निर्णय नं. ५०४७ - अंश

निर्णय नं. ५०४७ ने.का.प. २०५२ अङ्क २
पूर्ण इजलास
माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा
माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ
माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
सम्वत् २०४७ सालको दे.पु.ई.नं. १००
फैसला मिति : २०५१।८।१।५
मुद्दा : अंश ।
निवेदक/प्रतिवादी:चितवन जिल्ला भरतपुर न.पा. वडा नं. २ बस्ने चिजकुमार श्रेष्ठ ।
ऐ.ऐ बस्ने सुमन कुमार श्रेष्ठ ।
ऐ.ऐ बस्ने विनोद कुमार श्रेष्ठ ।
ऐ.ऐ बस्ने चेत कुमार श्रेष्ठ ।
ऐ.ऐ बस्ने मन कुमार श्रेष्ठ ।
विरुद्ध
विपक्षी/वादी: चितवन जिल्ला नारायणगढ गा.वि.स. वडा नं. ३ बस्ने रामकुमार जीवन मित्रको मु.स. गर्ने का.जि.का.न.पा. वडा नं. ३ बस्ने भोला श्रेष्ठ ।
ऐ.ऐ बस्ने विकास श्रेष्ठ ।
ऐ.ऐ बस्ने प्रदेश श्रेष्ठट ।
मुलुकी ऐन, (सातौं संशोधन) २०३४।९।२७ द्वारा संशोधित अंश बण्डाको महलको ३० नं. बमोजिम २०३४।९।२७ सम्ममा व्यवहार प्रमाणबाट छुटिएको स्थिति देखिनको लागि बण्डापत्र खडा गरी वा नगरी घरसारमा नरम गरम मिलाई अचल अंशबण्डा गरी छुट्टिई आफ्नो आफ्नो हिसाब भाग शान्ति बमोजिम लिई पाई दाखेल खारेज समेत गराइसकेको वा बण्डा बमोजिम आ–आफ्नो भागको अचल छुट्टा–छुट्टै भोग बिक्री व्यवहार गरेको हुनु पर्ने ।
(प्रकरण नं. १९)
वादी रामकुमारले विष्णुलाललाई मिति २०१८।३।५ मा र कन्हैयालाललाई ०१८।३।२ मा राजीनामा गरी दिएको लिखतमा हक दावी छाडी दियौं भन्ने सम्म उल्लेख भएकोलाई अंश भागमा परेको जग्गा बिक्री गरेको भनी अर्थ गर्न नमिल्ने ।
(प्रकरण नं. १९)
यो यो पैत्रिक सम्पत्ति वादी प्रतिवादीहरुले आ–आफ्नो नाममा दाखिल खारेज गरेको भनी कुनै प्रमाण प्रतिवादीले दिन गुजार्न सकेको समेत नदेखिँदा अंशबण्डाको ३० नं. को प्रयोजनार्थ व्यवहार प्रमाणबाट वादी प्रतिवादीहरु छुट्टि भिन्न भएको भनी अर्थ गर्न नमिल्ने ।
(प्रकरण नं. १९)
लिखतको छैंठौ हरफमा साहुको दाइजो लियाको ठीक सा“चो हो भन्नेसम्म उल्लेख भएको आधारमा २०१४।१।१० मा विष्णुकुमारीको नाममा खरिद गरी लिएको जग्गा दाइजोको रुपैया“बाट खरिद गरी लिएको भनी मान्न मिल्ने नदेखिने ।
(प्रकरण नं. १९)
फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी दाखिल भएको तायदाती र विष्णुकुमारीको नाममा रहेको घरजग्गा समेतबाट दुई भागको एक भाग अंश वादीले प्रतिवादीबाट पाउने ठहर्याएको सर्वोच्च अदालत पूर्ण इजलासको मिति २०४६।७।२९ को फैसला मिलेकै देखिँदा सदर हुने ।
(प्रकरण नं. २०)
निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा, विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी, विद्वान अधिवक्ता द्वय श्री अनुपराज शर्मा, श्री राधेश्याम अधिकारी
विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त तथा विद्वान अधिवक्ता द्वय श्री प्रकाश वस्ती, श्री यादव खरेल
अबलम्वित नजीरःX
फैसला
न्या.मोहनप्रसाद शर्माः पूर्ण इजलासबाट छिनिएको मुद्दा दोहोर्याई हेरी कानुन बमोजिम निर्णय गर्नु भनी श्री ५ महाराजाधिराजबाट हुकुम प्रमांगी बक्स भै आए अनुसार यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :–
२. श्री पिताजी चामु नारायण जम्मा २ जना छोरा भएकोमा १ जना म र प्रतिवादी चिजकुमार समेत जना २ मात्र जम्मा अंशियार भएको बाबु बाजेका पालाको र बढे बढाएको सगोलमा आर्जेको र सगोलकै सम्पत्तिबाट भाउजु चिजकुमारकी श्रीमती विष्णुकुमारी र भतिजा विनोद कुमार श्रेष्ठ समेतका नाममा जमीन राखी खरिद गरेको र सगोलकै सम्पत्तिबाट घर, गोठ बनाई सगोलमै भोग चलन भई आएकोमा दाजुले मेरो मञ्जुरी बेगर, नारायणगढ गा.पं. वडा नं. २ को घर जग्गा विष्णुलाल प्रधानलाई राजीनामा गरी दिएको कुरा नक्कल लिँदा यकिन भएको र मेरो अंश भाग माग्दा नदिनु भएकोले बण्डा गर्नु पर्ने जम्मा सम्पत्ति के कति छ सो मलाई सबै जानकारी नभएको यो फिरादपत्र परेका अघिल्लो दिन तकको चल अचल गैह्र श्री सम्पत्तिको विपक्षीहरुबाट तायदाती लिई त्यसबाट २ भागको १ भाग अंश छुट्याई पाउँ भन्ने समेत व्यहोराको रामकुमार जीवन मित्र श्रेष्ठको फिरादपत्र ।
३. वादीलाई अंश दिन बाँकी छैन । २०१३ साल चैत्र महिनामा मानो छुट्टी घरसार मै पैतृक सम्पत्ति चल अचल जग्गा जमीन अंश भाग लगाई सकेका छौं हामी प्रतिवादी मध्येको विष्णुकुमारी र विनोद कुमारको नाममा रहेको सम्पत्ति स्वआर्जनको हो भन्ने समेत व्यहोराको प्रतिवादी चिजकुमारको प्रतिउत्तरपत्र ।
४. मेरा पति चिजकुमार र देवर रामकुमारका बीचमा २०१३ सालमा मानु छुट्टिइएको हो । सो पश्चात विपक्षीले आफ्नी श्रीमती शुसमा देवीका नाममा का.न.पं. वडा नं. ३२ को जग्गा बिक्री गरी काठमाडौं भूमि प्रशासन कार्यालयबाट पारीत गराउनु भएको छ । हाम्रो स्वआर्जित सम्पत्ति माथिको वादी दावी झुठ्ठा हो भन्ने समेत व्यहोराको विष्णुकुमारीको प्रतिउत्तर पत्र ।
५. विपक्षी वादी काका रामकुमार र म न त अंशियार हो नसंगोल मै रहेको छु । मेरो स्वआर्जित सम्पत्तिको आशाले म उपरको यो झुठ्ठा फिराद दिएको हो भन्ने समेत व्यहोराको विनोदकुमार श्रेष्ठको प्रतिउत्तर पत्र ।
६. यसमा विष्णुकुमारीको नामको जग्गा घर बाहेक अरु पेश भएको तायदातीहरु र २०३६।११।२४ मा खुलाएको कागजमा सम्पूर्ण सम्पत्तिको २ भागको १ भाग वादीले अंश छुट्याई लिन पाउने ठहर्छ भन्ने समेत व्यहोराको चितवन जिल्ला अदालतको मिति २०३८।३।१५ गतेको फैसला ।
७. सो फैसलामा चित्त बुझेन भन्ने वादी प्रतिवादी दुवै थरीले मध्यमाञ्चल क्षेत्रीय अदालतमा दिएको पुनरावेदनपत्र ।
८. यसमा शुरुको ईन्साफ मुनासिब ठहर्छ । पुनरावेदक दुवै थरको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०३९।९।२१।४ को फैसला ।
९. सो फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको वादी रामकुमारले दिएको निवेदनमा यस्मा विष्णुकुमारीको नाममा २०१४ सालमा खरिद भएको जग्गाको २०१४ सालको लिखत र रजिष्ट्रेशन पास भएको भनी दरखास्तमा उल्लेख गर्न नसकेको र सो लिखत अहिले पेश गर्नु पर्ने नसकेकोमा विष्णुकुमारीका नाममा रहेको घर जग्गाहरुमा वादीले बण्डा नपाउने गरी गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा अंशबण्डाको १८ नं. को त्रुटि भएको देखिँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत व्यहोराको डिभिजनबेञ्चको मिति २०४०।२।४ गतेको आदेश ।
१०. उपरोक्त उल्लेखित मध्यमाञ्चल क्षेत्रीय अदालतको ईन्साफमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादी चिजकुमार र विनोद कुमारले दिएको निवेदनपत्रमा यसमा रापतीदून विकास समितिबाट प्रतिवादी चिजकुमार र विनोदकुमारले किस्ता बन्दीमा खरिद गरी पाएको जग्गा समेतलाई बण्डा गर्ने गरेको शुरु जिल्ला अदालतको इन्साफलाई सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा अंशबण्डाको १८ नं. समेतको त्रुटि देखिँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत व्यहोराको डिभिजन बेञ्चको मिति २०४०।२।४ गतेको आदेश ।
११. विवादित अंशियार सगोलकै ठहराई सकेपछि बिना सबुद प्रमाण बेगर सगोलकै अंशियार विष्णुकुमारीका नाममा रहेको घर जग्गा बाहेक गर्ने गरी शुरुले गरेको ईन्साफ सदर गर्ने गरेको मध्यमाञ्चल क्षेत्रयि अदालतको इन्साफ मिलेको देखिएन । त्यस कारण सगोलको विष्णुकुमारीका नाममा रहेको घर जग्गामा वादीले २ भागको १ भाग अंश पाउने ठहर्छ । अरु शुरु र मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०४२।१।१० गतेको फैसला ।
१२. श्री ५ महाराजाधिराज सरकारका हजुरमा उक्त मुद्दा दोहराई पाउँ भनी चढाएको विन्तिपत्रमा पूर्ण ईजलासबाट दोहराई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट मिति २०४३।१०।२८ मा लेखी आएको रहेछ ।
१३. फिराद परेको अघिल्लो दिनलाई मानो मिति कायम गरी दाखिल भएको दायदाती र विष्णुकुमारीको नाउँमा रहेको घरजग्गा समेतबाट २ भागको १ भाग अंश प्रतिवादीबाट वादीले पाउने ठहराएको स.अ. डिभिजनबेञ्चको २०४२।२।१० को इन्साफ मनासिब ठहर्छ । वादीको श्रीमती सुस्मा श्रेष्ठको नाउँमा रहेको घरजग्गाको सम्बन्धमा निज सुम्मा श्रेष्ठको नाउँमा रहेको घरजग्गाको सम्बन्धमा निज सुस्मा श्रेष्ठले मिति २०३८।२।३२ मा बयान गर्दा मैले विष्णुप्रसाद श्रेष्ठबाट बकसपत्र पाएको जग्गा भित्र भएको घर दाइजोबाट बनाएको भन्ने देखिन्छ । तर सो जग्गा दाइजो पाएको भन्ने लिखत प्रमाण केही देखिँदैन । घर पनि दाइजोको रुपैयाँले बनाएको भन्न मिलेन सो सम्पत्ति समेत सगोलको आर्जनको मान्नु पर्ने हुन आयो । तसर्थ सो घर जग्गा समेत वादी र प्रतिवादी दुवै जनाले आधा अंशबण्डा पाउने ठहर्छ । सो घर जग्गा बण्डा नगरेको हदसम्म सर्वोच्च अदालत संयुक्त इजलासको इन्साफ मिलेको देखिएन भन्ने समेत व्यहोराको पूर्ण इजलासको २०४६।७।२९ को फैसला ।
१४. विपक्षी वादी र म दाजु भाइ हौं पिताको शेषपछि २०१३ सालमा नै हामी घरसारमा बण्डा गरी छुट्टि भिन्न भएकोमा छुट्टिएको लिखत पेश गर्न नसकेको भन्ने आधार अंशबण्डाको ३० नं. को प्रतिकूल छ । बुझ्नु पर्ने प्रमाण नबुझी नबुझ्नु पर्ने प्रमाण बुझिएको छ । श्रीमती तथा आमा विष्णुकुमारीले आफ्नो दाइजो पेवाको सम्पत्तिबाट राजीनामा गरी लिएको दाइजो पेवाको सम्पत्तिलाई सगोलको सम्पत्ति कायम गरी स्त्री अंश धन सम्बन्धी कानुनलाई प्रमाणहिन तुल्याइएको छ । सर्वोच्च अदालत फुलबेञ्चबाट नै दाइजो पेवाले बनाएको सम्पत्ति अंश बण्डा गर्न मिल्दैन भन्ने सिद्धान्त समेत स्थापित भई राखेकोमा सोको समेत वेवास्ता गरी भएको फुलबेञ्चको निर्णय त्रुटिपूर्ण हुँदा सर्वोचच अदालत वृहत फुलबेञ्चबाट दोहर्याई हेरी दिनु भन्ने स.अ.का नाउँमा हु.प्र.बक्स पाउँ भनी चिजकुमार श्रेष्ठ समेतले चढाएको विन्तिपत्रमा पूर्ण इजलासबाट दोहर्याई हेरी दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्स भै आएको ।
माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्माको राय:–
१५. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ताद्वय गणेशराज शर्मा, श्री मुकुन्द रेग्मी तथा विद्वान अधिवक्ताद्वय श्री अनुपराज शर्मा, श्री राधेश्याम अधिकारीले निवेदन जिकिरको औचित्यतर्फ प्रकाश पार्दै बहस प्रस्तुत गर्नु भयो । विद्वान वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्माले वादी प्रतिवादीहरु बीच अंशबण्डा भएको कुनै लिखत नभए तापनि यिनीहरु अलग अलग बसेका दुवै थरीले आ–आफूले आर्जेको बिक्री व्यवहार समेत गरेका हुँदा छुट्टिएको प्रमाणित हुन्छ खती उपति अलग अलग गरेको सिद्ध भएमा एकै ठाउँमा भए पनि मानु छुट्टिएको मानिन्छ, व्यवहार प्रमाणबाट बण्डा भएको देखिनेमा पुनः बण्डा गर्न नपर्ने व्यवस्था अंशबण्डाको महलको ३० नं. ले गरेको हुँदा वादी दावी नपुग्ने ठहर हुनु पर्दछ भनी उल्लेख गर्नु भयो । त्यस्तै अर्का विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले वादीले पैतृक जग्गा विष्णुलाल प्रधानलाई २०१८।३।५ मा कनैयालाललाई २०१८।३।२ मा बिक्री गरेको २०१८।१२।२ मा गोपाल श्रेष्ठसँग र २०२३।४।१२ मा हर्क बहादुरसँग सट्टापट्टा गरेको ५० रोपनी जग्गा बन्दीपुर क्याम्पसलाई दिएको समेतका व्यवहार प्रमाणबाट वादी प्रतिवादीहरु २०१३ सालमा नै छुट्टिई भिन्न भएको देखिने, अंशबण्डा नभएको भन्ने माने पनि निजी शीप आर्जनबाट बढे बढाएकोमा अंश लाग्दैन, चिजकुमारको श्रीमती र छोरा अंशियारा नहुँदा निजहरुको नाउँमा रहेको सम्पत्ति बण्डा लाग्दैन, राप्तीदूनमा बिक्री वितरणमा प्राप्त गरेको जग्गामा रापतीदुन जग्गा बिक्री नियम २०१३ को उपनियम २ ले पनि अंश बण्डा लाग्दैन, वादीको श्रीमतीको नाउँको महाराजगंजको घर जग्गा बण्डा लाग्ने गरेकोमा वादीको निवेदन नपरेको हुँदा त्यस तर्फ बोली रहनु पर्दैन, चिजकुमारको मात्र निवेदन परेकोले त्यसतर्फ मात्र विचार गर्नु पर्ने अवस्था छ भन्नु भयो । विद्वान अधिवक्ता श्री अनुपराज शर्माले प्रस्तुत फिराद संशोधित अंशबण्डाको १८ नं. अन्तर्गत दावी लिई परेको हुँदा अंश बण्डाको महलको १८ नं. को व्याख्या हुन जरुरी छ, निजी आर्जनको सम्पत्ति बण्डा गर्न मिल्दैन भन्ने र विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारीले ७ नं. फारम भर्दा रामकुमारको यो जग्गा हो भनी देखाएकोबाट पनि २०१३ सालमा बण्डा भएको कुरा पुष्टि हुन्छ, व्यवहारबाट बण्डा भएको देखिन्छ, अंश मुद्दा पर्नु भन्दा पहिले नै दाइजो पेवा भन्ने देखाइएको छ र दाइजो मध्येबाट पनि केही रामकुमारको भागमा परेको भन्ने भएपछि अघि छुट्टिएको प्रमाणित हुन्छ भनी बहस प्रस्तुत गर्नु भयो ।
१६. त्यस्तै विपक्षी वादीका तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त तथा विद्वान अधिवक्ताद्वय श्री प्रकाश वस्ती, श्री यादव खरेलले बहस प्रस्तुत गर्नु भयो । विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद पन्तले बण्डापत्र छैन, अंशबण्डाको महलको नं. ३० अनुसार बण्डा भएको मानिसको लागि घर सारमा नरम गरम मिलाई अचल अंश बण्डा गरी छुट्टिई आफ्नो आफ्नो हिसाब भाग शान्ति बमोजिम लिई पछि दाखेल खारेज समेत गराई सकेको वा आफ्नो आफ्नो भागको अचल छुट्टा छुट्टै भोग बिक्री व्यवहार गरेको हुनु पर्ने प्रस्तुत मुद्दामा त्यस्तो केही छैन। तायदातीमा रामकुमारको नाउँमा जग्गा भएको कुरा देखाउन सकेको छैन । लेनदेन व्यवहारको १० नं. ले आफूले आर्जन गरेको बिक्री गर्न हुन्छ तर बण्डा गर्न पर्ने भए बण्डा लाग्छ। विभिन्न व्यक्ति विभिन्न ठाउँमा बस्दा ती ती ठाउँमा बस्ने मुख्य हुन्छ । चिजकुमार नारायणघाटमा र रामकुमार बन्दीपुरमा बस्थे । २०२६।७।११ मा चिजकुमारले नारायणगढ गा.पं. लाई जग्गा पास गर्दा ऋणीको एका घरका भाइ रामकुमार जिवनमित्र भन्ने उल्लेख छ । त्यस्तै २०१८।१२।२२ मा सानुलाल श्रेष्ठबाट चिजकुमारले जग्गा लिँदा मेरा एकाघरका भाइ रामकुमारले यति रुपैयाँमा बुझाई दिएको भन्ने उल्लेख भएबाट २०१३ सालमा छुट्टिएको मान्ने अवस्था छैन। वादीले बिक्री गरेको भनेको लिखत हेर्दा मेरो अंश भागमा परेको भन्ने उल्लेख भएको देखिँदैन । आयस्ता आउन थालेको हो ७ नं. फाँटवारी रामकुमार समेतको हकमा चिजकुमारले पेश गरेको र भू.सु.का. तनहुँबाट निर्णय समेत भएको छ भनी उल्लेख गर्नु भयो । विद्वान अधिवक्ता श्री प्रकाश वस्तीले चिजकुमारले दिएको तायदातीमा नापीको भूलबाट भाइ रामकुमारको जग्गा पनि मेरै नाउँमा दर्ता भएछ भनी उल्लेख गर्नु भएको छ । रामकुमारले पेश गरेको तायदातीबाट रामकुमारको नाउँमा कुनै सम्पत्ति देखिँदैन । सट्टापट्टाको कागजमा मेरो अंश भागको भन्ने छैन, रामकुमार विरुद्ध इन्द्रबहादुर तामाङ भएको कबुलियत मुद्दामा सगोलको भाउजु भन्ने उल्लेख छ, वि.सं. २०१८, २०१९, २०२६ का लिखत तथा २०२६ सालको भू.सु.का. तनहुँको निर्णयले समेत वादी प्रतिवादीहरु एक सगोलमा नै देखिएको हुँदा पूर्ण इजलासको फैसला सदर हुनु पर्छ भन्ने र अधिवक्ता यादवप्रसाद खरेलले २०४२ सालको दे.पु.नं. ७२ पु.बे. तुल्सीलाल विरुद्ध माणिकलाल भएको अंश मुद्दामा खडग निसानाबाट भएको सम्पत्ति पनि बण्डा भएको छ (पूर्ण इजलास निर्णय मिति २०४३।९।१८) अतः निवेदकले पेश गरेको नजीरबाट निवेदन पत्र नै खण्डित भएको छ भनी बहस प्रस्तुत गर्नु भयो ।
१७. आज निर्णय सुनाउन भनी पेश हुन आएको प्रस्तुत मुद्दामा विद्वान कानुन व्यवसायीहरुले गर्नु भएको उपरोक्त बहस समेतलाई ध्यानमा राखी यस अदालत पूर्ण इजलासबाट मिति २०४६।७।२९ मा भएको फैसला मिले नमिलेको के रहेछ सो को निर्णय दिनु पर्ने देखियो ।
१८. २०१३ सालमा नै घर सारमा सम्पत्ति बण्डा गरी छुट्टी भिन्न भएको, विष्णुकुमारीको नाउँको सम्पत्ति समेत पेवाको र सोबाट बढे बढाएको सम्पत्ति भएको सो कुरालाई मान्यता नदिई फिराद परेको अघिल्लो दिनलाई मानु छुट्टिएको मिति कायम गरी पेश दाखेल भएको तायदाती र विष्णुकुमारीको नाउँमा रहेको घर जग्गा समेतबाट वादीले दुई भागको एक भाग अंश पाउने ठहराएको पूर्ण इजलासको फैसला त्रुटिपूर्ण रहेको भनी निवेदक प्रतिवादीले जिकिर लिएको देखिन्छ।
१९. प्रस्तुत मुद्दामा वादीको नालेश २०३४।११।२५ मा परेको देखियो । मुलुकी ऐन (सातौं संशोधन) २०३४।९।२७ द्वारा संशोधित अंश बण्डाको महलको ३० नं. बमोजिम २०३४।९।२७ सम्ममा व्यवहार प्रमाणबाट छुटिएको स्थिति देखिनको लागि बण्डापत्र खडा गरी वा नगरी घरसारमा नरम गरम मिलाई अचल अंशबण्डा गरी छुट्टिई आफ्नो आफ्नो हिसाब भाग शान्ति बमोजिम लिई पाई दाखेल खारेज समेत गराइसकेको वा बण्डा बमोजिम आ–आफ्नो भागको अचल छुट्टा छुट्टै भोग बिक्री व्यवहार गरेको हुनु पर्ने देखिन्छ । २०१३ सालमा नै वादी छुट्टिएको भनी निवेदकले जिकिर लिए तापनि उक्त मितिमा वादी प्रतिवादीहरु छुट्टिएको कुनै लिखत प्रमाण देखिँदैन । वादी प्रतिवादीहरुको मधेश चितवन र पहाड बन्दिपुर दुवै तर्फ घर खेती भएको, वादीले बन्दीपुर तर्फको घर खेतीको र प्रतिवादीले मधेश चितवन तर्फको घर खेतीको हेर विचार गरी व्यवहार चलाई सोही अनुसार आ–आफ्नो नाउँमा जग्गा जमीन समेत खरिद बिक्री गर्दे आएको देखिन्छ । मानो नछुट्टिई सँग बसेका अंशियाराहरुले सगोलको सम्पत्तिबाट बढे बढाएको सगोलको आर्जन र लगाएको ऋणमा सबै अंशियाराहरुको भाग लाग्ने व्यवस्था मु. ऐ. अंशबण्डाको महलको १८ नं. ले गरेको देखिन्छ । वादी रामकुमारले विष्णुलाललाई मिति २०१८।३।५ मा र कन्हैयालाललाई ०१८।३।२ मा राजीनामा गरी दिएको लिखतमा हक दावी छाडी दियौं भन्ने सम्म उल्लेख भएकोलाई अंश भागमा परेको जग्गा बिक्री गरेको भनी अर्थ गर्न पनि मिल्ने देखिएन । चितवन जिल्ला अदालतको आदेश अनुसार वादी प्रतिवादी दुवै थरीले तायदाती फाँटवारी दाखिल गरेको वादी रामकुमारका वा.सिलवाल सापकोटाको मिति २०३६।६।१० मा दाखिल रहेको तायदातीमा मेरो जिम्मामा बण्डा गर्नु पर्ने चल अचल सम्पत्ति केही पनि छैन भनी उल्लेख गरेको र प्रतिवादीहरुले पेश गरेको तायदातीबाट समेत वादीको नाउँमा कुनै अचल सम्पत्ति रहेको देखाउन नसकी नापीको भूलबाट भाइ रामकुमारको जग्गा पनि मेरो नाउँमा दर्ता भएछ भन्ने सम्म उल्लेख गरेको देखिन्छ । यो यो पैत्रिक सम्पत्ति वादी प्रतिवादीहरुले आ–आफ्नो नाममा दाखिल खारेज गरेको भनी कुनै प्रमाण प्रतिवादीले दिन गुजार्न सकेको समेत नदेखिँदा अंशबण्डाको ३० नं. को प्रयोजनार्थ व्यवहार प्रमाणबाट वादी प्रतिवादीहरु छुट्टि भिन्न भएको भनी अर्थ गर्न मिल्ने देखिएन । वादी रामकुमार र हर्ष बहादुर विच २०२३।४।१२ मा भएको सट्टापट्टाको लिखत हेर्दा आ–आफूलाई पायक पर्ने जग्गा सम्म सट्टापट्टा गरेको देखिन्छ । निवेदक चिजकुमारले नारायणघाट गा.पं. लाई २०२६।१२।११ मा रजिष्ट्रेशन पास गरी बिक्री गरेको लिखतमा ऋणीका एकाघरका भाइ भनी वादी रामकुमार साक्षी बसेको देखिन्छ । त्यस्तै निवेदक चिजकुमारले भूमिसुधार अधिकृत समक्ष ७ नं. फाँटवारी भर्दा भाइ रामकुमारलाई एकाघर संगोलका अंशियार देखाई वादीको भागमा आफ्नो नाउँको केही जग्गा राख्ने गरी विवरण समेत भरेको देखिएबाट प्रतिवादीको जिकिर अनुसार वादी रामकुमार २०१३ सालमा नै छुट्टिई भिन्न भएको नदेखिई एकासगोलमा नै रहे भएको देखिन आयो । २०१४।१।१० मा बिष्णुकुमारीले धर्मप्रसाद जोशीसँग राजीनामा गरी लिएको जग्गा दाइजो पेवाबाट खरिद गरेको भन्ने निवेदन जिकिर भएकोमा सो लिखत घरसारको देखिएको र सो को सक्कलै लिखत निवेदकले पेश दाखिल गर्न सकेको देखिँदैन । पेश गरेको नक्कलबाट दाइजोको रुपैयाँले सो जग्गा खरिद गरेको भन्ने प्रष्ट खुल्दैन । लिखतको छैंठौ हरफमा “साहुको दाइजो लियाको ठीक साँचो हो” भन्ने सम्म उल्लेख भएको आधारमा २०१४।१।१० मा विष्णुकुमारीको नाममा खरिद गरी लिएको जग्गा दाइजोको रुपैयाँबाट खरिद गरी लिएको भनी मान्न मिल्ने समेत देखिएन । सो लिखतको सम्बन्धमा गोर्खा जिल्ला अदालतमा परेको जालसाजी मुद्दा यी वादी प्रतिवादीहरुका बीच चलेको नभई लिखत गरी दिने धर्मप्रसादका भाइ गणेशप्रसाद समेत वादी र निवेदक समेत प्रतिवादी भै चलेको देखिएबाट उक्त जालसाजी मुद्दाले प्रस्तुत मुद्दाका वादीलाई कुनै असर पर्ने समेत देखिन आएन । निवेदकले उल्लेख गरेको २०४३ सालको दे.पु.ई.नं. ७९ निवेदक शंकरप्रसाद भारती विरुद्ध उमादेवी भारती समेत भएको अंश मुद्दामा “दाइजोको रुपैयाँले बनाएको घरमा वादीले अंश पाउँछ” भन्न न्यायको दृष्टिमा मिल्ने देखिँदैन भनी पूर्ण इजलासबाट २०४५।१२।१० मा फैसला भएको देखिन्छ भने प्रस्तुत मुद्दामा विष्णुकुमारीले मिति २०१४।१।१० मा धर्मप्रसादबाट राजीनामा गराई लिएको सम्पत्ति दाइजोबाट खरिद गरेको भन्ने स्पष्ट रुपमा उल्लेख भएको नदेखिँदा सो सम्पत्ति समेत बण्डा लाग्ने ठहर्याएको प्रस्तुत मुद्दा उक्त मुद्दाको तथ्यसँग मेल खाने समेत देखिएन । अन्यथा प्रमाणित नभएसम्म एकाघर सँगका अंशियारहरु मध्ये जुनसुकै अंशियारको नाउँमा रहेको भए तापनि त्यस्तो सम्पत्तिलाई सगोलको सम्पत्ति भनी अनुमान गर्नु पर्ने व्यवस्था प्रमाण ऐन, २०३१ को दफा ६ ले गरेको समेत देखिन्छ ।
२०. अतः फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी दाखिल भएको तायदाती र विष्णुकुमारीको नाममा रहेको घरजग्गा समेतबाट दुई भागको एक भाग अंश वादीले प्रतिवादीबाट पाउने ठहर्याएको सर्वोच्च अदालत पूर्ण इजलासको मिति २०४६।७।२९ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ ।
उक्त रायमा हामी सहमत छौं
न्या.केदारनाथ उपाध्याय
न्या.अरविन्दनाथ आचार्य
माननीय न्यायाधीश श्री उदयराज उपाध्यायको राय:–
यसमा वादी प्रतिवादीहरु २०१३ सालमा नै छुट्टिई भिन्न भएको देखिन नआएकोले फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी दाखिल भएको तायदातीबाट दुई भागको एक भाग अंश वादीले प्रतिवादीबाट पाउने देखिँदा सो हदसम्मको पूर्ण इजलासको मिति २०४६।७।२९ को फैसला सदर गरेको हदसम्म सहयोगी माननीय न्यायाधीशज्यूहरुको उपरोक्त रायसँग म सहमत छु । जहाँसम्म विष्णुकुमारीले धर्मप्रसादबाट मिति २०१४।१।१० मा राजीनामा गरी लिएको लिखतको प्रश्न छ सो लिखत घरसारको भएको, सक्कल लिखत प्रतिवादीले दाखिल गर्न नसकेको र पेश भएको लिखतको नक्कलबाट अप्रसङ्ग ठाउँमा दाइजोको अक्षर रहेको भन्ने आधारमा सो लिखतको सम्पत्तिबाट समेत वादीले दुई भागको एक भाग अंश पाउने ठहर्याई पूर्ण इजलासबाट फैसला भएको देखियो । उक्त लिखतमा साहुको दाइजो लियाको भन्ने व्यहोरा परेको कुरामा विवाद छैन । दाइजोको रकमबाट सम्पत्ति खरिद भएकोमा लिखत गर्दा दाइजो भन्ने शब्द लेख्दा यो यस ठाउँमा लेखेमात्र प्रासङ्गिक हुने नभए अप्रासङ्गिक हुने भन्ने निश्चित अवधारणा कायम भएको देखिँदैन । त्यस्तो लिखतको ढाँचा यो यस्तो हुनुपर्छ भनी कानुनले निर्धारण गरेको पनि पाइँदैन । स्त्री अंशधनको ५ नं. ले दाइजो पेवा आफूखुस गर्न पाउने व्यवस्था गरेको हुँदा दाइजोलाई असर पर्ने गरी अरुले केही लेखी दिएको अवस्थामा पनि त्यस्तो लेखाइले कानुनी मान्यता पाउने अवस्था देखिँदैन २०१४।१।१० मा विष्णुकुमारीले राजीनामा गरी लिएको सम्पत्ति दाइजोबाट खरिद गरेको भन्ने देखिन आएको र दाइजोबाट खरिद गरेको सम्पत्तिमा खरिद गर्नेको एकलौटी हक लाग्ने देखिन्छ । २०१४।१।१० को लिखतलाई जालसाजी ठहर्याई पाउँ भनी लिखत गरी दिने धर्मप्रसादका भाइ गणेशप्रसाद समेतले निवेदक समेत उपर दिएको जालसाजी मुद्दामा सो लिखतको सक्कलै गोर्खा जिल्ला अदालतमा पेश भै प्रतिवादीले उक्त लिखतको नक्कल समेत सारी लिएको र गोर्खा जिल्ला अदालतबाट फिराद खारेज हुने ठहर्याएको फैसला सदर हुने ठहरी गण्डकी अञ्चल अदालतबाट फैसला अन्तिम भै रहेको समेत देखिन्छ । दाइजो होइन भन्न कुराको कुनै प्रमाण वादीले दिन सकेको पनि पाइँदैन । विष्णुकुमारीले धर्म प्रसादबाट गराइ लिएको लिखत प्रस्तुत मुद्दाको फिराद पर्नु भन्दा धेरै अगाडिको भएको समेत देखिएबाट उक्त लिखतलाई अन्यथा भन्न मिल्ने देखिएन । तसर्थ उक्त २०१४।१।१० को लिखतको सम्पत्ति बण्डा लाग्ने नभई खरिद गर्ने विष्णुकुमारीको मात्र हक लाग्ने ठहर्छ । विष्णुकुमारीको नाउँको उक्त लिखतको सम्पत्तिबाट समेत वादीले दुई भागको एक अंश पाउने ठहर्याएको पूर्ण इजलासको २०४६।७।२९ को फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी हुन्छ ।
उक्त रायमा म सहमत छु
न्या.गोविन्दबहादुर श्रेष्ठ
इतिसम्वत् २०५१ साल मंसीर १ गते रोज ५ शुभम्