शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६०६९ - कीर्ते

भाग: ३७ साल: २०५२ महिना: पौस अंक:

निर्णय नं. ६०६९ ने.का.प. २०५२      अङ्क ९

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ

माननीय न्यायाधीश श्री ईन्द्रराज पाण्डे

सम्वत् २०५१ सालको फौजदारी पुनरावेदन नम्बर ८४७

फैसला मिति   : २०५२।६।२४।३

मुद्दा : कीर्ते ।

पुनरावेदक/वादी : जिल्ला मकवानपुर पदमपोखरी गाउँ विकास समिति वडा नं. ४ बस्ने शंकर लामा

विरुद्ध

प्रत्यर्थी/प्रतिवादी : ऐ.ऐ. बस्ने धावा लामा

§  वादी दावी बमोजिम सद्दे वा कीर्ते भनी निरोपण गर्नु पर्ने मूल लिखत नै अदालत समक्ष पेश नभएपछि सो लिखतको कानुनी अवस्था के कस्तो हुने भनी ठहर गर्न सकिने अवस्था नरहने ।

(प्रकरण नं. ११)

पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री अर्जुनप्रसाद लम्साल

प्रत्यर्थी तर्फबाट : x

अवलम्बित नजीर : x

फैसला

    न्या. ओमभक्त श्रेष्ठ : श्री पुनरावेदन अदालत हेटौंडाको मिति २०५०।१२।८।२ को फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :

    २.   विपक्षीले माननीय रुपचन्द्र विष्टज्यूको विशेष कार्यालयबाट विभिन्न विद्यालयको लागि ३३१२ बण्डल जस्ता बुझी लिई सो जस्ता आफूले हिनामिना गरी तोकिएको विद्यालयमा तोकिए बमोजिम प्रयोग नगरी आफ्नो घरमा लगाई चन्द्रोदय प्रा.वि. विष्णु ज्योति प्रा.वि. र प्रतिमा प्रा.वि.को नाममा निकासी भई आएको जस्ता पाता ३३१२ बण्डल गाडीमा लोड गरी गा.पं. सम्म लानु भनी धावा लामाबाट आजको मिति २०४२।५।१७ मा बुझी लिई त्यस्को भर्पाई गरी दियो भनी व्यहोरा लेखी भर्पाई लिखत खडा गरी सो भर्पाईमा विपक्षीले मेरो दस्तखतसँग मिल्दो जुल्दो हुने गरी दस्तखत गरी कीर्ते काम गरेकोले उक्त भर्पाईलाई कीर्ते ठहर गरी कीर्ते भर्पाई निष्कृय ठहर गरी सजाय समेत गरी पाउँ भन्ने समेत व्यहोराको वादी दावी ।

    ३.   उक्त जस्ता पाता म र विपक्षी समेतले एकै गा.पं. अन्तर्गत स्कूलहरुको लागि पाउने भएकोले छुट्टा छुट्टै स्कूलका लागि छुट्टा छुट्टै रकम जम्मा गरे तापनि ढुवानीको दृष्टिकोणले समेत सजिलो होस् भनी विपक्षीको जिम्मामा दिई निजले भर्पाई समेत गरी दिएको हो । हदम्याद समेत नाघी दायर भएको फिराद हुँदा फिरादपत्र खारेज गरी विपक्षीलाई नै सजाय समेत गरी पाउँ भन्ने प्रतिवादीको प्रतिउत्तरपत्र ।

    ४.   वादीले मुलुकी ऐन कीर्ते कागजको १८ नं. बमोजिम कीर्तेमा काम भए गरेको मिति २०४२।५।२७ गतेले २ वर्षभित्र फिराद दायर गराउनु पर्नेमा २ वर्षको हदम्याद नघाई मिति २०४६।२।२६ गतेमा फिराद दर्ता गराएको देखिँदा यस्तो हदम्याद नघाई दर्ता भएको प्रस्तुत फिरादपत्रबाट ईन्साफ गर्न नमिल्ने देखिँदा प्रस्तुत फिराद मुलुकी ऐन अदालती बन्दोवस्तको १८० नं. बमोजिम खारेज हुने ठहर्छ भन्ने समेत मकवानपुर जिल्ला अदालतको मिति २०५०।१।६ गतेको फैसला ।

    ५.  मकवानपुर जिल्ला अदालतको खारेजी फैसला बदर गरी मेरो वादी दावी तथा पुनरावेदन जिकिर बमोजिम ईन्साफ पाउँ भन्ने वादी शंकर लामाको पुनरावेदन अदालत हेटौंडामा परेको पुनरावेदनपत्र ।

    ६.   शुरुबाट खारेज गर्ने गरी भएको निर्णय श्री सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तको सन्दर्भमा विचारणीय हुँदा छलफलमा अ.बं. २०२ नं. ले विपक्षी झिकाई उपस्थित भए वा गुजारेपछि नियमानुसार पेश गर्नु भन्ने मिति २०५०।८।९ गतेको पुनरावेदन अदालत, हेटौंडाको आदेश ।

    ७.  वादी शंकर लामालाई विवादित भर्पाई तयार भएको भनिएको मिति २०४२।५।१७ गते भन्दा अगाडी थाहा भएको भन्ने वास्तविक स्थिति रहेको मिसिलबाट समर्थन हुन नसकेकोले शुरुले हदम्यादको आधारमा खारेज गरेको मिलेको देखिएन विवादित कीर्ते भनिएको लिखत पेश गर्न पटक पटक अदालतले आदेश दिँदा समेत दाखिल नभएको र जुन लिखत कीर्ते भनी दावी लिएको हो सो लिखत नै अदालतले हेर्न जान सक्ने स्थिति नभएकोले सक्कल लिखतको अभावमा दावीको भरमा मात्र निर्णय गर्न नमिल्ने हुँदा फिराद तामेलीमा राखी दिने भन्ने समेतको पुनरावेदन अदालत, हेटौंडाको मिति २०५०।१२।८।२ को फैसला ।

    ८.   मेरो नालेशमा हदम्याद र हकदैयाको विवाद नभएप्छि ठहर फैसला गर्नु पर्नेमा फिराद तामेलीमा राखेको इन्साफ मिलेको छैन । लिखत अदालतमा आउन नसकेको कारणले फिराद तामेलीमा राख्न नमिल्ने हुँदा पुनरावेदन अदालत, हेटौंडा समेतको फैसला बदर गरी फिराद दावी बमोजिम ठहर फैसला गरी पाउँ भन्ने व्यहोराको वादीले यस सर्वोच्च अदालतमा दिएको पुनरावेदनपत्र ।

    ९.   नियम बमोजिम आजको दैनिक पेशी सूचीमा चढी निर्णयार्थ यस इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री अर्जुनप्रसाद लम्सालले हदम्यादको आधारमा शुरुले खारेज गरेको फैसला उल्टी भएपछि मेरो नालेशमा हदम्याद तथा हकदैयाको विवाद नरहेको अवस्थामा कानुन बमोजिम ठहर फैसला गर्न पर्नेमा तामेलीमा रोखेको पुनरावेदन अदालतको फैसला मिलेको छैन । प्रतिवादीलाई विवादित लिखत पेश गर्ने आदेश अदालतले दिएकोमा पेश नभएपछि प्रमाण ऐन, २०३१ को दफा ७ (ख) बमोजिम प्रतिवादीकै विरुद्धमा प्रमाण लाग्ने कानुनी व्यवस्थालाई फैसलाले समेट्न सकेको छैन । तसर्थ तामेलीमा राख्ने गरेको पुनरावेदन अदालत, हेटौंडा र खारेज गरेको शुरु फैसला समेत बदर गरी फिराद दावी बमोजिम कीर्ते ठहर गरी पाउँ भनी बहस गर्नु भयो ।

    १०.  विद्वान कानुन व्यवसायीको उल्लेखित बहस सुनी मिसिल संलग्न कागजात हेर्दा शुरु इन्साफ उल्टी गरी फिराद तामेलीमा राख्ने गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला मिलेको छ, छैन वादीको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन सो विषयमा निर्णय दिनु पर्ने देखिन आयो ।

    ११.  निर्णयतर्फ विचार गर्दा विद्यालयको छानाको लागि विशेष कार्यक्रम अन्तर्गत आएको जस्ता ३३१२ बण्डल विपक्षीले बुझी लिएकोमा सो जस्ता पञ्चायतसम्म लैजान मैले बुझेको भनने व्यहोराको कीर्ते भर्पाई मिति २०४२।५।१७ गतेमा तयार गरेको जानकारी मिति २०४६।२।१७ गतेमा नक्कल लिँदा थाहा भएकोले उक्त भर्पाई कीर्ते ठहर गरी पाउँ भन्ने मुख्य फिराद दावी भएकोमा शुरुले हदम्यादको आधारमा खारेज गरेकोफैसला उल्टी गरी सक्कल लिखतको अभावमा फिराद तामेलीमा राख्ने गरेको पुनरावेदन अदालत, हेटौंडाको फैसला उपर वादीले पुनरावेदन गरेको देखियो । वादीले फिराद साथ प्रतिवादीले निजको नक्कली दस्तखत गरी कीर्ते गरेको भनेको मित २०४२।५।१७ गतेको भर्पाईको फोटोकपी मात्र पेश गरी सक्कल लिखत जि.पं. सचिवालय, मकवानपुरमा छ भनी फिरादमा उल्लेख गरेको पाइन्छ । शुरु अदालतबाट उक्त सक्कल लिखत माग गर्दा जिल्ला पंचायत सचिवालय, मकवानपुरले लिखतको सक्कल प्रति धावा लामा सँगै भएको व्यहोरा उल्लेख गरी विवादित भर्पाईको फोटोकपी मात्र पठाएको मिसिलबाट देखिन्छ । मकवानपुर जिल्ला अदालतबाट मिति २०४८।१०।५।१ मा विवादित भर्पाईको सक्कल कपी प्रतिवादीबाट पेश गर्न लगाई विशेषज्ञ जचाउने आदेश भएकोमा आफ्नो साथमा भएको उक्त भर्पाई मिति २०४७।५।१२ मा खोला तर्न लाग्दा लडी खोलाले बगायो भनी मिति २०४८।११।१ मा प्रतिवादीले निवेदन दिएको देखिँदा कीर्ते भए गरेको भनिएको सक्कल भर्पाई अदालत समक्ष पेश दाखिल भएको देखिएन । वादी दावी बमोजिम सद्दे वा कीर्ते भनी निरोपण गर्नु पर्ने मूल लिखत नै अदालत समक्ष पेश नभएपछि सो लिखतको कानुनी अवस्था के कस्तो हुने भनी ठहर गर्न सकिने अवस्था रहेन । अतः पुनरावेदन अदालत, हेटौंडाले विवादित भर्पाईको सक्कल कागजको अभावमा शुरुको खारेजी फैसला बदर गरी तामेलीमा राखेको मिति २०५०।१२।८।२ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा मेरो सहमति छ ।

 

न्या. इन्द्रराज पाण्डे

 

इति सम्वत् २०५२ साल असोज २४ गते रोज ३ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु