शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४४६ - परमादेश प्रतिषेध लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरिपाउँ

भाग: ११ साल: २०२५ महिना: बैशाख अंक:

निर्णय नं.  ४४६     ने.का.प. २०२५

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्रीवासुदेव शर्मा

न्यायाधीश श्री मीनबहादुर थापा

न्यायाधीश श्री हेरम्बराज

न्यायाधीश श्री राज इश्वरी जंगबहादुर सिंह

२०२४ सालको रि.फु.नं. २३

निवेदक      : वृज चन्द्रबहादुर थापा

विरुद्ध

विपक्षी : काठमाडौं नगरपञ्चायत

विषय : परमादेश प्रतिषेध लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरिपाउँ

()   कस्तो मुद्दामामिला हकदारले सकार्न नपाउने ?

            संविधानद्वारा प्रदत्त मौलिक हकको प्रचलनको लागि परेको निवेदन (रीटसम्बन्धी) मा निवेदक परलोक भएमा हकदारले सकार गर्न नपाउने ।

            फ्नो हकमा आफूमै मात्र सीमित रहने । सार्वजनिक सो पार्क उपभोग गर्न पाउने कुराको मौलिक हकको प्रचलनका लागि नेपालको संविधानको धारा ७१ अन्तर्गत रीटको निवेदन गरेको देखिएको र यस किसिमको मौलिक हक प्रचलन गराइपाउँ भन्ने निवेदक नै परलोक भएपछि निजको यस्तो मौलिक हक अरुमा सर्न नसक्ने हुनाले समेत कानूनको हकदारले सकार गर्न पाउने अवस्था देखिनआएन ।

(प्रकरण नं. २)

विपक्षी तर्फबाट : अभिवक्ता श्री झुलेन्द्रप्रसाद ।

आदेश

      १.     विपक्षी काठमाडौं नगरपञ्चायतले का.ई. जुद्ध सडकमा भएको सार्वजनिक भूगोलपार्कलाई बिगारी भत्काई मासिने गरी घरपसल बनाउन लागेकोबाट म समेत नेपाली नागरिकको मौलिक हकको हनन भएकोले सो हकको प्रचलनका लागि नेपालको संविधानको धारा ७१ अन्तर्गत परमादेश प्रतिषेध लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जि जारी गरिपाउँ भन्नेसमेत निवेदकको रीटको निवेदन परेकोमा २०२३।७।१८।५ को स्पेशलबेञ्चबाट उक्त निवेदन खारेज हुने ठहराई निर्णय आदेश भए उपर दोहर्‍याइपाउँ भन्ने निवेदकको निवेदन परी दोहर्‍याउन आदेश बक्सनुपर्ने भनी न्यायीक समितिबाट सिफारिस गरेको श्री ५ महाराजाधिराजका हजुरमा जाहेरी हुँदा नोपालको संविधानको धारा ७२ (ख) अनुसार उक्त मुद्दा दोहर्‍याइदिनु भन्ने हुकुम बक्सेको भनी मौसुफका प्रमुख सचीवालयबाट २०२४।११।१६।४ मा लेखिआएको पेश हुँदा बक्स भई आएका हु.प्र. बमोजिम गर्न निमित्त नियमबमोजिम लगतमा दर्ता गरी मिसिल झिकाई दुवैपक्ष राखी फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २ प्रतिलिपी जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचीवालयमा जनरल विभागमार्फत पठाइदिनु भन्ने माननीय श्री प्र.न्या. ज्यूबाट २०२४।११।१६।४ मा आदेश भएको रहेछ ।

      २.    यसमा तारखेमा रहेको विपक्षीको वा शिवध्वज रोहवरमा रही २०२५।१।७।६ मा पेश भई विपक्षीतर्फबाट विद्वान अभिवक्ता श्री झुलेन्द्रप्रसादले गर्नुभएको बहससमेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत केशमा दोहर्‍याइदिनु भन्ने हुकुमको प्रमांगी बक्स भइआएपछि निवेदक बृ.ज. चन्द्रबहादुरका नाउँमा जारी भएको ७ दिने म्याद २०२४।१२।९।६ मा तामेली हुन जाँदा निज निवेदक चन्द्रबहादुर २०२३ साल मार्ग महिनामा परलोक भइसक्नुभएको भनी यादमा लेखिआएको देखिन आयो । हकदारले सकार गर्न पाउने नपाउने के हो ? भन्ने तर्फ हेर्दा मुलुकी ऐन, अदालती बन्दोबस्तको १७४ नं. मा बिगो भर्नु भराउन दिनु दिलाउनु वा सम्पत्ति चलन चलाउनु लिनु पर्ने मुद्दामासम्म हकदारले सकार गर्न पाउने व्यवस्था भएको पाइन्छ । यो त्यस किसिमको मुद्दा नभई का.ई. जुद्ध सडकमा भएको सार्वजनिक भूगोल पार्कलाई काठमाडौं नगरपञ्चायतले बिगारी भत्काई मासिने गरी घर पसल गराउन लागेकोबाट म समेत नेपाली नागरिकहरूको मौलिक हक हनन भएको भनी आफ्नो हकमा आफूमैमात्र सीमित रहने सार्वजनिक सो पार्क उपभोग गर्न पाउने कुराको मौलिक हकको प्रचलनका लागि नेपालको संविधानको धारा ७१ अन्तर्गत रीटको निवेदन गरेको देखिएको र यस किसिमको मौलिक हक प्रचलन गराइपाउँ भन्ने निवेदकनै परलोक भएपछि निजको यस्तो मौलिक हक अरुमा सर्न नसक्ने हुनाले समेत कानूनले हकदारले सकार गर्न पाउने व्यवस्था देखिन आएन । तसर्थ निवेदक चन्द्रबहादुर परलोक भइसकेको कारणबाट प्रस्तुत केशमा केही कारवाई गर्नु नपर्ने भएकाले सोही व्यहोरा विपक्षीको वारेसलाई सुनाई तामेलीमा राख्न नियमबमोजिम मिसिल बुझाइदिनु ।

 

मा.न्या.श्री राजा ईश्वरी जंगबहादुरसिंहको राय

            यसमा अ.बं. १७५ नं. ले यो सार्वजनिक कुरा सकार नगरे श्री ५ को सरकारले हेर्ने भन्ने पनि उल्लेख भएको सार्वजनिक कुरा भन्नु नै श्री ५ को सरकारवादी हुन आउने हुनाले र यो सार्वजनिक भए पनि १७४ नं. ले सो नगरपञ्चायतले चलन गरेकोमा रोक्न लगाउनु नै चलन चलाउन पर्ने कुरासमेत हुँदा हकदारको नाउँमा म्याद पठाउन पर्ने मेरो चित्तमा लागेकोले सहयोगी माननीय न्यायाधीशहरूसँग राय समर्थन भएन ।

 

इति सम्वत् २०२५ साल वैशाख १४ गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु