निर्णय नं. ४७५० - उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा आदेश र पूर्जी जारी गरी पाउँ
निर्णय नं. ४७५० ने.का.प. २०५० (ख) अङ्क ५
एक न्यायाधीशको इजलास
माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
सम्वत २०५० सालको रि.नं. – २६६७
आदेश मिति: २०५०।५।२१।२
निवेदक/वादी: जि. भक्तपुर भ.पु.न.पा. वडा नं. ३ बस्ने मोहन कुमार प्याथ ।
विरुद्ध
विपक्षी/प्रतिवादी: जि. काठमाडौं का.न.पा. वडानं. २८ बस्ने श्याम बहादुर श्रेष्ठ ।
: जि. भक्तपुर भ.पु.न.पा. वडा नं. ३ बस्ने बद्री नारायण प्याथ ।
: कार्यालय प्रमुख भूमि सुधार कार्यालय, भक्तपुर ।
: सचिव वागेश्वरी गा.वि.स. कार्यालय, भक्तपुर ।
विषय : उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा आदेश र पूर्जी जारी गरी पाउँ ।
(१) साविक मोहीको मृत्युपछि निजको पति, पत्नी वा छोराहरु मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई मोही हक प्राप्त हुन सक्ने भन्ने भुमि सम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा व्यवस्था भएको हुँदा सोही अनुसार मोहीले कमाई आएको जग्गामा निज पछि निजका छोराहरु मध्ये विपक्षीलाई जग्गा धनीले भूमि सुधार कार्यालयमा आफ्नो लिखित मंजुरी दिई मोही पत्याएको देखिन आएकोले निवेदकबाट जग्गा धनीले वाली बुझेको भन्ने आधारमा निजलाई नै मोही हक प्राप्त हुन्छ भन्न मिल्ने नहुँदा भूमि सुधार कार्यालय भक्तपुरबाट यस सम्बन्धमा भएको निर्णय बदर हुन सक्ने स्थिति नदेखिने ।
(प्र.नं. ५)
आदेश
न्या. अरविन्दनाथ आचार्य
१. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छः–
२. भक्तपुर जिल्ला वागेश्वरी गा.वि.स. वडा नं. २ (घ) कि.नं. ११ क्षेत्रफल १–६–०–० जग्गाका साविक जग्गाधनी का.जि.का.न.पा. वडा नं. २८ ह्यौखा बस्ने माहिला भन्ने भक्त बहादुर श्रेष्ठको श्रीमती भाटनी श्रेष्ठ र उक्त जग्गाको विधिवत जोताहा म निवेदकको पिता मोह लाल प्याथ भएकोमा मेरो पिता मिति २०३८।९।१९ मा र आमा जगतमाया प्याथ पनि मिति २०३८।४।१५ मा नै परलोक हुनु भएकोले, बाबु आमाको परलोक भएपछि जोताहाको परिवारमा विपक्षी बद्री नारायण प्याथ र म निवेदक भएकोमा भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम म निवेदकलाई जग्गा धनिले जोताहा पत्याए बमोजिम वाली बुझाई भर्पाई प्राप्त गर्दै आएको थिए । यस्तैमा साविक जग्गा धनीको परलोक भएपछि निजका छोरा विपक्षी श्याम बहादुर श्रेष्ठलाई वाली बुझाउँदै आएकोमा २०४९ साल को वाली विधिवत रुपमा बुझाउन जाँदा वाली बुझी भरपाई गरी नदिएकोले विधिवत याममा पुनः भुमि सुधार कार्यालय भक्तपुरमा वाली धरौट राखी म निवेदकले उक्त जग्गा जोती आएको छु । यस्तैमा विपक्षी मध्येका बद्रि नारायण प्याथले सो जग्गा खिचोला गरी म र मेरो परिवारले लगाएको गहुँ वाली समेत लुटेर लगी यो जग्गामा मैले मोही हक प्राप्त गरेको भनेकोले यस सम्बन्धमा बुझ्दा भूमि सुधार कार्यालय भक्तपुरबाट विपक्षी बद्रि नारायण प्याथलाई मोही कायम गर्ने निर्णय भएको कुरा मैले मिति २०५०।३।१७ मा थाहा पाएँ ।
३. म निवेदकसँग निहित रहेको जोताहा मोही हक गैर कानुनी प्रकृयाबाट वन्चित गर्न विपक्षी मध्येका बद्रि नारायण प्याथ र जग्गाधनी श्याम बहादुर श्रेष्ठको बीचमा कथित वाली बुझाएको भर्पाई सृजना गरिएको छ । अतः विपक्षी मध्येका बद्री नारायण प्याथका दाजु म निवेदक हो भन्ने कुरा विपक्षी बद्री नारायण कै निवेदक र निवेदन साथ संलग्न कागजबाट समेत प्रष्ट भएकोमा यस तर्फ बुझ्दै नबुझि भूमि सुधार कार्यालय भक्तपुरबाट विपक्षी बद्री नारायण प्याथको निवेदन पत्र, सो निवेदनपत्र मिलानको श्याम बहादुर श्रेष्ठको निवेदनपत्र र उक्त निवेदनपत्र उपर प्रवृत्त भै मिति २०४८।१०।६ मा वागेश्वरी गा.वि.स. भक्तपुरका सचिवले गरि दिएको सिफारिसपत्र समेत काल्पनिक रुपमा सिर्जना गरी सोही आधारमा विपक्षी बद्री नारायण प्याथलाई मोही कायम गर्ने निर्णय गरेको छ । उल्लेखित व्यहोरा बमोजिम विपक्षीहरु बीचमा भएको षडयन्त्रपूर्ण कृयाकलाप खुल्न गएमा म निवेदकले साविक देखि जोतभोग गरेको भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिमको विधिवत हक स्थापित भइसकेको प्रकृया प्रष्टिने भएकोले उक्त तथ्य व्यहोरा मलाई थाहै नलिई भूमि सुधार कार्यालय भक्तपुरका भूमि सुधार अधिकारी एवं बागेश्वरी गा.वि.स. भक्तपुरका सचिव समेतबाट गरेको निर्णय एवं सिफारिस विपक्षी मध्येका बद्री नारायण र श्याम बहादुरसँग प्रवृत्त भएको व्यहोरा स्पष्ट छ । अतः म निवेदकको निर्विवाद मोही हक खोसिंदा म नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११(१)(२)(३), १२(१)(२) को (ङ) र १६, १७ बमोजिम प्रत्यक्षतः मौलिक हकबाट बन्चित भएको हुँदा प्रत्यर्थि मध्येका भुमि सुधार कार्यालय भक्तपुरबाट मिति २०४९।१०।२३ मा भएको निर्णय बदर गरी म निवेदकले प्राप्त गरेको कबुलियत एवं भर्पाइ बमोजिम खास जोताहा कायम गरी दिनु भन्ने भूमि सुधार कार्यालयको नाउँमा उत्प्रेषण लगायतको उपयुक्त आज्ञा आदेश पूर्जि जारी गरी पाउँ भन्ने समेत व्यहोराको मोहन कुमार प्याथको रिट निवेदन पत्र ।
४. नियमानुसार दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदक मोहन कुमार प्याथलाई साविक जग्गा धनीबाट भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम मोही पत्याएपछि साविक जग्गा धनीको परलोक भएपछि निजको छोरा विपक्षी मध्येका श्याम बहादुर श्रेष्ठको नाममा जग्गा धनिको हैसियत स्थापित भए तापनि निवेदकको मोही हकमा असर पर्न नसक्ने हुँदा विपक्षी बद्री नारायण प्याथ र श्याम बहादुर श्रेष्ठको बीचमा भएको कथित वाली बुझाएको भर्पाइ र गा.वि.स. का सचिवले गरि दिएको सिफारिसको आधारमा भूमि सुधार कार्यालय भक्तपुरले २०४९।१०।२३ मा विपक्षी बद्री नारायण प्याथलाई मोही कायम गर्ने गरी गरेको निर्णय बदर गरी निवेदकले प्राप्त गरेको कबुलियत एवं भपाई बमोजिम निवेदकलाई नै खास जोताहा कायम गरी पाउँ भन्ने मुख्य निवेदन जिकिर देखियो ।
५. यसमा निवेदकको माग बमोजिम आदेश जारी हुनुपर्ने हो, होइन ? भनी निर्णय तर्फ विचार गर्दा निवेदनमा उल्लेख भए बमोजिमको कि.नं. ११ को क्षेत्रफल १–६–०–० जग्गाको साविक जग्गाधनी माहिला भन्ने भक्त बहादुर श्रेष्ठ र जोताहा मोही मोह लाल प्याथभएकोमा जग्गाधनी भक्त बहादुर श्रेष्ठको मृत्यु भएपछि निजको छोरा श्याम बहादुर श्रेष्ठ जग्गाधनी र त्यस्तै जोताहा मोही मोह लाल प्याथको मृत्युपछि निजका छोराहरु जेठो मोहन कुमार प्याथ र कान्छो बद्रि नारायण प्याथ जोताहा मोही रहेका भन्ने देखियो । अब साविक जग्गाधनी भक्त बहादुर श्रेष्ठले मोही मोह लाल प्याथको मृत्यु पछि निजका छोराहरु मध्ये जेठा मोहन लाल प्याथबाट वाली बुझी भर्पाई गरिदिएको भन्ने भए पनि सो वाली निजबाट बुझी लिएकै आधारबाट मात्र भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा व्यवस्था भए बमोजिम निजलाई नै जग्गाधनीले मोही पत्याएको रहेछ भन्न मिल्ने अवस्था देखिदैंन । पिता मोहलाल प्याथको मृत्यु मिति २०३८।९।६ मा भएकोले मेरो नाममा मोही नामसारी गरी पाउँ भनी मिति २०४९।६।२९ मा बद्रि नारायण प्याथको निवेदन परेपछि भु.सु.का. भक्तपुरबाट सो सम्बन्धमा जग्गाधनी श्याम बहादुर श्रेष्ठका नाममा म्याद जारी हुँदा निजबाट बद्रि नारायण प्याथको नाममा मोही नामसारी गरि दिनमा मंजुर भएको भन्ने व्यहोराको लिखित जवाफ प्राप्त भएको भन्ने समेत आधारमा बद्रिनारायण प्याथको नाममा जोत नामसारी गरिदिने गरी मिति २०४९।१०।२३ मा भू.सु.का. भक्तपुरबाट निर्णय भएको देखिन्छ । अतः साविक मोहीको मृत्यु पछि निजको पति, पत्नी वा छोराहरु मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई मोही हक प्राप्त हुन सक्ने भन्ने भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा व्यवस्था भएको हुँदा सोही अनुसार मोही मोहलाल प्याथले कमाई आएको जग्गामा निज पछि निजका छोराहरु मध्ये विपक्षी र बद्रिनारायण प्याथलाई जग्गा धनी श्याम बहादुर श्रेष्ठले भूमि सुधार कार्यालयमा आफ्नो लिखित मंजुरी दिई मोही पत्याएको देखिन आएकोले निवेदक मोहन कुमार प्याथबाट जग्गा धनीले वाली बुझेको भन्ने आधारमा निजलाई नै मोही हक प्राप्त हुन्छ भन्न मिल्ने नहुँदा भूमि सुधार कार्यालय भक्तपुरबाट यस सम्बन्धमा भएकोनिर्णय बदर हुन सक्ने स्थिति देखिन आएन । यस सम्बन्धमा विपक्षीहरुबाट लिखित जवाफ मगाई रहन पनि आवश्यक नहुँदा यो रिट निवेदन खारेज हुने ठहर्छ । मिसिल नियम बमोजिम गर्नु ।
इति सम्वत २०५० साल भाद्र २१ गते रोज २ शुभम् ।