निर्णय नं. ४३६ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

निर्णय नं. ४३६ ने.का.प २०२५
डिभिजन बेञ्च
न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
न्यायाधीश श्री कालीप्रसाद उपाध्याय
सम्वत २०२३ सालको रीट नम्बर ३६०
निवेदक : होमनाथ उपाध्याय
विरुद्ध
विपक्षी : भू.सु. अफिस भक्तपुरको भू.सु.अधिकारी, श्री तिलकबहादुर लोकसम समेत
विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ
(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ को उपदफा (३) (क) अनुसार घरवारीको जग्गा कमाउने व्यक्तिलाई मोही हक प्राप्त नहुने र मोहीयानी हकमा भूमिसम्बन्धी नियम, २०२३ को नियम ६ बमोजिम जोताहाको लगत प्रकाश भएपछि सो लगतमा चित्त नबुझ्नेले उक्त नियमको नियम ७ अनुसार विशेष अदालतमा उजुर गर्नुपर्नेमा–सो लगत प्रकाशित भैं सकेपछि भूमिसुधार अधिकारीले निवेदन लिएर जोताहा विषयमा निर्णय गरेमा उक्त निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्नुपर्ने ।
भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ मा मोहीको हक प्राप्त हुने अवस्था भन्ने लेखी दफा २५ को उपदफा (३) मा उपदफा १ र २ मा जुनसुकै कुरा लेखिएको भए तापनि गैर नेपाली नागरिकलाई र देहायको जग्गा कमाउने व्यक्तिलाई मोहीको हक प्राप्त हुने छैन भन्ने र देहाय (क) मा घरबारीको जग्गा वा भन्ने लेखिएकोले घरवारीको जग्गा कमाउनेलाई मोही हक प्राप्त नहुने व्यवस्था सो ऐनमा भएको र भूमिसम्बन्धी नियम, २०२३ को नियम ६ मा भूमिसुधार टोलीले कुनै गाउँ वा नगर पञ्चायतको कुनै एक वार्डको लगत अनुसूची २ बमोजिम ढाँचामा तयार गरी सकेपछि सो लगत वार्डको यथासम्भव सबै व्यक्तिहरूलाई एकत्रित गरी सुनाउनु पर्दछ र त्यसको १ प्रति गाउँ वा नगर पञ्चायतको अफिसमा बुझाई दिनु पर्छ र एक प्रति भूमिसुधार अधिकारी छेउ पठाई दिनु पर्छ भन्ने र नियम ७ को उपनियम १ मा नियम ६ अनुसार प्रकाशित गरिएको लगतमा कसैको चित्त नबुझेमा निजले लगत प्रकाशित भएका ३५ दिन भित्र स्थानीय गाउँ वा नगर पञ्चायतमा कारण सहित लिखित उजुर दिन सक्नेछ भन्ने र उप–नियम २ मा उप–नियम १ बमोजिम प्राप्त उजुरीलाई स्थानीय गाउँ वा नगर पञ्चायतले विशेष अदालतमा पठाई दिनु पर्छ र त्यसको सूचना भूमिसुधार अधिकारीलाई दिनु पर्छ भन्ने उल्लेख भएकोले मोहीयानी हकमा जोताहाको लगत प्रकाश भईसकेपछि चित्त नबुझ्नेले उक्त नियम ७ बमोजिम उजुर गरी विशेष अदालतमा जाने व्यवस्था भएकोमा जोताहाको लगत प्रकाश भईसकेपछि भूमिसुधार अधिकारीले निवेदन लिई जोताहा विषयमा निर्णय गर्न पाउने नदेखिनाले लगत प्रकाश भईसकेपछि निवेदनबाट विपक्षी दुर्गाबहादुरको हाललाई जोताहा कायम गर्ने गरी अनाधिकार गरेको विपक्षी भूमिसुधार अधिकारीको उक्त २०२२।९।२५।१ को निर्णय मिलेको नदेखिनाले उत्प्रेषणको आदेशद्वारा सो निर्णय बदर गर्नुपर्ने ठर्हछ ।
(प्रकरण नं. ८)
निवेदक तर्फबाट : अधिवक्ता श्री सुधानाथ
सरकारी अधिवक्ता : प्रचण्डराज अनिल
आदेश
१. भ.पु.ई. कटुन्जे पञ्चायत वार्ड नं. ६ एरियामा कि.नं.२० पक्कि परखालले घेरिएको कम्पाउण्ड भित्र पक्कि नै घर भएकाघरले चर्चेको फलफुलका विरुवाहरू लगाई भोग चलन गरी आएको पर्वमा सो घरमा गई पर्व गुठी आदि गरी भोग चलन गरी आएकाघर बगैंचाको हेरचाह गर्न उक्तबाहेक अरु हामीहरूकै पाखो जग्गा मध्ये कै जग्गा दुर्गाबहादुर थापा लोकप्रसादलाई कमाउन दिएको थियो । घर बगैंचामा दर्तावालामा मेरो जोताहामा विपक्षी दुर्गाबहादुरले दर्ता गराएछन् । घरबारी बगैंचा कसैलाई कमाउन दिएको छैन भन्ने समेतको निवेदन पर्नासाथ जोताहा हक पनि मेरै कायम हुन्छ भनी निर्णय गरी जोताहामा र दर्तावालामा समेत नाम लेखि श्री महेन्द्र मुक्ति बिनाएक भ.पु.ई. ग्राम पञ्चायत कटुन्जेको वार्डको लगतबाट २०२१।१२।२३ मा प्रकाश समेत भएको थियो । लगत प्रकाश भएपछि चित्त नबुझ्नेले भू.सु.बि.अ. मा उजुर गर्नुपर्नेमा नगरी अन्तिम भईसकेको थियो । त्यसपछि दुर्गाबहादुरको उजुर परेछ र भू.सु. ऐनमा घरवारीको जग्गामा मोहियानी कायम हुँदैन भन्ने प्रष्ट छ । तापनि सो घर घडेरी पुस्तौ देखि बसोवास गरी आउने निवेदक दुर्गाबहादुर थापाले भत्किएको अवस्थामा आफ्नै तर्फबाट खर्च गरी बारम्बार मरमत गरेको भन्ने बुझिएको हुँदा दर्तावाला होमनाथ समेतले उजुर गर्न आएमा घर घडेरी बिग्रिएको र दुर्गाबहादुरले आफ्नै तर्फबाट मरमत गरिएको ठहर्न आएमा पञ्चायत र वार्ड समितिले ठहराएबमोजिमको मरमत खर्च र क्षतिपूर्ति होमनाथ र टंकप्रसाद समेतले दुर्गाबहादुरलाई दिएमा मात्र दुर्गाबहादुरले त्यस घर घडेरीको र मोहियानी हक होमनाथ टंकप्रसादलाई छाड्न मिल्ने हुँदा अहिलेलाई निज दुर्गाबहादुरकै नाम कायम गरी राख्ने भनी २०२२।९।२५ मा विपक्षी भू.सु. अधिकारीले निर्णय पर्चा गरी दिनु भएछ । उक्त निर्णय पर्चा कानून विरुद्ध छ । किनभने भूमिसम्बन्धी ऐनको दफा २५ को उपदफा (३) को (क) ले नै प्रष्ट छ । घर मर्मत गरेको खर्च भन्ने उल्लेख गरी पर्चा भू.सु. अधिकारी ज्यूलाई हक छैन । प्रकाश भएको लगतमा चित्त नबुझ्नेले लगत प्रकाश भएपछि भू.सु. नियमावलीको दफा ७ बमोजिम उजुर दिनुपर्छ । लगत प्रकाश भएको म्याद नाघे पछि अधिकार नभएको अधिकारीबाट गराएको पर्चा गैरकानूनी छ । अधिकार बाहिर गई गरेको पर्चा अ.बं.३५ नं. ले बदर हुने प्रष्ट छ । यसरी गैरकानूनी पर्चाबाट मेरो घर जग्गा सम्पत्तिसम्बन्धी हक निहित भएकाले नेपालको संविधानको धारा ११।२।३ धारा १५ अन्तर्गतको मौलिक हकमा आघात पुगेको छ । भूमिसुधार अधिकारीज्यूको पर्चालाई उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा वा आदेशद्वारा बदर गरी जोताहा र दर्ताको हक समेत प्रचलन गराई पाउँ भन्ने समेत निवेदनपत्र ।
२. यसमा कटुन्जे बस्ने दुर्गाबहादुर थापाको निवेदन परेकोमा २०२२।९।२५।१ मा जि.भू.सु.अ. भक्तपुरबाट पर्चा भएको मिसिल जि.भू.सु.अ. भक्तपुरबाट झिकाई आएपछि पेशगर्नु भन्ने आदेश ।
३. यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? यो आदेश प्राप्त भएका मितिले बाटाका म्यादबाहेक १५ दिन भित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ दिनु भनी रीटको निवेदन पत्रको १ प्रति नक्कल साथै राखी विपक्षी जि.भू.सु. कार्यालय भक्तपुरको भू.सु. अधिकारी श्री तिलकबहादुरलाई सूचना पठाई दिनु । महान्यायाधिवक्ताको कार्यालयलाई बोधार्थ पनि दिनु । निवेदकको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? यो आदेश प्राप्त भएका मितिले बाटाका म्याद बाहेक १५ दिन भित्र लिखित जवाफ लिई आफै वा आफ्नो प्रतिनिधिद्वारा उपस्थित हुनु भनी रीटको निवेदनपत्रको १ प्रति नक्कल साथै राखी विपक्षी दुर्गाबहादुर थापालाई जि.अ. भक्तपुर मार्फत सूचना पठाई दिनु भन्ने डिभिजन बेञ्चको आदेश ।
४. घरबारी जग्गामा मोहियानी हक नलाग्ने भन्ने कुरा भूमिसम्बन्धी ऐनको २५ को उपदफा ३ मा व्यवस्था भएको छ र त्यस्तो व्यवस्थाबाट कुनै पनि व्यक्तिलाई केही हक दिन्छ भने त्यस्तो हकलाई कानूनी हक भन्नु पर्छ । त्यस्तो कानूनी हक प्रचलन गर्न कानूनमा कुनै व्यवस्था नभएमा मात्र संविधानको धारा ७१ मुताविक गराई माग्न पाउने हो । भूमिसम्बन्धी नियमावली नियम ६ अनुसार लगत प्रकाश भएको लगतमा २० नं जग्गाको जोताहामा मेरा नाउँ र जग्गा धनीको महल खाली राखी प्रकाशन भएको छ । त्यस्तो प्रकाशनबाट विपक्षी को हक हनन् भएको छ भन्ने सम्झेमा नियम ७ अनुसार उजुर गर्न पाउने कानूनी व्यवस्था भएकै छ । संविधानको धारा ७१ अनुसार यो रीटको आवेदन गर्न नपाइने हुँदा आवेदनपत्र खारेज गरी पाउँ । तलसिंहरू मध्ये १ जनाले मात्र यो निवेदन गारेको हुँदा रीट आवेदन खारेज गरी पाउँ । उक्त जग्गामा घर गोठ समेत बनाई भोग गरी आएको आज पुस्तौं भईसकेको छ । र उक्त जग्गा ६।। ।१ जग्गा विपक्षीका भाउजुसँग फार्छे गरी रजिष्ट्रेशन पास गराई भोग गरी आएको कुरामा भू.सु. अफिसबाट जोताहा मलाई कायम गरी अस्थायी निस्सा समेत मलाई दिएको कार्य समेतलाई अनाधिकार भन्न मिल्ने होइन । यो रीट आवेदनपत्र खारेज हुनुपर्छ भन्ने समेत दुर्गाबहादुरको लिखित जवाफ ।
५. २०२२।९।२५ मा निर्णय गरिएको हुँदा २०२३ साल पौषमा मात्र रीटको निवेदन देखिनाले ढिलो गरी आएको रीटको निवेदन खारेज हुनु पर्ने दुर्गाबहादुरले जोति आएको कित्ताको घर घडेरी भत्किएको र निज दुर्गाबहादुरले आफ्नै तर्फबाट खर्च लगाई मर्मत गरेको साँचो ठहर्न आएमा संबन्धित पञ्चायत र वडा समितिले ठहराएबमोजिमको मर्मत खर्च र क्षतिपूर्र्ति होमनाथ र टंकप्रसाद समेतले दुर्गाबहादुरलाई दिएमा मात्र निज दुर्गाबहादुरले त्यस घर घडेरीको मोहियानी हक होकनाथ र टंकप्रसादलाई छाड्न मिल्ने नियमले देखिएको हुँदा सोहीबमोजिम गरी अहिलेलाई उल्लेख भएको कित्ता निज दुर्गाबहादुर थापाकै नाममा कायम गरी राख्ने भन्ने समेत कार्यालयबाट पर्चा गारेको हुँदा अस्थायी निर्णय अपहरण गरेको छैन, होईन । घरवारीको जग्गामा मोहियानी हक लाग्न नसक्ने र लगत प्रकाशन हुँदा निवेदक होमनाथकै नाउँमा प्रकाशित भएको हुँदा कानूनी हक अपहरण नभएको रीटको निवेदन खारेज हुन सादर अनुरोध गरिन्छ भन्ने समेत भूमिसुधार कार्यालय भक्तपुरको लिखित जवाफ ।
६. प्रस्तुत केशमा तारेखमा रहेको विपक्षी दुर्गाबहादुरलाई नियमबमोजिम ३ पटकसम्म नाम पुकार गर्दा उपस्थित नभएको र निवेदक होमनाथ रोहवरमा रही पेश हुन आएको निवेदकतर्फको विद्वान प्लीडर सुधानाथको र सरकारी अधिवक्ता प्रचण्डराज अनिलको समेत बहस सुनी निर्णयतर्फ विचार गर्दा घर कम्पाउण्डमा मोही हक नलाग्ने मेरो जोताहा कायमभई लगत प्रकाश भईसकेपछि विपक्षी दुर्गाबहादुरले जोताहा कायम गर्ने गरेको निर्णय बदर गरी पाउँ भन्ने निवेदकको माग भएकोले विपक्षी भू.सु अधिकारीको निर्णय कानूनी वा गैरकानूनी के रहेछ भन्ने नै निर्णय गर्नुपर्ने हुन आयो ।
७. जोताहा हक समेत मेरै कायम हुन्छ भनी निर्णय गरी जोताहामा र दर्तावालामा समेत नाम लेखि २०२१।१२।२३ मा लगत प्रकाश भएकोमा पछि दुर्गाबहादुरको उजुरको आधारमा दुर्गाबहादुरको जोताहा कायम गर्ने गरी २०२२।९।२५।१ मा निर्णय गरेको भन्ने निवेदनमा उल्लेख भएको र प्राप्त हुन आएको विपक्षी भूमिसुधार अधिकारीको लिखित जवाफमा घरवारीको जग्गामा मोही हक लाग्न नसक्ने र लगत प्रकाशन हुँदा होमनाथकै नाउँमा प्रकाशित भएको भन्ने लेखिएको र प्राप्त हुन आएको फाइलबाट मेरो नाउँमा जोत कायम गरी पाउँ भन्ने दुर्गाबहादुरको २०२२।७।२० मा दर्ता भएको निवेदनबाट कारवाई गरी ०२२।९।२५ मा मोहियानी हकमा भूमिसुधार अधिकारीले निर्णय गरेको देखिन्छ ।
८. भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ मा मोहिको हक प्राप्त हुने अवस्था भन्ने लेखी दफा २५ को उपदफा (३) मा उपदफा १ र २ मा जुनसुकै कुरा लेखिएको भए तापनि गैर नेपाली नागरिकलाई र देहायको जग्गा कमाउने व्यक्तिलाई मोहिको हक प्राप्त हुने छैन भन्ने र देहाय (क) मा घरबारीको जग्गा वा भन्ने लेखिएकोले सो घरवारीको जग्गा, जग्गा कमाउनेलाई मोही हक प्राप्त नहुने व्यवस्था सो ऐनमा भएको र भूमिसम्बन्धी नियम, २०२३ को नियम ६ मा भूमिसुधार टोलिले कुनै गाउँ वा नगर पञ्चायतको कुनै एक वार्डको लगत अनुसूची २ बमोजिम ढाँचामा तयार गरी सकेपछि सो लगत वार्डको यथासम्भव सबै व्यक्तिहरूलाई एकत्रित गरी सुनाउनु पर्दछ र त्यसको १ प्रति गाउँ वा नगर पञ्चायतको अफिसमा बुझाई दिनु पर्छ र एक प्रति भूमिसुधार अधिकारी छेऊ पठाई दिनु पर्छ भन्ने र नियम ७ को उप–नियम १ मा नियम ६ अनुसार प्रकाशित गरिएको लगतमा कसैको चित्त नबुझेमा निजले लगत प्रकाशित भएका ३५ दिन भित्र स्थानीय गाउँ वा नगर पञ्चायतमा कारण सहित लिखित उजुर दिन सक्ने छ भन्ने र उप–नियम २ मा उप–नियम १ बमोजिम प्राप्त उजुरीलाई स्थानीय गाउँ वा नगर पञ्चायतले विशेष अदालतमा पठाई दिनु पर्छ र त्यस्को सूचना भूमिसुधार अधिकारीलाई दिनु पर्छ भन्ने उल्लेख भएकोले मोेहियानी हकमा जोताहाको लागत प्रकाश भईसकेपछि चित्त नबुझ्नेले उक्त नियम ७ बमोजिम उजुर गरी विशेष अदालतमा जाने व्यवस्था भएकोमा जोताहाको लगत प्रकाश भईसकेपछि भूमिसुधार अधिकारीले निवेदन लिई जोताहा विषयमा निर्णय गर्न पाउने नखेखिनाले लगत प्रकाश भईसकेपछि निवेदनबाट विपक्षी दुर्गाबहादुरको हाललाई जोताहा कायम गर्ने गरी अनाधिकार गरेको विपक्षी भूमिसुधार अधिकारीको उक्त २०२२।९।२५।१ को निर्णय मिलेको नदेखिनाले उत्प्रेषणको आदेशद्वारा सो निर्णय बदर गर्नुपर्ने ठहर्छ । यो आदेश विपक्ष कहाँ पठाउन प्रतिलिपी महान्यायाधिवक्ताको कार्यालयमा पठाई फाइल नियमबमोजिम बुझाई दिनु ।
इति सम्वत् २०२४ साल बैशाख १८ गते रोज २ शुभम् ।