शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६९८२ - चोरी

भाग: ३४ साल: २०५८ महिना: बैशाख अंक:

निर्णय नं. ६९८२ ने.का.प. २०५८ अङ्क १.२

 

संयुक्त इजलास

माननीय न्यायाधिश श्री केदारनाथ आचार्य

माननीय न्यायाधीश श्री टोपबहादुर सिंह

संम्वत  २०५३ सालको फौ.पु.नं.....१४१७

फैसला मितिः २०५६।८।२।५

 

मुद्दाः चोरी

 

पुनरावदेक/वादीः मुरारीलाल मुरार समेतको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

विपक्षी/प्रतिवादीः मोरङ्ग जिल्ला वि.न.पा. वार्ड नं. १३ वसन्त मुखिया (मलाह) समेत

 

प्रतिवादीहरुले अदालतमा बयान गर्दा आरोपित कसूर गरेमा इन्कार रही बयान गरेका वादी पक्षले प्रतिवादीहरुले चोरी गरेको र खरिद बिक्री भएको भन्ने कुरा प्रमाण ऐन, २०३१ को दफा २५ अनुसा।र प्रमाणित गर्न नसकेको, बरामद भएको भनिएको समान पनि चोरी भएको पानीको मिटरकै सामान हो भन्ने कुराको प्रमाणित नभएको स्थितिमा वादीको अभियोग माग दावी बमोजिम प्रतिवादी मनिष गिरी, संजय देवकोटा, वसन्त मुखिया समेतले चोरी गरेको, नीलम रायले चोरी गरी ल्याएको पैसा बाँडी खाएको एवं लक्ष्मी शाह र मोहन ताम्राकारले चोरीको माल भन्ने जानी जानी किनेको भन्ने कुरा नदेखाई उपरोक्त प्रतिवादीहरुले अभियोग माग दावी बमोजिम सफाइ पाउने ठहर गरी पुनरावेदन अदालत विराटनगरबाट मिति २०५३।२।३०।४ मा भएको फैसला मुनासिव ठहर्ने ।

(प्र.नं. २६)

 

पुनरावेदक वादी तर्फबाटः

विपक्षी प्रतिवादी तर्फबाटः

अवलम्वित नजिरः

 

फैसला

न्या.केदारनाथ आचार्यः पुनरावेदन अदालत विराटनगरको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम पुनरावेदन परी यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः

२.   २०४७।१०।२७ गते राति खानेपानी धाराको मिटरको चोरी भएको हुँदा धाराको मिटर खोजतलास गरी पाउँ भन्ने समेत व्यहोराको मुरारीलाल मुरारको जाहेरी दरखास्त ।

३.   हाम्रा ग्राहकहरुको जम्मा विगो रु.१,३१,०००। बराबरको जम्मा १३१ थान पानीको मिटरहरु चोरी भएको यस कार्यालयमा जानकारी भएकोले प्रतिगोटा रु.१०००÷– का दरले सम्बन्धित ग्राहकहरुलाई चोरहरुबाट क्षतिपूर्ति समेत दिलाई पाउँ भन्ने समेत व्यहोराको खानेपानी संस्थान शाखा, विराटनगरको २०४८।२।१७ को पत्र ।

४.   मिति २०४८।२।१८ को बरामदी मुचुल्का मिसिल सामेल रहेको ।

५.  मेरो टोलको साथी संजय देवकोटाले पानीको मिटर चोरेर त्यसमा रहेका पित्तर निकालेर बिक्री गर्नु पर्छ भन्दा सल्ला हनुसार २०४५ आश्विन महिनामा संजय देवकोटा, सुरेश राय, मनिष गिरी समेत भएर विराटनगर १३ स्थित नेपाली नाम जात थाहा छैन, उसको घरको मिटर खोली लगेर मिटरहरु फुटायौं । सो रात उक्त टोलमा नाम नजानेका मानिसहरुको आँगनमा पाइप जोडी राखेको ५ वटा मिटर चोरी गरी भोलि पल्ट बिक्री गरी रकम बाँडी खायौं । मैले आजसम्म १०० वटा पानीको मिटर चोरी गरें । यो वारदातमा संजय देवकोटा, शंभु राय, सुरेश राय, कलिम मियाँ समेत संलग्न छन । आजभन्दा ३।४ महिना अगाडि गोल्छा आँखा अस्पतालको उत्तर तर्फ नयाँ घर बनेको ठाउँमा आएर एउटा मिटर चोरी गरयौं । खानेपानी संस्थानको पत्रमा उल्लेखित ग्राहकहरुलाई चिन्दिन । लक्ष्मी साहको घरमा ४ पटक र मोहन ताम्राकारको घरमा ५।६ पटक स्वयं गएर पित्तल बिक्री गरेका हुँ भन्ने समेत व्यहोरा प्र. वसन्त मुखियाले प्रहरीमा गरेका कागज ।

६.   जोहरी तथा खानेपानी संस्थानको पत्रमा उल्लेखित सम्पूर्ण मानिसहरुलाई चिन्दिन। पानीको मिटर चोरेको घरधनीहरुलाई  मैले नचिनेपनि वारदात स्थान देखाउन सक्छु । नेपाल राष्ट्र बैंक बाल संगठनको कम्पाउण्डबाट साथीहरु संजय देवकोटा, वसन्त मलाह र म समेत ३ जनाले २०४७।१२।२७ गते राती परमानन्द कर्णको घरको अगाडिको मिटर ललीत प्रसादको घर आँगनबाट २०४८।२।१ गते एउटा र मैले नाउँ नजानेको पाथीभरा ग्रिल उद्योगमा यहाँ पक्राउ हुनुभन्दा २।३ दिन पहिला २०४८।१।३० गते राती स्पेक्ट्रो कलर ल्यावको १ थान मिटर र वितुला घरको मिटर शंभु, संजय, दिनेश र कलिप समेतका मानिसहबर भै चोरी गरका हौं । यी माथि उल्लेखित साथीहरु सँग बेलाबेलामा चोरी गरी बिक्री गरी आएको पैसा पाउनासाथ खर्च गरी सकेको हुँदा एकिन खुलाउन सक्तिन भन्ने समेत व्यहोराको प्रतिवादी मनिष गिरीले प्रहरीमा गरेका कागज ।

७.  सोधनी भएको पानीको मिटर मैल किनेको छैन । वसन्त मुखिया, मनिष गिरी, कलिम मिया नामका केटाहरुले मेरोमा ससाना कुच्चिएको पित्तलको टुक्राहरु बिक्री गर्न ल्याएको हुँदा खरिद गरेको हुँ । एकिन मिति थाहा छैन । प्रति के.जी. रु.७०। मा किनी जोगवनीमा रु.८५। मा बिक्री गरेको हुँ । चोरीको मिटर जानी जानी किनेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी लक्ष्मी साहले प्रहरीमा गरेका कागज ।

८.   मैले भाडा वर्तनको पसल खोलेको छु । मनिष तथा दिनेश भन्ने वसन्त मुखिया समेतका मानिसहरु तथा अन्य मानिसले पित्तलका टुक्रा जस्ता पत्रु मैले आजसम्म चिनेर चोरीको भनी जानी जानी खरिद गरेको छैन । म पित्तल तामाको थोत्रा पत्रुहरु  किन्ने हुनाले मेरो दोकानमा एक पटक २।३ जना केटाहरुले पित्तलका टुक्राहरु ल्याएकोमा मैले किन्न चाहि किने तर चोरीको भनि जानेर लिएको होइन, मैले पुरै मोल तिरेर खरिद गरेको हुँ । देखाइएका अभियुक्तहरुलाई चिन्दिन भन्ने समेत व्यहोराको प्र. मोहन ताम्राकारले प्रहरीमा गरेको कागज ।

९.   २०४८।२।२२ को सर्जमिन मुचुल्का मिसिल सामेल रहेको ।

१०.  तेबार याद छैन, आजभन्दा ३।४ महिना अघि गाउँकै बहिनीको विवाहमा भी.डि.ओ. ल्याएकोमा सो हेर्दा हेर्दै वसन्त, संजय, मनिषले बजारतिर घुम्न जाउँ भनेकोले घुम्दै आउँदा गोल्टा आँखा अस्पतालको सामुन्ने पुगे पश्चात मलाई त्यही बस्न लगाई निजहरुले एउटा पानीको मिटर लिएर आए । त्यसपछि आ आफ्नो घर गई सुत्यौं । भोलिपल्ट मनिष समेतले मलाई रु.२०। दियो । सो रुपैया मासें । त्यसो वाहेक अरु चोरीमा सम्मिलित भएको छैन भन्ने समेत व्यहोराको प्र. निलम रायले प्रहरीमा गरेको कागज ।

११.  प्रतिवादीहरु मध्ये वसन्त मुखिया, मनिष गिरी, संजय देवकोटालाई चोरीको १२ नं. निलम रायलाई चोरीको २० नं. प्र. लक्ष्मी साह र मोहन ताम्राकारलाई ऐ. को २४ नं. बमोजिम पहिला पटक पारी सजाय गरी ऐ. को १०(३) नं. बमोजिम प्रतिवादीहरुबाट जाहेरवालालाई मिटरको विगो रु. १०००। दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।

१२.  २०४७।१०।२७ गतेका दिन म कहाँ के गर्दै थिए केही थाहा छैन । जाहेरवालाको मिटर मैले चोरी गरेको होइन र कस्ले चोरी गरे सो समेत मलाई थाहा छैन । बरामद भै आएका मिटहरु देखें यी सामानहरु सरोचिया पश्चिमको नहरमा मिल्काएको ठाउँमा लगि म र मनिष समेतलाई लगी बरामद गराएको हो । प्रहरीमा भएको  कागज मैले स्वेच्छाले गरेको होइन । कुटपिट डरधाक देखाई लेखिएको व्यहोरा समेत नसुनाई जबरजस्ती सही गराएको हो । खानेपानीको जाहेरी दरखास्त सुनें मैले चोरी गरेको होइन । सर्जमिन मुचुल्का हामीलाई नलगी गरको हुन् । तसर्थः मैले चोरी नगरेकाले झुठ्ठा प्रहरी प्रतिवेदन दावीबाट सफाइ पाउँ भन्ने समेत व्यहोराको प्र. वसन्त मुखियाले अदालतमा गरेको बयान ।

१३.  मिति २०४७।१०।२७ गतेका दिन म आफ्नै घरमा काम गरी राखेको थिएं । जाहेरवालाको पानीको मिटर मैले चोरी गरेको छैन र कस्ले चोरी गरे थाहा छैन । प्रहरीमा भएकोमेरो बयान प्रहरीमा पिट्छ भन्ने कुरा गाउँकै लक्ष्मी राय समेतले भनेको हुँदा मैले त्यस्तो बयान गरि दिएको हुँ । मनिष गिरी समेतले मलाई किन पोल गरे भन्न सकिदैन । बरामदी मुचुल्का सम्बन्धमा मलाई थाहा छैन भन्ने समेत व्यहोराको प्र. निलम रायले अदालतमा गरेको बयान ।

१४.  म मिटरभित्र रहेको पित्तल वा अन्य धातु खरिद गर्दिन, मैले मिटरको धातु खरिद गरेको होइन । प्रतिवादीहरुलाई समेत चिन्दिन । निजहरुबाट कुनै किसिमको धातु खरिद गरको छैन । बरामद भै आएका सामानहरुको सम्बन्धमा मलाई थाहा छैन । प्रहरीमा भएको बयान पढी वांची नसुनाई लेखिदिएको छ भन्ने मलाई थाहा भएन । व्यहोरा मेरो होइन । वसन्त मलाह समेतले किन त्यस्तो कागज गरी दिए निजहरु नै जानुन भन्ने समेत व्यहोराको प्र. मोहन ताम्राकारले अदालतमा गरेका बयान ।

१५.  म धातुको भाडावर्तन बिक्री मात्र गर्छु अन्य धातुको सामान खरिद नगर्ने हुनाले मैले कसैसँग पनि मिटरको धातु खरिद गरेका छैन । धातु नै खरिद नगरेको हुँदा चोरीको भन्ने कुरै भएन । बरामद भएको सामान कहाँबाट आयो म जान्दिन । बरामदी मुचुल्का सम्बन्धमा मलाई केही थाहा छैन । प्रहरीमा भएको कागज लेखी राखेको कागजमा सही गर भनी प्रहरीले भनेकाले पढेर सुनाई दिनुस भन्दा मलाई कुटपिट समेत गरेको हुँदा डरले सहिछाप लगाएको हुँ । व्यहोरा मेरो होइन । प्रतिवादीहरुलाई चिन्दिन किन त्यस्तो कागज लेखाए थाहा छैन ।

सर्जमिनमा मलाई नलगेको हुनाले थाहा छैन । सर्जमिनमा मलाई नलगेको हुनाले थाहा छैन भन्ने समेत व्यहोराको प्र. लक्ष्मी साहुको अदालतमा भएको बयान ।

१६.  मिति २०४७।१०।२७ गते दिन रात म आफ्नै घरमा थिएं । उक्त राति जाहेरवालको पानीको मिटर मैले चोरी गरेको होइन कसले चोरी गरे भन्न सक्तिन । जाहेरवालको घर समेत म चिन्दिन । विराटनगर पश्चिममा भउको नहरमा म र वसन्त समेतलाई प्रहरीको भेनमा लगि छरिएको टुक्राहरु टिप्न लगाई बरामद गरिएको हो । यी टुक्राहरु कहाँबाट त्यहाँ आए हामीलाई थाहा छैन । प्रहरीमा भएको कागज मेरो राजिखुसिले भएको होइन । प्रहरीमा कुटपिट गरेपछि ज्यान बचाउन सहिछाप गरेको हुँ । वसन्तले मलाई किन पोले निजबाटै खोली पाउँ । खानेपानी संस्थानको पत्र मैले सुनें मैले चोरी गरेको होइन, सर्जमिनमा हामीलाई लगेको थिएन भन्ने समेत व्यहोराको प्र.मनिष गिरीले अदालतमा गरेका बयान ।

१७.  २०४७।१०।२७ गतेका राती मैले समेत भै बिगो रु.१०००। पर्ने पानीको मिटर चोरी गरेको होइन । सो दिन म भारतको उत्तर प्रदेश गुण्डा जिल्ला विद्याधरको किराना दोकानमा काम गरी बसेको छु । बरामद भई आएको सामान कस्को हो मलाई थाहा छैन । प्र. मनिष समेतले किन पोर गरे म जान्दिन निजहरुको पोल झुठ्ठा हो । मैले कसूर गरेको नहुँदा सफाइ पाउँ भन्ने समेत व्यहोराको प्र. संजय देवकोटाले अदालतमा गरेको बयान ।

१८.  राजकुमार सहनी, लक्ष्मी राय, मुकुन खनाल, सत्यनारायण  साह, गोपाल भुजेल, बुद्धरत्न उदास, कपलेश्वर मुखिया, छटुवाल पासमान समतेको वकपत्र मिसिल सामेल रहेको ।

१९.  प्रतिवादी मध्ये संजय देवकोटाले २०५०।१।८ को तारेख गुजारी बसेको ।

२०.  अधिकार प्राप्त अधिकारी समक्ष साविति बयान दिई अदालत समक्ष इन्कारी बयान दिएतापनि बरामद भएको कुरा प्रहरी र अदालत समक्ष समेत स्वीकार गरी एकापसमा पोल गरी पोलको कारण खुलाउन नसकेको अवस्थामा प्र. मध्ये मनिष गिरी, संजय देवकोटा र वसन्त मुखियाले प्रहरी  प्रतिवेदन दावी बमोजिम जाहेरवालाको पानीको मिटर चोरी गरेको ठहर्छ । अन्य प्रतिवादी लक्ष्मी साह, मोहन ताम्राकार तथा निलम रायले सफाइ पाउने ठहर्छ भन्ने समेत व्यहोराको २०५०।१०।४ को शुरु मोरङ्ग जिल्ला अदालतको फैसला ।

२१.  शुरु जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला वदर गरी सफाइ पाउनेको हकमा समेत प्रहरी प्रतिवेदन माग बमोजिम सजाय गरी पाउँ भन्ने समेत व्यहोरोका वादी श्री ५ को सरकारको पु.वे.अ. मा परेको पुनरावेदन पत्र ।

२२.  विना आधार प्रमाण शुरु मोरङ्ग जिल्ला अदालतले चोरी गरेको ठहराई गरेको फैसला त्रुटिपूर्ण हुँदा वदर गरी सफाइ पाउँ भन्ने समेत व्यहोराको प्र. मनिष गिरी र वसन्त मुखियाकोपु.वे.अ. मा परेको पुनरावेदन पत्र ।

२३.  प्रतिवादीहरुबाट बरामद भएको भनिएको सामान चोरी भएको मिटर मध्येकै हो भन्ने व्यहोरा प्रमाणित नभएको र अरु प्रमाणबाट पुनरावेदन प्रतिवादीहरुले चोरी गरेको समर्थित भएको नदेखिंदा शुरु जिल्ला अदालतले प्रतिवादीहरुलाई चोरी गरेको ठहराएको इन्साफ त्रुटिपूर्ण भै सफाइ पाउनेछ ठहर्छ । मुख्य अभियुक्तहरुले नै कसूर गरेको नठहरिएको स्थितिमा निजहरुबाट चोरीको सामान किन्ने भनिएका व्यक्तिहरु उपरको आरोप स्वतः खण्डित हुने हुनाले सफाइ पाउनेको हकमा उल्टी गरी पाउँ भन्ने श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने समेत व्यहोराको २०५३।२।४ मा पु.वे.अ. विराटनगरबाट भएको फैसला ।

२४. प्रतिवादीहरुलाई सफाइ दिने गरी भएको पुनरावेदन अदालत विराटनगरको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला वदर गरी प्रतिवादीहरुलाई माग दावी बमोजिम सजाय गरी पाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

२५. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको विराटनगरबाट मितति २०५३।२।३०।४ मा भएको फैसला मिले नमिलेको के रहेछ ? सो सम्बन्धमा निर्णय दिनुपर्ने आयो ।

२६.  यसमा प्रतिवादी मनिष गिरी, वसन्त मुखिया, करिम मिया, दिलीप आचार्य, शम्भु राय, संजय देवकोटा तथा सुरेश रायलाई मु.ऐन चोरीको महलको १ नं. को कसूरमा ऐ. १२ नं. बमोजिम सजाय हुन  र प्र. मोहन ताम्राकार र लक्ष्मी शाहलाई ऐ. को २३ नं. बमोजिमको कसूर अपराध सजाइ हुनको लागि अभियोग पत्र प्रस्तुत गरेकोमा शुरु मोरङ्ग जिल्ला अदालतबाट फैसला हुँदा प्र. दिलीप कुमार आचार्य र शम्भु रायको हकमा मुतलवी राखी प्र. मनिष गिरी, संजय देवकोटा तथा वसन्त मुखियाले दावी बमोमिज कसूर अपराध गरेको ठहर गर्दै सजाय गरी र प्र. लक्ष्मी शाह र मोहन ताम्राकार एवं निमल रायलाई वादी दावी बमोजिम कसूर गरेको ठहर नगरी सफाइ पाउने ठहर गरी गरेको फैसला उपर वादी श्री ५ को सरकार तथा प्रतिवादीको पुनरावेदन अदालत विराटनगरमा पुनरावेदन परेकोमा पुनरावेदन अदालत विराटनगरबाट शुरु जिल्ला अदालतको फैसाल उल्टी गरी सफाइ पाउने ठहर गरेको फैसाला उपर वादी श्री ५ को सरकारको यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दामा निर्णयतर्फ विचार गर्दा प्रतिवादीहरुले अदालतमा बयान गर्दा आरोपित कसूर गरेमा इन्कार रही बयान गरेका वादी पक्षले प्रतिवादीहरुले चोरी गरेको र खरिद बिक्री भएको भन्ने कुरा प्रमाण ऐन, २०३१ को दफा २५ अनुसार प्रमाणित गर्न नसकेको, बरामद भएको भनिएको समान पनि चोरी भएको पानीको मिटरकै सामान हो भन्ने कुराको प्रमाणित नभएको स्थितिमा वादीको अभियोग माग दावी बमोजिम प्रतिवादी मनिष गिरी, संजय देवकोटा, वसन्त मुखिया समेतले चोरी गरेको, नीलम रायले चोरी गरी ल्याएको पैसा बाँडी खाएको एवं लक्ष्मी शाह र मोहन ताम्राकारले चोरीको माल भन्ने जानी जानी किनेको भन्ने कुरा नदेखाई उपरोक्त प्रतिवादीहरुले अभियोग माग दावी बमोजिम सफाइ पाउने ठहर गरी पुनरावेदन अदालत विराटनगरबाट मिति २०५३।२।३०।४ मा भएको फैसला मुनासिव ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.टोपबहादुर सिंह

 

इति सम्वत २०५६ साल मंसिर २ गते रोज ५ शुभम्....।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु