शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ५०७ - अंश

भाग: १२ साल: २०२६ महिना: बैशाख अंक:

निर्णय नं.  ५०७    ने.का.प. २०२६

फुल बेञ्च

प्रधान न्यायाधीस भगवतीप्रसाद सिंह

न्यायाधीश श्री रत्नबहादुर बिष्ट

न्यायाधीश श्री हेरम्बराज

सम्वत ०२५ सालको दे.फु.नं. ८९

निवेदक : जिल्लै पर्सा प्र.नौरंगियातर्फ जगतपुर मौजे धर्मपुर बस्ने भुवनराज उपाध्यायसमेत

विरुद्ध

विपक्षी : ऐ.बस्ने फणिन्द्रराज भन्ने दामोदरप्रसाद उपाध्याय

मुद्दा : अंश

(१)   तायदाती मुचुल्कामा घरसारमा अंशबण्डा गरी माना समेत छुट्टिसकेको साल मात्र लेखी महिनामा र मिति नखुलेमासोही सालको वैशाख १ गतेलाई मानोछुट्टिएको मिति कायम हुने ।

            २००६ साल वैशाख २३ गतेको तायदाती मुचुल्काका २००० सालदेखि घरसारमा अंशबण्डा गरिसकेको मानो समेत छुट्टी सकेको भनी लेखिएको महिना मिति केही नखुलेको यहि मिति भनी किटान नभएमा वादी प्रतिवादीहरूको व्यवहारमा कचमच पर्ने समेत हुनाले २००० साल वैशाख १ गतेलाई मानु छुट्टिएको मिति कायम गर्नु मुनासिव देखिन्छ ।

(प्रकरण नं. १५)

(२)   प्रस्तुत लिखत प्रमाण हुने सम्भव देखी सद्दे कीर्ते सुनाई तहकिकात वादको कारवाईले उक्त लिखत प्रमाण लाग्न नसक्ने देखिएमाउक्त सद्दे कीर्ते तहकिकातलाई मान्यता नदिए पनि हुने ।

            प्रमाणमा पेश भएको कागज परस्पर सुनाउनु पर्ने र कीर्ते जालसाजी भनेमा कीर्ते जालसाजी मुद्दा चल्ने अदालती बन्दोबस्तको ७८ नं. मा व्यवस्था छ । पहिले पेश भएको लिखतलाई प्रमाण लाग्ने हो भनी पक्षहरूले देखाएमा त्यसबखतमा हेर्दा यो कागज पनि प्रमाण हुनसक्ला भन्ने सम्भव भएको कागजलाई सद्दे कीर्तेमा सुनाई तहकिकात भएपछि भएका कारवाईले त्यो लिखतमा प्रमाणै लाग्न सक्ने व्यहोरा देखिन आएन भने त्यस्तो सद्दे कीर्तेको तहकिकातलाई मान्यता नदिए हुन्छ ।

(प्रकरण नं. १६)

(३)   कसैलाई अंश भाग गर्नुपर्ने भन्ने मुचुल्का बदर गर्न कारवाई चलाएको नदेखिएमानिजको बण्डा लाग्ने भन्नेमा मञ्जुरी भइराखेमानिजको बण्डा नलाग्ने भन्ने जिकिर बेमनासिव ।

            त्यसरी वादी दामोदरको सहोदर दाजु मेघराजको भाग लाग्नु पर्ने भनी मुचुल्का गराएको बदर होस भनी कुनै कारवाई चलाएको जिकिर मिसिलहरूबाट नदेखिएकोले दुवै नालको बण्डा लाग्ने हो भनी आफु मञ्जुर भइराखेको कुरामा अहिले सौतेनी भाइहरूको बण्डा लाग्ने होईन भन्ने जिकिर मुनासिव देखिँदैन ।

(प्रकरण नं. १७)

निवेदक प्रतिवादीहरू तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी

विपक्षी तर्फबाट :

उल्लेखित मुद्दा :

फैसला

     मा.न्या.श्री हेरम्बराज

      १.     बाबु तिर्थराज उपाध्यायको पत्नी जेठी गणेशकुमारीतर्फबाट प्र. कोसलराज,भुवनराज कान्छी तिर्थकुमारीतर्फबाट प्र.मेघराज,दोर्णराज र म पैदा भएको बाबु तिर्थ राज १९९२ साल चैत्र र गणेशकुमारी १९७३ सालमा परलोक भई सक्नु भएको, म नावालखै देखि घर सगोलैमा छाडी अन्त गई अंग्रजी पढी रहेको भएको सम्पत्ति जेथामा ६ खण्डको १ खण्ड मैले पाउनुपर्ने अंश छुट्याई भनी प्रतिवादीहरूलाई ०१६ साल वैशाख देखि आग्रह गरी आएकोमा छुट्याई नदिएकोले घरमा मुख्य मालिक जेठो कोसलराज भएकोले निज समेतबाट सम्पत्तिको तायदाती फाँट लिई ६ खण्डको १ खण्ड मेरो अंश दिलाई पाउँ भन्ने फणिन्द्रराजतर्फ दामोदरप्रसादको ०१६।२।१४।५ को फिरादपत्र ।

      २.    ६ खण्डको १ खण्ड मेरो भाग अघि नै छुट्याई लिइसकेको कांग्रेसी पर्वमा ६।१।२३ गतेको तायदाती मुचुल्का बमोजिम ०६।७ साल बर्ष २ सरकार लागि ०८ सालमा फुकुवा भई मैले भोगी आएको छु म अरु प्रतिवादीसँग सगोलमा रहेको मानिस नभएकोले म उपर झुठ्ठै उजूर गरेको हो भन्ने समेत मेघराजको ०१६।७।१७।३ को प्रतिउत्तर ।

      ३.    नेपाल तर्फको सगोलै राखी मधेशतर्फको ६ मौजाको जग्गा धर्मपुरको घरवारी मध्ये प्र.मेघराजको अंश छुट्याई दिए लिएको र बाँकी हामी ५ अंशियार मध्ये वादी पनि उस बखत नावालखै भै.प्र.कोसलराजका सामेल रही अंग्रेजी पढने गरेको भई कोसलराज भुवनराज एक साथमा र हामी तिर्थकुमारी, दोर्णराज, एक साथमा हित चित्त नमिलेबाट अलग भई रही मेघराजको अंश बाहेकको अरु जग्गाको बाली बाटै ३ फाँट कोसलराज, भुवन राजले लिने २ फाँट हामीलाई दिने लिनेगरी चुलो मानो छुट्टी २००१ सालदेखि भिन्न भई बसी आएको ऐन रीतपूर्वकको बण्डा गरी दिई लिइसकेको वादीको भाग हामीले लिए खाइको छैन भन्नेसमेत तिर्थकुमारी दोर्णराजको ०१६।७।१९ को प्रतिवादी ।

      ४.    मामा उदय विनोद अज्र्यालले ७१ साल मार्ग ८ गतेका दिन मौजे  संठिको खेत विगाहा ५८।।।२द्र२ दाईजो पेवा गरिदिनु भई लिखत भएपछि सोही ७१ साल पौषमा आमा परलोक हुनुभयो र सो जग्गा हामी नावालखको हक भयो । हामी नावालख हुँदा हामीहरूको नाँउमा दर्ता गर्न नहुँदा बाबु तिर्थ राजका नाँउका सोही व्यहोरा जनाई ७२ साल वैशाख ३० गते नाउँसारी दाखिल गरिदिनु भयो । ७२ साल श्रावण १ गतेदेखि निज वादीको आमा र बाबा समेतसँग मानो छुट्याई मावली लगि पालि राखेको बण्डा गर्नुपर्ने हामीसँग केही छैन । वादीको आमासंगै भएको ८ खण्डको १ खण्ड पाउनेले ६ खण्डको १ खण्ड पाउँ भनी झुठ्ठा दावी लिई नालेस गरेमा अलग फुरसत पाउँ भन्नेसमेत कोसलराजको ०१६।२।१७ को प्रतिवादी ।

      ५.    हाम्रो बण्डा हुनुपर्ने सानी आमाकै जिम्मा हुँदा उहांबाट तायदाती लिई ऐनबमोजिम छुट्याई लिना दिनमा हामीहरूको मञ्जुरै भएको ८ खण्डको १ खण्ड पाउनेले ६ खण्डको १ खण्ड पाउँ भनी झुठ्ठा दावी गरी नालेस गरेको भन्नेसमेत भुुवराजको ०१६।८।१७ को प्रतिवादी ।

      ६.    वादी समेत ६ अंसियार भन्ने कुरा देखिएको मेघराजको अंश रोक्का हुँदा २००० सालदेखि भिन्न भएको मानु छुट्टिएको दर्तासम्म सगोल रहेको भन्ने भुवनराज समेतले तायदातीको जग्गा जिम्मा लिई सही गरेको मुचुल्काबाट देखिएको २००० सालसम्मका तायदाती लिने पर्चामा लेखिएकोले तायदातीमा  संठिको ५८।।।२द्र२ बक्स दाइजो दिनु भएको भनेको र ठेलबहादुरबाट आएको २।।।३।।। समेत दर्ता हुन आएको जेठि पट्टिको सन्तानले मात्र खाने गरी तिर्थ राजको जिम्मा दर्ता भएको पेश भएको फारमबाट देखिएन । कृष्णविनोदबाट सरासर तिर्थराजको नाउँमा दर्ता सरेकोले बाबुको दर्ताबाट सवै छोराको हक पुग्ने गरी दर्ता भएको प्रष्टै देखिएको मेघराजको अंश रोक्कामा पेवा दाइजो भनेको आफ्नो हक जग्गा छुट्याई बाँकी मात्र रोक्का हुने ४ बण्डा मात्र लाग्ने भन्ने लेख्न नसकेको ६ खण्ड गर्न र दाइजो भनेको जग्गा रोक्का नहुने भन्न नसकी ६ बण्डा हुने र पेवा दाइजो भनेको जग्गा मध्येकै मेघराजको देखाई रोक्का रहेको देखिएकोले मेघराज सरहनै वादीले अंश पाउदैन भन्न नहुने हुँदा ६ भागको १ भाग वादीले अंश पाउने ठहर्छ भन्नेसमेत वीरगञ्ज इ.अ.को फैसाला ।

      ७.    वादीलाई अंश दिलाउने गरी भएको सुरुको फैसलामा चित्त बुझेन भन्नेसमेत प्रतिवादी भुवनराज समेतको पुनरावेदन ।

      ८.    १९७२ सालमा गणेशकुमारीलाई पं. उदय विनोदले सहीछाप गरी दाइजो पेवाको बकसपत्र लेखिदिएको भन्ने बोलीको कागज प्रतिवादी कोसलराजबाट दाखिल पेश भएको मिसिलबाट देखिएको वादीको पूर्वजहरूको आर्जन हो भन्ने कुनै प्रमाण छैन । त्यस्तो आमाको दाईजो पेवा आमा मरेपछि पहिलो हक छोराकै हुने छोरा नभएमात्र लोग्नेको हक हुने कुरा दान दातत्यको महलको ४ को क.न.मा. प्रष्ट उल्लेख भएको देखिनाले त्यस्तो जग्गा गणेशकुमारीतर्फका छोराहरूको मात्र हक लाग्ने भई अरुतर्फ विभाजन हुन नसक्ने हुनाले अपीलाटको जिकिर वेमनासिव भन्न ऐनले मिलेन । अब सो पेवाको ५८।।द्र२ २ सवै गणेशकुमारीका छोराहरूलाई मात्र दिलाउनलाई त्यसै दाइजो पेवा भित्रको जग्गा विगाहा ११।३।।।३ अघि कांग्रेसी पर्वमा मेघराजको जायजात सर्वस्व रोक्का मिति ०६।१।२३ मा गोस्वरा अमिनी माल समेत ३ अड्डा भई रोक्का हुँदा अपीलाट प्रतिवादी भुवनराजले जिम्मा समेत लिई रोहवरमा बसी भाग फाँट छुट्याएको समेत दखिएको आमाको पेवा भनी उस बखत अबण्डा राख्न नसकेको देखिनाले त्यति जग्गा खुसिराजीले छोडि दिएको भन्नु पर्ने देखिन आयो । सो मेघराजलाई भएको जग्गा जति पेवावाला छोराले खुसिले छोडेको ठहर्ने त्यतिकै कारणले जम्मै आमाको दाइजोमा हक छोडेको रहेछ भन्ने अर्थ हुन नसक्ने हुनाले त्यसतर्फ सुरुले गल्ती गरेको देखिन्छ र राजीखुसिले छोड्ेको सो ११।३।।।२ बाहेक आमाको दाईजो बाँकी जग्गा विगाहा ४७।३द्र४ दाइजो बक्स पाउने गणेशकुमारी कै छोराहरूको हकमा मात्र रहने ठहर्छ सो बाहेक तायदाती बमोजिमको जेथामा सो कटाई अरु बाँकीको ऐनबमोजिम ६ भागको १ भाग वादीले अंश पाउने ठहर्छ भन्नेसमेत वीरगञ्ज जिल्ला अदालतको फैसला ।

      ९.    १९७२ सालको उदय विनोदको लिखत अ.बं.१०४ नं. बमोजिम सुनाउँदै नसुनाई हराएको हुनाले इन्साफमा चित्त बुझेन भन्नेसमेत वादीको पुनरावेदन ।

      १०.    उदय विनोद अज्र्यालले ख. तिर्थराजलाई लेखिदिएको १९७२ साल वैशाख ३० गते रोज ४ को राजीनामा नक्कल पटवारीबाट दाखिल भएको देखिंदा सो सक्कलै जिमिदारी कचहरीबाट झिकाउनु र १९७१ साल मंसिर ८ गते २ को गणेशकुमारीले पाएको बकसपत्रको नक्कल प्र.कोसलराजले पेश गरेको देखिंदा सो नक्कल लिई आउनु भनी निज कोसलराजलाई र अरु प्रतिवादीहरू समेतलाई ७ दिने म्याद दिई झिकाई आएपछि पेश गर्नु भन्ने ०२१।४।७ को डिभिजन बेञ्चको आदेश ।

      ११.    उक्त ०२१।४।७ को आदेशबमोजिम सुनाईएको लिखत जालसाजीबाट खडा गरेको हो भन्ने वादीको र जालसाजी हैन सद्दे हो भन्ने प्रतिवादीतर्फको बयान ।

      १२.   वादीले ६ भागको १ भाग अंश पाउने ठहराई छिनेकोमा अपील नपरेकोले विचार गर्नु नपर्ने सठी मौजाको जग्गा विगाहा ८५।।।२द्र२ मध्ये मेघराजको अंश भनी तायदातमा छुटाएको बिगाहा ११।३।।।३ बाहेक बाँकी विगाहा ४७।३द्र४ गणेशकुमारीले पाएको दाईजो बकस ठहर्ने हुँदा निजका छोरा कोसलराज, भुवनराज २ जनाको मात्र हक हुने गरी जिल्ला अदालतले छिनेकोमा चित्त बुझेन भन्ने वादीको अपील परी आई कोसलराजको वा वलभद्रले दाखिल गरेको ७१।८।८।२ को बकसपत्र र जि.वलभद्रको प्रतिनिधी मदन सिं क्षेत्रीले दाखिल गरेको ७२।१।३०।४ को राजीनामा समेत सद्दे कीर्तेमा सुनाउँन पेश गर्नु भन्ने ०२२।२।२०।४ को सर्वोच्च अदालत डिभिजन बेञ्चको आदेशबमोजिम सुनाँउदा जालसाजी भनी वादीको वारेसले र सद्दे भनी प्रतिवादी कोसलराज भुवराजको वारेस बलभद्र मिश्रले बयान गर्नुभएकोमा सो कागजहरू जालसाजी वा सद्दे के हुन् ? उक्त जग्गामा वादीको अंश हक लाग्ने हो हाईन भन्ने कुराको निर्णय गर्नुपर्ने हुन आएको छ । कांग्रेसी पर्वमा वादीको आमा पट्टिको मेघराजको अंश जेथा रोक्का हुँदा २००० सालमा वादी प्रतिवादीहरूले अंशबण्डा गर्दा संठिको जग्गा मध्ये ६ अंश लाग्दा मेघराज उपाध्यायको भागमा परेको तपसील बमोजिम हद नम्बरको जग्गा बिगाहा ११।३।।।३ भन्ने लेखिएको ०६।१।२३।४ को सो मुचुल्कामा संठिको पटवारी हरी वल्लभलालदास कायम समेतका सरजमिनहरू साक्षी बसेको र गणेशकुमारीको छोरा जो अहिले आमाको दाईजो टेवा हाम्रो मात्र हक हुने भनी पैरवी गरी रहनु भएको मध्येको भुवनराजले सो तायदाती भएको भन्नेसमेत व्यहोरा लेखेको देखियो । यदि सो जग्गा आमाले बकस पाएको कोसलराज भुवनराजकै मात्र हक लाग्ने भएको मुचुल्कामा ६ अंश लागेको भनी विपक्षीतर्फका मेघराजको अंश देखाउनु नपर्ने र सो सवै जग्गा कोसलराजले मात्र भोग चलन गरी आएको निस्सा सबूद पनि नदेखिएको तायदातीमा छुट्याईएको मेघराजको अंश मेघराजलाई नै कायम गरी जिल्ला अदालतले छिनेमा निजहरूले अपील नपरी चित्त बुझाई बसेकोले एकै आमाका छोरा मेघराजले अंश पाउने वादीले नपाउने भन्न पनि न्यायोचित नदेखिने र साविक दर्तावाला कृष्णविनोदबाट वादी प्रतिवादीका बाबु खसम तिर्थराजको नाउँमा दर्ता सारी दाखिल खारेज गर्दा गणेशकुमारीले बकस पाएको नजनाई राजीनामाले तिर्थराजको हक भएको देखाई दाखिल खारेज भएको बाबुपछि अंशियारहरूले बण्डा गरी खान पाउने निज अंशियार छोरा कुनैको नाउँमा दर्ता हुन स्वभाविक समेत हुँदा दर्ताको प्रमाणले पनि गणेशकुमारीको छोरा कोसलराज भुवनराजको मात्र हक पुग्ने भन्ने नहुने यस्तो प्रष्ट प्रमाण भएको बिषयमा ०११।८।८।२ को बकसपत्र र ७२।१।३०।४ को राजीनामा समेत दाखिल गरी यो ७१ सालको बकसपत्रमा गणेशकुमारीको आगे लेखिएकोमा उदय विनोदको सही परी गणेशकुमारीलाई दियौ भन्ने लेखेको छ । बाबुले दिनु भएको भए बाबुबाटै बकसपत्र हुनुपर्ने नभई छोराले बकसपत्र गरिदिएको भन्ने व्यहोरा पाइन्छ । सो बकसपत्र सांचै भए ७२ सालमा तिर्थराजका नाउँमा राजीनामा गर्नु नै पर्दैन बकसपत्रले बकसपत्र जनाई दर्ता गरिन मिल्ने थियो । त्यसो नगरी राजीनामा भएको भनी पेश हुन आउनु मतलब दर्तामा राजीनामाले भन्ने जनिएकोलाई पुष्ट्याई गर्न तिर्थ राजले लिएको सद्दे राजीनामा नदेखाई यो राजीनामा खडा गरिएको भन्ने अपीलाटतर्फका वकिल विद्वानको बहस जिकिरामा तथ्यता दर्शीन आउँछ । यदि पछि खडा भएको जालसाजी कागजहरू नभए तिर्थराजका नाउँमा दर्ता गर्दा र ०६ सालमा मेघराजको अंश तायदात हुँदा अवस्य देखाइनु पर्ने कागत सो टायममा नदेखिएकोले मामा भानिजहरू मिलेमा जहिले पनि खडा हुन सक्ने ती कागजहरू अकाट्य प्रमाण सद्दे हुनु भनी निर्णय गर्नु न्यायमा नमिल्ने देखिएको समेतबाट उक्त कागजहरू कोसलराज, भुवनराजले जालसाजी खडा गरी पेश हुन आएको र उक्त संठिको जग्गा मा वादीले पनि अंश भाग पाउने देखिंदा इन्साफ सुरु ई.अ.बीरगञ्जको मुनासिव जि.अ.वीरगञ्ज केही गल्ती ठहर्छ भन्ने डिभिजन बेञ्चको ०२२।३।१५।३को फैसला ।

      १३.   सो उपर चित्त बुझेन दोहर्‍याई पाउँ भन्ने प्रतिवादी कोसलराज भुवनराज समेतको निवेदन परेकोमा न्यायिक समितिबाट यसमा वादी अंशियार होइन भन्ने कुनै प्रतिवादीको लेख जिकिर छैन । पेश हुन आए सम्मका सबूद प्रमाणबाट ऐनबमोजिम पहिला अंश भएको देखिन आउँदैन । झगडाको मुख्य विवाद जुन संठि भन्ने जग्गा हो, त्यो पनि यिनै वादी प्रतिवादीको बाबु तथा तिर्थकुमारीको लोग्ने तिर्थराजका नाउँमा अघि ७२ साल मै दर्ता भइराखेको कुरा मिसिलबाट स्पष्ट भएकोले सो मुल पुरुषको दर्ताबाट वादीको अंश लाग्ने वा नलाग्ने कुरा इन्साफ गर्न ऐनले नअड्किने छंदाछंंदै सर्वोच्च अदालतले प्र.कोसलराज भुवनराजले बकस दाइजो भनेको लिखत सद्दे किर्तेमा सुनाउने र जालसाज भन्ने ठहर गरी सजाय गर्ने गरेको देखियो । जुन मुद्दा मामिलामा सद्दे कीर्तेका तहकिकात नगरी हक बेहक नछुट्टिने अवस्था छ त्यस किसिमको अस्पष्ट तथा विवाद ग्रस्त मामिलामा दाखिल भएका लिखत साविक अदालती बन्दोवस्तको नं. १०४ र हालको ७८ नं. बमोजिम सुनाउने र साँचो झुठ्ठोको परिणाम यकिन गरी इन्साफ दिनुपर्ने हुन आंउछ । तर यसमा त्यस किसिमको परिणाम बेगर इन्साफ गर्न नसकिने अवस्था नभई खास मूल परुषका नाउँको दर्ता नै स्पष्ट एवं निर्विवाद देखिएको छ र सर्वोच्च अदालतको फैसलामा पनि वक्स जनाई दर्ता नभएको भन्ने कुरा प्रष्ट रुपमा लेखिएको छ । त्यसरी बक्स नजनिएको दर्ता देखिएपछि र सो दर्ता कटाउने दर्तावाला कै ऐनबमोजिमको लिखत नआएको भएपछि अर्कैले गरिदिएको तथा दर्ता र कानूनी व्यवस्थामा पनि नमिलेको लिखत सुनाउने र त्यसको परिणाम हेर्ने प्रयोजन नै नपर्नेमा सर्वोच्च अदालतले सद्दे किर्तेको तहकिकात गरी जालसाजीमा सजाय दिने गरेको निर्णय मिलेको देखिएन दोहर्‍याउने आदेश बक्सनु पर्ने भनी समितिबाट सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्‍याई दिनु भन्ने हुकुम बक्सेको छ भनी मौसुफका प्रमुख सचिवालय राजदरवारबाट लेखी आएको ०२५।१।३।२ को हुकुम प्रमांगी ।

      १४.   बक्स भइआएका हु.प्र.बमोजिम गर्ना निमित्त नियमको रीत पुर्‍याई लतगमा दर्ता गरी मिसिल झिकाई दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तिम निर्णय भएपछि त्यतो निर्णयको २ प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरवारमा जनरल विभाग मार्फत पठाई दिनु भन्ने माननीय प्रधान न्यायाधीशज्यूबाट भएको ०२५।१।१२।४ को आदेश ।

      १५.   यसमा तारिखमा रहेका पक्षहरू रोहवरमा रही ०२६।५।२०।६ मा पेश भई निवेदक प्रतिवादीहरूतर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले गर्नुभएको बहससमेत सुनी आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी हेर्दा यो ०१६ साल वैशाख देखि ६ खण्डको १ खण्ड मैले पाउने अंश माग्दा नदिएको भन्ने वादी दावी र ०६ साल वैशाख २३ गतेको तायदाती मुचुल्का बमोजिम पहिले नै छुट्टिसकेको भन्ने प्रतिवादीको जिकिर भएकोमा वीरगञ्ज ईलाका अदालको ०१७।३।१८।६ को पर्चाबाट २००० सालसम्मको तायदाती फाँट लिने गरेको र २००० साल अघिको प्रतिवादीहरूबाट तायदाती फाँट दाखिल भएको समेत रहेछ । २००६ साल वैशाख २३ गतेको तायदाती मुचुल्कामा २००० सालदेखि घरसारमा अंशबण्डा गरिसकेको मानो समेत छुट्टिसकेको भनी लेखिएको महिना मिति केही नखुलेको यही मिति भनी किटान नभएमा वादी प्रतिवादीहरूको व्यवहारमा कचमच पर्ने समेत हुनाले २००० साल वैशाख १ गतेलाई मानु छुट्टिएको मिति कायम गर्नु मनासिव देखिन्छ ।

      १६.    प्रमाणमा पेश भएको कागज परस्पर सुनाउनु पर्ने र कीर्ते जालसाजी भनेमा कीर्ते जालसाजी मुद्दा चल्ने अदालती बन्दोवस्तको ७८ नं. मा व्यवस्था छ । पहिले पेश भएको लिखतलाई प्रमाण लाग्ने हो भनी पक्षहरूले देखाएमा त्यस बखतमा हेर्दा यो कागज पनि प्रमाण हुनसक्ला भन्ने संभव भएको कागजलाई सद्दे कीर्तेमा सुनाई तहकिकात भएपछि पछि भएका कारवाईले त्यो लिखतमा प्रमाण नै लाग्नसक्ने व्यहोरा देखिन आएन भने त्यस्तो सद्दे कीर्तेको तहकिकातलाई मान्यता नदिए हुन्छ । यस मुद्दामा कृष्णविनोदका नाउँबाट तिर्थराजका नाउँमा नामसारी भएको भनी १ नं.दाखिलखारेज फाराम पेश भएकोमा कृष्णविनोदको छोरा उदयविनोदले गणेशकुमारीलाई गरिदिएको भन्ने ७१।८।८ को बकसपत्र र ७२।१।३० को राजीनामा लिखत थान २ लाई सद्दे कीर्तेमा सुनाई कारवाई चलाएको भए पनि सो लिखत गरी दिने उदयविनोद दर्तावाला नभएको त्यसै कागजबाट कृष्णविनोदको नाउँमा रहेको जग्गा तिर्थराजका नाममा दर्ता नामसारी भएको पनि नदेखिएको र ०६।१।२३ को मुचुल्कामा ६ भाग लाग्ने गरी त्यो कागजको मान्यता रहेको नदेखिएकाले ती २ लिखतलाई कायम रहेको प्रमाण मान्न आवश्यकता नपर्ने हुँदा सद्दे कीर्तेमा तहकिकात गरी भएको कारवाईलाई मान्यता दिई डिभिजन बेञ्चले जालसाजी ठहर गरेको उचित देखिएन ।

      १७.   मौजे  संठिको जग्गा बिगाहा ५८।।।२द्र२ र २।।।३।।। आमा गणेशकुमारीको दाइजो हुनाले उहाँपट्टिका छोराहरूको मात्र भाग लाग्ने भई सौतेनी छोरो वादी दामोदरको भाग लाग्ने होईन भन्ने जिकिरको हकमा ती जग्गाहरू प्रतिवादी कोसलराजहरूको आमा गणेशकुमारीका नाउँमा दर्ता भएको नदेखिएको र कृष्णविनोदका नाउँबाट तिर्थराजका नाउँमा नामसारी भएपछि बकसपत्रको नाताबाट नामसारी भएको भनी लेखेको देखिँदैन । ०६।१।२३ गते भएको तायादाती मुचुल्कामा  संठिको जग्गासमेत वादी प्रतिवादी दुवैजनातर्फ बण्डा लाग्ने गरी ६ अंश मध्ये १ अंश नं. ६९।७१।७७।११२।३५०।२३५ समेतको जग्गा बिगाहा ११।३।।३ मेघराजको भाग छुट्याएको देखियो । त्यसरी वादी दामोदरको सहोदर दाजु मेघराजको भाग लाग्नु पर्ने भनी मुचुल्का गराएको बदर होस भनी कुनै कारवाही चलाएको जिकिर मिसिलबाट नदेखिएकोले दुवै नालको बण्डा लाग्ने हो भनी आफू मञ्जुर भइराखेको कुरामा अहिले सौतेनी भाइहरूको बण्डा लाग्ने होइन भन्ने जिकिर मुनासिव देखिँदैन । त्यसरी सवै अंशियारलाई बण्डा लाग्ने ठहराई डिभिजन बेञ्चले गरेको इन्साफ कानूनसंगत देखिन्छ । अरु तपसीलबमोजिम गर्नू ।

 

तपसील

देहायबमोजिम गर्नु भनी सुरु मिसिल पर्सा जिल्ला अदालतमा पठाइदिनू ।.................१

मौजे संठिको कृष्णविनोदका नाउँबाट ख. तीर्थराजको नाममा नामसारी दर्ता भएको बिगाहा ५८।।।२ऽ२ माथि लेखिएका बुँदा प्रमाणबाट सवैको बण्डा लाग्ने हुँदा सो जग्गा र मेघराज भुवनराज कोसलराज, तीर्थकुमारी, द्रोणराजको दरखास्तमा तायदाती खोलेको अरु घर जग्गासमेत वादी प्रतिवादी ६ अंशियारले बराबरका दरले पाउने गरी ऐनबमोजिम खुलाई पक्षहरू झिकाई बण्डापत्र खडा गर्ने...........................१

सो बण्डापत्र बमोजिमको आफ्नो अंशबण्डा छुट्याई पाउँ भनी दण्डसजायको ४६ नं.को म्यादभित्र दरखास्त परेमा दशौंद बीशौंद लिई बण्डा छुट्याई दिने भनी लगत कस्ने.................२

वीरगञ्ज इलाका अदालतको ०१८।११।१४।१ को फैसलाबाट बण्डा छुट्याउने भनी लेखेको घर जग्गाहरू कुनैको मोल नखुली फाँट दरुस्त नमिलेको हुनाले माथि लेखिएका ठहर बमोजिम बण्डा हुने गरी छुट्टै लगत कस्ने माथि लेखिएकाले सो वीरगञ्ज इ.अ.को ०१८।११।१४।१ को फैसलामा लेखिएको बण्डा गर्ने भनेको कलमको लगत कट्टा गरिदिनु भनी पर्सा जि.अ. मा लेखी पठाउन का.श्रे.अ.त. मा लगत दिनु.......................२

देहायका मानिस के डिभिजन बेञ्चको ०२२।३।१५।३ को फैसलाले जालसाजी तर्फ गर्ने गरेको देहाय बमोजिम जरिवाना नलाग्ने हुँदा असूल भइसकेको फिर्ता बाँकी भए लगत कट्टा गरिदिनु भनी का.श्रे.अ.त. मा लगत दिनु...३

कोषराज उपाध्याय के रु. पाँच५। भुवनराज पाध्या के ऐ.......................५

डिभिजन बेञ्चको फैसलामा जालसाजीतर्फ परिवर्तन भएकोले मुद्दादोहर्‍याएमा निवेदकहरूलाई केही गर्नु पर्दैन.....४

नियमबमोजिम रिकर्ड मिसिल बुझाई दिनु...........................५

 

मा.प्र. न्या. श्री भगवतीप्रसाद सिंह तथा मा.न्या. श्री रत्नबहादुर

 

उपरोक्त ठहरमा हामीहरूको सहमती छ ।

 

इति सम्वत् २०२६ साल आश्विन ३ गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु