शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १२१८ - उत्प्रेषण वा जुन उपयुक्त हुन्छ आज्ञा आदेश जारी गरिपाउँ

भाग: २० साल: २०३५ महिना: बैशाख अंक:

निर्णय नं. १२१८     ने.का.प. २०३५

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री हेरम्बराजराज

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

सम्वत् २०३५ सालको रिट नम्बर १३७८

आदेश भएको मिति : २०३५।१२।४।६ मा

निवेदक  : जि. रौतहट पिपरिया गा.पं.वार्ड नं. ३ बस्ने अमिरी राउत कुर्मी

विरुद्ध

विपक्षी : श्री अञ्चलाधीश नारायणी अञ्चलाधीश कार्यालयसमेत

मुद्दा : उत्प्रेषण वा जुन उपयुक्त हुन्छ आज्ञा आदेश जारी गरिपाउँ

(१)   लेनदेनसम्बन्धी उजूरीसुन्ने अधिकार कानूनले अञ्चलाधीशलाई प्रदान नगरेको ।

(प्र.नं. ६)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल

विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री मोहनप्रसाद शर्मा

आदेश

            न्या. हेरम्बराज : विपक्षी कार्यालयबाट गराएको ०३५।३।६ को कागज बदर गरिपाउँ भन्ने नेपालको संविधानको धारा १६।७१ अन्तर्गत प्रस्तुत रिट निवेदन पर्न आएको छ ।

            २.    मुद्दाको तथ्य यसप्रकार छ : विपक्षी मुनीलाल राउतले म निवेदकबाट रु.४५७५। लिई निजको आपनै हक भोग दर्ता तिरोको आफै मोही भएको जिल्ला रौतहट प्रदास्तीया बगछी गा.पं.वार्ड नं. २ (क) को कि.नं. २३४ को ज.वि.०१८० जग्गा ०३४।७।२६।६ मा घरसारमा सुक्री बिक्री राजीनामा लेखी दिई ऐनका म्यादभित्र पास गरी नदिएकोले सो लिखत पास गराई पाउँ भनी विपक्षीका नाउँमा रौतहट जिल्ला अदालतमा निवेदकको फिराद परी कारवाही चलिरहेकै अवस्थामा विपक्षी मुनीलालले केके व्यहोराको विपक्षी अञ्चलाधीश कार्यालयमा निवेदन दिनुभएको रहेछ । विपक्षी कार्यालयबाट प्रहरीआई ०३५।३।४ गते निवेदकलाई पक्राउ गरी लगी थुनामा राखी भोलिपल्ट अर्थात ०३५।३।५ गते अञ्चलाधीश कार्यालयमा लगियो, विपक्षी अञ्चलाधीशले मुनीलालको जग्गा तिमीले राजीनामा गराई लिएको रहेछ त्यो जग्गा छोडी दिनु पर्‍यो छाडी देउ भनी अनेक डर त्रास दिई हप्कीदप्की गरेकोले मैले रु.४५७५ दिई जग्गा राजीनामा गराई लिएको छु । लेखतसम्बन्धमा रौतहट जिल्ला अदालतमा फिराद परी कारवाही चलिरहेको छ भन्दा ०३५।३।६ गतेको तारेख तोकी पाए ०३५।३।६ गते विपक्षी कार्यालयमा हाजिर हुन जाँदा रुपैयाँ बुझी जग्गा छोडिदेउ भनी अनेक डर त्रास देखाउँदा निवेदकले जग्गा छाडिदिन भन्दा यो त बडो बडी जान्ने हुँदो रहेछ, यसलाई रुपैयाँ बुझिसकेको छ । जग्गा छाडि दिन्नु भन्ने कागज गरायो कागज गर्न मानेन भने थुनामा राख भन्दै डर त्रास धाक दिई विपक्षी कार्यालयको नाम नजानेको कर्मचारीले कुन मिति राखी के व्यहोराको कागज लेखाई निवेदक लेखपढ नजानेकोलाई सहीछाप गराइ ०३५।३।१४ गतेको तारेख भनी पुनः सहीछाप गराई लिए तारेख भरपाई दिएनन । न्याय प्रशासन सुधार ऐन, ०३१ को दफा ९ बमोजिम सम्बन्धित अदालतको विचाराधीनमा रहेको लेनादेना लेखतसम्बन्धी विषयमा अञ्चलाधीशले आफ्नो अधिकारको दुरुपयोग गरी अधिकारै नभएको विषयमा उजूरी लिई डर त्रासमा पारी गराएको कागज अ.बं.३५ नं. र ने.का.प. ०२८ नि.नं. ५९० मा प्रकाशित कानूनी सिद्धान्तसमेतले बदर हुनुपर्ने हुँदा ०३५।३।६ मा गराएको कागज बदर गराई पाउँ भन्नेसमेत उल्लेख छ ।

            ३.    विपक्षीहरुबाट लिखितजवाफ झिकाई पेश गर्नु भन्ने डिभिजन बेञ्चको आदेशानुसार प्राप्त हुन आएको लिखितजवाफ निम्नप्रकार छ ।

            जि. रोपिपरीया गा.पं.वार्ड नं. ३ बस्ने अमरी राउत कुर्मीको लेनदेन सम्बन्धमा छानविन गरी सुपथ दिलाई लेखत मिन्हा गराई पाउँ भन्ने नारायणी अञ्चलाधीशको टुर मुकाम रौतहटमा मुनी राउतको हकमा वीरा राउतको निवेदन परेकोमा आपसमा झैझगडा समाजस्य कायम रहोस जिल्लामा अशान्ति नफैलियोस् भन्ने हेतुले वास्तविकता बुझ्न निवेदक अमिरी राउतलाई झिकाउँदा ०३५।२।३१ मा उपस्थित भएको सो दिन छानविन हुन नसकी ०३५।३।१४ गते दुवै थरलाई तारेख दिएको सम्म हो, निजलाई असर पर्ने हुने कागज यो कार्यालयबाट गराएको नहुँदा निजको रिट निवेदन खारेज हुन अनुरोध गर्दछु भन्नेसमेत नारायणीअञ्चलाधीशको कार्यालयको लिखितजवाफ ।

            ४.    निवेदकसँग धान मन ४५ लिई सो को नगदीमा परिणत गरी मेरो जग्गा फर्काउने गरी घरसारको चलन मनासिव म्यादी बुझी बिक्रीको लेखत गरे पनि आफ्नो धान बुझी लेखतको जग्गा फिर्ता गरी देउ भन्दा धेरै मूल्यको सम्पत्ति थोरैमा वादीले जग्गा लिने इच्छाले लेखत पास गराई पाउँभनी मेरो उपर रौ.जि. अ.मा नालेस गरेको जग्गा लिन नपाओस भनी सुरक्षाको माग गरी अञ्चलाधीश कार्यालयमा निवेदन गरेको हुँ सो निवेदनमा छानविननिमित्त निवेदकलाई झिकाई छलफल हुँदा निजको मैले तिर्नुपर्ने धानको हुने रु.२९७०।दिए बुझी कागज गरेको हुन नारायणी अञ्चलाधीशबाट मनोमानी कुनै कारवाही भएको नहुँदा प्रस्तुत रिट निवेदन खारेज हुनुपर्छ भन्नेसमेत मुनीलाल राउतको लिखितजवाफ ।

            ५.    यसमा निवेदकका मागबमोजिम आदेश जारी गर्नुपर्ने हो वा हैन ? त्यसको निर्णय दिनुपर्ने हुन आएको छ ।

            ६.    प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी निवेदक तर्फबाट रहनु भएको विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल र अञ्चलाधीश कार्यालयबाट खटी उपस्थित हुनुभएका विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री मोहनप्रसाद शर्माले गर्नुभएको वहससमेत सुनी निर्णयतर्फ विचार गर्दा नारायणी अञ्चलाधीशले ०३५।३।६ मा गराएको कागज बदर गरी अब कुनै कारवाही नगर्नु भन्नेसमेत आदेश जारी गरिपाउँ भन्ने निवेदकको मुख्य जिकिर भएको र अमिरी राउत कुर्मीको लेनदेनसम्बन्धमा छानविन गरी लेखत मिन्हा गरिपाउँ भन्ने मुनी राउतको हकमा विरा राउतको निवेदन परी आपसमा झैझगडा सामञ्जस्य रुप कायम रहोस भन्ने हेतुले निवेदक अमिरी राउतलाई झिकाउँदा ०३५।२।११ मा छानविन हुन नसकेबाट ०३५।३।१४। गते उपस्थित हुन दुवै थरलाई तारेख दिएकोसम्म हो । निवेदकलाई असर पर्ने कागज यस कार्यालयबाट गराएको नहुँदा निवेदकको लेखाई झुठ्ठा हो भन्नेसमेत नारायणी अञ्चलाधीश कार्यालयको लिखितजवाफबाट देखिन आएको र लेनदेन सम्बन्धको उजूरी सुन्ने अधिकार कानूनले अञ्चलाधीशलाई प्रदान गरेको नहुँदा अधिकारक्षेत्रको त्रुटि हुनाले निवेदकलाई जे जो कागज गराएको छ सो कागज उत्प्रेषणको आदेशद्वारा बदर गरिदिएको छ । जानकारी निमित्त यो आदेशको प्रतिलिपि विपक्षीकहाँ पठाउन महान्यायधीवक्ताको कार्यालयमा पठाई फाईल नियमबमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. बब्बरप्रसाद सिंह

 

इति सम्वत् २०३५ साल फाल्गुण ४ गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु