शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २२५० - उत्प्रेषणको आदेश जारी गरिपाउँ

भाग: २७ साल: २०४२ महिना: बैशाख अंक:

निर्णय नं. २२५०    ने.का.प. २०४२      अङ्क १

 

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०४१ सालको रिट नं. २१४४

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ ।

 

निवेदक      :जि.झापा अनारमनी गा.पं.वार्ड नं. ३ देवी बस्ती बस्ने भरतबाबु भन्ने सि.के.प्रसाई

ऐ.वार्ड नं. ७ बस्ने मनरथ पाठक

ऐ.ऐ बस्ने ध्रुव पाठक

ऐ.ऐ बस्ने वार्ड नं. ५ बस्ने कृष्ण प्रसाद अधिकारी

ऐ. वार्ड नं.३ बस्ने गोपाल निरौला

ऐ.ऐ बस्ने शान्तिराम आचार्य

ऐ.ऐ बस्लने प्रकाश कुटुवाल

ऐ.ऐ बस्ने चैतन्य पाठक

ऐ.ऐ बस्ने गोपाल कुमार कार्की

विरूद्ध

विपक्षी :जिल्ला पञ्चायत झापा

अनारमनी गा.पं. झापा

आदेश भएको मिति:२०४२।१।१५।६ मा

     मत्स्यपालन हुँदैमा पूजाआजा बली चढाउने समेतको अन्य धार्मिक अनुष्ठान रोकिन जान्छ भनी अनुमान गरी रिट जारी गर्न न्यायोचित देखिन्न ।

 (प्रकरण नं.९)

पुनरावेदकहरू तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल

विपक्षीहरू तर्फबाट: विद्वान अधिवक्ता श्री नारायणराज खरेल

उल्लेखित मुद्दाःX

आदेश

न्या.त्रिलोक प्रताप राणाः संविधानको धारा ७१ अन्तर्गत यस अदालत समक्ष पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छ ।

२.    जिल्ला झापा, अनारमनी गा.पं.वार्ड नं. ७ स्थित बिराट पोखरऐतिहासिक महत्वको धार्मिक पुण्यस्थल हो । महाभारत कालीन युगमा राजा विराटले बनवासको जीवनयापन गर्दाको समयमा निर्णय गरेको पोखरी हो साथ साथै पोखरीभित्र पूजा अर्चना गर्नको लागि भगवती काली र दुर्गाका दुई ओटा मन्दिरहरूको प्रतिष्ठा पनि राजा विराटले गराएका हुन् भन्ने ऐतिहासिक किंवदन्ती छ । समयको दीर्घ अन्तराल पश्चात उक्त विराट पोखरको पानी पहिलेको अपेक्षा सुक्दै गयो, जिर्णोद्वार र समुचित व्यवस्थापनको अभावमा पोखरी भित्र अवस्थित मन्दिरहरूमा एउटा मन्दिर चाहिं पूर्णतः यथावत थियो । श्रद्धालुजनहरूले मन्दिरको जिर्णाेद्वार गरे र दुवै मन्दिरको समुचित व्यवस्थापन मिलाई पुजा अर्चनाको राम्रो बन्दोबस्त गरिआएका थिए । उक्त विराटपोखर र मन्दिरहरूमा धार्मिक चाडपर्वमा बाजागाजा सहित हामी स्थानीय बासिन्दाहरूले पूजा अर्चना गर्थ्यौ बली चढाउँथ्यौं । जिमिदारी प्रथाको समयमा त्यस ठाउँको नामकरण प्रगन्ना विराट पोखर भनिएको थियो, हामी निवेदक मध्ये म निवेदक सि.के. प्रसाईको पूर्खाको उक्त पोखरी र मन्दिरमा विशेष तादम्य थियो । किनभने मेरा पिताज्यू स्वर्गीय लप्टन देवीप्रसाद प्रसाई उक्त विराट पोखरको जिमिदारी हुँदा विराट पोखरको करीब ४ बिगहा जग्गालाई कसैको नाममा राख्न दिनु भएन सार्वजनिक सम्पत्तिको रूपमा उक्त विराट पोखर हुँदै आयो । बुबाको स्वर्गारोहण पश्चात म निवेदकको नाममा जिमिदारी सरी सकेपछि मैले पनि त्यसको संरक्षण र व्यवस्थापनमा बढी ध्यान दिएँ । यसरी सार्वजनिक सम्पत्तिको रूपमा जनताले धार्मिक पावन उद्देश्यबाट प्रतिष्ठित विराट पोखरमा व्यापारिक दृष्टिकोणबाट मत्स्यपालन गराउने र सो कामको निमित्त मन्दिर समेत भत्काउने निर्णय भएको छ भनी जि.पं. झापाको आदेश र कारवाहीबाट गत ०४० साल पौष १५ गते पोखरी २ बन्ने काम शुरू गरियो र ऐ. १८ गते बुलडोजरद्वारा दुवै मन्दिरहरू भत्काइए । त्यसपछि जि.पं. समक्ष स्थानीय जनताको प्रतिनिधि मण्डलले त्यसरी धार्मिक पूण्यस्थलको बिनास नगरियोस् भन्ने निवेदन दियौं तर कुनै कारवाही भएन र सोही कुराको उचित संरक्षण र सम्बद्र्धन होस् भनेर  पुरातत्व विभाग समक्ष पनि हामीले निवेदन गरेका छौं । सोही सम्बन्धमा श्री ५ को सरकारका मन्त्रीज्यूहरू झापा जिल्लामा जाँदा जाहेर गर्‍यौं तर कुनै किसिमको सकारात्मक प्रतिबचन हामीले पाउन सकेनौँ कानुनको अख्तियारी बिना एक धार्मिक पावन तिर्थस्थलमा निर्मम हस्तक्षेप गरिएकोले मन्दिरमा पूजा अर्चना गर्न पोखरीमा स्नान गर्न पाउने धर्मको उपासना गर्ने, हाम्रो स्वतन्त्रतामा कुठाराघात गरिएको छ । तसर्थ सम्बन्धित प्रत्यर्थीको कारवाही र निर्णय अधिकार क्षेत्रात्मक त्रुटिग्रस्त भएको र यसबाट निवेदकहरूको उपयुक्त मौलिक हक कुण्ठित भएकोले उत्प्रेषण वा जो चाहिने आज्ञा, आदेश जारी गरी उक्त निर्णय बदर गरिपाउँ भन्ने समेतको निवेदन जिकिर ।

३.    यसमा विपक्षीहरूबाट लिखित जवाफ मगाई पेश गर्नु भन्ने सिंगल बेञ्चको मिति ०४१।१।७ को आदेश ।

४.    विवादको पोखरीमा मन्दिरहरू भएको भन्ने विपक्षी निवेदकहरूको कपोलकल्पित झुठ्ठा व्यहोराको जिकिरका प्रसंगमा सो ठाउँको नापीको नक्सा र फिल्डबुक उतार हेर्दा स्पष्ट हुनेछ । कि.नं. १४६ मा विराट पोखर र कि.नं. ११८ मा देवीस्थान जनिई नापी भई विराट पोखर भएको कित्तामा कुनै पनि मन्दिर नभएको नक्साबाटै देखिन्छ । त्यसकारण विपक्षी निवेदकहरूको रिट निवेदन जिकिर अनुसार परमादेश लगायतको कुनै आज्ञा, आदेश वा पुर्जी जारी हुनु नपर्ने हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेतको अनारमनी गा.पं.का हकमा उ.प्र.पं. गजेन्द्र डाँगीको लिखित जवाफ ।

५.    विराट राजा कालको पोखरी हो वा होइन भन्ने विवादलाई पन्छाई प्रमाणमा उल्लेख जिल्ला पञ्चायतको निर्णयबाट त्यसमा पानी जम्ने अवस्थामा पुर्‍याउने उद्देश्यले जिर्णाेद्धार गरी त्यसमा माछा हाल्दा पोखरीको ऐतिहासिक वा धार्मिक महत्वमा प्रतिकूल असर पर्ने कुरा निवेदन जिकिर भई उल्लेख नभएको रिट निवेदन सारविहिन छ भन्ने स्पष्ट हुन आएकै छ तसर्थ प्रस्तुत रिट निवेदन खारेज गरिपाउँ भन्ने समेतको झापा जिल्ला पञ्चायतको लिखित जवाफ ।

६.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदकका तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री हरिहर दाहालले प्रत्यर्थीको कारवाहीबाट संविधानद्वारा प्रदत्त सनातन देखि चली आएको आफ्नो धर्मको अवलम्वन र धार्मिक कृत्य गर्न पाउने मौलिक हक समेत कुण्ठित भएकोले विपक्षीको उक्त निर्णय र कारवाही बदर गरिपाउँ भन्ने र विपक्षी अनारमनी गा.पं.का तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री नारायणराज खरेलले निवेदकहरूलाई प्राप्त धर्म सम्बन्धी हकको प्रचलनमा लिखित जवाफ कर्ताको कुनै पनि कार्यले केही पनि रोक लगाएको छैन तसर्थ प्रस्तुत रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो ।

७.    प्रस्तुत केशमा निवेदकको मागबमोजिमको आदेश जारी हुनुपर्ने हो वा होइन सोकुराको निर्णय गर्नुपरेको छ ।

८.    यसमा विराट पोखर ऐतिहासिक महत्वको धर्मस्थल हो उक्त पोखरी भीम पूजाआजा गर्नका लागि भगवती काली र दुर्गाका दुई ओटा मन्दिरहरू प्रतिष्ठान थिए र उक्त दुई मन्दिरहरू भत्काइयो र विराट पोखरमा व्यापार प्रयोजनको लागि मत्स्य पालन गर्ने भएकोले यसबाट निवेदकको पूजा अर्चना गर्ने बली चढाउने समेत हकमा कुठाराघात भएकोले सो को प्रचलनको लागि नेपालको संविधानको धारा ११(२)   (ङ) र धारा १४  लाई औंल्याउँदै रिट निवेदक यस अदालतमा हकको प्रचलन र संरक्षण गराउन आउनुभएको देखिन्छ । पोखरीको बीचमा मन्दिरहरु थिएनन् र हामीले भत्काएको पनि छैनौं भन्ने विपक्षीहरूको लिखित जवाफबाट देखिँदा उक्त ठाउँमा मन्दिर थियो थिएन र भत्काइएको हो वा होइन सबूत प्रमाणको मूल्याङ्कन गरी सो तर्फ निष्कर्षमा पुग्न रिट क्षेत्रबाट मिल्ने कुरा होइन । विवादको पोखरी मास्न लाइयो भन्ने रिट निवेदकको भनाई देखिन्न ।

९.    विवादको पोखरी रहे भएको कुरा जग्गाधनी प्रमाण पूर्जाबाट देखिन्छ । सो जग्गाधनी पूर्जाबाट कि.नं. ११८ मा ज.वि. ०१० मा मन्दिर समेत देखिन्छ । परापूर्वदेखि चली आएको पूजाआजा बली दिने धार्मिक अनुष्ठानमा बाधा दियो भन्ने रिट निवेदकको भनाई छैन । मत्स्यपालन हुँदैमा पूजा आजा बली चढाउने समेतको अन्य धार्मिक अनुष्ठान रोकिन जान्छ भनी अनुमान गरी रिट जारी गर्न न्यायोचित समेत देखिन्न । मत्स्यपालन नगर्ने समुदायबाट उक्त पोखरीमा पूजा आजा लगाउने समेतको सबै धार्मिक अनुष्ठान हुने गर्दथ्यो भन्ने समेत रिट निवेदक भनाई समेत देखिन्न । पूजा आजा बली समेतको धार्मिक अनुष्ठानको कार्य सम्बन्धी हकमा कुनै कुठाराघात हुनभन्दा अगावै हक प्रचलन गराउनुपर्ने स्थिति समेत नपर्ने हुँदा प्रस्तुत रिट निवेदन पत्र खारेज हुने ठहर्छ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हरिहरलाल राजभण्डारी

 

इतिसम्वत् २०४२ साल बैशाख १४ गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु