शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६०६७ - अंश दपोट

भाग: ३७ साल: २०५२ महिना: पौस अंक:

निर्णय नं. ६०६७ ने.का.प. २०५२      अङ्क ९

 

संयुक्त इजलास

सम्माननीय का.मु.प्र.न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी

सम्वत् २०५१ सालका दे.पु.नं. २४३९

फैसला मिति   : २०५२।५।७।४

मुद्दा : अंश दपोट ।

पुनरावेदक/वादी : का.जि.का.न.पा. वडा नं. ३१ बस्ने पञ्चनारायण महर्जन

विरुद्ध

विपक्षी/प्रतिवादी : ऐ.ऐ. बस्ने आशानारायण महर्जन

ऐ ऐ बस्ने हर्षनारायण महर्जन

ऐ ऐ बस्ने चैत्यनारायण महर्जन

ऐ ऐ बस्ने चैत्यमाया महर्जन

§  एकासगोलको अंशियारको नाममा दर्ता रहेको सम्पत्ति एकासगोलकै अर्को अंशियारलाई लिखत गरी दिएको अवस्था हुँदा अंश दपोट गरेको मान्न नमिल्ने ।

(प्रकरण नं. १०)

पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री विश्वराज भट्टराई

विपक्षी तर्फबाट : x

अवलम्बित नजीर : x

आदेश

    का.मु.प्र.न्या. सुरेन्द्रप्रसाद सिंह : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम पुनरावेदन अदालत पाटन ललितपुरको फैसला उपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :

    २.   विपक्षी प्रतिवादीहरु मेरो आमा बाबु र चैत्य नारायण, चैत्य माया मेरो दाजु भाउजु हुनुहुन्छ । विपक्षीहरु उपर अंश पाउँ भनी फिराद गर्दा ४ भागको १ भाग अंश पाउने ठहरी का.जि.अ.बाट ०४९।८।२३ मा फैसला भयो । उक्त अंश मुद्दामा का.न.पा. वडा नं. ३१ कि.नं. ११७० को क्षे.फ. ०१४१ जग्गा र सो जग्गामा बनेको हाल विवादास्पद घर समेत तायदातीमा चढाई पेश गर्नु पर्नेमा पेश नगरी उक्त कि.नं. ११७० क्षे.फ. ०१४१ जग्गा कित्ताकाट गरी आफ्नो एकाघरमा रहेको बुहारीलाई ०० जग्गा बकसपत्र गरी दिई कि.नं. २६७८ कायम गरी दवाई तायदाती फाँटवारी पेश नगरी उक्त जग्गा र घरलाई हा.व. गरी सकेपछि बाँकी ०१ जग्गा मात्र तायदातीमा चढाई फाँटवारी दिनु भए अनुसार उक्त कि.नं. ११७० बाट कि.का. गरी क्षे.फ. ०० जग्गा र त्यसमा बनेको घर दपोट गरेको हुनाले अ.बं. ८२ अंशबण्डाको २७, ३५ लेनदेन व्यवहारको ४० नं. अन्तर्गत यो फिराद गर्न आएको छु । तसर्थ का.न.पा. वडा नं. ३१ कि.नं. ११७० को क्षे.फ. ०१४१ जग्गा कित्ताकाट गरी कि.नं. २६७८ को ०० कायम गरेको जग्गा र त्यसमा बनी राखेको घर सहित तायदातीमा नदेखाई मुद्दा परी सकेपछि कि.का. गरी कि.नं. २६७८ को क्षे.फ. ०० जग्गा र त्यसमा बनेको घर समेत दपोट ठहराई मेरा नाउँमा एकलौटी दर्ता गरी पाउँ भन्ने समेत व्यहोराको वादीको फिरादपत्र ।

    ३.   वादी दावी झुठ्ठा हो । म आशा नारायणले रत्नबहादुर मानन्धरबाट मिति ०२६।८।२ मा र.नं. १०२२ द्वारा मा.पो.का. काठमाडौंद्वारा राजीनामा पारित गरी लिएको उक्त कित्ता जग्गामा मेरो बुहारी चैत्यमायाले माइतीबाट लिई आएको दाइजो तथा पेवा समेतको रुपैयाँबाट घर बनाई आएको र नापीमा उक्त जग्गा का.न.पा. वडा नं. ३१ कि.नं. ११७० को क्षे.फ. ०१४१ कायम भई उक्त जग्गा पैत्रिक सम्पत्तिको आम्दानीबाट लिखत पारीत गरी नलिएको र आफ्नो निजी आर्जनबाट आर्जन गरी लिएको उक्त कित्ता जग्गा मध्ये ०० घर जग्गा निज बुहारीलाई नै लिखत पारीत गरी दिएको हो बुहारीलाई लिखत पारीत गरी दिई बाँकी रहेको कि.नं. २६७८ को ०१ को घर जग्गा मैले तायदातीमा बण्डा समेत नलाग्न भनी फाँटवारी पेश गरेको थिएँ । वादीको फिराद दावा अ.बं. ८२ नं. ले हकदैया नै नभएको हुँदा फिराद स्वतः खारेजभागी छ । पिता पुर्खाका पालाको सम्पत्ति त आधासम्म घर व्यवहार चलाउन घरको मुलीले आफूखुश गर्न पाउने भनी कानुनी व्यवस्था समेत रहेको छ । वादी दावी बमोजिम हामीले दपोट गरेको नहुँदा वादीको झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरुको संयुक्त प्रतिउत्तरपत्र ।

    ४.   बुहारीलाई जग्गा पास गरी फाँटवारी दिँदा उक्त जग्गा दवाई फाँटवारी प्रतिवादीहरुले दिएको देखिएकोले अंशबण्डाको २७ नं. ले यी वादीले उक्त सम्पत्ति एकलौटी खान पाउने ठहर्छ र दर्ता समेत हुने ठहर्छ भन्ने शुरु काठमाडौं जिल्ला अदालतको फैसला ।

    ५.  शुरु जिल्ला अदालतले वादी दावी बमोजिम दपोट गरेको ठहराई गरेको फैसलामा हामीहरुको चित्त बुझन शुरुको फैसला बदर गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरुको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।

    ६.   यसमा अंश मुद्दामा प्रतिवादीहरुले मिति ०४९।६।२७ मा तायदाती फाँटवारी दाखिल गर्दा विवादित कि.नं. २६७८ को जग्गा प्रतिवादीहरुका नाममा नरहेको देखिएको यस स्थितिमा अंशबण्डाको २७ नं. बमोजिम दपोट ठहराएको शुरुको इन्साफ विचारणीय देखिँदा छलफलका लागि अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम विपक्षी झिकाई उपस्थित हुन आएपछि म्याद नाघेपछि नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत पाटनको आदेश ।

    ७.  चैत्य मायाको नाममा कायम भएको सम्पत्ति आशा नारायणले तायदातीमा नदेखिएको भनी अंश दपोट कायम गरी एकलौटी खान पाउने ठहर्‍याएको फैसलामा अंशबण्डाको २७ नं. को त्रुटि देखिन आएको हुँदा शुरु जिल्ला अदालतको फैसला उल्टी भई विवादित सम्पत्ति एकासगोलको अंशियारले सगोलको छोरा बुहारीलाई दिएको देखिँदा एकासगोलको अंशियारका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति भनी अदालतले अनुमान गर्न पर्ने देखिँदा उक्त विवादित कि.नं. ३६७८ को ज.रो. ०० बाट ४ भागको एक भाग जग्गा वादीको मञ्जुरी बिना लिखत गरी दिएको देखिँदा सो ४ भागको एक भागमा वादीको हक कायम भै दर्ता हुने भई प्रतिवादीको नामको सो हदसम्मको दर्ता बदर हुने ठहर्छ । अंशदपोट तर्फको वादी दावी पुग्न सक्दैन भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटन ललितपुरको मिति २०५१।६।११।१ को फैसला ।

    ८.   विपक्षीहरुको मिलेमतोबाट एकासगोलको अंशबण्डा गर्नु पर्ने विवादित घर जग्गामा अंश मुद्दा परी सोको जानकारी पाई सकेपछि विपक्षी बुबा आशा नारायण दिने विपक्षी भाउजु लिने तथा विपक्षी दाजु साक्षी बसिएका सगोल की बुहारीलाई हा.व. गरी दिएको अवस्थालाई कुनै वास्ता नगरी उक्त सम्पतिलाई एकासगोलको भनी अदालत आफैले अनुमान गरी मेरा दाबी नपुग्ने ठहर्‍याई इन्साफ त्रुटीपूर्ण छ । मेरो फिराद परेपछि मात्र मेरो अंश मार्ने नियतले हा.व. गरी तयदातीमा उक्त जग्गा लुकाई दपोट गरेबाट अंश बण्डाको २७ नं. बमोजिम दपोट गर्नेले मलाई सम्पुर्ण जग्गा एकलौटी रुपमा उपभोग गर्न पाउनेमा केबल ४ भागको १ भगसम्म प्रतिवादीका दर्ता बदर गरी शुरु इन्साफ नै सदर गरी पाउँ भन्ने समेत व्यहोराको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

    ९.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री विश्वराज भट्टराईले मेरो पक्षले विपक्षी उपर अंश मुद्दा दायर गरी सकेपछि सोको जानकारी पाई अंश मार्ने नियतले केही जग्गा बुहारीलाई हा.व. गरी दिएको तायदाती पेश गर्दा सो कुरा लुकाएकोले अंशबण्डाको २७ नं. अनुसार अंश दपोट गरेको प्रष्ट छ । यस्तोमा अंश दपोट गर्नेले सो सम्पत्ति नपाउने भै वादीले नै उपभोग गर्न पाउनेमा अंश दपोट तर्फ दावी नपुग्ने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको फैसला त्रुटिपूर्ण छ। स्वयं विपक्षीले मौकैमा भन्न दावी लिन नसकेको कुरालाई हाल आएर अदालतले मुद्दाको दावी भन्दा बाहिर गएर निर्णय गर्न मिल्ने होइन । साविक एउटै कित्ताबाट कित्ताकाट भै आएको जग्गा मध्ये एउटा कित्ता बण्डा लाग्ने भई अदालतबाट अन्तिम फैसला भै राखेको र त्यसै मध्येको अर्को कित्ता घर जग्गा भने अंश मुद्दा परिसकेपछि तायदातीमा नदेखाई विपक्षीले अंश मार्ने नियतले दबाए छिपाएकोमा त्यसतर्फ कुनै ध्यान नदिई अंशबण्डाको २७ नं. समेत निष्कृय हुने गरी भएको पुनरावेदन अदालत पाटनको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी शुरु इन्साफ नै सदर हुनु पर्छ भनी गर्नु भएको बहस समेत सुनी मिसिल अध्ययन गरी इन्साफ तर्फ विचार गर्दा पुनरावेदन अदालत पाटनको फैसला मिले नमिलेको के रहेछ त्यसतर्फ निर्णय दिनु पर्ने हुन आयो ।

    १०.  यसमा विपक्षीहरु उपर काठमाडौं जिल्ला अदालतमा अंश मुद्दा दर्ता गरेकोमा ४ भागको १ भाग अंश पाउने गरी फैसला भएको र तायदाती पेश गर्दा कि.नं. ११७० को ज.रो. ०१४१ जग्गा र सो जग्गामा रहेको हाल विवादित घर जग्गा समेत खुलाई पेश गर्नु पर्नेमा नगरी सो कित्ताकाट गरी एकाघरकी बुहारीलाई हा.व. गरी दिएको ०० जग्गा दबाई छिपाई मेरो अंश मार्ने नियतबाट अंश दपोट गरेकोले मेरो नाउँमा एकलौटी दर्ता गरी पाउँ भन्ने फिराद दावी र विवादित घर जग्गा पैतृक सम्पत्ति नभै बुहारीले माइतीबाट लिई आएको दाइजो तथा पेवा समेतको रुपैयाँबाट आर्जित सम्पत्ति हुँदा निज बुहारीलाई नै हा.व. गरी दिएकोले वादी दावी झुठ्ठा हो भन्ने प्रतिउत्तर जिकिर भएकोमा वादी दावी पुग्ने ठहर्‍याएको शुरु इन्साफ उल्टी गरी विवादित सम्पत्तिको प्रतिवादीको नाउँको ४ भागको १ भाग सम्म बदर गरी वादीका नाउँमा दर्ता गर्ने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको फैसला उपर यस अदालतमा वादीको पुनरावेदन पर्न आएको रहेछ । विपक्षी बाबु दिने, भाउजू लिने र दाजु साक्षी बसी मेरो अंश मार्ने नियतले ०० जग्गा दबाए छिपाएको प्रष्ट हुँदा हुँदै सो को कुनै मूल्यांकन नै नगरी अंश दपोट तर्फ वादी दावी नपुग्ने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको फैसला बदर गरी पाउँ भन्ने मुख्य पुनरावेदन जिकिर भएको प्रस्तुत मुद्दामा निर्णयतर्फ विचार गर्दा यी पुनरावेदक वादीले प्रतिवादीहरु उपर अंश मुद्दा दायर गरी का.जि.अ.बाट ४ भागको १ भाग अंश पाउने ठहर्‍याई फैसला भएकोमा विवाद छैन। वादीले दावी गरेको साविक कि.नं. ११७० कित्ताकाट भै २६७८ र २६७९ मध्ये कि.नं. २६७८ को ज.रो. ०० जग्गा प्रतिवादीले तायदाती दिँदाका अवस्थामा निजका नाममा कायम रहेको नदेखिएको उक्त सम्पत्ति मुद्दा पर्दा पर्दैको अवस्थामा प्रतिवादी आशानारायणले एकासगोलकी बुहारी चैत्यमायालाई हा.व. गरी दिएको देखिन आएबाट सो एकासगोलको सम्पत्ति प्रतिवादी चैत्यमायालाई लिखत गरी दिँदा वादीको मञ्जुरी लिएको देखिँदैन । यसरी एकासगोलको अंशियारको नाममा दर्ता रहेको सम्पत्ति एकासगोलकै अर्को अंशियारलाई लिखत गरी दिएको अवस्था हुँदा अंश दपोट गरेको मान्न मिलेन । तसर्थ विवादित कि.नं. २६७८ को ज.रो. ०० जग्गामा वादीको एकलौटी हक पुग्ने गरी ठहर्‍याएको शुरु का.जि.अ. को फैसला उल्टी गरी केवल ४ भागको १ भागमा वादीको हक कायम भई दर्ता हुने भै प्रतिवादीको नामको सो हदसम्मको दर्ता बदर हुने र अंश दपोटतर्फ वादी दावी नपुग्ने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. कृष्णजंग रायमाझी

 

इति सम्वत् २०५२ साल भाद्र ७ गते रोज ४ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु