शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ५०३२ - उत्प्रेषण समेत

भाग: ३७ साल: २०५२ महिना: बैशाख अंक:

निर्णय नं. ५०३२    ने.का.प. २०५२      अङ्क १

 

पूर्ण इजलास

माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल

माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी

सम्वत् २०५० सालको रि.पु.ई.नं. ४४

फैसला मिति  : २०५१।९।२१।५

विषय : उत्प्रेषण समेत ।

 

निवेदक      : का.प.जि.पाँचखाल गा.वि.स. वडा नं. २ बस्ने सचितानन्द अधिकारी ।

विरुद्ध

विपक्षी : ऐ.ऐ. बस्ने मोहनलाल श्रेष्ठ ।

काभ्रेपलान्चोक जिल्ला अदालत ।

बागमती अंचल अदालत ।

मध्मान्चल क्षेत्रीय अदालत ।

 

      नेपाल कानुन व्याख्या सम्बन्धी ऐन, २०१० को दफा ८ ले समयको प्रारम्भ र अन्त सम्बन्धमा गरेको व्यवस्था हेर्दा कुनै नेपाल ऐनमा केही समयको अवधि वा दिनहरुमा पहिला हिस्सा वा दिनलाई बाहेक गर्नु परेमा देखिभन्ने शब्द र केही समयको अवधि वा दिनहरुका आखिरी हिस्सा वा दिन सामेल गर्न परेमा सम्मभन्ने शब्द लगाए पुग्छ भनी उल्लेख गरेको  देखिन्छ । निवेदकले मालपोत कार्यालयले रजिष्ट्रेशनको ३५ नं. बमोजिम नालेश गर्नु भनी सुनाएको आधारमा का.प.जि.अ.मा २०४४।८।१ मा फिराद दायर गरेको देखिन्छ। रजिष्ट्रेशनको ३५ नं. हेर्दा निखन्न दिनु पर्नेले लिनु नपर्ने कारण देखाएकोमा प्रमाण बुझी इन्साफ दिनु पर्ने कुरा देखिन आए पैंतीस दिन भित्र नालेश गर्नु भनी सुनाई दिनु पर्छभन्ने कानुनी व्यवस्था भएको र सोही आधारमा मा.पो.का.ले निवेदकलाई सुनाएको देखिदा हदम्यादको गणना गर्दा सो सुनाएको दिनलाई बाहेक गरी गणना गर्न मिल्ने देखिएन । अर्थात ऐनमा नै पैंतीस दिन भित्रभनी स्पष्ट व्यवस्था भएकोमा कानुन व्याख्या सम्बन्धी ऐन, २०१० को दफा ८ मा रहेको देखि” “सम्मभन्ने शब्दहरुको प्रसंगमा अर्थ गर्न नमिल्ने ।

(प्रकरण नं. १०)

      निवेदकलाई अदालतमा नालेश गर्न जान सुनाएको २०४४।६।२७ देखि नालेश परेको मिति २०४४।८।१ सम्म दिनको गणना गर्दा आश्विन ३१ दिनको महिना भएकोले आश्विनको ५ दिन कार्तिक ३० दिनको महिना हुँदा कार्तिकको ३० दिन र मंसीर १ गतेको १ दिन समेत जोड्दा फिरादपत्र ३६ औं दिनमा परेको देखियो । निवेदकलाई नालेश गर्न जादा देखिवा सम्मभनी सुनाएको समेत देखिँदैन । त्यसैले निवेदकलाई सुनाउँदा अड्डा खुलेको पूर्वार्धमा वा उत्तरार्धमा कुनै समयमा सुनाएको थियो भन्ने कुरा प्रस्तुत विवादमा प्रासंगिक समेत नहुंदा ३६ औं दिनमा परेको फिरादलाई ३५ दिनभित्र परेको भनी मान्न मिल्ने नदेखिने ।

(प्रकरण नं. ११)

निवेदक तर्फबाट     : विद्वान अधिवक्ता श्री जुक्तिजंग लामिछाने

विपक्षी तर्फबाट      : विद्वान सरकारी अधिवक्ता श्री नरेन्द्र कुमार श्रेष्ठ

अवलम्बित नजीरःX

फैसला

न्या.केशवप्रसाद उपाध्यायः संयुक्त इजलासका माननीय न्यायाधीशज्यूहरुका बिच राय बाझी भै यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :

२.    का.प.जि. पाँचखाल गा.वि.स. वडा नं. २  को विपक्षीले खरिद गरेको कि.नं. १७८ बाट मेरो सडकमा निस्कने निकास समेत हुँदा सन्धी सर्पन पर्नुको अतिरिक्त म हकदार समेत हुँदा निखनाई पाउँ भनी लेनदेन व्यवहारको ११ नं. को म्यादभित्र सोही ऐनले प्रदान गरेको कानुनी अधिकारको आधारमा मा.पो.का.  काभ्रेमा थैली र पारित दस्तुर समेत धरौट राखी निवेदन गरेको थिएँ । मा.पो.का. ले निखनी लिन पाउने ठहराए उपर विपक्षीले प्र.जि.अ. मा पुनरावेदन परेकोमा मा.पो.का. कै इन्साफ मुनासिब ठहराई निर्णय गरे उपर पनि विपक्षीको अनुमति साथ म.क्षे.अ.मा पुनरावेदन पर्दा अदालतमा निर्णय गर्न जानु भनी मा.पो.का. ले सुनाउन पर्नेमा निर्णय गरेको मिलेन भनी फैसला भए अनुसार ३५ दिनभित्र अदालतमा नलोश गर्नु जानु भनी २०४४।६।२७ मा मा.पो.का. काभे्रले मलाई सुनाएको थियो ।

३.    २०४४।८।१ गते ३५ दिन भै मेरो फिराद विपक्ष काभ्रेपलाञ्चोक जिल्ला अदालतमा दर्ता भएको र विपक्ष मोहनलालको प्रतिउत्तर परेपछि ३६ औं दिनमा फिराद परेको देखिएकोले म्याद नाघेको हुँदा खारेज हुने भनी विपक्ष काभ्रेपलाञ्चोक जि.अ.बाट मिति २०४५।२।१ मा मेरो फिराद दावा खारेज गरियो । सो खारेज गरे उपर मेरो वागमती अं.अ. मा पुनरावेदन पर्दा जि.अ.कै इन्साफ सदर गरी मिति २०४६।१०।१६ मा फैसला गरियो । सर्वोच्च अदालतको नजीर समेत उल्लंघन भएको आधार देखाई म.क्षे.अ.मा अनुमतिको लागि निवेदन गर्दा न्या.प्र.सु.(सं.स.) ऐन, २०३१ को दफा १३(४)(घ) को त्रुटि देखाई अनुमति प्रदान भयो । म.क्षे.अ.ले २०४७।१०।१५ मा फैसला गर्दा मेरो ३५  दिनभित्रै परेको फिरादलाई नलोश गर्न भनी सुनाएको दिनलाई समेत गणना गरी ३६ दिन पुर्‍याइएबाट नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११।१७ बमोजिमको हक हनन् भयो । विपक्षी शुरु जिल्ला अदालतबाट भएको मिति २०४५।२।२ को फैसला विपक्ष वागमती अं.अ.बाट भएको मिति २०४६।१०।१६ को फैसला र विपक्ष म.क्षे.अ.बाट भएको मिति २०४७।१०।१५ को फैसला समेत उत्प्रेषणको आदेशद्वारा बदर गरी हदम्याद भित्रै परेको मेरो फिरादबाट इन्साफ गरिदिनु भन्ने परमादेशको आदेश समेत जारी गरी पाउँ भन्ने समेत व्यहोराको रिट निवेदन ।

४.    यसमा विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत एक न्यायाधीशको इजलासको आदेश।

५.    निखनाई पाउँ भन्ने मुद्दा मिति २०४५।४।२२ मा दे.पु.नं. ११७ मा दर्ता भै शुरु का.प.जि.अ.बाट भएको खारेजी फैसला मनासिब ठहरी यस अदालतबाट मिति २०४६।१०।१६ मा भएको फैसला उपर विपक्षको श्री म.क्षे.अ.मा पुनरावेदनको अनुमति निवेदन दर्ता भै फैसला हुँदा फिराद खारेज गरेको शुरुको इन्साफ मनासिब ठहराई भएको बा.अं.अ.को फैसला इन्साफ सदर ठहरी फैसला भएको भन्ने विपक्षको निवेदनमा उल्लेख भएको देखिनाले उक्त मुद्दा यस अदालतबाट कानुन बमोजिम कारवाही किनारा भएकोमा यस अदालतलाई विपक्ष बनाई दिएको निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रत्यर्थी वागमती अञ्चल अदालको लिखित जवाफ।

६.    निवेदक वादी मोहनलाल प्रतिवादी भएको निखनाई पाउँ भन्ने समेत मुद्दा यस अदालतमा मिति २०४४।८।१ मा फिराद दायर भएको र यस अदालतबाट उक्त मुद्दा मिति २०४५।२।२० मा वादी दावी खारेज हुने गरी फैसला भएको मिसिलबाट देखिन्छ । अधिकार प्राप्त अदालतबाट सबुद प्रमाणको मूल्यांकन गरी भएको न्यायिक निर्णय उपर उत्प्रेषणको रिट जारी गरी पाउँ भन्ने निवेदकको दावी नपुग्ने र कानुन बमोजिम भए गरेको निर्णयबाट निजको हकमा आघात, परेको भन्न नमिल्ने हुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत  व्यहोराका प्रत्यर्थी काभ्रे पलाञ्चोक जिल्ला अदालतको लिखितजवाफ ।

७.    निवेदकले मालको निर्णय जानी बुझी थाहा पाई कानुन विपरीत ३६ दिनमा फिराद दिएकोमा हदम्याद नाघेको प्रष्ट देखिई रहेकै छ । मालपोत कार्यालयले मुलुकी ऐन, रजिष्ट्रेशनका ३५ नं. अनुसार आजको मितिले ३५ दिनभित्र प्रष्ट उल्लेख गरी सुनाएको हुँदा यदी कानुन विपरीत भएको भए सो पर्चा कानुन प्रतिकूल भयो भनी पुनरावेदन गरी बदर गराउन नसकेको अवस्था फेरि त्यो दिन छाडेर फिराद लाग्ने भन्ने दावी नै गर्न नपाउने र यसरी पुनरावेदनको तहबाट इन्साफ हुँदै आएको अन्य कानुनी उपचारको बाटो भई रहेको अवस्थामा असाधारण अधिकारको प्रयोग गरी फैसला बद र गरी पाउँ भन्ने दावी लाग्न सक्दैन । कानुन व्याख्या सम्बन्धी ऐन, २०१० को दफा ४ ले ऐनमा देखि शब्द परेकोमा बाहेक गर्ने भनेको छ । देखि शब्द नपरेकोमा सो दिन देखि नै गणना गर्नु पर्ने देखिन्छ । कानुन बमोजिम इन्साफ भएको हुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रत्यर्थी मोहनलाल श्रेष्ठको लिखित जवाफ ।

८.    निर्णय आदेश सुनाएको मिति देखिकै रुपमा मान्नु पर्ने हुँदा कानुन व्याख्या सम्बन्धी ऐन, २०२१ को दफा ८ ले सो दिनलाई बाहेक गरी गणना गर्नु पर्ने हुन्छ । तसर्थ निवेदकको फिराद हदम्याद नाघी परेको भन्ने आधारमा फिराद खारेज गर्ने गरेको म.क्षे.अ. समेतको फैसला त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । अब निवेदकको फिरादबाट कानुन बमोजिम इन्साफ गरिदिनु  भनी का.प.जि.अ.का नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ भन्ने माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंहको राय र निवेदकलाई सुनाउँदा देखि वा सम्म भन्ने शब्द नपरी भित्र भन्ने शब्द परेको देखिएको र सुनाएको दिन पूर्वार्धको अवस्था पनि हुन सक्ने हुँदा यस अवस्थामा उजुर गर्नु भनी सुनाएको ३५ दिनभित्रै उजुर गर्नु पर्ने देखिँदा हदम्याद नघाई फिराद गरेको पाइन्छ । तसर्थ हदम्याद नाघेको भनी म.क्षे.अ.समेतबाट फिराद खारेज गर्ने गरेको निर्णयमा कुनै त्रुटि नदेखिँदा प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ भन्ने माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्माको छुट्टै राय भएको मिति २०४९।९।१ को राय बाझी फैसला ।

९.    नियम बमोजिम पेश हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदकका तर्फ बाट उपस्थित विद्वान अधिवक्ता श्री जुक्तिजंग लामीछानेले मा.पो.का. काभ्रेपलाञ्चोकले मेरो पक्षलाई अदालतमा जान २०४४।६।२७ मा सुनाएकोबाट मेरो पक्षले २०४४।८।१ मा दिएको पिराद ३५ दिनभित्रकै छ । कानुन व्याख्या सम्बन्धी ऐनको दफा ८ बमोजिम सुनाएको मितिलाई समेत गणना गरी हम्याद नाघेको भनी फिराद खारेज गरेको त्रुटिपूर्ण हुँदा उक्त फैसलाहरु बदर गरी मेरो पक्षले दिएको फिरादको आधारमा इन्साफ गरिदिन विपक्षीहरुको नाउँमा परमादेशको आदेश समेत जारी होस् भनी बहस प्रस्तुत गर्नु भयो । त्यस्तै विपक्षी तर्फबाट उपस्थित विद्वान सरकारी अधिवक्ता श्री नरेन्द्रकुमार श्रेष्ठले मा.पो.का.ले रजिष्ट्रेशनको ३५ नं.बमोजिम ३५ दिनभित्र नालेश गर्न सुनाएको देखिँदा सुनाएको मितिलाई बाहेक गरी गणना गर्न मिल्दैन । अतः हदम्याद नाघेको आधारमा फिराद खारेज गरेको निर्णय मिलेकै देखिँदा रिट निवेदन खारेज भागी छ भनी प्रस्तुत गर्नु भएको बहस जिकिर समेत सुनियो ।

१०.    आज निर्णय सुनाउन पेश हुन आएको प्रस्तुत मुद्दामा मालपोत कार्यालय काभ्रेपलाञ्चोकले ३५ दिनभित्र अदालतमा नालेश गर्न जानु भनी २०४४।६।२७ मा सुनाएकोले २०४४।८।१ मा ३५ दिनभित्रै नालेश गरेकोमा सुनाएको मिति समेतलाई गणना गरी मेरो फिराद ३६ दिनको दिन हदम्याद नाघि परेको भनी फिराद खारेज गर्ने गरेको म.क्षे.अ.को फैसला समेत त्रुटिपूर्ण हुँदा बदर गरी सोही फिरादका आधारमा इन्साफ गरिदिनु भन्ने परमादेश समेत जारी गरी पाउँ भनी निवेदकले दावी लिएको देखिन्छ । निवेदकलाई मा.पो.का.ले अदालतमा नालेश गर्न जानु भनी २०४४।६।२७ मा सुनाएको र सोही आधारमा निवेदकले का.प.जि.अ.मा २०४४।८।१ मा फिराद दायर गरेकोमा विवाद देखिएन । २०४४।६।२७ मा नालेश गर्न जानु भनी सुनाएको आधारमा २०४४।८।१ मा परेको फिराद हदम्यादभित्र अर्थात सुनाएको मितिले पैंतीस दिनभित्र पर्‍यो परेन भन्ने सम्बन्धमा नै विचार गर्नु पर्ने देखिन आयो । नेपाल कानुन व्याख्या सम्बन्धी ऐन, २०१० को दफा ८ ले समयको प्रारम्भ र अन्त सम्बन्धमा गरेको व्यवस्था हेर्दा कुनै नेपाल ऐनमा केही समयको अवधि वा दिनहरुमा पहिला हिस्सा वा दिनलाई बाहेक गर्नु परेमा देखिभन्ने शब्द र केही समयको अवधि वा दिनहरुमा आखिरी हिस्सा वा दिन सामेल गर्न परेमा सम्मभन्ने शब्द लगाए पुग्छ भनी उल्लेख गरेको देखिन्छ । निवेदकले मालपोत कार्यालयले रजिष्ट्रेशनको ३५ नं. बमोजिम नालेश गर्नु भनी सुनाएको आधारमा का.प.जि.अ.मा २०४४।८।१ मा फिराद दायर गरेको देखिन्छ । रजिष्ट्रेशनको ३५ नं. हेर्दा निखन्न दिनु पर्नेले लिन नपर्ने कारण देखाएकोमा प्रमाण बुझी इन्साफ दिनु पर्ने कुरा देखिन आए पैंतीस दिन भित्र नालेश गर्नु भनी सुनाई दिनु पर्छभन्ने कानुनी व्यवस्था भएको र सोही आधारमा मा.पो.का.ले निवेदकलाई सुनाएको देखिँदा हदम्यादको गणना गर्दा सो सुनाएको दिनलाई बाहेक गरी गणना गर्न मिल्ने देखिएन । अर्थात ऐनमा नै पैंतीस दिन भित्रभनी स्पष्ट व्यवस्था भएकोमा कानुन व्याख्या सम्बन्धी ऐन, २०१० को दफा ८ मा रहेको देखि” “सम्मभन्ने शब्दहरुको प्रसंगमा अर्थ गर्न मिल्ने पनि भएन ।

११.    निवेदकलाई अदालतमा नालेश गर्न जान सुनाएको २०४४।६।२७ देखि नालेश परेको मिति २०४४।८।१ सम्म दिनको गणना गर्दा आश्विन ३१ दिनको महिना भएकोले आश्विनको ५ दिन कार्तिक ३० दिनको महिना हुँदा कार्तिकको ३० दिन र मंसीर १ गतेको १ दिन समेत जोड्दा फिरादपत्र ३६ औं दिनमा परेको देखियो । निवेदकलाई नालेश गर्न जाँदा देखिवा सम्मभनी सुनाएको समेत देखिँदैन । त्यसैले निवेदकलाई सुनाउँदा अड्डा खुलेको पूर्वार्धमा वा उत्तरार्धमा कुन समयमा सुनाएको थियो भन्ने कुरा प्रस्तुत विवादमा प्रासंगिक समेत नहुँदा ३६ औं दिनमा परेको फिरादलाई ३५ दिनभित्र परेको भनी मान्न मिल्ने देखिएन । अतः हदम्याद नघाई फिराद परेको भनी म.क्षे.अ.बाट समेत निवेदकको फिराद खारेज गर्ने गरेको निर्णयमा कुनै त्रुटि भएको नदेखिँदा प्रस्तुत रिट निवेदन खारेज हुने ठहराएको माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्माको राय मनासिबै देखिन्छ । मिसिल नियमानुसार गरी बुझाई दिन ।

     

उक्त रायमा हामी सहमत छौं ।

 

न्या.लक्ष्मण प्रसाद अर्याल

न्या.कृष्णजंग रायमाझी

 

इतिसम्वत् २०५१ साल पौष २१ गते रोज ५ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु