निर्णय नं. ६११४ - बकसपत्र बदर

निर्णय नं. ६११४ ने.का.प. २०५२ अङ्क १२
संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा
सम्वत् २०५० सालको दे.पु.नं. १८३८, १८८७
फैसला मिति : २०५२।१२।१३
मुद्दा : बकसपत्र बदर ।
पुनरावेदक/प्रतिवादी : लमजुङ जिल्ला सप्तधारा गा.वि.स. वडा नं. ४ बस्ने ध्रुव गुरुङ
विरुद्ध
पुनरावेदक/वादी : नवलपरासी जिल्ला माकर गा.वि.स. वडा नं. ९ बस्ने लालश्री गुरुङ
§ सगोलका अंशियार मध्ये जुनसुकै अंशियारको नाउंमा सम्पत्ति रहे तापनि अन्यथा प्रमाणित नभएसम्म त्यस्तो सम्पत्ति सगोलकै मान्नु पर्ने हुन्छ र त्यसरी सगोलको सम्पत्ति जुनसुकै अंशियारको नाउंमा रहेको भए तापनि त्यस्तो सम्पत्ति कुनै पनि किसिमबाट हक हस्तान्तरण गर्दा सगोलका अंशियारहरुको मञ्जूरी लिनु पर्ने कानुनी व्यवस्था भएकोमा २०३४।७।१८ को बकसपत्रको लिखतमा यी वादी साक्षी बसेको वा निजको मञ्जूरी लिएको समेत देखिन आउंदैन । त्यसैले उक्त लिखतबाट यी वादीको हकमा असर पर्न जाने नदेखिने ।
(प्रकरण नं. १५)
पुनरावेदक वादी तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल
पुनरावेदक, प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती
अवलम्बित नजीर : x
फैसला
प्र.न्या.सुरेन्द्रप्रसाद सिंह : पुनरावेदन अदालत बुटवलको फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :–
२. विपक्ष ध्रुव गुरुङ मेरो भतिजा नाता पर्ने मेरा लोग्ने हरिहबहादुर गुरुङलाई के कुन व्यवहारबाट रिझाई रिझ बापत भनी जि.बु.न.पं. वडा नं. ८ को कि.नं. ४४६ क्षेत्रफल १५ धुर मध्ये साढे सात धुर घर घडेरी जग्गा तिरो रु. १।८७।२।४ किल्ला यस प्रकार पूर्व सडक पश्चिम सडक, उत्तर सन्तमाया श्रेष्ठनी देखिन मेरो जग्गा साँधको १४ हात मोहडा पश्चिम पिछवाड भएको घर घडेरी ०३४ साल कार्तिक १४ गते लमजुङ माल कार्यालयबाट लिखत पारीत गराई लिने दिने गरेछन् हरिबहादुर् ०३६।१२।२१ मा परलोक हुनु भयो नामसारी दाखिल खारेज गराउने सिलसिलामा बुझ्दा बकसपत्र पारीत गरेको र ०३५।१।१२ मा नामसारी दा.खा. गर्ने पर्चा समेत खडा भएको रहेछ । गैर कानुनी लिखत बदर गरी मेरो हक कायम गरी नामसारी दाखिल खारेज गरी पाउँ भन्ने लाल श्री गुरुङको फिराद दावी ।
३. हरिबहादुर गुरुङले ०१२ सालमा मेरो नाउँमा दर्ता भएको बु.न. वडा नं. ८ कि.नं. ४४६ पूर्व मुलसडक उत्तर पश्चिम सानुमाया श्रेष्ठ, दखिन मेरो साँध यति ४ किल्ला भित्रको खस्यौली भन्ने पाखा जग्गा १४ हात मोहडा २५ हाल पिछवाड भएको जग्गा ०३४।७।१८ गते पास गरी दिनु भएको र मैले लिएको हुँ वादी मृतक हरिबहादुरको श्रीमती हुन ०३५ सालमा पोइल आएकी हरिबहादुरले बकस दिएको जग्गा आफ्नो आर्जन कमाईको भएकाले वादीको मञ्जुर लिनु पर्ने र साक्षी राख्नु पर्ने बाध्यता रहँदैन भन्ने समेत व्यहोराको ध्रुव गुरुङको प्रतिउत्तर पत्र ।
४. एकाघरको पत्नी वादीलाई सो हदसम्म म्याद नाघेपछि दानबकसको ५ नं. ले उजुर गर्ने हदम्याद प्रदान गरेको नदेखिनाले हद म्याद नाघी आएको प्रस्तुत मुद्दा खारेज हुने ठहर्छ भन्ने रुपन्देही जिल्ला अदालतको मिति ०३९।११।२९ को फैसला ।
५. तथ्य र कानुनका आधारमा हदम्याद भित्र नभएको भनी तर्क लगाई खारेजी फैसला गरेको त्रुटिपूर्ण हुँदा सो फैसला उल्टाई पाउँ भन्ने समेत व्यहोराको वादी लालश्रीको तत्कालिन लुम्बिनी अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।
६. उपरोक्त तथ्य एवं प्रमाणको आधारमा दान बकसको ५ नं. को म्यादभित्रको उजुर देखिएकाले खारेज गरेको शुरुको फैसला बदर गरी दिएको छ अब कानुन बमोजिम बुझ्नु पर्ने प्रमाण बुझी इन्साफ तहकिकात गर्नु भनी दुवै पक्षलाई तारेख तोकी मिसिल रुपन्देही जिल्ला अदालतमा पठाई दिने ठहर्छ भन्ने तत्कालिन श्री लुम्बिनी अञ्चल अदालतको ०४१।७।१९ को फैसला ।
७. संकलित सबूद प्रमाणहरुको आधारबाट प्रतिवादी मध्येका ध्रुव गुरुङले हरिबहादुर गुरुङबाट पारीत गराई लिएको बकसपत्रमा उल्लेखित जग्गा वादीको हक स्वामित्वको र वादीकै भोग चलनमा रहेको कुरा पुष्टि हुन आएकोले वादी दावी बमोजिम सो बकसपत्र बदर गरी वादीको हक कायम गरी वादीका नाउँमा नामसारी दा.खा. समेत गरिदिनु पर्ने ठहर्छ भन्ने समेत शुरु रुपन्देही जिल्ला अदालतको मिति ०४३।९।२३।३ को फैसला ।
८. विवादित जग्गा हरिबहादुरको निजी आर्जनको भएको कुरा पेश भएको बुटवल नगर पञ्चायतको २०१२ सालको बजार अड्डाको विटौरी तिरेको रसिद फाराम र पारित बकसपत्रको कागजबाट र मेरो साक्षी सबुद प्रमाण समेतबाट निर्विवाद रुपमा प्रमाणित भएको छ । अंश बण्डाको १८ नं. अनुसारको निजी आर्जनको सम्पत्ति भएको हुँदा अंशियार कसैको पनि मञ्जुरी लिई वा साक्षी राख्नु पर्ने आवश्यकता र अवस्था छैन । दान बकसको १ नं. मा आफ्नो हक पुग्ने सम्पत्ति दान बकस गरी दिन हुन्छ । आफ्नो खुस गर्न पाउनेमा साक्षी र मञ्जुरी लिन नपर्ने कानुनी व्यवस्था हुँदा बकसपत्र बदर हुने गरी गरेको फैसला त्रुटिपूर्ण हुँदा फैसला बदर गरी पाउँ भन्ने समेतको प्रतिवादीको तत्कालिन लुम्बिनी अञ्चल अदालतमा परेको पुनरावेदन ।
९. ०३४।७।१४ को बकसपत्र सम्पूर्ण बकसपत्र बदर भएको देखियो । वादी लालश्री गुरुङनी समेत निजको २ अरु सौता छन् । जसको उजुर समेत नपरेको भन्ने पुनरावेदन जिकिर रहेकोले शुरुको इन्साफ विचारणीय हुँदा प्रत्यर्थीका नाउँमा १५ दिने म्याद पठाई झिकाई नियमानुसार पेश गर्नु भन्ने तत्कालिन लुम्बिनी अञ्चल अदालतको मिति ०४४।३।१७।४ को आदेश ।
१०. विवादित जग्गा यी प्रत्यर्थी वादीका सँगै सराकतमा बस्ने पति हरिबहादुर गुरुङ यी प्रत्यर्थी वादी लालश्री गुरुङ तत्कालिन बुटवल नगरपञ्चायत अन्तर्गतको विटौरी जग्गालाई ऐका सगोलमा रहँदाको अवस्थामा दुवै जनाको संयुक्त प्रयासबाट प्राप्त गरी संयुक्त रुपमा भोगचलन गरी आएका र अन्य अंशियारहरुले कुनै चासो समेत नदेखाई अन्यत्र रहे भएबाट र निजहरुको भोग समेत रहे भएको नदेखिँदा विपक्षी वादी लालश्री गुरुङ समेतको अंश लाग्ने जग्गा निजको मञ्जुरी बेगर प्रतिवादीलाई हालैको बकसपत्र गरिदिएको देखिन आएबाट निजको अंश हक लाग्ने विवादित लिखतको आधी हालैको जग्गासम्मको लिखत बदर हुने ठहर्छ । तसर्थ शुरु रुपन्देही जिल्ला अदालतले मिति ०३४।७।१८ को हालैको बकसपत्रको लिखत मध्ये वादीको हक जति बदर गर्नु पर्नेमा सम्पूर्ण लिखत नै बदर गर्ने गरेको शुरुको मिति ०४३।९।२३ को इन्साफ केही उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, बुटवलको मिति २०५०।१०।६ को फैसला ।
११. आफू आउनु पूर्व नै हस्तान्तरित भएको सम्पत्तिलाई सगोलको मानिनुनै त्रुटिको पराकाष्ट हो । बकसपत्र बदर मुद्दाको फैसला खण्डको अन्तिममा वादीको हक जति बदर हुने भनी तपसील खण्डमा अघि वादीको हक जति बदर हुने भनी परस्पर विरोधी कुरा लेखिएबाटै फैसलाको सतहिपन प्रकट भएको छ ने.का.प. २०४५ पृष्ठ ७४३ मा प्रकाशित नजीरको समेत त्रुटि गरी फैसलाका गरेकोले उक्त त्रुटिपूर्ण निर्णय बदर गरी प्रतिउत्तर जिकिर अनुरुप इन्साफ पाउँ भन्ने समेत व्यहोराको ध्रुव गुरुङको पुनरावेदनपत्र ।
१२. जिल्ला अदालतले वास्तविक तथ्य प्रमाणको आधारमा लिखत बदर गर्ने ठहराएको फैसला न्यायसंगत छ । त्यसमा पनि १५ धुर मध्ये ७१२ धुर लिखत ध्रुवलाई गरेकोले हरिबहादुरको हकमा ७१२ धुर बाँकी हुने र त्यसबाट ३ धुर विष्णु कुमारी खड्गीलाई तयसै बखत राजीनामा गरिदिएकोबाट मेरो हकमा पर्ने जति भनी रुपन्देही जिल्ला अदालतले लिखत बदर गरेको थियो । त्यसैले मिति २०३४।७।१८ मा हालको बकसपत्रको रजिष्ट्रेशनको लिखत ०–०–७१२ को लिखत बदर गरी मेरो हक कायम हुनु पर्दछ भन्ने समेत व्यहोराको लालश्री गुरुङको पुनरावेदनपत्र ।
१३. प्रस्तुत मुद्दामा पुनरावेदक वादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री हरिहर दाहालले विवादित जग्गामा प्रतिवादीले पहिले देखिनै भोग चलन गरेको नभै २०३८ सालमा मात्र विवाह भएको प्रमाण वादीलाई सुनाएको छैन । विटौरी तिरेको नाताले मात्र भोग गरेको भन्न मिल्ने होइन हरिबहादुरले प्रतिवादीलाई बकसपत्र गरिदिई अरु जग्गा समेत अरुलाई हक छाडी दिएको हुँदा वादी दावी अनुसार बकसपत्रको लिखत सम्पूर्ण बदर हुनु पर्दछ भनी बहस प्रस्तुत गर्नु भयो भन्ने पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री प्रकाश वस्तीले ०१२ सालमा हरिबहादुरको नाउँमा यो जग्गा आएको, नर वादी २०३५ सालमा मात्र हरिबहादुरको श्रीमती हुन आएको घरको मुख्यलाई थाहा भएपछि सबैले थाहा पाएको मान्नु पर्ने हदम्यादबाट जोगिन वादीले विवादित जग्गा हदम्याद नाघी फिराद दायर भएकोले फिराद खारेजभागी छ भन्ने समेत बहस जिकिर प्रस्तुत गर्नु भयो ।
१४. यसमा पुनरावेदिका वादीका पति हरिबहादुरले पुनरावेदक प्रतिवादीलाई मिति २०३४।७।१८ मा गरिदिएको बकसपत्रको नक्कल वादीले ०३७।८।१७ मा सारी लिई सोको आधारमा मिति २०३७।९।२२ पर्न आएको प्रस्तुत फिरादलाई हदम्याद नाघी दायर भएको भन्न मिल्ने देखिएन ।
१५. वादीले लिखत बदर गरिपाउँ भनी वादी लिएको बकसपत्रको लिखत मध्ये आधा लिखतसम्म बदर हुने ठहराएको पुनरावेदन अदालतको फैसलामा वादीको लिखत मध्ये सम्पूर्ण लिखत बदर हुन पर्ने भन्ने तर्फ वादीको र बकसपत्रको लिखत यथावत सदरै हुन पर्ने भन्ने तर्फ प्रतिवादीको पुनरावेदन पर्न आएको देखिन्छ । वादीका पति हरिबहादुरले मिति २०३४।७।१८ मा गरिदिएको बकसपत्रको जग्गा निज हरिबहादुरको निजी आर्जन भएको हुँदा त्यस्तो निजी आर्जनको सम्पत्ति बकसपत्र गरिदिँदा वादीको मञ्जुरी लिनु पर्ने होइन भनी जिकिर लिएको देखिए तापनि सो जग्गा दाता हरिबहादुरको निजी आर्जनको हो भन्ने सम्बन्धमा प्रतिवादीले ठोस प्रमाण गुजार्न सकेको पाइँदैन । दाता हरिबहादुरकी यी वादी एकासगोलको श्रीमती भन्ने कुरा प्रतिवादीले नै स्वीकार गरेको पाइन्छ । सगोलका अंशियारा मध्ये जुनसुकै अंशियारको नाउँमा सम्पत्ति रहे तापनि अन्यथा प्रमाणित नभएसम्म त्यस्तो सम्पत्ति सगोलकै मान्नु पर्ने हुन्छ र त्यसरी सगोलको सम्पत्ति जुनसुकै अंशियारको नाउँमा रहेको भए तापनि त्यस्तो सम्पत्ति कुनै पनि किसिमबाट हक हस्तान्तरण गर्दा सगोलका अंशियारहरुको मञ्जूरी लिनु पर्ने कानुनी व्यवस्था भएकोमा २०३४।७।१८ को बकसपत्रको लिखतमा यी वादी साक्षी बसेको वा निजको मञ्जूरी लिएको समेत देखिन आउँदैन । त्यसैले उक्त लिखतबाट यी वादीको हकमा असर पर्न जाने देखिँदैन । वादी र निजका पति हरिबहादुर एकासगोलमा रहँदाको अवस्थामा विवादित जग्गा प्राप्त गरी भोग चलन गरी आएको देखिने अन्य अंशियाराहरु अन्यत्र रहेका र विवादित जग्गामा निजहरुको कुनै दावी समेत देखिन आउँदैन । वादी तथा निजका पति हरिबहाुदर एकासगोलमा रहँदाको अवस्था विवादित सम्पत्तिमा दुवैको बराबर हक लाग्ने देखिन आएकोले वादी दावीको बकसपत्रको लिखत मध्ये वादीको हक लाग्ने आधा लिखतसम्म बदर हुने ठहराएको पुनरावेदन अदालतको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी प्रतिवादी दुवै पक्षको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हरिप्रसाद शर्मा
इति सम्वत् २०५२ साल चैत्र १३ गते रोज......शुभम् ।