निर्णय नं. ४७४२ - अंश दर्ता
निर्णय नं. ४७४२ ने.का.प. २०५० (ख) अङ्क ५
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ
सम्वत २०४९ सालको दे.पु.नं. ६८३
फैसला मिति: २०५०।५।८।३
पुनरावेदक/प्रतिवादी: जिल्ला धनुषा गाउँ विकास समिति महुवा वडा नं. ९ बस्ने रामरिझन खत्वे ।
विरुद्ध
विपक्षी/वादी: ऐ. ऐ. बस्ने खोखिलाल मंडल खत्वे भन्ने सोखिया मंडल खत्वे ।
मुद्दा : अंश दर्ता ।
(१) अंशवण्डा भएको लिखत प्रमाण व्यवहार भोग समेत हुनुपर्ने ।
(प्र.नं. १४)
(२) प्रतिवादीको नाममा धेरै कित्ता जग्गा छ तर वादीको नाममा एक कित्ता पनि दर्ता नामसारी नभएको परिपे्रक्ष्यमा अंशवण्डा भइसकेको ठहर्याउन न्यायोचित नहुने ।
(प्र.नं. १४)
पुनरावेदक तर्फबाट: विद्वान अधिवक्ता श्री अर्जुन प्रसाद लम्साल ।
फैसला
न्या. गजेन्द्रकेशरी बास्तोला
१. न्याय प्रशासन सुधार ऐन, २०४८ को दफा ९ अन्तर्गत दायर हुन आएको पुनरावेदनको संक्षिप्त विवरण यस प्रकार रहेछः–
२. अंशवण्डा प्रयोजनको लागि हामी सन्त मण्डलको तीन भाई छोराहरुमा जेठा शुभलाल मण्डल, माहिला रामरिझन मंडल र कान्छो म फिरादी सोखी मंडल खत्वे तीन अंशियार आज सम्म संगोलमा नै रही आएको अवस्था २०४९ साल भाद्र महिनामा झगडा हुँदा आ–आफ्नो गरी भोगी आएका जग्गा मेरा नाममा दर्ता गराई दिनुस भन्दा जग्गा दर्ता र अंशवण्डा समेत नगरी दिएबाट फिराद परेको अघिल्लो मितिसम्मको विपक्षीहरुबाट सम्पूर्ण सम्पत्तिको तायदाती फाँटवारी दाखिल गराई ३ खण्डको एक खण्ड अंश दिलाई पाउँ भन्ने समेतको फिराद–पत्र ।
३. पिता सन्त मंडलको दुई श्रीमतीमा जेठी पट्टीबाट म प्रतिवादी सुभलाल मंडल र कान्छीको गर्भबाट प्रतिवादी रिझन मण्डल र वादीको जन्म भएकोमा मिति २०१९ सालमा म प्रतिवादी शुभलाल र आमा पल्टी अलग भई भुमि सुधार ऐन, २०२१ अनुसार ७ नं. फांटवारी समेत भरी आ–आफ्नो गरी भोग चलन गरेको र म प्रतिवादी रिझन मण्डल पनि २०२२ सालमा अंशवण्डा गरी अलग भई २०४० साल साउन २१ गतेमा निज विपक्षी वादीले म सँग ऋण लिई सकेका छन । यसरी एक पल्ट अलग भई आफ्नो अंश लिई बसेका वादीलाई हामीले अंश दिनुपर्ने होइन भन्ने समेतको प्रतिउत्तर पत्र ।
४. देखाइएको रु. १२,०००।– मिति २०४०।५।२१ गतेको सक्कल लिखत मानो छुट्टिई अलग भएको बखत कागज गर्नुपर्छ भनी जालसाज तरिकाबाट म बाट लेखत गराइएको हो भन्ने समेत व्यहोराबाट वादीको वा. रविन्द्र कुमारले धनुषा जिल्ला अदालतमा गरेको वयान ।
५. वादी वारिसको वयान झुठ्ठा हो निज विपक्षी वादीले मसँग रु. १२,००० लिई सद्दे व्यहोराबाट गरि दिएको जालसाजबाट भए गरेको कागज हैन भन्ने समेत व्यहोराबाट प्रतिवादीको वा. नारायण लाल कर्णले धनुषा जिल्ला अदालतमा गरेको वयान ।
६. विपक्षी वादीले रु. १२,००० लिई लेखत लेखी दिनुस भनिएबाट सद्दे व्यहोराबाट मैले लेखी दिएको कागज हो जालसाज गरेको होइन भन्ने समेतको प्रतिवादीको वा नारायण लालले धनुषा जिल्ला अदालतमा गरेको वयान ।
७. अंशवण्डा भइसकेको ठोस प्रमाण प्रतिवादीबाट पेश हुन नसकेको र मिति २०४०।५।२१ मा अंशियार बीच रु. १२,००० को लेखत भई मिति २०४२।२।२२ गतेमा अंश मुद्दा परेको देखिंदा सो लिखत अंश छल्ने प्रकृतिबाट भई जालसाज गरेको प्रमाणित हुन आएबाट अंश वादीले लिई सकेको भन्ने सबुद प्रमाणको अभावमा संलग्न तायदाती फाँटवारीबाट देखिएको जग्गा मध्ये सम्पत्ति कानुन बमोजिम वादी दावी अनुसार वादीले अंश पाउने भन्ने समेत भएको मिति २०४६।६।१२ गतेको धनुषा जिल्ला अदालतको फैसला ।
८. विपक्षी वादीले म राम रिझन मण्डललाई मिति २०४०।५।२१ मा गरी दिएको रु. १२,००० को तमसुकलाई निज प्रत्यर्थीले जालसाजी नामाकरण गरेपनि प्रमाण ऐन बमोजिम आफ्नो दावी पुष्टि गर्नुपर्ने दायित्व निज प्रत्यर्थीलाई हुँदा हुँदै तारिख नै गुजारेपछि डिसमिस हुनुपर्नेमा सो नगरी जालसाज ठहरको फैसला त्रुटिपूर्ण छ । म पुनरावेदक प्रतिवादी मध्येको शुभलाल मण्डल बाबु जीवित छँदै अलग भई २०२२ सालमा भरिएको ७ नं. फाराम बाबुको नाममा मात्र नभरी छुट्टाछुट्टै हुँदा म सगोलमा भएको बाबुको नाममा नै ७ नं. फाँटवारी समेत भरिनु पर्नेमा सो भएबाट म अलग भएको प्रष्ट देखिने विपक्षी वादीले हामी उपर दायर गरेको फौ.नं. ६३७ को लुटपिट मुद्दामा निज विपक्षी वादीका ससुराले निजको तर्फबाट वकपत्र गर्दा पनि म शुभलाल मण्डल २०, २५ वर्ष अगाडि नै अलग भएको र म राम रिझन मण्डलाई समेत अलग भई बसेका भनी लेखाई दिएको छन् म राम रिझन मण्डलको नाममा भएको जग्गाको दर्ता फुटाउन मात्र बाँकी छ । प्रतिवादी विपक्षी वादी भएको लेनदेन मुद्दामा विगो रु. ९,५६८।३२ वापत म राम रिझनका नामको जग्गा धनुषा जिल्ला अदालतबाट लिलाम हुँदा कारवाही गरी सो लिलाम समेत स्थगित भएको हुँदा हामी पुनरावेदकहरु सगोलको ठहर्याई वादीले अंश पाउने गरेको धनुषा जिल्ला अदालतको मिति २०४६।६।१२ गतेको फैसला कानुनी त्रुटिपूर्ण हुँदा बदर गरी पाउँ भन्ने समेतको शुभलाल मण्डल र राम रिझन मण्डलको संयुक्त पुनरावेदन पत्र ।
९. फिराद परेको अघिल्लो मितिसम्मको अंशको फाँटवारी वादी प्रतिवादीबाट दाखिल गराउन मिति २०४५।११।३० गतेमा शुरु जिल्ला अदालतबाट आदेश भए अनुरुप प्रतिवादी राम रिझन मण्डलबाट समेत फाँटवारी दाखिल भएको तर प्रतिवादी मध्येका शुभलाल मण्डल खत्वेबाट फाँटवारी दाखिल गराउने कार्यविधि नै पूरा नगरी मुद्दा फैसला गरेको पाइएकोले रुजु रहेका पुनरावेदक प्रतिवादी शुभलाल मण्डल खत्वेबाट जिल्ला अदालतबाट मानो छुट्टिएको मिति कायम गरेको फिराद परेको अघिल्लो दिन तकको अंशवण्डाको २०, २१, २२ र २३ नं. को रित पुर्याई तायदाती फाँटवारी दाखिल गराउने भन्ने समेत पुनरावेदन अदालत जनकपुरको मिति २०४९।१।१७ मा पेश गरेको तायदाती फाँटवारी मिसिल संलग्न रहेको ।
१०. अंश जस्तो संवेदनशिल कुरामा वादीले अंश लिई छुट्टी भिन्न भएको भनी ठहर्याउन न्यायोचित नहुँदा प्रतिवादी राम रिझनबाट पेश भएको तायदाती मध्ये ३ भागको एकभाग मात्र अंश विपक्षी वादीले पाउने ठहर्छ । मिति २०४०।५।२१ गतेको लिखितको सम्बन्धमा सगोलको अंशियार बीच भएको लेनदेन अर्थहीन हुने हुँदा जालसाजी ठहर गरेको निर्णय त्रुटिपूर्ण देखिंदा सो हदसम्म उल्टी हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, जनकपुरको फैसला ।
११. पुनरावेदन अदालत, जनकपुरको फैसलामा अंशवण्डाको १८, ३० नं. को गलत र दुषित व्याख्या गरेकोले प्रतिउत्तर पत्र र पुनरावेदन पत्र अनुसार गरी पाउँ भन्ने यस सर्वोच्च अदालतमा दायर हुन आएको राम रिझन खत्वेको पुनरावेदन–पत्र ।
१२. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश भएको मिसिल अध्ययन गरी पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री अर्जुन प्रसाद लम्सालले मेरो पक्ष र विपक्षीको बीच अंशवण्डा भईसकेकोले नै लेनदेन व्यवहारमा लिखत भएको हो । अंशवण्डाको १८ र ३० नं. को गलत व्याख्या गरी गरेको शुरु र पुनरावेदन अदालत, जनकपुरको फैसलामा तात्विक भिन्नता परेकोले विपक्षीलाई झिकाई इन्साफ होस भन्ने समेत व्यहोराको वहस प्रस्तुत गर्नुभयो ।
१३. पुनरावेदन अदालत जनकपुरको फैसला मिले नमिलेको के रहेछ सोको निर्णय दिनुपर्ने हुन आयो ।
१४. यसमा निर्णयतर्फ विचारगर्दा बाबु सन्त मण्डलका ३ छोरा भएकोमा विवाद देखिदैंन । शुभलाल मण्डल २०१९ सालमा छुट्टि भिन्न भई २०२२ सालमा राम रिझन र शुभलालले ७ नं. फाराम छुटाछुटै भरेको देखिन्छ । पुनरावेदक र विपक्षी एकै आमाका छोरा भएकोमा पनि विवाद छैन । शुभलाल र राम रिझनले छुट्टाछुट्टै ७ नं. फाँटवारी भर्दा वादी सोखिया मण्डल खत्वे पनि भिन्न भएको भए निजको नाममा पनि ७ नं. फाँटवारी भराउनु पर्ने नभरिएको र वादीले अघि नै अंश पाएको कुनैपनि प्रमाण प्रतिवादीले पेश गर्न सकेको देखिंदैन । जहाँ सम्म मिति २०४०।५।२१ गतेको लिखतबाट मात्र अंशवण्डा भइसकेको ठहर्याउनु अंशवण्डाको ३० नं. को तात्पर्य होइन । अंशवण्डा भएको लिखत प्रमाण व्यवहार भोग समेत हुनुपर्छ । प्रतिवादीको नाममा धेरै कित्ता जग्गा छ तर वादीको नाममा एक कित्ता पनि दर्ता नामसारी नभएको परिप्रेक्ष्यमा अंशवण्डा भइसकेको ठहर्याउन न्यायोचित नहुने हुँदा अंश पाउने ठहर्याएको पुनरावेदन अदालत, जनकपुरको इन्साफ मनासिव ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन । कोर्टफि राखी पुनरावेदन दायर गरेको हुँदा केही गर्नु परेन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. गोविन्द बहादुर श्रेष्ठ
इति सम्वत २०५० साल भाद्र ८ गते रोज ३ शुभम् ।