निर्णय नं. २२४८ - लिखत बदर

निर्णय नं. २२४८ ने.का.प. २०४२ अङ्क १
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०४० सालको दे.पु.नं. ५८२
मुद्दा : लिखत बदर ।
पुनरावेदक/प्रतिवादी:का.जि.दापचा गा.पं. वडा नं. २ गहने गाउं बस्ने नैन लाल श्रेष्ठ
विरूद्ध
विपक्षी/वादी:ऐ.ऐ. बस्ने रानी तामाङ
फैसला भएको मिति: २०४२।१।१३।५ मा
अंशबण्डाको १९ नं. मा पिता पूर्खाका पालाको चल अचल गैह्र सम्पत्तिको हकमा चलमा सबै र अचलमा आधी सम्म व्यवहार चलाउनलाई स्वास्नी छोरा वा विधवा बुहारीको मञ्जूरी नभए पनि आफूखुस गर्न पाउँछ अचलमा आधीभन्दा बढी भने व्यवहार चलाउनै परे पनि एक्काइस वर्ष नाघेका स्वास्नी छोरा र विधवा बुहारीहरूको मञ्जूरी लिई मात्र खर्च गर्न हुन्छ ।
(प्रकरण नं.१२)
पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर
विपक्षी/वादी तर्फवाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
उल्लेखित मुद्दाःX
फैसला
न्या.त्रिलोक प्रताप राणाः प्रस्तुत मुद्दा मध्यमान्चल क्षेत्रीय अदालतबाट भएको फैसला उपर प्रतिवादीको चित्त नबुझी यस अदालतमा पुनरावेदन गर्ने अनुमति प्राप्त भई निर्णयार्थ पेश हुन आएको रहेछ ।
२. तथ्य यस प्रकार छ : सिखर आनवोटे गा.पं. वडा नं. १ को कि.नं. ६०।६१।६५।९३ को कित्ता चारको जग्गा ससुरा प्रतापसिंको नाममा दर्ता भएको ससुरा परलोक भएपछि सासु धामी रानीका नाममा दर्ता भएको जग्गा हो । उक्त ४ कित्ता जग्गा मध्ये कि.नं. ६५ र ९३ को जग्गा सासु घ्यामो रानी वलस्या तामाङनीले हिरा सिंहलाई रु. ५०००। मा ०३४।१२।२२ मा राजीनामा गरिदिएको हुँदा त्यसतर्फ मेरो दावी नभएको दफा २ मा उल्लेख गरिएको जग्गा मध्ये कि.नं. ६०।६१ को जम्मा क्षेत्रफल ७–१–३–३ को जग्गा पैत्रिक सम्पत्ति हो, मलाई अंश मार्ने नियत हो । उक्त २ कित्ता जग्गा पनि सुरा सिंहले ०३६।८।७ मा रु. २९,५००। मा नैनलाललाई राजीनामा गरिदिएकोले उक्त कि.नं. ६०।६१ को कित्तै पिच्छे मेरो भाग आधा लिखत बदर गरिपाउँ भन्ने समेतको फिराद ।
३. चार कित्ता जग्गामा एउटै लिखित मुद्दा ६०।६१ नं. कित्तामा मात्र मञ्जूर नभएको अरु मञ्जूर भएको भन्न मिल्दैन । विपक्षीको लेखाइबाट मेरो राजीनामा बदर हुन सक्दैन वादी दावी झुठ्ठा भन्ने समेत नैनलाल श्रेष्ठको प्रतिउत्तर ।
४. सुरा सिंह लामाले शुरू म्यादै गुजारी बसेको बिक्री बदर गरिपाउँ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने समेत का.प.जि.अ.को फैसला ।
५. उक्त फैसलामा चित्त बुझेन भन्ने वादीको बा.अं.अ.मा पुनरावेदन ।
६. वादीको हक लाग्ने कि.नं. ६० र ६१ को जग्गाको आधा लिखत बदर हुने ठहर्छ भन्ने बा.अं.अ.को फैसला ।
७. उक्त फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने प्रतिवादी नैनलाल श्रेष्ठको पुनरावेदन परी अनुमति प्राप्त भएको ।
८. पैत्रिक सम्पत्ति व्यवहार चलाउन सम्मलाई पैत्रिक सम्पत्तिमा आधा सम्म आफूखुस गर्न पाउने व्यवस्था अंशबण्डाको १९(१) मा भएको पाइन्छ । पुनरावेदकले फिरादीको पति सुरा सिं लामाबाट ०३६।८।७ मा गराई लिएको राजीनामामा लिखत हेर्दा वापतमा घर खर्च भन्ने लेखिएको देखिन आउँछ । व्यवहार चलाउन राजीनामा गरेको भए राजीनामा लिखतमा पनि सो कुरा उल्लेख हुनको साथै सुरा सिंह लामाले पनि सप्रमाण आफूले गरेको व्यवहारलाई अंशबण्डाको १९(१) नं. अन्तर्गत भएको हो भनी प्रमाणित गर्न सक्नु पर्ने, प्रतिउत्तर नै नफिराएबाट व्यवहार चलाउन उक्त राजीनामामा व्यवहार भए गरेको हो भन्न मिल्ने स्थिति देखिन नआउनुको साथै अरु जग्गा कायम समेत रहेको पुनरावेदकबाट पेश भएको सुरा सिंहका नामको जग्गाधनी प्रमाण पूर्जाबाट देखिन आउँदैन । लेनदेन व्यवहारको १० नं. अन्तर्गत म्यादभित्रको उजूर भएको र राजीनामा दिने सुरा सिंह लामाको यी फिरादी रानी तामाङनी पत्नी भएको विवाद नभएबाट फिरादीको दावी बमोजिम कि.नं. ६० र ६१ को जग्गाको आधा लिखत बदर गर्ने गरेको बा.अं.अ.को फैसला उल्टिने त्रुटि देखिन नआएबाट सो फैसलामा केही परिवर्तन गरी रहनु परेन सदर हुन्छ । पुनरावदेक नैनलाल श्रेष्ठको पुनरावेदक जिकिर पुग्न सक्तैन भन्ने ०४०।३।१।४ को मध्यमान्चल क्षेत्रीय अदालतको फैसला ।
९. उक्त मध्यमान्चल क्षेत्रीय अदालतको फैसला उपर प्रतिवादीको यस अदालतमा पर्न आएको पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा यिनै प्रतिवादी नैनलाल श्रेष्ठले सुरा सिंहबाट जग्गा लिएपछि निज सुरा सिंहले हिरा सिंह समेतलाई उक्त जग्गा राजीनामा गरिदिएको देखिन आएको हुँदा आधा लिखत बदर हुने ठहर्याएको मिलेन भनी अनुमति प्रदान भएको ।
१०. प्रस्तुत मुद्दामा क्षे.अ.बाट भएको निर्णय मिलेकोछ की छैन भनी त्यसतर्फ निर्णय दिनुपर्ने हुनआएको छ ।
११. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकतर्फबाट उपस्थित हुनुभएका विद्वान व.अ. श्री सर्वज्ञरत्न तुलाधरले सुरा सिंह लामाबाट गराएको राजीनामा वापत घर खर्च गर्न भनी लेखिएको व्यवहार चलाउन भन्ने उल्लेख नभएको आफूले गरेको व्यवहारलाई अंशबण्डाको १९(१) अन्तर्गत भएको प्रमाणित गर्न सक्नु पर्नेमा प्रतिउत्तर नै नफिराएको यस अवस्थामा व्यवहार चलाउनलाई भए गरेको भन्न मिलेन भन्ने र विपक्षी रानी तामङनीको तर्फबाट उपस्थित हुनुभएका विद्वान व.अ. श्री मुकुन्द रेग्मीले मेरो पक्षको समेत अंश हक लाग्ने पैत्रिक सम्पत्तिको जग्गा सुरा सिंहले प्रतिवादीलाई राजीनामा गरिदिएको हुँदा मेरो आधा भाग जतिमा लिखत बदर गर्ने गरेको बा.अं.अ.को इन्साफ मनासिव हुनु पर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।
१२. यसमा विवादको सम्पत्ति पैत्रिक भएमा विवाद देखिन्न । अंशवण्डाको १९ नं. मा “पिता पुर्खाका पालाको चल अचल गैह्र सम्पत्तिको हकमा चलमा सबै र अचलमा आधीसम्म व्यवहार चलाउनलाई स्वास्नी, छोरा वा विधवा बुहारीको मञ्जूरी नभए पनि आफूखुस गर्न पाउँछ । अचलमा आधी भन्दा बढी भने व्यवहार चलाउनै परे पनि एक्काइस वर्ष नाघेका स्वास्नी, छोरा र विधवा बुहारीहरूको मञ्जूरी लिई मात्र खर्च गर्न हुन्छ” भन्ने लेखिएको पाइन्छ ।
१३. मिसिल संलग्न रहेका पेश भएका राजीनामाहरूबाट जुन बखत प्रतिवादीले जग्गा खरिद गर्यो उस बखत आधी भन्दा बढी पैत्रिक अचल सम्पत्ति बाँकी रहेकै देखिन्छ ।
१४. आधी खुश गर्न पाउने अंशबण्डाको १९ नं. मा कानुनी प्रावधान छ ।
१५. अतएव वादी दावीबमोजिमको आधी बदर गरेको अं.अ.को इन्साफ सदरगरेको मध्यमान्चल क्षेत्रीय अदालतको निर्णय उल्टोहुन्छ ।
१६. आधी लिखत बदर गरिपाउँ भन्ने वादी दावी पुग्न सक्तैन । वादी दावी नपुग्ने ठहराएको शुरू जि.अ.को इन्साफ मनासिव ठहर्छ । तपसील बमोजिम गरी मिसिल नियम बमोजिम बुझाई दिनु ।
तपसील
पुनरावेदक प्रतिवादी नैनलाल श्रेष्ठके माथि इन्साफ खण्डमा लेखिए बमोजिम मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी भएकोले मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी भएकोले मध्यमान्चल क्षेत्रीय अदालतमा पुनरावेदन दर्ता गर्दा राखेको कोर्टफी रु. १/५० र यस अदालतमा पुनरावेदन दर्ता गर्दा राखेको कोर्टफी रु. १/५० जम्मा रु. ३। तीन रुपैयाँ वादी रानी तामाङबाट प्रतिवादी नैनलाल श्रेष्ठको ऐन कानुनको म्यादभित्र प्रतिवादीको दर्खास्त पर्न आएमा भरी भराई दिनु भनी सम्बन्धित जि.अ.तमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु.............................१
उक्त रायमा म सहमत छु ।
न्या.गजेन्द्रकेशरी बास्तोला
इतिसम्वत् २०४२ साल बैशाख १३ गते रोज ५ शुभम् ।