निर्णय नं. ६१०० - जग्गा खिचोला

निर्णय नं. ६१०० ने.का.प. २०५२ अङ्क ११
संयुक्त इजलास
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
सम्वत् २०४९ सालको दे.पु.नं. ५४९
फैसला मिति : २०५२।३।२७।३
मुद्दा : जग्गा खिचोला ।
पुनरावेदक/वादी : जिल्ला सर्लाही इश्वरपुर गा.वि.स. वडा नं. २ बस्ने मिनप्रसाद त्रिपाठी
विरुद्ध
प्रत्यर्थी/प्रतिवादी : जिल्ला सर्लाही इश्वरपुर गा.वि.स. वडा नं. २ बस्ने शम्भुप्रसाद मैनाली
ऐ. को हाल जिल्ला रौतहट सन्तपुर गा.वि.स. वडा नं. ४ बस्ने शिवलक्ष्मी त्रिपाठी ।
जिल्ला सर्लाही कर्मैया गा.वि.स. वडा नं. ४ बस्ने कृष्ण प्रसाद त्रिपाठी ।
ऐ इश्वरपुर गा.वि.स. बडा नं. २ बस्ने तिर्थ प्रसाद त्रिपाठी ।
ऐ ऐ बस्ने ज्ञानलक्ष्मी देवी त्रिपाठी ।
ऐ ऐ बस्ने मैयादेवी त्रिपाठी ।
ऐ ऐ बस्ने माधव प्रसाद त्रिपाठी ।
§ पास नभएको घरायसी लिखतबाट हक हस्तान्तरण भएको मान्न नमिल्ने ।
(प्रकरण नं. २३)
पुनरावेदक, वादी तर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल
प्रत्यर्थी, प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री एक राज भण्डारी ।
अवलम्बित नजीर : x
फैसला
न्या. त्रिलोकप्रताप राणा : पुनरावेदन अदालत जनकपुरको मिति २०४८।१२।११ को फैसला उपर यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :–
२. मेरा नाउँमा दर्ता रहेको जिल्ला सर्लाही गा.पं. इश्वरपुर वडा नं. २(ग) कि.नं. ४३ को ०–१–० जग्गा र सो जग्गाको उत्तर पश्चिम कुनातर्फ ०–०–३ जग्गामा भएको फुसको छानो काठको २ तले घर समेतमा २०२४ सालदेखि भोग चलन गरी आएकोमा विवाद थिएन । माधवप्रसादले मसँग रु. ७५५।४० कर्जा लिनु भएको सम्बन्धमा वादविवाद थियो । यही २०४४।४।२९ मा म गाउँ घरमा नभएको मौका पारी विपक्षीहरुले उक्त घर तथा जग्गा जबरजस्ती खिचोला गरेकोले कब्जा खिचोला छोडाई चलन चलाई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।
३. वादी दावीको जग्गामा शिवलक्ष्मी त्रिपाठीले २०२६ सालमा घर बनाई भोग चलन गरी आएकोमा पछि आएर सो घर शम्भुप्रसाद मैनालीलाई बिक्री गरी दिएपछि शम्भुप्रसादसँग म तिर्थप्रसादले बस्नको निमित्त मागी बसी आएको छु । विपक्षीको घर जग्गा खिचोला नगरेकोले झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरुको संयुक्त प्रतिउत्तर पत्र ।
४. वादी दावीको जग्गा शम्भुप्रसाद मैनालीको हो र निजले हामीलाई बस्न दिएको हो भन्ने प्रतिउत्तर जिकिर देखिएकोले अ.बं. १३९ नं. अनुसार शम्भुप्रसाद मैनालीलाई बुझ्ने भन्ने सर्लाही जिल्ला अदालतको आदेश ।
५. वादीको भाउजु शिव लक्ष्मीबाट २०३९ बैशाख १५ गते रु. ७,५००।– मा दावीको घर मैले खरिद गरी २०४० सालदेखि तिर्थप्रसाद र मैया देवीलाई बस्न दिएको हुँ । वादीको घर कि.नं. ४३ र ४४ को बीचमा पर्छ भन्ने समेत शम्भुप्रसाद मैनालीले शुरु जिल्ला अदालतमा गरेको बयान।
६. भिन्न बसेको भाउजु शिवलक्ष्मीले मेरो घर जग्गाको राजीनामा गरी दिएको कारणले सो लिखितलाई जालसाजी घोषित गरी सजायँ गरी पाउँ भन्ने समेत मिनप्रसादले शुरु जिल्ला अदालतमा गरेको बयान ।
७. लिखत सद्दे हो, सद्दे लिखतलाई जालसाजी भन्ने वादीलाई नै सजायँ गरी पाउँ भन्ने समेत शम्भुप्रसाद मैनालीको शुरु जिल्ला अदालतमा भएको बयान ।
८. शम्भुप्रसादले पेश गरेको लिखतलाई ऋणी धनी समेत भै जालसाजी लिखत खडा गरेको भनी वादीले बयान गरेकोले प्रतिवादी सरह म्याद जारी गरी बुझ्नु भन्ने शुरु जिल्ला अदालतको आदेश ।
९. मैले आफूले बनाएको घर बिक्री गरेको हुँ । घरसारमा शम्भुप्रसादसँग रु. ७,५००।– लिई २०३९।१।१५ गते दावीको घर मैले बिक्री गरेको हुँ । वादी दावी झुठा हो भन्ने शिवलक्ष्मी त्रिपाठीको शुरु जिल्ला अदालतमा भएको बयान ।
१०. लिखत सद्दे साँचो व्यवहारबाट भएको हो । म समेत भै जालसाजी गरेको होइन । दावीको घर वादीको नभै शिवलक्ष्मीको भन्ने समेत व्यहोराको माधवप्रसाद त्रिपाठीको शुरु जिल्ला अदालतमा भएको बयान ।
११. जिल्ला सर्लाही इश्वरपुर गा.पं. वडा नं. २(ग) कि.नं. ४३ को ०–१–० मिनप्रसाद त्रिपाठीको नाउँको पाना नं. ३१३१ को मोठ श्रेस्तामा दर्ता कायम छ भन्ने मालपोत कार्यालय सर्लाहीको पत्र।
१२. शिवप्रसाद मैनालीले शिवलक्ष्मी त्रिपाठीबाट २०३९ सालमा रु. ७,५००।– मा खरिद गरी लिएको लिखित जालसाजी हो वा होइन भन्ने सम्बन्धमा विचार गर्न परेन । विवादित घर जग्गामा प्रतिवादीहरुले खिचोला गरेको र सो घर जग्गा वादीलाई चलन चलाई दिने समेत ठहर्छ भन्ने समेत शुरु सर्लाही जिल्ला अदालतको फैसला ।
१३. पञ्चायतले दावीको घरको भोग सम्बन्धमा भु.सु.का. लाई २०४४।१०।२५ मा लेखेको पत्रले शम्भुप्रसादको भोग रहेको प्रमाणित गरेको छ । साथै २०३६।१।१४ गते खपडाको घर भएको भनी पञ्चायतले घर धुरी रसिद पनि दिएको छ । उक्त सिफारिश तथा घर धुरीको रसिदलाई प्रमाण लगाई सप्तरी जिल्ला अदालतको फैसला बदर गरी पाउँ भन्ने समेत व्यहोराको शम्भुप्रसाद मैनाली र शिवलक्ष्मी त्रिपाठीको जनकपुर अञ्चल अदालतमा परेको पुनरावेदन ।
१४. नाप नक्सा मुचुल्कामा तिर्थप्रसाद बसेको घर शम्भुप्रसादको हो । शम्भुप्रसादले नै तिर्थ प्रसादलाई बस्न दिएको भनी प्रष्ट उल्लेख छ । नाप नक्सा मुचुल्कालाई वादीले स्वीकार गर्नु भएको छ । शम्भुप्रसाद मैनालीले शिवलक्ष्मी त्रिपाठीबाट खरिद गर्नु भएको राजीनामालाई वादीले जालसाज भन्नु भएको छ । शिवलक्ष्मी शम्भुप्रसाद तथा लेखक र किनारा साक्षीले सो लिखतलाई सद्दे भन्नु भएको छ । सद्दे जालसाजीतर्फ ठहर फैसला हुनु पर्नेमा घरसारको राजीनामा गर्नु भएकोले त्यसतर्फ केही गर्नु परेन भनी भएको त्रुटिपूर्ण फैसला बदरभागी छ भन्ने समेत व्यहोराको कृष्णप्रसाद त्रिपाठी समेतको जनकपुर अञ्चल अदालतमा परेको पुनरावेदन ।
१५. विवाद जनिएको घर जग्गामा प्रतिवादी बसी रहेको भन्ने देखिँदा शुरु निर्णय विचारणीय हुँदा अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने जनकपुर अञ्चल अदालतको आदेश ।
१६. जालसाजी वा कीर्ते तर्फ विचार गर्नु नपर्ने र विवादित जग्गामा प्रतिवादीहरुले खिचोला गरेको ठर्याएको शुरु जिल्ला अदालतको इन्साफ सदर हुने, घरमा पनि प्रतिवादीहरुले खिचोला गरेको ठहर्याएको शुरु जिल्ला अदालतको फैसला नमिलेकोले सो हदसम्म उल्टी हुने र वादीको हक भएको जग्गामा प्रतिवादीहरुले भोग गरी रहेको भनेको नक्शा नं. १ को घर रही रहन सक्ने स्थिति नहुँदा प्रतिवादीहरुले भत्काई उठाई लानु पर्ने ठहर्छ भन्ने पुनरावेदन अदालत जनकपुरको मिति ०४८।१२।११ को फैसला ।
१७. मोही कटकबहादुरको लगत कट्टा भई जोत पोत दुवै मेरो रहे भएको कुरा मोही लगत कट्टा सम्बन्धमा भूमिसुधार कार्यालयबाट भएको निर्णय प्रमाणको रुपमा आएको मिसिलबाट देखिँदा देखिँदै शुरु जिल्ला अदालतले वादी बमोजिम खिचोला गरेको ठहर्याएको फैसला केही उल्टाई गरेको पुनरावेदन अदालतको फैसलामा अ.बं. १८४(क) १८५ नं. को प्रतिकूल रही न्यायिक मनको अभाव छ । मोही कटकबहादुरको राजीनामा अनुरुप विवादित घर मेरो भएको र जोत लगत मोही प्रमाणको आधारमा कट्टा भएको छ विपक्षीहरुले कटकबहादुरबाट प्राप्त गरेको छु भन्ने र प्रमाण दिन सकेको छैन । हकै नभएको व्यक्तिको राजीनामाबाट हकको श्रृजना हुन सक्तैन। त्यसतर्फ कुनै विवेचना नै नगरिएको फैसला सो हदसम्म अ.बं. ८२ नं. को मनसाय प्रतिकूल रहेको छ । तसर्थ विवादित जग्गामा रहेको घर मेरो नठहराएको हदसम्मको पुनरावेदन अदालत जनकपुरको इन्साफ त्रुटिपूर्ण हुँदा सो हदसम्म उल्टाई मेरो दावी अनुरुप गराई पाउँ भन्ने समेत व्यहोराको वादी मिनप्रसाद त्रिपाठीको यस अदालतमा परेको पुनरावेदन ।
१८. प्रतिवादीले अधिकारको स्रोत भनी शम्भुप्रसादको घरायसी लिखतलाई आधार लिएको कि.नं. ४३ जग्गाको मोही कटकबहादुर देखिन आएको । प्रतिवादीले जग्गा धनी वा मोही समेतबाट विवादास्पद घर पाएको भन्ने देखिन नआएको र शम्भुप्रसादको २०३९ सालको रु. ७,५००।– को लिखित समेत पारीत नभै घरायसी देखिएकोले यस्तो अवस्थामा प्रतिवादीले विवादास्पद घरको स्वामित्व बसोवास सम्बन्धमा कुनै कानुनी लिखत नै पेश दाखिल गर्न नसकेको अवस्थामा पुनरावेदन अदालत जनकपुरले घरमा खिचोला गरेको नठहराएको फैसलामा फरक पर्ने देखिँदा अ.बं. २०२ नं. बमोजिम विपक्षीलाई झिकाई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०५१।७।१४ को आदेश ।
१९. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी तर्फबाट विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेलको विवादको कि.नं. ४३ को जग्गा वादीले मुक्तीप्रसादबाट ०४१।१२।२९ मा बकसपत्र पास गरी सो जग्गामा वादीको हक कायम भएको हो । प्रतिवादी शम्भुप्रसादले शिव लक्ष्मीबाट सो कि.नं. को घर जग्गा २०३९।१।१५ मा रु. ७,५००।– मा घरसारको राजीनामाबाट लिएको भनेकोमा सो राजीनामाको लिखत रजिष्ट्रेशन पास नभएकोले सो लिखतको कानुनी अस्तित्व हुँदैन । मोहीबाट शिवलक्ष्मीले घर लिई सो घर प्रतिवादीले लिएको भन्ने पनि आधार प्रमाण छैन । प्रतिवादी शम्भुप्रसादले शिव लक्ष्मीबाट विवादित कि.नं. को घर जग्गा २०३९।१।१५ मा रु. ७,५००।– मा घरसारको राजीनामाबाट लिएको भनी प्रतिवादीले पेश गरेको लिखत कानुन बमोजिम रजिष्ट्रेशन पास नभएकोले सो लिखतको कानुनी अस्तित्व नदेखिँदा त्यसतो घर प्रतिवादीको ठहर गर्न मिल्दैन । जग्गा वादीको ठहर भएपछि घर पनि वादीको नै हो । जग्गा वादीको घर प्रतिवादीको ठहर गरेको पुनरावेदन अदालत जनकपुरको फैसला नमिलेकोले विवादित घरमा वादीको हक कायम नहुने ठहराएको सम्म पुनरावेदन अदालत जनकपुरको फैसला उल्टाई घरमा समेत वादीको हक कायम हुनुपर्छ भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नु भयो ।
२०. प्रत्यर्थी प्रतिवादीहरुको तर्फबाट विद्वान अधिवक्ता श्री एकराज भण्डारीले पेट बोलीबाट शम्भुप्रसादलाई बुझियो । शिवलक्ष्मी २०२६ सालदेखि विवादित जग्गामा घर बनाई बसेको र निजबाट शम्भुप्रसादले किनेको घर हो । खपडाको घर भएको भनी पञ्चायतले घर धुरी रसिद पनि दिएको छ उक्त घर धुरी रसिदको आधारमा समेत विवादित घरमा वादीको हक पुग्न नसक्ने ठहर्याएको पुनरावेदन अदालत जनकपुरको इन्साफ मनासिब हुँदा सदर कायम रहनु पर्छ भन्ने व्यहोराको बहस प्रस्तुत गर्नु भयो ।
२१. उपरोक्त बहसहरु समेतलाई दृष्टिगत गरी मिसिल अध्ययन गरी निर्णयतर्फ विचार गर्दा वादीको हक भएको जग्गामा प्रतिवादीहरुले भोग गरी रहेको भनेको घरमा वादीको हक कायम हुन नसक्ने र प्रतिवादीहरुले भत्काई उठाई लान पाउने ठहराएको पुनरावेदन अदालत जनकपुरको इन्साफ मिलेको छ कि छैन भनी निर्णय दिनु पर्ने हुन आयो ।
२२. मेरो नाउँमा दर्ता रहेको कि.नं. ४३ को ०–१–० जग्गा र सो जग्गामा बनेको घर समेतमा विपक्षीहरुले म गाउँ घरमा नभएको मौका पारी जबरजस्ती खिचोला गरेकोले खिचोला मेटाई पाउँ भन्ने फिराद दावी भएकोमा वादी दावीको जग्गामा वादीको भाउजु शिवलक्ष्मी त्रिपाठीले २०२६ सालमा घरमा बनाई भोग गरी आएकोमा पछि शम्भुप्रसाद मैनालीलाई बिक्री गरेको र शम्भुप्रसादले हामीलाई बस्न दिएको भन्ने प्रतिउत्तर जिकिर भएको पाइन्छ ।
२३. प्रस्तुत मुद्दामा विवादको कि.नं. ४३ को जग्गा वादीको भएकोमा विवाद देखिन्न । उक्त जग्गामा बनेको विवादको घर प्रतिवादी शम्भुप्रसादले मेरो हो भन्नु भएको र सो सन्दर्भमा शम्भुप्रसादले शिव लक्ष्मीबाट मिति २०३९।१।१५।४ मा राजीनामा गरी लिएको कागज पेश गरेको पाइन्छ । तर उक्त ०३९।१।१५।४ को शिव लक्ष्मीबाट प्रतिवादी शम्भुप्रसादले राजीनामा गरी लिएको लिखत रजिष्ट्रेशन पास भएको पाइन्न । उक्त राजीनामा घरसारमा भएको र पास नभएको घरायसी लिखतबाट हक हस्तान्तरण भएको मान्न नमिल्ने हुँदा त्यस्तो पास नभएको लिखतको आधारमा विवादको घर प्रतिवादी शम्भुप्रसादको भन्न मिल्ने स्थिति देखिँदैन । एकाको जग्गामा बनेको घर मेरो भन्नेले सोको प्रमाण पुर्याउने भार निजकै हुन्छ । प्रमाण ऐन, २०३१ को दफा २८ बमोजिम त्यस्तो घर मेरो हो भनी सो कुराको अस्तित्वमा अदालतलाई विश्वास दिलाउन चाहने प्रतिवादी शम्भुप्रसाद माथि नै प्रमाण पुर्याउने भार हुन्छ । तर प्रतिवादी शम्भुप्रसादले त्यस्तो घर निजको हो भन्ने कुनै पक्का प्रमाण दिन सकेको पाइन्न । घर धुरीको निस्सा रसिद विवादको कि.नं. ४३ मा बनेको घरको भन्ने रसिदबाट देखिन्न । घर निज आफैंले बनाएको वा निजको दाता शिव लक्ष्मीले जग्गा धनीको मञ्जुरीले बनाएको प्रमाण पनि नभएको अवस्थामा पक्का प्रमाणको अभावमा वादीको जग्गामा रहेको घर प्रतिवादीको भन्न नमिल्ने हुँदा सो हदसम्म पुनरावेदन अदालत जनकपुरको मिति २०४८।१२।११ को इन्साफ उल्टी भई घर समेत वादीको देखिँदा घर जग्गामा प्रतिवादीहरुले खिचोला गरेको र सो घर जग्गा वादीलाई चलन चलाई दिने ठहर्याएको शुरु सर्लाही जिल्ला अदालतको मिति ०४६।५।१४ को इन्साफ मुनासिब ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखे बमोजिम पुनरावेदन अदालत जनकपुरको फैसला केही उल्टी हुने ठहरी घर जग्गामा प्रतिवादीहरुले खिचोला गरेको ठहरेकोले वादी दावीको घर जग्गा चलन चलाई पाउँ भनी कानुनको म्यादभित्र वादीको दरखास्त परे कानुन बमोजिम चलन चलाई दिनु भनी शुरु सर्लाही जिल्ला अदालतमा लगत दिनु...१,
माथि इन्साफ खण्डमा लेखे बमोजिम पुनरावेदक वादीको पुनरावेदन जिकिर बमोजिम पुनरावेदन अदालत जनकपुरको इन्साफ केही उल्टी हुने ठहरी घरमा समेत खिचोला गरेको ठहरेकोले, वादीको पुनरावेदन अदालत जनकपुरको फैसला उपर यस अदालतमा पुनरावेदन पर्दा घरमा मात्र जिकिर भएकोले घरको मात्र शुरु कोर्ट फी रु. १६०।– को १५ प्रतिशतले हुने रु. २४।– मात्र कोर्ट फी लाग्नेमा रु. ४३।५० कोर्ट फी बुझाएको देखिँदा बढी देखिएको कोर्ट फी रु. १९।५० पुनरावेदक वादीले कानुनको म्यादभित्र फिर्ता माग्न आए कानुन बमोजिम गरी फिर्ता दिनु भनी काठमाडौं जिल्ला अदालतमा लेखी पठाउनु र रु. २४।– प्रतिवादीहरुको यसै सरहदको जेथा देखाई भराई पाउँ भनी वादीको कानुनको म्यादभित्र दरखास्त परे कानुन बमोजिम भराई दिनु भनी शुरु सर्लाही जिल्ला अदालतमा लगत दिनु...२,
माथि इन्साफ खण्डमा लेखे बमोजिम ठहरेकोले, वादीले शुरु जिल्ला अदालतमा फिराद गर्दा राखेको कोर्ट फी रु. १६०।– प्रतिवादीहरुले पुनरावेदन दर्ता गर्दा शुरु सर्लाही जिल्ला अदालतमा धरौट राखेको देखिँदा सोही धरौट रकमबाट वादीलाई कानुन बमोजिम भराई दिनु भनी शुरु सर्लाही जिल्ला अदालतमा लगत दिनु...३,
वादीले शुरु फिराद पर्दा नपुग भएको कोर्ट फी रु. १३०।– वादीबाट असुल गर्नु भनी शुरु जिल्ला अदालतको फैसलाको तपसील खण्डमा उल्लेख भएकोमा माथि इन्साफ खण्डमा लेखे बमोजिम वादी दावी पुग्ने ठहरेकोले सो नपुग, कोर्ट फी ऐन, २०१७ को दफा १५ को उपदफा (३) बमोजिम प्रतिवादीहरुबाट असुल उपर गर्नु भनी शुरु सर्लाही जिल्ला अदालतमा लगत दिनु...४,
लगत राख्ने सम्बन्धमा माथि बोली सकेकोले शुरु जिल्ला अदालतले कायम गरेको लगत राखनु नपर्ने भई शुरु सर्लाही जिल्ला अदालत र पुनरावेदन अदालत जनकपुरको फेसलाले राखेको लगत कट्टा गर्नु भनी शुरु सर्लाही जिल्ला अदालतमा लगत दिनु...५
मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. उदयराज उपाध्याय
इति सम्वत् २०५२ साल असार २७ गते रोज ३ शुभम् ।