शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ५०४६ - अंश

भाग: ३७ साल: २०५२ महिना: बैशाख अंक:

निर्णय नं. ५०४६   ने.का.प. २०५२ अङ्क १

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा

सम्वत् २०४८ सालको दे.पु.नं. ३८४

फैसला मिति  : २०५०।१२।२।३

मुद्दा : अंश ।

 

पुनरावेदक/वादी: बाँके जिल्ला पिपरहवा गा.वि.स. वडा नं. ७ बस्ने वरकत अलि     वेहना ।

ऐ.ऐ बस्ने जमुन तरा वेहनीन ।

ऐ.ऐ बस्ने रहमत अलि वेहना ।

ऐ.ऐ बस्ने सावित अलि वेहना ।

 

विरुद्ध

विपक्षी/प्रतिवादी: बाँके जिल्ला पिपरहवा गा.वि.स. वडा नं. ५ बस्ने मनोरानी बेहनीन ।

 

    अंशियार नै नभएको व्यक्ति उपर अंश दिलाई पाउ भन्ने वादी दावी अंशबण्डाको ऐनले लाग्न सक्ने नदेखिने ।

(प्रकरण नं. ११)

    अंशियार नै नभएको प्रतिवादी उपर अंशबण्डा दिलाई छुट्याई पाउ भन्ने वादी दावी पुग्न नसक्ने ।

(प्रकरण नं. ११)

फैसला

न्या.जोगेन्द्र प्रसाद श्रीवास्तवः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) को खण्ड (ग) बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ :

२.  मूल पुरुष स्व.टेढे वेहनाको ३ छोराहरु मध्ये जेठा स्व.विरु वेहना माहीला विपक्षीको विता स्व.सुकाई वेहना कान्छा हाम्रो लोग्ने पिता स्व.सेरे वेहना हुन । जेठा बाबु स्व.पिरु वेहनाको स्वास्नी सन्तान कोही नभई परलोक भइसके । माहिला जेठाजु जेठा बाबु स्व. सुकई वेहनाको श्रीमती चमेला वेहनीन २०४५।१।४ मा आफ्नो कालगतीले परलोक भई सक्नु भएको नीजको छोरा नभई छोरी विपक्षी मनोरानी वेहनीन भएको र कान्छा हाम्रो पिता लोग्ने स्व. सेरे वेहनाको ३ छोराहरु मध्ये जेठा म फिरादी सावित अली वेहना माहिला म फिरादी वरकत अली र कान्छा म फिरादी रहमत अली वेहना हुँ । हाम्रो आमा जमुनतरा वेहनीन हुनुहुन्छ । यसरी विपक्षी मनोरानी वेहनीन हाम्रो दिदी हुनुहुनछ । माहिली आमाको छोरी विपक्षी मनोरानीको विवाह भएपछि बाँके परस्पुरमा बसेका छन् । माहिली आमाको सेवा टहल काजक्रिया हामीले गरी आएको छौं । र निजको परलोक भएपछि विपक्षी मनोरानीले अपुतालीमा दावा गरेकीले निजसँग पटक पटक हाम्रो २ खण्डको एक खण्ड अंश छुट्याई पाउँ भनी भन्दा नमानेकीले विपक्षीबाट सम्पूर्ण सम्पत्तिको फाँटवारी लिई अंश बण्डाको १, , ३ नं. बमोजिम २ खण्डको १ खण्ड मधये ४ खण्डको १ खण्ड म सावित अली, १ खण्ड म वरकत अली, १ खण्ड म रहमत अली, १ खण्ड म जमुनतरा वेहनीनको अंश छुट्याई दर्ता गराई चलन चलाई पाउँ भन्ने समेत व्यहोराको सावित अली वेहना समेत जना ४ को फिरादीको दावी भएको ।

३.  वादीको फिराद दावीमा उल्लेखित पुस्तावारी ठीक छ । म उपरको अन्य सम्पूर्ण दावी झुठ्ठा हो जाल प्रपंचको फिरादमात्र हो वादी दावी खारेज गरी झुठ्ठा दावीबाट फुर्सत पाउँ । मेरो बाबु आमाको नाउँको अपुताली जग्गा मेरो नाउँमा मालपोत कार्यालय बाँकेबाट नामसारी हुने गरिएको निर्णय समेत कायम राखी पाउँ मैले आमाको आफ्नो जातको रितिथिती बमोजिम काज क्रिया गरेकी हुँ । वादीहरु मेरा बाबु आमको एका सगोल अंशियार होइनन् छैनन् भन्ने कुरा १ नं. मोहीको फारामबाट स्पष्ट हुन्छ । बाबु आमा छुटिई बसेपछि बाबु आमा आफ्नो मेहनत मजदूरी सिपबाट आर्जन गरिएको सम्पत्ति हो । अ.बं. ८२ नं. बमोजिम फिराद खारेज गरी पाउँ भनी प्रतिवादी मनोरानी वेहनीनको प्रतिउत्तर पत्र ।

४.  वादी र प्रतिवादीबाट पेश भएको फाँटवारीबाट वादीहरुले अंश पाउने ठहर्छ भन्ने बाँके जिल्ला अदालतबाट मिति २०४६।३।२९ गतेको फैसला रहेछ ।

५.  विपक्षी वादीहरुको म उपरको अंश बण्डाको १, , ३ नं. को दावी त्रुटिपूर्ण छ । म विवाहिता छोरीको बाबु फिरादीका अंशियार हुँदैमा म विवाहिता छोरीबाट वादीलाई अंश दिलाई गरिएको बाँके जिल्ला अदालतको फैसला कानुनी त्रुटिपूर्ण हुन आएको छ । उक्त फैसला बदर गरी पाउँ भन्ने विपक्षी मनोरानी बेहनीनको पुनरावेदनपत्र ।

६.  यसमा छोरीका नाउँ दर्ताको जग्गा काका बाबुको छोराहरुले अंश पाउने ठहर्‍याई गरेको शुरुको इन्साफ विचारणीय हुँदा अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई आएपछि वा गुजारेपछि पेश गर्नु भन्ने २०४७।२।२५ को आदेश ।

    ७.  प्रतिवादी मनोरानी वादी तर्फका अंशियार नभएको र प्रतिवादीका बाबु सुकई वेहना वादीका संगोलका अंशियार भएको र निजका नाउँको अपुताली जग्गा प्रतिवादीले दर्ता गराई लिएको भन्ने सम्बन्धमा तत्कालिन भेरी अञ्चल अदालतबाट समेत निर्णय भई सोको कारवाहीको लागि बाँके मालपोत कार्यालयमा पठाएको र सो कारवाहीमा यी वादी प्रतिवादीलाई तारेखमा राखेको देखिन्छ। स्वर्गीय सुकई वेहनाको अपुताली जग्गामा यी वादी प्रतिवादी कसको हक कायम हुने हो त्यसतर्फ उसै मुद्दाबाट निर्णय निरोपण हुने हुँदा प्रस्तुत मुद्दामा अंशियारा नै नभएकी यी प्रतिवादीबाट अंश दिलाई पाउँ भन्ने वादी दावी पुग्न सक्दैन । बाँके जिल्ला अदालतको फैसला त्रुटिपूर्ण देखिँदा बदर हुन्छ भन्ने समेत पुनरावेदन अदालत सुर्खेतको मिति २०४८।१०।१९ को फैसला ।

८.  स्वर्गीय सुकई वेहनाको नाममा भएको श्री सम्पत्ति हामी पुनरावेदकहरुको अंश हक लाग्ने एका सगोलको सम्पत्ति हो । त्यस्तो सम्पत्तिमा प्रत्यर्थीले हाम्रो अंश भाग छुट्याई दिनु पर्ने हो। अंश मुद्दाको माग दावी अंश मुद्दाबाट गर्न कानुनले निर्देश गरेको हुँदा प्रत्यर्थी उपर हामीले अंशको दावी गरेका हौं । मालपोत कार्यालयमा विचाराधीन रहेको मुद्दा अपुताली हक कायमको सम्बन्धमा भएको र त्यस मुद्दाबाट अंशको हक कायम हुन नसक्ने हुँदा वादी दावी नपुग्ने ठहर्‍याई गरेको पुनरावेदन अदालत सुर्खेतको त्रुटिपूर्ण फैसला बदर गरी अंश पाउने ठहर्‍याई फैसला गरी पाउँ भन्ने वादी सावित अलि वेहना समेतको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

९.  नियम बमोजिम दैनिक पेशी सूचीमा चढी आज यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीहरु यस अदालतमा तारेखमा नबस्ने गरी पुनरावेदन गरेको र कानुन व्यवसायी समेत मुकरर गरेको नदेखिँदा प्रस्तुत पुनरावेदन र सो साथ संलग्न मिसिल कागजातहरुको अध्ययन गरी पुनरावेदन अदालत सुर्खेतको इन्साफ मिले नमिलेको के रहेछ ? पुनरावेदकहरुको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन तत्सम्बन्धमा निर्णय दिनु पर्ने हुन आएको छ ।

१०.  निर्णयतर्फ विचार गर्दा यसमा मूल पुरुष स्व. टेढे वेहनाका तीन छोरामा जेठा पिरु वेहना माहिला विपक्षीका पिता सुकई वेहना र कान्छा हामी फिरादीका पति तथा पिता सेरे वेहना हों। माहिला बुबा स्व.सुकई वेहनाकी श्रीमती चमेली वेहनिनको आफ्नो कालगतिले परलोक भएपछि निज माहिली आमा स्व चमेली बेहनिनको नाममा रहेको सम्पूर्ण सम्पत्ति हामी फिरादीहरुले पाउने निर्विवाद छ । स्व.सुकई वेहनाकी विवाहिता छोरी विपक्षी मनोरानी वेहनीले आफ्नो बाबु आमाको शेषपछि निजहरुको नामको सम्पत्ति अपुतालीमा दावा गरेकी हुँदा हामी समेत अंश भाग लाग्ने विपक्षी जिम्मा रहेको उक्त सम्पूर्ण सम्पत्तिको २ खण्डको १ खण्डको ४ खण्डको १।१ खण्ड हामी फिरादीहरुको अंश भाग कायम गरी छुट्याई चलन समेत चलाई पाउँ भनी प्रस्तुत मुद्दाको फिराद परेको देखिन्छ । स्व.चमेली बेहनीनको एकमात्र छोरी म भएको र आमाको सदगत काजकृया सेवा स्याहार मैले नै गरेको हुँदा अपुतालीको २ नं. बमोजिम स्व.आमा चमेली वेहनीनका नाउँको समपूर्ण सम्पत्ति म प्रतिवादीले नै पाउने गरी दाखिल खारेज नामसारी भएको हो । यी विपक्षी वादीहरु मेरा बाबु आमाका एक सगोलका अंशियार होइनन् । वादीहरु मध्ये जमुनतरा वेहनीनले म प्रतिवादी उपर मालपोत कार्यालय बाँकेमा अपुताली जग्गा नामसारी मुद्दाको फिराद गरी वादीहरुले सो मुद्दाको रुप विचार गरी प्रस्तुत अंश मुद्दा दायर गरेको हुन । अतः फिराद दावी खारेज गरी पाउँ भन्ने समेतको प्रतिउत्तर जिकिर लिएको देखिन्छ ।

११.  वादी पक्षले उल्लेख गरेको पुस्तेवारीलाई प्रतिवादीले स्वीकार गरेको देखिन्छ । संलग्न मिसिल कागजातबाट यी वादीहरु र प्रतिवादीका स्वर्गीय बाबु आमा एका संगोलमा रहे बसेको देखिँदैन। छुट्टी भिन्न भई सकेका स्व.माइला बुबा सुकई वेहना र माहिली आमा चमेली वेहनीनको जीवनकालमै अंशबण्डाको महल बमोजिम वादीहरुले अंशको दावी लिउको देखिँदैन । सुकई वेहना र चमेली बेहनीनको मृत्यु पश्चात निजहरुको एक मात्र विवाहिता छोरी मनोरानी बेहनीनको नाममा अपुतालीको २ नं. बमोजिम नामसारी भएको सम्पत्ति मध्येबाट २ खण्डको १ खण्ड अंश छुट्याई पाउँ भनी अंशियार नै नभएकी मनोरानी बेहनीनका विरुद्ध फिराद गर्न आएको देखिन्छ । अंशियार नै नभएको व्यक्ति उपर अंश दिलाई पाउँ भन्ने वादी दावी अंशबण्डाको ऐनले लाग्न सक्ने देखिँदैन । प्रतिवादीका बाबु स्व.सुकई वेहना वादीहरुको अंशियार भएको र निजका नाउँको अपुताली जग्ग नामसारी सम्बन्धमा विवाद उठी मालपोत कार्यालय बाँकेले अपुतालीको २ नं. बमोजिम प्रतिवादीका नाममा नामसारी गर्ने निर्णय गरेको भनने प्रतिउत्तर जिकिरमा उल्लेख गरेको रपुनरावेदन अदालत सुर्खेतको फैसलामा उक्र अपुतालीको जग्गा नामसारी सम्बनधमा मालमा परेको कारवाहीमा तत्कालिन मेरी अञ्चल अदालतबाट समेत निर्णय भएको र सोको कारवाहीको लागि मालपोत कार्यालय बााकेमा पठाएको भन्ने समेत उल्लेख भएको देखिन्छ । साथै अपुतालीको २ नं. बमोजिम भएको निर्णयले प्र.मनोरानी बेहनीनको नाममा नामसारी भएको देखिन्छ । तसर्थ अंशियार नै नभएकी प्रतिवादी उपर अंशबण्डा दिलाई छुट्याई पाउँ भन्ने वादी दावी पुग्न नसक्ने हुँदा प्रतिवादीबाट वादीले अंश पाउने ठहर्‍याएको शुरु बााके जिल्ला अदालतको इन्साफलाई उल्टी गरी वादी दावी नपुग्ने ठहर्‍याएको पुनरावेदन अदालत सुर्खेतको इन्साफ मिलेकै देखिँदा उक्त फैसला मनासिब ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हरि प्रसाद शर्मा

 

इतिसम्वत् २०५० साल चैत्र २ गते रोज ३ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु