शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ५०३६ - अंश

भाग: ३७ साल: २०५२ महिना: बैशाख अंक:

निर्णय नं. ५०३६ ने.का.प. २०५२    अङ्क १

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ

माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा

सम्वत् २०४९ सालको दे.पु.नं. ५२६

फैसला मिति    : २०५१।८।१२।२

मुद्दा : अंश ।

 

पुनरावेदक/प्रतिवादी: धनपत राठको छोरा बाँके पुरेनी गा.वि.स. वार्ड नं. ६ बस्ने वर्ष ५० को रंगी राठ ।

विरुद्ध

विपक्षी/वादी: हरदत्त राठको पत्नी ऐ.ऐ.बस्ने ईन्द्रपरा राठनी ।

 

    अंशबण्डाको ३० नं. मा मुलुकी ऐन सातौं संशोधन (२०३४) हुनु पूर्व बण्डापत्र खडा नगरी घरसारमा नरम गरम मिलाई अचल अंशबण्डा गरी छुट्टिई आफ्नो भाग लिई पाइसकेपछि दाखिल खारेज समेत गराई वा बण्डा बमोजिम आफ्नो आफ्नो भागको अचल सम्पत्ति छुट्टाछुट्टै भोग बिक्री व्यवहार गरेकोमा व्यवहार प्रमाणबाट बण्डा भइसकेको ठहरेको अवस्थामा मात्र अंशबण्डा भैसकेको मान्नु पर्ने हुदा प्रस्तुत मुद्दामा वादी प्रतिवादी एकासगोलको अंशियार देखिन आएबाट फिराद दावी अनुसार वादीले प्रतिवादीबाट अंश छुट्टयाई लिन पाउने नै देखिन आयो । अतः प्रतिवादीबाट वादीले अंश छुट्टिसकेको सबूदको अभावमा पुनरावेदन अदालत नेपालगंजले पेश भएको तायदाती फाटवारीको सम्पत्तिको २ भागको १ वादी दावी बमोजिम अंश पाउने ठहर्‍याएका इन्साफ मिलेकै देखिँदा प्रतिवादीको पुनरावेदन जिकिर पुग्न नसक्ने ।

 (प्रकरण नं. ११)

पुनरावेदक तर्फबाट: विद्वान अधिवक्ता श्री सुशीलकुमार पन्त, श्री बाबुराम गिरी

विपक्षी तर्फबाटःX

अवलम्बित नजीरःX

फैसला

न्या.ओमभक्त श्रेष्ठः पुनरावेदन अदालत नेपालगंजको फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार रहेछ :

२.   मूलपुर्खा रामनाथ राठका छोरा परमेश्वर राठको दुई छोरा जेठो धनपत राठ कान्छो म फिरादीको लोग्ने स्व, हरदत्त राठ, धनपतको छोरा प्रतिवादी रंगी राठ भै निज रंगी राठ र म वादी आधा आधा अंशियार हौं । जग्गा जमीन जसको नाममा भए पनि हामीहरु बीच अंश बण्डा भएको छैन । अघि मधुवन मौजाको आठ आना जमीन विगाहा २४५ पुरेनी मौजाको नम्बरी ज.वि. ४५ गोपालपुर मौजाको ज.वि. १११ ससुरा परमेश्वर राठको नाममा थियो । ससुरा परलोक भएपछि जेठाजु धनपतले दर्ता गराउनु भएको थियो । पछि पैत्रिक घर सानो भै मेरो लोग्ने स्वास्नीलाई अर्कै घरमा राख्नु भएको र जेठाजुले आफ्नो नाममा जग्गा जमीन राखी मेरो लोग्नेको नाममा पुरैनीको जग्गा आधा २२ दर्ता गराउनु भयो । जेठाजु तथा लोग्नेको स्वर्गेपछि प्रतिवादी भतिजा रंगी राठ घरको मुख्य भै जेठाजुको नाममा रहेको जग्गा आफ्नो नाममा गराई व्यवहार समेत गरी आएकोपछि निज प्रतिवादीले तपाईको छोरी मेरो बहिनी पर्ने पतराजाको विवाहमा केही दिन सकिएन । अलि जग्गा दिनु पर्‍यो भन्दा आफ्नै छोरी भएकीले मेरो नामको जग्गा मध्ये ०१ बाँकी राखी अरु जग्गा छोरीलाई बकसपत्र गरी दियो । जग्गा दर्ता श्रेस्ता तथा घर भिन्न भएकाले प्रतिवादीले मलाई अंश नदिने विचार गरी मेरो कुनै वास्ता नराखी मेरो अंश देउ भन्दा हुन्छ भन्दै गरी २०४३।९।५ गते मेरो नामको जग्गामा तिम्रो अंश छैन अंश दिन्न भनेकाले अंश बण्डाको ३५ नं. अनुसार फिराद गरेकी छु । अंश बण्डाको २१, २२, २३ नं. अनुसार कारवाही गरी सम्पूर्ण सम्पत्तिको फाँटवारी लिई त्यसमा २ खण्डको १ खण्ड अंश पाउँ भन्ने २०४३।९।१८ को ईन्द्रपरा राठनीको फिराद ।

३.   अन्दाजी ४० वर्षअघि वादीको लोग्ने तथा मेरो बुबा घरसारमा छुट्टि भिन्न भैसकेका हुन। वादी मेरो एकासगोलकी होइनन् । वादी वादी झुठ्ठा हो । मेरो बुबा धनपतिले आफ्नो नाममा दर्ता पुरैनी गा.वि.स. वडा नं. ६ कि.नं. १८२, १९५, १९६ समेत ज.वि. ०१ वली मोहमदलाई राजीनामा गरी दिएका थिए । वादीले पनि आफ्नो छोरीलाई पुरैनी गा.वि.स. वडा नं. ३ कि.नं. १०३ र ६९ को ज.वि. १२.१/२ जग्गा एकलौटी हकको भनी हालै देखिको बकसपत्र भनी रजिष्ट्रेशन समेत गरी दिएका छन् । मेरो बुबा धनपति राठले काठमाडौं मधुवनको २ आना जिमिदारीको जग्गा वादीको छोरा पतराजा राठनीलाई राजीनामा दिई पारीत भएको छ । सो राजीनामामा वादीका लोग्ने साक्षी (साविक पेज नं. ५६) बसेका छन् । यसरी हामी वादी प्रतिवादीहरुका बीच अंशबण्डा भैसकेको प्रष्ट हुन्छ । मेरो बुबा धनपत स्वर्गे भएपछि निजको नामको जग्गा मेरो नाममा र वादीको लोग्ने स्वर्गे भएपछि निजको नामको जग्गा वादीको नाममा नामसारी भएपछि वादीको कुनै पनि सम्पत्ति मेरो नाममा दर्ता छैन । वादीलाई मैले अंश दिनु पर्ने होइन भन्ने समेत २०४३।११।१७ को रंगी राठको प्रतिउत्तर पत्र ।

४.   बुझिएका प्रमाण र व्यवहारबाट प्रस्तुत मुद्दामा बण्डापत्र नभए पनि अंश बण्डाका ३० नं. बमोजिम वादी प्रतिवादी यस अघि नै अंश लिई बेगल बसेको देखिँदा पुनः अंश दिलाई दिन मिलेन । वादीको दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत २०४५।२।३० को बाँके जिल्ला अदालतको फैसला ।

     ५.   दर्ता श्रेस्ता र घर बेग्ला बेग्लै भएको समेत आधार लिई छुट्टि भिन्न भएको भनी भएको बाँके जिल्ला अदालतको २०४५।२।३० को फैसला त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी मेरो फिराद दावी बमोजिम हक इन्साफ भै अंशबण्डा गरी पाउँ भन्ने समेत वादी इन्द्रपरा राठनीको पुनरावेदनपत्र ।

६.   वादी दावी नपुग्ने ठहर गरेको शुरुको फैसला विचारणीय हुँदा अ.बं. २०२ नं. बमोजिम छफलको लागि झगडिया झिकाई पेश गर्नु भन्ने मिति २०४५।१०।१७ को तत्कालिन भेरो अञ्चल अदालतको आदेश ।

७.   चल अचल सम्पत्तिको वादी प्रतिवादी दुवैबाट अंशको तायदाती फाँटवारी दाखिल गर्न लगाई सुनाई पेश गर्नु भन्ने समेत २०४९।१।१६ को पुनरावेदन अदालत सुर्खेतको आदेश ।

८.   फिराद परेको मितिलाई मानो छुट्टिएको मिति कायम गरी सो को आधारमा वादी प्रतिवादीबाट चल अचल सम्पत्तिको तायदाती फाँटवारी दाखिल गराउने भन्ने अदालतको आदेशानुसार वादी प्रतिवादी पक्षबाट पेश भएको मिसिल सामेल रहेको तायदाती फाँटवारीमा उल्लेखित चल अचल सम्पत्तिको फिराद दावी अनुसार पुनरावेदक वादीले २ भागको १ भाग आफ्नो अंश बापत विपक्षी प्रतिवादीबाट छुट्याई लिन पाउने ठहर्छ । वादीले अंश नपाउने ठहर गरेको शुरु बाँके जिल्ला अदालतको इन्साफ नमिलेको हुँदा उल्टी हुन्छ भन्ने समेत पुनरावेदन अदालत नेपालगंजको मिति २०४९।४।२६ को फैसला ।

९.   उक्त फैसलामा चित्त बुझेन । पिताकै पालामा बण्डा गरी भोग व्यवहार चलाई आएको त्यस्तो बण्डालाई तत्कालिन ऐनले मान्यता दिएको हुँदा कानुन र प्रतिपादित कानुनी सिद्धान्त विपरीत वादीले मबाट अंश पाउने ठहर्‍याएको पुनरावेदन अदालत नेपालगंजको फैसला बदर गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन ।

१०.  नियम बमोजिम पेशी सुचीमा चढी यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदन प्रतिवादीको तर्फबाट उपस्थित विद्वान अधिवक्ताद्वय श्री शुसीलकुमार पन्त र बाबुराम गिरीले भूमिसम्बन्धी ऐन, २०२१ बमोजिम आआफ्नो हकको दर्ताको जग्गाको लगत बेग्लाबेग्लै दाखिल भएको अंश बण्डाको ३० नं. अनुसार भोग बिक्री व्यवहारबाट अलग अलग भैसकेको स्थितिमा हाम्रो पक्ष प्रतिवादीबाट वादीले अंश पाउने ठहर्‍याएको पुनरावेदन अदालत नेपालगञ्जको इन्साफ उल्टी हुनु पर्ने भन्ने व्यहोराको बहस प्रस्तुत गर्नु भयो ।

     ११.   यसमा वादी दावी नपुग्ने ठहर्‍याएको शुरु जिल्ला अदालतको इन्साफ उल्टी गरी फिराद दावी अनुसार वादीले २ भागको १ भाग आफ्नो अंश वापत विपक्षी प्रतिवादीबाट छुट्याई लिन पाउने ठहर्‍याएको पुनरावेदन अदालत नेपालगंजको इन्साफ मुनासिब बेमनासिब के रहेछ ? सो को निर्णय दिनु पर्ने भै विचार गर्दा परमेश्वर राठको दुई छोरामा जेठो धनपत राठ कान्छो हरदत्त भै धनपतको छोरा प्रतिवादी रंगी राठ र हरदत्तको पत्नी यी वादी ईन्द्रपरा भएकोमा विवाद देखिँदैन । प्रतिवादीले ४० वर्ष अघिनै छुट्टि भिन्न भएको भनी जिकिर लिए तापनि वादीको लोग्ने र प्रतिवादीको बाबु धनपत बीच यो यस्तो चल अचल सम्पत्ति अंशबण्डा गरी लिई दिई यो मितिमा छुट्टिभिन्न भएको भन्ने आधार प्रमाण प्रतिवादीले देखाउन सकेको पाइँदैन । वादीको लोग्नेसँग अघि नै अंश बण्डा भैसकेको भन्न घरसार वा अड्डाबाट पारीत भएको बण्डापत्रको लिखत भए गरेको भन्ने प्रतिवादीबाट जिकिर लिन सकेको समेत पाइँदैन । अंशबण्डाको ३० नं. मा मुलुकी ऐन सातौं संशोधन (२०३४) हुनु पूर्व बण्डापत्र खडा नगरी घरसारमा नरम गरम मिलाई अचल अंशबण्डा गरी छुट्टिई आफ्नो भाग लिई पाइसकेपछि दाखिल खारेज समेत गराई वा बण्डा बमोजिम आफ्नो आफ्नो भागको अचल सम्पत्ति छुट्टाछुट्टै भोग बिक्री व्यवहार गरेकोमा व्यवहार प्रमाणबाट बण्डा भइसकेको ठहरेको अवस्थामा मात्र अंशबण्डा भैसकेको मान्नु पर्ने हुँदा प्रस्तुत मुद्दामा वादी प्रतिवादी एकासगोलको अंशियार देखिन आएबाट फिराद दावी अनुसार वादीले प्रतिवादीबाट अंश छुट्टयाई लिन पाउने नै देखिन आयो । अतः प्रतिवादीबाट वादीले अंश छुट्टिसकेको सबूदको अभावमा पुनरावेदन अदालत नेपालगंजले पेश भएको तायदाती फाँटवारीको सम्पत्तिको २ भागको १ वादी दावी बमोजिम अंश पाउने ठहर्‍याएको इन्साफ मिलेकै देखिँदा प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन। मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.कृष्णकुमार वर्मा

 

इतिसम्वत् २०५१ साल मार्ग १२ गते रोज २ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु