निर्णय नं. ५०९ - लिखत बदर

निर्णय नं. ५०९ ने.का.प. २०२६
फुल बेञ्च
प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री रत्नबहादुर बिष्ट
न्यायाधीश श्री हेरम्बराज
२०२५ सालको दे.फु.नं. ४०
निवेदक : जि.पर्सा प्र.सिद्धमास डाहारपूर्व मौजे अग्लो घरभई पर्सा जि.अ.को बि.कृष्णवर सिंह प्रधान
विरुद्ध
विपक्षी : जि.सर्लाही मौजे विष्णुपुर बस्ने अष्टमाया प्रधान समेत
मुद्दा : लिखत बदर
(१) तत्काल प्रचलित अ.बं.१८१–पेटबोलीबाट बुझ्नपर्ने व्यक्तिलाई पेटबोलीबाट बुझी कारणी बनाई तहतह फैसला हुँदै आएमा–त्यसतर्फ विचार गर्न नपर्ने ।
अष्टमायाले विक्री गरेकी जग्गामा वादीको दावी परेकै र साहू लक्ष्मणहरी देखिन आएको निजउपर उजूर नभए पनि त्यस्तो व्यक्तिलाई पेटबोलीबाट बुझी प्रतिवादी सरह कारणी बनाई फैसला गर्न मिल्ने तत्काल प्रचलित अ.बं.१८१ नं. को व्यवस्थाअनुसार निज लक्ष्मणहरिलाई पेटबोलीबाट बुझी प्रतिवादी सरह कानून बनाई तहतह फैसला हुँदै आएको देखिएको समेत हुँदा त्यसतर्फ अरु शंका गरिरहनु परेन ।
(प्रकरण नं. १४)
२. हकदार आफूमात्र भएको कारण परलोक हुनेको नाममा दर्ता भएको घर जग्गा आफ्नो नाममा नामसारी गर्न वादी वा निजहरू मध्यकोलाई पठाएको दरखास्तमा उल्लेख भएमा–सो मन्जूर गरी निज वादी गई उक्त नामसारीको कार्य सम्पन्न गराएकोमा–उक्त घर जग्गा सगोलको आर्जन भई वादी समेतको अंश हक नलाग्ने ।
यदि वादीहरू एकाघर सगोलमा रहेको निजहरू समेतको अंश हक लाग्ने जग्गा भए उक्त दरखास्तमा मेरो छोरा छोरी सन्तान समेत नभई सो जमिन परलोक हुनेका नाममा दर्ता राखी छाड्न नभई मेरा नाउँमा दर्ता दाखिल गर्न भन्ने जुनको तारावर सिंका नाउँको दर्ता जग्गामा हक पुग्ने अष्टमायामात्र भएकी भन्ने कुरालाई संकेत गर्ने वाक्यांशहरू उल्लेख हुनु र त्यसलाई मञ्जुरै गरी वादी मध्येको कृष्णवर सिं आफै गई १ नं. फाराममा सहिछाप गरी अष्टमायाका नाउँमा दर्ता गराई दिनु नपर्ने समेतबाट सगोलको आर्जन वादीहरू समेतको अंश हक लाग्ने रहेछ भन्न मिल्ने देखिन आएन ।
(प्रकरण नं. १५)
निवेदक तर्फबाट :
प्रतिवादी तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे
उल्लेखित मुद्दा :
आदेश
मा.न्या. श्री हेरम्बराज
१. सगोलकी भाउजू अष्टमायाका नाउँमा दर्ता भएको मौजे चन्द्रनगरको हाम्रो समेत अंश लाग्ने जग्गा बिगाहा ७।।।२।४ मध्ये विगाहा ३।।।३।।। हामीहरूलाई थाहा नदिई रामहरीलाई विक्री गरेकोले ०१४।१।१२।४ मा गरेको सुक्री बिक्री राजीनामामा लिखत बदर गरिपाउँ भन्नेसमेत कृष्णवर सिंह प्रधानहरूको ०१४।७।४।१ को फिरादपत्र ।
२. अष्टमायासँग मैले जग्गा राजीनामा गराई लिएको छैन भन्ने रामहरी जोशीको ०१४।८।२०।५ को प्रतिउत्तर ।
३. मेरो लोग्नेको ४।५ बर्ष उमेरमा सासू परलोक हुनु भएको र ससुरा मधेशमा जागिरे हुनु भएबाट नाबालख लोग्नेलाई मामाको जिम्मा छाडी जानु भएकोले १५ बर्षको उमेरसम्म मामाकै घरमा पालन पोषण गरी ससुराले हेर विचार नगरी दुःख पाइरहेको देखि ठाइला ससुरा बडाहाकिम अम्बेवर सिं प्रधानले ६८।६९ सालमा बेथरी गोश्वारामा लिई गई पढाइ सिकाई नोकरी गराई दिनु भएको मेरो माइतबाट दिएको मेरो पेवा दाइजोको धनबाट र लोग्नेको नोकरीको आर्जनबाट वादीमा लेखिएको जग्गा छोडेको हो । लोग्ने नोकरी भई परलोक हुनुभयो । वादीहरूसँग सगोलमा बसेको छैन वादीहरूको र ससुरा बिरवर सिंहको आर्जनको जग्गासमेत हैन लोग्नेले लिनु भएको कर्जा तिर्न रु.६०००। मा लक्ष्मण हरिलाई विक्री गरेकि हुन, जसलाई मैले लिखत गरिदिएको छु उसको नाउँमा उजूरै नहुनाले खारेज गरिपाउँ भन्नेसमेत अष्टमाया प्रधान्नीको ०१४।१०।१३।१ को प्रतिउत्तर ।
४. अष्टमायाको मात्र अंश हकको हुँदा जग्गा बिगाहा ३।।।३।।। मा रु.६०००। मा ०१४।१।१२ मा घरसारमा राजीनामा लेखाई ऐ १३ गते रजिष्ट्रेशन पास गराएको हुँ भन्नेसमेत लक्ष्मणहरिको ०१५।८।२७।६ को बयान ।
५. अंशमा उजूर गरी ठेगान लागेपछि मात्र यस मुद्दामा ठहर गर्नु मुनासिव हुँदा अंशमा उजूर गर्नु भनी वादीलाई सुनाई खारेज गर्ने ठहर्छ भनी सर्लाही अमिनीबाट फैसला भए उपर पुनरावेदन तह चली सोही सदर गरी महुतरी अपीलबाट समेत फैसला भएकोमा खारेज गरेको मुनासिव नहुँदा यसै मिसिलबाट जो बुझ्नु पर्ने बुझी खुलाउनु पर्ने खुलाई किनारा गर्नु भन्नेसमेत पूर्वाञ्चल उच्च अदालतको ०१७।५।३०।४ को फैसला ।
६. जग्गा तारावर सिंको नाउँमा दर्ता भई निज मरेपछि अष्टमायाका नाउँमा दर्ता सरेमा वादीहरू सावितै रहेको र अष्टमायाको लोग्नेको आर्जन देखिएकोले विक्री गरेको सदर ठहर्छ भन्ने सर्लाही इलाका अदालतको ०१८।५।२९।५ को फैसला ।
७. दाइजो पेवाको र भिन्दै भएपछि लोग्नेले आर्जन गरेको सबूद दिन समेत भाउजू अष्टमायाले नसकेकोले इन्साफमा चित्त बुझेन भन्नेसमेत वादीहरूको पुनरावेदन ।
८. पुर्खाको पालाको आर्जन भन्ने सबूद वादीहरूले गुजार्न नसकेका ताराबरका नाउँको जग्गा अष्टमायाको नाउँमा नाउँसारी भएमा वादी सावितै रहेको वादी प्रतिवादी अघि देखि नै भिन्न बसी आर्जन गरेको देखिन आएकोले विक्री गरेको सदर हुने हुँदा इन्साफ सुरुको मुनासिव ठहर्छ भन्न समेत महोत्तरी जिल्ला अदालतको ०२०।५।२०।५ को फैसला ।
९. प्रतिवादी अष्टमायाले नै छुट्टिएको प्रमाण दिन नसकेकी र दाजुका नाउँको जग्गा भाउजूको नाउँमा नगराए चित्त दुःखने सम्भव भएकाले भाउजूका नाउँमा नाउँसारीसम्म हुन गएकोबाट सगोलको हक अंश जान नसक्ने हुनाले समेत चित्त बुझेन भन्ने वादी कृष्णबर प्रधानको पुनरावेदन ।
१०. उजूर दावीको जमीन ताराबर सिं मरेपछि आफ्नो नाउँमा दाखिल दर्ता गराउन प्रतिवादी अष्टमायाले जिमिदारी कचहरीमा पठाएको १४।१।९।१ को दरखास्तमा लोग्ने परलोक भएका मेरो छोरो छोरी सन्तान समेत नभई सो जमीन परलोक हुनेका नाउँमा दर्ता राखी छाड्न नभई मेरो नाउँमा दाखिल दर्ता गर्न देवर कृष्णबर प्रधानलाई पठाएकी छु भन्नेसमेत व्यहोरा लेखिएको र सो दरखास्त बमोजिम १ नं. फाराममा सहिछापको महलमा रुजु अष्टमायाका देवर त.मु. कृष्णवर सिं प्रधान भनी सो जमीन ताराबरका नाउँमा अष्टमायाका नाउँमा दाखिल दर्ता भएको समेत प्रमाणमा आएको उक्त कागजका नक्कलहरूबाट देखिन आयो । यदि वादी वाला आफुहरू समेतको हक लाग्ने जमीन भए ताराबर मरेपछि जानकार लोग्ने मानिस आफ्ना नाउँमा दर्ता नगराई उपरोक्त व्यहोरको भाउजू अष्टमायामो दरखास्तलाई स्वीकारै गरी स्वयं वादी मध्येको कृष्णवर सिं प्रधान आफै जिमिदारी कचहरीमा नै जनाना भाउजू अष्टमायाको नाउँमा मात्र त्यसरी दाखिल दर्ता गराउन नपर्ने र पुर्खाको आर्जन नभई अरु अरुको राजीनामा समेतबाट तारावर सिंका नाउँमा पछि दाखिल दर्ता हुन आएको देखिने सो जमिनमा आफ्नो समेत हक लाग्ने तथ्य सबूद प्रमाण वादीहरूले कुनै दिन पनि नसकेकाले समेत अष्टमायाले विक्री गरेको सदर हुने ठहराएको सर्लाही इलाका अदालतको सदर गरी महोत्तरी जिल्ला अदालतबाट ०२०।५।२०।५ मा छिनेको इन्साफ मुनासिव ठहर्छ भन्ने ०२२।२।११।२ को डिभिजन बेञ्चको फैसला।
११. सो उपर चित्त बुझेन दोहर्याई पाउँ भन्ने वादी कृष्णवर सिं प्रधानको निवेदनमा परेकोमा न्यायिक समितिबाट यसमा प्रतिवादीले अघि अंशबण्डा भाएको वा मानु छुट्टिएको समेत कुनै लिखत सबूद दाखिल गर्न नसकेको समेतबाटसगोलैमा रहे बसेको मान्नु पर्छ मेरो पेवा र दाइजो लोग्नेको आर्जन भनी जिकिर लिएको हकमा कति जग्गा पेवा र कति जग्गा दाइजोको हो लोग्नेको आर्जनबाट जोडिएको भनेको जमीन कति थियो त्यसको फाँट विवरण दिन नसकेकी, दान दातव्यको ऐनले पेवा दिंदा सवै अंशियारको मञ्जुरी चाहिने र दाइजोमा पनि माइती मावली पट्टिको लिखत हुनुपर्ने त्यस्तो लिखत सबूद दाखिल गर्नु परै रहोस यो साल मितिमा दाइजो पेवा पाएको भनी खुलाउन सम्म पनि प्र.अष्टमाया असमर्थ भएको समेतबाट दाइजो पेवा भन्ने कुरा झुठ्ठा साबित हुन आउँछ । अंशियार जसको नाउँमा रहे पनि अरु दर्तामा नाम नपरेका सगोलमा अंशियारको हक नटुट्ने सवैका भाग अंश लाग्ने ऐन चलन व्यवहार समेत भएकाले आफ्ना हक नजाने विश्वास भई दाजुको नामको जमीन भाउजूको नाममा दाखित दर्ता गरे गराएको भन्नु पर्ने हुन आउँछ । त्यस्तो कुरालाई खुशिराजी मै आफू आफ्नो अंश भाग बुझेको वा मानो छुट्टिएको लिखत प्रमाण सरहनै आधार लिन मिल्दैन । लेन देन ब्यवहारको ९ नं. ले आफ्नो आर्जन आफू खुसि गर्न सक्ने भनी सुरु, अपीलले ठहराएको कुरा स.अ.बाट समर्थन भएको हकमा सगोलका अंशियारउपर साहूको नालेसपरेको वा बाबु छोराको कुरा यो नभएको सगोलमा आर्जन गरेको सम्पत्ति सवै अंशियारको भाग लाग्ने व्यवस्था साविक अंशबण्डाको ३७ नं.र हालको १८ नं. मा भएको त्यस्तो सम्पति हक पुग्नेको मञ्जुरी बेगर अरुको अरुले विक्री गरेकोमा साविक साहूअसामीको ८ नं. र हालको लेनदेनव्यवहारको १० नं. ले सदर नहुने हुँदा विक्री गरेको सदर गरेको स.अ.को निर्णय मिलेको देखिएन । दोहर्याउने आदेश बक्सनु पर्ने भनी समितिबाट गरेको सिफारिस जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्याई दिनु भन्ने हुकुम बक्सेको छ भन्नेसमेत मौसूफका प्रमुखसचिवालय राजदरवारबाट लेखिआएको ०२५।१।१८।३ को हुकुमप्रमांगी ।
१२. बक्स भइआएका हुकुम प्रमांगी बमोजिम गर्ना निमित्त नियमको रीत पुर्याई लगतमा दर्ता गरी मिसिल झिकाई दुबै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २ प्रतिलिति जाहेर गर्न श्री ५ महाराजाधिराजको प्रमुख सचिवालय राजदरवारमा जनरल विभाग मार्फत पठाई दिनु भन्ने माननीय प्रधान न्यायाधीश ज्यूबाट भएको ०२५।१।१९।४ को आदेश ।
१३. यसमा तारिखमा रहेका दुवै पक्ष वारेस रोहवरमा रही ०२६।६।३ मा पेश भई प्रतिवादी लक्ष्मण हरितर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले गर्नुभएको बहससमेत सुनी आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा प्र.अष्टमायाले लक्ष्मण हरिलाई विक्री गरेकी राजीनामा लिखत बदर हुन्छ हुँदैन सो कुराको निर्णय दिनुपर्ने भएको छ ।
१४. वादीहरूले नालेसगर्दा अष्टमायाले रामहरीलाई विक्री गरेको बदर गरिपाउँ भन्ने दावी लिएको तर रामहरीलाई विक्री गरेकी नभई लक्ष्मणहरीलाई विक्री गरेकी र लक्ष्मणहरी उपर उजूर नभएकोले खारेज हुनुपर्ने भन्ने प्र.तर्फको जिकिरका हकमा अष्टमायाले विक्री गरेकी जग्गामा वादीको दावा परेकै र साहू लक्ष्मणहरि देखिन आएको निजउपर उजूर नभए पनि त्यस्ता व्यक्तिलाई पेटबोलीबाट बुझी प्र.सरह कारणी बनाई फैसला गर्नमिल्ने तत्कालप्रचलित अ.बं.१८१ नं.को व्यवस्थाअनुसार निज लक्ष्मणहरिलाई पेटबोलीबाट बुझी प्र.सरह कारणी बनाई तहतह फैसला हुदैआएको देखिएकोसमेत हुँदा त्यसतर्फ अरु शंका गरिरहनु परेन ।
१५. वादी दावीको जग्गा पुर्खाको आर्जन नभई प्रतिवादी अष्टमायाको लोग्ने तारावर सिंकै पालाका आर्जन भन्ने देखिएको छ । सगोलकी भाउजू अष्टमायाले हाम्रोसमेत अंशहक लाग्ने जग्गा विक्री गरेको भन्ने दावीको हकमा मेरो लोग्नेको ४।५ बर्षको उमेरमा सासु पर्लोक हुनुभएको ससुरा मधेशतर्फ जागिरे हुनुभएबाट लोग्नेलाई मामाकोजिम्मा ससुराले छोडी जानुभएको १५ बर्षको उमेरसम्म मामाकै घरमा पालनपोषण भई ठाइला ससुरा बडा हाकिम अम्वेश्वरसिं प्रधानले ६८।६९ साल के मा हो बैथरी गोश्वारामा लिई गई पढाई सिकाई नोकरी गराइदिनु भई मेरो पेवादाइजोको धनबाट र लोग्नेको नोकरीको आर्जनबाट जोडेको जग्गा हो नोकरीमै लोग्ने परलोक हुनुभयो भन्नेसमेत प्रतिवादी अष्टमायाको भनाई जिकिर र तारावर ७७।७८ साल के मा हो चन्द्रनगर तिरुवा विर्तामा आई जग्गाजमिन आफ्नो गरी बसेको भन्ने निज अष्टमायाको साक्षी वीरनन्दन प्रधानसमेतले बकी लेखिदिएको पाईन्छ । तारावर सिं र निजैकी स्वास्नी प्रतिवादी अष्टमायासमेत वादीहरूसँग एकाघर सगोलमा खतीउपती जोडी बसी सगोलकै सम्पतिबाट आर्जनगरेको जग्गा हो भन्ने कुराको कुनै सबूदप्रमाण वादीहरूले दिन गुजार्नसकेको पाउनसकिएन । वादीहरूसमेतको अंशहक लाग्ने सगोलको जग्गा भए तारावरसिं परलोक भएपछि निजका नामको दर्ता जग्गा घरको जानकार लोग्ने मानिस वादीहरूले आफ्नो नाममा नामसारी दाखिल दर्ता गराउनु पर्नेमा लोग्ने ०१३ साल भाद्र १८ गते परलोक हुनु भएको मेरो छोरा छोरी सन्तानसमेत नभई सो जमीन परलोक हुनेका नाउँमा दर्ता राखी छाड्न नभई मेरा नाउँमा गर्न लाग्ने मालपोतसमेत तिर्न मेरो देवर कृष्णवर सिंलाई दिई पठाएको छु भन्ने अष्टमायाको ०१४।१।९।१ को दरखास्त बमोजिम १ नं. फाराममा वादी मध्येको निवेदक कृष्णवर सिंले सहिछाप गरी तारावर सिंको नामबाट अष्टमायाको नाउँमा नाउँसारी दर्ता दाखिल गराई दिएको देखिन आयो । यदि वादीहरू एकाघर सगोलमा रहेको निजहरू समेतको अंश हक लाग्ने जग्गा भए उक्त दरखास्तमा मेरो छोरा छोरी सन्तानसमेत नभई सो जमीन परलोक हुनेको नाममा दर्ता राखी छाड्न नभई मेरा नाउँमा दर्ता दाखिल गर्न भन्ने जुनको तारावर सिंका नाउँको दर्ता जग्गामा हक पुग्ने अष्टमाया मात्र भएकी भन्ने कुरालाई संकेत गर्ने वाक्यांशहरू उल्लेख हुनु र त्यसलाई मञ्जुरै गरी वादी मध्येको कृष्णवर सिं आफै गई १ नं. फराममा सहिछाप गरी अष्टमायाका नाउँमा दर्ता गराई दिनु नपर्ने समेतबाट सगोलको आर्जन र वादीहरू समेतको अंश हक लाग्ने रहेछ भन्ने मिल्ने देखिन आएन ।
१६. तसर्थ उपरोक्त उल्लेख भएबमोजिम कारणहरूबाट अष्टमायाले लक्ष्मणहरिलाई विक्री गरेको ०१४।१।१२ को राजीनामा लिखत बदर हुन्छ भन्न नमिल्नेसमेत हुँदा उक्त लिखत सदरै हुनेठहराई ०२२।२।११।२ को डि.बे.ले छिनेको इन्साफ मनासिवैठहर्छ कोर्टफी राखेकोले मुद्दा दोहर्याएमा निवेदक वादी कृष्णवरसिं प्रधानलाई अरु सजाय गर्नुपरेन नियमबमोजिम मिसिल बुझाइ दिनु
उपरोक्त ठहरमा मेरो सहमती छ ।
मा.न्या श्री रत्नबहादुर
मा.प्र.न्या. श्री भगवतीप्रसाद
अष्टमायाले लक्ष्मण हरिलाई विक्री गरेको सदरै हुने ठहराई ०२२।२।११।२ को डि.बे.मा मेरो राय व्यक्त भएकै र यसबेञ्चका सहयोगी मा.न्या.हरूले उक्त डि.बे.कै इन्साफ मुनासिव ठहराउनु भएकाले त्यसमा मेरो पनि सहमति छ ।
इति सम्वत् ०२६ साल आश्विन १७ गते रोज ६ शुभम् ।