शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६१०४ - बकसपत्र बदर समेत

भाग: ३७ साल: २०५२ महिना: फागुन अंक: ११

निर्णय नं. ६१०४ ने.का.प. २०५२              अङ्क ११

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ

माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा

सम्वत् २०५१ सालको दे.पु.नं. १९२७

फैसला मिति    : २०५२।८।१३।४

मुद्दा : बकसपत्र बदर समेत ।

पुनरावेदक/वादी : जिल्ला प्यूठान तुसारा गाउँ विकास समिति वडा नं. ३ बस्ने दान बहादुर घर्ती

विरुद्ध

विपक्षी/प्रतिवादी : ऐ.ऐ. बस्ने टिकाबहादुरको मु.स. गर्ने हिराकुमारी घर्ती क्षेत्री ।

ऐ ऐ बस्ने खिम बहादुर घर्ती ।

§     दान बकसको १ नं. ले सगोलको सम्पत्ति आफूखुस गर्न पाउने बाहेक दान वा बकस दिन अंशियारहरुको मञ्जुरी चाहिने प्रावधान भएको देखिने ।

(प्रकरण नं. १२)

§  आफ्नो एकलौटी हक लाग्न नसक्ने सम्पत्तिमा अन्य अंशियारको मञ्जुरी लिई बकस गरेकोमा मात्र सदर हुने ।

(प्रकरण नं. १२)

पुनरावेदक तर्फबाट : x

विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री विजयकान्त

अवलम्बित नजीर : x

फैसला

    न्या. ओमभक्त श्रेष्ठ : यस्मा पुनरावेदन अदालत, नेपालगंज बाँकेको मिति २०५०।८।२० गतेका फैसला उपर यस अदालतमा पर्न आएको पुनरावेदन जिकिर सहितको संक्षिप्त व्यहोरा यस प्रकार छ :

     २.   बाबा टिका बहादुर घर्तीको छोरा म समेतका७ भाइ र बहिनी २ सन्तान मध्ये २ बहिनीको विवाह भइ सकेको ७ भाइ मध्ये जेठो म फिरादी र ठाइली सोमबहादुर २ भाइ र बाबा आमासँगै रही बसी सगोलकै खति उपति गर्दै आएको थियो भने महिला मीनबहादुर साहिँलो दिलबहादुर काहिँलो ओमबहादुर राहिलो हुकुमबहादुर कान्छो विपक्षी खिमबहादुर क्रमशः ०२५।२६, ०३५।०३६ र २०४१ सालमा छुट्टि भिन्न भई अलग अलग बसी आई आआफ्ना सम्पत्ति भोगचलन गर्दै आएका थिए यता २ भाइ फिरादी म जेठो दानबहादुर र ठाइलो सोमबहादुर विपक्षी बाबा र आमाको सम्पूर्ण चल अचल श्रीसम्पत्ति सगोलमै बाबाका जिम्मामा नै छ र म समेतले बण्डा गरी लिएका छैनौ त्यस्तोमा विपक्षी खिमबहादुरले मेरो हक मार्ने किसिमबाट म घरमा नभएको मौका छोपी बाबाले दिने र भाइ खिमबहादुरले लिने गरी प्यूठान तुसारा गा.वि.स. वडा नं. ३ का कि.नं. ७०, ११९, २४३ का जग्गाहरु २०४८।५।३ मा पारीत भएको जग्गा बकसपत्र बदर गरी पाउँ भन्ने समेत दानबहादुर जि.सी.को फिरादपत्र ।

     ३.   म प्रतिवादी टिकाबहादुरको श्रीमती हिराकुमारीबाट विपक्षी समेतका ७ भाइ २ बहिनी छोरो जायजन्म भई छोरोहरुको विवाह भइसकेको छोराहरुमा माइला, साइला राइला काइला कान्छा छोराहरुले मबाट अंश लिई छुट्टी बेगल बसेको अवस्था जेठा विपक्षी दानबहादुर र ठाइला सोमबहादुरले हामीहरुले अहिले अंश लिन्नौ तपाई जिम्मा नै राखी दिनुहोस् र कि.नं. ७, ११९, २४३ का कित्ता जग्गाहरु पछि तपाईहरुलाई जुन भाइले राम्रो हेरचाह गर्छ उसैले नै तपाईको शेषपछि दान पुण्य काज कृया गरी अरु भाइहरुले दावी गर्न नपाउने गरी खान पाउने र तपाई बाबाको अंश बाहेक उक्त कित्राहरु ज्युनि स्वरुप छुट्याएर खानुस् भनी निजै विपक्षी र अरु छोराहरुको राय सल्लाह मञ्जुरी अनुसार मैले प्रतिवादी खिमबहादुरलाई बकसपत्र गरी दिएको हुँ सो मैले खिमबहादुरलाई शेषपछिको बकसपत्र गरी दिएको जग्गा हक कायम राखी पाउँ टिकाबहादुरको र यस फिरादीले ठाइला दाजु सोमबहादुर समेतलाई अंशमा ठग्ने नियतले यी फिरादीले आमा र बाबा वृद्ध अवस्थाको र आँखा नदेख्ने होस् ठेगान समेत नभएकोले घर भित्रको चल धनमाल जति विपक्षी जिम्मा नै दिई ताला कुचि समेत बाबु टिका बहादुरले सुम्पी दिनु भएको म निजले आफ्नो श्रीसम्पत्तिको कुरालाई सुनी बाबुलाई हेरचाह नगरी अवहेलना गरी दुःख दिइएकोले बाबुलाई आफ्नै घरमा राखी स्याहार सम्भार औषधी उपचार गरी आएकोले बाबुले कि.नं. ७०, ११९, २४३ को जग्गा मलाई शेषपछिको बकसपत्र गरी दिनु भएको जग्गामा हक कायम राखी पाउँ भन्ने समेत प्रतिवादी टिकाबहादुर, प्रतिवादी भिमबहादुर समेतका संयुक्त प्रतिउत्तरपत्र ।

     ४.   विवादित कि.नं. ७०, ११९, २४३ को जग्गा प्रतिवादी टिकाबहादुर घर्ती क्षेत्रीयले बकसपत्र गर्न पाउने कुरा कानुनले मिल्न नदेखिँदा दिने टिकाबहादुर घर्ती क्षेत्री र लिने खिमबहादुर घर्ती क्षेत्री भई मिति २०४८।५।२ मा खडा भई मिति २०४८।५।५ मा पारीत भएको र नं. १५२ को शेषपछिको बकसपत्र बदर हुने ठहर्छ भन्ने समेत प्यूठान जिल्ला अदालतको फैसला।

     ५.   प्यूठान जिल्ला अदालतको फैसलामा हामीहरुको चित्त बुझेन सो फैसला उल्टी गरी शेषपछिको बकसपत्र बमोजिम कि.नं. ७०, ११९, २४३ को कित्ता जग्गाहरु म प्रतिवादी खिमबहादुर कै हक सदर कायम गरी पाउँ भन्ने समेत खिमबहादुर घर्ती समेतको पुनरावेदनपत्र ।

     ६.   विवादित लिखत बदर हुन सक्ने अवस्था भएका पनि वादीको हकसम्म लिखत बदर हुनु पर्नेमा सम्पूर्ण लिखत बदर गर्ने गरेको शुरु प्यूठान जिल्ला अदालतको इन्साफ फरक पर्न सक्ने हुँदा अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७, ४८ बमोजिम छलफलको लागि विपक्षीलाई झिकाई उपस्थित भएपछि वा म्याद गुजारेपछि नियमानुसार पेश गर्नु भन्ने समेत मिति २०५०।४।२४।१ को पुनरावेदन अदालत, नेपालगञ्ज बाँकेको आदेश ।

     ७.   यसमा लिखत बदर गरी पाउँ भन्ने वादी दावी र सबैको मञ्जुरीबाट मौखिक शर्तमा जिउनी छुट्याएर राखेको आफूखुशी गर्न पाउने जग्गा लेखी दिएको हुँदा लिखत बदर हुने छैन भन्ने प्रतिवाद देखिन्न । प्रतिउत्तर व्यहोराबाट वादी दानबहादुर छुट्टी भिन्न भएको नभई लिखत गरी दिने बाबु टिकाबहादुरसँग सगोलमा रहे भएको देखिनछ । सगोलको सम्पत्ति हक छाडी दिँदा अंशियारहरुको मञ्जुरी भएको सदर हुने र मञ्जुरी नहुने उजुरवालाको हक जति बदर हुने गरी दान बकसको १ नं. तथा लेनदेन व्यवहारको १० नं. मा व्यवस्था हो । प्रस्तुत मुद्दामा दानबहादुरको मात्र उजुरी परेकोले निजको अंश हकको लिखत गरी दिएको नमिल्ने भएकोले दानबहादुरको हक जतिमात्र लिखत बदर हुने देखिँदा चार भागको एक भाग लिखत बदर हुनेमा सम्पूर्ण लिखत बदर गर्ने गरी भएको शुरु प्यूठान जिल्ला अदालतको फैसला मिलेकोले केही उल्टी हुने ठहर्छ भन्ने समेतको पुनरावेदन अदालत, नेपालगञ्ज बाँकेको मिति २०५०।८।२०।१ का फैसला।

     ८.   लेनदेन व्यवहारको १० नं. अनुसार अंश नभएका अंशियारले सगोलको अचल सम्पत्ति बेच बिखन गर्दा या कुनै किसिमले हक छाडी दिँदा ऐनले आफूखुसी गर्न पाउने अरुको मञ्जुरी लिनु नपर्नेमा बाहेक अरुमा एकाघरसँगका अंशियार सबै साक्षी बसेको वा निजहरुको मञ्जुरीको लिखत गरी दिएको भए मात्र पक्का ठहर्छ । साक्षी पनि नबसेको र मञ्जुरीको लिखत पनि नभए मञ्जुर नहुनेले रजिष्ट्रेशन भएको मितिले एक वर्षसम्ममा थाहा पाएको पैंतीस दिनभित्र उजुर गरेको र निजको मञ्जुरी ठहरिएन भने निजको हक जति सो सम्पत्ति निजलाई फिर्ता गराई दिनु पर्छ भन्ने उल्लेख छ । प्रस्तुत बकसपत्र बदरमुद्दामा दिने टिकाबहादुर लिने खिमबहादुरलाई मिति २०४८।५।२ मा शेषपछिको बकसपत्र लेखि मिति २०४८।५।५ मा पारीत गरी दिनु भएको छ । शेषपछिको बकसपत्रलाई बकस दिने व्यक्तिले आफू जीवित छँदा जहिले पनि बदर गर्न पाउँछ । अब यसलाई लेनदेन व्यवहारको १० नं. अनुसार हक छाडी दिएको भन्न मिल्दैन कुनै सम्पत्तिमा आफ्नो हक छाडी दिनु र कसैलाई शेषपछिको बकसपत्र लेखी दिनु दुई भिन्न भिन्न कुराहरु हुन्। त्यसलाई लेनदेन व्यवहारको सहारा (बैशाखी) को आवश्यकता छैन दान बकसको १ नं. मा आफ्नो हक पुग्ने सम्पत्ति दानबकस गरी दिनु हुन्छ भनेको छ यदि त्यसमा अरु कसैको पनि हक छ भन्ने त्यस्तो दान बकसपत्र स्वतः अवैध भएको हुनाले बदरभागी छ । अतः शुरु प्यूठान जिल्ला अदालतबाट भएको फैसला सदर राखी श्री पुनरावेदन अदालत, नेपालगंज बाँकेले लेनदेन व्यवहारको १० नं. लगाई गरेको फैसला बदर गरी न्याय निरोपण गरी पाउँ भन्ने समेत व्यहोराको पुनरावेदन जिकिर ।

     ९.   यस्मा विवादित बकसपत्र हालैको बकसपत्र नभई शेषपछिको बकसपत्र देखिन्छ । शेषपछिको बकसपत्रमा दाताको शेषपछिमात्र पाउनेको हक स्थापित हुन सक्नेमा हक दर्ता नै स्थापित नभएको अवस्थामा मुद्दा गर्नु पर्ने कारणको अभावमा फिराद गर्दा गरी भएको फैसलामा फरक पर्ने देखिँदा अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम गरी पेश गर्नु भन्ने यस सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०५१।१०।१८ गतेको आदेश ।

     १०.  नियम बमोजिम दैनिक पेशी सूचीमा चढी नि.सु.को लागि पेश हुन आएको प्रस्तुत मुद्दामा विपक्षी तर्फबाट रहनु भएको विद्वान अधिवक्ता श्री विजयकान्त मैनालीले यस्मा विपक्षी पुनरावेदक दानबहादुरको हक पुग्नेसम्म सम्पत्तिको लिखत बदर गर्ने गरेको पुनरावेदन अदालतको मिति २०५०।८।२० गतेको फैसला मनासिब नै हुँदा शुरु प्यूठान जिल्ला अदालतको फैसला उल्टी गरी पुनरावेदन अदालत, नेपालगंजबाट भएको फैसला सदर कायम गरी पाउँ भन्ने समेतको बहस प्रस्तुत गर्नु भयो ।

     ११.   उपस्थित कानुन व्यवसायीको बहस सुनी प्रस्तुत मुद्दाको मिसिल समेत अध्ययन गरी निर्णयतर्फ विचार गर्दा यस्मा पुनरावेदन अदालत, नेपालगंज बाँकेले गरेको फैसला मिले नमिलेको के रहेछ, निर्णय दिनु पर्ने हुन आयो ।

     १२.  यसमा दान बकसको १ नं. मा आफ्नो हक पुग्ने सम्पत्ति दान वा बकस गरी दिन हुन्छ सो बमोजिम दान वा बकस गरी दिँदा हकवालालाई बकस भनी र अरुलाई दान वा बकस जुन व्यवहारले दिए पनि हुन्छ । आफ्नो खुस गर्न पाउने बाहेक अरुमा अंशियार र हक पुग्नेहरुको मञ्जुरीको लिखत नलिई वा साक्षी नराखी दान बकस गरी दिन हुँदैन भन्ने व्यवस्था रहेको छ । यसरी दानबकसको १ नं. ले सगोलको सम्पत्ति आफूखुस गर्न पाउने बाहेक दान वा बकस दिन अंशियारहरुको मञ्जुरी चाहिने प्रावधान भएको देखिन्छ । वादी दानबहादुर छुट्टी भिन्न भएको नभई बाबु टिकाबहादुरसँग सगोलमा रहे भएको मिसिलबाट देखिन्छ । यसरी छोरा सगोलमा रहे बसेको स्थितिमा विवादित जग्गामा बाबु टिकाबहादुरको एकलौटी हक लाग्न सक्ने अवस्था देखिएन । आफ्नो एकलौटी हक लाग्न नसक्ने सम्पत्तिमा अन्य अंशियारको मञ्जुरी लिई बकस गरेकोमा मात्र सदर हुने देखिन्छ । तर मिति २०४८।५।५ मा टिकाबहादुरले आफ्नो कान्छो छोरा खिमबहादुरलाई दिएको शेषपछिको बकसपत्रमा अंशियारको मञ्जुरी लिएको मिसिलबाट देखिँदैन । अंपशियारका मञ्जुरी बेगर दिएको उक्त मितिको शेषपछिको बकसपत्र दानबकसको १ नं. को प्रतिकूल देखिँदा वादी दावी बमोजिम शेषपछिको बकसपत्र पूर्ण रुपमा बदर गरेको शुरु जिल्ला अदालतको इन्साफ केही उल्टी गरी वादीको हकमासम्म शेषपछिको उक्त बकसपत्र बदर हुने ठहर्‍याएको पुनरावेदन अदालत, नेपालगंज बाँकेको मिति २०५०।८।२० गतेको फैसला मिलेकै देखिँदा पुनरावेदन जिकिर पुग्न सक्दैन । धरौटी पुनरावेदन हुँदा फैसला भएको जनाउ धरौटी पुनरावेदकलाई दिई मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. हरिप्रसाद शर्मा

 

इति सम्वत् २०५२ साल मंसीर १३ गते रोज ४ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु