निर्णय नं. ५१६ - अंश

निर्णय नं. ५१६ ने.का.प. २०२६
डिभिजन बेञ्च
न्यायाधीश श्री लोकराज जोशी
न्यायाधीश श्री कालीप्रसाद उपाध्याय
०२० सालको देवानी नम्वर १३४०
निवेदक : जि.मु.रामजीत लामा समेत
विरुद्ध
विपक्षी : हर्षजित लामा समेत
मुद्दा : अंश
(१) अंश लिने दिनेको मञ्जुरी अनुरुप व्यवहार भइसकेपछि दिनेको शेषपछि (३०–३२ बर्ष बाद) बण्डापत्रमा आफुले सही छाप गरे पनि रजिष्ट्रेशन नभएको कारण सो बण्डापत्र प्रमाण नलाग्ने भनेमा–उक्त भनाईलाई मान्यता दिनु अव्यवहारिक हुने ।
त्यसतर्फ बाबुबाटै आफ्नो मात्र अंश लिई छुट्टिएको भनी प्रतिवादीले पेश गरेको ८९।४।२ को बण्डापत्र र ९२ सालमा वादीहरू र बाबु इन्द्रजित समेत छुट्टिंदा भएको भनेको बण्डापत्रहरू समेत डिभिजन बेञ्चका आदेशबमोजिम वादीलाई सद्दे कीर्तेमा बयान गर्न सुनाउँदा ९२ सालको बण्डापत्रमा मेरो सहिछाप परेको हो तापनि उक्त बण्डापत्रहरू सवै ऐनले रजिष्ट्रेशन पास गर्नुपर्ने नगरेकोले प्रमाण नलाग्ने भनी बयान गरेकोमा अंश दिने लिनेले मञ्जुर गरी दिई लिई भोगचलन गरी अंशियार मध्ये कुनैले विक्री बन्धक समेतको व्यवहार गरिसकेको यस्तोमा अंश दिनेका शेषपछि ३०।३२ बर्ष बाद कुनै एउटा अंशियारले पास नभएकोले प्रमाण नलाग्ने भनेको कुरा खम्विर मानी सवै व्यवहार खलबल्याउनु अव्यवहारिक हुने ।
(प्रकरण नं. १६)
(२) बण्डापत्र पास सम्बन्धमा भएको २००३।३।९।१ को सनद–यस सनद अघिको बण्डापत्र पास नभएकै कारण बदर नहुने ।
अघिको बण्डापत्र पास नभएकोमा जनतालाई पिर मार्का नपर्ने व्यवस्था मिलाउन तजविज गर्ने गरी अब उप्रान्त पास गर्नै पर्छ भन्ने ०३।३।९।१ मा सनद भएको देखिएकोले सो अघिको बण्डापत्र पास नभएकै कारणले बदर हुन्छ भन्न नमिल्ने, सो बण्डापत्रले प्रतिवादी हर्षजित बाबुबाटै अंश लिई ८९ सालमा छुट्टिएको कायम हुन आउने ।
(प्रकरण नं. १६)
(३) कस्तो स्थितिमा सगोलै बसेको प्रमाणित नहुने ?
(क) अंश छुट्टिएको कायम भएपछि अंश मिसाई बसेको भन्ने दावी नभएमा–“सगोलै छु” भन्ने भनाईमा विश्वास गर्न नमिल्ने ।
त्यसपछि यसकारणले यो साल महिना मितिमा प्रतिवादीसँग अंश मिसाई बसेको भन्ने वादीको दावीमा नभएकोले प्रतिवादीसँग सगोल छु भन्ने वादीको भनाईमा विश्वास गर्न नमिल्ने।
(प्रकरण नं. १६)
(ख) वादी प्रतिवादीको लेखाईमा वतन फरक फरक देखिनाका साथै एकाघर भनेर लेखनाको कारण विद्यमान भएमा–वादी प्रतिवादी सगोलै बसेको नठहर्ने ।
जम्मूदिपसंगको बाली दिलाई पाउँ भन्ने मुद्दामा हर्षजितले दिएको वारेसनामामा एकाघरको भनी लेखेकोबाट सगोल ठहर्ने भन्ने वादीतर्फको जिकिरको हकमा त्यसै मुद्दामा अर्जि पठाउँदा वादीले डिल्लीबजार डेरा गरी बस्ने भनी र प्रतिवादीले डिल्लीबजार बस्ने भनी वतन लेखेको देखियो, सगोलकै भए त्यसमा त्यस्तो लेखिनु त्यसरी बेग्लै रहने अवस्था नभएको र उपरोक्त उल्लेखित कारणले छुट्टी बेग्लै बसेको देखिएका मानिसको वारेसनामा एकाघरको भनी लेखिनु कारण धरौटी राख्न नपर्ने गराउन नै त्यस्तो लेखिएको भन्न तथ्ययुक्त देखिन्छ ।
(प्रकरण नं. १६)
(ग) प्रमाणको निमित्त भनेको कागजपत्र आदिमा “सगोल रहेको” भन्ने शब्द नभएमा–सगोल भन्ने प्रमाणित नहुने ।
चिठ्ठि रसिद दर्ताको प्रमाणले सगोल देखिने भनेको तिनीहरूमा अंश नभई सगोल रहेको भन्ने कुनै शब्द नभएकोले धरौट इत्यादी चिठ्ठिपत्र आदान प्रदान र तिरो बुझाउँन लाउनु बुझाइदिनु, जग्गा दर्ता गर्ने बखत पुग्न नसक्ने अवस्था पर्दा एकाभाइले दर्ता गराई आफ्ना अंश बमोजिम खाइरहनु, यो कुराहरू मेलमिलाप हुँदासम्म सहोदर दाजु भाइमा हुनसक्ने व्यवहार भएको, त्यसले सगोलको भन्ने प्रमाणित गर्न नसक्ने ।
(प्रकरण नं. १६)
निवेदक तर्फबाट : अधिवक्ता श्री ठाकुरप्रसाद खरेल
प्रतिवादी तर्फबाट : वकिल नारायणप्रसाद
उल्लेखित मुद्दा : x
फैसला
मा.न्या. श्री कालीप्रसाद र मा.न्या. श्री लोकराज
१. हाम्रा बाबु ससुरा इन्द्रजीत लामाको छोरा ३ भई जेठा अन्यायको हर्षजित माहिलो म रामजित कान्छो म धामोरानीको लोेग्ने पूर्णजित, आमा समेत ३ भाइ भई बाबु ससुरा इन्द्रजित म आमाको लोग्ने पूर्णजीत परलोक भइसकेका हर्षजित समेत हाल संग–सगोल बसी आएकोमा चित्त नमिलेबाट छुट्टा छुट्टै बसौं भन्दा तिमीहरूलाई अंश दिन्न एकलौटी खान्छु भनेकोले हामीहरूलाई जग्गा जमीन श्रीसम्पत्ति नेपाल पाहाड मधेसको फाँटवारी लिई ३ भागमा १ भाग अन्यायवालालाई र २ भाग हामी २ जनालाई दिलाई पाउँ भन्ने समेत ०१३।१०।२९।२ को होइसाल डोल्मु र जि.रामजीत लामाको फिराद ।
२. बाबु इन्द्रजितको ४ स्वास्नीमा जेठो मोती माहिली कान्छी साहिली पद्मकुमारी कान्छो जिरा भएको, मोतीको २ छोरी भई अन्यत्र पोइल गएकी माहिली पट्टि छोरा १ गंगाराम मात्र साहिली पद्मकुमारी पट्टी जेठा म माहिला रामजित कान्छा पूर्णजित कान्छी जिराको छोरी १ मात्र भई ८ अंशियार भएकोमा म सानैदेखि नेपाल आई जागिरे भई घरको काम काज गर्न नसक्दा चित्त नमिली बाबुले मलाई ८९ साल श्रावण २ गते रोज १ मा अंश वापतमा घर जग्गा दिनु भई छोडपत्र गराइदिनु भएको, त्यसपछि अरु पनि बस्न मिली नसक्दा ९२ साल मार्ग ३ गते रोज २ मा ७ अंशियार छुट्टिएछन् । मेरो अंशको जग्गामा आफैले भोग चलन गरी बाली तिर्न तिर्जा भई आउने हुँदा कहिले मैले तिर्ने र कहिले छुट्टिएको भए पनि सहोदर भाइ रामजितले खान्गी खारेज भई मालमा दर्ता हुँदा मेरो अंश किनुवा जग्गासमेत गोलमाल गरी आफ्नै नाउ दर्ता गरेको बुझी फिराद गर्दा मेरो नाममा नामसारी गरी दिने ठहराई ०१३।७।२४।६ मा फैसला भएको छ, सो रिसले पांगुको मेरो धान चोरी गरेको चोरी मुद्दा मुल्तवी रहेको मैले गरेको छोडपत्र मोती र जिराको बण्डापत्र रामजितको जेवबाट निस्केको र म सगोलको भए बाबुले जाहानसँग र दाजु गंगारामले मसँग नालिस तमसुक गरी दिन नपर्ने हुँदा नालेस दिएमा वादीलाई सजाय गरिपाउँ भन्नेसमेत ०१४।१।२४।२ को हर्षजित लामाको प्रतिउत्तर ।
३. यही वादी र प्रतिवादीको बाबु इन्द्रजितले १९८९।४।२।७ मा ४ स्वास्नी भई अंशियार ६ जना भएको भन्ने व्यहोरा जनाई प्रतिवादी हर्कजितलाई अंशबण्डा गरिदिएको ९२।८।३।२ मा पदमकुमारीलाई र गंगारामलाई बण्डापत्र गरी अंश छुट्याई दिएको ९३ साल जेष्ठ २२ गतेमा प्रतिवादीको स्वास्नी कृष्णकुमारीबाट इन्द्रजितले मो.रु.९९।५० लिई जग्गा दृष्टिबन्धक लेखिदिएको र प्रनिवादीबाट सौतेनी आमा पट्टिको दाजु गंगारामले रु.४५०। लिई दृष्टिबन्धक लेखिदिएबाट प्रतिवादी ८९ सालमै छुट्टी भिन्न भएको देखिने । यै वादी प्रतिवादीको चोरी मुद्दामा प्रतिवादीले अंश लिई बाबुलाई ८९।४।२।७ मा गरिदिएको छोडपत्र र इन्द्रजितको कान्छी स्वास्नी जिरीलाई र मोतीलाई अंश दिएको ९२।८।३।२ को सक्कलै बण्डापत्र पेश भएको अंशबण्डाको ५१ नं. बमोजिम उजूर गर्नसक्नु पर्ने यो यति अंशियार यति अंश लाग्ने भनी खुलाउन नसकेको र प्रतिवादीसँग अंश पाउने कोर्कि सबूद देखिन नआई अघि नै छु¬िट्टएको देखिएको हुँदा वादीले प्रतिवादी उपर अंशमा झुठ्ठै दावी गरेको ठहर्छ भन्नेसमेत २०१४।३।२४।१ को काभ्रेपलान्चोक अदालतको फैसला ।
४. बण्डापत्र पास नगरेको प्रमाण नलाग्ने निजको भाग दाखिल दर्ता हुनु र तिरोभरोसमेत निज बाट चलेको हुनपर्ने, ९२ सालमा भिन्न हुनेका बण्डाभित्रको जग्गा उनिहरूका नाममा दर्ता दाखिल हुँदा निजले उजूर गरी हककायम गर्नसक्नु पर्ने बिजन जाँचमा निजको भागमात्र उस्का नाममा दर्ता हुनुपर्ने सवै पाखोजग्गा निजैका नाममा दर्ता हुन नपर्ने, सगोल हुनाले खेतजति मेरो नाउँमा र नेपाल पाहाड मधेशको निजका नाउँमा दर्ता भएको हो, मलाई एकाघरको भनी लेखिएको वारेसनामामा सावितै रहेपछि अरु प्रमाण नचाहिनेमा सो र बराबर मलाई लेखेको चिठ्ठिबाट पनि सगोल देखिनेमा उल्लेखित इन्साफ भएकोमा चित्त बुझेन भन्नेसमेत ०१४।४।९।४ को धामोरानी भन्ने होइसाल डोल्मु १ रामजित तामाङ्ग १ समेतको पहिलो अपील ।
५. वारेसनामामा एकाघरको भाइ लेखे, वारेस लागि तारिखमा रहनु नपर्ला भन्ने हेतुले पनि लेख्न सम्भव हुने, ८९ सालमा बण्डा बुझेको छोडपत्रबाट देखिएको, ९२।८।२ को कागजमा पनि ८९ सालमै हर्षजितको अंश भइसकेको कुरा लेखिएको या वादी समेत आगे भई सहिछाप गरेमा कायमै ईन्द्रजीतका अरु गुँणतर्फका अंशियारहरूले पनि यिनै बन्डापत्रहरू समेतबाट अंश भाग भोगी चर्ची आएको अंश पाउना सगोल छौं भनी अरु अंशियार उपर यो वादीको र यो वादी समेत उपर अरु अंशियार समेतको उजूर परेको देखिन नआएबाट समेत सवैले अघि भएका बण्डापत्र कायमै राखी खाएको रहेछ भन्नु पर्ने, प्रतिवादीले लेखेका चिठ्ठिबाट अंश भइसकेको होइन, सगोलमै छौं भन्ने देखिन नआएको बण्डापत्र पनि वादीको जेवबाट निस्केको अंश भएको होईन भन्ने अरु पक्का सबूद वादीले गुजार्न नसकेबाट समेत अंश भइसकेको हुँदा वादी दावी झुठ्ठै ठहराई का.प.अ.ले गरेको इन्साफ मुनासिव ठहर्छ भन्नेसमेत ०१५।३।१६।२ को अपील तेस्राको फैसला ।
६. अंश पाउँ भन्ने दावी पुग्दैन भन्ने भएको इन्साफमा चित्त बुझेन प्रमाणहरु सवै बुझी न्याय पाउँ भन्ने समेत रामजित लामा होइसाल डोल्मु लमेनीको ०१५।४।१३।२ को दोश्रा अपील ।
७. ८९ सालमा प्र.हर्षजित र ९२ सालमा यी वादी समेतका अरु अंशियार छुट्टी भिन्न भएको ३ थान बण्डापत्र रामजीतसँग र थान ४ प्र.हर्षजितसँग रहे भएमा वादी रामजित सावितै, चोरी मुद्दामा ०१३।४।२५ मा बयान गरेको रामजित समेत आगे भई बण्डापत्र लिखत कागज समेत भएको यिनी अंशियार मध्येको गंगारामको स्वास्नी तुल्सामाया छोरा हिराकाजी समेतले पटकपटक जग्गा राजीनामा बन्धकी लिखत लेख्दा पनि मेरो हक अंशको भनी र यिनै वादी रामजित प्र.हर्षजितको सोध समेत भनी लेखी दिने लिने गरेको र वादी रामजीतले समेत हरीमाया थपेनीलाई २०१५।२।१५ मा रु.२१००। मा जग्गा बन्धकी दिंदा मेरोमात्र एकलौटी हकभोगको भनी लेखिदिएको उक्त लिखतहरू कुनैमा पनि अंशियार साक्षी राखेको र उजूर परी बदर भएकोसमेत नदेखिएको जम्मूदिप वादी यिनै रामजित, हर्षजित, गंगारामको स्वास्नी (तुल्सीमाया) छोरा हिराकाजीसमेत उपर दिएको कुतबाली मुद्दामा पृथक दावी र पृथकसँग भराउने गरी ०१५।१।३१ मा डि.बे.बाट फैसला भएको वादीबाट पेश भएको चिठ्ठिबाट बण्डा हुन बाँकी भन्ने नदेखिएको रजिष्ट्रेशन ३ नं.क. अंशबण्डाको ६१ नं.ऐनमासमेत २००० सालभन्दा अघिको कुरामा भिन्नबसेका कागज पास नगराएमा पनि सदरै हुन्छ भन्ने लेखिएकोसमेतबाट वादीले झुठ्ठा उजूर परेको ठहराई सुरुको सदर गरी गरेको इन्साफ अ.ते.को मुनासिव भन्नेसमेत ०१७।८।१६।५ को म.उ.अ.डिभिजन बे.को फैसला ।
८. अंश नभई सगोल बसेको देखिएको छंदै भिन्न भएको अंशमा झुठ्ठा उजूर गरेको भनी पच्चिस हजार भन्दा माथिको बिगोलाई मुनिको भनी अपील नलाग्ने गरी फैसला गरेको उच्च अदालतको फैसला बदर गरिपाउँ भन्ने रामजित र डोल्मु लमेनीको निवेदनमा विन्तिपत्र र सो बारे लेखी पठाउनु भएको मिति ०१७।१०।२७।५ को च.नं. ४३७ पत्रको व्यहोरा समेत श्री ५ महाराजाधिराजका हजुरमा जाहेर हुँदा यसमा व्यहोरा साँचो भए दोहर्याई ऐन सवाल बमोेजिम गर्नु भन्ने हुकुम बक्से बमोजिम लेख्ने काम भएको छ भन्ने मिति ०१८।५।९।५ को र त्यस अड्डाबाट लेखी पठाउनु भएको मिति ०१८।५।२२।५ को पत्र समेतको व्यहोरा श्री ५ महाराजाधिराजका हजुरमा जाहेर हुँदा यसमा अघि बक्सेको हु.प्र.बमोजिम त्यस अड्डाबाटै इन्साफ जाँची दिनु भन्ने हुकुम बक्सेबमोजिम लेख्ने काम भएको छ भन्ने १८।६।५।५ को सर्वोच्च अ.का नाउँमा राजदरवारबाट लेखीआएको हु.प्रमांगी ।
९. मध्यमाञ्चल उच्च अदालत डिभिजन बेञ्चले ०१७।८।१६।५ मा किनारा गरे उपर निवेदकले दिएको निवेदनपत्रमा इन्साफ जाँची दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्स भई दायर भएको देखियो, उक्त अदालत डिभिजन बेञ्च उपर दोहरिएको प्रस्तुत मुद्दा सर्वोच्च अदालत नियमावली बमोजिम फुल बेञ्चबाट निर्णय गर्न नमिली संशोधित नियम ३३ अन्तर्गत परी डिभिजन बेञ्चले हेर्नुपर्ने देखिएकोले फुल बेञ्च तर्फको दर्ता लगत काटी डिभिजनतर्फ दर्ता गरी फाँटमा बुझाइदिनु भन्नेसमेत ०२०।५।२१।६को फु.बे.को आदेश ।
१०. तत्कालिन अदालती बन्दोबस्त १०४ नं. बमोजिम वादीको प्रमाण कागज प्रतिवादीलाई र प्रतिवादीको प्रमाणको कागज वादीलाई सक्कलै देखाई सुनाई बयान गराउन पर्ने सो बमोजिम भएको नदेखिनाले नयाँ मुलुकी ऐन अदालती बन्दोबस्त ७८।१७७ नं. बमोजिम वादीतर्फबाट नक्कल पेश गरेको ०१४ साल जेष्ठ २४ गतेका दरखास्तमा लेखिएको मध्ये अख्तियारनामा बाहेक अरु सक्कल कागज वादीबाट र प्रतिवादीले प्रतिउत्तरपत्रमा र २०१७ साल कार्तिक ३० गते मध्येमाञ्चल उच्च अदालतमा चढाएको नं.२७७ को निवेदनमा लेखि नक्कल पेश गरेको सक्कल प्रमाण कागज प्रतिवादीबाट ऐनबमोजिम रीत पुर्याई दाखिल गराई सो कागजहरू र चोरी मुद्दाको मिसिल सामेल रहेको रामजितबाट बरामत भएको भनेको ८९।९२ सालको छोडपत्र बण्डापत्र समेत सद्दे कीर्तेमा बयान गराई सुनाउन नियमबमोजिम पेशगर्नु भन्नेसमेत ०२२।४।१४।५ को स.अदालत डिभिजन बेञ्चको आदेश ।
११. हर्षजितले पेश गरेको सक्कल कागज थान ११ चोरी मुद्दाको मिसिल सामेल रहेको बण्डापत्र अंश बुझेको कागजसमेत कागजथान २ पनि देखें सुने ८९ सालको बण्डापत्र मन परेको स्वास्नी र छोरालाई मात्र अंश दिनु भन्ने पनि ऐनमा नभएको फेरी बाबा इन्द्रजितको ९२ सालको बण्डापत्र यिनै प्रतिवादीसमेत आगे भई ८ अंश गरी लियो भनी प्रष्ट लेखेको प्रतिवादीको बण्डापत्रमा परेको भन्ने खेत ।१४।९ का खला अंश दिने बाबु इन्द्रजितबाट प्र. को स्वास्नी कृष्ण कुमारीले दृष्टिबन्धक लिई राखेको रहेछ । सो तमसुक हर्षजितबाट पेश भएकोरहेछ । ८९ सालमा अंश पाएको भए ७ वर्षपछि लोग्नेको अंश ससुराबाट लिन नपर्ने सो बण्डापत्रहरू रजिष्ट्रेशनका पुरानु ४९ नं. र हालको ३० नं. बमोजिम पाससमेत गरी राख्न सक्नु पर्ने त्यसकारण ८९ सालको बण्डापत्र प्रमाण लिनै नहुने ९२ सालको बण्डापत्रको हकमा सो साने आमाको छोरा दाजु गंगाराम छुट्टिदा खडा गरेको सोही साल देखि निजले आफ्नो अंश लिई अलग बस्नु भएको हामी यौटै आमाको दाजु हर्षजित म रामजित भाइ पूर्णजितसमेत अंश सगोल राखि आज तकसम्म बसी राखेको थियौ सो बण्डामा मेरो सहीछाप परेको हो तापनि पास नभएकोले ऐनले प्रमाण नलाग्ने अरु भोग बन्धकी कूत कबुलियतसमेतका कागजहरू बीचका मानिसको लिखत हुँदा हाम्रो अंश मुद्दालाई प्रमाण नलाग्ने हुँदा उक्त कागजहरूलाई मैले सद्दे कीर्ते भनी रहनु नपर्ने भन्नेसमेत ०२२।७।१२।५ को र ०२२।७।१८।४ को ततिम्बा समेतको रामजितको बयान ।
१२. चिठ्ठि रसिदसमेतका–सक्कल कागजहरू देखें सुने सद्दे कीर्ते छु्ययाई बयान गर्नलाई म्याद पाउँ भन्ने ०२२।७।१२।५ मा हर्षजितको वा धनजितले स.अदालत डिभिजन बेञ्चमा गरेको बयान ।
१३. रामजितबाट पेश भएको चिठ्ठि थान २६ र तालुकदारले तिरो बुझी गरिदिएको रसिद थान १० समेतका सक्कल कागजहरू देखें सुने निम्न लिखित चिठ्ठि मेरो हस्ताक्षरको होइन, वादीले मेरो हस्ताक्षर भन्छ भने कीर्ते हो ।१५ थान मेरो हस्ताक्षरको होइन अरु चिठ्ठिको हकमा मेरो हस्ताक्षर मिलेको जस्तो देखिन्छ । म काठमाडौं बस्ने भई अन्य व्यक्ति र निज मेरो भिन्न भएको भाइ रामजित समेत मेरो निज काम व्यवहारमा लेखि पठाउने गरेको अरौटे भन्ने चिठ्ठिकै व्यहोराबाट देखिन्छ । उपरोक्त देखाएको कुनै पनि चिठ्ठि व्यहोराबाट हामी सगोल भन्ने कुनै लेखेको देखिँदैन । त्यस्तो व्यहोराको चिठ्ठि अंश हकमा प्रमाण लाग्ने कुरा पनि नहुनाले सद्दे कीर्तेको जवाफ दिई रहनु नपर्ने रसिद थान १० मध्ये सोले वारी विजन माना ।।२ दुईको भनी जनाई तिरो रु २६। को एउटा ०११।१२।३०।३ को सुन नारानको दाम कामे जस नारान भनेको छ, त्यस जग्गाको ती तालुकदार पनि नभई भित्रि पन्न सिं हुँदा मिझार पनि फरक र फेरी बाबु तामाङ्ग रसिद तर्फ पनि माटोे मुरी ।५।३।४।६ मात्र भएकोले जग्गाको माटो खला गरा नमिल्ने यि जग्गाको मेरो बण्डामा पनि नभएको र अरु जग्गाको रसिदले मेरो अंशमा सगोल गराउँला भन्ने विचारले बीचका मानिसका रसिदबाट सगाल भन्ने प्रमाण पुग्ने–कुरा पनि होइन । यस्तो रसिद निजहरुले मिलि जहिले सुकै खडा गरी लिन ल्याउन सक्ने हुनाले जालसाजी खडा गरी ल्याएको हो सद्दे होइन भन्ने समेत प्र.हर्षजित लामाले ०२२।७।१८।४ मा स.अ.डिभिजन बेञ्चमा गरेको बयान ।
१४. भाइहरुलाई अंशदिनु पर्ला भनी जालसाज भनी बयान गरेको हो, जालसाजी भए प्रतिवादीले पनि पेश गर्नु पर्ने नसकेबाट पनि यि रसिदहरु सद्दे देखी रहेकै छ, यिनीहरु ३ भाइ सगोलकै हुन भन्ने समेतको वा समेत बाबु तमाङ्गले ०२२।१०।१८।२ मा स.अ.डि.बेञ्चमा गरेमको बयान ।
१५. यस्मा दवै पक्षलाई रोहबरमा राखी पेश गर्न ल्याएको प्रस्तुत मुद्दामा निवेदक वादीतर्फका वकिल विद्वान प्लिडर ठाकुरप्रसाद खरेल प्रतिवादी तर्फका वकिल विद्वान नारायण प्रसादको बहस सुनी बुझ्दाप्रतिवादी हर्कजितबाट अंश पाउँ भन्न वादीको दावी भएको यि वादीहरू बाब इन्द्रजितसमेत एकाघर सगोलमा छंदै ८९ सालमा बाबुबाट अंश लिई छुट्टिएको मैले वादीलाई अंश दिनु नपर्ने भन्ने प्रतिवादीको जिकिर हुँदा वादीले प्रतिवादी हर्षजितबाट अंश पाउने नपाउने के हो ? भन्ने निर्णय दिनु पर्ने देखियो ।
१६. त्यसतर्फ बाबुबाटै आफ्नो मात्र अंश लिई छुट्टिएको भनी प्रतिवादीले पेश गरेको ८९।४।२ को बण्डापत्र र ९२ सालमा वादीहरु र बाबु इन्द्रजित समेत छुट्टिदा भएको भनेको बण्डापत्रहरु समेत डिभिजन बेञ्चका आदेशबमोजिम वादीलाई सद्दे कीर्तेमा बयान सुनाउँदा ९२ सालको बण्डापत्रमा मेरो सहीछाप परेको हो तापनि उक्त बण्डापत्रहरु सवै ऐनले रजिष्ट्रेशन पास गर्न पर्ने नगरेकोले प्रमाण नलाग्ने भनी बयान गरेकोमा अंश दिने लिनेले मन्जूर गरी दिई लिई भोगचलन गरी अंशियार मध्ये कुनैले विक्री बन्धक समेतको व्यवहार गरिसकेको यस्तोमा अंश दिनेको शेषपछि ३०।३२ वर्ष बाद कुनै एउटा अंशियारले पास नभएकोले प्रमाण नलाग्ने भनेको कुरा खम्विर मानी सवै व्यवहार खलबल्याउन अव्यवहारिक हुने, उस्मा पनि अघिको बण्डापत्र पास नभएकोमा जनतालाई मिरमार्का नपर्नेे व्यवस्था मिलाउन तजविज गर्ने गरी अब उप्रान्त पास गर्नै पर्छ भन्ने ०३।३।९।१ मा सनद भएको देखिएकोले सो अघिको बण्डापत्र पास नभएकै कारणले बदर हुन्छ भन्न नमिल्ने । सो बण्डापत्रले प्रतिवादी हर्षजित बाबुबाटै अंश लिई ८९ सालमा छुट्टिएको कायम हुन आउने । त्यसपछि यस कारणले यो साल महिना मितिमा प्रतिवादीसँग अंश मिसाई बसेको भन्ने वादीको दावीमा नभएकोले प्रतिवादीसँग सगोल छु भन्ने वादीको भनाईमा विश्वास गर्न नमिल्ने । जम्मूदिपसंगको बाली दिलाई पाउँ भन्ने मुद्दामा हर्षजितले दिएको वारेसनामामा एकाघरको भनी लेखेकोबाट सगोल ठहर्ने भन्ने वादीतर्फको जिकिरको हकमा त्यसै मुद्दामा अर्जि पठाउँदा वादीले डिल्लीबजार डेरा गरी बस्ने भनी र प्रतिवादीले डिल्लिबजार बस्ने भनी वतन लेखेको देखियो, सगोलकै भए त्यसमा त्यस्तो लेखिनु त्यसरी बेगल रहने अवस्था नभएको र उपरोक्त उल्लेखित कारणले छुट्टिई बेगल बसेको देखिएका मानिसको वारेसनामामा एकाघरको भनी लेखिनु कारण धरौटी राख्न नपर्ने गराउन नै त्यस्तो लेखिएको भन्न तथ्ययुक्त देखिन्छ । चिठ्ठी रसिद दर्ताको प्रमाणले सगोल देखिने भनेको तिनिहरूमा अंश नभई सगोल रहेको भन्ने कुनै शब्द नभएकोले अरौट इत्यादिका चिठ्ठिपत्र आदान प्रदान र तिरो बुझाउन लाउनु बुझाई दिनु, जग्गा दर्ता गर्ने बखत पुग्न नसक्ने अवस्था पर्दा एकाभाइले दर्ता गराई आफ्ना अंशबमोजिम खाइरहनु, यी कुराहरू मेलमिलाप हुँदासम्म सहोदर दाजु भाइमा हुनसक्ने व्यवहार भएको त्यसले सगोलको भन्ने प्रमाणित गर्न नसक्ने समेत हुँदा प्रतिवादीले जालसाजी भनेका रसिद थान ३ लाई सद्दे वा जालसाजी के हो भन्ने निर्णय गर्नु नपर्ने समेत देखिन आएको छ ।
. तसर्थ प्रतिवादी हर्षजितबाट अंश पाउँ भन्ने वादीको दावी पुग्न नसक्ने ठहराई छिनेको सुरु र अपीलको सदर गरेको मध्यमाञ्चल उच्च अदालतको ०१७।८।१६।५ को इन्साफ मुनासिव छ । इन्साफ दोहर्याएमा वादीहरूलाई तपसील बमोजिम हुन्छ ।
तपसील
वादी रामजित लामा के अ.बं.२०४ नं. ले शरु डण्ड १। एकको दशौद रु.।१० दश पैसा जरिवाना हुन्छ, रुजु हुँदा असूल गरी का.श्रे.अ.त.मा बुझाई लगत दिने.........................१
वादी धामो रानी भन्ने हाइसल डोल्मु लमेनी के अ.बं.२०४ नं. ले सुरु डण्ड रु.।५० को दशौद रु.।५ पाच पैसा जरिवाना हन्छ वा हुँदा ऐनबमोजिम असूल गर्नु भनी पूर्ति गर्न का.श्रे.अ.त. मा लगत दिने....................२
नियमबमोजिम मिसिल बुझाई दिने.......................३
इति सम्वत् ०२२ साल फाल्गुण १६ गते रोज ४ शुभम् ।