शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ५०४० - उत्प्रेषण लगायत जो चाहिने आज्ञा जारी गरी पाउं ।

भाग: ३७ साल: २०५२ महिना: बैशाख अंक:

निर्णय नं. ५०४०    ने.का.प. २०५२      अङ्क १

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री नरेन्द्रबहादुर न्यौपाने

सम्वत् २०४८ सालको रिट नं. २१४०

आदेश मिति : २०५१//२२/

विषय : उत्प्रेषण लगायत जो चाहिने आज्ञा जारी गरी पाउ

 

निवेदक      : का.जि.का.न.पा. वार्ड नं. ४ बालुवाटार बस्ने धन बहादुर लामा ।

विरुद्ध

विपक्षी :का.न.पा.का कार्यकारिणी अध्यक्ष धनबहादुर बस्नेत काठमाडौं नगरपालिका ।

का.जि.का.न.प.वडा नं. २७ न्हेकन्तला बस्ने रुवी राजभण्डारी ।

ऐ.ऐ बस्ने नारायणमान राजभण्डारी ।

ऐ.ऐ वडा नं. ४ बस्ने रमेश प्रसाद सापकोटा ।

ऐ.ऐ बस्ने विद्याधर अर्याल ।

ऐ.ऐ बस्ने वडा नं.३१ पुतली सडक बस्ने परमिला देवे ।

का.जि.का.न.प. वडा नं.९ बानेश्वर बस्ने उमा बस्ताकोटी ।

ऐ.ऐ वडा नं.२२ गणबहाल बस्ने गौरी देवी आदी ।

 

      नक्सा पास सम्बन्धमा निवेदकले उजुर गर्दैमा हक बेहकको प्रश्न उठेको भनी सम्झन नमिल्ने ।

 (प्रकरण नं. १४)

      कानुन बमोजिम नक्शा पास गरी दिने अधिकार प्राप्त का.न.पा. को कार्यकारिणी सचिव एवं अध्यक्षले कानुन बमोजिम नक्शा पास गरी दिने गरेको निर्णयलाई अनाधिकार निर्णय भएको भन्न नमिल्ने ।

(प्रकरण नं. १४)

 मातहत अदालतमा विचाराधिन रहेको मुद्दामा रिट क्षेत्रबाट बोल्न नमिल्ने ।

(प्रकरण नं. १४)

निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री लेखनाथ पौड्यान

विपक्षी तर्फबाट      : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर, विद्वान अधिवक्ता श्री ध्रुवनाथ पन्त, विद्वान अधिवक्ता श्री अर्जुनप्रसाद कडेँल

अवलम्बित नजीरःX

आदेश

न्या.केशवप्रसाद उपाध्यायः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ बमोजिम दर्ता हुन आएको प्रस्तुत रिट निवदनको संक्षिप्त विवरण यस प्रकार छ :

२.    का.जि.का.न.पा. वडा नं. ४ बालुवाटारको साविक वडा नं. २३(ग) को कि.नं. ११, १२, १३ को हाल विपक्षीहरुले कि.नं. ४९९, ५४१, ५४२ , ५३९ , ५४०, ५३८, ५३६, ५४३ र ५३७ का कित्ताहरु कायम गराएको कि.नं. ११ को जग्गामा म निवेदकको २००७ सालदेखि नै घरवास बनाई जग्गा जोत भोग आवाद गरी अविछिन्नरुपले कमाई भोगाधिकार र एवं हक अधिकार प्राप्त गरेको जग्गा हो । साविकमा यो जग्गा हिम शमशेर राणाको हो । हिम शमशेर राणा औषधि उपचार निमित्त भारततर्फ जानु हुँदा आफू फर्की आएको अवस्था जग्गा र जग्गाको बाली समेत उहाँलाई फिर्ता दिने बुझाउने शर्तमा मलाई लेखी कमाउन दिई २००७।९।२ मा जानु भएको हो ।

३.    विपक्षी गौरी देवी आदिले यो जग्गामा २०२७ सालमा मोही लेखाई नापी गराई २०४७ सालमा मोहीबाट जग्गा धनी बनी धनी पूर्जा लिएको दिन मिति २०४७।४।३२ मा काठमाडौं मालपोत कार्यालयबाट ३ नं. नापी गोश्वाराका कर्मचारीका एकाघरका नाता पर्ने व्यक्तिहरुलाई ०१४, १४० आना जग्गा घर समेत दिई बाँकी विपक्षी परमिला देव, उमा वस्ताकोटी, रमेश सापकोटा, विद्याधर अर्याल समेतलाई हा.व. गरी मिति २०४७,४।३२ मा दिई उक्त जग्गा कमाउँदै नकमाएको मोहीले मोहीबाट जग्गा धनी बनी बिक्री गरी दिएको र नभए नगरेको काम कुरा गर्ने व्यक्तिबाट हक प्राप्त गरेको भनी विपक्षी रमेश सापकोटा समेत म बसीरहेको जग्गामा आई घरवासमा बाधा विरोध गर्न लागेको यस सम्मानीत अदालतमा मिति २०४७।८।१० मा नं. ९२५ को उत्प्रेषण मुद्दामा कारवाही भैरहेको छ र सोही विवादित जग्गा मिति २०४८।५।१७ मा विपक्षी रुवी राजभण्डारीले हा.व. लिई घर बनाउन नक्सा दर्खास्त गरी सूचना टाँस हुँदा मैले थाहा पाई कि.नं. ५३९, ५४० र ५४२ को जग्गमा नक्सा पास नहोस् भनी उजूर गर्दा पनि नक्सा पास नरोकी हक बेहक सम्बनधी विवाद परेको जग्गामा नक्सा पास गरी दिएकोले संविधान कानुन एवं प्रतिपादित नजीर समेतको उल्लंघन गरी कानूनी अराजकता उत्पन्न गराई विपक्षी नगरपालिका कार्यकारिणी सचिव एवं अध्यक्ष धनबहादुर बस्नेतले नक्सा पास गरी दिने गरेको मिति २०४८।११।११ को निर्णय उत्प्रेषण लगायतको जो चाहिने आज्ञा, आदेश जारी गरी बदर गरी मौलिक हकको संरक्षण गरी पाउँ भन्ने समेत रिट निवेदन जिकिर रहेछ ।

४.    यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिम आदेश किन जारी हुन नपर्ने हो ? विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने यस अदालत एक न्यायाधीशको इजलासबाट भएको आदेश ।

५.    जुन जग्गामा रुवी श्रेष्ठले घर बनाउन पाउँ भनेको र ती जग्गाहरु निज नक्सावालाको नाउँमा दर्ता भएको सबुद प्रमाण पेश भएको र नक्सा पास सम्बन्धि सबै प्रकृया पुरा भैसकेको र यस न.पा.ले आफ्नो अधिकार क्षेत्रभित्र रही नक्सापास गरी दिएको र विपक्षीको कुनै हक भएको नदेखिँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको का.न.पा.का. कार्यकारिणी अधिकृत धनबहादुर बस्नेतको लिखितजवाफ ।

६.    गौरी देवी आदिको निर्विवाद हक भोग दर्ताको कि.नं. ११ को रोपनी ४१०० मध्ये मैले हा.व.बाट प्राप्त गरेको कि.नं. ४९८ को ०४ जग्गा प्रत्यर्थी मध्येको नारायणमान राजभण्डारीलाई ०० बाँकी ०० मेरै नाममा कायम छ । विपक्षीले कहिले मोहीमा कहिले पर्ति र कहिले हिम शमशेर राणाको भनी दावी गरेका हुँदा विपक्षीको दावी आधारहिन र हकदैया विहिन हुँदा त्यस्तो हकदैया विहिन व्यक्तिले नक्सा पास कार्य रोक्न नमिल्ने भै कानुन बमोजिम भएको नक्सा पास उपर परेको विपक्षीको गैर कानुनी रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत विद्याधर अर्यालको लिखितजवाफ ।

७.    जग्गाको हक भोग दर्ताको सम्बन्धमा विपक्षीले हामी समेत उपर दिएको २०४७ सालको रिट नं. ९२५ मा हामीले फिराएको लिखितजवाफमा विस्तृत रुपमा उल्लेख समेत गरेका छौं । यसमा पेश गर्ने प्रमाण सोही मुद्दामा पेश भएको हुँदा सो मुद्दा समेत साथै राखी कारवाही गरी पाउँ । कि.नं. ११ को रोपनी ४० जग्गा मध्ये सो जग्गाको दर्तावाला गौरी देवी आदिसँग प्रत्यर्थी मध्येका म परमिला देवीले कि.नं. ५०० को जग्गा ०१४० र प्रत्यर्थी मध्येका म उमा वस्ताकोटीले कि.नं. ५०१ को ०१४० जग्गा र सो जग्गामा बनेको घर र प्रत्यर्थी मध्येका म रमेश प्रसाद सापकोटाले कि.नं. ४९९ को ०० जग्गा मिति २०४७।४।३२ मा हा.व. प्राप्त गरी हाम्रो हक हुन आएको जग्गा हो । प्रत्यर्थी मध्ये हामी परमिला देव, उमा वस्ताकोटी र रमेशप्रसाद सापकोटा समेतले प्रत्यर्थी मध्येको रुविराज भण्डारीलाई हा.व. पारीत गरी दिएको जग्गामा नक्सा पास गरी दिएको का.न.पा. को निर्णय बदर हुनु पर्ने होइन विपक्षी हकदैया विहिन व्यक्तिले नकसा पास कार्य रोक्न नमिल्ने भएकोले रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको उमा वस्ताकोटी, रमेशप्रसाद सापकोटा र परमिला देव समेतको संयुक्त लिखितजवाफ ।

      ८.    दावीमा उल्लेखित जग्गा मध्ये कि.नं. ११ को रोपनी ४० जग्गा म प्रत्यर्थी गौरी देवी आदिको नाममा २०२१।२२ सालको नापीमा जोत पोत नै नापी भै तत्कालिन भु.प्र.का. काठमाडौं हाल मा.पो.का. काठमाडौंको मिति २०२७।३।११ गतेको निर्णयबाट दर्ता प्रमाणित भै ज.ध.प्र.पु. प्राप्त गरेको छु । दावीमा उल्लेखित जग्गा मध्ये का.न.पा. वडा नं. २३(ग) कि.नं. १३ को रोपनी ०० जग्गाको जग्गा धनी का.जि. बालुवाटार बस्ने कृष्णप्रसाद खनालको नाममा दर्ता भएको उक्त जग्गाको मोही म गौरी देवी वादी हुँ । ऐ. कि.नं. १२ को रोपनी १११० जग्गा धनी ल.पु. बस्ने श्रीमाया श्रेष्ठनी र मोही म गौरी देवी हुँ । उक्त कि.नं. १२ र १३ को जग्गामा मोहिया हक भएको उक्त जग्गाहरुमा जग्गा नाप जाँच ऐन, २०१९ र भू.सं. ऐन, २०२१ बमोजिम म गौरी देवीको हकाधिकार भोगाधिकार माथि कसैको पनि दावी विरोध नपरी म गौरी देवीको निर्विवाद हक स्थापित भएको जग्गा हो । कि.नं. ११ को रोपनी ४० मध्ये जग्गा रोपनी २० घर जग्गा प्रत्यर्थी मधयेका परमिला देव, उमा वस्ताकोटी विद्याधर अर्याल र रमेश सापकोटालाई कि.का. गरी मिति २०४७।४।३२ मा हा.व. पारीत गरी दिएको हो । म गौरी देवीले साविक कि.नं. ११ बाट नै हाल बाँकी रहेको १० जग्गा भित्र घर बनाउन दिएको नक्सा दर्खास्तमा विपक्षीले कुनै उजुरवाजुर नगरी ०३५।३।१६ मा नक्सा पास भै घर बनी जापानीहरुलाई बहालमा राखी भोग चलन गरी आएकी छु । सोही जग्गा मध्येबाट मैले पारीत गरी दिएको जग्गामा नक्सा पास गरेको का.न.पा. को मिति २०४८।११।११ को निर्णयबाट विपक्षीको कुनै संवैधानिक हकमा असर परेको छैन । अ.बं. ८२ नं. विपरीत पर्न आएको निवेदन हुँदा विपक्षीको गैर कानुनी एवं आधारहिन रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको गौरी देवी आदिको लिखितजवाफ।

९.    विपक्षी रिट निवेदकले आफ्नो रिट निवेदनमा उल्लेख गरेको का.न.पा. वडा नं. २३ (ग) कि.नं. ११ को जग्गामा विपक्षीको हकाधिकार एवं भोगाधिकार भै प्रत्यर्थी मध्येको गौरी देवी आदिको नाममा २०२१।२२ सालको सर्भे नापीमा जोतपोत नै दर्ता भै तत्कालिन भू.प्र.का. हाल मा.पो.का. काठमाडौंको मिति २०२७।३।११ गतेको निर्णयबाट ज.ध.प्रमाण पूर्जा प्राप्त गरेको छन् । गौरी देवी आदिले परमिला देव, उमा वस्ताकोटी, रमेशप्रसाद र विद्याधर अर्याल समेतलाई उक्त कि.नं. ११ बाट २१०० घर जग्गा मिति २०४७।४।३२ मा हा.व. पारीत गरी दिएको र सोही जग्गाहरु मध्येबाट मैले कि.का. गरी मिति २०४८।५।१७ गते हा.व. पारीत गरी लिएको का.न.पा. वडा नं. २३(ग) को कि.नं. ५३९, ५४० र ५४२ को ३ कित्ता जग्गामा घर बनाउन नक्सा पासको लागि दर्खास्त दिएकोमा विपक्षीले उक्त जग्गाको प्रमाण पेश नगरी अ.बं. ८२ नं. विपरीतको उजुरीबाट हक बेहकको कुनै प्रश्न उपस्थित नभएको र परस्पर दावी बाझिएबाट नै का.न.पा. बाट नक्सा पास भएको हो । उल्लेखित बुँदा प्रमाणको आधारमा मिति २०४८।११।११ को का.न.पा. बाट पास भएको नक्सा कानुनसंगत नै हुँदा विपक्षीको गैर कानुनी एवं आधारहिन रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको रुवी राजभण्डारीको लिखितजवाफ ।

१०.    बकसपत्र प्राप्त गरेका लिखत कानुनत बदर समेत नभएको र रिट निवेदनमा विपक्षीको हक नै नभएको स्थितिमा हक प्रचलनमा बाधा उत्पन्न भएको भन्ने प्रश्न नै उत्पन्न हुँदैन कानुन बमोजिम भइरहेको दर्ता कायम छ ऐन बमोजिम रजिष्ट्रेशन पास भएको लिखत सदर छ यसमा अदालतबाट कुनै किसिमको अन्यथा आदेश वा फैसला समेत भएको छैन । कानुनी आधार विनाको दावी लिँदैमा कुनै हालमा पनि रिट जारी हुने भन्ने कुरै उठ्दैन । अतः उपर्युक्त कुरा कारण कानुनी सिद्धान्त एवं औचित्य समेतबाट विपक्षीको कुनै पनि कानुनी एवं संवैधानिक हकको हनन् नभएको र नक्सा पास लगायतको कार्य कानुन बमोजिम नै भएको हुँदा विपक्षीको माग बमोजिमको आदेश जारी हुन पर्ने अवस्था विद्यमान नहुँदा रिट निवेदन खारेज भागी भएकोले खारेज गरी पाउँ भन्ने समेत व्यहोराको नारायणमान राजभण्डारीको लिखितजवाफ ।

११.    नियम बमोजिम मुद्दा पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदकको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री लेखनाथ पौड्यालले हिमशमशेर राणाले २००७ सालमा लेखी दिनु भएको शर्तनामा बमोजिम मेरो पक्षले बाली लगाई बसोवास समेत गरी भोग चलन गरी आएको सोही भोगाधिकारबाट मेरो पक्षको हक हुन आएको घरजग्गा विपक्षीहरुले दर्ता गरी बिक्री व्यवहार गरी नक्सा समेत पास गरेको छ । नक्सा पास दर्खास्तमा जग्गाको हक बेहक सम्बन्धी अदालतमा विवाद चलिरहेकोले नक्सा पास रोक्का राखी पाउँ भनी दिएको उजुरीको वेवास्ता गरी कानुन विपरीत हुने गरी विपक्षीका नाउँमा नक्सा पास गरी दिने गरेको मिति २०४८।११।११ को काठमाडौं नगरपालिकाको निर्णय उत्प्रेषणको आदेश जारी गरी बदर गरी पाउँ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो । काठमाडौं नगरपालिकाका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधरले रिट निवेदकले दावी लिएको जग्गाको जग्गा धनी वा मोही रिट निवेदक हो भन्न सकेको छैन । नगरपालिका समक्ष पर्न आएको नक्सा दर्खास्त उपर प्रमाण बेगर कसैले उजुर गर्दैमा हक बेहकमा पठाउनु पर्ने भन्न नमिल्नुका साथै हकदैया विहिन निवेदकको माग बमोजिमको आदेश जारी हुनुपर्ने होइन । कानुन बमोजिम नक्सा पास गरी दिने गरेको काठमाडौं नगरपालिकाको निर्णय बदर हुनु पर्ने होइन । रिट निवेदन खारेज गरी पाउँ भनी बहस प्रस्तुत गर्नु भयो ।

१२.   विद्वान अधिवक्ता श्री धु्रवनाथ पन्त र विद्वान अधिवक्ता श्री अर्जुनप्रसाद कँडेल समेतले बेसरोकारी पक्षलाई विपक्ष बनाई हकदैया नै नभएको रिट निवेदकको निवेदन लाग्न सक्ने होइन मातहतको अदालतमा विचाराधिन भै मुद्दाको कारवाही भैरहेको देखिनुका साथै नक्सा पासको सन्दर्भमा निवेदकले उजुर गर्दैमा हक बेहकको प्रश्न उठेको भनी सम्झन नमिल्ने भन्ने सिद्धान्त समेत प्रतिपादन भैरहेको देखिँदा रिटनिवेदन खारेज हुनु पर्दछ भनी गर्नु भएको बहस समेत सुनियो ।

१३.   उक्त बहस जिकिरलाई समेत ध्यानमा राखी फायल अध्ययन गरी निर्णय तर्फ विचार गर्दा निवेदकको माग बमोजिमको आदेश जारी गर्नु पर्ने नपर्ने के रहेछ सो को निर्णय दिनु पर्ने हुन आयो ।

१४.   यसमा रिट निवेदकले आफ्नो निवेदनमा विवादित जग्गा २००७ सालदेखि बाली लगाई घर टहरा समेत बनाई बसोवास गरी भोग चलन गरी आएको  तथा अदालतमा हक बेहकमा मुद्दा समेत चलिरहेको अवस्थामा विपक्ष गौरीदेवी आ.दी.को मोही हकको देखाई २०२७ सालमा नापी गराई २०४७ सालमा जग्गा धनी समेत बनी पुर्जा लिई सोही दिन मिति २०४७।४।३२ मा हा.व. पारीत गरी दिएको र सोही आधार देखाई २०४८।११।११ मा रुवी राजभण्डारीको नाममा नक्सा पास गरी दिने का.न.पा. को निर्णय उत्प्रेषणको आदेश समेतबाट बदर गरी पाउँ भन्ने मुख्य जिकिर लिएकोमा विपक्षी मध्येको गौरी देवी आदिको लिखितजवाफमा निवेदकले दावी गरेका विवादित जग्गा का.जि.का.न.पा. वडा नं. २३(ग) कि.नं. ११ को ४० जग्गा २०२१।२२ सालको सर्भे नापीमा जोतपोत नै गौरी देवी आ.दी.को नाउँमा मा.पो.का. काठमाडौंको मिति २०४७।३।११ को निर्णयबाट दर्ता प्रमाणित भै ज.ध.प्र.पु. प्राप्त गरेको छु भनी र उक्त जग्गा मध्येबाट मिति २०४७।४।३२ मा प्रत्यर्थी मधयेका परमिला देव, उमा वस्ताकोटी, विद्याधर अर्याल र रमेश सापकोटालाई हा.व. गरी दिई कित्ताकाट समेत भैसकेको र सोही कित्ताको बाँकी १० जग्गा भित्र घर बनाउन दिएको नक्सा दर्खास्तमा विपक्षी रिट निवेदकले कुनै उजुर नगरी २०३५।३।१६ मा नक्सा पास भै घर बनाई भोगचलन गरी आएको छु । दावीमा उल्लेखित जग्गा मध्ये कि.नं. १३ को ०० जग्गाको जग्गा धनी का.जि. बालुवाटार बस्ने कृष्णप्रसाद खनालको नाममा दर्ता भएको र ऐ.कि.नं. १२ को १११० जग्गाको जग्गाधनी ल.पु. बस्ने श्रीमाया श्रेष्ठनी भै उक्त दुवै कित्ता जग्गाको म गौरी देवी मोही भएको हुँदा कानुन बमोजिम म गौरी देवीको हकाधिकार भोगाधिकारमा कसैको दावी विरोध नपरी मेरो निर्विवाद हकको जग्गा भएको र कि.नं. ११ को जग्गा मध्येबाट गौरी देवीबाट हा.व. पारीत गरी लिएको परमिला देव, उमा वस्ताकोटी रमेश प्रसाद सापकोटा र विद्याधर अर्याल समेतको जग्गाहरु मध्येबाट मैले २०४८।५।१७ मा हा.व. पारीत गरी लिई कि.नं. ५३९, ५४० र ५४२ को ३ कित्ता जग्गामा घर बनाउन नक्सा पासको लागि दर्खास्त दिएको भन्ने प्रत्यर्थी मध्येको रुवी राजभण्डारीको लिखितजवाफ रहेको पाइन्छ । आफ्नो अधिकार क्षेत्रभित्र रहेको र विपक्षको कुनै हक भएको नदेखिँदा कानुन बमोजिम गरी रुवीका नाउँमा नक्सा पास गरी दिएकोबाट विपक्ष रिट निवेदकको कुनै पनि हक हनन् नभएको भन्ने समेत काठमाडौं नगरपालिकाको लिखित जवाफबाट देखिन्छ । रिट निवेदकले दावी लिएको जग्गा रुवी राजभण्डारले मिति २०४८।५।१७ मा हा.व. पारीत गरी लिई कि.नं. ५३९, ५४० र ५४२  को जग्गा कि.नं. ११ बाट कित्ताकाट भई आएको निर्विवाद छ । उक्त कि.नं. ११ को गौरी देवी आदिको नाउँमा जोतपोत समेत दर्ता भई जग्गाधनी प्रमाण पूर्जा प्राप्त गरेको छ । निवेदकले दावी लिएको कि.नं. ११, १२, १३ समेतका सम्पूर्ण कित्ता जग्गामा तेरो मेरो परेकोले जिल्ला अदालतमा हकबेहक समेतको मुद्दा परिरहेको भन्ने कुरालाई निवेदकले आफ्नो निवेदनको प्रकरण ३ मा स्वीकार गरेको पाइन्छ । नक्सा पास गर्दा नगरपालिकाले सो जग्गामा धनबहादुर लामाको हक रहे भएको नदेखेपछि नक्सा पास सम्बन्धमा निवेदकले उजुर गर्दैमा हक बेहकको प्रश्न उठेको भनी सम्झन मिल्ने देखिएन । कानुन बमोजिम नक्सा पास गरी दिने अधिकार प्राप्त का.न.पा. को कार्यकारिणी सचिव एवं अध्यक्षले कानुन बमोजिम नक्सा पास गरी दिने गरेको मिति २०४८।११।११ को निर्णयलाई अनाधिकार निर्णय भएको भन्न मिलेन । नक्सा पास पुर्जी बमोजिम घर समेत बनेको मिसिल सामेल फोटोबाट देखिन आएको छ साथै मातहत अदालतमा विचाराधिन रहेको मुद्दामा रिट क्षेत्रबाट बोल्न नमल्ने भएबाट निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फाइल नियम बमोजिम गरी बुझाइ दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.नरेन्द्र बहादुर न्यौपाने

 

इतिसम्वत २०५१ साल ज्येष्ठ २२ गते रोज १ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु