निर्णय नं. ५०३१ - लेनदेन

निर्णय नं. ५०३१ ने.का.प. २०५२ अङ्क १
पूर्ण इजलास
माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा
माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल
माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
दे.पु.ई.नं. ५०
फैसला मिति : २०५१।११।११।५
मुद्दा : लेनदेन ।
पुनरावेदक/वादी: जिल्ला महोत्तरी जलेश्वर नगरपालिका वडा नं. ६ बस्ने शिवजी शाह सोनार ।
विरुद्ध
प्रत्यर्थी/प्रतिवादी: ऐ.ऐ. वार्ड नं. ७ बस्ने सीताराम ठाकुर ।
प्रतिवादी तर्फबाट पैसा बुझाएको भनी रीतपूर्वकको भरपाई पेश गर्न सकेको देखिँदैन । प्रतिवादीतर्फबाट पेश हुन आएका चिटहरुमा पैसा लिए बुझाएको कुनै कुरा उल्लेख भएको पाइंदैन। रकम र मिति मात्र उल्लेख गरेको कागजलाई भर्पाईको रुपमा मान्यता दिन मिल्न सक्ने स्थिति नदेखिने ।
(प्रकरण नं. १६)
पेश भएका चिटहरु मिति ०३५।९।३ कै तमसुकी रुपैयाको हो भन्ने कुरा कतैबाट यकिन हुन नआएको अवस्थामा अन्दाजको भरमा पेश भएका चिटहरु मिति ०३५।९।३ को तमसुक बमोजिमको रुपैया“ बुझाएकै चिट हो भनी अनुमान गर्न नमिल्ने ।
(प्रकरण नं. १६)
लेनदेन व्यवहारको ५ नं. अनुसार भरपाई गरी खुलाउन पर्ने कुराहरु नखुलेको र प्रतिवादीतर्फबाट पेश भएको चिट (कागज) को आकृतिगत स्वरुपबाट पनि भरपाई भन्न मिल्ने नदेखिंदा पेश भएको उक्त चिटहरु (कागज) कानुनको रीत पुगेको तमसुक फेला नपरी गरिने भरपाईको आन्तरिक र बाह्य लक्षण पनि मौजुदा रहेको नहुँदा शुरु र जनकपुर अञ्चल अदालतको फैसला केही उल्टी गरी तमसुक बमोजिमको पुरै रकम भराई दिने गरेको माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंहको राय मनासिब ठहर्ने ।
(प्रकरण नं. १६)
पुनरावेदक वादी तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी तथा विद्वान अधिवक्ता श्री सुरेन्द्रकुमार महतो
प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री महादेव यादव
अवलम्बित नजीर: ने.का.प. २०३१ पृष्ठ १४१ मा प्रतिपादित सिद्धान्त ।
फैसला
न्या.लक्ष्मणप्रसाद अर्यालः यस अदालत संयुक्त इजलासबाट हेरिँदा मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम निर्णयार्थ पूर्ण इजलासमा पेश गर्नु भन्ने आदेश भए बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :–
२. निज विपक्षीले आफ्नो घर खर्च गर्न निमित्त रु. ३५,०००।– पैंतीस हजार साक्षीहरुको रोहवरमा गनी बुझी लिई सैकडा १० को दरले ब्याज साथ आउने ०३६ साल माघ मसान्तसम्म साँवा ब्याज समेत बुझाउन सकिएन भने मेरो धनमाल जेथाबाट असुल उपर गरी लिनु भनी २०३५ साल पौष ३ गते रोज २ का दिन मलाई कपाली तमसूक लेखी सहिछाप गरी दिएको सक्कल लेखत मसँग छ सो म्यादभित्र साँवा ब्याज बुझाई दिनुस् भनी बारम्बार निज विपक्षीलाई भन्दा निजले बेइमानी चिताई पचाउने मनसाय देखि लेनदेन व्यवहारको २ नं. बमोजिम म्याद भित्र यो नालिश गर्न आएको छु । अतः मेरो तपसिलको साक्षी प्रमाण बुझी लेखत मिति देखि आजसम्म ९ वर्ष ३ महिना १८ दिनको रु. ३५,०००।– सयकडा १० को दरले हुने रु. ३२५४७।६० गरी जम्मा रु. ६७५४७।६० र यसको लाग्ने कोर्ट फी अन्य दस्तुर समेत तथा फैसला मिति देखि बिगो भरी भराउ भएसम्मको ब्याज समेत दिलाई भराई पाउँ भन्ने वादीको फिराद दावी ।
३. वादीले फिरादमा उल्लेख गर्नु भए अनुरुप वादीसँग २०३५।९।३ का दिन मैले ३५,०००।– रुपैयाँ लिएको छैन वादीसँग ०३४ साल पौष महिनामा फिरादमा उल्लेखित रकमलाई कपाली तामसुकको कागज लेखी दिएको थियो वादी एकै पञ्चायतको वासिन्दा भएको र वादीसँग मेरो सम्बन्ध पनि राम्रो भएकोले हातमा रुपैयाँ भएका बखत पटक पटक रुपैयाँ तिर्दै गएकोले ५।६ हजार रुपैयाँ मात्र तिर्न बुझाउन बाँकी थियो पटक पटक लिई बुझेको रुपैयाँको अंक समेत उल्लेख गरी रुपैयाँ जम्मा भनी आफ्नो हस्ताक्षर लेख्नु भएको प्रमाण म सँग छ चिट (टिपोट) अनुसार मिति ०३६।८।३ मा रु. १०००।– मिति ०३६।८।५ मा रु. ७३८०।– मिति ०३६।११।२६ मा रु. २०००।– र मिति ०३७।३।६ मा रु. २८०७०।– रुपैयाँ वादीले मबाट बुझी लिनु भएको पछि बाँकी रुपैयाँ बुझ्ने बुझाउने क्रममा वादीले ३६ प्रतिशतको दरले ब्याज जोडेको र नेपाली मुद्रा बढी मूल्य भएको कारणबाट बाँकी रहन गएको रुपैयाँ बुझाएको छैन वादीको रुपैयाँ पचाउने मेरो उद्देश्य छैन। अतः मेरो साक्षी प्रमाण बुझी अ.बं. ७८ नं. बमोजिम लेखत हेरी सद्दे कीर्ते तर्फ एकिन गर्ने छु । अतः मेरो प्रमाणको साक्षी प्रमाण बुझी वादीको गैर कानुनी दावीबाट फुर्सद दिलाई पाउँ भन्ने प्रतिवादीको प्रतिउत्तर पत्र ।
४. प्रतिवादी सितारामले पाटनरसिपमा मट्टितेलको कारोबार गर्दा पैसाको जरुरी पर्दा पैसा दिने गरेको थिए कहिले बाँकी मेरो पसलमा अरु मानिस भै रहेको बेला वा म नभएको बेला म अरु मानिस सँग रुपैयाँ मगाउँदा चिटमा सही गरी मगाउने गर्द थिएँ यदि प्रतिवादीले मलाई रुपैयाँ बुझाई सकेको भए मैले सोही अनुसारको भरपाई गरी दिने थिएँ साँवा ब्याजको कुनै रकम बुझाएकै छैन ।
५. लेखत सद्दे हो यसमा भएको सही छाप मेरो बाबुको हो रु. ३५,०००।– बुझी कपाली तमसुक गरी दिएको हो सो मध्ये मिति ०३६।८।३ मा रु. १०००।– ०३६।८।५ रु. ७३८०।– ०३६।११।२६ मा रु. २०००।–, ०३७।३।६ मा रु. २८०७०।३६ समेट पटक पटक गरी मैले ३८४५०।३६ वादीलाई बुझाई सकेको छु त्यसको रिपोर्ट वादीले आफ्नो हातले लेखि मलाई दिएको छ भन्ने प्र.वा. यमुनाप्रसाद ठाकुरको बयान ।
६. चिट भनेको उक्त कागजहरु हेर्दा ०३६।८।३ पछि ०३७।३।६ सम्म पटक पटक क्रमिक रुपले मिति र रुपैयाँको उल्लेख नभई कुनैमा आफैं लिएको कुनैमा यति रकम जम्मा भनी लेखिएको देखिन्छ । ०३५ सालमा रुपैयाँ लिनु दिनु गरी तमसुक भई सकेपछि वादीले आफ्नै हस्ताक्षरले प्र.लाई त्यसरी लेखी दिनु पर्ने कुनै अन्य भरपर्दो कारण अवस्था रहेको अभावमा उक्त लेखत तमसुकसँग सम्बन्ध छैन भन्न सकिएन । रजिष्ट्रारबाटै निकालिएको वा काटी पेश गरेको भनी मान्दा पनि वादी प्रतिवादी व्यापारिक कारोबार गर्ने व्यक्ति भएको परिप्रेक्ष्यमा रजिष्ट्रार वा खातामा रहेको वा खाता बमोजिको कुरालाई अन्यथा सम्झन मिलेन । यस कारण ०३५ सालको तमसुक बमोजिमको कुनै पनि रुपैयाँ प्राप्त भएको छैन भन्ने वादीको भनाईसँग सहमत हुन सकिएन । तमसुक भएको मिति ०३५।९।३० देखि मिति ०३६।८।१३ गते मा रु. १०००।– र ७३८०।– मिति ०३६।११।२६ मा रु. २०००।– मिति ०३७।३।६ मा रु. २८०७०।३६ समेत जम्मा रु. ३८४५०।३६ वादीले प्रतिवादीबाट पटक पटक प्राप्त गरी सकेको देखिँदा कानुन बमोजिम सो कटाई सोही बमोजिमको साँवा ब्याज वादीले प्रतिवादीबाट भरी पाउने ठहर्छ भन्ने शुरु महोत्तरी जिल्ला अदालतको मिति ०४६।९।४ को फैसला ।
७. चिटलाई म.जि.अ. ले आफ्नो फैसलाको मूल आधार बनाउनु कानुन प्रतिकूल नै हो उक्त चिट सो लेखत सँग कुनै सम्बन्ध राख्दैन । रुपैयाँ बुझाएको भए सो चिटमा मेरो सहीछाप तथा के बापत जम्मा भएको त्यो पनि उल्लेख हुने थियो तर प्रतिवादीले प्रस्तुत गरेको सो जालसाजी चिटमा उक्त कुराहरु उल्लेख छैन अतः उक्त फैसला बदर वातिल गरी हक इन्साफ प्रदान गरिपाउँ भन्ने वादीको पुनरावेदन जिकिर ।
८. यसमा लेनदेन व्यवहारको ५ नं. को रित पुगेको भरपाईको अभावमा केवल चिट (टुक्रा) कागजमा उल्लेखित टिपोटको आधारमा गरिएको फैसला विचारणीय हुँदा छलफलको निमित्त अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने जनकपुर अञ्चल अदालतको मिति ०४०।२।२० को आदेश ।
९. रुपैयाँ लिनु दिनु गरी तमसुक भए पश्चात प्रतिवादीबाट पटक पटक गरी रुपैयाँ बुझी गरी दिएको भरपाई टिपोटलाई अन्यथा भन्न सकिने अवस्था विद्यमान नदेखिँदा शुरुले लिएको आधार प्रमाण समेतबाट वादी दावीको रुपैयाँ मध्ये प्रतिवादीले पटक पटक बुझाएको रुपैया कट्टा गरी बाँकी रकम भराई दिने ठहर्याएको इन्साफ मनासिब ठहर्छ भन्ने समेत जनकपुर अञ्चल अदालतको मिति २०४७।९।१९ गतेको फैसला ।
१०. प्रतिवादीबाट पेश भएको टिपोट भरपाईलाई वादीले जालसाज हो भन्ने जिकिर लिएकोमा सो कुराको निजले निर्विवाद रुपबाट प्रमाणित गराउन सकेको देखिँदैन । तसर्थ वादी दावा बमोजिमको रुपैयाँ पटक पटक प्रतिवादीले निजलाई बुझाएको कुरा उक्त टिपोट भरपाइबाट समर्थित भैरहेको अवस्थामा यस्मा शुरु जिल्ला अदालतले सबूद प्रमाणको मूल्यांकन गरी गरेको फैसललाई सदर गर्ने गरेको जनकपुर अञ्चल अदालतको फैसलामा निवेदन जिकिर अनुसार न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(४) को खण्ड (ख)(ग) र (घ) समेतको कुनै पनि कानुनी त्रुटि विद्यमान भएको नदेखिँदा पुनरावेदनको अनुमति प्रदान गर्न मिलेन भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०४७।१२।१३ को आदेश ।
११. मध्यमाञ्चल क्षेत्रीय अदालतको आदेशमा लेनदेन व्यवहारको ५ नं. प्रमाण ऐनको दफा ३ र ५४ को गलत परिपालना र व्याख्या तथा न्याय प्रशासन सुधार ऐनको दफा १३(५) को खण्ड (ख) र (ग) को प्रश्नहरु समाविष्ट भएको हुँदा सोही ऐनको दफा १३(७) बमोजिम पुनरावेदनको अनुमति प्रदान गरी यस निवेदनलाई पुनरावेदनमा दर्ता गरी पाउँ भन्ने समेत वादी शिवजी शाह सोनारको यस अदालतमा पर्न आएको अनुमति पाउँ भन्ने निवेदन ।
१२. यसमा शुरु र अञ्चल अदालतबाट भएको फैसला उपर परेको पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा म.क्षे.अ.बाट मिति २०४७।१२।१३ गतेमा अनुमति नहुने भन्ने आदेशमा लेनदेन व्यवहारको ५ नं. को त्रुटि भएको हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदकको निवेदनपत्र देखियो । शुरु र अञ्चल अदालतको सदर गरेको म.क्षे.अ. को आदेशमा प्रतिवादीले पेश नगरेको टिपोट भर्पाईबाट वादीलाई प्रतिवादीले पटक पटक गरी रकम बुझाई सकेको हुँदा सो कटाई बाँकी मात्र प्रतिवादीबाट वादीले भरी पाउने ठहर्छ भन्ने फैसला उपर अनुमति नहुने आदेश भएको पाइयो। उक्त प्रतिवादीले पेश गरेको उक्त टिपोट (भरपाई) हरु मुलुकी ऐन लेनदेन व्यवहारको ५ नं. को रीत पूर्वक भएको देखिएन । तसर्थ म.क्षे.अ.बाट भएको आदेशमा लेनदेन व्यवहारको ५ नं. को त्रुटि गरी भएको देखिँदा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) को अवस्था विद्यमान देखिएकोले पुनरावेदनको अनुमति प्रदान गरिएको छ । नियम बमोजिम गरी पेश गर्नु भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति ०५०।६।६ गतेको आदेश ।
१३. वादी दावी बमोजिम तमसुकको साँवा ब्याज बुझाएको प्रमाणित नभएपछि दावी अनुसार मिति ०३५।९।३ को तमसुक बमोजिमको रकम र त्यसको सयकडा १० प्रतिशत ब्याज पाउने भएकोले लेनदेन व्यवहारको ७ नं. अनुसार साँवा रु. ३५,०००।– र साँवा बराबरको ब्याज रु. ३५,०००।– समेत जम्मा रु. ७०,०००।– (सत्तरीहजार) प्रतिवादीबाट भरी पाउने ठहर्छ । वादी दावीको रुपैयाँ मध्ये प्रतिवादीले पटक पटक बुझाएको रुपैयाँ कट्टी गरी बाँकी रकम भराई दिने ठहर्याएको शुरुको इन्साफ मनासिब ठहर्याएको जनकपुर अञ्चल अदालतको फैसला र सो उपर अनुमति प्रदान नगर्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको आदेश समेत मनासिब ठहर्याएको सहयोगी माननीइ न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठको राय सँग मेरो सहमती नहुँदा सर्वोच्च अदालत नियमावली, ०४९ को नियम ३(१)(क) बमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने व्यहोराको माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंहको राय ।
१४. भरपाईमा उल्लेखित रकम कट्टा गरी बाँकी साँवा ब्याज भराई दिने ठहराएको शुरु जिल्ला अदालत तथा जनकपुर अञ्चल अदालतको इन्साफमा अनुमति नदिने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको आदेश समेत मुनासिब हुँदा पुनरावेदन जिकिर पुग्न सक्दैन । जिल्ला अदालत तथा अञ्चल अदालत समेतको निर्णयलाई त्रुटिपूर्ण भनी उल्टी गर्ने ठहर्याएको सहयोगी माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंहको राय सँग मेरो सहमती नहुँदा सर्वोच्च अदालत नियमावली, ०४९ को नियम ३(१)(क) बमोजिम निर्णयार्थ पूर्ण इजलासमा पेश गर्नु भन्ने व्यहोराको मा.न्या.श्री गोविन्दबहादुर श्रेष्ठको राय ।
१५. नियम बमोजिम दैनिक कजलिष्टमा चढी आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी तथा विद्वान अधिवक्ता सुरेन्द्र कुमार महतोले वादीलाई पटक पटक गरी पैसा बुझाएको भनी ३ वटा विभिन्न मितिका चिटहरु पेश भएकोमा ती चिटहरु कुन सम्बन्धको चिट हो कुनै कुरा त्यसमा उल्लेख छैन । उक्त चिटहरु विभिन्न मितिका छन् । प्रतिवादीबाट पेश भएका चिटहरु २०३५।९।३ गतेको तमसुकको साँवा ब्याज मध्येकै रुपैयाँ बुझाएको भरपाई लिखत हो भन्ने कहीं कतैबाट देखिन आउँदैन । साँवा ब्याज बुझाउँदा लेनदेन व्यवहारको ५ नं. बमोजिमको रीतपूर्वक भरपाई भएको हुनुपर्छ । पेश भएको चीटहरुलाई रीत पूर्वक भएको भन्न मिल्दैन तसर्थ वादी दावी बमोजिमको रकम भराई पाउँ भन्ने वहस प्रस्तुत गर्नु भयो प्रतिवादी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री महादेव यादवले वादीले चीटमा सही गरी पैसा मगाउने गरेको कुरालाई बयानमा स्वीकारेकै देखिन्छ । चीटको प्रयोग बारम्बार भएको देखिन्छ । विपक्षबाट चिट बमोजिमको रुपैयाँ बुझिलिएको तथ्यलाई अस्वीकार गर्न सकेको छैन । वादीसँग उक्त ऋण बाहेक अरु कारोबार वा लेनदेन थियो भनी वादीले प्रमाणित गर्न सकेको नदेखिँदा जनकपुर अञ्चल अदालतको फैसला सदर हुनुपर्छ भन्ने बहस प्रस्तुत गर्नु भयो ।
१६. मिसिल संलग्न रहेको कागज प्रमाणको आधारमा निर्णय तर्फ विचार गर्दा वादी दावीको तमसुकको रु. ३५,०००।– प्रतिवादीले लिई कागज गरी दिएको तथ्यमा विवाद देखिँदैन । उक्त रकम मध्ये ३८४५०।– प्रतिवादीले वादीलाई बुझाए नबुझाए सम्बन्धमा नै प्रस्तुत विवाद सृजना भएको देखियो । प्रतिवादीले वादीलाई ३८४५०।– रुपैयाँ बुझाई सकेको छु भनी मिति ०३६।८।३ मा रु. १०००।– मिति ०३६।८।५ मा रु. ७३८०।– मिति ०३६।११।२६ मा रु. २०००।– र मिति ०३७।३।६ मा रु. २८०७०।३६ बुझाएको भनी ३ वटा चिटहरु पेश भएको देखिन्छ । उक्त चिटहरुमा रकम र मितिसम्म उल्लेख भएको देखिन्छ । तर के बापत कस्ले कस्लाई बुझाएको हो सो केही कुरा खुल्न आएको देखिँदैन । लेनदेन व्यवहारको ५ नं. मा साहु असामीले साँवा ब्याज समेत लिँदा बुझाउँदा देहाय बमोजिमको रीत पुर्याई लिनु दिनु गर्नु पर्छ सो बमोजिम नगरे सदर हुँदैन भनी देहाय (१) मा साँवा जम्मै बुझाउँदा असामीले सो सम्बन्धमा गरिदिएको लिखत कट्टा गराई वा सोही लिखतमा असुली जनाउन लगाई बुझाउनु पर्छ । कुनै कारणले सो लिखत फेला नपरेमा सोही व्यहोरा जनाई साहुबाट भरपाई गराई लिनुपर्छ भन्ने व्यवस्था भएको र देहाय (२) मा साँवा मध्ये केही मात्र बुझाउँदा आसामीले साहुबाट माथिदफामा लेखिए बमोजिम भरपाई गराई लिई यथासम्भव तमसुक, खातावही वा भरपाई समेत सो साँवाको सम्बन्धमा अघि जुन लिखत भएको छ सो लिखतको पीठ मा सो व्यहोरा खोली लेखी असामीको सहिछाप गराउन पर्छ । सो दरपीठ गर्ने कागजमा दरपीठको व्यहोरा नअटाएमा अर्को कागज गाँसी लेखी बन्दमा समेत सो बमोजिम सहीछाप गर्नु गराउन पर्छ भन्ने कानुनी व्यवस्था भएको पाइन्छ । यस कानुनी व्यवस्थाबाट साहु असामीले साँवा ब्याज लिँदा बुझाउँदा कानुनी रीत पुर्याई गर्नु पर्ने बाध्यात्मक व्यवस्था गरेको देखिन्छ भने २०२८ सालको दे.पु.नं. ११९ को जग्गा खिचोला मुद्दामा लिनु दिनु गर्नु पर्ने तमसुक फेला नपरेको भन्ने व्यहोरा नजनिएको भरपाइले कानुनी मान्यता पाउन सक्ने नदेखिने । (ने.का.प. २०३१ पेज नं. १४१ भनी यस अदालतको फुलबेञ्चबाट सिद्धान्त समेत प्रतिपादन भई सकेको देखिन्छ । प्रतिवादीतर्फबाट पैसा बुझाएको भनी रीतपूर्वकको भरपाई पेश गर्न सकेको देखिँदैन । प्रतिवादीतर्फबाट पेश हुन आएका चिटहरुमा पैसा लिए बुझाएको कुनै कुरा उल्लेख भएको पाइँदैन । रकम र मिति मात्र उल्लेख गरेको कागजलाई भरपाईको रुपमा मान्यता दिन मिल्न सक्ने स्थिति देखिँदैन । पेश भएका चिटहरु मिति ०३५।९।३ कै तमसुकी रुपैयाको हो भन्ने कुरा कतैबाट यकिन हुन नआएको अवस्थामा अन्दाजको भरमा पेश भएका चिटहरु मिति ०३५।९।३ को तमसुक बमोजिमको रुपैयाँ बुझाएकै चिट हो भनी अनुमान गर्न मिल्ने देखिँदैन । यसरी लेनदेन व्यवहारको ५ नं. अनुसार भरपाई गरी खुलाउनु पर्ने कुराहरु नखुलेको र प्रतिवादीतर्फबाट पेश भएको चिट (कागज) को आकृतिगत स्वरुपबाट पनि भरपाई भन्न मिल्ने नदेखिँदा पेश भएको उक्त चिटहरु (कागज) कानुनको रीत पुगेको तमसुक फेला नपरी गरिने भरपाईको आन्तरिक र बाह्य लक्षण पनि मौजुद रहेको नहुँदा शुरु र जनकपुर अञ्चल अदालतको फैसला केही उल्टी गरी तमसुक बमोजिमको पुरै रकम भराई दिने गरेको माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंहको राय मनासिब ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा हामीहरुको सहमति छ ।
न्या.मोहन प्रसाद शर्मा
न्या.केदारनाथ उपाध्याय
इतिसम्वत् २०५१ साल फाल्गुण ११ गते रोज ५ शुभम् ।