निर्णय नं. ५२२ - ज्यान

निर्णय नं. ५२२ ने.का.प. २०२६
डिभिजन बेञ्च
न्यायाधीश श्री मीनबहादुर थापा
न्यायाधीश श्री रङ्गनाथ उप्रेती
सम्वत् ०२४ सालको फौज्दारी पुनरावेदन नम्वर ५६२।५६८
पुनरावेदक : तप्पे हाटि मौजे पकलिहवा झंडी बजार घर भई हाल कारगार भैरहवामा थुनिएको मिल्कीराम गुरुङ समेत
विरुद्ध
विपक्षी : स.ई प्रदीपकुमार बोहरा क्षेत्रीको जाहेरीले श्री ५ को सरकार
मुद्दा : ज्यान
(१) पोष्टमार्टम गर्ने डाक्टरले लासबाट नदेखिएको अनुमान गरिदिएको राय अन्य सबूद प्रमाणले अन्यथा देखिन आएमा–सवै तथ्यहरूको विचार गरी मात्र यथार्थ न्याय गर्नुपर्ने न्यायकर्ताको कर्तव्य हुने ।
पोष्मार्टम गर्ने डाक्टरले मृतकका लासको बाहिरी भित्री अङ्ग प्रत्येङ्गमा जो जस्तो रहे भएको देखिन आउँछ सो सवै तोकिएका ढाँचा फाराममा स्पष्ट उल्लेख गरी त्यसबाट देखिएको आफ्नो राय प्रकट गर्नुपर्ने हो, लासबाट नदेखिएको कुरा जो आफूले अनुमान गरी राय दिएको छ, त्यसमा अन्य सबूद प्रमाणबाट अन्यथा देखिन आउँछ भने न्यायकर्ताले सवै तथ्यहरूको विचार गरी मुद्दामा पुरा तवरले यथार्थ न्याय गर्नु कर्तव्य हुन आउँछ । मेरुदण्ड तथा निधारको चोटबाट रमेशर सिं मुर्छा भएको बखत पानीमा फाली दिएको भन्ने डाक्टरको राय लेखाई जो छ सो कुरा अरु सबूद प्रमाणबाट नदेखिएकोले अनुमानकै राय लेख मान्नु पर्छ ।
(प्रकरण नं. ३८)
(२) बेहोस अवस्थामा पानी निल्न नसकी पेट आन्द्रामा पानी प्रबेश नभई श्वासको नलीमा पानी प्रवेश भई मृत्यु भएको भन्ने डाक्टरको लेखाई भएमा–स्वासको नलीमा पानी प्रबेश भई मृत्यु भएको भन्ने देखिन आउने ।
डाक्टरको भनाईमा बेहोस अवस्थामा पानी निल्न नसकेकोले पेट आन्द्रामा पानी प्रवेश नभएको बेहोस अवस्थामा श्वास लिन सक्ने हुँदा श्वासको नलीमा पानी प्रवेश भई मृत्यु भएको हो भन्ने लेखिएको भएपछि रक्सी खाई चुर भएका बखत अत्यासमा भागी आउँदा अकस्मात मानिस डुवाउ गहिरो पानीमा घोप्टो पर्न जाँदा बेहोस भई पानी निल्न नसकी श्वासको नलीमा पानी प्रवेश भई मृत्यु भएको रहेछ भनी भन्नु पर्ने देखिन आउँछ ।
(प्रकरण नं. ४०)
(३) कर्तव्य गरी मारेको शंका लाग्छ भन्ने बयानको पुष्टि गर्न प्रमाण दिन नसकेमा–अभियुक्तको बयानबाट कर्तव्य गरी मारेको नदेखिएमा–अभियुक्त खराव आचरणको भन्ने नलेखेमा–मौका समयबाट कर्तव्य गरी मार्न नभ्याउने भएमा–वारदात भएको अनुमान गर्न नमिल्ने भएमा–अभियुक्तले कर्तव्य गरी मारी डाँका गरेको नठहरिने ।
मर्नेको बाबु सुन्दर सिंले शंका देखाई बयान गरे पनि त्यस कुराको पुष्ट्याई प्रमाण दिन सकेको देखिँदैन । ओमप्रकाश र इस्लाम खां छोराको साथमा घरमा आउने जाने गर्ने भनेको निजहरू उपर कुनै रिसइवी नदेखाएको, इस्लाम खां ओमप्रकाश र कृष्णलाल गोरखपुर कलेजमा पढ्ने विद्यार्थी र अरु ३ जना बिजनेसमेन हुन । कलेज छुट्टी हुँदा घुम्ने इच्छाले रमेशर सिं पोखरा जान आउँदा हामी पनि भैरहवासम्म घुम्न आएका हौं । रिक्सावालाले ठिटीहरूका घरमा लगी दिएको, म बाहेक ५ जनाले रक्सी पिएका थिए । १ जनाको घरमा रमेसर बिल्लु इस्लाम र म अर्को घरमा नरेन्द्र, ओमप्रकाश, कृष्णप्रताप थियो । १ घरमा २ लड्की अर्को घरमा १ लडकी थिइन । बातचित गरी पिसाव फेर्न बाहिर निस्कँदा राती घुम्ने को हो भने परदेशी हुँ, बस्ने ठाउँ बताई देउ भन्दा ठानामा ठाउँछ भने । माफ देउ भन्दा फि जवान रु.१० दरले दिए छोडिदिन्छौं भन्दै जवरजस्ती पक्री ल्याउन खोज्दा रमेशर सिंले चक्कुसमेत देखाई भागेका हुन् भन्ने प्रतिवादी इस्लाम खां समेतको बयान छ । निजहरू चोरी डकैती गरी हिंडने खराव पेशाका बदनामी मानिस हुन् भन्ने सुन्दर सिं समेतको लेखाईबाट देखिँदैन । निजहरूको उमेर अवस्था पनि इस्लाम खां २२ बर्ष बिल्लु भन्ने कृष्णलाल २० बर्ष ओमप्रकाश श्रीवास्तव १७ बर्ष नरेन्द्रसिं मान २२ बर्षको घुम फिर हाँस ख्याल गर्ने उमेरका मानिसहरू देखिन्छन । प्रहरीसँग विवाद भई भागी गएको ठाउँबाट रमेशरको लास पाइएको ठाउँ दण्डा नाला एकहजार गज मात्र फरक र चोर चोर भन्ने हल्ला गरी निजहरूलाई पक्रन मानिस पछि लाग्दा लाग्दै त्यतिकै बीचमा धन सम्पत्ति हात पार्न कुनै तरिका गरी मारी पानीमा फाल्न भ्याउने मौका टायमले नपुग्ने र रातको अवस्था मानिस जम्मा गरी लास खोजी पत्ता लगाउने काम गरेको ठाउँमा वरपर घाँसहरू माडिन सक्ने हुँदा कुटपिट वारदात गर्दा घाँस माडिएको हो भन्ने अनुमान लगाउन पनि मिल्ने देखिँदैन ।
(प्रकरण नं. ४१)
अतः निज मर्ने रमेशर सिंलाई प्रतिवादीहरूले कर्तव्य गरी मारी पानीमा फाली धनमाल डाँका गरेको ठहर्दैन, अध्यारो रातको टायममा भाग्दा पानीको नालामा परी रमेशर सिं आफै डुबी मरेको ठहर्छ ।
(प्रकरण नं. ४२)
(४) मृत व्यक्तिसँग रहेको धनमाल गायव भयो, भने जति मृत व्यक्तिसँग मौजुद हुने नदेखिएमा–गायव भएको भन्ने उक्त धनमालसँग अभियुक्तको साविती बयान र घर खानतलासीबाट मिल्न आए जतिमात्र चोरी (अन्य अपराध गरेको नदेखिए) गरेको ठहरिने ।
मर्नेको बाबु सुन्दर सिंले बयान गर्दा नगदी रु.१९०० र सुनको गहनासमेत गरी जम्मा रु.६०८४।१३ को धनमाल गायव भएको छ भन्ने लेखेकोमा रमेशर सिंको साथमा रहेको चिठ्ठी व्यहोराबाट सुन्दर सिंको भनाई अनुसार नगदी पठाएको नदेखिएको, मिल्कीरामको घर खानतलासी हुँदा निजको श्रीमतीले कानमा लगाएको सुनको रिङ्ग सुन्दर सिंको जाहेरीमा मिल्न आएको र सुनको एकजोर रिङ्ग एकजोर सिक्रीसमेतको झुमक एकजोर बालासमेत लिएमा निज मिल्कीराम साविती भएको सो धनमाल कतै जाहेर प्रकाश नगरी आफूले लिई लुकाई विक्री गर्ने र आफ्नु स्वास्नीलाई लगाउन दिएकोले मर्ने रमेशर सिंका साथमा रहेको बिगो रु.३०५५। को धनमाल प्रतिवादी मिल्कीरामले पहिलोपटक पारी चोरी गरेको ठहर्छ । डाँका गरेको ठहर्दैन ।
(प्रकरण नं. ४२)
पुनरावेदक प्रतिवादी इस्लाम खां समेतका तर्फबाट : वरिष्ठ अधिवक्ता श्री देवनाथप्रसाद वर्मा
श्री ५ को सरकार तर्फबाट : सरकारी अधिवक्ता श्री प्रचण्डराज अनिल
उल्लेखित मुद्दा : x
फैसला
मा.न्या. श्री मीनबहादुर र न्या. श्री रङ्गनाथ
१. ०२१ साल पौष १३ गते १ को रात गस्ती पेट्रोल लिनको लागि हे.कं.गोविन्दप्रसाद १ कं.लालबहादुर १ कं.भानुप्रताप १ कं.टिकाराम १ समेतलाई खटाएकाले स.ई.प्रदिपकुमार घुम्दै गैरहेको बखत रात अं.११–११।। बजे राती गाउँ पूग्दा अपरिचित ६ जना व्यक्ति रक्सी खाई सोध्ने तिमीको हौ, आफ्नो भलाई चाहन्छौ भने भागी हाल नत्र छुरी रोपी मारी दिन्छौं भनी हिन्दीमा झपार्दै गालामा थप्पड मारे । छवै जनाले छुरी जस्तो चक्कु निकाली कटकट आवाज दिंदै खोली हाम्रो छातीमा रोप्न तयार भएकोले म प्रेमबहादुर त्यहाँबाट उम्की स.ई.लाई जनाउँदा भानुप्रतापलाई घेरामा पारेको देखी म प्रदिपले सोधपुछ गर्दै रहेको राती गाउँको मुखिया भन्ने माष्टर र भिमबहादुर केही मानिस बोल्दै जान लागेको आवाजले आसपासका मानिस समेत सवै त्यसतर्फ जाँदा धेरै मानिसको जमात आएको देखिन । निजहरू पश्चिम दक्षिण तर्फ भागेकाले चोर चोर भन्ने आवाज गर्दै चारै तर्फ मानिस दौडे । त्यस्तै अवस्थामा गुहारमा आउने मध्येका मिल्कीरामले दण्डा नदीको नाला तर्फ मानिस कराएका छन् भनेकाले सवै त्यसतर्फ जाँदा भाग्ने मध्यका ४ जवान पानीले भिजी खडा भइरहेको देखी के हो भन्दा यस ठाउँमा पानी छ भन्ने नजानी दौडदै आउँदा पानी नालामा पर्यो १ जना अरु पानीमा छ अर्को १ जना कता भाग्यो थाहा छैन भनेकाले डोरी मगाई ४ जना मध्ये १ जनालाई डोरी बाँधी खोज्न लगाउँदा मानिस फेला परेकोले निजहरूलाई बृटिस केम्पको हस्पिटलमा पुर्याई राख्न लगाएको छ । फेला परेका ४ जना, बरामद भएको छुरी जस्तो चक्कु समेत दाखिल गरेको छौं, निजहरूसँग सोधपुछ गरी अरु सवै विवरण खुलाई पाउँ भन्नेसमेत ०२१।९।१३ गते १ बजे रातको स.इ.प्रदीपकुमारको समेत प्रतिवेदन।
२. मर्ने रमेशर सिंहको पोखरामा दुकान हुँदा पोखरा जान लागेको र आपसमा दोस्ती हुँदा हामीलाई बुटवल भैरहवा पहाडको दृष्य हेर्न इच्छा भएकाले हामी चारजना र कृष्णप्रताप समेत ५ जना घुम्न आउने अघिल्लो दिन सल्लाह भई आइतवार विहानैको बसबाट रमेशर इस्लाम खां आई विन्देसरी होटलमा सामान राखी खाना खाई अरु साथीको प्रतिक्षामा बसी पकलिहवा घुम्न गएका र हामी ४ जना ट्रेनबाट आई ४ बजे रमेशर इस्लामलाई भेटी घुम्दै राती गाउँमा गई त्यही रक्सी मगाई खाई लडकीहरूसँग गफ कुराकानी हुँदै थियो । रात १० बजे पछि घुम्न मनाइ छ भनी पुलिसले पक्री ल्याउन खोजेकोले रुपैंया दिने लिने कुरा चल्दै थियो । बाद विवाद भई रमेशरले चक्कु निकाली आगे नबढो चक्कूसे मार देंगे भन्थे, त्यसै अवस्था गाउँले मद्दत आउन लागेको देखी छवैजना पहिले दक्षिण तर्फ भाग्यौं । चोर चोर भन्दै हल्ला गर्दै मानिसले पिछा गरेको र अघिल्तिर लाइट बालेको देखी पश्चिम भाग्दा कृष्णप्रताप पछि थियो कता भाग्यो थाहा भएन । हामी ५ जना दौडदै जाँदा काँडावाल तारको घेरामा परी सो घेरा पार गर्दै जाँदा कसैलाई साधारण चोट र कपडाहरू पनि च्यातियो, तैपनि दौडदै जाँदा पानीको नाला परेको रात अवस्था हुँदा अन्दाज नपाई नालामा पस्दा अचानक रमेशर गहिरोमा परी डुबे, हामी घाँटीसम्म आएको पानीबाट फक्र्यौं, रमेशरलाई निकाल्ने प्रयास गर्दा डुबेकोले बाहिर आई आवाज दिंदा सुनी अरु आई म इस्लाम खांले कमरमा डोरी बाँधी पसी रमेशरलाई पानीबाट उतारी अस्पताल लगी मरीसकेको छ भनेकाले हामी पक्राउमा परी आएका छौं भन्नेसमेत इस्लाम खां १ नरेन्द्र सिंह १ ओमप्रकाश १ विल्लु भन्ने कृष्णलाल १ समेतको कागज ।
३. मर्ने रमेशरको लास प्रकृतिबाट पेटमा पानी देखिएन, हात गोडा नङ्गमा माटो छैन, गोडाको तिघ्राहरूमा साधारण कोरिएकै दडर लिएको जस्तो चोट र निधारमा दाग समेत देखिएको बृटिस क्याम्पको जवाफबाट नाकमा फिंज थियो, पानीमा परी डुबेको देखिन्छ, अरु विवरण पोष्टमार्टमबाट यकिन हुने भन्ने र पोष्टमार्तम गर्दा बेहोस भइसकेपछि पानीमा फालेको देखिन्छ भन्नेसमेत डाक्टरको पोष्टमार्टमको प्रतिवेदन ।
४. श्रीमान मन्त्रीज्यू गिरीप्रसाद समेतलाई लेखेको चिठ्ठी र माल सामान समेत दाखिल गरेको छु, सो समेत हेरी प्रमाण लगाई पाउँ र एकसाथ भाग्ने अरुको चोटपटक नहुनु रमेसरको कपडा च्यातिनु जाडाको मौसममा घुम्न आउनेले बिस्तरा नलिई आउने अरु कारण केही छैन रमेशरको साथमा भा.रु.१९००। र सवातेह्र तोला सुनको गहना समेत थियो, पानीमा पौडी खेल्न जान्दथियो रमेशरको दोस्ती भन्ने ५ जनाले रमेशरसँग रुपैंया गहना भएको थाहा पाई गोरखपुर देखि नै पिछा गर्दै आई मौका पारी नगद सुनको गहना लिई रमेशरलाई कर्तव्य गरी मारी पानीमा फाली दिएका शंकाछ बिल्लु भन्नेले अघि एकपटक मेरो माहिलो छोरा इन्द्रपाल उपर गोली फायर गरेको इवी थियो भन्नेसमेत मर्नेको बाबु सुन्दर सिंहको कागज ।
५. विश्वामित्र सुनार कहाँ गलाउन टुक्रा पारी सकेको बाला सहित मिल्कीराम पकडाउ परी आएको सोद्धा रु.२८०। मा लाहुरेले बन्धक दिएको रुपैंयाको जरुरत परी माग्दा बाला बेची लिनु होस भनेकाले विक्री गर्न लागेको हो भनेको र सुन दिने यही हो भनी मिल्कीरामले बताएको । गंगाप्रसाद गुरुङ बुझ्दा मेरो सुनको बाला थिएन, देखाएको बाला मेरो हैन, मिल्कीराम चिनेको छैन भनेबाट निजको घर खानतलासी गर्दा सुन्दर सिंहको भनाई अनुसार सुनको रिङ्ग वरामद भएकोमा दार्जिलिङ्गबाट बैनीले बनाई पठाएको हो चिठ्ठी छ भनी चिठ्ठी पेश गरेको, चिठ्ठीमा रिङ्गको कुरा लेखिएको नदेखिएको मिल्कीरामको श्रीमतीको भनाई २ दिनदेखि लगाउन थालेकी हुँ भन्ने र नन्दलाल सुनारको भनाईबाट कानमा लगाउने गहनाको सिक्री गलाई औठी बनाउन लगाएकोले १ घण्टामै बनाई दार्जिलिङ्ग पठाउन दिइसकेको भन्ने भई पत्ता लगाउँदा सरस्वतीलाई दिएको बरामद हुन आएको गहना सुन्दर सिंहलाई सनाखत गर्दा गराउँदा रिङ्ग र बाला यिनै हुन बदलिएको छैन, झुम्का चाही फेला नपरेकोले आंैठी झुम्कै होला । बदलेको हो सुनको टुकडामा भिडाए पछि यकिन हुन्छ भन्ने सनाखत गरेको मिल्कीरामलाई सोधनी गर्दा पानीमा डुब्ने मानिसलाई अस्पतालमा पुर्याए पछि भिजेको कपडा उतार्दा खसेको कागज पोको छाम्दा गरुड्डो लागी जेपमा राखेको थिएँ, पछि हेर्दा सुनको बाला झुम्का रिङ्ग रहेछ झुम्काको सिक्रीको औंठी बनाई बहिनीलाई पठाउन लगेको हुँ, झुम्का रु.२१० मा पोखरा तिरको नेवारलाई विक्री गरिसकें । बाला यिनै हुन । रमेशरलाई कर्तव्य गरी मार्न सहमत भएको र गहना लिएको हैन, रुपैंया ठानेदार साहेवलाई दिएको देखेको हौ, कति थियो यकिन छैन । सुनको गहना बरामद हुँदाको सिलसिलामा जति झुठ्ठा कुरा देखाए सो सवै सुन पचाउनको उद्देश्यले भनेको हुन भन्नेसमेत मिल्कीरामको कागज ।
६. मर्ने रमेशरको पेटमा पानी नहुनुको कारण अनुमान गर्न सक्तैनौं, नसा खाई लडकीसँग सहवासको इच्छाले बसेको टायममा हजार एघार सय गज टाढा देखि दौडेको र अँधेरो रात अतास अवस्था पानीको नालामा पसेको हो । निज रमेशरसँग रुपैंया र सुनको गहना थियो भन्ने याद थिएन । रमेशरसँग खास दुस्मनी केही नहुँदा दोस्तानाकै हैसियतले घुम्न आएको । एकरातको लागि होटलहरूमा नै कपडा बन्दोवस्त हुनसक्छ भनी रमेशरले भनेकोले हामीले कपडा नल्याएको हो, मिल्कीरामसँग हाम्रो अघि परिचय थिएन, रमेशरलाई पानीबाट उतार्ने बित्तिकै मिल्कीरामले पेट दबाएको र रिक्सामा लिई गएको त्यही बीचमा मिल्कीरामले सुनको गहना हात लगाएको हुनुपर्छ, अस्पताल पुगेपछि हामी नरेन्द्र इस्लामले ठानेदार साहेबकै रोहवरमा कपडा खोली तलासी गर्दा फेला परेको, रुपैंया ठानेदारलाई दिएको हो, रमेशरलाई कसैले कर्तव्य गरी मारी पानीमा फालेको हैन, सुन्दर सिंले किन हामी उपर शंका गरे भन्न सक्दैनौं भन्नेसमेत इस्लाम खां नरेन्द्र सिं, ओमप्रकाश बिल्लु समेतको स्पष्टिकरण कागज ।
७. पानीबाट उतारेपछि मिल्कीरामले पेट छामी पानी छैन भनेकोले पकलिहवा अस्पतालमा पुर्याएपछि इस्लामबाट कपडा खुलाउन लगाई तलासी गराउँदा पाइन्टको बायाँ पाकेटबाट १० को दरले रु.१००। र भारतीय १० दरको रु.४० समेत रहेछ । दाखिल भएकैछ । पानीबाट झिकेपछि मिल्कीरामले पेट छामेको हो र रिक्सामा समाई बसेकाले सुन रुपैंया भए निजले नै हात पारेको हुनुपर्छ, कुन टायममा कुन ठाउँमा मिल्कीरामले फेला परेका छन भन्नेसमेत स.इ.प्रदिपकुमारको स्पष्टीकरण प्रतिवेदन ।
८. ०२१।९।१३ को रात रानिगाउँ भन्ने ठाउँमा अपरिचित मानिसहरूले पुलिस उपर छुरी देखाए भनी ठानेदार समेतले भने उठी त्यस ठाउँमा आउँदा मानिसहरू भागी गए चोर चोर भन्ने हल्ला भई अंधेरो रात हुँदा भाग्ने कता गए थाहा भएन । केहीबेर पछि मानिस पश्चिमपट्टि कराए छन भनी मिल्कीरामले भनेबाट जाँदा ४ जना नालाको बगलमा खडा भएको र १ जना नालामा डुबेका छन् भनेकाले झिकी अस्पताल लगेको हो अरु कुरा जानकारी छैन भन्ने रानीगाउँका र बृटिस केम्पका डिउटीवाला समेतका भनाई रात अवस्था निदाएको हुँदा कुनै कुरा थाहा पाएनौं भन्नेसमेत रानीगाउँ झंडीबजार समेतका मानिसको सर्जमिन मुचुल्का ।
९. डि.वि.थापाको चिठ्ठी बमोजिम ल्याएको रहेछ कि भन्न भा.रु.१५००। को ने.रु.२४०० पोखरा दुकानबाट दिनु भनी इन्द्रपाल सिंलाई चिठ्ठी लेखेको गोरखपुरबाटै ल्याएको थियो भन्ने सुन्दर सिंको भनाई हुँदा चिठ्ठी अनुवाद गरी हेर्दा रु.२४०० पोखरा दुकानबाट दिनु भन्ने लेखेकोले गोरखपुरबाट लगेको भन्ने प्रमाणित हुन आउँदैन । सुनको गहना मिल्कीरामबाट बरामद हुन आएको मिल्कीराम समेत सहमत भई मारेको भए सुन गहना एक्लो मिल्कीरामले लिनपर्ने केही कारण देखिँदैन र साथै पुलिस उपर छुरी देखाई जता पायो उता दगुर्दै जाँदा तारमा परी लुगा फाटेको र भाग्दा अचानक पानीको नालामा परी डुबेको देखिन आएकोले इस्लाम खां नरेन्द्र ओमप्रकाश कृष्ण उपर ज्यान सम्बन्धीको अभियोग लगाई कारवाई चलाउन सबूद नपुग्ने र मिल्कीरामबाट गहना वरामद हुन आएकोले चोरीका १२ नं. बमोजिम कारवाई चलाउने भन्नेसमेत प्रहरी कार्यालयको प्रतिवेदन ।
१०. डाक्टरको पोष्टमार्टम रिपोर्टबाट घाँटीको अवस्था समेतबाट बेहोस भइसकेपछि मात्र पानीमा फालेको भन्ने र निज छटपटिई माटो घाँस उठाएको वा पानी पिई पेट ढाडिएको नदेखिएको, अघिको इबी बदला लिन तारको घेरा पार गरेपछिकै अवस्था पानी नालामा फाली ज्यानमा परिन्छ कि भनी हल्ला गरेको समेत देखिनाले नरेन्द्र समेतका उपर ज्यानसम्बन्धीको अपराधमा कारवाई चलाउनु पर्ने अरु प्रहरी प्रतिवेदन समर्थन भन्नेसमेत असिष्टेण्ट पव्लिक प्रोसिक्युटरको प्रतिवेदन ।
११. भएको सवै कुरा पुलिस कागजमा लेखाइदिएको छु, पानीमा पसेपछि पानी पानी भनी रमेशरले भन्दा भन्दै बोल्न सकेनन्, लडकी बन्दोवस्त गर्ने रिक्सावाल हामीलाई थुनामा राखेको २–३ दिन पछि पकडी ल्याई १ दिन १ रात ठानामा देखेको त्यसपछि छुट्यो वा के भयो देखिन भन्नेसमेत विल्लु भन्ने कृष्णलाल कोहलीको बयान ।
१२. पुलिस कागजमा सवै कुरा लेखी कागज गरिदिएको छु, रमेशरले पानी बहुत है भन्ने शब्द निकाली हात दुवै चलाएको सम्म देखें, अनि दुवै हामी थुनिएको ३–४ दिन वाद हामी थुनिएकै ठाउँमा रिक्सावाला ल्याई १ दिन १ रात राखे त्यसपछि देखिन भन्नेसमेत ओमप्रकाश श्रीवास्तवको बयान ।
१३. रमेशरलाई कसैले मारे मराएको हैन, राती गाउँमा एक रिक्सावालाले लगी २ घरमा हामी बात चित गरिरहेको अवस्था ३ जना पुलिस आई यस टाईममा यसरी डुल्न मनाइ छ भन्न लागे, दुवै घरमा बसेका हामी निस्क्यौं रमेशर विल्लुसँग पुलिस हुँ भन्ने एकजनाले रु.१०।१० देउ नत्र ठानामा जानु पर्छ भने, रु.१० दिन्छौ भन्दा मानेनन्, कृष्णप्रताप नरेन्द्र ओमप्रकाश पनि आएबाट विवाद हुँदा हुँदै अरु गाउँका १०–८ जना मानिस आए रमेशरले पाकेटबाट छुरी झिकी निकाली भागैं भनी आफू समेत भागे हामी पनि भाग्यौं, भाग्न भन्दा अगाडि ठानेदार र २ जवान पुलिस पुगे, चक्कु झिक्ने को हो भनी सोधे, गिरफ्तार गर्न लागे कि भनी हामी भागेका हौं, तारको घेरा पार गर्दै पानीको नालामा परेको हो, सवै कुरा पुलिस कागजमा लेखिदिएको छु, यता आउनु अघिल्लो दिन रमेशरसँग भेट भई पोखरा जादैछु भने, अघि रमेशरले शान्तीनगरमा लडकीहरू पाइन्छ, ऐस आराम गर्न पाईन्छ भनेको सुनेकाले हामी पनि जान्छौं भनी आएको हौं, रमेशरले एक ट्वाँक सराव खाएका थिए, विल्लु बसेको घरमा पुलिस भन्नेले बोलाएका हुन, मारपिट भएन, भाग्दा तारको घेरामा परी रमेशरलाई घाउ लागेको होला, निजलाई कसैले बेहोस पारी पानीमा हालेको होईन । मिल्कीरामसँग गहना बरामद भएकोले रुपैंया भए निजले फेला पारेको हुनु पर्दछ, रिक्सावालालाई १ दिन १ रात थुनेका थिए अनि थाहा भएन, ठुलो दौराहा धार भएको मेरो छुरी मैले नै भिरेको छु, कर्दको छाटको रमेशरको हो, रमेशर र हामी पौडी खेल्न जानेका छैनौ भन्नेसमेत इस्लामको बयान र ततिम्बा ।
१४. चोर भन्ने आवाज सुनें आमा स्वास्नीलाई उठाई त्यहाँ पुगी आउँछु भनी केम्प गेट तिर पुग्दा ठानेदार भानु प्रेमबहादुर बृटिस केम्पको गार्डको मिलिटरी मुखिया भन्ने गुरुङ नयाँ पेन्सनवाला अरु चिनेको २–३ जना समेत थिए, पंजावि समेतले हामीलाई छुरी देखाई ज्यान जोगाई आयौं, म्यौडीहवा चौकीमा खवर दिनु भनेबाट आई चौकीमा भने पछि बचाईए भन्ने शब्द आयो, पुलिसको सोरी मचौ बाटोमा पुगेपछि ठानेदारसमेत भेट भए, कराएको कुरा भन्दा चौकीमा आई लाठी इटा समेत लिई कराएतर्फ गयो, पानीमा भिजेको इस्लाम समेतले मानिस डुबेको छ निकाली दिनु पर्यो भनेकोले डोरी लिई गई इस्लामको कमरमा बाँधी पसाली मर्ने रमेशरलाई पाखा उतारे, घाँटीमा थोर नग्तो थियो, घोप्टो पारी थिचे पानी देखिएन पानीबाट उतार्दा चक्कु थियो, अस्पताल पुगेपछि डि.एस.पी. वकिल समेत आए । नरेन्द्रले ठानेदारको रोहवरमा कपडा खोलेका हुन भन्नेसमेत मिल्कीरामको बयान ।
१५. डि.एस.पी. अफिसमा गरेको कागज सुनें । ठिक छ, रमेशर डुब्दा कुनै कुरा भने चिल्लाएको थिएन, रमेशर डुबे झिक्नु पर्यो भनी ४ जनाले कोशिष गर्यौं, सकेनौं, अनि मानिस आएर रस्सीद्वारा झिकेको हो भन्नेसमेत नरेन्द्र सिं मानको बयान ।
१६. रमेशरले म कहाँ खाना खाएको होईन, निजको मृत्यु के कारणले भयो थाहा छैन भन्नेसमेत हरीहरनाथ पाण्डे यहुक सिंहले ठानेदारलाई मद्दत दिनु पर्यो भनेबाट उठी गएँ, १० गज फरकमा ५–६ जना मानिस भागेको देखें । त्यसपछि मानिस पानीमा डुबेको छ रे भन्ने सुनेबाट गयौ सवै कुरा पुलिस कागजमा लेखिदिएको छु । पानीबाट झिकेको नदेखेको हुँ, कर्तब्य गर्ने यो हो भन्न र यसकारण कर्तब्य गरे भन्ने नदेखेको हुँदा सक्दिन भन्नेसमेत भीमबहादुर ।
१७. जानेको कुरामा सर्जमिनमा लेखाई दिएको छु, ठानेदारले ५–६ जना बदमासले पुलिसलाई छुरी देखाई धम्की दिन्छन्, मद्दत गर्नु भनेबाट भिमबहादुर कर्णबहादुर समेतलाई उठाई गयो, बदमास खोइ भन्दा पश्चिम तर्फ भागे भनेको सुनेको हुँ, सर्जमिनमा भागेको देखेको हुँ भनेको थिइन, भाग्नेको र पुलिसको के कुरामा झगडा भयो भएन हालसम्म सुनेको छैन, पेटबाट पानी नआएकोले कुनै कर्तब्य हो कि भन्ने शंका लाग्छ, नदेखेकाले यसको कर्तव्य हो भन्न सकिन्न, सवै कुरा मैले देखेको छु भनी सुनार केटाले भनेको सुनेकाले निजलाई थाहा होला भन्नेसमेत माष्टर भन्ने मुखिया, पदम सिं गरुङ, बातचित गरी बसेको टाइममा १ जना पुलिस भन्नेलाई ढोका घच्घच्याई पंजावी भन्नेसमेत ३ जना निस्के छानामा जानु पर्छ भन्ने पुलिसले हप्काउन लागेकोले अर्को घरमा बसेको मानिससमेत निस्के धेरैबेर भन्दा पनि ठाना जानै पर्छ भन्ने पुलिस साथमा पंजावीले बाद विवाद गर्दै गएकोले झगडा पर्छ भन्ने डरले म आफ्नु घरमा सुती निदाएँ । भोलिपल्ट बिहान उठ्दा पंजावी पानीमा डुबी मरेछ भन्ने सुनें । पुलिसहरूले रुपैंया मागेको सुनेन भन्नेसमेत बर्ष १२ को छविलाल सुनारको बयान ।
१८. भएको कुरा पुलिस रिपोर्टमा लखेकै छ, हामीहरूले हप्की दप्की गरेको र रु.१० को दरले दिए छाड्छौं नत्र छाड्दैनौ भनेको होईन, मर्नेले रक्सी खाएको थियो थिएन म जान्दिन । बाहिर डुली रहेका थिए । घर भित्रबाट निकालेको होइन । मलाई नै चक्कु निकाली घेरामा पारी रोप्न लागेको दैव चानस मानिस जुटिएकोले निजहरू भागी गएका हुन् भन्नेसमेत कंं. भानुप्रतापको बयान ।
१९. पुलिस रिपोर्टमा ठानेदारले टर्चलाईट बाली हेर्दा आधा जिउ भिजेको ४ जना देखी सोधेका हुन भन्ने सुनेको रुपैंया मागेको र झगडा भएको थाहा छैन म गश्ती गएको छैन एक्लै हुनाले चौकीमै थिएँ भन्नेसमेत कं.किसोरी नाउको बयान ।
२०. झली रहेका मानिस देखेको हो जाउँ हेरी आउँ भनी स.ई.ले भन्यो । म र भानुप्रताप गयौं । तपाईहरू को हो भनी सोद्धा भैरहवा हेर्न आएको भने, तपाईहरू डि.एस.पी. अफिस जानु पर्छ भन्दा मलाई २ जनाले हातमा समाई चक्कु देखाए, अरुले भानुप्रतापलाई १–२ थप्पड हानी हल्ला खल्ला भयो, म फुत्की आई सवै विवरण स.ई.लाई बताएँ चोर भन्ने हल्ला भयो । मिल्कीरामले १ जना मानिस पानीमा डुबे भनी कराएका छन् भने हामी समेत गई डोरी मगाई झिकी अस्पताल पुर्यायौं, डाक्टरले पानीमा डुबी मरेको भनी लेखिदिए । हामीले डर त्रास देखाएको समेत होईन । मर्नेलाई निजका साक्षीहरूले कुटेको होइन । पानीमा डुबी मरेको हो भन्नेसमेत कं.प्रेमबहादुरको बयान ।
२१. दिउँसो खाना खाई गएको हो भन्ने रत्नवीर खड्का मेरो होटेलमा ३ पटकसम्म आई चिया खाई गएका हुन भोलिपल्ट डुबी मरेको भन्ने सुनी दिव्ये होटेलका दिकबहादुर दिवान मेरो घरबाट १५० गज फरक घरमा रमेशर समेत आई रक्सी खाई बसेको अवस्था स.ई. र पुलिस आए, बादविवाद हुँदा लडकाहरूले चक्कु देखाई भागी गए। गाउँले मद्दत लिई चोर भन्दै गई फर्के भन्ने सम्म भोलिपल्ट सुने भन्ने प्रेमबहादुर । कर्तव्य गरी मारेको शंका लाग्छ भन्ने पं.स.रत्नबहादुर गुरुङ समेतको अदालतबाट भएको सर्जमिन मुचुल्का ।
२२. मिल्कीरामले पेट अठ्याउँदा पानी छैन भनेको र निजले रिक्सामा समाई ल्याएको हो, के भई मरे यकिन भन्न सक्तिन भन्ने भिमबहादुर गुरुङ, पेटमा पानी नभएको कारणबाट उसकै साथमा भएका मानिसहरूको कर्तव्य हो कि भन्ने मसित शंका लाग्छ भन्ने पदम सिंह । के भई मरे थाहाछैन भन्नेसमेत अरुको वि. अदालतबाट बुझिएको समेत मुचुल्का ।
२३. प्रतिवादी मध्ये विदेशी कृष्णप्रताप फरार भई बसेको ।
२४. यसमा बुझिएसम्म मिसिल प्रमाण परिवन्दबाट मर्ने रमेश्वर सिंको जहाँ लास पाईएको हो सो ठाउँबाट १००० गज फरक रानी गाउँ, नयाँ गाउँ, जहाँ रक्सी रमाई ठिटीहरूका साथ गफ गरी मर्ने र प्र.हरू समेत बसी रहेका सो ठाउँमा प्रहरीसँग वादविवाद भई मर्ने व्यक्ति समेत प्र.हरू भागी १००० गज परसम्म दौडदै आई पानीको नालामा अकस्मात खसेको निज मर्ने रमेशर पौडन जान्ने भनी निजको बाबुले जिकिर गरेको । पानीको नाला २३ फुट २ इन्च चौडा ५ फुट १० इन्च गहिरो भन्ने मौका सर्जमिनबाटै देखिएको । मर्ने र प्र.हरू हात समाता समात गरेको भए वारपार पुग्न सक्ने बीचको गहिराई ३ फुट १० इन्च भई मर्ने व्यक्तिको नाप भन्दा ३।। इन्चीमात्र बढ्ता भएकोले १ पटक पानीमा हतास भई यताउता गर्दा आफु डुब्ने ठाउँमा मर्ने व्यक्ति पुग्न आउनेमा सो केही हुन नसकेको पानीमा डुब्दा नालाको झारपात, माटो, हिलो जहाँ पाए पनि आधार लिन समाउन कोसिस गरेको हुन पर्नेमा लासको नङ्गमा हिलो माटी केही नभएको पानीबाट झिकेको मौकैमा लासको पेट थिच्दा पानी ननिस्केको सो लास पानीमा घोप्टे पाईएको नालाको किनारमा घाँस झारहरू माडिए धसिएको भन्ने पनि मौका तहकिकातबाट देखिएको लास पोष्टमार्टम फारामबाट लासमा ठाउँ ठाउँमा घा खतहरू देखिएको पेट र आन्द्राहरू कुनै द्रव बग्ने पदार्थ नभएको स्वासको नलीमा पानी द्रव पदार्थ भएकोले पानीमा अकस्मात डुबी मरेको वा आत्महत्या गरेको समेत होईन । रिड मेरुदण्डमा र निधारमा परेको चोटबाट बेहोस मुर्छा भएका बखत पानीमा फाली दिंदा बेहोस अवस्थामा पानी निल्न नसकेकोले पेट आन्द्रामा पानी प्रवेस नभएको, बेहोस अवस्थामा स्वास लिन सक्ने हुँदा स्वासको नलीमा पानी प्रवेस भई मृत्यु भएको देखिन्छ भन्ने डाक्टरले जाँचेको विवरण र राय लेखेकोले निज मर्ने रमेशर सिं कर्तव्य परी मरेका, मर्ने रमेशरलाई कस्ले के कारणले कर्तव्य गरी मारेको भन्ने हकमा निज रमेशर आफ्नो पोखराको गरगहनाको दोकानमा जान भनी आएको साथमा सुनको गरगहना सहित सम्पत्ति ल्याएकोमा निज साथै भैरहवा बुटवलसम्म डुल्न भनी इस्लाम खां आएको र अरु प्र.हरू दिउँसोको रेलमा आएका, मर्ने रमेशर र इस्लाम सरासर उसबखतको विमानघाट शान्तीनगर गई टिकट नपाएकोले विन्देश्वरी होटल शान्तीनगरमै बसेका डुल्न जाँउ भनी इस्लाम र रमेशर पकलीहवा आउँदा प्र नरेन्द्रप्रताप ओमप्रकास बिल्लु भन्ने कृष्णप्रताप समेत भेट हुन आई रमेशर बाहेक अरु प्रतिवादी भैरहवातर्फ आउने खास काम कुनै बताउन नसकेको, डुल्ने हेर्ने सस्तो माल पाए किन्ने, जाडो समयमा घुम फिर आउनेसँग ओडने सम्म हुनुपर्ने नभएको र माल किन्ने भनेको तर रुपैंया पैसा कुनैसँग नभएकोले निजहरू आवारा किसिमसँग आई मर्नेको साथमा धोकाबाजी गर्ने पूर्वयोजना रची आएको गोरखपुरबाट आउने बाहेक पकलीहवा झडिनगर बजारमा औषधी दोकान गरी बस्ने प्र.मिल्कीराम पनि पानीमा डुबेको भनिएको ठाउँमा तत्काल पुगी उपचार र कल्याणकारी काम गर्ने बहाना गरी मर्नेका साथको सुन गहनाहरू हात पारेको अस्पतालमा लासबाट खसे पाएको भनी निजले लेखेको तर अस्पतालमा लासबाट खसेको भए अरुले पनि देख्न सक्ने र अस्पतालमा लासबाट कागजको पोको खसेको देख्दैमा सो पोका भित्र के छ, सुरुक्क लिई लुकाउने अवस्था पर्न नआई तुरुन्त देखाउने अवस्था पर्न आउने र राती ११।१२ बजेको टायममा घटनास्थलमा प्र.मिल्कीराम उपस्थित भएको र पानीमा डुब्यो भन्ने हल्ला हुनुभन्दा अगावै रानी गाउँ नयाँ गाउँ जुन ठाउँबाट मर्ने रमेशर र अरु प्रतिवादी पश्चिम दक्षिण हुदै भागी दौडी जान्छन सो ठाउँबाट दक्षिण तर्फ मिल्कीराम साइकल चढी आएको पकलीहवा बृटिस केम्पको पालेले देखेको भन्ने लेखेको मिल्कीराम यस घटनामा पहिले देखि नै प्र.हरूसँग सहमत भएको र प्र.हरूले सहमतमा लिएको अरू प्रतिवादीहरू मार्नेका साथ घुमफिर गरेका र रक्सी खाने ठाउँ ठिटीहरूसँग गफ गरी बसेकाले अरु प्र.हरू उपर कुनै शंका भई तलासी हुँदा धनमाल निस्कन सक्छ र मुद्दामा फसिन्छ भनी अरु प्रतिवादीले आफ्नो पत्यारको मानिस मिल्कीरामलाई बीचमा राखेका र निजबाट मर्नेको सुनहरू वारदात गरी लिए राखेको वारमद भएको हुँदा प्र.हरू रमेशरका साथको सम्पति हात पार्ने उद्देश्यले नै गोरखपुरबाट आएका र रानी गाँउ नयाँ गाउँमा ठिटीहरू कहाँ गई रक्सी खाइरहँदा बस्दा कुनै चानसमा रमेशरको सम्पत्ति हात पार्ने विचार भए पनि प्रहरी चानसबस् पुगी दिएबाट सो हुन नपाई ताहाँबाट भागी भगाई सोझो बाटो पकलीहवा झंडीनगर बजार तर्फ नगै खेत खेत गएको र चोर चोर भन्ने आवाज आएको पानीको नालाको किनारामा झार घाँसहरू माडिए धस्सिएको ठाउँमा मर्ने उपर बलत्कार, सम्पत्ति अपहरण गर्ने काम भएछ र मर्ने रमेशरले चोर चोर भनी आवाज गर्नुपर्ने कारण पर्न आएको भन्ने मिल्छ र चोर चोर भन्ने हल्ला हुँदा मानिसहरू जम्मा हुने सम्भव सम्झी प्रतिवादीहरूले आफ्नो चिताएको पुरा गर्न वारदात गरेको रहेछ भन्ने देखियो, प्र.हरू यदि कसूरदार नभए निज मर्ने अवस्था देखि निजका साथमा रही पानीमा लास घोप्टो परेका अवस्थासम्म यो प्रतिवादीहरू साथ रहेका कर्तव्यको अवस्था ठहर्न आएकोमा कर्तव्यको अरु परिवन्द कुनै देखाउन बताउन नसकेका मानिस डुब्यो भनी सर्वप्रथम हल्ला प्रकास गर्ने पनि प्र.हरू नै भएका, निजहरू पानीमा पनि भिजेकाले आफ्नो कसूर छिपाउन पानीमा डुबी आफै मरेको भन्ने भान प्र.हरूले पारेको हुनाले समेत प्रतिवादी इस्लाम खां नरेन्द्रप्रताप ओमप्रताप विल्लु भन्ने कृष्णलाल समेत ४ जवानले मर्ने रमेशरलाई पोष्टमार्टम फाराम बमोजिम कर्तव्य गरी मारेको र मर्नेको साथको सम्पत्ति डाँका गरेको देखियो, मिल्कीरामको हकमा ज्यान वारदातमा सहमत र डाँकामा मतियार भएको ठहर्छ भन्नेसमेत ०२४।७।१४।३ को लुम्विनी विशेष अदालत भैरहवाको जाहेरी फैसला ।
२५. उक्त फैसला उपर चित्त बुझेन भन्ने प्रतिवादीहरूको निम्न व्यहोराको पुनरावेदन ।
२६. कहीले भेटबाट चिन पैचान समेत नभएको मानिसहरूको मुद्दामा मलाई समेत गाभी के कारणबाट मलाई खुनी र डाकू ठहराई म माथि यस्तो अन्याय हुनुको कारण बुझ्न सकिएन, दुधको दुध पानीको पानी गरी सुरुको फैसला बदर गरिपाउँ भन्नेसमेत प्रतिवादी बन्दी मिल्कीराम गुरुङको पुनरावेदन ।
२७. हामीहरूले कर्तव्य गरी मारी नालामा फालेको ठहर गरी हामी निर्दोषहरूलाई जन्मकैदको सजाय दिनु कहाँसम्म अन्याय हो, न्यायकर्ताबाट विवेक विचार रही नभए नगरेको कर्तव्य दोषबाट रिहाई दिई विशेष अदालतको फैसला उल्टाई पाउँ भन्नेसमेत प्रतिवादी बन्दी इस्लाम खां विल्लु भन्ने कृष्णलाल कोहली ओमप्रकास श्रीवास्तव नगेन्द्र सिंहमान समेत ४ को पुनरावेदन ।
२८. यसमा अपरिचित व्यक्ति ५–६ जना प्रसस्त निसा रक्सी खाई ११–११।। बजे रात भाग्ने मध्येका ४ जना पानीले भिजेको लुगा सहित किनारामा खडा भइरहेको यस ठाउँमा पानी छ भन्ने थाहा नभई अध्यारोमा दौडदै आउँदा पानी जमेको पोखरी जस्तो नालामा पर्यो हामी निस्क्यौ १ जना मानिसै डुबेको छ भनेकोले रमेशरलाई झिकी बाहिर उसै बखत डाक्टर जचाउँदा मानिस मरी सक्यो भन्नेसमेत कं.भानुप्रताप मिश्र समेतको बयानबाट देखिएको डरले भाग्ने रमेशर सिंह समेत डण्डा नदीको नालामा परेको मौकामा पुलिस र दण्डा नदीको नालामा पर्ने मर्नेका साथै भागी गएका भिजेका प्रतिवादी इस्लाम खां कृष्णलाल ओमप्रकास नगेन्द्र सिंह समेतले पानीको नालाबाट झिकेका भन्ने भनाई कं.भानुप्रतापलाई उक्त प्रतिवादीहरूले घेरा दिई अरु थप मानिस आएपछि भाग भन्ने र चोर चोर भन्दै पछि लागेको भन्ने पनि पुलिसका बयानमा लेखिएको, मरेको ठाउँ र पुलिसले भागे भनेका ठाउँ १००० गजमात्र फरक भन्ने देखिएको मानिस पछि लाग्दा लाग्दै यिनै ४ जवानले धन सम्पतीको लोभले मारेको भन्न भएन, डाक्टर मिल्कीरामबाट माल पैसा वरामद भएका र सो वारदातमा निज मिल्कीरामको पुलिससँग पनि सम्पर्क रहेको मिसिलबाट देखिनाले निज मिल्कीराम बाहेक अरू इस्लाम खां कृष्णलाल ओमप्रकाश नगेन्द्र सिंह समेतले मर्ने रमेशर सिंह पन्जावीलाई कर्तव्य गरी मार्नु पर्नेसम्मको कुनै रिस इवी परेको र मर्नेको धनमाल इस्लाम खां कृष्णलाल ओमप्रकास नरेन्द्र सिंहबाट वारमद भएको पनि नभई मिल्कीरामसँग वरामद भएको समेत हुनाले कुनै तथ्ययुक्त प्रमाण बेगर इन्कार गर्न इस्लाम खां, कृष्णलाल, ओमप्रकाश, नरेन्द्र सिंह समेतले रमेशरलार्र्ई कर्तव्य गरी मारेको ठहराएको लुम्विनी विशेष अदालत भैरहवाको इन्साफ मिलेको नदेखिएकोले अ.बं.२०२ नं. र स.अ.नियमावली बमोजिम वादी श्री ५ को सरकारलाई छलफलमा झिकाई आए पछि नियमबमोजिम पेश गर्नु भन्ने ०२४।१२।८।५ को डिभिजन बेञ्चको आदेश ।
२९. यसमा भैरहवा कारागारमा थुनामा रही प्रतिवेदन परी पेश हुन आएको पुनरावेदक बन्दी प्रतिवादी इस्लाम खां प्रतिवादी कृष्णलाल कोहनी ओमप्रकास श्रीवास्तव नरेन्द्र सिंह मान समेत ४ को तर्फबाट रहनु भएको विद्वान वरिष्ठ अधिवक्ता श्री देवनाथप्रसाद वर्माले र श्री ५ को सरकारतर्फबाट खटिई आउनु भएको विद्वान अधिवक्ता श्री प्रचण्डराज अनिलले बहस गर्नुभएको प्रस्तुत मुद्दामा सुन्दर सिंह पंजावीको छोरा रमेशर सिंहलाई प्रतिवादीहरूले कर्तव्य गरी मारी पानीमा फाली धनमाल डाँका गरेको हो वा भागी जाँदा आफै पानीमा डुबी मरेको के हो भनी निर्णय गर्नु परेको छ ।
३०. रानिगाँउबाट हतासमा भागेको अवस्थामा तारको घेरामा पार गरी नालामा नपुग्दैको बीचमा कर्तव्य गरी ज्यान मार्न पाउने अवस्था र समय सम्भव नभएकोले इस्लाम खां नरेन्द्र सिंह ओमप्रकास कृष्णलाल उपर कर्तव्य गरी ज्यान मारेको भनी अभियोग लगाई कारवाई चलाउने सबूद पुग्ने देखिँदैन । मिल्कीराम उपर गहना झिकी लिएकोमा चोरीको १ र १२ नं. बमोजिम कारवाई चलाउन पर्ने भनी प्रहरी डि.एस.पी.ले र स्कुलको क्याम्पमा तारको घेरा पार गरेकै अवस्थामा बाहिरी कडा चोट नदेखिने गरी अस्वस्थ अवस्थामा पारी नालामा फाली दिएको र त्यतीकै भागे ज्यानमारामा परिन्छ भन्ने चलाखीले डुबी मरेको बनाउन हल्ला गरेकोबाट ओमप्रकास कृष्णलाल इस्लाम खां उपर ज्यान सम्बन्धीको १ं१३ को ३ अन्तर्गत कारवाई चलाउन पर्ने अरु कुरा पुलिस रिपोर्टमा समर्थन गरी असिस्टेन्ट पव्लिक प्रोसिक्युटरको राय भई गएको अ.प.प्र.को राय सदर गरी अदालतबाट यो मुद्दाको कारावाई चलाएको देखियो ।
३१. मृतक रमेशर सिंको ०२१ साल पौष १३ गते राती १३ फुट २ इन्च चौडा ५ फुट १० इन्च गहिरो पानी भएको दण्डा नालामा घोप्टो परी डुबी रहेको ठाउँबाट झिकी रिक्सामा राखी अस्पतालमा लगी जचाउँदा मृत्यु भइसकेको थाहा भएको भन्ने सर्जमिन तथा प्रहरी प्रतिवेदन समेतबाट देखिन्छ ।
३२. ०२१।९।१४ मा प्रहरी तथा पव्लिक प्रोसिक्यूटर समेत भई सर्जमिनका मानिसको रोहवरमा मृतकको लासको बाहिरी प्रकृति जाँच हुँदा नाक निधार, घुँडा, कम्मर फिलामा खोस्रिएको दाग चोटको निशाना निलो दाग भएको देखिएको र डाक्टरले लास पोष्टमार्टम गर्दा ठाउँ ठाउँमा घाउ खत देखिएको मेरुदण्ड र निधारमा चोट परेको भन्ने लेखिएको उक्त घाउ खतहरूको नाप चोट निसानाहरू साधारण मामुली किसिमका घाउ मात्र भई तत्कालै ज्यान मर्नेसम्मको जोखिमी हतियारको ठुलो घा खत देखिन आएन ।
३३. पकलीहवा रानी गाँउमा रातको बखत लडकीहरूसँग बातचित गरेको ठाउँमा प्रहरी जवानसँग भएको विवादको कारणले चोर चोर भन्ने हल्ला भई भागी जाँदा बाटोमा काँटादार तारको घेरा पार गर्दा अल्झी कोरिएको घाउ खत हो भन्ने प्रतिवादीहरूको भनाई भएको र मृतकको आङ्गमा लगाएको पाईन्टमा र कोट ठाउँ ठाउँमा खुम्चो परी ११।।२ इन्च लम्वा चौडा च्यातिएको भन्ने २१।९।१४। को मुचुल्कामा लेखिएको हुँदा काँटावाल तारले नै च्यातिएको भन्ने कुरा मिल्न आएको मौका तहकिकातमा नभएको नक्सामा रानी गाउँ नयाँ गाउँ र लास फेला परेको दण्डा नालाको बीचमा पर्ने पकलीहवा स्कुललाई तारले घेरिएको भन्ने जनिएको घाउ खतको आकार पनि काँढावाल तारमा अल्झी कोरिदा पर्ने किसिमको मात्र देखिन आउँछ ।
३४. प्रहरीले जवरजस्ती पकडी ल्याउन खोजेकोले रमेशरले चक्कुले मार्छु भनी कराउदै भाग भाग भनी आफू पनि भागेकोले हामी समेत पश्मि तर्फ भाग्दै हताससँग पस्दा गहिरो पानीको नालामा पर्न गई रमेशर सिंले आवाज दिएको सुन्नासाथ हामी ४ जना घाँटीसम्म पानी भएको ठाउँबाट फर्क्यौ, रमेशर सिं पानीबाट फर्कन सकेन पानीमा मानिस डुब्यो भनी कराउँदा आइपुगेको मद्दतबाट डोरी मगाई इस्लामको कमरमा बाँधी पानी भित्र गई खोज्दा डुबी रहेको रमेशर सिंलाई बाहिर निकालेको हो भन्ने प्रतिवादी इस्लाम खां नरेन्द्र सिं कृष्णलाल ओमप्रकासहरूको भनाई छ ।
३५. प्रहरी स.ई.प्रदिपकुमार कं.भानुप्रताप समेतको प्रतिवेदनमा पनि मानिस कराएको आवाज दण्डा नाला तर्फ सुनिन्छ भनी मिल्कीरामले भनेबाट सो ठाउँमा जाँदा ४ जना पानीले भिजेको लुगा सहित किनारामा उभिई यस ठाउँमा पानी छ भन्ने थाहा नभई अध्यारोमा दौडदै आउँदा नालामा पर्यो हामी ४ जना निस्क्यौ १ जना पानीमै छ १ जना कता भाग्यो भनेकाले डोरी मगाई इस्लामको कमरमा बाँधी बाहिरबाट १ छेउ समाई नालामा पसी खोज्न लगाउँदा पानीमा डुबेकोलाई निकालेको हो भनी लेखिएको अनुसार रानी गाउँका सर्जमिन र वृटिस क्याम्पमा डिउटी गरिरहेका पालेहरू तथा भानुप्रताप मिश्र इश्वरीलाल प्रेमबहादुर समेतले लेखिदिएकोबाट यिनै प्रतिवादीहरूले कराई मानिस जम्मा गरी आफै मध्ये १ जना डोरी बाँधी पानीमा पसी लास पत्ता लगाई झिकी ल्याएको र आफुहरू पनि पानीले भिजिरहेको मौकामा देख्नेहरूको भनाईबाट देखिन आएको छ ।
३६. धनको लालचमा वा पहिलेको इवी समेत कुनै कारणबाट आफुहरूले रातको अवस्थामा मारी पानीमा फाली दिएको भए आफुहरु नै गुहार पुकारी मानिस जम्मा गरी लास खोजी झिकी आफ्नु कसूर अपराध प्रकट हुने गरी सोही ठाउँमा आफुहरू भिजेको कपडा लगाई बसी रहने सम्भव देखिँदैन ।
३७. मेरुदण्डमा र निधारमा परेको चोटबाट बेहोस मुर्छा भएको बखत पानीमा फाली दिंदा बेहोस अवस्थामा पानी निल्न नसकेकोले पेट आन्द्रामा पानी प्रवेश नभई बेहोस अवस्थामा श्वास लिन सक्ने हुँदा श्वाशको नलीमा पानी प्रवेश भई मृत्यु भएको देखिन्छ भनी डाक्टरले लेखिदिएको भन्ने तर्कको आधारमा प्रतिवादीहरूले कर्तव्य गरी मारी पानीमा फालेको भनी विशेष अदालतले ठहर गरेको छ ।
३८. पोष्टमार्टम गर्ने डाक्टरले मृतकको लासको बाहिरी भित्री अङ्ग प्रत्यङ्गमा जो जस्तो रहे भएको देखिन आउँछ सो सवै तोकिएका ढाँचा फाराममा स्पष्ट उल्लेख गरी त्यसबाट देखिएको आफ्नो राय प्रकट गर्नुपर्ने हो, लासबाट नदेखिएको कुरा जो आफुले अनुमान गरी राय दिएको छ त्यसमा अन्य सबूद प्रमाणबाट अन्यथा देखिन आउँछ भन्ने न्यायकर्ताले सवै तथ्यहरूको विचार गरी मुद्दामा पुरा तवरले यथार्थ न्याय गर्नु कर्तव्य हुन आउँछ, मेरुदण्ड तथा निधारको चोटबाट रमेशर सिं मुर्छा भएको बखत पानीमा फाली दिएको भन्ने डाक्टरको राय लेखाई जो छ सो कुरा अरू सबूद प्रमाणबाट नदेखिएकोले अनुमानकै राय लेख मान्नु पर्छ ।
३९. रक्सी खाई चुर भई ठिटीहरूसँग वातचित गरेका बखत प्रहरी जवानसँग विवाद भई भागी जाँदा अध्यारो टायम मानिस डुवाई पानीमा परी डुब्दा एकाएक निसास्सिई श्वास बन्द भई मृत्यु भएको हो, पानीमा डुबी मर्ने सवैको पेटबाट पानी आउँछ भन्ने कुनै निश्चित सिद्धान्त छैन, घोप्टो परी पानीमा नाक मुख मात्र डुबेको छ भन्न १ह् २ फुट मात्र पानी छ भने मानिसको मृत्यु हुन सक्छ । मुख धुँदा कोपराको पानीमा घोप्टी नाक मुख डुबेकाको पनि मृत्यु भएको उदाहरण पाईएको छ भनी पुनरावेदक पक्षका विद्वान वकिलले बहस गर्नु भएको जवाफमा विद्वान सरकारी अधिवक्ताले यो घटना त्यती थौरै पानी मात्रमा भएको छैन, एकपटक डुबेकै भए पनि प्राण जानु अघि आधार खोजी वरपर लाग्ने, केही पर पुगेर डुब्ने, थोरै पानी भएको ठाउँमा आउने अथवा जमिनको आधार लिंदा हिलो माटो हात मुठी नङ्गहरूमा लागेको हुनुपर्ने पेट थिच्दा पानी मुखबाट निस्कनू पर्ने सो नभएकोले डुबी मरेको प्रकृती छैन । मारी फालेको भन्ने लासको अवस्थाबाट देखिएकै छ भन्नु भयो ।
४०. डाक्टरको भनाईमा बेहोस अवस्थामा पानी निल्न नसकेकोले पेट आन्द्रामा पानी प्रवेश नभएको बेहोस अवस्थामा श्वास लिन सक्ने हुँदा श्वासको नलीमा पानी प्रवेश भई मृत्यु भएको हो भन्ने लेखिएको भएपछि रक्सी खाई चुर भएका बखत अत्यासमा भागी आउँदा अकस्मात मानिस डुबाउ गहिरो पानीमा घोप्टो पर्न जाँदा बेहोस भई पानी निल्न नसकी श्वासको नलीमा पानी प्रबेश भई मृत्यु भएको रहेछ भनी भन्नु पर्ने देखिन आउँछ ।
४१. कृष्णलालले अघि माहिलो छोराउपर गोली फायर गरेको बिल्लुको भाइले रिक्सावाला समेतलाई गोली लगाएको बिल्लुसँग सतर्क रहन्थ्यो, छोरा रमेशर सिंले रुपैंया गहना लिई पोखरा जाने कुरा सुनाएको हुनुपर्छ । मौका मिलाई हात पार्ने षडयन्त्र गरी पानीमा डुबी मरेको देखाउन प्रमाण खडा गरेको हो । रानीगाउँबाट भागे पछि निजै गुण्डाहरूले नगदी गहना खोसी निजैहरूले मारी पानीमा फालेका या पानीमा ढकेली कर्तव्यद्वारा मारेको शंका लाग्छ भनी मर्नेको बाबु सुन्दर सिंले शंका देखाई बयान गरे पनि त्यस कुराको पुष्ट्याई प्रमाण दिनसकेको देखिँदैन । ओमप्रकास र इस्लाम खां छोराको साथमा घरमा आउने जाने गर्ने भनेको निजहरू उपर कुनै रिसइवी नदेखाएको इस्लाम खां ओमप्रकास र कृष्णलाल गोरखपुर कलेजमा पढ्ने विद्यार्थी र अरू ३ जना बिजनेसमेन हुन, कलेज छुट्टी हुँदा घुम्ने इच्छाले रमेशर सिं पोखरा जान आउँदा हामी भैरहवासम्म घुम्न आएको हो, रिक्सावालाले ठिटीहरूका घरमा लगी दिएको, म बाहेक ५ जनाले रक्सी पिएका थिएँ १ जनाको घरमा रमेशर बिल्लु इस्लाम र म अर्को घरमा नरेन्द्र ओमप्रकाश कृष्णप्रताप थियो, एक घरमा २ लड्की आर्को घरमा १ लडकी थिईन । बात चित गरी पिसाव फेर्न बाहिर निस्कदा राती घुम्ने को हो भने, परदेशी हुँ बस्ने ठाउँ बताई देउ भन्दा ठानामा ठाउँ छ भने, माफ देउ भन्दा फि जवान रु.१० दरले दिए छोडी दिन्छौ भन्दै जवरजस्ती पक्री ल्याउन खोज्दा रमेशर सिंले चक्कुसमेत देखाई भागेका हुँ भन्ने प्रतिवादी इस्लाम खां समेतको बयान छ, निजहरू चोरी डकैती गरी हिंडने खराव पेशाका बदनामी मानिस हुन् भन्ने सुन्दर सिं समेतको लेखाईबाट देखिँदैन । निजहरूको उमेर अवस्था पनि इस्लाम खां २२ बर्ष बिल्लु भन्ने कृष्णलाल २० बर्ष ओमप्रकाश श्रीवास्तव १७ बर्ष नरेन्द्र सिं मान २२ बर्षको घुमफिर हाँस ख्याल गर्ने उमेरका मानिसहरू देखिन्छन्, प्रहरीसँग विवाद भई भागी गएको ठाउँबाट रमेशरको लास पाइएको ठाउँ दण्डा नाला एकहजार गज मात्र फरक र चोर चोर भन्ने हल्ला गरी निजहरुलाई पक्रिन मानिस पछि लाग्दा लाग्दै त्यतिकै बीचमा धन सम्पत्ति हात पार्न कुनै तरिका गरी मारी पानीमा फाल्न भ्याउने मौका टायमले नपुग्ने र रातको अवस्था मानिस जम्मा गरी लास खोजी पत्ता लगाउने काम गरेको ठाउँमा वरपर घाँसहरू माडिन सक्ने हुँदा कुटपिट वारदात गर्दा घाँस माडिएको हो भन्ने अनुमान लगाउन पनि मिल्ने देखिँदैन ।
४२. अतः निज मर्ने रमेशर सिंलाई प्रतिवादीहरूले कर्तव्य गरी मारी पानीमा फाली धनमाल डाँका गरेको ठहर्दैन, अध्यारो रातको टायममा भाग्दा पानीको नालामा परी रमेशर सिं आफै डुबी मरेको ठहर्छ । मर्नेको बाबु सुन्दर सिंले बयान गर्दा नगदी रु.१९००। र सुनको गहनासमेत गरी जम्मा रु.६०८४।१३ को धनमाल गायव भएको छ भन्ने लेखेकोमा रमेशर सिंको साथमा रहेको चिठ्ठी व्यहोराबाट सुन्दर सिंको भनाई अनुसार नगदी पठाएको नदेखिएको मिल्कीरामको घर खानतलास हुँदा निजको श्रीमतीले कानमा लगाएको सुनको रिङ्ग सुन्दर सिंको जाहेरीमा मिल्न आएको र सुनको एकजोर रिङ्ग एकजोर सिक्रीसमेतको झुमक एकजोर बालासमेत लिएमा निज मिल्कीराम साविती भएको सो धनमाल कतै जाहेर प्रकास नगरी आफुले लिई लुकाई विक्री गर्ने र आफ्नु स्वास्नीलार्ई लगाउन दिएकोले मर्ने रमेशर सिंका साथमा रहेको बिगो रु.३०५५ को धनमाल प्रतिवादी मिल्कीरामले पहिलो पटक पारी चोरी गरेको ठहर्छ, डाँका गरेको ठहर्दैन, प्रतिवादीहरूले कर्तव्य गरी मारी डाँका गरेको ठहराएको लुम्विनी विशेष अदालत भैरहवाको जाहेरी फैसलामा यो बेञ्च सहमत भएन । अरु तपसीलका कुरामा तपसीलबमोजिम गर्न लगत दिन जानकारी निमित्त फैसलाको प्रतिलिपि १ महान्यायाधीवक्ताको कार्यालयमा पठाई नियमबमोजिम मिसिल बुझाई दिनु ।
तपसील
देहायका प्रतिवादीहरूकै निजहरूले अपराधगरेको नठहरी सफाईपाएको हुँदा लु.वि.अ. भैरहवाका ०२४।७।१४।३ का फैसलाले ज्यानसम्बन्धीको १३ नं. को ३ दफाबमोजिम जन्मकैद गर्नेगरेको सो नलाग्ने हुँदा लगतकाटी निजहरूलाई थुनाबाट छाडी दिनु भनी रुपन्देही जिल्ला अदालतलाई लेखी पठाउन का.श्रे.अ.त. मा लगतदिनु......................१
इस्लाम खां १ नरेन्द्र सिंमान १ ओमप्रकाश श्रीवास्तव १ विल्लु भन्ने कृष्णलाल कोहली २
प्रतिवादी मिल्कीराम गुरुङ के रु.३०५५ को धनमाल पहिलापटक पारी चोरी गरेका ठहरेकोले चोरीका १२ नं. ले बिगो बमोजिम रु.३०५५। जरिबाना र कैद मिहिना ।१ एक हुन्छ निज ०२१।१०।४ देखि कारागार भैरहवामा थुनिएको देखिंदा कैद कट्टि मिन्हा दिई बाँकीमा कानूनबमोजिम गर्नु लुम्विनी विशेष अदालतको ०२४।७।२४।३ का फैसलाले निजलाई जरीवान रु.४५७७।५० कैद बर्ष ११। समेत गर्ने गरेको हाल नलागने हुँदा त्यसको लगत काटी दिनु निजबाट सुन्दर सिंलाई भराउने गरेको बिगोको सुरु फैसलाको लगत कायम राखी भराई दिनु भनी ऐ........२
प्रतिवादी कृष्णप्रताप फेला परेमा कारवाई गर्ने भन िमुलतवि राखेकोमा सो बमोजिम गर्नु परेन....................३
मुद्दा उल्टोमा देहाएको व्यक्तिको रिकर्ड राख्नु भनी स.अ. जनरल विभागमा सूचना गर्नु............................४
लुम्विनी अञ्चलाधीश श्री तेजबहादुर प्रसाई १ लुम्विनी अञ्चल न्यायाधीश श्री झपट सिं रावल १ रुपन्देही जिल्ला न्यायाधीश श्री उदयमान श्रेष्ठ १
यो फैसला भएको जनाउ पुनरावेदकहरूलाई र मर्ने रमेशर सिंको बाबु सुन्दर सिं समेतलाई दिनु..................५
इति सम्वत् २०२५ साल जेष्ठ २७ गते रोज १ शुभम् ।