शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६०७८ - उत्प्रेषण परमादेश समेत

भाग: ३७ साल: २०५२ महिना: पौस अंक:

निर्णय नं. ६०७८     ने.का.प. २०५२            अङ्क ९

 

एक न्यायाधीशको इजलास

माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ

सम्वत् २०५२ सालको रिट निवेदन नं. २१४१

आदेश मिति  : २०५२।५।५।२

विषय : उत्प्रेषण परमादेश समेत

निवेदक : वागमती अंचल काठमाडौं जिल्ला काठमाडौं नगरपालिका वार्ड नं. ३ महाराजगंज बाँसबारी बस्ने वर्ष ५२ को हरिभक्त मानन्धर

विरुद्ध

विपक्षी : श्री ५ को सरकार, मन्त्रिपरिषद् सचिवालय सिंहदरबार

श्री ५ को सरकार, अर्थ मन्त्रालय, बागदरवार

श्री ५ को सरकार, कानून मन्त्रालय बबरमहल भंसार विभाग त्रिपुरेश्वर ।

त्रिभुवन विमानस्थल भंसार कार्यालय काठमाडौं

 

§  आर्थिक अध्यादेश, २०५२ को दफा २ को उपदफा (१) मा विदेशबाट नेपाल अधिराज्य भित्र पैठारी हुने माल वस्तुहरुमा अनुसूची १ बमोजिम भन्सार महसूल (साधारण भन्सार महसूल र समिकारक महसूल) लगाइने र असूल उपर गरिनेछ भन्ने उल्लेख भएको र अनुसूची १ को द्रष्टव्यको २.१ मा साधारण दरबन्दी अनुसार लाग्ने भन्सार महसूलको अलावा भन्सार प्रयोजनका लागि कायम हुने मूल्यमा थप ५० प्रतिशत महसूल लगाइने व्यवस्था भै सोही द्रष्टव्यको २.२ मा पुराना र प्रयोग भैसकेका उत्पादन वा दर्ता भएको ५ वर्ष भित्रका सवारी वा ढुवानी साधन पैठारी हुदा दरबन्दी अनुसार र माथि दफा २.१ अनुसार लाग्ने भन्सार महसूल समेत हिसाब गरी हुन आउने कुल महसूलमा उत्पादन भएको दोश्रो वर्ष भए १०तेश्रो, चौंथो र पाचौं वर्ष भए २५पुन थप गरी महसूल असूल गरिनेछ भन्ने प्रावधान अनुसार भन्सार महसूल लगाइने भएको र अनुसूचीको द्रष्टव्यमा लेखी त्यसरी लगाउन पाउने होइन । Ultravires भयो भन्ने मुख्य निवेदकको जिकिर देखिएको र अनुसूची भित्र द्रष्टव्यमा तोकिएको भन्सार महसूललाई अनुसूची भित्र होइन भन्न नमिल्ने भै कानुन बमोजिम नै भन्सार महसूल लगाउने व्यवस्था हुँदा निवेदकको निवेदनमा कुनै सार नदेखिएको कारण समेतबाट विपक्षीहरुबाट जवाफ मगाई राख्न नपर्ने हुँदा रिटनिवेदन खारेज हुने ।

(प्रकरण नं. ४)

निवेदक तर्फबाट : x

विपक्षी तर्फबाट : x

अवलम्बित नजीर : x

आदेश

     न्या. ओमभक्त श्रेष्ठ : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८(१)(२) अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यस प्रकार छ ।

      २.    म निवेदक नेपाली नागरिक हुँ । मैले अमेरिकी राजदूतावासको सवारी दर्ता नम्बर ६१ सि.डि. २७ दर्ता मिति २०४६।१।१४ भएको मोडेल एच.जे. ६० जि.के.एस. को टोयोटा ल्याण्ड कुजर खरिद गरी प्रत्यर्थी भन्सार विभागबाट मूल्यांकन समेत गराई सोको भन्सार महसुल बुझाउन सोही दिन त्रिभुवन विमानस्थल भन्सार कार्यालय जाँदा आर्थिक अध्यादेश, ०५२ को दफा २ मा भएको भन्सार महसूल सम्बन्धी कानुनी प्रावधानमा हुँदै नआएको थप भन्सार महसूल एवं वातावारण प्रदुषण महसूल समेत गैरकानुनी महसूल लिने गरी प्रज्ञापन पत्र भने शुरु गर्दा आर्थिक अध्यादेश २०५२ को दफा २ को उपदफा (१) ले प्रश्तावनै नगरेको सोही अध्यादेशको अनुसूची १ को भाग ८७ को द्रष्टव्यमा थप गरिएको गैरकानुनी भन्सार महसूल एवं सोही अध्यादेशले प्रस्ताव नै नगरेको वातावरण प्रदुषण महसूल समावेश गरी असूल उपर गर्नु भन्ने निर्देशन भएकोले गैरकानुनी एवं असंवैधानिक महसूल तिर्न नपरी गाडी भन्सार छुटाउन पाउँ । आर्थिक अध्यादेश २०५२ को भन्सार महसूल सम्बन्धी कानुनी प्रावधानलाई उल्लंघन गरी अनुसूची १ को भाग ८७ को द्रष्टव्यको दफा २.१ एवं २.२ मा अध्यादेशले अंगीकार नगरेको थप महसूल लिने व्यवस्था नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ७३ बमोजिम प्रष्ट रुपमा असंवैधानिक रहेको छ । साथै थप भन्सार महसूलको प्रावधान अनुसूचीमा घुसार्ने र सो असूल उपर गरेर लिने विपक्षीहरुको काम कारवाही प्रष्ट रुपमा असंवैधानिक एवं गैरकानुनी रहेको छ । अतः उपरोक्त बमोजिम विपक्षी प्रत्यर्थीहरुका काम कारवाहीले नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ७३ को सरासर उल्लंघन गरी ऐ. संविधानले म निवेदकको संविधान प्रदत्त मौलिक हकमा कुण्ठा एवं आघात पुर्‍याउने शतप्रतिशत निश्चित भएकोले ऐ. संविधानकै धारा ८८ को उपधारा (१) बमोजिम उपरोक्त उल्लेखित थप भन्सार महसूल लगाउने आर्थिक अध्यादेश, २०५२ को अनुसूची १ को द्रष्टव्यको दफा २.१ एवं २.२ प्रारम्भ देखि नै बदर घोषित गरी पाउँ एवं म निवेदकसँग असंवैधानिक कर महसूल, वातावरण प्रदुषण महसूल एवं थप भन्सार महसूलमा थप बिक्रीकर महसूल निवेदकलाई नलगाउनु र असूल उपर नगर्नु भनी प्रतिषेधको आदेश लगायत अन्य उपयुक्त आदेश जारी गरी पाउँ । निवेदन माग दावीको अन्तिम टुंगो नलागे सम्म म निवेदकसँग महसूल असूर उपर नगर्नु भनी अन्तरिम आदेश जारी गरी पाउँ भन्ने समेत व्यहोराको रिटनिवेदन जिकिर ।

      ३.    नियम बमोजिम पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा निवेदकको तर्फबाट उपस्थित विद्वान अधिवक्ताले आर्थिक अध्यादेश, २०५२ को दफा २ को उपदफा (१) ले प्रस्तावनै नगरेको सोही अध्यादेशको अनुसूचीको भाग ८७ को द्रष्टव्यमा थप गरिएको भन्सार महसूल र वातावरण महसूल गैर कानुनी छ । किनकी उक्त अध्यादेशको दफा २(१) ले नै थप भन्सार महसूल लिने सम्भावनालाई समाप्त गरेको छ । तसर्थ उक्त द्रष्टव्यको व्यवस्था असंवैधानिक र गैरकानुनी हुँदा धारा ८८(१) अनुसार सो बदर गरी मेरो पक्षबाट गरैरकानुनी थप भन्सार महसूल वातावरण महसूल समेत नलगाउनु भनी विपक्षीका नाममा उपयुक्त आदेश जारी गरी पाउँ भनी बहस प्रस्तुत गर्नु भयो ।

      ४.    यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनमा निर्णयतर्फ विचार गर्दा आर्थिक अध्यादेश, २०५२ को दफा २ को उपदफा (१) मा उल्लेखित भन्सार महसूल सम्बन्धी प्रावधानलाई उल्लंघन गरी सो अध्यादेशको अनुसूची १ को भाग ८७ को द्रष्टव्यको १ र २ मा थप भन्सार महसूल लिने प्रावधान संविधान र कानुनको विपरीत हुँदा सो थप महसूल लिने व्यवस्था बदर गरी म निवेदकबाट मेरो टोयोटा ल्याण्ड कुजर गाडीमा थप भन्सार महसूल असूल उपर नगर्नु भन्ने आदेश जारी गरी पाउँ भन्ने निवेदकको मुख्य जिकिर रहेको छ । यसमा आर्थिक अध्यादेश, २०५२ को दफा २ को उपदफा (१) मा विदेशबाट नेपाल अधिराज्यभित्र पैठारी हुने माल वस्तुहरुमा अनुसूची १ बमोजिम भन्सार महसूल (साधारण भन्सार महसूल र समिकारक महसूल) लगाइने र असूल उपर गरिनेछ भन्ने उल्लेख भएको र अनुसूची १ को द्रष्टव्यको २.१ मा साधारण दरबन्दी अनुसार लाग्ने भन्सार महसूलको अलावा भन्सार प्रयोजनका लागि कायम हुने मूल्यमा थप ५० प्रतिशत महसूल लगाइने व्यवस्था भै सोही द्रष्टव्यको २.२ मा पुराना र प्रयोग भैसकेका उत्पादन वा दर्ता भएको ५ वर्ष भित्रका सवारी वा ढुवानी साधन पैठारी हुँदा दरबन्दी अनुसार र माथि दफा २.१ अनुसार लाग्ने भन्सार महसूल समेत हिसाब गरी हुन आउने कुल महसूलमा उत्पादन भएको दोश्रो वर्ष भए १०% तेश्रो, चौंथो र पाँचौं वर्ष भए २५% पुन थप गरी महसूल असूल गरिनेछ भन्ने प्रावधान अनुसार भन्सार महसूल लगाइने भएको र अनुसूचीको द्रष्टव्यमा लेखी त्यसरी लगाउन पाउने होइन । Ultravires भयो भन्ने मुख्य निवेदकको जिकिर देखिएको र अनुसूची भित्र द्रष्टव्यमा तोकिएको भन्सार महसूललाई अनुसूची भित्र होइन भन्न नमिल्ने भै कानुन बमोजिम नै भन्सार महसूल लगाउने व्यवस्था हुँदा निवेदकको निवेदनमा कुनै सार नदेखिएको कारण समेतबाट विपक्षीहरुबाट जवाफ मगाई राख्न नपर्ने हुँदा रिटनिवेदन खारेज हुने ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

इति सम्वत् २०५२ साल भाद्र ५ गते रोज २ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु