १८ नं. बमोजिम निजी आर्जनको हो भन्ने प्रष्ट प्रमाणको अभावमा वण्डा गर्नु नपर्ने भनी गरिएको पुनरावेदन अदालत नेपालगंजको निर्णयमा अंशवण्डाको १८ नं. को कानूनी त्रुटि देखिंदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) खण्ड (क) अन्तर्गत दोहार्याउने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालत संयुक्त इजलासको मिति २०५५।३।१०।३ को आदेश।
१४. नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दा सम्बन्धमा निर्णय तर्फ विचार गर्दा प्रतिवादीहरुको चल अचल सम्पत्तिमा मेरो समेत वण्डा लाग्ने हुँदा फाँटवारी लिई सम्पूर्ण सम्पत्तिलाई २ खण्ड गरी आधी अंश छुट्याई पाउँ भन्ने वादी दावी र निजी आर्जन सिपबाट अरु सम्पत्ति समेत कमाएको हुँदा सो खान पाइन्छ भनी दावी गरेको हो । हामी बीच मिति २०२७।२।१६ मा घरसारमा वण्डापत्र गरी बसेको हुँदा अंश दिनुपर्ने होइन भन्ने प्रतिउत्तर जिकिर रहेको देखिन्छ ।
१५. यसमा वादी गयाप्रसाद शर्मा वाहुनले प्रतिवादीहरुबाट नीजि आर्जन र बक्सपत्र वाहेकको श्री सम्पत्तिको दुई भागको एक भाग अंश पाउने ठहर्याएको शुरु बांके जिल्ला अदालतको इन्साफलाई केही उल्टी गरी पुनरावेदन अदालत, नेपालगंजले प्रतिवादी लालजी प्रसाद शर्मा वाहुनको जग्गा नीजि आर्जनको ठहर्न आएको नहुँदा निजको जग्गा समेतबाट वादी दावी अनुसार २ भागको एक भाग अंश पाउने ठहर्याई फैसला गरेको देखियो । न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा (१) को खण्डा (ग) बमोजिम तात्विक भिन्नता भएकोमा पुनरावेदन लाग्ने र सो वाहेकको मुद्दामा इन्साफ सदर भएको जतिमा ऐ.ऐनको दफा १२ को उपदफा (१) बमोजिम मुद्दा दोहोर्याई पाउँ भन्ने निवेदन लाग्ने देखिन्छ । सोही बमोजिम नै भनी प्रस्तुत मुद्दामा वादी गयाप्रसाद शर्मा वाहुनको ऐ. ऐनको दफा १२ को उपदफा (१) को खण्डा (क)(ख) अनुसार मिति ०५२।८।२१।४ मा यस अदालतमा मुद्दा दोहोर्याई पाउँ भन्ने प्रस्तुत निवेदन परेको देखिन्छ । यसबाट एकै फैसलाका पक्ष विपक्षीहरु मध्ये पनि कसैले पुनरावेदन र कसैले मुद्दा दोहोर्याई पाउँ भनी निवेदन दिन पर्ने अवस्था पर्न जोन हुन्छ । तर त्यसो नभई शुरुको उल्टी, केही उल्टी गरे भएका निर्णयलाई न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) मा भए मुताविक तात्विक भिन्नता भएको मान्नु पर्ने स्पष्ट भएबाट प्रस्तुत मुद्दाको सम्बन्धमा शुरुको केही उल्टी भएकोमा पुनरावेदन नै दिनुपर्ने भएको र ज्ञानबहादुर राई समेत विरुद्ध दिलबहादुर राई भएको दे.पु.इ.नं. ५४ को अंश मुद्दामा (ने.का.प. २०५२, अंक ३ नि.नं. ५०६४, पृष्ठ १८५,) सिद्धान्त समेत प्रतिपादित भइरहेको देखिन्छ । प्रस्तुत मुद्दामा पुनरावेदन अदालत नेपालगंजको फैसलामा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क)(ख) बमोजिम यो निवेदन परेकोमा पु.वे.अ. बाट शुरुको इन्साफलाई केही उल्टी गरी फैसला भएको हुँदा यस्तोमा न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अनुसार पुनरावेदन लाग्नेमा मुद्दा दोहोर्याई पाउँ भनी निवेदन परेको देखिंदा यो निवेदन पत्र खारेज हुन्छ । कानून बमोजिम गर्नु ।
उक्त रायमा म सहमत छु ।
न्या. ज्ञाइन्द्रबहादुर श्रेष्ठ
इति सम्वत २०५६ साल मार्ग २० गते रोज २ शुभम्...........।