निर्णय नं. ५२३ - सम्बन्ध बिच्छेद

निर्णय नं. ५२३ ने.का.प. २०२६
फुल बेञ्च
का.मु.प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट
न्यायाधीश श्री वासुदेव शर्मा
न्यायाधीश श्री रङ्गनाथ उप्रेती
सम्वत् २०२५ सालको फौ.फु.नं. २९
पुनरावेदक : का.जि.टंगाल बस्ने भैरवप्रसाद श्रेष्ठ
विरुद्ध
विपक्षी : का.जि. त्रिपुरेश्वर बस्ने बद्रीमाया श्रेष्ठनी
मुद्दा : सम्बन्ध बिच्छेद
(१) न्याय प्रशासन विविध व्यवस्था (संशोधन) ऐन, २०२१ को दफा ८–सम्बन्ध बिच्छेद मुद्दा हदमुनिकै भई सर्वोच्च अदालतमा पुनरावेदन नलाग्ने ।
न्याय प्रशासन विविध व्यवस्था (संशोधन) ऐन, २०२१ को दफा ८ मा यो यो मुद्दामा अञ्चल अदालतले गरेको निर्णयउपर सर्वोच्च अदालतमा पुनरावेदन लाग्न सक्छ भनी प्रष्ट उल्लेख गरेको देखिएको सो कक्षा भित्र सम्बन्ध बिच्छेद मुद्दा परेको नदेखिएको । “झगडा परेको वा दावा गरेको बिषयको मोल बिगो पाँचहजार रुपैंया भन्दा बढी भएको मुद्दा मामिला वा मोल बिगो नखुलेको सामूहिक कुलो पानी सामुहिक सन्धीसर्पन गौचर तायदाती नआएको अंश मुद्दा” भन्ने परेको देखिएबाट सम्बन्ध बिच्छेद मुद्दा हदमुनिकै तुल्याउने ऐनको प्रष्ट मनसाय झल्की रहेको देखिएकाले प्रस्तुत मुद्दामा पुनरावेदन लाग्छ वा त्यस्को हक निवेदकलाई प्राप्त छ भन्न नमिल्ने हुनाले पुनरावेदन खारेज गर्ने गरी ०२५।७।१९।२ मा मा.न्या.धनेन्द्रबहादुर सिंह र मा.न्या. श्री बब्बरप्रसाद सिंहका डिभिजन बेञ्चबाट निर्णय भएको मुनासिव छ ।
(प्रकरण नं. ११)
पुनरावेदक तर्फबाट : अधिवक्ता श्री दिनेशमान प्रधान
विपक्षी तर्फबाट : x
उल्लेखित मुद्दा : x
फैसला
का.मु.प्र. न्या. श्री रत्नबहादुर
१. जातको रीत दस्तूर पुर्याई ०१६।१०।२७ गते विवाह गरी ल्याएकी विपक्षी मञ्जुरी बेगर ०२०।२।१५ गते माईति गएको वरावर लिन जाँदा पठाउँदा घर नआएकीले लोग्ने स्वास्नीका १(६) नं.अन्तर्गत जाहेर गर्न आएको छु, ०२३ सालको सिठी सम्म लगातार ३ बर्ष बितिसके । मेरो मञ्जुर बेगर मलाई छोडी माईति गइबसेकी हुनाले लोग्ने स्वास्नीका १(१) अन्तर्गत सम्बन्ध बिच्छेद गराइदिनु भन्ने आदेश पाउँ भन्नेसमेत ०२३।३।६।२ को भैरबप्रसाद श्रेष्ठको निवेदनपत्र ।
२. साल महिना थाहा भएन, आमा विरामी हुनुहुन्छ भन्ने खवर आएकोले निवेदक पतिसँग विदा लिई माईत गएको त्यसपछि निवेदक बोलाउन नआएकोले २ बर्ष भयो माईतै छु, बोलाउन आए जान्छु, निवेदक जिम्मा राखेको मेरो दाइजो पचाई खानाको नियतबाट झुठ्ठा निवेदन दिएको हो भन्नेसमेत ०२३।४।३१।२ को बद्रीमायाको बयान ।
३. सम्बन्ध बिच्छेद गर्न मञ्जुर छैन भन्ने प्रतिवादीको जिकिर नभई बोलाउन आए जान्छु भन्ने जिकिर लेखेको वादीका साक्षीले बोलाउन गएको भन्ने बकेको ३ बर्ष पुगेको भन्ने हुनाले लोग्ने स्वास्नीका १(११) बमोजिम यी वादी प्रतिवादीको विवाहिता दाम्पत्य लोग्ने स्वास्नीको सम्बन्ध बिच्छेद गरी दिने ठहर्छ भन्नेसमेत काठमाडौ जिल्ला अदालतको ०२३।१२।१३।१ को फैसला ।
४. यस्तो युवा युवती अवस्थामा विना कसूरले सम्बन्ध बिच्छेद गर्नुभएको सारै अनुचित हुँदा उक्त इन्साफमा चित बुझेन भन्ने र सम्बन्ध बिच्छेद नहुने गरिपाउँ भन्नेसमेत ०२४।१।६।४ को बद्रीमायाको पुनरावेदन ।
५. सम्बन्ध बिच्छेद गर्न प्रतिवादी बद्रीमायाको मञ्जुर नदेखिएको लगातार ३ बर्ष भन्दा बढी समय लोग्नेलाई छाडी अलग बसेको भन्ने अदालतलाई विश्वासलायक कुनै सबूद वादीतर्फबाट नआएकोले सम्बन्ध बिच्छेद हुन सक्ने देखिँदैन । सुरुको फैसला बदर हुने ठहर्छ भन्नेसमेत ०२४।५।२६।२ को बागमती अञ्चल अदालतको फैसला ।
६. जव दुवै पक्षको मन नै मिल्दैन भने अदालतबाट जवरजस्ती सम्बन्ध बिच्छेद हुँदैन भन्ने फैसला हुँदा आखिर दुवैको जिवन वरवाद हुनु मात्र हो । आज बिसौं शताव्दीको रिकर्डमा मानव जिवनमा जवरजस्तीमा मेल हुनसकेको पाइँदैन । सम्बन्ध बिच्छेद हुनुपर्दछ । उक्त इन्साफमा चित्त बुझेन । सुरुको इन्साफ कायम गरिपाउँ भन्नेसमेत ०२४।६।१५ को भैरवप्रसादको पुनरावेदन ।
७. न्याय प्रशासन (विविध व्यवस्था) ऐन, ०१८ को दफा ८ को ऐ (संशोधन) ऐन, २०२१ को दफा (२) (क) मा झगडा परेको वा दावा गरेको बिषयको मोल बिगो पाँचहजार रुपैंया भन्दा बढी भएको मुद्दा मामिला वा मोल बिगो नखुलेको सामुहिक कुलो पानी सामुहिक सन्धी सर्पन गौचर वा तायदाती नआएको अंश मुद्दा भन्ने लेखिएको छ ।
८. उपरोक्त ऐनमा बिगो नखुलेको भनी लेखेको तात्पर्य त्यस फैसलाबाट यति बिगोमा किनारा हुने भनी अनुमान गर्न नसक्ने हुन्छ, प्रस्तुत सम्बन्ध बिच्छेद मुद्दाबाट स्वास्नीले अंश नपाउने भनी एउटा नतिजा हुन्छ, जसबाट तायदाती नआएको अंश मुद्दाकै सरह हो ।
९. बिगो नखुलेको भन्ने नै उक्त मुद्दामा प्रधान पद र अरु सन्धी सर्पन आदि त्यसैको अर्थ बिस्तृत रुपले बुझाउने हुन, यस्तो तात्पयार्थ लिएमा बिगो नखुलेको जे मा यति बिगोको हारजित भयो भन्न सकिंदैन, त्यस्ता मुद्दामा अञ्चल न्यायाधीश उपर यस अदालतमा पुनरावेदन लाग्ने हुन्छ, प्रस्तुत मुद्दाको अञ्चल अदालतले दिएको म्याद बमोजिम दर्ता भएको पुनरावेदन उपर विचार गर्न बाधा परेको छ, फौ.पु.नं.४७२ मा पुनरावेदक खडगप्रसाद लिम्बु विपक्षी लछीमाया लिम्बुनी भएको सम्बन्ध बिच्छेद मुद्दामा मा.न्या.श्री धनेन्द्रबहादुर मा.न्या.श्री बब्बरप्रसादज्यूका डिभिजन बेञ्चबाट ०२५।७।१९।२ का फैसलाले पुनरावेदन खारेज भएको रहेछ । अतः प्रस्तुत मुद्दामा उक्त डिभिजन बेञ्चका फैसलासँग रुलिङ्ग बाझिएको हुँदा सर्वोच्च अदालत नियमावली, ०२१ को दफा ३३ (ख) अनुसार यो मुद्दा फुल बेञ्चमा पेश गर्नु भन्ने ०२५।७।२९।५ को डिभिजन बेञ्चको फैसला ।
१०. तारिखमा रहेका पुनरावेदक भैरवप्रसाद श्रेष्ठ रोहवरमा रही गत ०२५।१०।१५ गतेमा पेश भई निजतर्फबाट रहेका विद्वान अधिवक्ता श्री दिनेशमान प्रधानले गरेको बहससमेत सुनी आज निर्णय सुनाउने तारिख तोकिई पेश हुन आएको यसमा सर्वप्रथम सम्बन्ध बिच्छेद मुद्दामा पुनरावेदन लाग्ने नलाग्ने के हो भन्ने प्रश्न उपस्थित भएको छ ।
११. त्यसतर्फ विचार गरी हेर्दा कुनै पक्षलाई पुनरावेदन गर्न पाउने हक साधारणतया कानूनद्वारा दिइएको हुनुपर्छ तब मात्र त्यस्तो हक उपलब्ध भएको मानिन्छ यस सिद्धान्त अनुसार प्रस्तुत मुद्दामा कानूनी व्यवस्था के छ भनी हेर्दा न्याय प्रशासन (विविध व्यवस्था) (संशोधन) ऐन, ०२१ को दफा ८ मा यो यो मुद्दामा अञ्चल अदालतले गरेको निर्णय उपर सर्वोच्च अदालतमा पुनरावेदन लाग्न सक्छ भनी प्रष्ट उल्लेख गरेको देखिएको सो कक्षाभित्र सम्बन्ध बिच्छेद मुद्दा परेको नदेखिएको “झगडा परेको वा दावा गरेको बिषयको मोल बिगो पाँचहजार रुपैंया भन्दा बढी भएको मुद्दा मामिला वा मोल नखुलेको सामूहिक कुलो पानी सामूहिक सन्धीसर्पन गौंचर तायदाती नआएको अंश मुद्दा” भन्ने परेको देखिएबाट सम्बन्ध बिच्छेद मुद्दा हदमुनिकै तुल्याउने ऐनको प्रष्ट मनसाय झल्की रहेको देखिएकाले प्रस्तुत मुद्दामा पुनरावेदन लाग्छ वा त्यस्को हक निवेदकलाई प्राप्त छ भन्न नमिल्ने हुनाले पुनरावेदन खारेज गर्ने गरी ०२५।७।१९।२ मा मा.न्या.धनेन्द्रबहादुर सिंह र मा.न्या.बब्बरप्रसाद सिंहका डिभिजन बेञ्चबाट भएकोले मुनासिव छ । प्रस्तुत पुनरावेदन खारेज भएकोले निवेदकलाई केही गर्नु परेन । नियमबमोजिम मिसिल बुझाई दिनु ।
मा.न्या.श्री वाशुदेव
यसमा माथि उल्लेख गरेको रायसँग मेरो पूर्ण सहमति छ ।
मा.न्या.श्री रङ्गनाथ
यसमा माथि उल्लेख गरेको रायसँग मेरो सहमति छ ।
इति सम्वत् ०२५ साल माघ २२ गते रोज ३ शुभम् ।