निर्णय नं. ६०७७ - कर्तव्य ज्यान ।

निर्णय नं. ६०७७ ने.का.प. २०५२ अङ्क ९
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ
माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
सम्वत् २०४९ सालको फौ.पु.नं. ५१६
सम्वत् २०५१ सालको फौ.सा.नं. १०२
फैसला मिति : २०५२।८।६।४
मुद्दा : कर्तव्य ज्यान ।
पुनरावेदक/प्रतिवादी : जिल्ला पाल्पा दोभान गा.वि.स. वडा नं. ५ घर भै हाल पाल्पा जेलमा थुनामा रहेका मोतिलाल बस्याल
ऐ ऐ घर भै ऐ ऐ मा रहेका छविलाल बस्याल
विरुद्ध
प्रत्यर्थी/वादी : मोतीलाल बस्यालको जाहेरीले श्री ५ को सरकार
वादी : मोतीलाल बस्यालको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
प्रतिवादी : जि.पाल्पा दोभान गा.पं. वडा नं. ५ घर भै हाल जिल्ला प्रशासन कार्यालय कारागार शाखा पाल्पामा थुनामा रहेका मोतीलाल बस्याल
ऐ ऐ घर भै ऐ ऐ मा थुनामा रहेका छविलाल बस्याल
ऐ दोभान गा.पं. वडा नं. ५ बस्ने लक्ष्मी बस्याल
§ अदालतमा बयान गर्दा आफूले मात्र मृतकलाई कर्तव्य गरी मारेको भनी भन्न नसकेको अवस्थामा पुनरावेदन गर्दा मात्र लिएको जिकिर मनासिब नदेखिने ।
(प्रकरण नं. २५)
पुनरावेदक तर्फबाट : x
प्रत्यर्थी तर्फबाट : x
अवलम्बित नजीर : x
फैसला
न्या. उदयराज उपाध्याय : पुनरावेदन अदालत बुटवलको फैसला उपर पर्न आएको प्रस्तुत पुनरावेदन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ख) अन्तर्गत यसै अदालतको अधिकार क्षेत्रभित्रको भएकोले उक्त मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :–
२. मिति ०४५।११।२२ गते अं. ७ बजेको समयमा बुहारी चन्द्रकला बस्याल चिउरीको रुखमा झुण्डि मरिछ । छोरा छविलाल बस्यालले नै चन्द्रकलालाई कर्तव्य गरी मारेकोमा शंका लाग्छ कानुन बमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको मिति ०४५।११।२३ को मोतिलाल बस्यालको जाहेरी दरखास्त ।
३. मृतक चन्द्रकला बस्यालको घाँटीमा वरीपरी डोरीको जस्तो डाम भएको र केही रगत जमेको देखिएको भन्ने समेत ०४५।११।२३ को घटनास्थल प्रकृति मुचुल्का ।
४. चन्द्रकला बस्याललाई मैले नै नाम्लोले रुखमा झुण्ड्याई नाम्लोले घाँटी बाँधी मरेपछि फुकाई समथर ठाउँमा सुताएको हुँ भन्ने ०४५।११।२४ को बयान र मेरो बाबु मोतिलाल सौतेनी आमा लक्ष्मी बस्याल समेत हामी तीन जनाको सरसल्लाहले बाबुले गोडा समात्ने मैले घाँटी थिच्ने गरी रुखमा झुण्ड्याई मरेपछि फुकाई सुताई राखेका हौं भन्ने समेत व्यहोराको छविलाल बस्यालले प्रहरीमा गरेको ततिम्वा बयान ।
५. ०४५।११।२२ गते छोरा छविलाल श्रीमती लक्ष्मी बस्याल र मेरो सरसल्लाहाले मैले चन्द्रकलाको घाँटीमा कसी छोराले समाती पिट्र्यौ त्यसपछि दुवै जनाले नाम्लो तानी घाँटी कसी मार्यौं । मरेपछि फुकाई केही पर भुँईमा सुताएका हौं भन्ने समेत ०४५।११।२९ को मोतिलाल बस्यालले प्रहरीमा गरेको बयान ।
६. मोतिलाल, छविलाल र म समेत तीन जनाको सल्लाहाले बनमा छविलाल र मोतिलाल भै मारेछन् । बुहारी चन्द्रकलालाई मार्नमा सल्लाह भए तापनि मार्नमा म सहमत थिइन भन्ने समेत व्यहोराको ०४५।११।२९ को लक्ष्मी बस्यालको प्रहरीमा भएको बयान ।
७. घाँटी कसिई चन्द्रकला बस्यालको मृत्यु भएको भन्ने मेडिकल अधिकृतले गरी दिएको पोष्टमार्टम रिपोर्ट ।
८. अभियुक्त छविलाल बस्याल र मोतिलाल बस्यालले नै कर्तव्य गरी चन्द्रकला बस्याललाई मारेकोमा पुरा विश्वास लाग्दछ भन्ने समेत व्यहोराको ०४५।१२।८ को सर्जमीन मुचुल्का ।
९. छविलाल बस्याल र मोतिलाल बस्यालले चन्द्रकलालाई कर्तव्य गरी मारी ज्यान सम्बन्धीको १ नं. विपरीत अपराध गरेको हुँदा ऐ ऐनको दफा १३(३) बमोजिम हदै सम्म सजाय हुन र वारदातस्थलमा उपस्थित नभएपनि चन्द्रकला बस्याललाई मार्नपर्छ भनी मत सल्लाहा दिएको हुँदा लक्ष्मी बस्याललाई ऐ ऐनको दफा १७(३) बमोजिम सजाय हुनु पर्छ भन्ने ०४५।१२।१० को प्रहरी प्रतिवेदन माग दावी ।
१०. श्रीमती चन्द्रकला र बाबु मोतिलाल एवं सौतेनी आमा लक्ष्मी बस्याल बीच बराबर झै झगडा हुन्थ्यो । ०४५।११।१२ गते बनमा बाबुले खुट्टा समाती मैले रुखमा झुण्ड्याएको हुँ मरेपछि फुकाई केही पर सुताएका हौं । आमा लक्ष्मी बस्यालको सल्लाह दिनु भएको हो भन्ने प्रतिवादी छविलाल बस्यालले ०४५।१२।२४ मा पाल्पा जिल्ला अदालतमा गरेको बयान ।
११. चन्द्रकलालाई छोरा छविलाल र म समेत भै झुण्ड्याई मारेका हौं भन्ने ०४५।१२।१४ मा प्रतिवादी मोतिलाल बस्यालले पाल्पा जिल्ला अदालतमा गरेको बयान ।
१२. बुहारी चन्द्रकलालाई छोरा छविलाल र पति मोतिलाल बस्यालले कर्तव्य गरी मारेको होलान् । म घटना भएको ठाउँमा गएको होइन । मार्ने कुरामा सहमति दिएको मात्र हुँ भन्ने समेत व्यहोराको प्रतिवादी लक्ष्मी बस्यालले ०४५।१२।१४ मा पाल्पा जिल्ला अदालतमा गरेको बयान ।
१३. चन्द्रकला बस्याललाई निजको लोग्ने छविलाल, ससुरा मोतिलाल र सासु लक्ष्मी बस्याल समेतको सरसल्लाहबाट मारेको हुनु पर्छ घटनास्थलमा लक्ष्मी गएकी थिइनन् भन्ने समेत व्यहोराको सावित्री कार्की, चन्द्रकला पाण्डे, ज्ञानधरा पोखरेलनी, सर्जमीनका भिमबहादुर रायमाझी, भिमबहादुर थापा मगर, कुलबहादुर रायमाझी, लक्ष्मीप्रसाद बस्याल समेतले ०४६।३।११ मा पाल्पा जिल्ला अदालतमा गरेको बकपत्र ।
१४. प्रतिवादी छविलाल बस्याल र मोतिलाल बस्यालले मृतक चन्द्रकलालाई कर्तव्य गरी मारेको रहेनछ भन्न मिलेन । निजहरुकै कर्तव्यबाट चन्द्रकलाको मृत्यु भएको ठहर्नाले निजहरुलाई ज्यान सम्बन्धीको १३(३) नं. ले सर्वश्व सहित जन्म कैद हुने ठहर्छ । बुहारी मार्ने सल्लाह मतमा प्र.लक्ष्मी बस्याल पसेको ठहर्नाले ज्यान सम्बन्धी १७(३) नं. बमोजिम निजलाई ६ महिना कैदको सजाय हुने ठहर्छ भन्ने पाल्पा जिल्ला अदालतको मिति ०४६।९।५।४ को फैसला ।
१५. मृतक चन्द्रकला बस्याललाई मार्ने सल्लाहमा जे सुकै गर भनी भनेको भरमा अपराधी मनोभावनाको अभावमा दोषी सिद्ध गरी ज्यान सम्बन्धीको १७(३) लगाई ६ महिना कैद गरेको शुरु पाल्पा जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सफाई अथवा दण्ड सजायको ११क नं. को सुविधा पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी लक्ष्मी बस्यालले मिति ०४६।११।१४ गते तत्कालिन लु.अं.अ. मा दिएको पुनरावेदनपत्र ।
१६. शुरु इन्साफ उल्टी गरी न्याय पाउँ भन्ने प्रतिवादी मोतिलाल बस्यालले लु.अं.अ. मा गरेको पुनरावेदन ।
१७. पूर्व झै झगडाको कारण नभई तत्कालिनको रिस थाम्न नसकी मृतक श्रीमतीलाई झुण्ड्याउन पुगेको हुँ, यस्तो अवस्थामा शुरु जिल्ला अदालतले सर्वश्व सहित जन्म कैद गरेको फैसला त्रुटिपूर्ण हुँदा घटी घटाउ गरी न्याय पाउँ भन्ने प्रतिवादी छविलाल बस्यालले मिति ०४६।११।१४ मा तत्कालिन लु.अं.अ.मा दिएको पुनरावेदनपत्र ।
१८. विपक्षी श्री ५ को सरकारलाई अ.बं. २०२ नं. बमोजिम सूचना दिने भन्ने तत्कालिन लु.अं.अ.को ०४७।२।२१।२ को आदेश ।
१९. दुई जना प्रतिवादीले मृतक चन्द्रकलालाई कर्तव्य गरी मारेको देखिन आएकोले यसैको चोटबाट मृत्यु भएको भन्ने खुल्न नसकेको अवस्थामा ज्यान सम्बन्धीको १३(३) अनुसार जन्मकैदको सजाय मात्र गर्नु पर्नेमा शुरुले सर्वश्व सहित जन्मकैद गर्ने गरेको हदसम्मको इन्साफ केही उल्टी हुन्छ । प्रतिवादी मध्येका लक्ष्मी बस्यालको हकमा शुरुको इन्साफ मिलेकै देखिँदा मनासिब ठहर्छ भन्ने समेतको पुनरावेदन अदालत, बुटवलको मिति २०४९।१।३१ को फैसला ।
२०. न्यायालयको दृष्टिमा म पुनरावेदक मोतिलाललाई दोषी जस्तो लागेको भए पनि मलाई ज्यान सम्बन्धीको १३(३) अनुसार सजाय गर्नु पर्ने होइन, हदसम्म चर्को सजाय भएकोछ, मेरो उमेर अवस्था र घटना विवरणको दृष्टिगत गरी ज्यान सम्बन्धीको १४ नं. बमोजिम गरी पाउँ म छविलालको तत्काल उठेको रीस थाम्न नसकी हिर्काउँदा मृतकको मृत्यु भएकोले मेरो बाबु आमा समेतको संलग्नता रहेको भन्ने अवस्था नै रहेको छैन, म पुनरावेदक छविलाल बस्यालको हकमा मेरो कलिलो उमेर र अवस्थातर्फ ध्यानाकर्षण भएको छैन, म बाट तत्काल उठेको रिस थाम्न नसकी अपराध हुन गएको छ, यस उसले म पुनरावेदक छविलाल वस्याललाई अ.बं. १८८ नं. प्रयोग गरी पाउँ भन्ने समेत व्यहोराको प्र.मोतीलाल बस्याल र प्र. छविलाल वस्यालको यस अदालतमा परेको संयुक्त पुनरावेदन ।
२१. पुनरावेदन अदालत बुटवलको ०५०।१०।२७ को पत्रद्वारा साधक सदरको लागि मिसिल प्राप्त भै साधकको दायरीमा दर्ता भएको रहेछ ।
२२. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल अध्ययन गरी निर्णयतर्फ विचार गर्दा पुनरावेदन अदालत बुटवलको फैसला मिलेको छ, छैन ? तथा पुनरावेदक प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ? भन्ने विषयमा निर्णय दिनु पर्ने हुन आएको छ ।
२३. यसमा प्रतिवादीहरु मोतीलाल बस्याल र छविलाल वस्यालको पुनरावेदन परेको देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १०(३) बमोजिम पुनरावेदनको रोहबाट हेरिने भएकाले साधकको लगत कट्टा गरिदिएको छ । पुनरावेदक प्रतिवादीहरुको पुनरावेदन परेतर्फ विचार गर्दा अभियुक्त छविलाल बस्याल र मोतीलाल बस्यालले चन्द्रकला वस्याललाई कर्तव्य गरी मारी ज्यान सम्बन्धीको १ नं. विपरीत अपराध गरेको सिद्ध हुन आएका हुँदा निजहरुलाई ज्यान सम्बन्धीको १३(३) बमोजिम अभियुक्त लक्ष्मी बस्याललाई ज्यान सम्बन्धीको १७ नं. को देहाय ३ बमोजिम सजाय गरी पाउँ भन्ने प्रहरी प्रतिवेदन माग दावी भएकोमा पाल्पा जिल्ला अदालतबाट प्र. छविलाल बस्याल र प्र.मोतीलाल बस्याललाई ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम सर्वश्व सहित जन्मकैद हुने र प्र.लक्ष्मी बस्याललाई ज्यान सम्बन्धीको १७(३) नं. बमोजिम ६ महिना कैद हुने ठहराई फैसला भएको र सो फैसला उपर प्रतिवादीहरुको परेको पुनरावेदनमा पुनरावेदन अदालत बुटवलबाट प्र.छविलाल बस्याल र प्र.मोतीलाल बस्याललाई ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम जन्मकैद हुने र प्र.लक्ष्मी बस्यालको हकमा शुरुको इन्साफ मनासिब हुने गरी फैसला गरेको पाइन्छ ।
२४. प्रतिवादी मोतीलाल बस्याल अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दा ०४५।११।२१ गते बेलुका जंगलमा घाँस दाउरा काट्न जाँदा मार्ने भनी हामी तीन जनाको सल्लाह भयो र भोलिपल्ट जंगलमा बसिरहेकी बुहारीलाई छोरोले पिट्न थाल्यो र बुहारीसँग भएको नाम्लो खोसी नाम्लोले बुहारीको घाँटी कसी कसिएको घाँटीमा दुवै जना भै नाम्लो तानी घाँटी कसी मारेम भनी सावित रहेको देखिन्छ । त्यसै गरी प्र.छविलाल बस्याल पलान्धर भन्ने माझको खोल्सीमा श्रीमती र म बीच झगडा हुँदा मैले श्रीमती चन्द्रकला बस्याललाई एक झापड हानी नाम्लोको एउटा फेरो चिउरीको बुट्टामा बाँधी अर्को फेरो उस्को घाँटीमा बाँधेर डिलबाट तल घचेटी दिएँ, एकै छिनमा श्रीमती मरिन भनी र ततिम्बा बयान गर्दा बाबुले हात गोडा समाते मैले कुटपिट गरें भनी अधिकार प्राप्त अधिकारी समक्ष सावित रहेको देखिन्छ । प्र.लक्ष्मी बस्यालले पनि बुहारी मार्ने सल्लाह भएकोमा सहमति भएको भनी अधिकार प्राप्त अधिकारी समक्ष बयान गरेको पाइन्छ । ०४५।११।२१ गते साँझ छोरा छविलाल र पति मोतिलाल म समेत बसी बुहारीलाई मार्ने भन्ने सल्लाह गरेको भनी प्र.लक्ष्मी बस्यालले, चन्द्रकलालाई हामी बाबु छोराले कर्तव्य गरी मारेको भनी प्र.मोतीलाल बस्यालले र चन्द्रकलालाई मैले र मेरो बाबु मोतिलालले मारेका हौं, ०४५।११।२९ को प्रहरीमा भएको ततिम्बा बयान समेत मैले खुशीराजीबाट लेखाएको हुँ भनी प्रतिवादी छविलाल बस्यालले अदालत समक्ष बयान गरेको देखिन्छ । प्रतिवादीहरुको साविती बयान लाश प्रकृति मुचुल्का, पोष्टमार्टम रिपोर्ट र सरजमीनका भिमबहादुर रायमाझी समेतको बकपत्रबाट समेत समर्थित भएको देखिन आउँछ । यसरी मृतक चन्द्रकलालाई कर्तव्य गरी मारेमा प्र.छविलाल वस्याल र प्र.मोतीलाल बस्याल अदालतमा समेत सावित रहेको र निज प्रतिवादीहरुको अधिकार प्राप्त अधिकारी समक्षको सावित एवं अदालतको साविती बयान लाश प्रकृति मुचुल्का तथा पोष्ट मार्टम रिपोर्टबाट समर्थित भएको देखिँदा मृतक चन्द्रकलालाई निज प्रतिवादीहरुले कर्तव्य गरी मारेको देखिन आयो ।
२५. प्रतिवादी छविलाल बस्यालले आफूले मात्र श्रीमती चन्द्रकलालाई कर्तव्य गरी मारेकोले बाबु मोतीलाललाई पनि सजाय गरेको मिलेको छैन भनी पुनरावेदनमा जिकिर लिएको हकमा विचार गर्दा प्रतिवादी छविलाल बस्यालले अदालतमा बयान गर्दा आफू मात्रले मृतकलाई कर्तव्य गरी मारेको भनी बयान गरेको नदेखिनुका साथै मृतकलाई आफू र बाबु मोतिलाल समेत भै कर्तव्य गरी मारेको भनी बयान गरेको देखिन्छ । अदालतमा बयान गर्दा आफूले मात्र मृतकलाई कर्तव्य गरी मारेको भनी भन्न नसकेको अवस्थामा पुनरावेदन गर्दा मात्र लिएको जिकिर मनासिब देखिएन । त्यसै गरी मृतक चन्द्रकलालाई प्रतिवादीहरु छविलाल बस्याल र मोतिलाल बस्याल समेत भै मार्ने सल्लाह गरी सरसल्लाह मुताविक मृतकलाई कर्तव्य गरी मारेको कुरा निज प्रतिवादीहरुको बयान तथा मिसिल संलग्न सबूद प्रमाणबाट पुष्टि भएको देखिएको र वारदातको प्रकृति एवं घटनाक्रम समेतबाट ज्यान सम्बन्धीको १४ नं. आकर्षित हुन सक्ने र अ.बं. १८८ प्रयोग गर्नु पर्ने अवस्था रहेको नदेखिँदा सो सम्बन्धमा पनि पुनरावेदक प्रतिवादीहरुले लिएको पुनरावेदन जिकिर मनासिब मान्न मिलेन ।
२६. यस प्रकार पुनरावेदक प्रतिवादीहरु छविलाल वस्याल र मोतीलाल बस्याल अदालतमा समेत कसूरमा सावित भएको सो साविती बयान लाश जाँच प्रकृति मुचुल्का, लाश जाँच प्रतिवेदन र सर्जमीनबाट समेत पुष्टि भएकाले आरोपित कसूर प्रमाणित हुन आएको र मैले मात्र कसूर गरेको भन्ने प्र.छविलाल बस्यालको पुनरावेदन जिकिर भएपनि सो अनुसार शुरु बयानमा भन्न लेखाउनसम्म पनि सकेको नदेखिएको समेतबाट पुनरावेदन अदालत बुटवलको मिति २०४९।१।३१ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत फैसलाको जनाउ थुनामा रहेका पुनरावेदक प्रतिवादीहरुलाई दिई मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. गोविन्दबहादुर श्रेष्ठ
इति सम्वत् २०५२ साल मंसीर ६ गते रोज ४ शुभम् ।