शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ५०५५ - घरबाट उठाई चलन चलाई पाउं

भाग: ३७ साल: २०५२ महिना: जेष्ठ अंक:

निर्णय नं. ५०५५    ने.का.प. २०५२ अङ्क २

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा

सम्वत् २०५० सालको दे.पु.नं. १४१७

फैसला मिति   : २०५१।९।२५।२

मुद्दा : घरबाट उठाई चलन चलाई पाउ

 

पुनरावेदक/प्रतिवादी: का.जि.का.न.पा. वडा नं. ३३ डिल्ली बजार बस्ने लक्ष्मी प्रसाद श्रेष्ठ ।

विरुद्ध

विपक्षी/वादी: ऐ. ऐ. बस्ने नारायण भक्त श्रेष्ठ ।

  अंशियारहरुको बीचमा अंशबण्डा गर्दा वा अंश हक छोडपत्र गर्दा दान बकसको १ नं. को प्रयोग गर्ने व्यहोरा नै उक्त दान बकसको उद्देश्य अनुकूल नरहने ।

(प्रकरण नं. १३)

  अंशको हक जस्तो जन्म देखि नै प्राप्त हुने हकको लागि एउटा अंशियारले अर्कालाई अंश दान वा बकस गरेर दिन नमिल्ने ।

 (प्रकरण नं. १३)

  अंश भनेको हक हो भने दान वा बकस दाताको इच्छामा निर्भर रहने कुरा हो ।

(प्रकरण नं. १३)

  जुन पक्षले पेश गरेको हो सोही पक्षलाई सो कागज सुनाउनु पर्ने औचित्य नै नरहने ।

(प्रकरण नं. १४)

  वादीको नाममा विवादित जग्गा घर दर्ता रही तिरो भरो गरिरहेको कुरामा प्रतिवादीले सो दर्ता बदर गराउने तर्फ कुनै उजूर बाजुर समेत नगरे भएको अवस्थामा शुरु र पुनरावेदन अदालतको बुँदा प्रमाण समेतबाट वादी दावी बमोजिम वादीको घरबाट प्रतिवादीलाई उठाई वादीलाई चलन चलाई दिने ठहराएको शुरु काठमाडौं जिल्ला अदालतको निर्णयलाई सदर गरेको पुनरावेदन अदालत पाटनको इन्साफ मिलेकै देखिँदा मनासिब ठहर्ने ।

(प्रकरण नं. १४)

निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मोहनकृष्ण खरेल, विद्वान वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा र विद्वान अधिवक्ता श्री शम्भु थापा

विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विद्वान अधिवक्ता श्री पिताम्बर सिलवाल

अवलम्बित नजीरःX

फैसला

न्या.हरि प्रसाद शर्मा    पुनरावेदन अदालत पाटनको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ अन्तर्गत दोहोर्‍याई पाउन निवेदन पर्न आई न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम दोहोर्‍याउने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ :

२.   अम्बिका दाशको चार छोरा मध्ये जेठा म वादी, माहिला हरिप्रसाद, साँहिला प्रतिवादी र कान्छा तुलसीप्रसाद भै २०२३ सालमा बाबुको मृत्यु पश्चात आमा समेत र अंशियारहरु ०२५ सालमा छुट्टिई भिन्न भै बण्डापत्र पारित भएको थियो । प्रतिवादी र म भने आपसी समझदारीबाट सगोलमा रही बसी आएकोमा ०३३ सालमा छुट्टिई भिन्न भएकोमा पुनः एकासगोलमा बसी आएकोमा जहान संख्या बढ्दै आएकोमा पुनः अलग भै बस्ने सरसल्लाह भएकोले सोही बमोजिम आफ्नो अंश बुझी लिई ०४६।५।१२ मा प्रतिवादीले मलाई अंश छोडपत्रको लिखत गरी दिई पारित समेत भएकोले निज र मेरो बीच भएको अन्तिम बण्डापत्रको लिखत गरी दिई पारित समेत भएकोले निज र मेरो बीच भएको अन्तिम बण्डापत्रको उक्त कागजलाई मानन दुवैथर बाध्य छौं । लिखत अनुसार मेरो अंश भागमा परेको मेरो हक दर्ताका का.जि.का.न.पा. वा.नं. २८ को हाल ३३ मा पर्ने कि.नं. १५१ को जग्गामा बनेको दक्षिण मोहडाको ५ तले पक्की घर मध्ये जमीन तलाको पश्चिम पट्टीको आधा भाग र त्यसैको माथि चौथो तलाको पुरै (साविक पेज नं. १५०) भाग (फ्लाट) तथा पाँचौ तलाको आधा भाग भान्सा खण्ड र सो घर सँगै उत्तरपट्टिको आफ्नो भागको तल देखि माथिसम्म चार तला समेतको घर कोठाहरु तीन महिनाको लागि बस्न दिनोस् त्यसपछि म सर्नेछु, भनी मलाई आग्रह गरेकोले तीन महिनाको लाग मात्र भनी विना कागज मौखिक रुपले ०४६।५।१२ देखि बस्न दिएको थिए । तीन महिनापछि कोठा खाली गरी दिनु भन्दा नमानेकोले ०४७।३।२१ मा घर खाली गराउने सूचना हुलाकद्वारा पठाउँदा पनि जबरजस्ती कब्जा गरी घर खाली गरी नदिएकोले उल्लेखित घर कोठाहरुबाट निज लक्ष्मीप्रसादलाई उठाई अड्डैबाट चलन समेत चलाई पाउँ भन्ने फिरादपत्र दावी ।

३.   फिरादपत्रको प्रकरण नं. १ को तथ्य वास्तविक हो । छुट्टिई भिन्न भै सकेपछि कुनै लिखत पारित गरी सँगै बसेको होइन । काम व्यवसाय मात्र वादीकै निर्देशनमा गरेको छु । वादी दावीमा उल्लेखित नं. को घर जग्गा छाडी दिए भन्ने ०४६।५।१२ को बण्डापत्रमा कतै उल्लेख छैन। मैले अंश छोडपत्र गरे पछि विपक्षीसँग ३ महिनालाई घरमा बस्न मागेको छैन । सो घर जग्गाहरु मेरो भागमा अघि कै बण्डापत्रबाट पारी सकेकोले मैले छोड्नु पर्ने होइन । झुठ्ठा फिराद पत्रबाट अलग फुर्सद गरी पाउँ भन्ने प्रतिवादीको प्रतिउत्तरपत्र जिकिर ।

४.   २०३३ साल देखि २०४६ सालसम्म आफ्नो नाउँमा दर्ता समेत नदेखिँदा उक्त कि.नं. १५१ को घर जग्गा माथि प्रतिवादीको स्वामित्व नदेखिँदा वादी दावा अनुसार प्रतिवादीले कि.नं. १५१ को घर जग्गा खाली गरी दिनु पर्ने र वादीले चलन गर्न पाउने ठहर्छ भन्ने श्री का.जि.अ. को मिति ०४७।९।२९ गतेको फैसला ।

५.  श्री का.जि.अ.बाट मिति ०४६।५।१२ को छोडपत्रको आधारबाट घरबाट उठाई चल चलाई पाउँ भन्ने दावामा साक्षी सबूद प्रमाणै नबुझी, तारेखमा हाजिर नभएको अवस्थामा बहस सुनी हचुवा किसिमबाट गरेको मिति ०४७।९।२९ को फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसलामा चित्त बुझेन सो फैसला उल्टाई हक इन्साफ गरी पाउँ भन्ने समेत व्यहोराको पुनरावेदन पत्र ।

६.   २०३३ सालको लिखत बमोजिमको सम्पत्ति पुनरावेदकले आफ्नो नाममा दर्ता दा.खा. आदि गराउन नसकी ०४६ सालको लिखतमा ०३३ सालको लिखत बमोजिम पाएको अंश भाग नपुग भएकोले सो लिखत यथावतै कायम राखी भन्ने जस्तो स्पष्ट वाक्याँस उल्लेख गर्न समेत नपाइएकोले उक्त ०३३।९।५ को लिखतलाई क्रियाशील छ भनी अर्थ गर्न मिलेन । यदि त्यस्तो गर्ने हो भन्ने एउटै व्यक्तिले दुई पटक अंश पाएको स्थिति हुन जान्छ । तसर्थ मिसिल संलग्न सबूद प्रमाणको मूल्यांकनबाट दावीको घर पुनरावेदक प्रतिवादीको अंश भागमा परेको भन्न मिल्ने नदेखिँदा वादी दावी बमोजिम वादीको घरबाट प्रतिवादीलाई उठाई पाउने ठहर्‍याएको शुरु जिल्ला अदालतको इनसाफ मनासिब हुँदा शुरुको इन्साफ मनासिब हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०४८।११।२९ को फैसला ।

७.  वादी आफैंले २०३३ सालको लिखतलाई समर्थन गरी पेश गरेको कागजलाई मेरो विरुद्ध प्रमाण लगाई गरिएको पुनरावेदन अदालत पाटनको फैसला अ.बं. ७८ नं. समेतको गम्भीर कानुनी त्रुटि हुँदा मुद्दा दोहोर्‍याई हेरी पाउँ भनी प्रतिवादी लक्ष्मीप्रसाद श्रेष्ठको बहस अदालतमा परेको निवेदन ।

८.   मिति २०३३।९।५ को पारित लिखतमा उल्लेख गरेको हा.नं. २२५ हालको कि.नं. १५१ को घर जग्गा तथा सो लिखत सम्बन्धमा मिति ०४६।५।१२ को पारित लिखतमा प्रष्ट रुपमा केही भनेको देखिँदैन । मिति २०४६।५।१२ को घरसारक लिखत वादीले पेश गर्दा प्रतिवादी विरुद्ध प्रमाणमा लगाउन प्रतिवादीलाई अ.बं. अनुसार सुनाएको समेत देखिँदैन। दावीको घर कोठाहरुमा तेरो मेरो प्रश्न उठेपछि त्यसको मूल्य खुलाई कानुन बमोजिम लाग्ने कोर्ट फी वादीबाट लिई निर्णय गर्नु पर्नेमा सो गरेको समेत नदेखिएको शुरुको फैसलालाई सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला उपर न्या.प्र.ऐन, २०४८ को दफा १२(१)(क) को आधारमा दोहोर्‍याउने निस्सा प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५०।६।२७ को आदेश ।

९.   नियमानुसार पेशी सूचीमा चढी आज निर्णय सुनाउन पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट रहनु भएका वरिष्ठ विद्वान अधिवक्ताद्वय श्री मोहनकृष्ण खरेल, गणेशराज शर्मा र विद्वान अधिवक्ता श्री शम्भुथापाले मेरो पक्षले २०३३।९।५ को बण्डाबाट प्राप्त गरेको सम्पत्ति पैत्रिक सम्पत्ति हो र ०४६ सालको बण्डाबाट प्राप्त गरेको सम्पत्ति पछि खरिद गरी कमाएको सम्पत्तिबाट प्राप्त भएको हो । २०३३ सालको बण्डापत्रको २०४६ सालको बण्डापत्रको लिखतले खण्डन गरेको छैन साथै २०३३ सालमा नारायण भक्त र लक्ष्मी प्रसाद श्रेष्ठ बीचमा बण्डापत्र भएको देखिन्छ भने २०४६ सालको बण्डा नारायण भक्त, लक्ष्मीप्रसाद र नारायण भक्तको श्रीमती हजुरी मैया बीच भएको बण्डा समेतबाट यो पुष्टी हुन्छ । कित्ता नं. १५१ को विवादित घर जग्गा ०३३ सालको बण्डापत्र अनुसार मेरो पक्षको पनि आधा हक लाग्ने भएकाले विवादको घरबाट मेरो पक्षलाई उठाई वादीलाई चलन दिने गरी भएको शुरु फैसलालाई सदर गरेको पु.वे.अ.पाटनको फैसला नमिलेकोले उल्टी हुनु पर्दछ भन्ने र विपक्षीतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विद्वान अधिवक्ता श्री पिताम्बर सिलवालले ०३३ सालको बण्डापछि विवादित घर नापी भएको छ । नापीका अवस्थामा उक्त घर नारायण भक्तका नाउँमा एकलौटी दर्ता भए उपर यी पुनरावेदक प्रतिवादीले कानुन बमोजिम दर्ता बदरमा उजुर गर्नु भएको छैन । २०३३ सालको बण्डापत्र भएपछि पनि यी वादी प्रतिवादी सगोलमा नै बसेका छन् भन्ने कुर ०४६ सालको बण्डामा परेको बोलीले पुष्टि गर्दछ । २०४६ सालको लिखतमा तपसिलको घर जग्गा अंश बापत बुझी लिए अब अंश बाँकी छ भनी दावी गर्ने छैन गरे यसै कागजले बदर गर्नु भन्ने समेत व्यहोरा पारी यी प्रतिवादीले अंश बुझेको हुँदा विवादको कि.नं. १५१ को घरजग्गा वादी नारायण भक्तको अंश भाग बापत छोडेको पुष्टि हुन आउँदा वादी दावी बमोजिम चलन चलाई दिने ठहरी शुरु सदर गरी भएको पु.वे.अ.को इन्साफ मिलेकोले सोही फैसला सदर हुनु पर्दछ भनी गर्नु भएको बहस समेत सुनी पुनरावेदन अदालत पाटनको फैसला मिले नमिलेको के रहेछ भनी निर्णय दिनु पर्ने देखिन आयो ।

१०.  विद्वान कानुन व्यवसायीहरुको बहसको सन्दर्भमा सम्बन्धित मिसिल संलग्न कागजातरु अध्ययन गर्दा २०२५।७।१२।२ मा रजिष्ट्रेशन पारित बण्डा पत्रको लिखतबाट अम्बिका दास र निजको श्रीमती गणेशमाया तथा कान्छो छोरा तुलसीप्रसाद सगोल बसी २०१२ साल बैशाख महिनामा अम्बिका दासको जेठो छोरा नारायण भक्त माहिला छोरा हरिप्रसाद तथा साहिला छोरा लक्ष्मीप्रसाद मानु छुट्टिई अलग बसेकोमा २०२३।१।३ मा अम्बिका दासको स्वर्गबासपछि सबै अंशियार ५ जनाको बीचमा ०२५।७।१२ मा अंश बण्डा भएकोले प्रस्तुत मुद्दाका वादी र प्रतिवादी दुईभाई २०२५ साल मार्ग ११ गते देखि मानो मिलाई सगोलमा बसेको कागज २०२५।८।१२ मा पारित भएको पाइन्छ । त्यसपछि प्रतिवादी लक्ष्मीप्रसादले वादी नारायण भक्तलाई २०३३।९।५ मा अंश हक छाडेको छोडपत्र रजिष्ट्रेशन पारित गरी दिएको र अन्तमा २०४६।५।१२ मा नारायण भक्त, श्रीमती हजुरी मैया र लक्ष्मीप्रसाद समेत तीन जना आगे भै गरेको अँश छोडपत्र र अंश बुझेको भरपाई गरी लियौं भनी रजिष्ट्रेशन पारित लिखत भएको रहेछ ।

११.  उक्त पृष्ठभूमिमा २०४६।५।१२ को लिखतबाट वादी नारायण भक्तको अंश भागमा परेको निजको हक दर्ताको का.जि.का.न.पा. वडा नं. ३३ को कि.नं. १५१ को जग्गामा बनेको ५ तले पक्की घर मध्ये केही कोठा र फ्ल्याट तीन महिनाको लागि लक्ष्मीप्रसादलाई मौखिक रुपमा ०४६।५।१२ देखि बस्न दिएकोमा तीन महिनापछि घर खाली गरी देउ भन्दा नमानेकोले निज लक्ष्मीप्रसादलाई घर कोठाबाट उठाई अड्डैबाट चलन समेत चलाई पाउँ भनी वादी दावी भएकोमा ०३३ सालको बण्डापत्रबाट नै विवादित घर मेरो अंश भागमा परेको र २०४६ सालको अंश बण्डामा सो घर छोडेको कुनै उल्लेख नभएको हुँदा सो घर मैले छोड्नु पर्ने होइन भन्ने मुख्य प्रतिउत्तर जिकिर रहेको पाइयो ।

१२.  यस प्रकार वादी र प्रतिवादी विचमा २०२५, २०३३ र २०४६ सालमा समेत तीन पटक अंश भाग बण्डाको लिखतहरु भएकोमा २०२५ साल कार्तिक १२ गते भएको ५ जना अंशियारहरु बीचको बण्डापत्रको लिखत भएको लगतै १ महिनापछि २०२५।८।१२ गते वादी प्रतिवादीका बीचमा मानो जोडी सँगै बसेको लिखत सम्बन्धमा सबै पक्षको मुख मिलेको हुँदा सो सम्बन्धमा विचार गर्नुपर्ने देखिएन । तसर्थ बाँकी २ लिखत २०३३ साल र २०४६ सालको अंश हक छोडेको छोडपत्र सम्बन्धमा मात्र दुई पक्षमा मुख मिलेको देखिँदैन । तर प्रस्तुत मुद्दाबाट वादी प्रतिवादीको अंशको विषयमा विवाद परेको नभै केवल विवादित घर कोठाबाट वादी दावी बमोजिम घरबाट उठाई चलन चलाई दिनु पर्ने हो होइन भन्ने सम्बन्धमा मात्र पक्षहरु अदालतमा प्रवेश गरेको देखिन्छ ।

१३.  तसर्थ विवादका निराकरणको सन्दर्भमा २०३३ सालको लिखतको व्यहोरामा मानो जोडीसँगै बसी आएकोमा परिस्थितिबाट अब दाजु नारायण भक्तको र मेरो समेत दुवै जनाको परिवार छोराछोरी धेरै हुन आएकोमा पछिसम्म परिवारमा मिलीजुली बसी खान नसकिने देखिन आएकोले हाल चलमाल जति हाताहाती पाउँ र अचल मध्ये तपसिलमा बनेको घरहरु मलाई दिनु भएमा अंशको हक दावी छोडेको छोडपत्रको लिखत गरिदिनेछु भनी दाजुलाई अनुरोध गर्दा दाजुले मञ्जुर गरेकोले दानबकसको १ नं. बमोजिम अंश हक छोडेको छोडपत्रको लिखत लेखिदियौं भन्ने वाक्यांशबाट प्रतिवादीले हाल चल माल जति हाताहाती सोही बखत लिन र अचलको हकमा छोडपत्रका लिखत मात्र गरी दिने तर सो अचल सोही बखत लिएको भन्ने एकातर्फ देखिँदैन भन्ने अर्को तर्फ दान बकसको १ नं. बमोजिम दान वा बकसको लिखत गरिएको नभै अंश छोडपत्रको लिखत गरीएको नै मिलेको देखिदैन । अंशियारहरुको बीचमा अंशबण्डा गर्दा वा अंश हक छोडपत्र गर्दा दान बकसको १ नं. को प्रयोग गर्ने व्यहोरा नै उक्त दान बकसको उद्देश्य अनुकूल नरहनुका साथै अंशको हक जस्तो जन्म देखि नै प्राप्त हुन हकको लागि एउटा अंशियारले अर्कालाई अंश दान वा बकस गरेर दिन मिल्दैन । अंश भनेको हक हो भने दान वा बकस दाताको इच्छामा निर्भर रहने कुरा हो । साथै २०४६ सालको लिखतमा चल धनमाल घरसामै लिई दिई सकेकोले यसमा लेख्नु नपर्ने अचल सम्पत्तिका हकमा भाग बण्डा गरी लिँदा दिँदा टुक्रा टुक्री पर्न गई असुविधा पर्ने भएकोले तपाई दाजु नारायणभक्त र भाउजू हजुरी भै समेतका नाउँमा दर्ता भएको तपसीलको घर जग्गा दिनु भएमा सो घर जग्गा लिई अंरु जो भएको चल अचल श्री सम्पत्ति ऋण धन गैरमा मेरो अंशको हक दावी छोडी दिन्छु भन्दा दाजु र भाउजू मञ्जुर भएकोले म लक्ष्मीप्रसाद श्रेष्ठले आफ्नो हक भोग बुझी लिई अंशको हक दावी छोडी दिएको भनी अंश छोडपत्र र अंश बुझेको भर्पाई गरी लिए दिएको पाइन्छ । यसरी यस लिखतबाट प्रतिवादीले अंश हक बापतको सम्पत्ति बुझी लिएको भरमा पनि गरी दिएको भनी भाउजू हजुरी मैया समेत आगे भै लिखत गरी भाउजूको नाउँको दर्ताको जग्गा समेत पाएको छ ।

१४.  उपरोक्त व्यहोराबाट २०३३ सालको लिखतमा पक्षको नियत वा मनसाय (Intention) मात्र प्रदर्शित भएको छ भन्ने पछिल्लो २०४६ सालको लिखतबाट निजको भागको सम्पत्ति बुझी तयसको भर्पाई समेत गरेको पाइन्छ । विभिन्न ठाउँको टुक्राटुक्री घर जग्गा लिनु भन्दा व्यवहारिक रुपमा सुविधाको लागि २०४६ सालको लिखतबाट प्रतिवादीले आफ्नो पायक पर्ने अनुकूलको घर जग्गा लिएको देखिएबाट २०३३।९।५ मा छोडपत्रको लिखत पारीत गरे तापनि २०३३।९।१६ मा विवादित जग्गा नापी हुँदा पनि प्रतिवादी लक्ष्मीप्रसादले आफ्नो नाउँमा दर्ता श्रेस्ता नगराएको र नारायण भक्तले दर्ता गराएकोमा पनि २०३८।८।३ मा जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण भएपछि पनि लक्ष्मीप्रसादले सो दर्ता बदरतर्फ कारवाही नगरी बसेकोबाट २०३३ सालको लिखत बमोजिम प्रतिवादी दाखिल खारेज केही नगराई चुप लागि बसेको अर्थ प्रष्ट हुन्छ । जहाँसम्म २०४६।५।१२ को घरसारको लिखतको प्रश्न छ सो तर्फ विचार गर्दा २०४७।९।२४ मा प्रतिवादीको वारेश सागरप्रसाद मिश्रले प्रमाणको कागज भनी प्रतिवादीमा उल्लेख नगरेको कागज पेश गरेको देखिँदा जुन पक्षले पेश गरेको हो सोही पक्षलाई सो कागज सुनाउनु पर्ने औचित्य नै रहँदैन र साथै सो कागजबाट कि.नं. १५१ को जग्गा नारायण भक्तको हुँदा नारायण भक्तबाट प्रतिवादीले केही जग्गा लिने भनी दुई भाइको बीचमा घरसारमा लिखत भएको देखिनुका अतिरिक्त प्रतिवादीले २०४६ सालको लिखत बमोजिमको घर जग्गा दर्ता गराई चलन गरी सकेको र २०३३ सालको लिखत भएपनि सो लिखत बमोजिम कार्यान्वयन नगरी सो लिखतलाई पक्षको मनसायको लिखत (Document of Intent) को रुपमा मात्र लिखत गरी त्यसलाई २०४६ सालको लिखतबाट यथार्थमा निष्कृय र प्रयोजनहीन बनाएको पाइन्छ । यस सम्बन्धमा एउटा महत्वपूर्ण प्रश्नको रुपमा छोडपत्रको लिखत गरी सकेपछि मानो जोडिनु पर्ने हो की भन्ने हकमा यस मुद्दाका दुवै पक्षले पेश गरेका विभिन्न लिखतहरुबाट २०२५ सालको बण्डा पत्रबाट वादी प्रतिवादीले पाएको भक्तपुरको घर जग्गा मात्र रहेकोमा पछि दुवै पत्रले आआफ्नो छोरा र श्रीमतीको नाममा बेग्ला बेग्लै घर जग्गा थापाथली र डिल्लीबजार समेत विभिन्न ठाउँमा खरिद बिक्री गरेको निजहरुको आफ्नो पालोमा अचल सम्पत्ति बढे बढाएको देखिनुका साथै व्यवहार प्रमाण र २०४६ सालको दुई पक्षको बीचको अन्तिम लिखतबाट एकासगोलमा बसेको स्वीकारोक्ती र सोही लिखत बमोजिम दाखिल खारेज समेत गराएकोबाट वादी र प्रतिवादी सगोलमा बसेको मान्नु पर्ने हुँदा यस्तो । व्यवहार प्रमाणबाट देखिएकोमा मानो छुट्टिएको लिखत आवश्यक नहुने भन्ने नि.नं. ३६०२ रामप्यारी श्रेष्ठ वि. कृष्णकुमार श्रेष्ठको ने.का.प. २०४५ अंक १० पृष्ठ ९८२ को मुद्दामा सिद्धान्त समेत प्रतिपादित भएको देखिएकोले २०३३।९।५ को लिखत कायम रहेको मान्न सकिने अवस्था देखिएन । तसर्थ वादीको नाउँमा विवादित जग्गा घर दर्ता रही तिरो भरो गरिरहेको कुरामा प्रतिवादीले सो दर्ता बदर गराउने तर्फ कुनै उजूर बाजुर समेत नगरे भएको अवस्थामा शुरु र पुनरावेदन अदालतको बुँदा प्रमाण समेतबाट वादी दावी बमोजिम वादीको घरबाट प्रतिवादीलाई उठाई वादीलाई चलन चलाई दिने ठहराएको शुरु काठमाडौं जिल्ला अदालतको निर्णयलाई सदर गरेको पुनरावेदन अदालत पाटनको इन्साफ मिलेकै देखिँदा मनासिब ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा मेरो सहमत छ

 

न्या.केशवप्रसाद उपाध्याय

 

इतिसम्वत् २०५१ साल पौष २५ गते रोज २ शुभम्

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु