निर्णय नं. ६०६४ - भ्रष्टाचार
निर्णय नं. ६०६४ २०५२, ने.का.प. अङ्क ९
पूर्ण इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
माननीय न्यायाधीश श्री नरेन्द्रबहादुर न्यौपाने
फौ.पु.ई.नं. १२
फैसला मिति : २०५२।९।२०।५
मुद्दा : भ्रष्टाचार ।
पुनरावेदक/वादी : श्री ५ को सरकार (विशेष प्रहरी विभाग)
विरुद्ध
प्रत्यर्थी/प्रतिवादी : का.जि.का.न.पा. वडा नं. २९ ठमेल बस्ने दिलबहादुर लामा
ऐ ऐ बस्ने बसुन्धरा लामा ।
ऐ वडा नं. १० कोटेश्वर बस्ने चन्द्रप्रकाश देउजा ।
ऐ वडा नं. ९ बत्तिसपुतली बस्ने रोहिणी कुमार सिंह ।
जि. गोरखा थलाजोङ गा.वि.स. वडा नं. १ घर भै हाल का.जि. का.न.पा. वडा नं. ५ मालिगाउँ डेरा गरी बस्ने मणिराज गुरुङ ।
का.जि. बौद्ध तीनचुलिया बस्ने नाम्दुल के.सी. ।
ल.पु.जि. ल.पु.न.पा. वडा नं. ३ झम्सीखेल बस्ने राज बहादुर गुरुङ ।
ऐ वडा नं. १ कुपण्डोल कानदेवतास्थान बस्ने प्रकासशंकर श्रेष्ठ ।
का.जि. का.न.पा. वडा नं. १६ नयाँ बजार बस्ने गोविनदमान प्रधान ।
भ.पु.जि. भ.पु.न.पा. लाकुलाछे टोल बस्ने विश्व बहादुर जोशी ।
का.जि. का.न.पा. वडा नं. ३२ बस्ने मान वहादुर श्रेष्ठ ।
ऐ ऐ वडा नं. २२ घर भई ६/१५२ पाको न्युरोड बस्ने रामकृष्ण मानन्धर ।
भ.पु. जि. भ.पु.न.पा. वडा नं. १५ घर भई हाल का.न.पा. ११ त्रिपुरेशवर बस्ने जगन्नाथ प्रधानाङ्ग ।
ल.पु.जि. ल.पु. न.पा. वडा नं. ४ जाउलाखेल बस्ने नर प्रसाद मुक्तान ।
धनुषा जिल्ला घर भई का.न.पा. वडा नं. ३३ मैतीदेवी डेरा गरी बस्ने बसन्त प्रसाद उपाध्याय ।
का.जि.का.न.पा. वडा नं. ३२ कालिका स्थान बस्ने कैलासध्वज खाँड ।
ऐ वडा नं. ११ बस्ने विनोद शाह ।
ऐ वडा नं. २९ ठमेल बस्ने सुशिल प्रधान ।
गोरखा जिल्ला तारानगर गा.पं. वडा नं. १ घर भई हाल का.जि. का.न.पा. वडा नं. १७ क्षेत्रपाटी बस्ने भोलाराज पाण्डे ।
का.जि. का.न.पा. वडा नं. २९ ठमेल बस्ने बाबुकाजी बज्राचार्य ।
ल.पु.जि. ल.पु.न.पा. वडा नं. ३ पुल्चोक बस्ने उमेश प्रसाद कर्माचार्य ।
का.जि.का.न.पा. वडा २० मरु इलाछे बस्ने हरि बहादुर प्रधान ।
ऐ वडा नं. ४ घर नं. २/५७१ बालुवाटार मा बस्ने अजित बहादुर खुलाल ।
ऐ वडा नं. २४ गुच्चाटोल बस्ने चन्द्र देव मानन्धर ।
ल.पु.जि. ल.पु.न.पा. वडा नं. ४ जाउलाखेल बस्ने मार्टिन लामा ।
ऐ वडा नं. ९ बस्ने रमेशमान जोशी ।
का.जि.का.न.पा. वडा नं. २९ ठमेल बस्ने सावित्री लामा ।
§ प्रस्तुत मुद्दामा मुख्य प्रश्न नै विशेष प्रहरी विभागबाट पुनरावेदन दायर भएकोमा मान्यता दिन मिल्ने हो होइन भन्ने रहेको छ । प्रस्तुत भ्रष्टाचार मुद्दामा पुनरावेदन अदालत पाटन ललितपुरबाट मिति २०४९।५।१४ मा भएको फैसला उपर ०४९।१०।८ मा विशेष प्रहरी अधिकृत विशेष प्रहरी विभागबाट पुनरावेदन दायर भई दर्ता भएको देखिन आउ“छ । सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ मिति २०४९।९।८ देखि लागू भएको र उक्त सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को दफा २४(१) मा भएको व्यवस्था हेर्दा सरकारी मुद्दा सम्बन्धी ऐनको अनुसूची १ वा २ मा लेखिएका मुद्दा र कुनै ऐनमा श्री ५ को सरकार वादी हुने भनी लेखिएको मुद्दामा पुनरावेदन वा पुनरावलोकन वा तत्सम्बन्धी कुनै निवेदन दिनु पर्दा सम्बन्धित सरकारी वकीलले दिनेछ भन्ने व्यवस्था भएको र भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २५ ले परिच्छेद २ अन्तर्गत सजाय हुने कसूरको अभियोगमा चलाइने सबै मुद्दाहरु सरकार वादी हुने भन्ने व्यवस्था भएबाट प्रस्तुत मुद्दा सरकार वादी हुने मुद्दा नै देखिएकोले प्रस्तुत मुद्दामा स.मु.स. ऐन, २०४९ को दफा २४(१) ले पुनरावेदन दिने काम कर्तव्य सरकारी वकीलको भएको देखिन्छ । तसर्थ सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को दफा २४(१) मा अनुसूची १ वा २ मा लेखिएको मुद्दा र कुनै ऐनमा श्री ५ को सरकार वादी हुने भनी लेखिएको मुद्दामा पुनरावेदन वा पुनरावलोकन वा तत्सम्बन्धी कुनै निवेदन दिनु पर्दा सम्बन्धित सरकारी वकीलले दिनेछ भनेको र भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २५ बमोजिम प्रस्तुत मुद्दा श्री ५ को सरकार वादी हुने देखिएकोले प्रस्तुत मुद्दामा सरकारी वकीलले पुनरावेदन गर्नु पर्नेमा विशेष प्रहरी विभागबाट परेको पुनरावेदनबाट कारवाही गर्न नमिल्ने हुँदा पुनरावेदन खारेज हुने ।
(प्रकरण नं. ६१)
पुनरावेदकवादी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री बलराम के.सी.
विपक्षी प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री लोकभक्त शमशेर ज.ब.रा.
अवलम्बित नजीर : x
फैसला
प्र.न्या. सुरेन्द्रप्रसाद सिंह : मेरो श्रीमान दिलबहादुर लामा प्रहरी महनिरीक्षक छँदा विभिन्न श्रोतबाट प्रहरी प्रधान कार्यालयमा आउने सो रकम राख्ने काम मैले गरी गएको थिएँ । पाई कम्पनीको १९८३ को कालो डायरी हेरेँ । उक्त डायरीको पाना पानामा मैले आफ्नो हस्ताक्षरबाट लेखेको हुँ । डायरीमा लेखिएका हिसाबहरु एकाउण्टेण्ट मणिराज गुरुङले ल्याई मलाई दिएका रकमको हिसाब र कहिले कहिले श्रीमान स्वयंले टिपाई बक्सेको हिसाबहरु लेखिएको हुन । कुन कुन श्रोतबाट प्राप्त गरिएका रकमहरु हुन जानकारी छैन । उल्लेखित हिसाबहरु पति दिलबहादुर लामाज्यूमा प्राप्त भएका रकम र खर्च गरिएको टिपोट कागजहरु हुन । नं. ४ को कागजमा लेखिएको हिसाब र नं. ६ मा १२५४६४८।– सम्म लेखिएको हस्ताक्षर मेरो श्रीमानको हो त्यो देखि मुनि लेखिएको अंक र.नं. ७ को कागजमा लेखिएका सबै हिसाब र.नं. ८ तथा नं. २ का पछाडीको अंकका हस्ताक्षर मेरा हुन सो नं. २ को अगाडि पट्टिको रु. १७९३०००।– को हिसाबको फाँटवारी लेखिएको अहं मणिराज गुरुङको हस्ताक्षर हो नं. १३ को पहेलो कागजमा लेखिएको रकमहरु विभिन्न ठेकेदार र मणिराज गुरुङले दिएका हुन माल सप्लाई गर्ने विभिनन ठकेदारबाट प्राप्त हुन आएको कमिशनको रकमहरु हुन सम्झनाको लागि टिपी राख भनी श्रीमानबाट मलाई टिपाउनु भए अनुसार मैले टिपेको हो मणिराजलाई सबै थाहा छ । कमिशन बापतको भनी टिपी दिएको हो । सबै हिसाब हेरेँ पेज नं. ५० मा जोड रकममा रु. २७,०३,६०१।– को रकम सोही पेजको पछाडि पट्टि र पेज नं. ५६ को पछाडी मूल हिसाब भनी लेखिएको समेत गरी ३ ठाउँमा लेखिन गएबाट उक्त रकमहरु २ कलम कट्टी हुनुपर्ने र यस्तै पेज नं. ५० को पछाडी पट्टि ०४१ फाल्गुण २२ गते गुरुङबाट खुकुरी र जुत्ताको भनी लेखिएको रु. १,५०,०००।– कट्टी हुनु पर्ने गरी जम्मा रु. ५५,५७,२०२।– कटाउँदा बाँकी हुन आउने रु. २,५९,९७,०९७।– देखिएकोमा पनि रु. ४०,००,०५६।– को रकम डायरीको पाना नं. ४० मा उल्लेख गरिएको हुनाले दोहोरो पर्न आएकोले उक्त रकम कट्टा गरी पाउँ आम्दानीको रकम खास रु. ४०,००,०५६।– नै हो । मुचुल्काको ४ नं. हिसाबमा अंकित रकम ठेकेदारहरुबाट दिइएका कमिसनका रकमहरु हुन । जोडको अंक रु. ९०,६७,६६९।– लेखिएकोमा रु. १२,५४,६४८।– को हिसाब के हो सम्झना भएन । बाँकी अरु लेखिएको हिसाब अंक उक्त पाई डायरीमा लेखिएको अंकहरुको हिसाबहरु हुन् । मुचुल्काको ७ नं. मा कागजमा लेखिएका अंकहरु सबै ठेकेदारहरुबाट प्राप्त भएका कमिशनका रकमहरु हुनु पर्दछ । मलाई श्रीमानले टिपाए अनुसार लेखिएको हो । श्रीमान विदेश जानु हुँदाका बखत विदेशी मुद्रा अमेरिकी डलर सटही गर्दाको खर्चको हिसाब टिपिएको हो । १७,९३,०००।– को रकम आम्दानी भएकै रकम मध्ये कै रकमको हिसाब हो । कुन स्रोतबाट प्राप्त भएको श्रीमानलाई थाहा छ । १,२६,९०,७२१।– को रकम पनि श्रीमानले प्राप्त गर्नुभएकै आयस्रोतको रकमहरुकै टिपोट गरिएको हिसाब हो । पहेँलो कागजमा लेखिएको अंक रकमहरु आम्दानी भएकै हो । योडायरीमा लेखिएको तथा प्राप्त टुक्रा कागजहरु समेतमा लेखिएको आम्दानीका रकमहरु मैले लिने नगरेको टिपोटसम्म मैले गरी दिने गरेको प्राप्त गरेका आम्दानीका सबै रकमहरु दिदी बसुन्धरा लामाले राख्ने र श्रीमान स्वयंले पनि राख्नु हुन्थ्यो । यसरी आएका रकमहरु सबै घरकै स्टीलको दराजमा राखिन्थ्यो । खरिद भएको सम्बन्धमा मलाई थाहा भएसम्म निम्न अनुसार छ । जग्गा खरिदमा करिब रु. ७०,००,०००।– घर बनाउँदा करिब रु. १५,००,०००।– कारखानाको निर्माण र उत्पादन कार्यमा खर्च भएको रु. २५,००,०००।– जिप मोटर मोटर साईकल खरिदमा करिब १३,००,०००।– सुन र सुनका गहना खरिदमा रु. ३६,६३,०००।– र गहना २,५०,०००।– जति खर्च भएका छन् साथै सोही रकम मध्येबाट देवरको लागि रा.प.को चुनाव २९,००,०००।– जति खर्च भएको छ । घर खर्चमा पनि केही खर्च भएको छन । मैले थाहा पाएको रकम बरामद भएकै छ । अरु के कति जिन्सी र नगद छ मेरो श्रीमान र दिदीलाई बुझी पाउँ । यस बाहेक अरु आम्दानीका श्रोत मलाई थाहा छैन मेरो श्रीमानबाटै बुझी पाउँ रकमहरु राख्ने र खर्च गर्ने काम बसुन्धरा लामा तथा श्रीमान दिलबहादुर लामाबाट हुने गथ्र्यो । ५,०००।– नभई डलर हो भूलले डलरको चिन्हमा पौण्ड हुन गएको हो । सुनहरु मणि गुरुङ र राजेन्द्र ठकुरीले खरिद गरिएको हो मलाई खरिद गरेको ठाउँ थाहा छैन । लुकाउने काम परिवारकै सल्लाहबाट भएको हो परि आएको बेला काम लाग्ला भनेर । आफ्नो औकातको रकमभन्दा बढी रकमको पैसाबाट किनिएको हुँदा पक्राउ होला भनी लुकाएको हो । खरिद गरेको सुन के कति परिमाण थियो मलाई थाहा छैन २६ तोला वालाको टुक्रा थियो तर गन्ती एकीन साथ भन्न सक्दिन हिसाब सब ठिक छ । जोडकायम गर्ने समर्थन गर्दछु भन्ने समेत सावित्री लामाले प्रहरीमा गरेको बयान ।
२. ट्राफिक प्रहरीको नयाँ ड्रेसको व्यवस्थाको लागि आदेश भएपछि मैले आफ्नो बुद्धिले भ्याएसम्मको नयाँ ड्रेसको नमुनाहरु पेश गरेपछि हालको नयाँ व्यवस्था स्वीकृत भएको हो । लुगाफाटोको सम्बन्धमा ठेक्का सम्पूर्ण व्यवस्था विभागीय प्रक्रिया अनुरुप प्र.प्र.का. जिन्सी शाखाबाटै नै ट्राफिकमा प्राप्त भै सिलाउने कार्यहरु मेरो जिम्मा ट्राफिकमा प्राप्त भै सिलाउने कार्य हरु मेरो जिम्मा ट्राफिक प्रहरी कार्यालयमा नै गरेको हुँ । ठेक्का कोरियन कमपनी नाम थाहा भएन । एजेन्ट राजबहादुर गुरुङ हो कति कमिशन हुन्थ्यो त्यो प्रहरी प्रधान कार्यालयलाई नै प्राप्त भयो होला मलाई थाहा छैन । तर ठेकेदारले आफूले पाउने कमिशनको केही साँगा प्रहरी स्कुलको लागि बुझाउनु पर्ने थियो सो बापत बुझाएको हुनुपर्दछ । राजबहादुरसँग नगद रकम लिएको छैन। ठेकेदारको नाताले अन्य व्यापारीहरुसँग समेत राम्रो सम्बन्ध भएकोले मैले मेरो घर बनाउँदा आवश्यक चिजबिज पुर्याउन अनुरोध गरेको थिए । मुल्यपछि हिसाब गरी दिनपर्नेमा दिएको छैन यदि त्यसैलाई रकम लिएको हुन्छ भने लिएको हुँ । कति हुन्छ त्यो थाहा छैन सामानको हकमा पानी मेशिन काठपात सिमेन्त तथा बाथरुपको सामानहरु लिएको हुँ । ट्राफिकको ईन्चार्जको हैसियतले कुनै रकम दिएको छैन ठे. राज बहादुर गुरुङले के को हो सम्झना छैन । रु. २०,०००।– एक पटक मसँग गई मेरो उपस्थितिमा दिलबहादुरलाई दिएको हो के बापत थाहा छैन । (राजबहादुरले) मलाई जिन्सी नै लिए पनि निजले नगदमा हिसाब गरी नगदै लिएको भनी भनेको हुनुपर्छ । म जिन्सी शाखामा रहँदा स्टेशनरी माल सामान खरिद बाहेक कुनै ठेक्का भएन त्यसबेला कमिशनको कुरासम्म चलेको थिएन । सवारी ल्याण्डरोभर खरीद भएको थियो । कुनै कमिशन प्राप्त भएन । लिष्ट सप्लाई ठे.राजबहादुर गुरुङले गरेको हुनुपर्दछ । कमिशन इत्यादिको बन्दोवस्त प्र.प्र.का. बाटै हुनुपर्छ । तय अनुसार रु. ५०,०००।– राजबहादुरले बुझाउनु पर्ने मलाई बुझाई देउ भनी नगदै दिएको पैसा मैले बुझाई दिएको हुँ रकम मैले भू.पु.प्र.म.नि. दिलबहादुर लामालाई टक्र्याएको हुँ । दिलबहादुर लामा तथा जेठी श्रीमती माथी कारवाही भैसकेपछि म समेत माथी कारवाही होला मेरो घर खर्च चलाउन सजिलो हुन्छ राखिदिनु भनी श्रीमती सावित्री लामाले राख्न लगाउनु भएको रहेछ । म अनुसन्धानको सिलसिलामा महेन्द्र पुलिस क्लबमा भएकोले सो बारे थाहा भएन । एक्कासी खानतलासी भई बरामद हुँदा थाहा पाएँ उल्लेखित सामानहरु दिलबहादुर लामाकै भएको व्यहोरा अनुरोध गर्दछु । रु. ५,५९,०००।– नगद सुनको असर्फी थान २१ फाइन गोल्डनका लकेटहरु ३ थान नामदुल के.सी.को मुद्दती खाताको रसीद २ थान निता देउजाले ४०,०००।– बुझाएको सम्बन्धमा ठे.राजबहादुर गुरुङले प्रहरी महानिरीक्षकलाई दिनु भनी दिएको रकम हो उक्त रकम श्रीमती मार्फत पठाएको हुँ । सो रकम मालसमान सप्लाई गरेबापत नै हुनुपर्दछ । (दिलबहादुरले) म दिल्ली भ्रमण जाँदा मगाएको क्लक रोज (चिनीया) माटाका भाँडाहरु ल्याई दिए बापत लगेको ५,०००।– हो सो अन्यथा नभएको व्यहोरा अनुरोध गर्दछु । म ०३९ साल भाद्रमा ट्राफिक प्रहरीमा सरुवा भई त्यहाँ कार्य गर्दा पनि दिलबहादुर लामाले जिन्सी सामान ठेक्का सम्बन्धमा हेर्नु भन्ने आदेशानुसार ठेकेदारहरुलाई मिलाई बडी से बढी स्कुल बनाउँदा चन्दा संकलन गर्न प्रयत्नशील रहेको सिलसिलामा ठे.राजबहादुर गुरुङसँग् विभिन्न जिन्सी सामानहरुको ठेक्काको लागि दिलबहादुर लामासँग परिचय गराएको हुँ । निजहरु दुई मिली विभिन्न सामानहरु प्रत्येकमा के कति चन्दा दिने विषयमा सम्झौता भएको थियो । सो थाहा छैन ठे.राजबहादुर गुरुङले आ.ब. ०३९/०४० मा धेरै सामानहरुको ठेक्का प्राप्त गरेको हो सो बापत निज ठे.ले केही रकम सोझै र केही रकम पटक पटक गरी म मार्फत बुझाई दिनु भनी दिन्थे र मैले स्वयं दिलबहादुरलाई बुझाई दिन्थे धेरै समय भएकोले यति नै भनी किटान गर्न असमर्थ छु । मेरो विश्वासमा करिब १२ लाख देखि १५ लाख रु. नगद बुझाएको हुनुपर्दछ । निज बाहेक अन्य ठेकेदारसँग मेरो सम्पर्क नभएकोले केही भन्न सक्दिन । तर अन्य ठेकेदारहरुले समेत चन्दा स्वरुप रकम नगद बुझाएकै हुनुपर्दछ । दिलबहादुर लामाले मलाई पुरस्कार स्वरुप कुनै रकम दिएको छैन । नेपाल प्रहरीमा कोरियन सामानको प्रचलन सर्वप्रथम ठे.राजबहादुर गुरुङलाई ठेक्का दिई दिलबहादुर लामाले गरेको हो । उक्त कोरिएन पाटीको अन्य पार्टीहरुबाट प्राप्त कोटेशन भन्दा कम मोलको र बढी चन्दा दिने भएकोले दिलबहादुर लामाले नै लिन लगाएको हो को कस्को हो सो मलाई थाहा छैन । नम्बर प्लेट बनाउने बन्दोवस्त गर्न दिलबहादुरले मौखिक अर्डर दिएको थियो ठे.गुरुङ र म सँगै दिलबहादुर लामालाई भेट्न जाने हुँदा भूल परेको हो रु. २०,०००।– ठेक्का बापतकै चन्दा भनी बुझाई दिनु भनी ठे.राजबहादुर गुरुङले दिएको हुँदा मैले दिलबहादुर लामालाई बुझाई दिएको हुँ । ल्याण्डरोभर गाडी ब्रिटीस कम्पनीबाट एल.सी. खोली झिकाइएको हो मैले कमिशनको कुरा गरिन सोझै भएको हुनुपर्दछ । ठे.राजबहादुरले विभिन्न जिन्सी सामानको ठेक्का दिएको सो रकम १२ देखि १५ लाख हुनुपर्छ । ठे.बाट मैले घर बनाउँदा मलाई गाह्रो परेकोले रु. ६०,०००।– दिएको नगद लिएको छु । ठे. राजबहादुर गुरुङले ४/५ पटक मलाई बुझाई दिनु भनेको रकम मैले नगदै दिलबहादुर लामालाई क्वाटरमा बुझाएकी छु । मैले लत्ता कपडाको ठेक्का काम गरेको छैन ठे.लाई चन्दा बापत ट्राफिकको कपडासम्म यथासक्य सहयोग गर्न भनी दिएको हुँ । निजहरुबाट पैसा लिई दिलबहादुरलाई आफ्नो हातबाट दिएको छैन स्कुल चन्दाबाट बनी रहेको सुनेको हुँ र चन्दा प्र.प्र.का.बाट सङ्कलन भएको हो दिलबहादुर लामालाई पैसा लगिदिएको भन्ने प्रश्न छ । त्यस सम्बन्धमा पैसा वाहाँकै आदेशानुसार लगिदिएको हो । प्रहरी अधिकृतको हैसियतले त्यसरी रकम लगि दिनु नहुने हो तापनि यदि आदेश नमानेको भए त्यतिबेला प्रहरी नियम अनुसार कडा अपराधमा कारवाही हुने निश्चित भएकोले बाध्य भई आदेशको पालना गरेको हुँ भन्ने समेत चन्द्रप्रकाश देउजा प्रहरीमा गरेको बयान ।
३. २०३८ सालदेखि २०४३ सालसम्म प्र.प्र.का. मा कार्यरत थिएँ सो अवधिमा कानुन शाखामा थिएँ २०४० सालदेखि सामान शाखामा कार्यरत थिएा । जिन्सी शाखामा रहँदा विभिन्न अञ्चलहरुको माग अनुसार सामान खरिदको लागि विभागीय प्रमुखको आदेशानुसार टेण्डर र कोटेशन माग गर्ने स्वीकृत पार्टीबाट सामान मगाउन प्रक्रिया अपनाउने र सामानहरु आइसकेपछि भण्डार शाखामा दाखिल गराउने र प्रहरी इकाईको माग अनुसार सामान पठाई दिने भनी भण्डार शाखालाई आदेश दिनेकाम गरियो । स्वीकृत टेण्डरदाताहरुसँग प्रहरी स्कुल निर्माण लागि डोनेशन लिनु भन्ने विभागीय प्रमुखले मौखिक निर्देशानुसार कुन टेण्डरवालाले सोप्रहरी स्कुलको लागि के कति रकम डोनेशन लिनु भन्ने विभागीय प्रमुखले मौखिक निर्देशानुसार कुन टेण्डरवालाले सो प्रहरी स्कुलको लागि के कति रकम डोनेशन दिने हो स्वेच्छाले सोधी त्यसको प्रतिशत र अंक खुलाई विभागीय प्रमुखमा जाहेर गरिथ्यो डोनेशन दाता मध्ये कसैले बैंककमा जम्मा गरी भौचर नगदीमा पेश गर्दथ्यो भने कसैले नगद नै दिने गर्दथे । स्वीकृत टेण्डरदाताहरुले स्कुलको लागि दिने डोनेशन रकम बारे चन्द्रप्रकाश देउजालाई थाहा होला मैले डोनेशन उठाई प्रहरी महानिरीक्षकलाई बुझाएको र भउचरबाट जम्मा भएको डोनेशनको रकम मैले जाने सम्म नगदमा लगभग एक करोड पच्चीस लाख तत्कालीन आई.जी.पी. दिलबहादुर लामालाई दिएको हुँ । यस प्रकारको रकम कुनै बेला कार्यालयको कोठामा र कुनै बेला निजको निवासस्थानमा नै बुझाउथे मेरो कार्यकालमा बैंक भाउचरबाट कति डोनेशन जम्मा भयो सो हाल मलाई सम्झना छैन । सप्लायर रमेश मान जोशी सबै भन्दा ठूलो डोनर हो । मलाई सम्झाना रहेसम्म यो पार्टी सभन्दा ठूलो अरु डोनर भए जस्तो लाग्दैन । निजले पटक पटक गरी ६१ लाख ८८ हजार रकम दिएको हुन सक्तछ । मैले निजबाट नगदै बुझी तुरुन्तै दिलबहादुर लामालाई कार्यालयमा भएका बखत कार्यालय कोठामै र कार्यालयमा नभई क्वाटरमा गई बुझाउन गरेको थिएँ । मैले यस्तो रकम निजका परिवारको कसैलाई दिएको छैन । २०४२।४३ सालमा लत्ता कपडा बापत प्राप्त हुने डोनेशन रकम सोही दिन दिलबहादुरलाई बुझाउने गर्दथे । यसरी डोनेशनको रकम आई.जि.पी.दिलबहादुर लामालाई नबुझाए सम्म सम्बन्धित पार्टीको नाममा एल.सी. खोलिने काम र सामान खरिद गर्ने टिप्पणी दिलबहादुर लामाले सदर गर्नु हुन्थिएन । मैले कुनै पार्टीबाट कमिशन भनी रकम लिएको छैन विभागीय प्रमुख आई.जि.पि.को मौखिक आदेशानुसार डोनेशन उठाई आएको हो पार्टी रमेशमान जोशीको डोनेशनको रकम निकै ठूलो भएकोले मैले सो रकम पटक पटक गरी लामालाई दिएपछि मलाई पटक पटक बक्सीस दिएका थिए । सो रकम एकसाठी हजार थियो । सो रकम घर खर्च गरें । यस बाहेक अरु कुनै रकम कलम दिलबहादुर लामाले मलाई दिएका छैनन् । राजबहादुर गुरुङको दिलबहादुर लामासँग सोझै कारोबार लेनदेन हुन्थ्यो । एक पटक दिलबहादुरले तपाईलाई २० हजार देउ भनी भन्नु भएकोले यो रकम दिन आएको हुँ भनी मलाई एक पटक २० हजार दिएका थिए । त्यस बाहेक अरु कुनै लेनदेन राजबहादुरसँग मेरो भएको छैन । सो रकम बारे आई.जि.पि.मा जाहेर गर्दा ठिकै छ राख भनी भनेकाले मैले खर्च गरें। मैले २० हजार मात्र पाएको हुँ । राजबहादुर गुरुङले बढी रकम किन लेखाए तिनै जानून । अन्य सामान दिने पार्टीहरु निकै थिए । तर हाल मलाई नाम सम्झना छैन । कोटेशनमा सामान दिने व्यक्तिहरुको फेक्ट्री रेट ठेकेदारले राख्ने रेटको चार्ट लिई जसले बढी डोनेशन दिन्थ्यो । उक्त रकमको भिन्नतामा त्यसको रेट गोप्य राखी अन्य कोटेशन केही बढाएर राख्न लगाई कोटेशन लिने गरिन्थ्यो र यसरी बढी डोनेशन दिने पार्टीको कम मोल भएकोले सामान उसैको स्वीकृत हुन्थ्यो । उक्त भिन्नतामा डोनेशन यति दिनु पर्ने भनी पेश गरेको चार्ट हेरी तत्कालिन प्र.मा.नी.डि.वि. लामाको आदेश हुन्थ्यो र सोही कुरा ठेकेदारलाई मैले भन्थे र सोही अनुसार ठेकेदारबाट डोनेशन जम्म हुन्थ्यो पटक पटक दिल बहादुर लामाबाट ८१,०००।– हजार लिएको ४–५ लाख मलाई दिएको भनी भनेको हकमा ८१ हजारदेखि बाहेक पटक पटक गरी ७० हजार रुपैयाँ दिनु भएको थियो । ४–५ लाख दिउको छैन । सोझै दिलबहादुर लामाले ठेकदारहरुसँग दिल गर्ने हुनाले मैले अन्य कुनै रकम पाएको छैन । मेरो कार्यकालमा रमेशमान जोशी प्रतिनिधि डाउड कम्पनी कोरिया तथा आर.बी. गुरुङ दुसान कम्पनी कोरियाले तत्कालिन दिलबहादुर लामाको आदेशानुसार फेक्ट्रि रेट कोटेशन भिन्नता डोनेशनको रुपमा ठेकेदारले जम्मा गर्दथ्यो । दिलबहादुर लामाबाट १,५१,०००।– बाहेक अरु कुनै रकम लिएको छैन । ठे.राजबहादुर गुरुङ र ठे.रमेशमान जोशी बाहेक अरु सप्लायर्समा ओभर विलिङ्ग भएको मलाई थाहा छैन । ०४१।४२ तथा २०४३ को लत्ता कपडा खरिदबाट दिलबहादुरको आदेशानुसार करिब सवा करोड जति स्कूलको डोनेशनमा उठेको छ । राजबहादुर गुरुङले दिएको उल्लेखित गरेको रु. बीस बाईस लाख भन्दा बढी रकम दिएको हुनुपर्छ । म जिन्सी शाखामा खटिए पछि ठेकेदारहरुबाट यस प्रकारको रकम स्कूल निर्माणको लागि उठाई आएको हो । सो रकम उठाउन लामाले मलाई बोलाई आदेश दिएको हुँदा मैले उठाउने गरेको हुँ । सो बाट उठेको रकम रु. एक करोड पच्चीस लाख मैले पटक पटक गरी रकम प्राप्त भए अनुसार नगद नै दिलबहादुर लामालाई बुझाएको हुँ । यसरी प्राप्त हुने रकम प्राप्त भए अनुसार मलाई दिनु भनी लामाले निर्देशन दिनु भएको हुँदा निजलाई नै बुझाई आएको र सो रकम पटक पटक गरी कार्यालय कोठामा दिएको हुँ मलाई सम्झाना रहेसम्म कोटेशन दिने ठेकेदारहरुमा राजबहादुर गुरुङ रमेशमान जोशी प्रकाश शंकर श्रेष्ठ विश्वबहादुर जोशी मानबहादुर श्रेष्ठ विरेन्द्र श्रेष्ठ नै प्रमुख हुन् अरुको नाम हाल सम्झना भएन । ओभर विलिङ्ग गर्ने काम मैले गरेको हैन । ओभरविलिङ्ग गरी सामान लिनु कानुन अपराध हो। तर यसरी मोल बढाई ठेकेदारहरुबाट डोनेशन लिने काम डि.वि. लामाले गरेको हो । डोनेशन नलिई टिप्पणी नउठाउने हुँदा यो नियमित अनियमित के हो भन्ने कुरा डि.वि. लामालाई थाहा हुनु पर्ने हो । मैले आदेशानुसारको लाय अह्राएको काम मात्र गरेको हो भन्ने समेत रोहिणी कुमार सिंहले प्रहरीमा गरेको बयान ।
४. दिलबहादुर लामा मेरो ज्वाई हुनुहुन्छ । छोरी बसुन्धरा र सावित्री उहाँलाई विवाह गरी दिएको हुँ । कान्छी छोरी सावित्रीसँग मिलेर नामदुल कार्पेट इण्डष्ट्रिज खोली उद्योग गरी आएको छु । ज्वाईलाई थुनामा राखेको जानकारी छ । ज्वाईको अवकास भएप्छि कारखाना खोल्नको लागि भनी ५–५ टेलको १० टुक्रा सुन पटक पटक गरी दिनु भएको थियो । सो सुन लोप्साङलाई बिक्री गर्न लगाई सो रकम कारखानामा लगाई ज्वाई थुनामा पर्नु भन्दा १५–२० दिन अघि (दिलबहादुरले) ५–५ टेलको ४० टुक्रा सुन लुकाई राख्न भनी दिनु भयो । सो सुन सबै आफ्नो घरमा राख्न डर लागेकोले भदै कसाङ सेर्पाको घरमा ५–५ टेलको १० टुक्रा सुन राख्न दिएकोमा केसाङले पनि उस्को साथी छिरिङ छोमा सेर्पाको घरमा राख्न दिएकी छिन् । अरु ५–५ टेलको १५ टुक्रा सुन मेरो भाइ बुहारी फुर्पु डोमा लामाको स्वयम्भुको घरमा राख्न दिएकोमा फुर्पु डोमाले ५–५ टेलको ४ टुक्रा सुन बिक्री गरी आएको रकम मेरो जेठी छोरी बसुन्धरा लामालाई दिएको थियो । अरु ५–५ टेलको १५ बटा सुनको टुक्रा मेरो बौद्ध तिनचुलेको घरमा छ । ज्वाई पक्राउ भए पछि मैले चन्द्र प्रकाश देउजालाई पाँचलाख नगद र २१ वटा असर्फी समेत राख्न दिएको छु अरुलाई लुकाउन दिएको छैन । खान तलासी हुँदा सुन र नगद अन्यत्र राखेको कुरा खोल्दा केही होला भन्ने डरले नबताएको हुँ । खान तलासी गरी लगेकोबाट अब सुरक्षित होला भनी केही सुन आफ्नो घरमा ल्याई राखेको हुँ । घर बौद्ध तिन चुलेको दुबै छोरीको नाममा दर्ता गरी दिएको छु। जसमा एउटा घरपछि बनाएको हुँ । आफ्नो ईष्टमित्र र आमा सम्झी आउने हुनाले कसैबाट रकम मागेको छैन । र कसैले दिएका पनि छैन काम गरी दिएकोमा मेरो उपकारको गुण सम्झन्थे । भाइ बुहारीले ४ टुक्रा सुन बिक्री गरे भनी भने तापनि वास्तवमा बिक्री भएको रहेनछ । सो १५ टुक्रा ५–५ टेलको सुन मैले नै राख्न दिएको हुँ दिए अनुसार नै राखेका रहेछन् सो सुन बिक्री गरी जेठी छोरी बसुन्धरालाई पैसा दिए भनी भन्नु मेरा भ्रम भएछ । मेरो घरबाट बरामद भएको ३ तोलाको वाला घरमा काम गर्न मैते भन्ने बूढीको हो र अरु नगद मेरो घर बहालबाट प्राप्त भएको नगद हो । मुद्दति खाताको रकम मेरो पुरानो बचतको र घर भाडा प्राप्त बचतको रकम हो । मुद्दति खाताको रकम ८।१० वर्ष देखि जम्मा गरी आएको रकम हो भन्न समेत नामडुल के.सी.ले प्रहरीमा गरेको बयान ।
५. म.प्र.प्र.का को नगदी शाखामा ०३९ साल असोज देखि कार्यरत छु । प्र.प्र.का. को नगदी कारोबार बैंक खाता संचालन गर्ने हर हिसाब राख्ने जस्ता कार्यहरु गरी आएको छु । दिलबहादुर लामाको पालामा श्री ५ को सरकारको साधारण बजेट संचालन गर्नुको अतिरिक्त प्रहरी स्कूल निर्माणका लागि विभिन्न प्रहरी कार्यालयहरु समाज सेवी महानुभावहरु र प्र.प्र.का.का जिन्सी शाखा मार्फत ठकेदारहरुबाट आउने सानो तिनो रकम जस्तै छपाई कार्यालयहरु अरु माल सामान क्ले.फा. एजेन्टबाट प्राप्त रकम र विटिङ रिटिङ तथा साँस्कृतिक कार्यक्रमबाट आउने रकमहरुको हिसाब मैले राखी नगद दिलबहादुरको आदेशानुसार उहाँका श्रीमती बसुन्धरा लामालाई बुझाई आउने गर्दथे यस्तो सानो तिनो हिसाब म बाहेक अरुले राख्दैनथियो । उपरोक्त सानोतिनो हिसाबको श्रोतबाट आउने रकम बाहेक माल सामान सप्लाई गर्ने ठेकेदारहरुबाट स्कूल निर्माणको लागि भनी उठाई आएका ठूला ठूला रकमहरु रोहिणीकुमार सिंहले ठेकेदारहरुबाट उठाई आफैं लगी लामालाई दिने गरी आउनु हुन्थ्यो । सानो तिनो हिसाबको रकम र निर्माणबाट प्राप्त हुने रकम १ नं. फाइलमा चढाउने र दिलबहादुर लामाबाट चढाई राख्नु भनी दिनु हुने रकम जतिको हिसाब २ नं. फाइलमा सरबाट प्राप्त रकम भनी चढाउने गर्दथे । सो रकमहरुको श्रोत भने के के थियो मलाई थाहा छैन । दिलबहादुर लामाले अन्य किसिमबाट पनि आर्थिक फाइदा उठाउनु भएको कुरा उल्लेख गर्दछु । सो कुरा मैले प्र.प्र.का मा पनि प्रतिवेदन दिएको छु । त्यसमा प्र.प्र.का बुझेमा पनि प्रष्ट हुनेछ । ०३९।०४२ साल सम्म विटिङ रिटिङको साँस्कृतिक कार्यक्रमबाट उठेको रु. १३,७८,८३३।८६ बसुन्धरा लामालाई खातामा आम्दानी नबाँधी सोझै दिलबहादुरलाई साँस्कृतिक कार्यक्रमको बुझाएको रु. ७,००,०००।– साँगा स्कूलको निर्माण खाताबाट खाता र व्यक्ति सम्बन्धित नभएको भनी लामाले लिनु भएको रकम रु. १३,३१,०७२।१२ सामान नल्याई बिल मात्र बनाई ककनी स्कूलको हिसाबमा राख्नु भनी बिल मात्र दिई राखेको रु. ७,०४,६३६।२० समेत जम्मा ४१,१४,५४०।१८ का रकमहरु १ र २ नं. फाइल देखिन बाहेकका रकमहरु हुन् मैले सञ्चालन गर्ने गरेको १ नं. फाइलमा अन्दाजी ८।९ लाख जतिको हिसाब चढेको थियो र २ नं. फाइलमा एकिन सम्झना छैन र करोडौं हिसाब हुनुपर्दछ । सो फाइलको म सँग भएको २ प्रति डि.वि. लामा ०४३ साल जेष्ठ १ गतेबाट विदा बस्नु हुने भएकोले ०४३ साल बैशाख मसान्तको बेलुका जेठी श्रीमती बसुन्धरा लामालाई क्वाटरमा लगी बुझाई दिएको हुँ । सो को अर्को कपी श्री लामा ज्यूसँगै क्वाटरमा नै रहन्थ्यो । अरु नियमित किसिमबाट प्राप्त गरे नगरेको मलाई थाहा छैन । एक पटक हजार र पाँचसयका उहाँहरुका नोट साट्ने विषयमा कुरा हुँदा केही रकमको सुन किनी राख्ने भन्ने कुरा भई मलाई सुन खोज्नुस् भनी अराउनु भएको थियो । बजारमा भाउ बुझी खबर गर्न जाँदा प्रति तोला रु. १० बढी भयो भनी भन्नु भएबाट सुन किनी ल्याउने कुरा मबाट भएन । सोही कुरा खबर गर्न जाँदा लामा र उहाँको श्रीमतीहरु वेड रुपमा बसी सुनका टुक्राहरु तह लगाउँदै हुनुहुन्थ्यो। मेरो अन्दाजमा १६।१६ तोलाका पिस करिब १०० टुक्रा जति हुनु पर्ने देखेको थिएँ । सो सुन कहाँबाट प्राप्त भएको हो थाहा भएन ।
६. २ नं. फाइल आई.जि.पि.को निवास स्थानमा बसी तयार गर्ने गरेको हो । डि.वि.ले अराए अनुसार कुनै कुनै बेला सावित्री लामासँग बसी हिसाब किताब गर्ने गरेको थिएँ । डि.वि. लामाले एउटा कलमले हिसाब मिलेन भनी भन्दा उहाँको श्रीमतीहरु सँग बसी सोधनी गर्दा रु. १७,९३,०००।– को हिसाब मैले गरी दिएको हुँ सो रकम कस्तो किसिमको हो मलाई थाहा भएन । डि.वि. लामाको पालामा लाए अह्राएको काम नगरे कडा अपराध लगाई कारवाही गर्छु भन्नु हुन्थ्यो त्यसैको डरले पनि जे जस्तो काम अराए पनि गर्नु नै पर्ने भएकोले सो लाए अराएको कार्य गर्दै आए । लामाको आँखा छली कुनै आर्थिक लाभ मैले गर्न सकेको कुनै पनि बाटो थिएन । किनभने टिप्पणी सदर चेकको भुक्तानीमा वहाँकै दस्तखत हुनुपथ्यो । फाइल १ र २ नं. को रकम स्कूल निर्माणको बहाना देखाई लिएको हुँदा मलाई एक मुष्ट दिने कुरा भएन समयको एकिन भएन उहाँको कार्याकाल भरी पटक पटक गरी अन्दाजी १ लाख जति पुरस्कारको रुपमा लिएको हो । सो रुपैयाँ मैले आफ्नो घर खर्चमा खर्च गरेको छु । १ र २ नं. फाइल दिलबहादुरको आदेशानुसार खडा गरेको निजी फाइल हो डि.वि.लामाको मौखिक आदेशानुसार ठेकेदारहरुबाट लामाले भने अनुसारको रकम उठाई जम्मा पारी आई.जि.पि. निवासमा लगी बसुन्धरा लामालाई पटक पटक बुझाउनु पर्ने आदेश थियो । ठेकेदारहरुबाट प्राप्त रकम बैंक दाखिला गरिँदैनथ्यो । सो रकम पटक पटक गरी लामाको आदेशानुसार बुझाएको हुँ । सो बाहेक बैंक दाखिला गरी ठेकेदारहरुले भौचर दाखिला गर्न ल्याउँथे । यस्तो रकम समेत ठेकेदारहरुलाई फिर्ता दिन्छु भनी डि.वि. लामाले पटक पटक गरी रु. १३,३१,०७२।२२ बैंकबाट झिक्न लगाई आफूले मसँग लिनु भएको हो । डि.वि.ले बोलाएर अह्राएको हुँदा सो ठेकेदारहरुको रकम लिने र जम्मा गरी बुझाई दिने काम बाध्याता बस गरी आएको हुँ । एक दुई पटक आलटाल गर्दा कडा अपराधको अभियोग लगाई कारवाही गर्छु भनी डि.वि.लामाले भन्नु हुन्थ्यो त्यसैले लाए अराए अनुसार काम गरी आएको हुँ । ट्राफिकका श्री हिरण्य प्रकाशबाट रु. ४,००,०००।– गरी स्कूल निर्माणलाई भनी बुझी स्कूलको खातामा आम्दानी बाँधी आएको हो के बापतको रकम हो भन्ने कुरा मलाई जानकारी छैन भन्ने समेत मणीराज गुरुङको प्रहरीमा भएको बयान ।
७. मणी गुरुङवे मेरो श्रीमान्ले पनि मलाई रकम ल्याई राख्न दिने गरेको थियो । सो १ नं. र २ नं. फाइल राख्ने गरे नगरेको मलाई थाहा भएन । मणीराज गुरुङ मार्फत १६ तोलाको १८ टुक्रा र मेरो मामा पर्ने राजेन्द्र ठकुरीबाट १६ तोलाका २० टुक्रा जति खरिद भएको जस्तो लाग्छ । हाल एकिन सम्झना भएन निजहरुले कहाँबाट सुन खरिद गरे सो थाहा छैन । रकमको हिसाब बहिनी सावित्री लामा र श्रीमानलाई थाहा होला । आमा नामदुल के.सी.लाई १६ तोलाको १५ टुक्रा सुन राख्न दिएकोसम्म मलाई थाहा छ । त्यसपछि बहिनी सावित्री र श्रीमानले को कसलाई के कति सुन नगद चाँदी राख्न दिए मलाई थाहा छैन । मणिराज गुरुङले बेला बेलामा रकम ल्याई दिएको हो सो रकम मैले लिएर सामुहिक रुपमा खर्च गरेको हो । मैले निजी रुपमा लिएको छैन । मेरो श्रीमानले मणीले ल्याएको पैसा लिनु भने अनुसार लिएर राखेको हुँ भन्न समेत बसुन्धरा लामाले प्रहरीमा गरेको बयान ।
८. ०३९ साल देखि ०४३ साल बैशाखसम्म प्रहरी महानिरीक्षक पदमा बहाल छु । ३,०००।– ३,५००।– सम्म तलब भत्ता महिनावारी हुन्थ्यो । तलब भत्ता बाहेक ठमेलको घरको भाडा बापत ८।१० हजार आउँछ । सरकारी निवासमा बस्दा ४ वर्ष जति जापानीलाई घर बहालमा दिएको थिए । वहाँले सम्झौता गरेको थिएन । ७ जना परिवार छौं । पढाई शुल्क र खान लाउन खर्च ४।५ हजार मासिक पर्दथ्यो । जिप १ लाखको, कार करिब २ लाख, मोटर साइकल १–६० हजार पर्ने र एउटा मोटर साइकल बहाल छँदा नै किनेको अन्य मोटर साइकल र जीप बहाल छुटेपछि किेनेका भाइका चुनावमा २ वटा ल्याण्डलोभर किनेको थिएँ बेची सके । बहाल छँदा खानपीन रहनलहनका लागि मात्र २५,०००।– लाग्दथ्यो बैंक डिपोजिट तथा गाउँ घरमा लगानी छैन । श्रीमती सावित्री लामाका नाउँमा नेपाल बैंकमा १२।१३ हजार रुपैयाँ होला सासु नामदुक के.सी.को नाममा धेरै वर्ष अगाडि मुद्दती खाता खोलेको कति छ थाहा छैन । पैत्रिक सम्पत्तिका हकमा २०।३० मुरी धान आउने पातले खेत १५ मुरी धान आउने चामल भन्ने खेत १० मुरी आउने जलजले भन्ने खेत पचासे पाटा भन्ने १५–२० रोपनी गरगहनाको हकमा केही नभएको भाडा कुडाहरु पित्तल तामाका थिए अरु पैतृक सम्पत्ति केही नरहेको ठमेलको घर जग्गा बाहेक अरु सम्पत्ति केही खरिद गरेको छैन । गर गहना अं. २०।२५ तोलाको थियो होला म प्रहरी महानिरीक्षक भएदेखि हालसम्म नगदीको हकमा पटक पटक गरी किनेको सुन रु. ३६ लाखको गर गहना साढे दुई लाखको खरिद भएको होला । अचल सम्पत्ति खरिद गरेको मितिको सम्झना छैन । ठमेल शक्ति होटल छेउमा एक रोपनी जग्गा रु. २५ लाखमा मेरो नाममा खरिद गरेको ठमेलको पुरानो घरमा तला थप्न र पसल कवल झिक्ने काम गरेको अन्दाजी ५–७ लाख लागेको होला । धापासीमा बसुन्धरा लामाको नाममा ८ आना जग्गा बसुन्धरा लामाको नाममा किनेको अन्दाजी रु. ३ लाख ५० हजार जति कम्पाउण्ड बाल समेत गरी खर्च भएको । बौद्ध आरुवारीमा करिव ४ रोपनी १० आना जग्गा सावित्री लामाको नाममा अन्दाजी रु. ९० हजारमा खरिद भएको बौद्धको एक रोपनी जग्गामा बनेका बसुन्धरा लामा र सावित्री लामाको नाममा दर्ता रहेको घर जग्गा बनाउँदा सासु नामदुललाई १ डेढ लाल र काठपात झ्याल ढोका समेत मद्दत गरेको हो । तिलिङटारमा सावित्री लामाका नाउँमा लिएको ५ रोपनी १० आना र सोमा बनेको घर समेत र टहरा समेत गरी अं. ४०, ५० लाखमा बनेको । गोङ्गबुको जग्गा दिपान्जली छोरी र दिप्ताको नाउँमा किनेको करिब ७ रोपनी १५ जग्गा र सो मा बनेको घर समेतको ५०, ६० लाखमा बनेको र छोरो दिपक लामाको नाममा पटक पटक गरी अं. रु. १ लाखको खेतबारी नुवाकोट गेखुमा खरिद गरेको नगदी रकम मसँग छैन । परिवारको लालन पालन छोरा छोरीको खर्च समेत गरी अं. २५ हजार मासिक खर्च भएको छ । बढी खर्च ठेकेदारहरुबाट आएको कमिशनबाट खर्च हुन्थ्यो माथि उल्लेखित घर जग्गा त्यही रकमबाट खरिद गरिएको हो कमिशनको रकम रोहिणी कुमार सिं चन्द्र प्रकाश देउजा मणि गुरुङ मार्फत प्राप्त हुन्थ्यो कहीं ठेकेदारहरुले मलाई नै दिन्थे। सो रकमहरु मैले नै राख्तथे । को सँग कति प्रतिशत उठाउने सो कुरा रोहिणी कुमार सिंहलाई थाहा छ । टेण्डर फर्म दिने अवस्थामा नै को सँग के कति प्रतिशत लिने भन्ने कुरा रोहिणी कुमारले नै मिलाई ल्याउने गर्थे निजले यो चाही बढी दिने भन्दा बढी दिने व्यक्ति हो भने अनुसार बढी दिनेलाई नै दिने भन्ने टिप्पणीमा मैले निर्णय दिन्थे । ओभरविलिङ्ग भन्ने कुरा वास्तवमा मलाई थाहा नै थिएन । ओभरविलिङ्ग नभई बढी कमिशन दिने कुरा पनि नआउने कुन सामानमा ओभरविलिङ्ग भयो मलाई थाहा छैन । सबै रोहिणीकुमारले गर्थे म त्यसलाई समर्थन गर्थे प्रचलित मूल्य भन्दा बढी मोल कायम गरी सामान दिने ठेकेदारहरुमा रमेश, जोशी, गुरुङ, विरेन्द्र श्रेष्ठ, प्रकाश शंकर श्रेष्ठ हो । सानातिना सामान खरिद गर्दा कमिशन लिने गर्थे त्यसको हिसाब मणीले राख्तथे । यसरी प्राप्त गरेको रकम २ करोड, साँढे दुई करोड जति होला । हिसाब मणी र श्रीमती सावित्री लामाले राख्ने गर्दथे । मेरो श्रीमतीले राख्ने गरेको हिसाबको डायरी मेरो घर खान तलासी गर्दा लगी सकेको छ । मणीले राख्ने गर्ने १ र २ नं. को फाइल चाहीं उहीसँग छ । डायरी हेरे श्रीमती सावित्रीले लेख्ने गरेको हिसाब हो । आर.वि. गुरुङले क्वाटरमा कमिशनको रकम ल्याई दिन्थे । कतिपय ठेकेदारहरुको रोहिणी कुमार र मणि गुरुङ मार्फत रकम दिई पठाउँथे । रोहिणी र मणि गुरुङलाई ४–५ लाख दिएको हो । चन्द्र प्रकाश देउजालाई दिएको छैन । रकम संकलन गर्ने काममा उनीहरु पनि संलग्न भएकोले दिएको हो । चन्द्रप्रकाशले उठाएको रकम आफू र आफ्नै श्रीमती निता मार्फत म कहाँ पठाउँथे म प्रहरी महानिरीक्षक पदमा रहँदा अन्य कुनै श्रोतबाट व्यक्तिगत लाभ उठाएको छैन । ठेकेदारहरुबाट आउने रकम र फण्डहरुमात्र हो । १ नं. फाइलमा कार्यालयको सामानहरु खरिद गरेको कमिशनहरु राख्ने र २ नं. फाइलमा ठेकेदारहरुबाट आउने रकमहरु राख्दथे । नामदुल कार्पेट इण्डष्ट्रिजमा तयारी माल कच्चा पदार्थ र तानहरुमा समेत गरी अं. २०, २५ लाखको हुनुपर्दछ एकिनन् भएन । चन्द्रप्रकाशको घरबाट निस्केको नगद र सुन श्रीमती सावित्री लामाले राखेको हुनुपर्दछ एकिनन् भएन । चन्द्र प्रकाशको घरबाट निस्केको नगद र सुन श्रीमती सावित्री लामाले राखेको हुनुपर्दछ । अरुहरुको घरबाट निस्केको सुन सासूलाई राख्न दिएको हो । सासुले अरुलाई राख्न दिएको हुन सक्तछ । आफ्नो आर्जन भन्दा बढी सम्पत्ति भएकोले राख्न दिएको हो । ३६ लाखको सुन मणी मार्फत खरीद भएको हो । सुन खरिद गर्दा पछि नाफा हुन्छ भन्ने मेरो घर परिवारको सल्लाहबाट किनेको हो भाइको चुनावको लागि २५ लाख जति र कार्पेट फ्याक्ट्रीको लागि कच्चामाल र तयारी मालमा रु. २० लाख जति छोरी दिपान्जलीको विवाहमा रु. ७ लाख जति बैंक औषधी उपचार गर्न जाँदा रु. १० लाख जति कालो डायरी अनुसारको फुटकर खर्च ६,६८,७८५।– जति मणी गुरुङबाट किनिएको सुन बरामद भएको हो । मेरो घरबाट निस्केको डायरीमा नै आउने रकमहरु जनाउने मूल हिसाबहरु राख्ने डायरी भएकोले सो डायरीमा लेखिएको अन्दाजीको हिसाबहरु मात्र हो त्यस बाहेकका अन्य चिटहरुमा लेखिएको हिसाबहरु श्रीमतीले हर हिसाब गरिएको चिट मात्र हो नं. ४ मा उल्लेखित चिटमा लेखिएको अंकहरु मैले टिपेको हो सो रकमहरु २ नं. फाइलमा जनाई मुल डायरीमा आम्दानी बाँध्न लगाएको हुँ नं. १३ को चिटमा विरेन्द्र श्रेष्ठले गरेको हिसाब हो त्यसको रकम भनी २ नं. फाइलमा जनाई डायरीमा आम्दानी बाध्न लगाएको हुँ । पाउण्ड र अमेरीकी डलर मसँग पहिला देखिनै रहेको मणी मार्फत आउने गरेको रकम कालो डायरीमा १ करोड १६ लाख रकम हो । १३,७८,८३३।८६ मणी मार्फत प्राप्त भएको हो । अस्पताल भवन निर्माणमा रु. १७,६४,८१५।१२ को अन्तर पाए राशन, ठेकेदारसँग डाइरेक्ट मैले लिएको छैन । मणी मार्फत आएको हुन सक्तछ । ९,८६,७६९।१५ मणीले २ नं. फाइलमा चढाई दिएको रकम मध्यमा नै परेको रकम मैले प्राप्त गरेको हो । सो फिर्ता नगरेका रकम व्यहोर्न मञ्जुर छु । नारायण सिंहले ल्याएको रकम म्यादी प्रहरी सम्बन्धी भनी ल्याएको मैले प्राप्त गरेको हो । विरेन्द्र प्रहरी अस्पतालको लागि स्यानीटरी फिटिङको सामानमा एक लाख पचास हजार प्राप्त भएको हो सो सोहिणीकुमारले दिए जस्तो लाग्छ । १३,३१,०७२।१२ र ७,०४,६३६।–, १३,७८,८३३।–, ७,००,०००।– ८१,८२३।– ९,८६,७६९।१५, १,२६,९००।–, १,५०,०००।– समेतका रकमहरु कालो डायरीमा परेको मध्ये कै रकमहरु हुन मणीले यस्तै रकम बुझाउन ल्याउँथ्यो । त्यसैले यो डायरीमा मिल्न नसकेको हो । यस्मा भिड्दैन भिडाउन सक्तिन । केही सुन मणीबाट राजेन्द्र ठकुरीबाट खरिद भएको हो कालो डायरीमा भएको रकमहरु मात्र हिसाब मान्दछु उक्त रकम मैले हिनामिना गरी मारेको हो । यस्मा कानुनले जो ठहर्छ भन्ने समेत प्रतिवादी दिलबहादुर लामाले प्रहरी समक्ष गरेको बयान ।
९. आर्मी पुलिसका विशेषतः कपडा लता र अन्य सामानहरु सप्लाई गर्ने काम मेरो पक्ष मार्फत हुने गर्दछ । दिलबहादुर लामाको पालामा पटक पटक टेण्डरबाट ट्राफिक युनिफर्म लत्ता कपडा आदि खरिद हुँदा प्रहरी फण्डलाई भनी मैले पटक पटक रकमहरु दिएको थिएँ हाल सम्झना भएसम्म २० देखि २२ लाख सम्म रकम मैले दिएको हुनुपर्छ शुरुमा चन्द्रप्रकाश देउजा मार्फत ३–४ पटक रोहिणी कुमार सिंहबाट ४–५ पटक स्वयं दिलबहादुर लामालाई वहाँकै हातमा दिएको हुँ नगद नै दिने गरेको थिएँ । प्रत्येक पटक आर्थिक व्यवस्था हेरी ७५ हजार देखिन दुई लाख सम्म बढीमा दिने गरेको हुँ । यस प्रकार दिएको रकम प्रहरी सामाजिक कार्यमा लगाइन्छ भनी लामाले भन्नु हुनु हुन्थ्यो एस.पि. रोहिणी विरामी पर्दा २५–३० हजार र चन्द्र प्रकाश देउजालाई घर बनाउँदा नपुग ६० हजार दिएको हुँ । अन्य घटना हाल सम्झना भएन। उल्लेखित रकम आई.जि.पि. निवासस्थानमा उहाँलाई दिएको हुँ भन्ने समेत राजबहादुर गुरुङले प्रहरीमा गरेको बयान ।
१०. दिलबहादुर लामाको कार्यकालमा ५ वटा भ्यान र पछि १७ वटा जिप र ३ वटा लाइट डिउटी ट्रक सप्लाई गरेको थिए । यस सप्लाईमा श्री गोविन्दप्रधानले कुरा गर्नेलाई मिलाई दिए बापत निजलाई पटक पटक गरी सम्झना भएसम्मको १४,५,०००।– कमिशन १७ वटा जिप र ३ वटा लाइट डिउटी ट्रक अडर पाएको बेला पुलिस स्कूलको लागि ३०,०००।– तोकिएको बैंकको खातामा जम्मा गरी दिएको थिएँ । २० गाडी काठमाडौं आई सकेपछि गाडीको रंग नमिलेको सम्बन्धि सिलसिलामा लामाले बोलाई ककनि स्कूलको लागि थप चन्दा चाहियो र पछि पनि व्यापारहरु हुन सक्ने आस्वासन दिनु भएकोले मैले थप रु. ८६,०००।– चन्दा स्वरुप निज लामाको हातमा दिएको हुँ । हेमन्त लामाले झिकाएको एउटा जिपमा दिलबहादुर लामाले यस्तो गरी एउटा गाडी वहाँको मान्छेलाई मिलाई दिनु भनी अनुरोध गरेकाले डिस्काउण्ट दिन पर्ला मूल्यमा कम्पनी सँग मिलाई दिएको थिएँ जसले गर्दा सो गाडी बजार भाउ भन्दा ३०,०००।– जति सस्तो पर्दछ । कुल जम्मा २,६१,०००।– हाम्रो फरम तर्फबाट दिएको हुँ । यस बाहेक अरु रकम कलम दिएको छैन भन्ने समेत प्रकाश शंकर श्रेष्ठले प्रहरीमा गरेको बयान ।
११. दिलबहादुर लामाले मलाई बोलाई कुन मोटर राम्रो छ भनी सोध्नु भयो मैले ईसूजु कम्पनीको राम्रो छ भनी पहिला ५ थान दोश्रा पटक ट्रक जिप समेत गरी २० थान मोटर म मार्फत खरिद भएको हो मोटर खरिद गरे बापत एजेन्ट प्रकाश शंकर श्रेष्ठले पहिला पटक रु. ४५ हजार दोश्रो ४० हजार र ६० गरी जम्मा रु. १,४५,०००।– नगद मलाई दिएको सो रकम ३ पटक गरी आई.जि.पि. निवास्थानमा लगी श्रीमती सावित्री लामालाई दिएको थिएँ । यसको केही दिनपछि दिलबहादुरले मलाई रु. ५०,०००।– हजार बक्सीस दिनु भएको थियो । यस बाहेक दिलबहादुर लामाले व्यक्तिगत एउटा ल्याण्लोभर जिप म मार्फत रु. १ लाख ४५ हजारमा किन्नु भएको थियो त्यस बाहेक अरु कुनै कारोवार भएको छैन । उक्त ल्याण्डलोभर गाडीको बा.अ.म. १७५४ हो । उक्त मोटर खरिद गरेको मिति मलाई सम्झना भएन भन्ने समेत गोविन्दमान प्रधानले प्रहरीमा गरेको बयान ।
१२. दिलबहादुर लामाको पालामा ४ पटक करारनामा गरी पटक पटक गरी जम्मा २४०९ जोर १६५,१७९ र १८९ मा बुझाएको छु । यो काम पाएकोमा प्रति वोटा रु. ५।– को हिसाबले सागाको स्कुललाई भनी उक्त रकम पटक पटक बिल भुक्तानी प्राप्त भएको समयमा नगदी शाखामा मणिराज र एक पटक प्र.मा.नि.कै हातमा सो रकम दिएको मिति थाहा छैन । उक्त रकम ३५–४० हजार डि.वि.लामा कै हातमा दिएको स्कूल चन्दा बापत भनी पटक पटक गरी जम्मा रु. १,२०,३९५।– बुझाएको हो भन्ने समेत मानबहादुर श्रेष्ठले प्रहरीमा गरेको बयान ।
१३. दिलबहादुर लामाको पालामा हाम्रो फर्मले मध्यस्थता गरी कोरिया, सिंगापुर, भारत र हङकङबाट सामान मगाई प्रहरी कार्यालयमा सप्लाई गरेको हो । त्यस री सप्लाई गर्दा दिइने कमिशन हामीले दिने नभई सो सप्लायरले नै दिने गर्दछ । सो अवधिमा रु. ६१,८८,०००।– कमिशन बापत दिई आएका छौं । सो रकम सप्लायरको मानिस काठमाडौंको आई नगद नै साविक प्रहरी उपरीक्षक रोहिणी कुमार सिंहलाई दिएको हो । आ.व. २०४०/४१ मा गरेको सप्लाईको कमिशन बैंक दाखिल गरेको थियो । त्यस बाहेक अरु कमशिनका रकम अर्थात् ५९ लाख ८० हजार जति नगदै नै एस.पि. रोहिणीकमार सिंह मार्फत बुझाएको हो यस बाहेक अरु कुनै रकम कसैलाई दिएको छैन । ३ करोडको सप्लाई हाम्रो फर्म मार्फत भएको थियो । टेण्डर लिन आउँदा रोहिणीकुमार सिंहले पनि रकम कमिशन चाहिन्छ स्कूलहरु बनाउनु छ । त्यसैले शुरुमा नै रेट मिलाएर ल्याउनुस भनी भन्ने गरेका र सप्लाएरको प्रतिनिधि राखी जसले बढी कमिशन दिन कबूल गर्यो उसको नै विधि पुर्याएर टेण्डर पुराउने गरेको हुँदा हाम्रो प्रिन्सिपल सप्लायरले शुरुमा नै सो कमिशन समेतलाई ल्याई दिई रेट उल्लेख गरेको हुँदा व्यापार गर्न सकेकोहो । कमिशनको रकमले गर्दा बजार भाउ भन्दा बढी थियो । तर पनि टेण्डर दाताहरुमा हाम्रो रेट न्यून भएकोले हामीले काम पाएको हो । अरु रकम कसैलाई दिएको छैन भन्ने समेत रमेशमान जोशीले प्रहरीमा गरेको बयान ।
१४. मेरो फर्मको नाम डि.एस.एन. इन्टर नेशनल कं.प्रा.लि. हो यस्ले फोर्ड कम्पनीको डिलर सिप लिएको छ । दिलबहादुर लामाको पालामा पहिला पटक १ थान ट्रक बिक्री गरेको थिएँ सो ट्रक बिक्री गर्दा प्रहरी कर्मचारीलाई मद्रासमा कमपनीको खर्चमा तालिम दिएको थिएँ र त्यसपछि ट्रक मिनिबस र भेन समेत ७ थान र पछि १० थान ट्रक र मिनिवस बिक्री गर्दा स्कूल निर्माणलाई चन्दा भनी १०,०००।– रा.बा. बैंक नक्साल शाखामा रु. २,००,०००।– दिलबहादुर लामालाई उहाँको क्वाटरमा गई नगद नै प्रहरी फण्डमा भनि दिएको छु । रोहिणी कुमारलाई रमाइलो मेलामा चिठ्ठा राख्न भनी निजले भन्नु भए मुताबिक एक थान स्कुटर दिएको थिए । मैले २,१०,०००।– र स्कुटर मात्र हो । अरुलाई दिएको छैन भन्ने समेत विश्वबहादुर जोशीले प्रहरीमा गरेको बयान ।
१५. दिलबहादुरको पालामा २००० जोर बुटको अर्डर पाएको थियो । सो सामान सप्लाई गर्दा प्रति जोर १० का दरले स्कूल निर्माणलाई भनी रकम भुक्रानी लिँदा कट्टा गरी लिन्थे १० प्रति जोरका दरले हुने रकमको बेग्लै चेक बनाई पछाडी दस्तखत गराई एकाउण्टेण्टले लिने गर्दथे । अरु सप्लाई गरेको छैन । अरुलाई रकम दिएको छैन । रु. २०,०००।– बीस हजार लिई आएको छु भन्ने समेत जगन्नाथ प्रधानाङ्गले प्रहरीमा गरेको बयान ।
१६. दिलबहादुर लामाको पालामा १ पटक मात्र कम्बल सप्लाई गर्ने काम पाएको थिएँ सो पनि क्यान्सील भयो । स्कूल निर्माणको निमित्त म बाट रु. १,५०,०००।– चन्दा स्वरुप डि.वि. लामाले लिएको र नाम चन्दा दातामा लेखिनेछ भन्ने आश्वासन दिएको थियो भन्ने समेत नरप्रसाद मोक्तानले प्रहरीमा गरेको बयान ।
१७. एक पटक दिलबहादुरको लागि बैंकको होटल खर्च बापतको रु. ५०००।– र एक पटक इन्टर पोलको बैठकमा (द.अमेरिका) जाँदा आउँदा तीन जवानको टिकट हाम्रो एअर लाईन्सबाट लिए बापत कमिशनको रु. २१,०००।– निज लामा कै हातमा निजको निवासस्थानमा दिएको हुँ । जम्मा रु. २६,०००।– बाहेक अरु लेनदेन मैले गरेको छैन भन्ने समेत मार्टिन लामाले प्रहरीमा गरेको बयान ।
१८. दिलबहादुर लामाको पालामा उनी कमिज कपडा टेरिकटन कपडा उनी ट्यूनिकको कपडाहरु सप्लाई गरेको थिएँ । सामान सप्लाई गरे बापत रोहिणी कुमार सिंहबाट प्रहरी स्कूल निर्माणको सहयोगको लागि चन्दा माग गरेको हुँदा निज मार्फत पहिलो पटक ४५,४५,०००।– दोश्रा पटक १,८०,०००।– तेश्रा पटक १,२०,०००।– चौथा पटक २,२६,०००।– बैंक मार्फत रु. २०,०००।– दिएको हुँ । चन्दा स्वरुप बैंक मार्फत दिन्छु भन्दा नगदै माग गरेको हुँदा रु. ५,७१,०००।– नगद दिएको हुँ । २० हजारको भौचर मणीराजलाई दिएको हुँ । अरु रकम नगदै रोहिणी कुमार सिंहलाई दिएको हुँ पाई नोट बुकको नं. १३ मा चढेको कागज मैले लेखेको हुँ । पहेंलो कागजमा लेखिएको हिसाबको विवरण दिलबहादुर लामाले उनी कमिज ऊनी कम्बल, खाकी टेरिकटन टेयर ग्यास सप्लाई गर्दा चन्दाको रकम भनी निजको आदेश बमोजिम बेग्ला बेग्लै खुलाएर लेख भनेबाट लेखि दिएको हो भन्ने समेत विरेन्द्र श्रेष्ठले प्रहरीमा गरेको बयान ।
१९. दिलबहादुर लामाको पालामा ४०,०००।– मिटर खाकी जिन कपडा १०,९६८ रातो व्यारेट क्याप ३००० निलो वेरेट क्याप कोरियन झुलको सामान सप्लाई गरेको अन्य सामानमा X-Ray Machine IPC Photo copy Machine IPC; PT Shoose ६००० १५,००० मिटर खाडी जिन कपडा भनी मैले यसै कार्यालयमा क्गउउथि गरेको हुँ र म सँग डोनेशन भनी यी सबै सामान सप्लाई बापत जम्मा एक लाख सात हार पटक पटक गरी नगद दिएको हुँ । त्यस बखत रुपैयाँ लिई रोहिणीकुमार सिंहको कोठामा जाने र रोहिणीले अ.स.ई. चुडा लामालाई बोलाएर ल्याएको डोनेशन रकम के कति छ भनी गन्न लगाई राख्ने गर्थे र सोही अनुसार मैले दिएको रकम एस.पि. रोहिणी कुमार सिंह कहाँ दिएको हुँ भन्ने समेत वसन्त उपाध्यायले प्रहरीमा गरेको बयान ।
२०. दिलबहादुर लामाको पालामा ०४२ साल तिर उनी कमिज कपडाको ८००० मिटर सप्लाई गरेको थिएँ र सो बापत प्रहरी रकुलको सहयोगको लागि भनी ६०,०००।– चन्दा दिएको थिएँ रकम जम्मा गर्ने खाता नं. खोज्न जाँदा रोहिणीकुमार सिंहले रकम लिएर आउनु भएको छ भनी सोद्धा छ भनी उत्तर दिँदा त्यो रकम यहाँ छाडी जानुस पछि हामी आफैं जम्मा गरुँला भन्दा नगदै रोहिणीकुमार सिंहलाई दिएको हुँ भन्ने समेत कैलाशध्वज खाँडले प्रहरीमा गरेको बयान ।
२१. म श्री न्यू ओरियण्टल कलकत्ताको काठमाडौंमा काम गर्दछु र कलकत्ता पोर्टबाट नेपाल प्रहरीको क्लियरिङ र फर्वाडिङको काम गरेको छु । हाम्रो अफिस कलकत्तामा मात्र छ र म यहाँ सम्पर्क प्रतिनिधि मात्र हुँ कलकत्ता अफिसले पठाएको खबर अनुसार सन् १९८५ मा क्लियरिङ गरेको थियो र यस सालमा जम्मा रु. ६०,२१,६८८।– अस्पताल र स्कूल निर्माणको लागि चन्दा र सन् १९८६ सालमा १,९२,२२,६२३।– ने.रु. चन्दाको रुपमा नगदी रोहिणी सिंहलाई बुझाएको छ । जम्मा २,५२,४४३।११ छ भन्ने समेत विनोद शाहले प्रहरीमा गरेको बयान ।
२२. म र मेरो साथी लिविन्द्रमान शाक्य ग्रेहाउण्ड इलेक्ट्रोनिकसँग प्राविधिक काममा सम्बन्धित छौं । ०३८ साल देखि कोडान कं. को वायरलेस सेट नेपाल प्रहरीमा सप्लाई गरिएको हो । तर पछि डि.वि. लामाको पालामा आई कोडान सेटको सट्टा वा अरु नै सेटको खरिद गर्न लागेकोले लिविन्द्रमानले तोमबहादुर कार्की मार्फत भरत गुरुङसँग सम्पर्क राख्दा मैले डि.वि. लामालाई भनि दिएको छु । भेट्न जानु भनी भनेकाले लिविन्द्रमान डि.वि. लामा कहाँ सम्पर्क राख्न जाँदा कोडान सेट नै खरिद गरियो सो बापत भरत गुरुङलाई ९४,०००।– दिई आएको हो । डि.वि. लामाले अब उप्रान्त भरत गुरुङलाई फोन गराउनु पर्दैन भनी ६,००,०००।– (छ लाख) डि.वि. लामालाई उहाँकै क्वाटरमा पटक पटक बुझाई आएको हो । सो रकम बुझाए बापत कुनै निस्सा पाएको छैन । अरु कसैलाई यस बाहेक दिएको छैन भन्ने समेत रामकृष्ण मानन्धरले प्रहरीमा गरेको बयान ।
२३. दिलबहादुर लामाको पालामा स्टेशनरी सामान सप्लाई गरेको थिए २ लाख जतिको थियो । सो सामान सप्लाई गरे बापत स्कूलको लागि चन्दा भनी रु. ९०००।– हजार पटक पटक गरी नगदी शाखाका मणिराज गुरुङलाई दिएको हुँ । सो बाहेक अन्य रकम कसैलाई दिएको छैन भन्ने समेत शुशिल प्रधानले प्रहरीमा गरेको बयान ।
२४. दिलबहादुर लामाको कार्यकालमा प्र.प्र.का. को लागि २ लाखको स्टेसनरी पटक पटक सप्लाई गरेको थिए । सामानको रकम भुक्तानी लिँदा मूल्याको १० प्रतिशतका दरले २०,०००।– बिस हजार पटक पटक गरी रोहिणीकुमार सिंहलाई दिएको हुँ स्कूल र हस्पिटल चन्दा चन्दा भनी दिएको हुँ । यस बाहेक अरु रकम छैन भन्ने समेत भोलाराज पाण्डेले प्रहरीमा गरेको बयान ।
२५. दिलबहादुरको कार्यकालमा मैले पटक पटक गरी करिब १,५०,०००।– को छपाई सम्बन्धी काम पाएको थिएँ । सो काम पाए बापत स्कूलको लागि चन्दा चाहिन्छ भनी माग गरेको हुँदा चन्दा बापत पटक पटक रु. १५,०००।– नगदै रोहिणीकुमार सिंहको हातमा दिएको थिएँ भन्ने समेत बाबुकाजी बज्राचार्यले प्रहरीमा गरेको बयान ।
२६. दिलबहादुर लामाको पालामा छपाई सम्बन्धी काम पाएको थिएँ पटक पटक गरी ५०००।– नगदै स्कूलको लागि चन्दा भनी चुडादेव लामालाई दिएको हुँ । सो बाहेक अरु रकम दिएको छैन भन्ने समेत उमेशप्रसाद कर्माचार्यले प्रहरीमा गरेको बयान ।
२७. प्र.प्र.का.लाई कन्डेन्समिल्क मात्र सप्लाई गरेको सम्झना छ । अरु सप्लाई गरेको थाहा छैन । प्रहरी फण्डलाई भनी ६२,५१५।२० दिएको छु । सो रकम मणिराज गुरुङलाई दिएको हो भन्ने समेत हरिबहादुर प्रधानले प्रहरीमा गरेको बयान ।
२८. दिलबहादुरको कार्यकालमा क्लीयरिङको काम गरेको थिएँ सो काम गरे बापत प्राप्त रकम मध्ये पटक पटक गरी स्कूल निर्माणलाई रु. १८,०००।– प्र.अ. रोहिणीकुमार सिंहलाई दिएको थिएँ। एक पटक कलकत्ताको पार्टी बैद्य अरगनाइजेशनले पत्र पठाउँदा नोक्सान परेकोले उक्त पार्टी काठमाडौं आउँदा निजबाट स्कूल निर्माण भनी ५०,०००।– दिएर रोहिणी कुमार सिंह मार्फत बुझाएको हो । मेरो फर्मबाट जम्मा ६८,०००।– बुझाएको छ अरु छैन भन्ने समेत अजितबहादुर खुलालको प्रहरीमा गरेको बयान ।
२९. डि.वि. लामाको पालामा ०४०।४२ साल सम्म पटक पटक तेलको ठेक्का पाएँ । काम पाएबापत पटक पटक १५,०००।– रा.बा. बैंक प्रहरी फण्डमा जम्मा गरी दिएको ७ हजार नगद भण्डार शाखामा देवबहादुर हस्ते चन्दा बुझाएको छु । पटक पटक गरी ४० हजारको सामान भण्डार शाखामा बुझाएको हुँ भन्ने समेत चन्द देव मानन्धरले प्रहरीमा गरेको बयान ।
३०. दिलबहादुर लामा उपर भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, ६, ७(१) १०, १३, १४(क) १५ र १६ (ग) अन्तर्गत चन्द्रप्रकाश देउजा र रोहिणीकुमार सिंह उपर भ्र.नि. ऐन, २०१७ को दफा ४, ५, ६, ७(१) र १६(क) अन्तर्गत मणिराज गुरुङ उपर भ्र.नि. ऐन, २०१७ को ४, ६, ७(१) १३ र १६(क) अन्तर्गत बसुन्धरा लामा सावित्री लामा समेत २ उपर भ्र.नि. ऐन, २०१७ को दफा ८ र १६ (क) अन्तर्गत रामकृष्ण मानन्धर उपर भ्र.नि.ऐन, ०१६ को दफा ५, १० र १६ (क) अन्तर्गत गोविन्दमान प्रधान उपर भ्र.नि. ऐन, २०१७ को दफा ४, ८ र १६(क) अन्तर्गत नामदुल के.सी उपर भ्र.नि. ऐन, २०१७ को दफा १६ अन्तर्गत राजबहादुर गुरुङ, प्रकाश शंकर श्रेष्ठ, रमेशमान जोशी, विश्वबहादुर जोशी, जगन्नाथ प्रधानाङ्ग नरप्रसाद भुक्तान, विरेन्द्र श्रेष्ठ, बसन्तप्रसाद उपाध्याय, कैलाश ध्वज खाँड, विनोद शाह, शुशिल प्रधान, भोलाराज पाण्डे बाबुकाजी बज्राचार्य, उमेशप्रसाद कर्माचार्य, हरिबहादुर प्रधान, अजितबहादुर खुलाल चन्द्रदेव मानन्धर, मार्टिन लामा मानबहादुर श्रेष्ठ समेत १९ उपर भ्र.नि. ऐन, २०१७ को दफा ५ र १६ (क) अन्तर्गत कारवाही भै हदैसम्म सजाय हुन र दफा २९(१) अन्तर्गत र गैरकानुनी तरिकाले आम्दानी गरेको देखिएको जम्मा रु. ४,३५,२६,९०९।– प्रहरी प्रधान कार्यालयको विभिन्न मितिका पत्रहरु समेतबाट प्रहरी प्रधान कार्यालयको बजेट तथा फण्डमा दाखिल भएको र दाखिल हुनुपर्ने रकमहरु गैर काननुी तरिकाले आफू तथा आफ्ना श्रीमती समेतले लिनु खानु गरेको ५४,९८,८८४।३३ रामकृष्णबाट लिएको रु. ६,००,०००।– नरप्रसादबाट रु. १,५०,०००।– राजबहादुरबाट श्रीमतीहरुलाई लिन लगाएको रु. १०,०००।– समेत जम्मा रु. ७,६०,०००।– सो मध्ये रामकृष्णबाट लिएको रु. ६,००,०००।– मध्ये ९७,५००।– मात्र डायरीमा आम्दानी देखाई अरु आम्दानी नै नदेखाई लिनु खानु गरे गराएको रु. ६,६२,५००।– कुल जम्मा बिगो रु. ४,९६,८८,२९३।– सो मध्ये विटिङ रिट्रटको रु. १३,७८,८८३।८६ राजबहादुरबाट बसुन्धराले लिएको रु. ५०००।– रोहिणीलाई दिएको रु. १,३१,०००।– मणीलाई दिएको रु. १,००,०००।– गोविन्दमानलाई दिएको रु. ५०००।– राजबहादुरबाट सावित्रीले बुझेको रु. ५०००।– समेत जम्मा रु. १६,२४,८३३।८६ कट्टा गर्दा बाँकी रहन आएको जम्मा बिगो रु. ४,८०,६३,४५९।४७ निज दिलबहादुर लामाबाट असुल उपर गर्नु पर्ने हुँदा दायरी र अन्य कागजातबाट गैरकानुनी तरिकाले आमदानी गरेको रु. ४,३२,९०,९०९।– रामकृष्ण र नरप्रसाद मोक्तानबाट प्राप्त गरेको आम्दानी नदेखाएको रु. ६,५२,५००।– समेत जम्मा बिगो रु. ४,३९,४३,४०९।– दिलबहादुर लामाबाट असुल उपर गरी जफत गरी श्री ५ को सरकारको सर्वसञ्चित कोषमा दाखिल हुन र बाँकी रु. ४१,२०,०५०।४७ प्रहरी प्रधान कार्यालयको विभिन्न शीर्षकमा जम्मा भएको र जम्मा गर्नु पर्ने रकम हुँदा रु. ४१,२०,०५०।४७ पनि दिलबहादुर लामाबाट उपर गरी प्र.प्र.का.लाई दिलाई भराई पाउँ । बसुन्धरा लामाले लिनु खानु गरेको विटिङ रिट्रिट कार्यक्रमको रु. १३,७८,८३३।८६ राजबहादुरबाट लिनु खानु गरेको रु. ५०००।– समेत जम्मा रु. १३,८३,८३३।८६ निज बसुन्धरा लामाबाट असुल उपर गरी सो मध्ये विटिङ रिट्रिटको रु. १३,७८,८३३।८६ प्रहरी प्र.का.लाई दिलाई भराई बाँकी रु. ५०००।– श्री ५ को सरकारको सर्वसञ्चित कोषमा दाखिल गरी पाउँ दिलबहादुर लामासँग लिएको रु. १,३१,०००।– राजबहादुरबाट लिएको रु. २०,०००।– समेत जम्मा १,५१,०००।– रोहिणीकुमार राजबहादुरबाट लिएको रु. ६०,०००।– र रु. ६०,०००।– बराबरको पानी मेसिन समेतको मालसामान गरी जम्मा रु. १,२०,०००।– चन्द्र प्रकाश देउजाबाट दिलबहादुर लामासँग लिएको १,००,०००।– मणिरज गुरुङबाट दिलबहादुर लामाबाटै लिएको रु. ५,०००।– गोविन्द मानबाट राजबहादुर गुरुङसँग लिएको ५,०००।– सावित्री लामाबाट असुल उपर गरी जफत गरी सर्वसञ्चित कोषमा दाखिल गरी पाउँ साथै भ्र.नि. ऐन, २०१७ को दफा १६(ग) अन्तर्गत दिलबहादुर लामा चन्द्र प्रकाश देउजा, नामदुल के.सी. पेमा लामा, छिरिङ छोपो शेर्पा समेतको घर तथा डेराबाट बरामद भएको र नेमलालले लोप्साङ गुरुङ मार्फत दाखिल गरेको २०४४।६।२२।५ को जोखतौल मुचुल्कामा उल्लेख भएका सुन तथा सुनका गहनाहरु र रुपैयाँ समेत र प्रहरी नियमावलीको दफा ८.३ को विपरीत खरिद गरेको म.प्र.क्षे.का.को २०४४ ४।२६ को पत्र हाल रोक्का रहेका पत्रमा उल्लेखित जग्गाहरु तथा सो जग्गामा बनाइएका घरहरु र दिपान्जली लामा र दिपक लामाको नामको दर्ता भएको मोटर थान ३ मोटर साईकल थान २ दिपक कुमार लामा, दिलबहादुर लामा, बसुन्धरा लामा, सावित्री लामाको नाममा दर्ता भएका बन्दुकहरु थान ७ वटा र बन्दुकका गोलीहरु समेत जफत गरी लिलाम बिक्री जो जे गर्नु पर्छ गरी आएको रकम सर्वसञ्चित कोषमा दाखिल गरी पाउँ । चन्द्रप्रकाश, रोहिणी र मणिराज गुरुङ, गोविन्दमान प्रधान, बसुन्धरा लामा, सावित्री लामा, नामदुल के.सी. र ठेकेदारहरुलाई समेत भ्र.नि. ऐन, २०१७ को दफा १६(क) को प्रतिबन्धात्मक वाक्यांश अनुसार सजाय समेत हुन अनुरोध छ भन्ने समेत प्रहरी आरोपपत्र ।
२९. प्रहरीमा भएको बयानको जवाफमा हस्ताक्षरसम्म मेरै हुन विशेष प्रहरीमा अरुलाई कुटपिट गरेको देखेकोले डर, त्रासले प्रहरीले जे जसो भन्दछ सो अनुसार लेखि दिएको सम्म हुँ । म एपोलो इन्टरनेशनल फर्मको कर्मचारी मात्र हुँ प्रहरी फण्डलाई रकम दिने अधिकार मलाई छैन मैले दिएको पनि छैन । फर्मको भुक्तानी लिन प्रहरी प्रधान कार्यालयमा जाने सम्म गर्थे कानुनले लिन नहुने रकम फर्मको तर्फबाट प्रहरीलाई दिएकै नहुनाले आरोपित कसूरमा मलाई सजाय गरिनु पर्ने होइन भन्ने समेत हरिबहादुर प्रधानले अदालतमा गरेको बयान ।
३०. प्रहरीमा भएको बयानको जवाफको हस्ताक्षरसम्म मेरा हुन मलाई प्रहरीहरुले डर त्रास देखाई यो यति लेख भनेबाट लेखि सम्म दिएको हुँ । प्रहरी प्रधान कार्यालयको लागि मैले स्टेशनरी सामान सप्लाई गरेको सम्म हुँ । २ लाखको सामान सप्लाई गरेको होईन । सामान शाखामा इन्चार्ज रोहिणी कुमारलाई १० प्रतिशतले हुने रु. बिस हजार दिएको होइन । म त्यति चन्दा दिन सक्ने पनि थिइन मैले प्रहरी कार्यालयमा जे जति सामान दिएँ त्यसको कमिशन पनि मैले कसैलाई दिएको छैन । तसर्थ मैले आरोपित कसूरमा सजाय पाउनु पर्ने होइन भन्ने समेत भोलाराज पाण्डले अदालतमा गरेको बयान ।
३१. प्रहरीमा गरेको बयानको जवाफमा हस्ताक्षरसम्म मेरै हो । मैले प्रहरी प्रधान कार्यालयमा छपाई सम्बन्धी काम गरे बापत पाउने रकम लिन जाँदा स्कूललाई चन्दा चाहिन्छ भनी चुडादेवले भनेबाट २ पटक गरी ५,०००।– लिए भर्पाई माग्दा दिएनन् स्कूललाई चन्दा सम्म दिएको हुँ । कर्मचारीसँग मिली दुरुत्साहन गरी सो रकम मैले दिएको नभै आफू इच्छाले दिएको हुँदा आरोपित कसूरमा सजाय पाउनु पर्ने होइन भन्ने समेत उमेशप्रसाद कर्माचार्यले अदालतमा गरेको बयान ।
३२. वि.प्र.वि. मा गरेको बयानमा जवाफका हस्ताक्षरहरु सबै मेरा हुन् मलाई ४ दिनसम्म पुलिस क्लबमा राखी १ रात हनुमान ढोकामा थुनामा राखी दिलबहादुर लामाले बनाएको स्कूल अस्पताललाई चन्दा दिएको हुँ भनी लेखिदेउ तिमीलाई तारेखमा पनि बस्नु पर्दैन हामी छाडी दिन्छौं । लेखि नदिएसम्म थुनामा राख्छौं भनेबाट प्रहरीले भने अनुसार मैले लेखि दिएको सम्म हुँ । प्रहरी प्रधान कार्यालयको लागि मैले पटक पटक गरी ट्रक, मिनी बस, क्रेन गाडी, कोटेशनद्वारा सप्लाई गरेको थिए । सो बेला स्कूलको लागि चन्दा भनी करिब दश हजार बैंकमा जम्मा गरेको थिएँ । रोहिणीकुमारले भने मुताविक श्री ५ मुमा बडामहारानी सरकारको शुभजन्मोत्सवको मेलाको लागि भनी १९,५००।– जतिको स्कुटर खरिद गरी दिएको सम्म हुँ । दिलबहादुर लामालाई रु. २,००,०००।– दिएको होइन । अरु कसैलाई केही रकम दिएको छैन । दिलबहादुर लामाले किन त्यस्तो लेखाउनु भयो वहाँले नै जान्नुहोला । पाई डायरीको पेज नं. ५० मा लेखिएको सम्बन्धमा मलाई थाहा छैन । प्रहरी प्रधान कार्यालयको लागि बस र ट्रक गरी १८ थान मात्र सप्लाई गरेको हुँ । सो गरे बापत दिलबहादुर लामालाई रु. ३,१०,०००।– दिएको छैन मैले कमिशन बापत नगद नदिएको र दुरुत्साहन र मिलोमतो नभएबाट आरोपित कसुरमा मैले सजाय पाउनु पर्ने होइन । दश हजारको भौचर बाहेक रोहिणीकुमारलाई दिएको छैन । किन त्यस्तो लेखे उनै जानुन् भन्ने समेत विश्वबहादुर जोशीले अदालतमा गरेको बयान ।
३३. प्रहरीमा भएको बयान सुने जवाफको हस्ताक्षर मेरा हुन् प्रहरीले डायरीमा लेखेको हिसाब मिलाउन पर्यो भनी चन्दा दिनु कुनै अपराध होइन भन्ने प्रलोभन थुनामा राख्ने डर त्रास देखाई यो यति लेख्नुपर्छ भनी भनेबाट प्रहरीले जे भन्छन् मैले सोही कुराको जवाफ लेखी दिएको हुँ । प्रहरी प्रधान कार्यालयको टेण्डर बमोजिम उनी कम्बल समेतका समान मैले सप्लाई गरेको हुँ । पाँच लाख एकहत्तर हजार चन्दा भनी रोहिणीकुमार सिंहलाई दिएको होइन । तत्कालिन प्र.मा.नि. दिलबहादुर लामाले मलाई बोलाई प्रहरी स्कूल तथा अन्य कल्याणकारी काम गर्न लागेको छु भनी चन्दा माग गर्नु भएको थियो । मैले नक्साल वाणिज्य बैंक स्थित स्कूलको खातामा रु. २०,०००।– चन्दा जम्मा गरी मणिराज गुरुङलाई जानकारी गराएको थिएँ पछि दिलबहादुर लामाले मलाई बोलाई तपाईको चन्दा ज्यादै कम भयो भन्नुभयो मैले त्यो भन्दा बढी दिन सक्तिन भने त्यसपछि वहाँले यी खेश्रा साफी गर्नुहोस् भनी कागज दिनु भयो आई.जि.पि. जस्तो मानिसले भनेकोले साफी गरी वहाँलाई छाडी म फर्के । पछि फेरि मलाई बोलाई थप चन्दा माग गर्नु भयो । हामीले बढी चन्दा दिन सक्तैनौ बरु विदेशी कम्पनीलाई अनुरोध गरेमा पाउन सकिए ला भनी सुझाव दिएको थिएँ । बेलायतको हिल्द व्रदर्श लिं लाई प्र.प्र.का.बाट सम्पर्क भएछ कम्पनीबाट मेरो ठेगानामा अं. ३०० जातको बेलायती पाउण्डका ड्राफ्ट प्राप्त भयो सो ड्राफ्टको रकम प्र.प्र.का. को ने.बैं.लि. मा रहेको खातामा जम्मा गरेको थिएँ । पछि अल्का मेलामा राख्न भनी प्रहरी महिलाहरुको अनुरोधमा स्रिङ्गर सोइङ मिसिन २ र पंखा १ थानसम्म थप चन्दा दिएको हुँ । देखाइएको पहेंलो रंगको कागजमा लेखिएका अंक अक्षर मेरा हुन आई.जि.पि.ज्यूले भने बमोजिम साफी गरेको कागज यही हो । सो कागजमा लेखिए अनुसारको प्रतिशतमा चन्दा दिएको छैन । उक्त कागजमा उल्लेख भएको सामान सप्लाई गर्न कम्पनीले अर्डर पनि पाएको छैन । मैले सो भन्दा बढी चन्दा दिएको छैन पाई डायरीमा मेरा नाम कस्ले किन उल्लेख गरे मलाई थाहा छैन । मैले कुनै अपराध जन्य काम गरेको छैन चन्दा दिन अपराध नमानीले हुनाले प्रहरी प्रतिवेदन दावी अनुसार मैले सजाय पाउनु पर्ने होइन भन्न समेत वीरेन्द्र श्रेष्ठले अदालतमा गरेको बयान ।
३४. प्रहरीमा भएको बयानको जवाफको हस्ताक्षरसम्म मेरो हो व्यहोराको हकमा समय समयमा खान नदिई यातना दिई उनीहरुले भनेको कुरा स्वीकार नगरेमा थुनामा राख्ने समेत धम्की दिएबाट कर बलले उनीहरुले भने बमोजिमकोजवाफ लेखि दिएको हुँ । मेरो स्टाफले प्रहरी स्कूलको लागि भनी रु. ३०,०००।– चन्दा स्वरुप राखी दिएको हो सो बाहेक अरु कुनै रकम गोविन्दप्रधान तथा दिलबहादुर लामालाई चन्दा दिएको छैन । अदालतबाट देखाइएको कालो १९८३ को पाई डायरीको पेज नं. ५० को पछाडी उल्लेख भएको प्रकाश श्रेष्ठ ८६,०००।– भन्ने लेखेको देखियो । मेरो पुरा नाम प्रकाश शंकर श्रेष्ठ हो सो डायरीमा लेखिएको प्रकाश श्रेष्ठ भन्ने अरु नै हुन सक्छ । साथै उक्त पेजमा गोविन्द १,४५,०००।– भन्ने लेखिएको पनि कस्ले लेखे के कारोबार हो मलाई थाहा छैन । प्र.प्र. कार्यालयको लागि मैले तयारी मोटर सप्लाई गरेको थिएँ । सो गाडीहरु बढी मोल राखी दिएको छैन । रोहिणीकुमार सिंहले किन तयस्तो बयान गरे मलाई थाहा छैन । मैले कुनै कसूर नगरेको हुनाले आरोपित कसूरमा सजाय पाउनु पर्ने होइन भन्ने समेत प्रकाश शंकर श्रेष्ठले अदालतमा गरेको बयान ।
३५. प्रहरीमा भएको बयान मेरो राजीखुशीबाट भएको हो । म न्यू ओरियन्टल क्लीयरिङ र फर्वादिङको सम्पर्क प्रतिनिधि हुँ । मलाई एक दिन प्रहरीले बोलाउन पठाएबाट म पुलिस क्लबमा गएँ । त्यहाँ अधिकृत श्री केशव उपाध्याय हुनुहुँदो रहेछ । वहाँले प्रहरी प्रधान कार्यालयलाई कति चन्दा दिनु भएको छ भनी सोध्नु भयो । मलाई यस बारे कुनै जानकारी छैन । मैले चन्दा पनि दिएको छैन भने खातामा तिम्रो कम्पनीले चन्दा दिएको देखिन्छ भनेबाट त्यसो भए ठीक छ म कम्पनीलाई सोधनी गर्छु भनी घर फर्के र कम्पनीलाई कलकत्ताबाट टं«क गर्दा अ.एकाउन्टेण्ट पि.एन. गंगुलीले टिपाए अनुसार एक पटक ६०,२१६।८८ अर्को पटक १,९२,२२६।२३ समेत जम्मा रु. २५२,४४३।११ नेपालमा दान खर्च भएको देखिन्छ । साहुजी आएपछि हिसाब चढाउने छु भनी जवाफ दिएबाट सोही व्यहोरा मैले प्रहरीमा जवाफ लेखि दिएको हुँ पछि साहुजीले दान खर्च यस प्रकार छ भनी टिपाउनु भयो । सन् १९८५ को श्री पशुपतिनाथको पुजा ५,२१२।८८ दक्षिणा वैद्य ४०४।– स्कूल निर्माण ५१,०००।– सन. १९८६ को स्कूल चन्दा ३०,०००।– कम्बल १५१ शिवरात्री दान ५१,२२२।२३ पुजा ५०० भट्ट दक्षिणा ४ के ४००४।– भण्डार साधु महात्मा २१,०००।– हनुमान गीतामन्दीर पूजा दान १०,०००।– टिकाखेल पुलिस ५००।– स्कूल ५१,०००।– मनकामना पूजा खर्च दक्षिणकाली पुजा ईत्यादि ३०००।– भुक्तिनाथ जाने २१ साधुको लागि दक्षिणा २१,०००।– समेत २ सालको जम्मा २,५२,४४३।११ साहुजीले टिपाएको हो मैले प्रहरी प्रधान कार्यालयलाई कुनै रकम चन्दा दिएको थिइँन । प्रहरी प्रधान कार्यालयको चार्टमा मेरो नाम उल्लेख भएको भए पनि म वास्तविक ठेकदार होइन ठेकदारमा मेरो नाम किन उल्लेख गरे थाहा छैन । दिलबहादुर लामा रोहिणीकुमारको बयान सुने मैले कुनै रकम दिएको छैन भ्रष्टाचारपूर्ण काम गरेको छैन । आरोपित कसूरमा सजाय पाउनु पर्ने होइन भन्ने समेत विनोद शाहले अदालतमा गरेको बयान ।
३६. प्रहरी समक्ष भएको बयान मेरो राजीखुशीबाट भएको होइन । मलाई डरत्रास देखाई गराएका हुन् । मलाई मेरो ज्वाई दिलबहादुर लामाले सुन राख्न दिएको थिएन । मेरा आफ्नो ४० टुक्रा ५–५ टेलको सुन थियो मेरो भन्दै नाताकी केसाङ व्यापार गर्नु भनी १० टुक्रा सुन बिक्री गर्न दिएकी हुँ । हामी थुनामा परेपछि डरले उक्त बिक्री गर्न दिएको सुन छिरिङ डुपालाई राख्न दिएको हुनुपर्छ । फुर्पु डोल्मा मेरो भाइ बुहारी हो । गलैंचा कारखाना चालु गर्न पैसा माग गरेकोले १५ टुक्रा सुन निजलाई दिएको हुँ । १५ टुक्रा सुन मेरो घर खानतलासी हुँदा बरामद भएकै छ । बौद्ध ३ चुलेमा घर बनाएकी छु । सो घर दुवै छोरीहरुको नाममा छ अरु बारी ५ रोपनी चानचुन जग्गा छोरी सावित्री लामालाई म आफैंले खरिद गरी दिएकी हुँ । सो बाहेक पटक पटक छोरीहरुलाई नगद दिने गर्थे घर खान तलासीबाट बरामद भएको वाला मेरो घरमा काम गर्ने मै मै भन्नेको हो । नगद घर बहालबाट आएको हो । ने.बैं.लि. को मुद्दती खातामा मेरो पुरानै हो प्रेम लामासँग पहिला पार्टनरसिप थियो अहिले कुनै सम्पर्क छैन । मेरो श्रीमान् बखत बहादुर खत्री ल्हासा वकिल अफिसमा सुब्बा हुनुहुन्थ्यो । म २०११ सालमा कालीङपोङबाट काठमाडौं फर्कंदा ल्याएको सुन गहना पथ्थर र मामा घर ल्हासाबाट सुन नगद पथ्थर हिरा पठाएका थिए सो सबै सामान लिई म २०१७ सालमा काठमाडौं आउँदा रक्सौल भन्सारले रोक्यो । परराष्ट्रमा उजुर परि सके सामान पाउने भए त्यसपछि सो सामान बिक्री गर्न थाले म सँग भएको हिरा आरु तोर्पे सेर्पा तथा उस्को श्रीमती थार जि लाई ३,००,०००।– मा बिक्री गरेको थिएँ । कैले काही मखन साहुसँग खरिद गर्थे कैले काही आरतोर्पे सेर्पाले पनि खरिद गरेर ल्याई दिन्थे सोही सुन जम्मा गरेर राखेको थिएँ। लोप्साङलाई सुन बिक्री गर्न पठाएको र नेमिलाललाई पैसा दिएको समेत छैन । मेरा नाउँको चेक र नगद रु. ५ लाख चन्द्रप्रकाश देउजाको श्रीमती निता देउजालाई राख्न दिएको हुँ । कार्पेक्ट फ्याक्ट्री मेरो र छोरी सावित्रीको साझेदारी हो । जग्गा नातिनी दिपान्जलीको नाममा खरिद भएको हो । फ्याक्ट्री संचालन गर्न अं. ४०।५० लाख खर्च मैले नै गरेको हुँ बरामद भै आएका सुन तथा नगद समेत मेरो निजी सम्पत्ति हो । मैले दिलबहादुर लामाको सम्पत्ति लुकाउने दुस्प्रयास गरेको छैन । तसर्थ मैले आरोपित कसूरमा सजाय पाउनु पर्ने होइन भन्ने समेत नामदुल के.सी.ले अदालतमा गरेको बयान ।
३७. प्रहरीमा भएको बयानको जवाफको हस्ताक्षर मेरा हुन् । व्यहोराको हकमा मलाई बिना पुर्जी पुलिस क्लबमा बोलाए गए मेरो घरबाट बरामद भएको डायरीमा नलेखिएको ठाउँमा धम्की दिई लेख्न लगाए । बेलुका १०.३० बजेतिर छाडी दिए त्यसको ४ दिन पछि बोलाए म गएँ वि.प्र.वि. मा बयान गराउन लगे । उनीहरुले भनेको लेख्न नमान्दा त्यस बखत मेरो श्रीमानलाई त्यहाँ ल्याइयो र श्रीमानले मलाई भन्नु भयो कि हिजो मलाई हेमबहादुर सिंहले बोलाई भन्नु भयो कि भने जस्तो बयान नगरेमा सानु भाउजूलाई समेत थुन्छौं त्यसपछि वहाँलाई के गर्छौ भनी रहनु पर्दैन भनी भनेका छन् त्यसकारण उनीहरुले भने जस्तो बयान गरी दिनु भनी श्रीमानले भन्नु भएकाले प्रहरीहरुले जे भन्दछन् सोही कुरा लेखि दिएको हुँ । उक्त बयान मेरो राजीखुशीबाट भएको होइन । श्रीमानले आफ्नो कार्यकालमा उहाँले भ्रष्टाचारपूर्ण तरिकाले कुनै रकम आर्जन गर्नु भएको थिएन आफू पनि त्यस्तो सरिक र मतियार थिइन । तसर्थ मैले आरोपित कसूरमा सजाय पाउनु पर्ने होइन भन्ने समेत सावित्री लामाले अदालतमा गरेको बयान।
३८. प्रहरीमा भएको बयानको जवाफको हस्ताक्षरहरु सबै मेरा हुन् । व्यहोराको हकमा मेरो स्वेइच्छाबाट भएको होइन । साँचो कुरा गर्दा सुनवाई नभई वि.प्र.वि.ले चाहे अनुसारले खाइयो मेरो जिम्मामा भएको काम कुरामा कुनै भ्रष्टाचार भएको छैन । प्रहरी प्र.का. बाट भएको ठेक्कामा मैले भ्रष्टाचार गर्न सक्ने अवस्था नै छैन स्कूलको लागि टेण्डर दाताबाट रकम असुल गर्नु भनी प्र.मा.नि. ले भन्नु भएको थिएन । मेरो उपस्थितिमा राजबहादुरले दिलबहादुरलाई रु. बीसहजार बुझाएको होइन । लिष्ट सप्लाई कसले कहिले गर्यो मलाई थाहा छैन । २०४२ सालमा म धनगढी अञ्चल प्रहरी कार्यालयमा कार्यरत थिएँ । मैले राजबहादुरसँग रु. ५० हजार लिई दिलबहादुरलाई बुझाए भन्ने कुरा झुठ्ठा हो । २०३९ साल देखि २०४१ सालसम्म म प्र.प्र.का. मा कार्यरत छैन । तसर्थ राजबहादुरबाट १२ लाख देखि १५ लाखसम्म उठाई दिलबहादुरलाई बुझाएको छैन । बेलुका ९.३० देखि १२.३० सम्म मेरो घर खान तलासी भयो । त्यस बखत अरु केही निस्केन आमाको गहना भन्दा भन्दै लगे । म थुनामा परिसकेपछि हजुरआमा सासुले अब हामीलाई पनि थुन्छ मेरो पैसा र कागजपत्र राखी दिनु भनी मेरो श्रीमतीलाई र पाँच लाख नगद र बैंक मुद्दति खाताको २ थान रसिद समेत राख्न दिएको रहेछ । सो बरामद गर्न पुनः मेरो घर खानतलासी गर्दा मेरो घरमा भएको श्रीमतीको ४० सालमा दोश्रो विवाह हुँदा ससुराली तर्फबाट पाएको १८ थान असर्फी छोराको भात खुवाउँदा आफैंले किनेको १ र ५९ हजार मेरो निजी नगद समेत बरामद गरी ल्याई दिए । पाई डायरीको पाना नं. ३ मा लेखिएको कुरा मलाई थाहा छैन । म रमेरो श्रीमतीलाई कमिशन बापत नगद पठाउने गरेका भनी दिलबहादुर आमालाई जबरजस्ती लेखाएको हुनु पर्छ । आरोपि कसुर मैले कुनै गरेको छैन । तसर्थ मैले सजाय पाउनु पर्ने होइन भन्ने व्यहोराको चन्द्र प्रकाश देउजाको अदालतमा भएको बयान ।
३९. प्रहरीमा गरेको बयानको जवाफको हस्ताक्षर मेरो हो । व्यहोराको हकमा मेरो स्वइच्छाबाट भएको होइन । अनुसन्धान कर्ता रणबहादुर चन्द्र, डि.एस.पि. गोपाल विष्ट, केशवप्रसाद उपाधयायले यातना दिई यातनाको सीमा नाघेपछि उनीहरुले टिपेर ल्याए बमोजिम मैले लेखि दिएको हुँ । यो बयान पूर्वाग्रह साथ प्रतिसोधको भावनाले पूर्व निश्चित षडयन्त्रमा मलाई फसाइएको हो । यो षड्यन्त्रको सुत्रपात २०३६ साल देखि मेरो विरुद्धमा शुरु भएको हो । प्रारम्भमा मलाई हाल माननीय खड्ग जित बरालको मानिस भन्ने लेबुल लगाई षडयन्त्रमा फसाउने सुरुवात भयो र मलाई विभिन्न दुर्गम स्थानहरुमा खटाइयो । गरेको कामको कदर भएन त्यसपछि मलाई झापाको जुट सम्बन्धी विरोधमा खटाइयो म त्यहाँसम्म माने पुगेकोमा पनि समयमा नपुगेको भनी स्पष्टीकरण सोधिएकोमा तत्कालीन डि.आई.जि. दिलबहादुर लामा समेतले समयमा नै पुगेको भनी जवाफ दिएपछि मलाई डि.वि. लामाको लेबल लगाइयो । मैले डोनेशन बापत कुनै रकम उठाएको र दीलबहादुर लामालाई १ करोड २५ लाख बुझाएको छैन यो सरासर झुठ्ठा हो । प्रहरी आरोपपत्र बमोजिमको कसूर नगरेकोले सजाय पाउनु पर्ने होइन प्रहरीले कुटपिट गर्दा मेरो आङ जिउमा परेको घा खत जचाई पाउँ भन्ने समेत रोहिणी कुमार सिंहले अदालतमा गरेको बयान ।
४०. वि.प्र.वि. समक्ष गरेको बयान सुने उक्त बयानको जवाफका हस्ताक्षरहरु मेरा हुन् । व्यहोरा मेरो होइन । २०३९ साल देखि म प्र.प्र.का. को लेखा शाखामा कार्यरत थिर्एँ । ठूलठूला रकम जिन्सी शाखाबाट आएको भनेपछि पत्यार पर्छ भनी मलाई लेख्न लगाएकी हुन् १।२ नं. फायल भनेको मलाई थाहा छैन । ठूला ठेकेदारबाट रोहिणी कुमारले रकम उठाई लामा साहेवलाई दिनु हुन्थ्यो भनी मैले भनेको होइन । सप्लायर्सबाट आएको बैंक खाताको रकम सप्लायर्सलाई फिर्ता दिनु पर्छ भनेबाट रु. १३,३१,१७२।१२ को रकम झिकी पैसा र भर्पाई समेत मैले आई.जि.पि. साहेबलाई दिएको हुँ सो बुझाएको भर्पाई मैले फिर्ता पाएको छैन । विटिङ रिट्रिटको रकम कुनै साहेबलाई नै र आदेशानुसार कुनै रकम उहाँको श्रीमती बसुन्धारालाई बुझाएको छु । ०३९ साल देखि ०४२ सालसम्म उठेको रकम रु. १३,७८,८३३।८६ उहाँलाई र उहाँकै जेठी श्रीमतीलाई बुझाएको हुँ । सुन किनी दिएको र सुनका टुक्राहरु उहाँकी श्रीमतीका रोहवरमा गन्न लागेको देखेको होइन सो व्यहोरा झुठ्ठा हो । म प्र.प्र.का. मा कार्यरत रहँदा विभागीय प्रमुखको आदेश निर्देशन पालन गरी बसेको र डि.वि. लामालाई कार्वाही गर्न सबूदको लागि भनी अनुसन्धान कर्ताहरुले डर, धाक, प्रलोभन देखाएर जबरजस्ती बयान गराएको हो मैले आफ्नो मनज्ञानले व्यक्तिगत स्वार्थको लागि कुनै अपराध गरेको नभई वाध्यताबस कानुनी त्रुटि हुन गएकोमा मलाई प्रहरी प्रतिवेदन दावी अनुसार सजाय हुनु पर्ने होइन भन्ने समेत मणिराज गुरुङले अदालतमा गरेको बयान ।
४१. प्रहरी समक्ष भएको बयानको जवाफको हस्ताक्षरसम्म मेरो हो सो बयान मेरो राजीखुशीबाट भएको होइन । जबरजस्ती गराइएको हो । श्रीमानले गर्नु भएको आर्जन मलाई दिनु हुँदैनथ्यो । तलबसम्म दिनु हुन्थ्यो । मणिराज गुरुङ र राजेन्द्र ठकुरीबाट सुन खरिद गरेको छैन। २०३९ साल देखि ०४२ सालसम्म रिट्रिङ विट्रिङबाट उठेको रकम १३,७८,८२३।८६ मणिराजले मलाई बुझाएको छैन । अनुसन्धानकर्ताले भने अनुसार लेखि दिएको हुँ । म र बहिनी सावित्रीको नाममा रहेको बौद्ध तिनचुले पाटन खुमलटार र काठमाडौं धापासीको जग्गा आमा नामदुलले खरिद गरी दिनु भएको हो । श्रीमानको रकमबाट खरिद भएको होइन राईफल मेरा घरबाट बरामद भएको हो । श्रीमानको रकमबाट खरिद भएको होइन राईफल मेरोघरबाट बरामद भएको हो देखाइएका गहनाहरु मेरा घरबाट बरामद भएको हुन् । सि.नं. १५ देखि २८ सम्मका गहनाहरु छोरी दिपान्जलीको हो । अरु गहना ससुरा बुबा तथा आमाले बनाई दिएका हुन् नगद समेत मेरै घरबाट बरामद भएको हो । वग्ला धाई आमाको हो । ५/५ टेलका सुनका टुक्राहरु आमा नामदुल के.सी. कहाँ देखेको थिएँ । मैले कुनै रकम लिए खाएको नहुँदा आरोपित कसूरमा सजाय गरिनु पर्ने होइन भन्ने समेत बसुन्धरा लामाले अदालतमा गरेको बयान ।
४२. वि.प्र.वि. समक्ष गरेको बयान सुने । जवाफका हस्ताक्षर सबै मेरा हुन् । बयान व्यहोरा मलाई टर्चर दिई लेखाएका हुन् । मेरो राजीखुशीबाट भएको होइन । प्रहरीमा बयान गर्दा २५ हजार लाग्थ्यो भन्ने कुरा प्रहरीको ड्राफ्ट अनुसार लेख्न लगाएका हुन् । पैत्रिक सम्पत्तिमा ठमेलको घर आमाकै नाउँमा होला नुवाकोटको जग्गाबाट अन्दाजी ५५ मुरी अन्न आउँछ गहनामा बाबुकै पालाको १५०।२०० तोला सुनको गहना चाँदी असर्फी हुनु पर्दछ । म प्र.म.नि. भएपछि सुन गहना किनेकै छैन । ३६ लाखको सुन र दुई लाखको गहना किनेको भनी लेखाएको मेरो भनाई होइन । ठमेलमा १ रोपनी जग्गा मेरा नाउँमा खरिद गरेको छु । श्रीमती बसुन्धरा तथा सावित्रीका नाउँमा खरिद भएको जग्गा र सो मा बनाएको घर सासुले नै खरिद गरी बनाई दिनु भएको हो । छोरी दिपान्जली तथा दिप्ताका नाउँमा खरिद भएको गोंगबुको जग्गा र सोमा टहरा घर केही सासुको र केही मेरो पैसाबाट बनेको हो । ठेकदारहरुबाट कमिशन लिई खर्च गर्ने गरेको छैन । जबरजस्ती लेखाएको हो । ठेक्का स्वीकृत हुँदा टेण्डर नियम बमोजिम स्वीकृत भै जान्थ्यो ओभर विलिङ गर्न ठेकदारहरुमा रमेशमान जोशी, आर.वि. गुरुङ, विरेन्द्र श्रेष्ठ, प्रकाश शंकर श्रेष्ठ हुन् भन्ने कुरा मलाई जबरजस्ती लेखाएका हुन् चन्दा उठेको रकमबाट साँगा र ककनीमा स्कूल बनेका छन् सरकारी रकम परेको छैन । १।२ नं. फाराम भनेको मलाई थाहा छैन के लेखाए उनीहरु नै जानुन । मणिराज गुरुङ, रोहिणी कुमार सिंह, चन्द्र प्रकाशको श्रीमतीलाई मैले कुनै रकम दिएको छैन । भाइलाई चुनाव खर्च दिएकै छैन । छोरीको विवाह र उपचारको लागि केही रकम खर्च भयो यति नै भन्ने हाल सम्झना भएन । प्रहरीले सास्ती यातना दिएबाट पाई डायरीको हिसाब सनाखत गरी दिएकोसम्म हुँ । सो हिसाब सम्बन्धमा मलाई केही थाहा छैन । डि.डि. शर्मा, रणबहादुर चन्दको घरमा बस्तथ्यो निज उपर ठूलो लागू पदार्थ काण्ड चलेको साथै लौकिको गाजा काण्डमा समेत रणबहादुर चन्द उपर कारवाही गरेको थिएँ । त्यही पूर्वागृह लिई सानो कर्मचारीलाई डर त्रास प्रलोभन दिई यो प्रतिवेदन दिन लगाएको हुन सक्तछ । मेरो ससुरा २९ वर्ष ल्हासा वाणिज्य दूतावासमा सुब्बा पदमा रहनु भएको सासुले सुन तथा सम्पत्ति ल्याउनु भएको मेरो पैत्रिक सम्पत्ति पनि थियो बाजेले गाडेर राखेको भनी १०।१५ गाग्री रुपैयाँ पिताजीले मलाई देखाउनु भएको थियो। मेरो पैत्रिक सम्पत्ति र सासुले जोडी दिएको सम्पत्तिबाट खरिद भएको घर जग्गा हो । ०७ साल भन्दा अगाडी क्रान्तिमा भाग लिई ३७ वर्षसम्म सरकारी सेवामा रही गरेको जेथाको मूल्यांकन गरी न्याय पाउँ आरोपित कसूर मैले नगरेबाट सजाय पाउनु पर्ने होइन प्रहरी प्रतिवेदन दावीबाट फुर्सद पाउँ भन्ने दिलबहादुर लामाले अदालतमा गरेको बयान ।
४३. प्रहरीमा भएको बयानको जवाफको हस्ताक्षरसम्म मेरो हो बयानको व्यहोरा मेरो होइन अनुसन्धान अधिकृतले डि.वि. लामाले पदको दुरुपयोग गरेबाट कारवाही चलाउनको लागि हो तपाईको लागि होइन भनी फकाउने तथा डर त्रासमा पारी निजहरुले तयार पारेको जवाफ मैले सारीसम्म दिएको हुँ । मैले रोहिणी कुमारलाई ६० हजार दिएका होइन छैन सो सबै प्रहरीले जबरजस्ती लेखाएको मात्र हो । मैले प्रहरीको लागि उनी कमिज कम्बल सप्लाई गरेको पनि होइन म प्रहरी प्र.का. को ठेकदार होइन मैले आरोपित कसूर नगरेबाट सजाय पाउनु पर्ने होइन भन्ने कैलाशध्वज खाँडले अदालतमा गरेको बयान ।
४४. प्रहरी समक्ष भएको बयान प्रहरीले लेखेर ल्याएको सार भने अनुसार डरले सारी सही गरी दिएको हुँ मैले छपाई सम्बन्धी काम पाए रोहिणीकुमार सिंहलाई रु. १५ हजार चन्दा दिउको होइन तसर्थ आरोपित कसूरमा सजाय पाउनु पर्ने होइन भन्ने समेत बाबुकाजी बज्राचार्यले अदालतमा गरेको बयान ।
४५. प्रहरी समक्ष भएको बयानको जवाफको हस्ताक्षर मेरा हुन् प्रहरीले मलाई ३६ दिनसम्म थुनी हामीले भने बमोजिम बयान गरे छाडी दिन्छौं भनी प्रहरीले भने अनुसार मैले यो बयान सारी दिएँ । त्यसपछि मलाई छाडी दिए । दिलबहादुर लामाले म मार्फत २० वटा ट्रक जिप खरिद गरेको, प्रकाश शंकरले मलाई रु. १,४५,०००।– दिएका सो रकम मैले सावित्री लामालाई दिएको र लामालाई मैलै ल्याण्ड लोभर बिक्री गरेको समेत छैन । लामाले मलाई रुं ५ पाँच हजार बक्सिस दिएको पनि होइन १९८३ को पाई कम्पनीको कालो डायरीका पेज नं. १९ मा गोविन्द दाइलाई ५०००।– भन्ने र ५० पेजको पछाडी गोविन्द दाइ १,४५,०००।– भनी कस्ले के कारणबाट लेखे मलाई थाहा छैन । मेरो नाम गोविन्द मान प्रधान हो मैले कुनै रकम लिए दिएको नहुँदा आरोपित कसूरमा सजायँ पाउनु पर्ने होइन भन्ने समेत गोविन्द मानले अदालतमा गरेको बयान । साल याद भएन मैले प्र.प्र.का. को लागि स्टेशनरी सामान सप्लाई गरेको थिएँ सामान सप्लाई गरे बापत कसैलाई कुनै रकम दिएको थिइन । मैले स्कूललाई चन्दा भनी रु. नौ हजार दिएको होइन थुन्ने डरत्रास देखाएबाट प्रहरीले भने अनुसार उक्त बयान मैले लेखी दिएको हुँ । मैले कुनै रकम नदिएबाट आरोपित कसूरमा सजाय पाउनु पर्ने होइन भन्ने समेत सुशिल प्रधानले अदालतमा गरेको बयान ।
४६. प्रहरी समक्ष भएको बयानको जवाफको हस्ता मेरो हो व्यहोरा मेरो राजीखुशीबाट भएको होइन । प्र.प्र.का.को लागि मेरो फर्मबाट लत्ता कपडा कुनै दिएको छैन सबै दुसान कम्पनी दक्षिण कोरिया (सियुल) द्वारा सोझै लिने गरेको थियो । म एउटा साधारण प्रतिनिधिको रुपमा कामसम्म गर्दथे । मलाई प्रहरीमा बोलाई कमपनीले प्र.प्र.का. लाई २०।२२ लाख रुपैयाँ प्रहरी कल्याण कोषमा चन्दा दिएको देखिन्छ भनी मलाई डर त्रास र बयान नगरेमा थुन्ने धम्की समेत दिइयो र जस्तो उहाँहरुले भन्नु भयो त्यस्तै लेखी सही मात्र मैले गरी दिएको हुँ । कम्पनी र प्र.प्र.कार्यालयको खबरसम्म आदान प्रदान गर्ने काम मेरो हो मालसामान झिकाउने काम राष्ट्र बैंक मार्फत यलसी खोली सोझै हुन्थ्यो कम्पनीले चन्दा दियो दिएन मलाई थाहा छैन । मैले दिलबहादुर लामा, सावित्री बसुन्धरा, चन्द्र प्रकाश देउजा रोहिणीकुमार सिंहलाई कुनै रकम दिएको होइन छैन सो बयान मेरो राजीखुशीबाट भएको होइन । तिमीले यस्तै बयान गर्नु पर्छ भनी जबरजस्ती लेखाएका मात्र हुन् प्रहरीले दुःख दिन मलाई यो झुठ्ठा आरोप लगाएका हुन् मैले अपराध नगरेकाले सजाय पाउनु पर्ने होइन भन्ने समेत राजबहादुर गुरुङले अदालतमा गरेको बयान ।
४७. प्रहरी समक्ष भएको बयानको जवाफका हस्ताक्षर सबै मेरा हुन् । यो बयान मैले कर कापमा दिएको हुँ । मलाई पैला जावलाखेल लाईनले बोलायो र एक जना एस.एस.पि. सँग सम्पर्क गराइयो र टेलिफोनमा मलाई तपाईले कसरी ठेक्का प्राप्त गरेको भनी प्रश्न गरे मैले गो.प.मा प्रकाशित सिल्टटेण्डर बमोजिम ठेक्का पाएको भनी जवाफ दिएँ । एस.एस.पि.ले तपाईले डि.वि.लामालाई प्रसस्त पैसा नदी ठेक्का पाएको हुन सक्तैन भनी आरोप लगाए मैले केही रकम दिएको भनी स्वीकार नगरेको खण्डमा डिटेशनमा राख्तछु भनेबाट मैले सो बयान दिएको हुँ ठेक्का प्राप्त गर्न कुनै रकम दिएको भए शायद मेरो ठेक्का बदर हुने थिएन होला मेरो ठेक्का बदर भएको कारण मलाई धेरै क्षति भएको छ । मैले भू.पु.प्र.म. नि. दिलबहादुर लामालाई रुं १,५०,०००।– चन्दा स्वरुप दिएको होइन । मैले कुनै अपराध नगरेबाट सजाय पाउनु पर्ने होइन भन्ने समेत नरप्रसाद मोक्तानले अदालतमा गरेको बयान ।
४८. म श्री ५ को सरकारको रा.प.द्वितिय श्रेणीको अधिकृत कर्मचारी भएको नाताले मैले कुनै फर्ममा काम गर्ने कुरै आउँदैन र गरेको पनि छैन गैह्रदण्ड इलेक्ट्रोनिकक्स फर्म बहिनीको नाममा दर्ता भई पारिवारिक व्यापार जस्तो भई कहिले काही घर सल्लाह चाही हुन्थ्यो प्र.प्र.का. सँग कुनै ठेक्का पट्टाको काम गरी आएको छैन । साँगा स्कूललाई चन्दा भनी पटक पटक गरी रु. ६ लाख डि.वि. लामालाई दिएको भन्ने बयानको जवाफको हस्ताक्षर मेरा हुन् तर व्यहोरा तपाईले सरकारी गवाह बनी दिनु पर्यो तपाईलाई केही हुँदैन भनी डर त्रास देखाएकाले वि.प्र.वि. का केशव भन्नेले लेखेर राखेको कागज मैले सारीसम्म दिएको हुँ । मैले डि.वि. लामालाई ६ लाख दिएको होइन छैन । कालो १९९३ पाई कम्पनी डायरीको पेज नं. ५० को पछाडी उल्लेख भएको आर.के.मानन्धर भन्ने र ९७,५००।– भन्ने उल्लेख भएको रकम मैले दिएको होइन सो नाम र अंक किन कसरी लेखे थाहा छैन आ.बा.सेट खरिद गर्न मैले प्रहरी प्रधान कार्यालयसँग सम्झौता नै गरेको छैन । किन ठेकेदारको महलमा मेरो नाम लेखे थाहा छैन । मैले आरोपित कसूर नगरेको हुँदा सफाई पाउँ भन्ने समेत रामकृष्ण मानन्धरले अदालतमा गरेको बयान ।
४९. मैले प्रहरी प्रधान कार्यालयमा सामान शाखामा नियम बमोजिम कोटेशन दिई मेरो सस्तो कोटेशन पर्न आएकोमा मैले काम पाएको थिएा । त्यसमा स्कूल निर्माणको लागि कुनै पनि बकस दिएको छैन । प्रहरीमा मलाई दिएको हुनु पर्दछ । दिएको छु भनी लेख नत्र तिमीलाई यही राख्तछौं भनी डर देखाए १८,०००।– दिएको भनी लेख भने डरले लेखी दिएको सम्म हुँ । मैले कुनै रकम दिएको छैन । कलकत्ताको पार्टीले ५०,०००।– दियो भन्ने सुनेको हुँ । मैले पार्टी सँग लिएर रोहिणी कुमार सिंहलाई दिएको छैन । मैले कसैलाई दुरुत्साहन दिएको र मतियार समेत भए गरेको छैन । कसैलाई गैरकानुनी रकम दिएको छैन । मलाई सजाय हुनु पर्ने होइन भन्ने समेत अजितबहादुर खुलालले यस अदालतमा गरेको बयान ।
५०. मलाई प्रहरीले बोलाई लगी डि.वि. लामालाई नै मैले नगद दिएको हो भनी मलाई लेख भने मैले इन्कार गर्दा डर, त्रास देखाई प्रहरीहरुले भने अनुसार मैले लेखिसम्म दिएको हुँ, मैले भू.पु.प्र. महानिरीक्षक समेत कसैलाई चन्दा भनी दिएको छैन । प्रहरीका लागि २०४१।४२।४३ सम्ममा २४१५७ थान बुट जुत्ता मेरो उद्योगबाट तयार गरी कोटेशनद्वारा मैले सप्लाई गरेको हुँ । सो काम पाए बापत मैले प्रहरी स्कूलको लागि भनी कुनै चन्दा दिएको छैन । प्रहरीमा भएको बयान राजीखुशीबाट भएको छैन । डायरीको पेज नं. ५० मा मेरो नाम र अंक लेखिएको समेत देखे उक्त रकम मैले दिलबहादुर लामालाई दिएको छैन किन सो कुरा उल्लेख गरे थाहा छैन रोहिणीकुमार सिंहलाई कुनै रकम दिएको छैन । प्रहरी प्रधान कार्यालयमा २०२७ साल देखि जुत्ता सप्लाई गर्दै आएको हुँ । दिलबहादुरलाई कुनै रकम दिएकै छैन । किन पोल गरे उनी नै जानुन् । प्रहरी प्रधान कार्यालयमा काम पाए बापत कुनै चन्दा कमिशन केही दिएको छैन । आरोपित कसूर नगरेको हुँदा सजाय गरिनु पर्ने होइन आरोपबाट सफाई पाउँ भन्ने समेत मानबहादुर श्रेष्ठले यस अदालतमा गरेको बयान ।
५१. मलाई प्रहरीले बोलाई लगी ४–५ घण्टा राखे त्यसपछि मलाई बयान गराउने भनी भन्दा मैले कस्तो बयान भनी सोद्धा हामीले जस्तो भन्दछौं उस्तै लेख भने मैले नमान्दा थुन्छु र पिट्छु भनी दर त्रास देखाउन थाले जे जे भन्दछन् मैले लेखिसम्म दिएको हुँ । बैंकमा १५ हजार नगद देवबहादुर मार्फत ७,०००।– समेत प्रहरी प्रधान कार्यालयमा, बुझाएको छैन ४० हजारको सामान भण्डार शाखामा बुझाएको छैन । प्रहरीले भने अनुसार लेखिसम्म दिएको हुँ। मैले प्रहरी प्रधान कार्यालयबाट कुनै ठेक्का पट्टा पाएको छैन । कुनै रकम समेत दिएको छैन भने सजाय गरिनु पर्ने होइन आरोपित कुरामा सफाई पाउँ भन्ने समेत चन्द्रदेव मानन्धरले यस अदालतमा गरेको बयान ।
५२. प्रतिवादी बसन्तप्रसाद उपाध्यायले मिति २०४४।११।१३ प्र. जगन्नाथ प्रधानाङ्गले २०४४।११।२१ र रमेशमान जोशीले २०४४।१२।७ मा तामेल भएको समाव्हानको म्याद गुजारी बसेको ।
५३. प्रतिवादी दिलबहादुर लामाले भ्र.नि. ऐन, २०१७ को दफा ३ अनुसार र आफ्नो जिम्मामा नियन्त्रणमा रहेको प्रहरी प्रधान कार्यालयको नगद तथा जिन्सी समेत दुरुपयोग गरी निजी प्रयोगमा ल्याएको देखिएकोले दफा १३ समेत कसूर गरेको देखिन्छ । जम्मा रु. १,८२,२३,४४४।– को रकम निजले गैर कानुनी रुपमा लिनु खानु गरेकोमा मणिराज गुरुङबाट दिलबहादुर लामाको आदेशानुसार बसन्धराले विटिङ रिट्रिङको रकम लिएको भनी दावी गरी रु. १३,७८,८३३।८६ मणिराजबाट आएको सबै रकम डायरी मै आम्दानी बाँधिएको छ भनी दिलबहादुर लामाको भनाई देखिँदा प्रमाणबाट नदेखिएसम्म उक्त भनाईलाई अन्यथा सम्झन नहुने देखिएकोले वसुन्धरा लामाको हकमा देखिएका आधार प्रमाणबाट ठहरिएको रु. ८,५२,५६७५।०८ यस तर्फ दावी नरहेकोले बाँकी हुन आउने रु. १,७३,७०,८६८।९३ दिलबहादुर लामाले भ्रष्टाचार गरी लिए खाएको ठहर्छ । प्र.प्र.का. लाई निजबाट भराई पाउँ भनी रु. ४१,२०,०५०।४७ को दावी गरिएको मध्ये २२,०१,४५८।३२ सम्म कायम हुने देखिन्छ । बिगो असुल गरी पाउँ भन्ने दावीको अतिरिक्त दफा १६(ग) बमोजिम निज र निजको परिवारको नाममा रहेको चल अचल र नगद समेत जफत गरी पाउँ भन्ने दावीको हकमा अपराध गर्दाको अवस्थामा प्रचलित रहेको १६(ग) अनुसार कसुरसँग सम्बन्धी नगदी वा जिन्सी माल सामान जफत हुने अवस्था रहेको संविधानको धारा ११(२) को व्यवस्थाले पनि ०४४ सालको संशोधित दफा १६(ग) आकर्षित नहुने हुँदा अचल सम्पत्ति जफत गरी पाउँ भन्ने दावी पुग्न सक्दैन साथै भ्र.नि. ऐन, २०१७ को दफा १४(क) बमोजिम थप सजायको माग दावी पनि पुग्ने अवस्था देखिएन । नगद र जिन्सी माल सामानको हकमा दिलबहादुरको घरबाट बरामद भएको २,३३,६००।– चन्द्रप्रकाश देउजाको घरबाट बरामद भएको रु. ५,५९,०००।– मध्ये रु. ५,००,०००।– समेत गरी जम्मा नगद रु. ७,३३,६००।– दिलबहादुर लामा कै गैरकानुनी आर्जन भित्रको देखिएकोले अपराध हुँदाको अवस्था प्रचलित रहेको दफा १६(ग) बमोजिम जफत हुने ठहर्छ । जिन्सी मालसामान तर्फ नामदुल के.सी.को घरबाट बरामद भएको मध्येको मिति ०४४।४।१ को मुचुल्का अनुसारको १५ टुक्रा सुन पेमा लामाको घरबाट मिति ०४४।३।३१ मा बरामद भएको १५ टुक्रा सुन छिरिङ छोमा सेर्पाको घरबाट मिति ०४४।३।३० मा बरामद भएको १० टुक्रा सुन समेत ४० टुक्रा सुन दिलबहादुरले आफू पक्राउ परी खान तलासी हुन सक्छ भन्ने डरले सासू नामदुल के.सी.लाई राख्न लुकाउन दिएको भनी स्वीकार गरेका र यसै गरी नेमिलालले दाखिल गरेको ५ टुक्रा सुन नामदुल के.सी.ले लोप्साङ मार्फत बिक्री गर्न पठाएको १० टुक्रा मध्ये बिक्री भई बाँकी रहेको ५ टुक्रा हो भनी अदालतमा समेत बकपत्र दिएको यसरी ४५ टेल सुन समेत अपराध गर्दाको अवस्था प्रचलित रहेको दफा १६(ग) अनुसार जफत हुने देखिन्छ। जफत हुने ठहरेको सुनको रु. ३६,६०,०००।– नगद र जिनसीमा द.नं. २७०० को मोटर साइकलको दिलबहादुरको बयान अनुसार रु. ५० हजार समेतको जम्मा रु. ४७,४३,६००।– निजले भ्रष्टाचार गरेको रकमबाट कटाउँदा बाँकी रु. १,२६,२७,२६८।९२ दफा २९(१) बमोजिम असुल हुने ठहर्छ । सो असुल हुने रकमबाट प्र.प्र.का.को निजले हिनामिना गरेको ठहरिएको रु. २२,०१,४५८।३२ भरी पाउने देखिन्छ । निज दिलबहादुर लामाले ऐनको दफा ३ र १३ को कसूर गरेको देखिएकोले निजलाई कैद वर्ष ६ र बिगो रु. १,७३,७०,८६८।९२ बमोजिम जरिवाना हुने ठहर्छ । बसुन्धरा लामाको हकमा निजले ऐनको दफा ८ को कसुर गरेको देखिएकोले निजलाई दफा ८ बमोजिम कैद वर्ष १ र बिगो रु. ८,५२,५७५।०९ बमोजिम जरिवाना समेत हुने ठहर्छ । मणिराज गुरुङको हकमा निजले दफा १३ र ७(१) को कसूर गरेको देखिँदा दफा १३ बमोजिम कैद वर्ष ३ हुने ठहर्छ । प्र.चन्द्र प्रकाश देउजा र रोहिणीकुमार सिंहको हकमा निजहरुले व्यापारीहरुसँग स्कूल र फण्डको लागि चन्दा कमिशन उठाई आफूहरु राष्ट्र सेवक भएको अवस्था नेपाल कानुन जानी जानी पालन नगरी दिलबहादुरलाई गैरकानुनी लाभ पुर्याएको देखिएकोले निजहरुले दफा ७(१) को कसुर गरेको देखिँदा जनही कैद वर्ष १ हुने ठहर्छ । प्र. गोविन्दमान प्रधानको हकमा निजले दफा ४ को कसुर गरेको देखिएकोले निजलाई दफा ४(ख) बमोजिम रु. २०००।– जरिवाना हुने ठहर्छ । गैर कानुनी रुपमा लिनु खानु गरेको रु. ५०००।– दफा २९(१) बमोजिम निजबाट असुल हुने ठहर्छ । प्र.रामकृष्णमानन्धरको हकमा निजले आफू राष्ट्रसेवक भएकोले अरुको नाममा फर्म दर्ता गराई व्यापार गराई दिलबहादुर लामालाई गैरकानुनी रकम दुरुत्साहन दिएको देखिँदा निजले दफा १० र ५ को कसूर गरेको देखिन्छ । कसूर गरेको अवस्था निज राष्ट्रसेवक भएको देखिँदा निजलाई दफा ५ अनुसार दुरुत्साहन दिएको रकम रु. ९७,५००।– जरिवाना हुने ठहर्छ । प्र.उमेशप्रसाद कर्माचार्यको हकमा दफा ५ बमोजिमको कसुर गरेको देखिन्छ। दफा ५ बमोजिम रु. २,५००।– निजलाई जरिवाना हुने ठहर्छ । प्र.मानबहादुर श्रेष्ठ, विश्वबहादुर जोशी, रमेशमान जोशी, राजबहादुर गुरुङ, विरेन्द्र श्रेष्ठ र प्रकाश शंकर श्रेष्ठको हकमा यी प्रतिवादीहरुले रोहिणी कुमार सिंह समेतका प्रहरी अधिकृत मार्फत दिलबहादुर लामालाई आफ्नो पक्षमा प्रभावमा पर्न सामान सप्लाई गर्न पाए बापत डायरीमा उल्लेख भए अनुसार गैरकानुनी रकम दुरुत्साहन दिई गैरकानुनी आर्थिक लाभ पुर्याएको देखिँदा निजहरुले दफा ५ बमोजिमको कसूर गरेको देखिन्छ । तसर्थ दफा ५ बमोजिम राजबहादुर गुरुङ के. रु. १०,८९,८४६।५० प्र.विरेन्द्र श्रेष्ठ के. रु.२,८५,५००।– प्र.विश्वबहादुर जोशी के. रु. १,५५,०००।– प्र.प्रकाश शंकर श्रेष्ठको रु. १,१५,५००।– प्र.रमेश मान जोशीको रु. १,००,०००।– प्र.मानबहादुर श्रेष्ठको रु. ५०,०००।– जरिवाना हुने ठहर्छ । प्र.मार्टिन लामाको हकमा निजले दिलबहादुर लामालाई गैरकानुनी कमिशन दिएको भन्ने दावी पुग्ने देखिएन तसर्थ आरोपित कसूरबाट सफाई पाउने ठहर्छ प्र.नामदुल के.सी.को हकमा दफा १६(क) बमोजिम कसुर गरेको भन्न नसकिने हुँदा वादी दावी पुग्ने देखिएन । तसर्थ आरोपित कसूरबाट सफाई पाउने ठहर्छ । प्र.सावित्री लामाको हकमा दिलबहादुर लामाको भ्रष्टाचार पूर्ण कसूरमा मतियार भई काम गरेको र गैरकानुनी रुपमा राजबहादुरबाट लिनु खानु गरेको समेत मिसिल प्रमाणबाट नदेखिएकोले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ । प्र.जगन्नाथ प्रधानाङ्ग, नरप्रसाद मोक्तान, वसन्त प्रसाद उपाध्याय, विनोद शाह, कैलाशध्वज खाँड, सुशिल प्रधान, भोला राज पाण्डे, बाबुकाजी बज्राचार्य, हरिबहादुर प्रधान, अजितबहादुर खुलाल र चन्द्र देव मानन्धरको हकमा निजहरुले दिलबहादुर लामालाई गैरकानुनी रकम दुरुत्साहन दिएको भन्ने कुरा शंकास्पद देखिएकोले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको २०४५।६।१७ को फैसला ।
५४. म.वि.अ. को कानुन एवं न्याय प्रतिकूलको निर्णय बदर गरी झुठ्ठा आरोपबाट फुर्सद पाउँ भन्ने व्यहोराको मणिराज गुरुङ, बसुन्धरा लामा, रोहिणी कुमार सिंह, चन्द्र प्रकाश देउजा, दिलबहादुर लामा, नामदुल के.सी. विश्वबहादुर जोशी, प्रकाश शंकर श्रेष्ठ, विरेन्द्र श्रेष्ठ, राजबहादुर गुरुङ, मानबहादुर श्रेष्ठ, गोविन्द मान प्रधान, रामकृष्ण मानन्धरको पुनरावेदन ।
५५. शुरु म.वि.अ. ले प्रमाणको न्यायिक मूल्यांकन नगरी प्रमाण ऐन, २०३१ को दफ ५४ समेतको प्रतिकूल गरेको त्रुटिपूर्ण फैसला बदर गरी सबै प्रतिवादीहरुलाई शुरु आरोपपत्र माग दावी बमोजिम हदैसम्म सजाय र बिगो समेत दिलाई भराई पाउँ भन्ने समेत विशेष प्रहरी विभागको पुनरावेदनपत्र ।
५६. मध्यमाञ्चल विशेष अदालतको २०४५।६।१७ को फैसला उपर पुनरावेदन नगर्ने प्रतिवादीको हकमा विचार गरिरहनु परेन । पुनरावेदन गर्ने प्रतिवादी दिलबहादुर लामाको हकमा निज मिति २०३९।३।१ देखि २०४३।२।११ सम्म प्रहरी महानिरीक्षक रहेको समयमा प्रहरी स्कूल बनाउने तथा प्रहरी फण्ड खडा गर्ने कार्यको लागि भनी चन्दा समेत उठाई सो उठाएको रकमबाट आफूलाई गैरकानुनी लाभ पुर्याउने बदनियतले कानुनले लिन पाउने पारिश्रमिक बाहेकको सो विद्यालय र प्रहरी फण्डको रकम लिनु खानु गरी सो रकमबाट सुन तथा जग्गा जमिन खरिद गरी आफ्नो आम्दानीको श्रोतको अनुपातमा नमिल्दो उच्च जीवनस्तर बनाएको पुष्टी हुन आएकोले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३७(१) १३ तथा दफा १५ समेतको कसुर गरी जम्मा बिगो रु. ७२,४३,२७९।१० को रकम भ्रष्टाचार गरेको ठहर्छ । सो ठहर्नाले अपराध हुँदाको परिस्थिति, अपराधको मात्रा तथा निज प्रतिवादीको उमेर समेतको विचार गरी निजलाई कैद वर्ष ५(पाँच) र कानुन बमोजिम बिगो बमोजिम जरिवाना समेत हुने ठहर्छ । सो हदसम्म मध्यमाञ्चल विशेष अदालतको इन्साफ उल्टी हुने ठहर्छ । पुनरावेदक प्रतिवादी बसुन्धरा लामा १, चन्द्र प्रकाश देउजा १, रोहिणी कुमार सिंह १, मणिराज गुरुङ १, नामदुल के.सी. १ समेतको हकमा शुरु मध्यमाञ्चल विशेष अदालतको इन्साफ मनासिब देखिएकोले निजहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन । पुनरावेदक प्रतिवादीहरु रामकृष्ण मानन्धर १, राजबहादुर गुरुङ १, विश्वबहादुर जोशी १, प्रकाश शंकर श्रेष्ठ १, मानबहादुर श्रेष्ठ १, गोविन्दमान प्रधान १ समेतको हकमा निजहरुले प्रहरी स्कूल तथा प्रहरी फण्डको लागि चन्दा तथा कमिशन दिएको भन्ने सम्म देखिएकोले निजहरुले आरोपित कसूर गरेको भन्ने पुष्टि हुन नआएबाट निजहरुले वादी दावीबाट सफाई पाउने ठहर्छ । निजहरुको हकमा मध्यमाञ्चल विशेष अदालतको इन्साफ उल्टी हुने ठहर्छ । पुनरावेदक प्रतिवादी विरेन्द्र श्रेष्ठको हकमा निजको मिति २०४९।४।१६ मा मृत्यु भै सकेको भन्ने देखिन आएकोले अ.बं. १७६ नं. बमोजिम हुन्छ । पुनरावेदक प्रतिवादीहरु तथा अभियोग पत्रमा दावी लिइएका अन्य प्रतिवादीहरु उपर शुरु माग दावी बमोजिम हदैसम्म सजाय हुनु पर्छ भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत पाटन ललितपुरको फैसला ।
५७. पुनरावेदन अदालत पाटन, ललितपुरको फैसलामा चन्दा ऐन, २०३० को दफा ६.११ प्रमाण ऐन, २०३१ को दफा ९, २७ र ५४ को प्रतिकूल तथा प्रमाणको मूल्यांकन सम्बन्धी त्रुटि भएको समेत कारणबाट बदर गरी शुरु अभियोग पत्र, पुनरावेदन अदालत समक्ष प्रस्तुत गरेको पुनरावेदन पत्र तथा सम्मानीत सर्वोच्च अदालतमा प्रस्तुत भैरहेको यो पुनरावेदन पत्र समेतको बुँदा आधार प्रमाणबाट माथि उल्लेखित प्रतिवादीहरुलाई माग दावी बमोजिम हदैसम्म सजाय गरी पाउँ भन्ने व्यहोराको विशेष प्रहरी विभागको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
५८. सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को व्यवस्था बमोजिम श्री ५ को सरकारको प्रस्तुत पुनरावेदन सरकारी वकीलबाट दायर नभै विशेष प्रहरी विभागबाट दायर भएको मानयता दिन मिल्ने हो होइन ? भन्ने प्रश्नमा यसै प्रकृतिको विशेष प्रहरी विभागबाट दायर भएका अन्य पुनरावेदनहरु समेत रहेकोले व्यापक परिणाम पर्न सक्ने जटिल कानुनी प्रस्तुत मुद्दामा समाविष्ट देखिन आएकोले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ को खण्ड (घ) बमोजिम उक्त जटिल कानुनी प्रश्नको निरोपण पूर्ण इजलासबाट हुनु उपयुक्त देखिएकोले यसै लगाउका फौ.पु.नं. ८९०, ८९१, ८९२, ८९३, ८९४, ८९५ र ८९६ समेतका मुद्दाहरु साथै नियमानुसार पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको संयुक्त इजलासको आदेश ।
५९. नियम बमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा विद्वान वरिष्ठ सरकारी अधिवक्ता बलराम के.सी. ले जसले मुद्दा चलाउँछ त्यसलाई नै पनुरावेदन गर्न पाउने हक हुने कानुनी सिद्धान्त अनुसार प्रस्तुत पुनरावेदन विशेष प्रहरी विभागले दायर गरेको हुँदा संयुक्त इजलासबाट नै पुनरावेदन हेरी किनारा गरिदिए हुने हो पूर्ण इजलासमा पठाइरहनु पर्ने होइन भन्ने बहस प्रस्तुत गर्नु भयो भने विद्वान अधिवक्ता लोकभक्त शमशेर ज.ब.रा. ले सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को दफा २४(१) मा कुनै ऐनमा श्री ५ को सरकार वादी हुने भनी लेखिएको मुद्दामा सरकारी वकीलले पुनरावेदन दिने छ भन्ने उल्लेख भएको छ । भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २५ मा परिच्छेद २ अन्तर्गत सजाय हुने कसूरको अभियोगमा अदालतमा चलाइने सब मुद्दाहरु सरकारवादी हुने भन्ने उल्लेख भएको र सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को दफा २४(१) बमोजिम प्रस्तुत मुद्दामा सरकारी वकीलले पुनरावेदन गर्नु पर्ने देखिँन आउँछ । प्रस्तुत मुद्दामा विशेष प्रहरी अधिकृतले पुनरावेदन गरेको पुनरावेदनपत्र अधिकार विहिन हुन गएको भनी संयुक्त इजलासबाट उठाइएको जटील प्रश्नको निरोपण गरी पाउँ भन्ने बहस प्रस्तुत गर्नु भयो ।
६०. यसमा सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को दफा २४ को उपदफा (२) बमोजिम श्री ५ को सरकारको प्रस्तुत पुनरावेदन सरकारी वकीलबाट दायर नभै विशेष प्रहरी विभागबाट दायर भएकोमा मान्यता दिन मिल्ने हो होइन ? भन्ने प्रश्नमा यसै प्रकृतिको विशेष प्रहरी विभागबाट दायर भएका अन्य पुनरावेदनहरु समेत रहेकाले व्यापक परिणाम पर्न सक्ने जटील कानुनी प्रश्न प्रस्तुत मुद्दामा समाविष्ट देखिन आएकोले सर्वोच्च अदालत निमयावली, २०४९ को नियम ३ को खण्ड (घ) बमोजिम उक्त जटिल कानुनी प्रश्नको निरोपण पूर्ण इजलासबाट हुन् उपयुक्त देखिएकोले यसै लगाउको फौ.पु.इ.नं. ८९०, ८९१, ८९२, ८९३, ८९४, ८९५ र ८९६ समेतका मुद्दाहरु साथै नियमानुसार पूर्ण इजलासमा पेश गर्नु भन्ने संयुक्त इजलासबाट भएको आदेश बमोजिम पूर्ण इजलासमा पेश हुन आएको देखियो ।
६१. प्रस्तुत मुद्दामा मुख्य प्रश्न नै विशेष प्रहरी विभागबाट पुनरावेदन दायर भएकोमा मान्यता दिन मिल्ने हो होइन भन्ने रहेको छ । प्रस्तुत भ्रष्टाचार मुद्दामा पुनरावेदन अदालत पाटन ललितपुरबाट मिति २०४९।५।१४ मा भएको फैसला उपर ०४९।१०।८ मा विशेष प्रहरी अधिकृत विशेष प्रहरी विभागबाट पुनरावेदन दायर भई दर्ता भएको देखिन आउँछ । सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ मिति २०४९।९।८ देखि लागू भएको र उक्त सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को दफा २४(१) मा भएको व्यवस्था हेर्दा सरकारी मुद्दा सम्बन्धी ऐनको अनुसूची १ वा २ मा लेखिएका मुद्दा र कुनै ऐनमा श्री ५ को सरकार वादी हुने भनी लेखिएको मुद्दामा पुनरावेदन वा पुनरालोकन वा तत्सम्बन्धी कुनै निवेदन दिनु पर्दा सम्बन्धित सरकारी वकीलले दिनेछ भन्ने व्यवस्था भएको र भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २५ ले परिच्छेद २ अन्तर्गत सजाय हुने कसूरको अभियोगमा चलाइने सबै मुद्दाहरु सरकार वादी हुने भन्ने व्यवस्था भएबाट प्रस्तुत मुद्दा सरकार वादी हुने मुद्दा नै देखिएकोले प्रस्तुत मुद्दामा स.मु.स. ऐन, २०४९ को दफा २४(१) ले पुनरावेदन दिने काम कर्तव्य सरकारी वकीलको भएको देखिन्छ । तसर्थ सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को दफा २४(१) मा अनुसूची १ वा २ मा लेखिएको मुद्दा र कुनै ऐनमा श्री ५ को सरकार वादी हुने भनी लेखिएको मुद्दामा पुनरावेदन वा पुनरावलोकन वा तत्सम्बन्धी कुनै निवेदन दिनु पर्दा सम्बन्धित सरकारी वकीलले दिनेछ भनेको र भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २५ बमोजिम प्रस्तुत मुद्दा श्री ५ को सरकार वादी हुने देखिएकोले प्रस्तुत मुद्दामा सरकारी वकीलले पुनरावेदन गर्नु पर्नेमा विशेष प्रहरी विभागबाट परेको पुनरावेदनबाट कारवाही गर्न नमिल्ने हुँदा प्रस्तुत पुनरावेदन खारेज हुने ठहर्छ । यसै साथ पेश भएका फौ.पु.इ.नं. १५, १३, १६, १७, १८, १९ का पुनरावेदनमा नियम बमोजिम कारवाही हुन संयुक्त इजलासमा पेश गरी मिसिल नियम बमोजिम बुझाई दिनु ।
उक्त रायमा हामीहरुको सहमति छ ।
न्या. रुद्रबहादुर सिंह
न्या. नरेन्द्रबहादुर न्यौपाने
इति सम्वत् २०५२ साल पौष २० गते रोज ५ शुभम् ।