शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ५०३५ - लिखत दर्ता बदर दर्ता कायम

भाग: ३७ साल: २०५२ महिना: बैशाख अंक:

निर्णय नं. ५०३५    ने.का.प. २०५२      अङ्क १

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य

सम्वत् २०५१ सालको दे.पु.नं. २२१६

फैसला मिति  : २०५१।११।९।३

मुद्दा : लिखत दर्ता बदर दर्ता कायम ।

 

पुनरावेदक/वादी: जि. सुनसरी, धरान न.पा. वडा नं. ५ बस्ने ठाकुर प्रसाद श्रेष्ठ ।

विरुद्ध

प्रत्यर्थी/प्रतिवादी: ऐ.ऐ. बस्ने सावित्री देवी श्रेष्ठ ।

 

     सगोलको सम्पत्ति नभै संयुक्त दर्तासम्म कायम रहेको सम्पत्तिमा बढी घटी हुने गर्ने अवस्था वा लिखत नभएका अवस्थामा सबै अंशियारहरुको समान भाग लाग्ने मान्नु पर्ने ।

(प्रकरण नं. १२)

      उमेर पुगेका छोराहरुको मञ्जुरी लिनु पर्ने कानुनी प्रावधानले निज गोपाल प्रसादको समेत हक सुरक्षित रहने देखिने ।

(प्रकरण नं. १३)

      उमेर पुगेका छोराहरुको मञ्जुरी लिनु नपर्ने विवादित अचल सम्पत्तिको आधारमा निजले सावित्रीदेवी श्रेष्ठलाई गरिदिएको शेषपछिको बकसपत्र कायमै रहने ।

 (प्रकरण नं. १३)

      विवादित अचल सम्पत्ति बकसपत्र गरिदिए उपर ३ जना छोराहरु मध्ये गोपालप्रसाद श्रेष्ठले उजूर नगरेकोले निजको भाग जतिको बकसपत्रको लिखत बदर गरिरहन पर्ने अवस्था नआउने ।

(प्रकरण नं. १३)

निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री हरिहर दाहाल

विपक्षी तर्फबाटःX

अवलम्बित नजीरःX

फैसला

न्या.रुद्रबहादुर सिंहः पुनरावेदन अदालत विराटनगरको फैसला उपर वादी तर्फबाट दायर हुन आएको पुनरावेदन सहितको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ :

२.    आमा  गोमालक्ष्मी र दाजु ठाकुर प्रसाद श्रेष्ठ उपर २०३९।११।११ मा अंश मुद्दा दायर रहेको जेठा दाजु गोपालप्रसाद २०२६ सालमै घरसारमा बण्डा लिई छुटी बसेका बण्डा हुन पर्ने हाम्रा अंश भागको सम्पत्ति हामी ३ जनाकै संयुक्त दर्ता रहेछ भन्ने कुरा प्रतिउत्तर नक्कल लिँदा थाहा भयो । उक्त जग्गाहरु संयुक्त नै राखी मिलापत्र गरी पाउँ भनी हाम्रो २०४१।४।३१ मा सुनसरी जि.अ.मा दरखास्त पर्दा वादीको वारेसले २०४१।५।२२ को तारेख लिई गएको कारणबाट सो दिन मिलापत्र हुन सकेन । सो पछि आमा विरामी भै अदालतमा आउन नसकेकी, आमा गोमालक्ष्मी आफ्ना कालगतिले परलोक भै २०४५।५।७ गते कृयाकर्म सकिएपछि विपक्षी सावित्रीले २०४५।१।३ मा आफ्नो भागमा पर्ने जग्गा मलाई सासूले शेष पछिको बकसपत्र गरिदिनु भएको भन्दा मालमा गै हेर्दा २०४५।१।३० मा आमाको भागको जति धरान वार्ड नं. ५ कि.नं ३० को ०१ जग्गा ३ भागको १ भाग मेरो समेत हक लाग्ने विपक्षीले शेष पछिको बकसपत्र पास गरी लिएको लेख बदर गरी म वादी ठाकुर प्रसादको नाउँमा दर्ता कायम गरी पाउँ भन्ने समेतको वादी दावी ।

३.    सासू गोमालक्ष्मी समेतका अंशहरु २०२६ सालमा छुटी बेगल भै बकसपत्र भएको सासू गोमालक्ष्मी समेका सबै अंशियार बेग्ला बेग्लै बसेका सासूलाई पति गोपालप्रसाद र बुहारी म समेत भै रेखदेख गरेको, २०४३ साल ज्येष्ठमा वादी बसेको घर छाडी म बसेको घरमा आई बस्नु भएको र वहाँ बस्नु भएको घर जग्गा मलाई शेषपछिको बकसपत्र गरी दिएको हुँदा त्यस्तो बकसपत्र लिखत बदर हुनुपर्ने होइन भन्ने समेत प्रतिउत्तर ।

४.    वादी ठाकुरप्रसाद श्रेष्ठ र प्रतिवादी यिनै सावित्री श्रेष्ठ भएको लिखत दर्ता र दर्ता कायम मुद्दा आजै यस अदालतबाट फैसला भएको मुद्दामा लिखत र दर्ता बदर भै यी सो मुद्दामा वादी ठाकुरप्रसाद श्रेष्ठका नाउँमा दर्ता कायम हुने ठहरिएको र यो मुद्दामा सोही विषय समावेश भै माग दावी एकै देखिन आएकोले वादी दावी बमोजिम लिखत र दर्ता बदर भै यी वादीका नाउँमा दर्ता कायम हुने ठहर्छ भन्ने समेत सुनसरी जिल्ला अदालतको २०४७।५।१४ को फैसला ।

५.    शुरुको इन्साफ उल्टाई मेरो लेखत दर्ता सदर राखी पाउँ भन्ने समेत प्रतिवादीको तत्कालिन कोशी अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।

६.    बकसपत्र गरी दिने गोमालक्ष्मीले ३ भागको १ भाग आफ्नो हक जतिमा बकसपत्र गरी दिएको देखिएको त्यस्तोमा स्त्री अंशधनको २ नं. को सन्दर्भमा समेत विचार गर्नु पर्ने शुरुले दान बकसको १ नं. अन्तर्गत पुरै बकसपत्र बदर गरी दिने गरेको इन्साफ विचारणीय देखिएकोले अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाउने भन्ने समेत व्यहोराको पुनरावेदन अदालत विराटनगरको २०४८।८।१६ को आदेश ।

७.    २०४८।१०।२१ मा वादी कृष्णप्रसाद श्रेष्ठको प्रतिउत्तर सरह पुनरावेदन परेको ।

८.    प्रस्तुत मुद्दाको वादी ठाकुरप्रसाद र साथै पेश भएको दे.पु.नं. ३४३ को वादी कृष्णप्रसादको उजुरी परेको २०४५।१।३० को बकसपत्रको लिखतको आधी घर जग्गाको तीन भागको २ भाग लिखत र सोही अनुसार भएको प्रतिवादीको नामको दर्ता बदर भई त्यसको आधि यो वादीको नाउँमा दर्ता हुने ठहर्छ । पुरै लिखत बदर गरेको जिल्ला अदालतको फैसला त्यति हदसम्म नमिलेकोले केही उल्टी हुने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत विराटनगरको मिति २०४९।८।१४ को फैसला ।

९.    दान बकसको महलको १ नं. विपरीतको माम कुरामा स्त्री अंशधनको २ नं. आकर्षित हुने होइन । आमाको हकको सम्पत्तिमा हामी दुई दाजु भाइ ठाकुरप्रसाद र कृष्णप्रसादको मात्र हक लाग्ने भएबाट पुनरावेदन अदालतबाट आंशिक रुपमा लेखत दर्ता बदर गर्ने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी शुरु माग दावी बमोजिम गरी पाउँ भन्ने समेत वादी ठाकुरप्रसाद श्रेष्ठको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

१०.    यसमा मिसिल संलग्न निवेदन हेर्दा पुनरावेदनपत्र भनी दर्ता गर्न ल्याएकोमा यस अदालतमा दर्ता हुँदा दोहोर्‍याई पाउँ भन्ने निवेदन दायरीमा दर्ता गरेको देएिकोले सो दर्ता गरेको मिलेन । अतः उक्त निवेदन दायरीको दर्ता लगत कट्टा गरी प्रस्तुत पुनरावेदन पत्र पुनरावेदन दायरीमा दर्ता गरी नियमानुसार पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०५१।४।१४ को आदेश ।

११.    नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री हरिहर दाहालले प्रतिवादी २०२६ सालमा घरसारमा बण्डापत्र भै भिन्न बसिसकेको हुन । विवादित शेषपछिको बकसपत्रमा उल्लेखित जग्गा आमा गोमालक्ष्मी र फिरादी ठाकुरप्रसाद र अर्को मुद्दाका फिरादी कृष्णप्रसादको संयुक्त नाममा दर्ता रहेको सम्पत्ति वृद्ध आमाबाट बकसपत्र गराई लिएकी हुन् । हामी फिरादी समेतलाई बकसपत्र कारणी सरह मञ्जुरी लिइनु पर्ने थियो । पुनरावेदन अदालतबाट आंशिक रुपमा लेखत दर्ता बदर गर्ने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा फिराद दावी बमोजिम हुनु पर्ने हुँदा हाल विपक्षी झिकाई पाउँ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो।

१२.   निर्णयतर्फ विचार गर्दा, यी वादी ठाकुरप्रसाद श्रेष्ठ अन्य भाइहरु र आमा गोमालक्ष्मी समेत बीच २०२६ सालमा बण्डापत्र हुँदा विवादित कि.नं. ३० को क्षेत्रफल ०१ जग्गा समेत आमा गोमालक्ष्मी र यी वादी ठाकुर प्रसाद श्रेष्ठ तथा प्रस्तुत मुद्दा साथ पेश भएको दे.पु.नं. १५५३ को विवादित बकसपत्रकै विषयलाई लिएर फिराद गर्ने वादी कृष्ण प्रसाद श्रेष्ठका नाममा संयुक्त दर्ता भइरहेको तथा वादी दावीबाट विवादित सम्पत्ति सगोलको नभएको र संयुक्त दर्ता सम्म कायम रहेको भन्ने देखिन्छ । यसरी सगोलको सम्पत्ति नभै संयुक्त दर्ता सम्म कायम रहेको सम्पत्तिमा बढी घटी हुने गर्ने अवस्था वा लिखत नभएका अवस्थामा सबै अंशियार हरुको समान भाग लाग्ने मान्नु पर्ने हुन्छ ।

१३.   उक्त संयुक्त दर्ताको सम्पत्तिमा आमा गोमालक्ष्मीले आफ्नो भागको सम्पत्ति प्रतिवादी सावित्री देवी श्रेष्ठलाई शेषपछिको बकसपत्र गरी दिई गोमालक्ष्मीको मृत्यु पश्चात सावित्री श्रेष्ठको हक कायम भएको देखियो । आफ्नो भागको अचल सम्पत्ति शेषपछिको बकसपत्रबाट दिन वा आफू खुश गर्न पाउने नपाउने के रहेछ भनी हेर्दा, मुलुकी ऐन स्त्री अंश धनको २ नं. मा भिन्न भएको कन्या, सधवा वा विधवा स्वास्नी मानिसले आफ्नो अंश हकको चलमा सबै र अचलमा आधासम्म कसैको मजुरी नभएपनि आफ्नो खुश गर्न पाउँछन् । कन्याले बाबु भए बाबुको र साधवा वा विधवाले उमेर पुगेका छोराहरु भए छोराहरुको मञ्जुरी लिई अचल पनि सबै आफ्नो खुश गर्न पाउँछनभन्ने कानुनी व्यवस्था भइरहेको पाइन्छ । विवादित सम्पूर्ण अचल सम्पत्ति फिरादीकी आमा गोमालक्ष्मीले आफ्ना छोराहरुको मञ्जुरी बेगर प्रतिवादी सावित्री देवी श्रेष्ठलाई शेष पछिको बकसपत्र दिएको कुरामा विवाद देखिँदैन । उल्लेखित कानुनी व्यवस्था अनुसार, गोमालक्ष्मीले आफ्नो अंश भागको अचल सम्पत्ति स्त्री अंश धनको २ नं. को उक्त व्यवस्थाले २०२६ सालमै छुट्टी भिन्न भएको गोपालप्रसादको मञ्जुरी लिनु नपर्ने भन्ने वादी तर्फको जिकिर पनि कानुनसंगत देखिँदैन । उमेर पुगेका छोराहरुको मञ्जुरी लिनु पर्ने कानुनी प्रावधानले निज गोपाल प्रसादको समेत हक सुरक्षित रहने देखिन्छ । उल्लेखित कानुनी व्यवस्था अनुसार गोमालक्ष्मीले आफ्नो अंश भागको अचल सम्पत्ति मध्ये आधामा निजका उमेर पुगेका ३ जना छोराहरु यी फिरादी ठाकुरप्रसाद र अन्य छोराहरु कृष्णप्रसाद र गोपाल प्रसादको मञ्जुरी लिनु पर्ने र आधा सम्ममा मञ्जुरी लिनु नपर्ने भै आफू खुश गर्न पाउने देखियो । तसर्थ उमेर पुगेका छोराहरुको मञ्जुरी लिन नपर्ने विवादित अचल सम्पत्तिको आधामा निजले सावित्री देवी श्रेष्ठलाई गरी दिएको शेषपछिको बकसपत्र कायमै रहने देखियो । उक्त बकसपत्र सदर कायम रहेको सम्पत्ति बाहेक आधा अचल सम्पत्तिमा निज गोमालक्ष्मीका गोपालप्रसाद श्रेष्ठ, यी वादी ठाकुरप्रसाद श्रेष्ठ र यसै साथ पेश भएको दे.पु.नं. १५५३ का वादी कृष्णप्रसाद श्रेष्ठ समेत उमेर पुगेका ३ जना छोराहरु देखिएको र निजहरुको उक्त बसकपत्रमा मञ्जुरी भएको नदेखिँदा बराबर बदर गराउन पाउने देखिन्छ तापनि विवादित अचल सम्पत्रि बकसपत्र गरी दिए उपर उल्लेखित तीनजना छोराहरु मध्ये गोपालप्रसाद श्रेष्ठले उजुर नगरेकोले निजको भाग जतिको बकसपत्रको लिखत बदर गरी रहनु पर्ने अवस्था आएन । उजुर गर्ने मध्येका प्रस्तुत मुद्दाका वादी ठाकुरप्रसाद र यसै साथ पेश भएको दे.पु.नं. १५५३ का वादी कृष्णप्रसाद हकमा विवादित २०४५।१।३० को पारित बकसपत्रको लिखतको आधी अचल सम्पत्ति मध्ये तीन भागको २ भाग लिखत र सो बमोजिम भएको प्रतिवादी सावित्री देवी श्रेष्ठका नामको दर्ता बदर गरी सो को आधा यी वादी ठाकुरप्रसाद श्रेष्ठका नाउँमा दर्ता हुने ठहर्छ । अतः विवादित बकसपत्रको आधामध्ये ३ भागको २ भाग लिखत र सोही अनुसार भएको प्रतिवादीको नामको दर्ता बदर भई त्यसको आधी यी वादीको नाउँमा दर्ता गर्ने ठहराई पुरै लिखत बदर गरेको शुरु जिल्ला अदालतको फैसला  त्यतिहदसम्म उल्टी हुने ठहराएको पुनरावेदन अदालत विराटनगरको इन्साफ मिलेको देखिँदा सदर हुने ठहर्छ । वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.अरविन्दनाथ आचार्य

 

इतिसम्वत् २०५१ साल फाल्गुण ९ गते रोज ३ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु