निर्णय नं. ४५१ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

निर्णय नं. ४५१ ने.का.प. २०२५
डिभिजन बेञ्च
न्यायाधीश श्री नयनबहादुर खत्री
न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
सम्वत् २०२३ सालको रीट नम्बर २०२१
निवेदक : तिर्थबहादुर खत्री क्षेत्री
विरुद्ध
विपक्षी : जिल्ला भूमिसुधार अफिस, ललितपुरको भूमिसुधार अधिकारी
विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ
(१) भूमिसम्बन्धी नियम, २०२१ को नियम ६ बमोजिम प्रकाशित लगत उक्त नियमको नियम ७ अनुसार विशेष अदालतको निर्णयले मात्र सच्याउन सकिने ।
भूमिसम्बन्धी नियम, २०२१ को नियम ६ बमोजिम निवेदकलाई नै मोही कायम गरी लगत प्रकाशन भएको देखिएको उक्त प्रकाशित लगतबाट निवेदक मोही कायम रहेको देखिएको र सो लगतमा कायम भएको मोहीलाई सो लगत उपर उजुर परी नियम ७ बमोजिम विशेष अदालतको निर्णयले मात्र सो लगत सच्चिन सक्ने अन्यथा लगतबमोजिम निवेदक मोही कायम भईरहने भन्ने कुरा प्रष्ट देखिन आएको छ ।
(प्रकरण नं. ७)
(२) निवेदकलाई कुनै असर नपर्ने निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गर्न लिएको जिकीर मिलेको नदेखिने ।
भूमिसुधार अधिकारीको निर्णयले निवेदकलाई कुनै असर पार्न नसक्ने भएकोले असर नपार्ने निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउँ भन्ने निवेदकको जिकीर मिलेको देखिएन । भू.सु. अधिकारीको लिखित जवाफमा २०२२।१।१२।७ को निजको निर्णयबमोजिम सूर्यबहादुर कै जोत कायम गरी लगत प्रकाशित गर्ने भन्ने सङ्केत गरी जवाफ दिएको देखियो । तर उपरोक्त उल्लेख भएबमोजिम नियमम ६ बमोजिम लगत प्रकाशित भईसकेको कानूनले निर्देशित गरेको तरिकाबमोजिम मात्र सो सच्चिन सक्ने ।
(प्रकरण नं. ७)
निवेदक तर्फबाट : विद्वान अधिवक्तानारायणप्रसाद
विपक्षी तर्फबाट : सरकारी अधिवक्ता रतनलाल कनौडिया
आदेश
१. चौतरिया अनन्त जङ्ग पराक्रमको श्री कुम्भेश्ररमा ध्यू बत्ती बाल्ने गुठी श्री ५ को सरकार गुठी लगतमा मेरा बाजे उजिरसिंका नाउँमा मोहियानीमा दर्ता भएको गुठी जग्गा बाबु बाजेकै पालादेखि मोहियानीमा कमाई सो जग्गाको बाली पुजारीलाई बुझाई आएको जोताहामा निवेदकको लेखी फिल्डबुकमा सहिछाप समेत गराई लगेको र निवेदकको नाममा जोताहाको अस्थाई निस्सासमेत दिई सकेको थियो र भूमिसम्बन्धी नियमहरू, २०२१ को नियम ६ अनुसार भूमिसुधार टोलीले इमाडोल गाउँ पञ्चायत कार्यालयमा २०२२।७।२६ मा प्रकाशित गरेको लगतमा पनि उक्त जग्गाको जोताहा निवेदक नै लेखिएको छ र त्यस उपर कसैको पनि उजुरी छैन । सूर्यबहादुर गजुरेलले मेरो नाम कायम गरी पाउँ भनी निवेदन दिएकोमा सूर्यबहादुर गजुरेलको नाउँमा जोत कायम गरी दिने नभएको जोत लेखाएका भनी म निवेदकलाई रु. १५। समेत जरिवाना गरी यो निर्णय उपर चित्त नबुझे ३५ दिन भित्र विशेष अदालतका अपील गर्नु भनी २०२२।१।१२ मा ललितपुर जिल्ला भूमिसुधार अधिकारीले निर्णय गर्नुभयो । म्यादभित्रै भूमिसुधार, विशेष अदालत, ललितपुरमा निवेदकले अपील गरेमा जरिवाना गरेको मनासिव ठहर्दैन । जोत बदरतर्फ शुरु उजूरी बाहेक भूमिसुधार अधिकारीले निर्णय गरे उपर कानूनी छ वा छैन भनी अपील लिई हेर्न यस अदालतलाई अधिकार प्रदान गरिएको कानूनी व्यवस्था नदेखिँदा जिल्ला भूमिसुधार अफिसबाट जोत बदरतर्फ निर्णय गरेकोमा कानूनी वा गैरकानूनी के हो भनी कानूनी औचित्यतर्फ इन्साफमा विचार गर्न नमिल्ने भनी उक्त विशेष अदालतका न्यायाधीशले फैसला गरी दिनु भएकोले विपक्षी जिल्ला भूमिसुधार अधिकारी ललितपुरले कानूनको अधिकार बेगर गैरकानूनी तरिकाले निवेदकको संविधान तथा कानूनद्वारा प्रदत्त हक अधिकार अपहरण गरिदिएकोमा अन्य कुनै पनि उपचारको व्यवस्थासमेत नभएकोले उत्प्रेषण वा जुन उपयुक्त हुन्छ आज्ञा, आदेश वा पूर्जि जारी गरी विपक्षीको २०२२ साल बैशाख १२ गतेको निर्णय बदर गरीपाउँ भन्ने तिर्थबहादुर खत्री क्षेत्रीको निवेदन ।
२. के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? यो आदेश प्राप्त भएको मितिले बाटाका म्यादबाहेक १५ दिन भित्र अटर्नि जनरल अफिस मार्फत लिखत जवाफ पठाउनु भनी रीट निवेदनपत्रको १ प्रति नक्कल साथै राखी विपक्षी जि.भू.सु.अ. ललितपुरका भूमिसुधार अधिकारीलाई सूचना पठाई दिनु । एटर्नि जनरल अफिसलाई पनि बोधार्थ दिनु । जावफ आएपछि वा म्याद नाधेपछि पेश गर्नु भन्ने २०२३।५।१५।४ को डिभिजन बेञ्चको आदेश ।
३. भूमिसुधार अफिसको मुख्य काम नै सच्चा मोही पत्ता लगाउनु भएकोले भूमिसम्बन्धी नियमहरू, २०२१ को नियम ६ अनुसार २ नं.अनुसूची प्रकाशित नहुन्जेल कुन जग्गाको जोत कसको हो भनी छानविन गरी हेर्न यस अफिस कै काम हुन आउँछ । प्रस्तुत केशमा निवेदकले फिल्डबुकमा जोताहा लेखाएकोमा निज निवेदकको नाउँमा २ नं. अनुसूची प्रकाशित नहुँदै विपक्षी सूर्यबहादुर गजुरेलको निवेदन यस अफिसमा परी भूमिसुधार सर्भे टोलीको राय ठहरअनुसार प्रस्तुत जग्गामा सूर्यबहादुरको जोत देखिन आएबाट २ नं. अनुसूची प्रकाशित नहुँदैमा यस अफिसबाट तिर्थबहादुरको जोत बदर गरी सूर्यबहादुरको जोत कायम गरिएको हो । मिति २०२२।१।१२।७ मा सूर्यबहादुरकै जोत ठहर्याई यस अफिसबाट पर्चा गरिएपछि सोहीबमोजिमसम्बन्धीत लगत स्याहा श्रेस्ता सच्याई २ नं. अनुुसूची प्रकाशित गरिनु पर्नेमा कर्मचारीको भूलले गर्दा मात्र कि.नं. ५० र ५१ को उक्त जग्गाहरूमा पुनः निवेदककै नाउँमा मिति २०२२।७।२६ मा २ नं. अनुसूची प्रकाशित हुन गएको हो । तल्लो कर्मचारीको भूल हुँदैमा अफिसबाट मिति २०२२।१।१२।७ भएको निर्णय बदर हुनुपर्ने होइन । मिति २०२२।१।१२।७ को यस अफिसको निर्णयबमोजिम भूलबाट निवेदक तिर्थबहादुरको नाउँमा प्रकाशित भएको २ नं. अनुसूची सच्चिएपछि सो सच्चिएको मितिले ३५ दिन भित्र निज निवेदकले स्थानीय पञ्चायतमार्फत विशेष अदालतमा अपील गर्न पाउने कानूनी व्यवस्था छँदैछ । तसर्थ रीट लाग्नु पर्ने होइन भन्नेसमेत २०२२।७।१४।१ को जिल्ला भूमिसुधार अफिस ललितपुरको लिखित जवाफ ।
४. निवेदकले बदर गरीपाउँ भनेको भू.सु. अधिकारीको आदेशले जिति पाउने ल.पु.ई. इमाडोल बस्ने सूर्यबहादुर गुजरेलको पनि लिखत जवाफ लिनु पर्ने देखिनाले चाहिने रीटको निवेदनपत्रको नक्कल निवेदनबाट दाखिल गराई लिई निवेदकको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? यो आदेश प्राप्त भएका मितिले बाटाका म्यादबाहेक १५ दिन भित्र लिखित जवाफ लिई आफै वा आफ्नो प्रतिनिधिद्वारा उपस्थित हुनु भनी निज सूर्यबहादुर गुजरेललाई रीटको निवेदनपत्रको १ प्रति नक्कल साथै राखी जि.अ. ललितपुर मार्फत सूचना पठाई दिनु । जवाफ आएपछि वा म्याद नाघेपछि पेश गर्नु भन्ने २०२३।१२।३।५ को डिभिजन बेञ्चको आदेश ।
५. मेरा जोतको जग्गा मेरै जोत कायम गरी पाउँ भन्नेसमेतको व्यहोराको जि.भू.सु अधिकारीज्यूमा मेरो उजुरी निवेदन परी ललितपुर जिल्ला भूमिसुधार अधिकारी ज्यूको २०२२।१।१२ को निर्णयले मलाई मोही कायम गरेको छ । विशेष अदालतबाट जोत वदरतर्फको निर्णय उपरको अपील नलाग्ने भनी २०२३।४।६।५ मा फैसला गर्नु भएको । उत्प्रेषणको रीट जारी गरीपाउँ भन्ने दिएको निवेदनमा नलाग्ने हुँदा प्रमाणबाट दिएको निवेदन खारेजगरी श्री भूमिसुधार अधिकारीज्यूको २०२२।१।१२ को निर्णय र श्री भूमिसुधार विशेष अदलत, ललितपुर भक्तपुरको २०२३।४।६।५ को फैसला समेतको इन्साफ बहाल कायम राखी हक न्याय इन्साफ पाउँ भन्नेसमेत सूर्यबहादुर गजुरेलको लिखित जवाफ यस विषयको सक्कल फाइल महान्यायाधिवक्ताको कार्यालयमा छ भनी सरकारी विद्वान अधिवक्तले बेञ्च समक्ष अनुरोध गरेकोले अब पेश हुने दिन सक्कल फाइल लिई उपस्थित हुनु भनी महान्यायाधिवक्तको कार्यालयमा पेश हुने दिनसमेत खुलाई लेखी पठाई दिनु र निवेदकलाई ७ सातको पेशी तारेख तोकी दिनु भन्ने २०२४।४।२२।१ को डिभिजन बेञ्चको आदेश ।
६. प्रस्तुत केशमा निवेदकको वारेस क्षेत्रबहादुर विपक्षी सूर्यबहादुर रोहवरमा रही २०२४।५।२७ मा पेश हुन आएको निवेदकतर्फबाट रहनुभएको विद्वान प्लीडर नारायणप्रसादको र विपक्षीतर्फको विद्वान सरकारी अधिवक्ता रत्नलाल कनौडियाको बहस सुनी आजको निर्णय सुनाउने तारेख तोकी पेश हुन आएको निर्णयतर्फ विचार गर्दा उत्प्रेषणको आदेशद्वारा २०२२।१।१२ को भू.सु. अधिकारीको निर्णय बदर गरीपाउँ भन्ने मुख्य निवेदकको माग हुनाले उत्प्रेषणको आदेश जारी गरी भू.सु. अधिकारीको निर्णय बदर गर्नुपर्ने नपर्ने के हो भन्ने निर्णय गर्नुपर्ने हुन आएको छ ।
७. २०२२।१।१२ मा भू.सु. अधिकारीको निर्णय भईसकेपछि २०२२।७।२६ मा भूमिसम्बन्धी नियम, २०२१ को नियम ६ बमोजिम निवेदकलाई नै मोही कायम गरी लगत प्रकाशन भएको देखिएको । उक्त प्रकाशित लगतबाट निवेदक मोही कायम रहेको देखिएको र सो लगतमा कायम भएको मोहीलाई सो लगत उपर उजुर परी नियम ७ बमोजिम विशेष अदालतको निर्णयले मात्र सो लगत सच्चीन सक्ने अन्यथा लगतबमोजिम निवेदक मोही कायम भईरहने भन्ने कुरा प्रष्टै देखिन आएकोछ । लगत प्रकाशनमा निवेदक मोही कायम भईरहेको देखिएकोबाट अब २०२२।१।१२ को भूमिसुधार अधिकारीको निर्णयले निवेदकलाई कुनै असर पार्न नसक्ने भएकोले असर नपार्ने निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरीपाउँ भन्ने निवेदकको जिकीर मिलेको देखिएन । भू.सु. अधिकारीको लिखित जवाफमा २०२२।१।१२।७ को निजको निर्णयबमोजिम सूर्यबहादुर कै जोत कायम गरी लगत प्रकाशित गर्ने भन्ने संकेत गरी जवाफ दिएको देखियो । तर उपरोक्त उल्लेख भएबमोजिम नियम ६ बमोजिम लगत प्रकाशित भईसकेपछि कानूनले निर्देशित गरेको तरिकाबमोजिम मात्र सो सच्चीन सक्ने भएकोले कानूनबमोजिम गर्न भनी आदेश दिन उपयुक्त देखिनाले यो आदेशको विपक्षी भूमिसुधार अधिकारी कहाँ पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाइदिनु, फाइल नियमबमोजिम बुझाई दिनु ।
इति सम्वत् २०२५ साल आश्विन २ गते रोज २ शुभम् ।