शब्दबाट फैसला खोज्‍नुहोस्

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रकाश वस्ती

माननीय न्यायाधीश श्री तर्कराज भट्ट

फैसला मिति : २०७०।११।२०

०६९–CR–०८९४

 

मुद्दा : सेवा प्रवेशको लागि नक्कली स्थायी अध्यापन अनुमतिपत्र पेस गरी भ्रष्टाचार गरेको

 

पुनरावेदक/प्रतिवादी : जिल्ला ताप्लेजुङ, मेहेले गा.वि.स. वडा नं. ८ स्थायी ठेगाना भई चितवन जिल्ला, रत्ननगरनगरपालिका वडा नं.८ प्रसौनीमा बसोबास भई हाल नेपाल विद्युत प्राधिकरणअन्तर्गत फोरमेन पदमा कार्यरत् केशवराज कडरिया

विरूद्ध

प्रत्यर्थी/वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तर्फबाट अनुसन्धान अधिकृत गंगाप्रसाद न्यौपानेको प्रतिवेदनले नेपाल सरकार

 

  • पेस भएको सर्टिफिकेट ओहदा पाउन, ओहदामा हाल हुन वा कुनै लाभ सुविधा प्राप्त गर्ने उद्देश्यले पेस नगरेको भन्ने भएकोमा पेस गर्न आवश्यकै नभएको सर्टिफिकेट नक्कली बनाई पेस गर्ने कार्य पछाडि ओहदासम्बन्धी सम्भावित लाभ प्राप्त गर्ने आपराधिक अभिप्राय वा उद्देश्य रहेको स्पष्ट देखिन आउँदा नक्कली प्रमाणपत्र पेस गर्ने कार्यमा आपराधिक कार्य र अपराधिक मन समेतका दुबै तत्त्व समावेश भएको देखिने

(प्रकरण नं.६)

 

पुनरावेदक/प्रतिवादीका तर्फबाट :

प्रत्यर्थी/वादीका तर्फबाट :

अवलम्बित नजीर :

सम्बद्ध कानून :

  • तत्काल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२

 

विशेष अदालत काठमाडौं :–

                                                 अध्यक्ष मा.न्या. श्री गौरीबहादुर कार्की

                                                 सदस्य मा.न्या. श्री ओमप्रकाश मिश्र

                                                 सदस्य मा.न्या. श्री केदारप्रसाद चालिसे

 

 

 

 

 

 

फैसला

                न्या.प्रकाश वस्ती : विशेष अदालत, काठमाडौंको फैसलाउपर विशेष अदालत ऐन, २०४९ को दफा १७ बमोजिम यस अदालतसमक्ष पुनरावेदन परी पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्‍क्षिप्त तथ्य एवम् ठहर यस प्रकार छ :–        

                नेपाल विद्युत प्राधिकरणको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र छानबिन समितिको मिति २०६१।१०।१३ को पत्रसाथ छानबिन विवरणको सि.नं. १९ मा केशवराज कडरियाको नाम उल्लेख भई फारम नं. १ समेतको प्रतिलिपि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा प्राप्त भई मिसिल संलग्न रहेको ।

                नेपाल विद्युत प्राधिकरणको लेक्ट्रिसियन तह ३ पदमा कार्यरत् केशवराज कडारियाले बोर्ड अफ सेकेन्डरी एजुकेशन मनीपुर, भारतबाट सन् १९८५ मा क्रमाङ्क ६०७२ बाट "HSLC Examination" उत्तीर्ण गरेको भनिएका शैक्षिक प्रमाणपत्रहरू नेपाल विद्युत प्राधिकरणबाट छानबिन भई थप छानबिनको लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा प्राप्त भै उक्त प्रमाणपत्रहरू उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमी भक्तपुरमार्फत् बोर्ड अफ सेकेन्डरी एजुकेशन, मनीपुर भारतमा प्रमाणीकरणको लागि पठाउँदा सो बोर्डको "NO. EX/118/78/Vol-vii/4165 Imphal, The 16th June, 2007" को निज केशवराज कडरियासमेत दुई जनाको बारेमा लेखिएको पत्रको सि.नं. २ मा "Keshav Raj Kadariya bearing roll no. 6072 to HSLC Examination, 1985 have been verified with our office records and found that they did not appear the HSLC Examination under the given roll number and years. The document produced by them are fake and forged ones" भनी लेखी आएको उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमी, भक्तपुरको मिति २०६४।४।२० को पत्रसाथ आयोगमा प्राप्त भै मिसिल सामेल रहेको ।

                अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट मिति २०६४।९।१० मा निर्णय भई पुनः प्रमाणीकरणको लागि पठाएको र सम्बन्धित बोर्डबाट प्रमाणीकरण भै आएका पत्रहरू मिसिल संलग्न रहेको ।

                म नेपाल विद्युत प्राधिकरण रत्ननगर टाँडी वितरण केन्द्रको प्र.शाखा ने.वि.प्रा. भण्डारामा कार्यरत् छु । हाल म लेक्ट्रिकल समूहको फोरमेन चौथो तहमा कार्यरत् छु । मैले २०४६ साल पौष महिनादेखि मासिक ज्यालादारीको तेस्रो तह मेकानिकल जुनियर मिस्त्रीको पदमा रही जागिर खाई २०५० साल भाद्र महिनादेखि स्थायी भएको हुँ । नेपाल विद्युत प्राधिकरणको मिति २०६१।१०।२० को निर्णयानुसार प्राविधिक इलेक्ट्रिसियनबाट तह चार फोरमेन पदमा बढुवा गरी पदस्थापन भएको हो । मैले सेवा प्रवेश गरेको पदको लागि आवश्यक पर्ने शैक्षिक योग्यता आठौं कक्षा उत्तीर्णदेखि टेष्ट पाससम्म हो । मैले २०३६ सालमा एस.एल.सी श्री सिनाम माध्यमिक विद्यालय सिनाम, ताप्लेजुङबाट दिएकोमा अङ्‍ग्रेजी विषयमा अनुत्तीर्ण भएको र पछि २०३९ सालदेखि भारतको मनीपुर इम्फालको "Adimjati Govt. High School, Imphal Manipur" बाट "High School" तह पास गरेको हुँ । मैले उक्त तह प्राइभेट फर्म भरी पास गरेको हुँ । मैले परीक्षा दिएको बेलामा म नोकरीमा प्रवेश गरेको थिइन । मनीपुर इम्फालको थवल डिस्टीकको सेराउ गाउँमा मेरो मामाहरू तथा अन्य दाजुभा पनि धेरै बसेकोले मैले २०३९ सालदेखि मनीपुरमा गई बसोबास गर्दा स्कलबाट प्राईभेट परीक्षा दिन पाइन्छ भन्ने भएकोले म आफैँले फर्म भरेको हो र त्यो फर्म भर्दा के कति रकम लागेको हो म आफूसँग विल भरपाईहरू हाल छैन । मैले परीक्षा "Adimjati Govt. High School, Imphal, Manipur" बाट दिएको हुँ । एउटा कोठामा २४ जना बसी  परीक्षा दिएका थियौँ । परीक्षा पौष महिनामा सञ्चालन भएको थियो । पाँच महिनापछि परीक्षाफल प्रकाशित भयो । मार्कसिट लिन म आफै गएको थिएँ । मिसिल संलग्न प्रमाणपत्रहरू मैले आफ्नो कार्यालयमा पेस गरेको हो । ती प्रमाणपत्रहरू मेरै हुन् भनी सनाखत गरिदिएँ । कम योग्यताको प्रमाणपत्र भए पनि पुग्नेमा मसँग भएका अन्य प्रमाणपत्रसमेत सुरू नियुक्ति हुँदाका बखत नै पेस गरेको हुँ । मैले पेस गरेका प्रमाणपत्रहरूलाई किन "Fake and forged ones" भनी लेखिई आयो थाहा भएन । मेरा प्रमाणपत्र झूट्ठा होइनन् भन्नेसमेत व्यहोराको प्रतिवादी केशवराज कडरियाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

                नेपाल विद्युत प्राधिकरणको ईलेक्ट्रिसियन तह चौथो फोरमेन पदमा कार्यरत् केशवराज कडारियाले बोर्ड अफ सेकेन्डरी एजुकेशन मनीपुर, भारतबाट सन् १९८५ मा क्रमाङ्क ६०७२ बाट "HSLC Examination" उत्तीर्ण गरेको भनिएका शैक्षिक प्रमाणपत्रहरू नेपाल विद्युत प्राधिकरणबाट छानबिन भई थप छानबिनको लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा प्राप्त भएकोमा उक्त प्रमाणपत्रहरू उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमी, भक्तपुरमार्फत बोर्ड अफ सेकेन्डरी एजुकेशन, मनीपुर भारतमा प्रमाणीकरणको लागि पठाउँदा सो बोर्डको No. Ex/118/78/Vol-vii/4165 Imphal, The 16th June, 2007 को निज केशवराज कडरियासमेत दुई जनाको बारेमा लेखिएको पत्रको सि.नं. २ मा "Keshav Raj Kadariya bearing roll no. 6072 to HSLC Examination, 1985 have been verified with our office records and found that they did not appear the HSLC Examination under the given roll number and years. The document produced by them are fake and gorged ones" भनी लेखी आएको उच्च माध्यमिक शिक्षा परिषद्, सानोठिमी भक्तपुरको मिति २०६४।४।२० को पत्रसाथ प्राप्त भै मिसिल सामेल रहेको । आयोगले निर्णयअनुसार प्रतिवादीको प्रमाणपत्र पुनः प्रमाणीकरण गराउँदा निजले पेस गरेको उक्त बोर्डको नम्बर "Ex/118/78/Vol-IX/4722 Imphal, the 8th January, 2008" को पत्र उच्च माध्यमिक शिक्षा परिषद् सनोठिमीको मिति २०६४।१०।२० को पत्रबाट समेत "Fake and forged" भनी जवाफ प्राप्त हुन आएको र "HSLC" को शैक्षिक योग्यताको प्रमाणपत्र आफूले सुरू नियुक्ति लिँदा पेस गरेको हो भनी प्रतिवादी स्वयंले यानमा स्वीकारसमेत गरेकोबाट निज प्रतिवादीले राष्ट्रसेवकको पदमा नियुक्ति लिने उद्देश्यले झूट्ठा र नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नियुक्तिसमेत लिएको देखिँदा साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) अनुसारको कसुरमा निज प्रतिवादी केशवराज कडरियालाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिम सजाय गरी पाउँ भन्नेसमेत व्यहोराको अख्तियार दुरूपयोग अनुसन्धानबाट विशेष अदालत, काठमाडौंमा दायर गरेको आरोपपत्र ।

                मैले "HSLC" परीक्षा बोर्ड अफ सेकेन्डरी एजुकेशन, मनीपुर भारतबाट प्राइभेट परीक्षार्थीको रूपमा सन् १९८५ मा "Adimjati High School, Imphal, Manipur" बाट फर्म भरी परीक्षा दिई उत्तीर्ण भएको र सो प्रमाणपत्र प्राप्त गरेको हुँ । प्रमाणपत्र सही सत्य हो । के कति कारणले बोर्डले झूट्ठा भनी लेखी पठायो मलाई थाहा भएन । बोर्ड अफ सेकेन्डरी एजुकेशन मनीपुरले मलाई पछिल्लो पटक उपलब्ध गराएको मेरो प्रमाणपत्र सही भएको व्यहोराको पत्र बयानका साथ पेस गरेको छु । प्रमाणमा लगाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी केशवराज कडारियाले विशेष अदालत, काठमाडौंमा गरेको बयान ।

                सम्बन्धित बोर्ड अफ सेकेन्डरी एजुकेशन मनीपुरबाट पहिले "…… The document produced by them are fake and forged ones" लेखी आएकोमा प्रतिवादीले बयानसाथ पेस गरेको सोही बोर्ड अफ सेकेन्डरी एजुकेशन मनीपुरको "2nd May 2008" को माध्यमिक शिक्षा परिषद् सानोठिमीलाई लेखेको पत्रमा "Kesav Raj Kadariya Roll no. 6072 had passed the High School Leaving Certificate Examination, 1985 in the third division" भनी उल्लेख गरेको पत्रको प्रतिलिपि पेस गरेको देखिँदा उक्त पत्रमध्ये कुन आधिकारिक हो, सो सम्बन्धमा उच्च माध्यमिक शिक्षा परिषद्, सानोठिमीलाई दुबै पत्रको प्रतिलिपि साथै राखी सम्बन्धित निकाय बुझी यकीन जवाफ दिनु भनी पत्र लेखी जवाफ प्राप्त भएपछि नियमानुसार पेस गर्नु भनी विशेष अदालत, काठमाडौँबाट मिति २०६५।७।२९ मा भएको आदेश ।

                विशेष अदालत, काठमाडौंको आदेशानुसार बोर्ड अफ सेकेन्डरी एजुकेशन, मनीपुरले प्रमाणीकरण गरी पठाएको पत्र मिसिल संलग्न रहेको ।

                प्रतिवादी केशवराज कडरियाले "HSLC" तहको परीक्षा उत्तीर्ण गरेको भनेको प्रमाणपत्र झूट्ठा देखिन आएकोले तत्काल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ को कसुर गरेको ठहर्छ भन्नेसमेत व्यहोराको विशेष अदालत, काठमाडौंबाट मिति २०६९।५।२७ मा भएको फैसला ।

म पुनरावेदक नेपाल विद्युत प्राधिकरणमा प्राविधिकतर्फको तेस्रो तहमा सेवा प्रवेश गरेको हुँ, जसको लागि न्यूनतम्‍ योग्यता दश कक्षा उत्तीर्ण र छ महिनाको तालिम वा छ महिनाको कार्यानुभव तोकेकोमा मैले नेपालबाट नै दश कक्षा उत्तीर्ण गरेको र सेवा प्रवेश गर्दा पनि सो दश कक्षा उत्तीर्ण गरेको नेपालको प्रमाणपत्र पेस गरी सोही आधारमा सेवा प्रवेश गरेको तथा म साविकको पदबाट हालक चौथो तहमा कार्यक्षमताको मूल्याङ्कनको आधारमा बढुवा भएको र कार्यक्षमताको आधारमा बढुवा हुँदाको अवस्थामा पनि आवशयक न्यूनतम् शैक्षिक योग्यता आठौँ कक्षा उत्तीर्ण नै हो जुन योग्यता मैले नेपालबाट नै प्राप्त गरेको छु । मैले नेपाल विद्युत प्राधिकरणमा सेवा प्रवेश गर्दा तथा बढुवा हुँदासमेत विवादित प्रमाणपत्रका आधारमा कुनै पद प्राप्त गरेको वा सुविधासमेत लिएको छैन ।

                जहाँसम्म मैले पेस गरेको "Board of Secondary Education, Manipur" बाट मैले प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाणपत्रको कुरा छ, सो प्रमाणपत्र मैले उल्लिखित बोर्ड अन्तर्गत भारतको मनीपुर इम्फालको, "Adimjati Govt. High School, Imphal Manipur" बाट प्राइभेट परिक्षार्थीको रूपमा परीक्षामा सामेल भई सन् १९८५ मा सो तह उत्तीर्ण गरी प्रमाणपत्र प्राप्त गरेको हुँ । मैले पेस गरेको प्रमाणपत्र सही सत्य हो र सोही व्यहोराको "Board of Secondary Education, Manipur" ले "November 2, 2007" ले पनि प्रष्ट गरेको छ । विशेष अदालत, काठमाडौंबाट सुरू फैसला गर्दा उच्च माध्यमिक शिक्षा परिषद्‍मार्फत् "Board of Secondary Education, Manipur" मा पत्राचार गरी त्यहाँबाट प्राप्त जवाफको आधारमा मैले पेस गरेका प्रमाणपत्रहरूलाई नक्कली ठहर गरेको छ । जुन सरासर त्रुटिपूर्ण र गलत छ । नेपालको एस.एल.सी. वा सो सरहको परीक्षाको प्रमाणपत्रको सत्यता जाँच गर्न अनुसन्धान गर्ने निकाय उच्चमाध्यमिक शिक्षा परिषद् होइन । यस परिषद्को कुनै पनि कर्मचारीलाई अनुसन्धान अधिकारी तोकिएको छैन । त्यस्ता कर्मचारीले कसरी कहाँबाट के आधारमा प्रमाणीकरण गरेर ल्याएका हुन सो कुरा पुष्टि गर्न अदालतसमक्ष उपस्थित गराई बकपत्रसमेत गराइएको अवस्था पनि छैन । यसरी कानूनी  प्रक्रिया पूरा नगरी हचुवाको भरमा संकलित प्रमाणलाई आधार मानी सही सत्य प्रमाणपत्रलाई नक्कली ठहर गरी भ्रष्टाचार जस्तो गम्भीर प्रकृतिको अपराधमा दोषी ठहर गरी मलाई सजाय गर्ने गरी भएको फैसला त्रुटिपूर्ण र बदरभागी भएको हुँदा सो फैसलालाई बदर गरी वादी दावीबाट छुट्कारा दिलाई सफा पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी केशवराज कडरियाले यस अदालतमा दायर गरेको पुनरावेदनपत्र ।

                नियमबमोजिम दैनिक मुद्दा पेशीसूचीमा चढी इजलाससमक्ष पेस भएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी केशवराज कडरियाले "HSLC" तहको परीक्षा उत्तीर्ण गरेको भनेको प्रमाणपत्र झूट्ठा देखिन आएकोले तत्काल भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ को कसुर गरेको ठहर्‍याएको विशेष अदालत, काठमाडौंको फैसला मिलेको छ छैन, पुनरावेदक प्रतिवादीले आरोपित कसुरबाट सफा पाउँ भन्ने पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन भन्ने कुरामा मिसिल संलग्न कागजात हेरी निर्णय दिनुपर्ने देखिन आयो ।

                2. निर्णयतर्फ हेर्दा मैले सेवा प्रवेश गर्दा आवश्यक पर्ने न्यूनतम् योग्यता नेपालबाटै उत्तीर्ण गरेको, बढुवा कार्यक्षमताका आधारमा भएको, मैले प्राप्त गरेका सबै शैक्षिक योग्यताका प्रमाणपत्रहरू सही र सत्य हुन्‍, उच्च शिक्षा परिषद्का कर्मचारीलाई प्रस्तुत मुद्दा अनुसन्धान गर्ने अधिकार छैन भनी सुरू फैसला उल्टी गरी पाउँ भनी विभिन्न आधार लिएको पाइन्छ ।

                3. पुनरावेदक प्रतिवादीले विशेष अदालतमा बयानका क्रममा मैले "HSLC" परीक्षा प्राइभेट परीक्षार्थीको रूपमा सन् १९८५ मा "Adimjati Govt. High School, Imphal Manipur" बाट फर्म भरी परीक्षा दिई उत्तीर्ण गरेका हो । मैले पेस गरेका प्रमाणपत्रहरू सही सत्य हुन्‍ के कति कारणले बोर्डले झूट्ठा भनी लेखी पठायो मलाई थाहा भएन । बोर्ड अफ सेकेन्डरी एजुकेशन मनीपुरले मलाई पछिल्लो पटक उपलब्ध गराएको मेरो प्रमाणपत्र सही भएको व्यहोराको पत्र मैले मेरो बयानका साथ पेस गरेको छु । उक्त प्रमाणपत्रलाई प्रमाणमा लगाई पाउँ भनी आफूले गरेको बयान गरेका साथ "Board of Secondary Education, Manipur" को "No. Ex/118/78/01-IX/4851, Imphal, the 2nd May, 2008" को "….. Shri Keshab Raj Kadariya, Roll No. 6072, has passed the High School Leaving Certificate Examination, 1985 in the Third Division from Adimjati High School, Imphal his date of birth is 1st April, 1961 and certificate issued No. 86405" भनी उल्लेख भएको पत्र पेस गरेको देखिन्छ । त्यसैको आधारमा विशेष अदालतबाट मिति २०६५।७।२९ मा यी पुनरावेदक प्रतिवादीले आफ्नो बयानका साथ पेस गरेका प्रमाण पत्रहरू पुनः प्रमाणीकरणका लागि विशेष अदालतले उच्च माध्यमिक शिक्षा परिषद्लाई दिएको आदेशानुसार सो परिषद्ले टोली खटाई खटाइएको टोलीले "Board of Secondary Education, Manipur" बाट प्रमाणीकरण गरी ल्याएको "No. Ex/118/78 (Vol-XII-II)/5048 Imphal, the 30th May, 2012  को पत्रमा "With reference to your letter No.3384 dated 18th May, 2012 on the subject cited above I am to say that the Photostat copies of Mark Sheet and Admit Card in respect of Mr. Keshav Raj Kafariya bearing Roll No. 6072 of High School Leaving Certificate Examination, 1985 have been checked with our office relevant record and found that he did not appear under the given Roll No. and Year. It is found as Md. Taslimuddin Choudhary of Rahmania High School appearing the said examination against the Roll No and Year. The documents produced by him are fake and forged ones." भनी प्रमाणीकरण गरी पठाएको पत्रको प्रतिलिपिलाई दस्तखत र छाप लगाई उच्चमाध्यमिक शिक्षा परिषद् सानोठिमी, भक्तपुरबाट प्राप्त भई मिसिल संलग्न रहेको अवस्थामा यी पुनरावेदकले सेवा प्रवेश गर्दा पेस गरेका प्रमाणपत्रहरू शुद्ध देखिन आएनन् ।

4. विशेष अदालत, काठमाडौंको मिति २०६५।०७ गतेको आदेशानुसार आरोपपत्रका साथ पेस भएका यी पुनरावेदकले पेस गरेको शैक्षिक योग्यताका प्रमाणपत्र र निजले यानका साथ पेस गरेका प्रमाणपत्रका प्रतिलिपिमध्ये कुन आधिकारिक हो, सो सम्बन्धमा बुझी यकीन जवाफ पठाइदिनु हुन भनी उच्चशिक्षा परिषद् सानोठिमी, भक्तपुरलाई लेखी पठाइएको र अदालतको यस प्रकारको आदेशानुसार कार्य भई आएको अवस्थामा उच्चशिक्षा परिषद्का कर्मचारीलाई त्यसरी प्रमाणीकरण गरी ल्याउने अधिकार छैन भन्ने पुनरावेदकको जिकिर कानूनसम्मत देखिन आएन ।

5. पुनरावेदक प्रतिवादी केशवराज कडरियाले "Adimjati High School, Imphal 1985" मा क्रमाङ्क ६०७२ बाट "High School Leaving Certificate Examination" पास गरेको सर्टिफिकेट पेस गरेको तथ्यमा कुनै विवाद देखिँदैन । प्रतिवादी पुनरावेदकले सर्टिफिकेटबाट नियुक्ति पाएको र सर्टिफिकेटका आधारमा बढुवा पाएको अवस्था नभै सर्टिफिकेटका आधारमा ओहदा पाउने, ओहदामा बहाल रहनेसमेतका कुनै लाभ सुविधा प्राप्त नभएको हुँदा त्यस्तो सर्टिफिकेटका आधारमा सजाय गर्न नमिल्ने भन्नेसम्मको जिकिर लिएको देखियो । साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ ले कुनै व्यक्तिले राष्ट्रसेवकको ओहदा पाउने वा सो ओहदामा वहाल रहने उद्देश्यले शिक्षासम्बन्धी कुनै योग्यता, नाम, तीनपुस्ते, उमेर, जात, थर, वतन, नागरिकता वा अयोग्यता ढाँटेमा निजलाई कसुरको मात्रा अनुसार २ वर्षदेखि ६ वर्षसम्म कैद वा जरीवाना वा दुबै सजाय हुनेछभन्ने व्यवस्था गरेबाट राष्ट्रसेवकले कुनै ओहदा पाउने, ओहदामा हाल रहने वा कुनै लाभ वा सुविधा पाउने उद्देश्यले शिक्षासम्बन्धी कुनै योग्यता, नाम, तीनपुस्ते, उमेर, जात, थर, वतन, नागरिकता वा अयोग्यता ढाट्न नहुने गरी यस्ता कार्यलाई अपराधजन्य गरी स्पष्ट व्यवस्था गरेको देखिन आउँदछ । अपराध हुनका लागि निश्चय नै आपराधिक कार्य र अपराधी मन दुबै आवश्यक हुन्छ । आपराधिक कार्य भन्नाले अपराधसँग सम्बन्धित  शारीरिक  वा भौतिक कार्य बुझ्नुपर्ने हुन्छ भने अपराधिक मनले आपराधिक अभिप्राय वा उद्देश्यलाई बोध गराउँदछ । आपराधिक अभिप्राय वा उद्देश्यविहीनको कार्यबाट मात्र अपराध कायम हुन सक्दैन (Actus Non facit reum, nisi mens sit rea) भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्त रहेको छ ।

6. पुनरावेदक प्रतिवादीबाट नक्कली सर्टिफिकेट पेस गर्ने कार्य अर्थात्‍ आपराधिक कार्य भएको तथ्यमा कुनै विवाद छैन । पेस भएको सर्टिफिकेट ओहदा पाउन, ओहदामा हाल हुन वा कुनै लाभ सुविधा प्राप्त गर्ने उद्देश्यले पेस नगरेको भन्ने भएकोमा पेस गर्न आवश्यकै नभएको सर्टिफिकेट नक्कली बनाई पेस गर्ने कार्य पछाडि ओहदासम्बन्धी सम्भावित लाभ प्राप्त गर्ने आपराधिक अभिप्राय वा उद्देश्य रहेको स्पष्ट देखिन आउँदा नक्कली प्रमाणपत्र पेस गर्ने कार्यमा आपराधिक कार्य र अपराधिक मन समेतका दुबै तत्त्व समावेश भएको देखिन्छ ।

                7. अत:व प्रतिवादी केशवराज कडरियाले "HSLC" तहको परीक्षा उत्तीर्ण गरेको भनेको प्रमाणपत्र झूट्ठा देखिन आएकोले तत्काल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ को कसुर गरेकोले निजलाई सोही ऐनको दफा १२ र दफा २९(२) ले रू.५००। जरीवाना हुने ठहर्‍याएको विशेष अदालत, काठमाडौंको मिति २०६९।५।२७ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू । 

 

उक्त रायमा सहमत छु ।

न्या.तर्कराज भट्ट

 

इति संवत् २०७० साल फागुन २० गते रोज ३ शुभम् ..........................।

 

इजलास अधिकृत : लोकनाथ पराजुली

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु