निर्णय नं. ५०५९ - अपुताली हक कायम गरी नामसारी गरी चलन चलाई पाउं

निर्णय नं. ५०५९ ने.का.प. २०५२ अङ्क २
संयुक्त इजलास
माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल
माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा
सम्वत् २०४९ सालको दे.पु.नं. ८७०
फैसला मिति : २०५१।८।६
मुद्दा : अपुताली हक कायम गरी नामसारी गरी चलन चलाई पाउं ।
पुनरावेदक/प्रतिवादी: जिल्ला नवलपरासी तिलकपुर गा.वि.स. वा.नं. ७ पतरखोली बस्ने वर्ष ४२ को ठागे थारु ।
ऐ.ऐ बस्ने वर्ष ३६ को नाथ थारु ।
विरुद्ध
विपक्षी : ऐ. ऐ. बस्ने शंकर थारु ।
ऐ.ऐ बस्ने मैनी थारु ।
ऐ.ऐ बस्ने धनीराम थारु ।
ऐ.ऐ बस्ने प्रध्यूम्न थारु ।
ऐ.ऐ बस्ने भोजराजको मु.स.गर्ने पवित्रा थारुनी ।
अपुताली एकलौटी रुपमा पर्ने भन्ने आधारको रुपमा धर्मपुत्रको लिखतलाई लिएको पाइन्छ। सो लिखत पारित नहुंदा प्रमाणको रुपमा ग्राह्य हुन नसक्ने ।
(प्रकरण नं. ११)
पुनरावेदक, प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर
विपक्षी,वादी तर्फबाटःX
अवलम्बित नजीरःX
फैसला
न्या.लक्ष्मण प्रसाद अर्यालः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकार भित्र पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा निम्न अनुसार छ ।
२. बाजे जयनारायणको पहिले नै मृत्यु भै बजै मगरी जीवित हुँदा विपक्षी ठागे समेतसँग बजैको अंश मुद्दा चली मिलापत्र भएको सो मिलापत्रबाट बजैले प्राप्त गरेको जग्गा निजको नाउँमा नामसारी नहुँदै सो सम्पूर्ण जग्गा खाने नियतबाट विपक्षी मध्येका नाथु थारुको नाउँमा धर्मपुत्रको लिखत गराएका हुँदा सो धर्मपुत्रको लिखत बदर गरी बजैले मिलापत्रबाट पाएको ज.वि. १–५–११ मध्ये हाम्रो हकको आधी बजैको मृत्यु पश्चात हाम्रो अपुताली हक कायम गरी नामसारी समेत गरी पाउँ भन्ने मिति ०४०।३।५ को फिरादपत्र ।
३. ०३९।११।२२ मा फैसला भएको अंश मुद्दामा दिएको तायदातीलाई विरोध नजनाई चित्त बुझाई अंश समेत पाइसकेको हुँदा फिराद खारेज गरी पाउँ र म नाथु थारुलाई बजैले दिएको धर्मपुत्रको लिखतबाट सो सम्पत्तिमा मेरो हक हुन आएको र सो धर्मपुत्रको लिखत पारीत नहुँदै बजैको परलोक भएको पालन पाषण र काजकृया समेत मैले नै गरेको हुँदा सो सम्पत्तिमा र नाथुको मात्र हक हुँदा झुठ्ठा दावी खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र ।
४. वादीहरुले मर्ने मगरीको स्याहार सुसार गरेको भन्ने निजको साक्षीबाट खुल्न नआएको समेत देखिँदा वादी दावा पुग्न नसक्ने हुँदा प्रतिवादीहरु उपर झुठ्ठा उजुर गरेको ठहर्छ भन्ने समेत व्यहोराको नवलपरासी जिल्ला अदालतको मिति ०४१।१२।२९ को फैसला ।
५. प्रमाणमा लिन नहुने धर्मपुत्रको कागजलाई प्रमाणमा लगाई वादी दावा पुग्न नसक्ने ठहराएको इन्साफ त्रुटिपूर्ण हुँदा सो बदर गरी हाम्रो वादी दावी बमोजिम इन्साफ पाउँ भन्ने लु.अं.अ.मा ०४२।२।१० मा दिएका पुनरावेदनपत्र ।
६. कसैले हेर विचार नगरेको कारणबाट मगरीको ०३८।१।३ मा अंश मुद्दाको नालेश परेको र ०३८ साल मै मरेको हुँदा नाथुले हेरविचार गरेको भन्ने पत्यारजनक नदेखिएबाट शुरुले वादी दावा झुठ्ठा ठहराएको फैसला उल्टी हुन्छ । वादी प्रतिवादीहरु सबै मगरीको आफ्नै नातिहरु देखिएकोले मगरी थरुनीले ठागेबाट मिलापत्रबाट पाएको सम्पूर्ण जग्गा वादी प्रतिवादीहरुका नाउँमा दामासाहीले हक कायम गरी नामसारी हुने ठहर्छ भन्ने लुम्बिनी अञ्चल अदालतको मिति ०४३।७।२७ को फैसला ।
७. लुम्बिनी अञ्चल अदालतको फैसला न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(३) को खण्ड (घ) मा उल्लेखित त्रुटि रहेको हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी ठागे थारु समेतको प.क्षे.अ.पोखरामा निवेदन परी मिति ०४५।१।९ मा अनुमति दिएको आदेश रहेछ ।
८. न्याय प्रशासन सुधार ऐन, २०३१ को चौथो संशोधन लागू भै सकेपछि संयुक्त इजलासबाट निर्णय गरिनु पर्नेमा एक न्यायाधीशको इजलासबाट गरेको लु.अं.अ. को फैसला बदर गरी दिएको छ । प्रचलित कानुन बमोजिम ठहर निर्णय गर्नु भनी रुजु पक्षलाई तारेख तोकी मिसिल लुम्बिनी अञ्चल अदालतमा पठाई दिनु भन्ने समेत व्यहोराको प.क्षे.अ.पोखराको ०४५।७।१७ को फैसला ।
९. धर्मपुत्रको महलको २ नम्बर अनुसार छोरा हुने स्वास्नी मानिसले धर्मपुत्र राख्न नपाउने भनने र रजिष्ट्रेशनको १ नम्बरले धर्मपुत्रको लिखत रजिष्ट्रेशन गर्नुपर्छ भन्ने कानुनी व्यवस्था भएको अवस्थामा धर्मपुत्र राख्न नपाउने मृतक मरी थरुनीले प्रतिवादी नाथु थारुलाई गरी दिएको धर्मपुत्रको घरसारको लिखतले कानुनी मान्यता पाउन सक्ने भएन र सो लिखतको आधारमा निज मगरीले नाथुलाई धर्मपुत्र लिखतमा उल्लेख गरिदिएको जग्गामा नाथुको मात्र एकलौटी हक कायम हुन सक्ने पनि देखिएन । एकै बजै नागरिका छोरा झुम्वन र बुझावन भै झुम्वन तर्फका वादीहरु र बुझावन तर्फबाट प्रतिवादीहरु नातिहरु देखिन आएकोले मगरीले मिलापत्रबाट पाएको जग्गा विगहा १–५–११ जग्गा मध्येबाट आधी जग्गा वादी दावी बमोजिम वादीले प्रतिवादीहरुबाट अपुताली हक पाउने ठहर्याई नवलपरासी जिल्ला अदालतको फैसला उल्टी हुने गरी गरेको पुनरावेदन अदालत बुटवलको फैसला विपक्षीहरुको दावी मगरीको मृत्यु पश्चात पर्न गै मगरीले मिलापत्रमा पाएको जग्गामा समेत यी वादीले आफूहरु मगरीको उत्तराधिकारी हकवाला दर्शाई दावी लिएको सो दावी कायम नरहेपछि अब सो मुद्दाको रुप विचार गरी लिएको यो दावी अ.बं. ७३ नं. प्रतिकूल अब यस मुद्दाबाट अपुतालीका ऐन बमोजिम विपक्षीले मगरीको सम्पत्ति पाउने आधार नभएकोमा त्यसतर्फ विचार नगरी भएको निर्णय प्रत्यक्ष एवं गम्भीर त्रुटिपूर्ण रहेको छ । मगरीले मिलापत्रबाट पाएको सम्पत्ति बण्डा नलाग्ने गरी अदालतबाट अंश मुद्दामा पेश भएको तायदाती फाँटवारी बमोजिमको सम्पत्तिमा मात्र अंश पाउने गरी फैसला भएको सो फैसला अन्तिम रहेका विपक्षीहरु मगरी सम्पत्तिमा हक स्थापित गराउन उसै अंश मुद्दाबाट मात्र पाउने हो किनभने मगरीको मृत्यु पश्चात अंशमा दावी गरेको र सो अपुताली पाउने भनी फिरादमा उल्लेख गरेपछि अपुताली सम्पत्तिमा उसै अंश मुद्दाबाट आफ्नो हक स्थापित हुन नसकेपछि पुनः यो मुद्दा दायर गरेको हुँदा प्रष्ट अ.बं. ७३ नं. को प्रतिकूल विपक्षीहरुको दावी रहेकोले पुनरावेदन अदालत बुटवलको फैसला बदर गरी मगरीको सम्पत्ति म नाथुको कायम गरी पाउँ भन्ने समेत व्यहोराको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।
१०. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीतर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री पन्नामान तुलाधरले गर्नु भएको बहस समेत सुनी इजलास समक्ष पेश भएको मिसिल अध्ययन गरी हेर्दा यसमा पुनरावेदनको जिकिर पुग्न सक्ने नसक्ने के हो सो उपर निर्णय दिनु पर्ने भएको छ ।
११. यसमा मगरीले मिलापत्रबाट पाएको सम्पत्ति बण्डा नलाग्ने गरी अदालतबाट अंश मुद्दामा पेश भएको तायदाती फाँटवारी बमोजिमको सम्पत्तिमा मात्र अंश पाउने गरी भएको फैसला अन्तिम रहेको, विपक्षहरुले मगरीको सम्पत्तिमा हक स्थापित गराउन उसै अंश मुद्दाबाट मात्र पाउने हो, मगरीको मृत्यु पश्चात अंशमा दावी गरेको र सो अपुताली पाउने भनी फिरादमा उल्लेख गरेपछि अपुताली सम्पत्तिमा उसै अंश मुद्दाबाट आफ्नो हक स्थापित हुन नसकेपछि पुनः यो मुद्दा दायर गरेको हुँदा अ.बं. ७३ नम्बर विपरीत विपक्षीहरुको दावी रहेकोले पुनरावेदन अदालत बुटवलको फैसला बदर गरी मगरीको सम्पत्ति म नाथुको कायम गरी पाउँ भन्ने मुख्य पुनरावेदन जिकिर । अब यसमा निर्णयतर्फ विचार गर्दा मगरीको देहवसान भै सकेको कुरामा विवाद देखिएन, अपुताली व्यक्तिको निधनपछि पर्दछ । निज मगरीले अँश मुद्दामा प्रतिवादी ठागे थारुसँग मिलापत्र गरेबाट बण्डा भैसकेको अवस्थामा मगरी परलोक भएको देखियो । मगरीको सम्पत्तिमा अपुताली एकलौटी रुपमा पर्ने भन्ने आधारको रुपमा धर्मपुत्रको लिखतलाई लिएको पाइन्छ । सो लिखत पारीत नहुँदा प्रमाणको रुपमा ग्राह्य हुन सक्ने देखिएन । अंशबण्डा भएपछि प्रतिवादी मगरीसँग बसेको भन्ने ठोस कानुन अनुरुपको प्रमाणको अभाव हुँदा समेत पुनरावेदन अदालत बुटवलको इन्साफ मनासिब ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु
न्या.कृष्ण कुमार वर्मा
इतिसम्वत् २०५१ साल मंसीर ६ गते रोज शुभम्