निर्णय नं. ५०४५ - उत्प्रेषण लगायतको जुन चाहिने उपयुक्त रिट आज्ञा, आदेश वा पुर्जी जारी गरी पाउं ।

निर्णय नं. ५०४५ ने.का.प. २०५२ अङ्क१
संयुक्त इजलास
माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा
सम्वत् २०४९ को रिट नं. २५७०
आदेश मिति : २०५१।५।१५।४
विषय : उत्प्रेषण लगायतको जुन चाहिने उपयुक्त रिट आज्ञा, आदेश वा पुर्जी जारी गरी पाउं ।
रिट निवेदक: जिल्ला वारा बेनौली गाउँ विकास समिति वडा नं. १ बस्ने जयप्रकाश सिंह जैसरवारको पत्नी ऐ.ऐ.बस्ने शान्तिदेवी कुर्मीन ।
विरुद्ध
विपक्षी : जिल्ला पर्सा वीरगञ्ज नगरपालिका वडा नं. १३ बस्ने सूर्यमुनि देवी वर्नवाल ।
ऐ.ऐ बस्ने घनश्याम प्रसाद वर्नवाल पर्सा जिल्ला अदालत वीरगन्ज ।
पुनरावेदन अदालत हेटौंडा मकवानपुर ।
अ.बं. १४ नं. मा आफ्ना पालामा परेका मुद्दा फैसला गर्दा प्रतिवादी परेको वा पर्ने अवस्था पुगेको मिति देखि आफ्ना इलाकाको झगडियाको ६ महिना, आफ्ना अड्डाको इलाका देखि एकसय कोष सम्म टाढाका ईलाकाको झगडियाको ९ महिना र त्यस भन्दा टाढाको झगडियाको १ वर्ष सम्ममा फैसला गर्नु पर्छ भन्ने उल्लेख भएको देखिन्छ । एक भन्दा बढी प्रतिवादीहरु भै विभिन्न मितिमा प्रतिउत्तर परेकोमा अन्तिम प्रतिउत्तर परेको मितिले अ.बं. १४ नं. को म्यादको गणना हुने भन्ने कानुनी व्यवस्था रहे भएको पाइँदैन । अ.बं. १४ नं. बमोजिम प्रतिउत्तर परेको वा पर्ने अवस्था पुगेको मिति देखि फैसला गर्नु पर्ने म्याद गणना हुने ।
(प्रकरण नं. १३)
निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री कमलनारायण दास
विपक्षी तर्फबाटःX
अवलम्बित नजीरःX
आदेश
न्या.उदयराज उपाध्यायः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छ :–
२. मैले ओम प्रकाश वर्णवालसँग मिति २०४६।११।१८।५ मा मा.पो.का. पर्सा मार्फत र.नं. २४४४ बाट रु. २५,०००।– मा राजीनामा गराई लिएकोमा प्रत्यर्थी नं. १, २ ले पर्सा जिल्ला अदालतमा संवत् २०४७ सालको दे.नं. २०१५ को लिखत दर्ता बदर मुद्दा म उपर दायर गर्नु भयो मैले मियित २०४८।१२।१० मा प्रतिउत्तर लगाउन जाँदा सो भन्दा अगावै विपक्षका वारेशले २ पटक गरी २२ दिनको तारेख गुजारी थमाई सक्नु भएकोमा अ.बं. ५९ नं. ले ८ दिन मात्र म्याद थपाउन बाँकी रहेकोमा मिति २०४८।१२।१६ का दिन ४७ दिन गुज्रीसकेको तारेख थामी दिने आदेश भयो र सो उपर अ.बं. १७ नं. बमोजिम प्र.नं. ४ समक्ष निवेदन गर्दा ऐ. को मुख्य न्यायाधीशबाट मिति २०४९।२।९।६ मा प्र.नं. ३ को नाउँमा कानुन बमोजिम गर्नु गराउनु भनी आदेश भयो ।
३. विपक्षीले अ.बं. ५९ नं. अन्तर्गत थामी पाउने जम्मा म्याद दिन ३० मध्ये २२ दिन म्याद तारेख थमाईसकेकोमा तेश्रो पटक प्र.नं. १, २ को वारेशले मिति २०४८।१०।१९ को निमित्त तोकिएको तारेख गुजारी मैले मिति २०४८।१२।१० मा प्रतिउत्तर फिराउँदासम्म गुज्रेको म्याद तारेख थामी नसकेको र सो मितिसम्म ४१ दिन तारेख गुज्रेको अवधि व्यतित भईसकेको हुनाले थाम्ने म्याद समाप्त व्यतित भईसकेको अवस्थामा मिति २०४८।१०।१० का दिन देखि वादीले तारेख गुजारेकोमा गुज्रेको तारेख थामी तारेखमा राख्ने गरेका मिति २०४८।१२।१६ को प्र.नं. ४ को आदेश बदर भागी छ ।
४. मेरो प्रतिउत्तर नपर्दै प्र.नं. १, २ को वारेशले मिति २०४८।१०।२९ देखिको तारेख गुज्री जारी बसेको हुनाले अ.बं. १४ नं. अन्तर्गतको मुद्दा फैसला गर्ने म्याद प्रारम्भ नहँदै तारेख गुजारी बसेको र त्यो पनि प्रतिउत्तर पर्दाको अवस्थामा नै ४१ दिन पुगीसकेको हुनाले अं. १४ नं. को पृष्ठभूमि अ.बं. ५९ नं. अन्तर्गत म्याद तारेख थामनै नपाउनेमा प्र.नं. ३ ले कानुनको गलत अर्थ लगाई गरेको व्याख्यालाई प्र.नं. ४ ले समेत सदर गरेको आदेश स्पष्टतः अ.बं. १४, ५९ नं. को विपरीत हुँदा बदर भागी छ । अतः प्रत्यर्थी नं. ३, ४ बाट कानुनको गलत व्याख्या गरी प्र.नं. १, २ लाई प्रदान गरेको सुविधा प्रत्यक्षत नेपाल कानुन विपरीत हुनुका साथै नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११(१), १२(२)(ङ) तथा १६ को संवैधानिक प्रत्याभूतिहरुको विपरीत हुने गरी गरेको प्र.नं. ३।४ द्वारा क्रमशः मिति २०४८।१२।१६ र मिति २०४९।२।९ मा भएको आदेशहरु उत्प्रेषण लगायतको जुन चाहिने उपयुक्त रिट आज्ञा आदेश वा पुर्जी जारी गरी बदर गरी आघातीत हकहरुको संरक्षण र प्रचलन गराई पाउँ भन्ने रिट निवेदन जिकिर रहेछ ।
५. यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? विपक्षीहरुबाट लिखित जवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने यस अदालत एक न्यायाधीशको इजालसबाट मिति २०४९।३।२१ मा भएको आदेश ।
६. विपक्षी निवेदिकालाई निज ओम प्रकाशले बिक्री गरेका जग्गा निजको एकलौटी आफूखुशी गर्न पाउने नभै हाम्रो सगोलको अंश हक लाग्ने जग्गा भएकोले लेनदेन व्यवहारको १० नं. को हदम्याद भित्र ४ खण्ड को ३ खण्ड लिखत दर्ता बदर दर्ता गरी पाउँ भनी विपक्षी शान्ति देवी समेतको नाउँमा मुद्दा दायर गरेको हो । अ.बं. १४ नं. को विपरीत तारेख थामेको बदर भागी छ भन्ने मुख्य निवेदन जिकिर भएकोमा निवेदकको उजुर दावी साँचो होइन अ.बं. १४ नं. को ऐन कानुन बमोजिम तारेख थाम्न पाउने हाम्रो कानुनी हक अधिकार बमोजिम पर्सा जिल्ला अदालतबाट तारेख थामेको आदेशलाई पुनरावेदन अदालत हेटौंडाले सदर गरेको न्याय सँगत हुँदा बदर हुनु पर्ने होइन रिट निवेदन खारेज गरी पाउँ भन्ने सूर्यमुनि देवी र घनश्याम वर्नवालको संयुक्त लिखितजवाफ ।
७. अ.बं. १४ नं. को अवस्था नाघीसकेकोले ६० दिनको सुविधा बमोजिमको तारेख थामी पाउँ भनी परेका निवेदनमा ६० दिन मध्ये ४७ दिनभित्र संशोधित अ.बं. ५९ नं. बमोजिम तारेख थामी हाल प्रस्तुत मुद्दा कार्यवाहीयुक्त अवस्थामा रहेको मिसिलबाट देखिन्छ । कानुन बमोजिमको कार्य रहे भएको र अदालतको विचाराधीन मुद्दामा विपक्षीको हकमा कुनै आघात पर्न नसक्ने हुँदा विपक्षीको रिट निवेदन खारेज हुन सादर अनुरोध गरिन्छ भन्ने पर्सा जिल्ला अदालतको लिखितजवाफ ।
८. अ.बं. १७ नं. अनतर्गतको निवेदनमा यस अदालतबाट मिति २०४९।२।९।६ मा पर्सा जिल्ला अदालतको निवेदन हेरी निवेदकको बहस जिकिर समेत सुनियो । यसमा कानुन बमोजिम गर्नु होला भन्ने आदेश कानुन अनुरुपकै देखिँदा निवेदकको माग दावी बमोजिमको आदेश जारी हुनु पर्ने होइन । रिट निवेदन खारेज गरी पाउँ भन्ने पुनरावेदन अदालत हेटौंडाको लिखितजवाफ।
९. नियम बमोजिम मुद्दा पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदकका तर्फबाट विद्वान अधिवक्ता श्री कमलनारायण दासले प्रत्यर्थीहरुको वारेसले ३० दिन मध्ये २० पटक गरी २२ दिनको तारेख गुजारी सकेपछि पनि तेश्रो पटक २०४८।१०।२९ को तोकी पाएको तारेख गुजारी गुज्रेको तारिख थाम्ने म्याद समाप्त व्यतित भैसकेको अवस्थामा मिति २०४८।१२।१६ मा गुज्रेको तारेख थामी पाउँ भनी दिएको निवेदनमा वादीले गुज्रेको तारेख थामी पाएको कानुन विपरीतको आदेश र सो लाई सदर गरेको पुनरावेदन अदालत हेटौंडाको आदेश बदर हुनु पर्दछ भनी गर्नु भएको बहस समेत सुनियो ।
१०. सम्बन्धित मिसिल अध्ययन गरी बहस जिकिर समेतलाई दृष्टिगत गर्दा यसमा निवेदन माग बमोजिमको आदेश जारी हुनु पर्ने हो होइन भन्ने विषयमा निर्णय दिनु पर्ने देखिन आयो ।
११. नियम तर्फ विचार गर्दा प्रस्तुत रिट निवेदनका प्रत्यर्थीहरुले रिट निवेदक समेत उपर सम्वत् २०४७ सालको दे.नं. २०१५ को लिखत दर्ता बदर दर्ता मुद्दा पर्सा जिल्ला अदालतमा दायर गरी कार्यवाही चलिरहेको मुद्दामा प्रस्तुत रिट निवेदकका नाउँको मयाद २०४८।१०।१९ गते तामेल भै २०४८।१२।१० गते प्रतिउत्तर परेकोमा २०४८।१०।१९ को तारेख थामेको बदर भागी छ भन्ने मुख्य निवेदन जिकिर रहेको देखिन्छ । लिखत दर्ता बदर दर्ता मुद्दामा प्रतिवादी ओम प्रकाश वर्नवालको २०४७।३।२९ गते प्रतिउत्रर परेको र सो मितिले ६ महिनाभित्र मुद्दा किनारा नभएमा अ.बं. १४ नं. बमोजिम ६० दिनको तारेख थाम्न पाउने व्यवस्था बमोजिम मिति २०४८।१२।१६ मा ६० दिन मध्ये पहिला पटक दिन ४७ को गुज्रेको तारेख वादीले थामी पाएको देखिन्छ ।
१२. ६० दिन मध्ये पहिला पटक ४७ दिन गुज्रेको तारेख थामी दिनु भन्ने मिति २०४८।१२।१६ को पर्सा जिल्ला अदालतको आदेश उपर अ.बं. १७ नं. बमोजिम पुनरावेदन अदालत हेटौंडामा निवेदन परेकोमा मिति २०४९।२।९।६ मा कानुन बमोजिम गर्नु भन्ने आदेश भएको देखिन्छ ।
१३. अ.बं. १४ नं. मा आफ्ना पालामा परेका मुद्दा फैसला गर्दा प्रतिवादी परेको वा पर्ने अवस्था पुगेको मिति देखि आफ्ना इलाकाको झगडियाको ६ महिना, आफ्ना अड्डाको इलाका देखि एकसय कोष सम्म टाढाका ईलाकाको झगडियाको ९ महिना र त्यस भन्दा टाढाको झगडियाको १ वर्ष सम्ममा फैसला गर्नु पर्छ भन्ने उल्लेख भएको देखिन्छ । एक भन्दा बढी प्रतिवादीहरु भै विभिन्न मितिमा प्रतिउत्तर परेकोमा अन्तिम प्रतिउत्तर परेको मितिले अ.बं. १४ नं. को म्यादको गणना हुने भन्ने कानुनी व्यवस्था रहे भएको पाइँदैन । अ.बं. १४ नं. बमोजिम प्रतिउत्तर परेको वा पर्ने अवस्था पुगेको मिति देखि फैसला गर्नु पर्ने म्याद गणना हुने देखिन्छ । २०४७।३।२९ मा पहिलो प्रतिउत्तर परेको मितिले वादीको तारेख गुज्रेको दिन २०४८।१०।२९ सम्म एक वर्षभन्दा पनि बढी अवधि व्यतित भैसकेको देखिनाले फैसला गर्नु पर्ने उक्त अ.बं. १४ नं. को म्याद नाघिसकेको अवस्था देखियो । तारेख थमाउने सम्बन्धि अ.बं. ५९ नं. हेर्दा अ.बं. १४ नं. र १९८ नं. बमोजिमको म्याद भित्र मुद्दा फैसला नभै तारिख गुज्रेकोमा फेरि तीनपटकसम्म गरी ६० दिनसम्मको गुज्रेको तारेख थमाउन पाउने कानुनी व्यवस्था रहे भएको पाइन्छ । सो अनुसार वादीको वा. रामचन्द्र वर्नवाल मार्फत २०४८।१०।२९ को तारीख गुज्रेको भनी ६० दिन मध्ये पहिला पटक ४७ दिनको तारिख मिति २०४८।१२।१६ मा थमाएको कानुनसँगत नै देखिन आयो । मिसिल सामेल रहेको तारिख भर्पाईबाट मिति २०४८।१०।१० ले ४७ दिन गुज्रेको म्याद थमाए भन्ने समेत निवेदकको जिकिर सत्य साँचो देखिन आएन । तसर्थ प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । जानकारीको लागि आदेशको एक प्रति प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमा पठाई दिनु । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हरिप्रसाद शर्मा
इतिसम्वत् २०५१ साल भाद्र १५ गते रोज ४ शुभम् ।