शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ५०६२ - इन्साफ दोहोर्यासई हेरी पाउं

भाग: ३७ साल: २०५२ महिना: जेष्ठ अंक:

निर्णय नं. ५०६२    ने.का.प. २०५२ अङ्क २

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ

माननीय न्यायाधीश श्री नरेन्द्रबहादुर न्यौपाने

सम्वत् २०५० सालको दे.वि.नं. १२२

फैसला मिति   : २०५१।११।३।४

विषय : इन्साफ दोहोर्‍याई हेरी पाउं ।

 

निवेदक/प्रतिवादी: का.जि.का.न.पा. वडा नं. ९ बस्ने सूर्य कुमारी पाण्डे ।

विरुद्ध

विपक्षी/वादी: का.जि.का.न.पा. वडा नं. ६ बस्ने जितेन्द्र लामा ।

 

अदालत पशुपति अमालकोट कचहरीको निर्णय उपर विचार गर्न पूर्ण सक्षम देखिने ।

(प्रकरण नं. १५)

    बिना कुनै सबूद मौखिक जिकिर लिदैमा त्यसलाई आधार मानी उजूर गर्ने हकदैया नै छैन भनी नालेस खारेज गर्नु पर्ने आधार नदेखिने ।

(प्रकरण नं. १६)

    दर्तावालाको हकदार छदाछदै हकदारलाई बुझ्दै नबुझी घरसारको बकसपत्र लिखतलाई मान्यता प्रदान गरी मोही पजनी गरेको पशुपति अमालकोट कचहरीको निर्णय कानुनसंगत नदेखिने ।

(प्रकरण नं. १८)

निवेदक तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर

विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती, विद्वान अधिवक्ता श्री शम्भु थापा

अवलम्बित नजीरःX

फैसला

न्या.गोविन्द बहादुर श्रेष्ठः म.क्षे.अ.को फैसला दोहर्‍याई हेरी पाउँ भनी श्री ५ महाराजाधिराज सरकारको जुनाफमा चढाएको विन्तिपत्रमा बकस भै आएको हु.प्र.बमोजिम यस अदालतको देवानी विधिवतको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :

२.   हामीरुको जिजु बज्यू कर्मतुङ लमिनीयाका नाममा श्री पशुपति अमालकोट कचहरी लगतमा दर्ता भएको ऐ. का.न.पं. वार्ड नं. ८ पशुपति स्थित आर्यघाटको घाटे वैद्य खान्गीको साविक दर्तावाला जिजु बज्यैको मृत्यु भएकोले हामीहरुका पिता बुद्धराज लामाका नाउँमा जोताहा र ज.ध. ऐ.पशुपति अमालकोट कचहरी जनि का.जि.बौद्ध गा.पं. वार्डं नं. ३ कि.नं. ११९ क्षेत्रफल रोपनी १० कायम भई नापी नक्सा समेत भएको उपरोक्त जग्गाको तिरोवाला ऐ. कचहरी तिर्जा अनुसार साविक देखि बाबा जीवित छउन्जेल बाबाले र निज मिति ०४२।५।१२ मा परलोक हुनु भएपछि हामी पत्नी छोराले बुझाई साविक देखिहालसम्म अवछिन्न रुपमा भोग चलन गरी आएको उक्त जग्गाको मोल रु. १०,०००।पर्ने उक्त जग्गामा हामीहरुलाई वञ्चित गराई विना आधार विपक्षी सुर्यकुमारी पाण्डेका नाउँमा दर्तावाला तथा मोही कायम गर्ने गरिएको मिति ०४३।१।१५ का टिप्पणी सदर कायम गरेको निर्णय बदर गरी हामीहरुको हक कायम समेत गरी सो अनुसार विपक्ष अमालकोट कचहरीका नाउँमा जनाउ समेत गरी पाउँ भन्ने समेत व्यहोराको मिति ०४३।२।१३ को फिरादपत्र ।

३.   श्री पशुपतिनाथको गुठीको लगतमा आफ्नो नाम नभएको तथ्यलाई फिरादमा स्वीकार गर्नु भएकै छ । जग्गा नाप जाँच ऐन, २०१९ अन्तर्गत नाप जाँच गरिएको सर्भेको फिल्ड बुकको जोताहाको महलमा आफ्नो पिताजी बुद्ध राज लामाको नाम उल्लेख भए गरिएको आधार लिइएको रहेछ । निज बुद्धराज लामाले रु. ९९।मा कि.नं. ११९ को हाल ठहर क्षेत्रफल रोपनी १० मलाई मिति ०३२।३।११ मा हा.व. गरिदिनु भएको छ । बकसपत्र लिखत गरी दिँदाको अवस्थामा प्रचलन रहेको मुलुकी ऐन रजिष्ट्रेशनको २ नं. ले त्यस्तो लिखत रजिष्ट्रेशन गराई रहनु पर्ने प्रयोजन थिएन । मैले श्री पशुपति नाथ अमालकोट कचहरी समक्ष ०४३।१।९।३ मा गरेको बयानमा नापीमा बुद्धराजको नाम भएतापनि निजको नाम दाखेल खारेज दर्ता भएको होइन । फिल्डबुकमा नाम भएको हुँदा हालैको बकसपत्र गराई लिएको हो । भोगको आधारमा समेत जग्गा मेरै हो । तसर्थ विपक्षीको झुठ्ठा फिरादबाट इन्साफ हुन सक्दैन । खारेज गरी पाउँ भन्ने समेत व्यहोराको मिति ०४३।४।३।६ को प्र.सूर्यकुमारी पाण्डेको प्रतिउत्तरपत्र ।

४.   यस कचहरीको घाट वैद खान्गीको साविक कर्मतुङ लामेनीका नाउँको जग्गा बाह्र आना दर्ता भै रहेकोमा बुद्धराज लामाले गरिदिएको घरसारको मिति ०३२।३।११ को हा.व. अनुसार निवेदन परी पेश हुँदा तालुकवाला श्री पशुपतिनाथको मूल पुजारीबाट मिति ०४३।२।४ मा अमालकोटको राय सदर गरी सदर भए अनुसार कर्मतुङ्ग लमिनी खारेज गरी सूर्यकुमारी पाण्डेका नाउँमा नामसारी कायम भएको र अरु सम्पूर्ण व्यहोरा मिसिलबाट अवल गत हुने हुँदा कानुन बमोजिम प्रतिउत्तर पेश गरेको छु भन्ने समेत व्यहोराको मिति २०४३।४।१९ को श्री पशुपति अमालकोट कचहरीका तर्फबाट प्रतिउत्तरपत्र ।

५.  विवादित कि.नं. को जग्गा पशुपति अमालकोटले गरेको निर्णय बदर भई वादीको हक कायम हुने ठहर्छ । वादीले पेश गरेको तिर्जालाई प्र.ले. जालसाजी भनी नामाकरण गरेको र प्रतिवादीले पेश गरेको बकसपत्रलाई वादीले जालसाजी भनी नामाकरण गरेको र प्र.बाट पेश भएको घरसारको बकसपत्र कानुनी अमान्य हुँदा जालसाजी सद्दे तर्फ बोली रहन परेन । वादीबाट पेश भएको तिर्जार्ला अमालकोटले आफ्नो प्रति उत्तरमा केही बोल्न नसकेको र मात्र प्रतिवादीले जालसाजी भनेको तर कुनै सबूत गुजार्न नसकेकोले उक्र वादीले पेश गरेको तिर्जा जालसाजी नभै सद्दे ठहर्छ सद्दे तिर्जालाई जालसाजी भनी प्र.ले बयान गरेको देखिँदा जालसाजी भने बापत प्र.लाई तजबिजी रु. ५।समेत जरिवाना हुने ठहर्छ भन्ने समेत व्यहोराको मिति ०४४।९।२१।३ को का.जि.अ.को फैसला ।

६.   शुरु का.जि.अ.को फैसलामा चित्त बुझेन न्याय पाउँ । मिति ०३२।३।१६ मा प्रत्यर्थीको बाबु बुद्धराजले मलाई हा.व. लिखत गरी दिँदा कर्मतुङ लमेनीका नाउँमा मोहियानी दर्ता भएको कुरा दर्साई हकछाडी दिएको छ । जबकी बुद्धराजले मलाई हक छाडी दिई सकेको छ भन्ने कथन कर्मतुङको नाताकै व्यक्ति प्रत्यर्थी ठहर्न आए तापनि त्यसबाट मलाई असर पर्ने प्रश्न आउँदैन । तसर्थ मेरो प्रति उक्त जिकिर र पुनरावेदनपत्र बमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको मिति ०४४।११।१२ को वागमती अञ्चल अदालतमा प्रतिवादीको परेको पुनरावेदनपत्र ।

७.  कानुनको रीत नपुगेको लिखतको आधारमा पशुपति अमालकोट कचहरीले मिति ०४३।२।४।१ मा पुनरावेदिकाको नाउँमा दर्ता गर्ने गरेको निर्णय कानुनन् भएको भनी मान्न मिल्ने देखिएन । यस्तो कानुनको रीत नपुगेको लिखतको आधारमा गरेको निर्णयको आधारमा दर्ता गरी कूत बुझेको समेत कारोबार स्वतः अमान्य देखिनाले र निर्णय गर्नु पर्ने समेत हुँदा शुरुले गरेको निर्णय मिलेकै देखिनाले पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको मिति ०४५।२।१३।५ को वागमती अञ्चल अदालतको फैसला ।

८.   वागमती अञ्चल अदालतको फैसलामा चित्त बुझेन । तसर्थ उक्त अदालतबाट भएको फैसला नं. २९ न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा ९ अ.बं. १८४ (क) १८५, प्रमाण ऐन, २०३१ को दफा ५४ रजिष्ट्रेशनको १ नं. समेतको त्रुटिपूर्ण हुँदा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(४) समेतको आधारमा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी सूर्यकुमारी पाण्डेको यस अदालतमा परेको निवेदनपत्र ।

९.   वादीले दावीमा मिति ०४२।९।१९ मा प्रतिवादीका नाउँमा दा.खा. दर्ता गर्ने गरी गरिएको निर्णय बदर गरी पाउँ भन्ने दावा लिएकोमा वादी दावी भन्दा बाहिर गई ०४३।२।४ को निर्णय बदर गरेको समेत शुरु जिल्ला अदालतको फैसला सदर गरेको वागमती अञ्चल अदालतको फैसलामा न्याय प्रशासन सुधार ऐन, २०३१ संशोधन सहितको दफा १३(४) को खण्ड (घ) को प्रश्नमा त्रुटिपूर्ण देखिँदा प्रस्तुत निवेदनमा पुनरावेदनको अनुमति प्रदान गरिएको छ । यसै निवेदनलाई पुनरावेदनमा दर्ता गरी विपक्षी झिकाई नियमानुसार गरी संयुक्त इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको म.क्षे.अ.को एक न्यायाधीशको इजलासको आदेश ।

१०.  कानुनको रीत नपुगेको लिखतमा आधारित निर्णयले गर्ने गरेको दर्ता र सोही कारणबाट बुझेको कूत समेतको कानुनी मान्यता दिन नमिल्ने हुँदा श्री पशुपति अमालकोटले गरेको निर्णय बदर गरी वादीको हक कायम गर्ने गरेको समेत शुरु सदर गरी वागमती अञ्चल अदालतबाट भएको पुनरावेदन फैसला मिलेकै देखिएको कानुनी त्रुटियुक्त नहुँदा कुनै परिवर्तित गरी रहनु परेन भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०४६।६।१० को फैसला ।

११.  विवादित जग्गा बुद्धराज लामाबाट मिति ०३२।३।११।४ मा मैले हा.व. गरी लिई हालसम्म मैले नै जोती भोगी आएकी छु । सो जग्गाको मोही प्रमाण पूर्जा समेत मैले मिति २०४२।११।१३ मा प्राप्त गरी सकेकी छु । उक्त मोही दर्ता प्रमाण पूर्जा अदालतको फैसलाबाट बदर भएको छैन । मैले मोही प्रमाणपूर्जा लिएको जग्गाको विर्ता तिर्न पाउने हक विपक्षीहरुलाई छैन । हकै नपुग्ने व्यक्तिले मेरो अचल सम्पत्ति जग्गाको विपक्षीहरुले जालसाजबाट झुक्याई दोहरो लिएको तिर्जा जालसाजी हो । विपक्षीहरुले मैले मिति २०३२।३।११ मा गरी लिएको बकसपत्रलाई कीर्ते हो भनी भन्न सक्नु भएको पनि छैन । तत्कालिन मुलुकी ऐन, रजिष्ट्रेशनको २ नं. लाई राम्ररी हेरिएमा बढीमा एकसय रुपैयाँ सम्मको हक छोडी लिएको लिखत बकसपत्र पनि रजिष्ट्रेशन पारीत गराउनु नपर्ने व्यवस्था हुँदा हुँदै सो को गलत व्याख्या गरी भएको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला कानुनी त्रुटिपूर्ण हुँदा सो फैसलाको इन्साफ जाँची न्याय दिनु भन्ने समेत आवश्यक व्यहोराको हुकुम प्रमांगी सर्वोच्च अदालतका नाममा बकस पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी सूर्यकुमारी पाण्डेको श्री ५ महाराजाधिराजका विशेष जाहेरी विभागमा परेको विन्तिपत्र ।

१२.  मिति २०४७।६।९ मा बकस भै आएको हु.प्र. बमोजिम इन्साफ मिले नमिलेको तर्प हेर्दा पशुपति अमालकोट कचहरीलाई जग्गाधनी र आफूलाई जोताहा मानी निवेदिका सूर्यकुमारी पाण्डेको नाउँमा दा.खा. नामसारी गर्ने गरेको पशुपति अमालकोट कचहरीका निर्णय र सो आधारको ०४२।९१९ को निर्णय समेत बदर गरी हाम्रो हक कायम गरी पाउँ भन्ने सिद्धराज तथा जितेन्द्र लामाको फिराद परी कारवाही चलेकोबाट जग्गाको स्वामित्वमा विवाद नभै जोताहा हक तर्फको विवाद देखिन्छ । जोताहा हक तर्फको विवादको सम्बन्धमा १८५५ सालको छोडपत्र र १९९९ सालको लालमोहरबाट पशुपति अमालकोटलाई नै निर्णय गर्ने अधिकार भएको भनी निवेदक तर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेव ढुंगाना तथा विद्वान अधिवक्ता श्री पन्नामान तुलाधरले कानुन पूर्णाङ्क १ पत्रिका समेत इजलास समक्ष देखाउनु भएको र मोहीको हक बेहके गर्ने अधिकार पशुपति अमालकोट कचहरीलाई हुने भनी निवेदक गणेशप्रसाद खरेल वि. पशुपति अमालकोट कचहरी समेत भएको उत्प्रेषण मुद्दामा स.अ.बाट प्रतिपादित सिद्धान्त समेतबाट जोताहको विवादमा काठमाडौं जिल्ला अदालतबाट ०४४।९।२० मा अमालकोटको निर्णय बदर भै जग्गा वादकिो हक कायम हुने गरी गरेको इन्साफ २०४५।२।१३ मा वा.अं.अ.बाट र ०४६।६।१० मा म.क्षे.अ.बाट समेत बदर भएको देखिन्छ । यसरी शुरुबाट अधिकार क्षेत्रात्मक त्रुटि गरी गरिएको इन्साफ सदर गरेको म.क्षे.अ.को उक्त मिति २०४६।६।१० को इन्साफबाट न्याय सदर गरेको म.क्षे.अ.को उक्त मिति २०४६।६।१० को इन्साफबाट न्याय मिलेको नदेखिएकोले हु.प्र. बमोजिम प्रस्तुत मुद्दामा दोहर्‍याउने निस्सा प्रदान गरिएको छ । विपक्षी झिकाई नियम बमोजिम पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासबाट मिति २०४९।१२।४ मा भएको आदेश ।

१३.  नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदिका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विद्वान अधिवक्ता श्री पन्नामान तुलाधरले वादी र साविक दर्तावाला मोही कर्मातुङ्ग लमेनी बीच नाता सम्बन्धी विवाद भएको र प्रतिवादीले बुद्धराज लामासँग लिएको वकसपत्रलाई विपक्षीले कीर्ते भनी भन्न सकेको छैन । लिखत भएको बखतको प्रचलित मुलुकी ऐन रजिष्ट्रेशनको २ नं. मा एक सय रुपैयाँ सम्मको हक छोडी दिएको लिखत कसपत्र पनि रजिष्ट्रेशन पारित गराउनु नपर्ने व्यवस्था हुँदा रजिष्ट्रेशन पारीत नभएकोले कानुनी मान्यता दिन मिल्दैन भनी हाम्रो पक्षलाई हराई गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला त्रुटिपूर्ण छ । विवादित जग्गा मेरो पक्ष ले बुद्धराजबाट ०३२।३।११।४ मा हालैको बकसपत्र गरी लिएको अद्यापी हाम्रै पक्षको भोग चलनमा छ । उक्त जग्गाको मोही दर्ता प्रमाणपुर्जा समेत मिति २०४२।११।१३ मा प्राप्त गरिसकेको छ । विपक्षी विवादित जग्गाको मोही भएको भए तिरो तिरेको देखिनु पर्ने सो कहींबाट देखिँदैन । अतः पशुपति अमालकोट कचहरीले निवेदिकाको नाउँमा दर्तावाला तथा मोही कायम गर्ने गरी गरिएको निर्णय सदर हुनु पर्छ भनी बहस गर्नु भयो त्यस्तै विपक्षीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री प्रकाश वस्तीले र शम्भु थापाले विवादित जग्गाको दर्तावाला मोही प्रतिवादीका जिजु बज्यु कर्मतुङ्ग लमिनी भएको र वहाँको मृत्यु पछि प्रतिवादीका पिता बुद्धराज लामाका नाउँमा जोताहा निस्सा भै पिताको मृत्युपछि प्रतिवादीले तिरो भरो गरी आएको जग्गा हो। विपक्षीले बुद्धराजबाट गरिलिएको भनेको कथित हालैको बकसपत्रको आधारमा निजको नाम खारेज गरी विपक्षीको नाउँमा दर्ता कायम गर्ने गरेको निर्णय त्रुटिपूर्ण हुँदा बदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेकै हुँदा बदर हुनु पर्ने होइन भनी बहस प्रस्तुत गर्नु भयो । विद्वान अधिवक्ताहरुको उपरोक्त बहस जिकिर समेत सुनी मिसिल अध्ययन गरी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा इन्साफ तर्फ विचार गर्दा बकस भै आएको हुकुम प्रमांगी बमोजिम मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलाबाट न्याय मिले नमिलेको के रहेछ त्यसतर्फ निर्णय दिनु पर्ने हुन आयो।

१४.  यसमा हामीहरुको जिजु बन्यु कर्मतुङ्ग लमिनीयाका नाममा श्री पशुपति अमालकोट कचहरी लगतमा दर्ता भएको का.जि.ए.का.न.पं. वडा नं. ८ पशुपति स्थित आर्यघाट घाटे वैद्य खान्गीको साविक दर्तावाला जिज्यू बज्यूको मृत्यु पछि पिता बुद्धराज लामाका नाउँमा जोताहा र ज.ध. ऐ. पशुपति अमालकोट कचहरी का.जि. बौद्ध गा.पं. वडा नं. ३ कि.नं. ११९ को जग्गाको तिरो पिता र निजको मृत्यु पछि हामी बुझाई हालसम्म भोग चलन गरी आएकोमा उक्त जग्गाबाट हामीलाई वञ्चित गरी बिना आधार विपक्षीका नाउँमा दर्तावाला तथा मोही कायम गर्ने गरी गरिएको मिति ०४३।१।१५ को टिप्पणी सदर कायम गरेको निर्णय बदर गरी हाम्रा नाउँमा कायम गरी पाउँ भन्ने मुख्य फिराद दावी र विवादित जग्गा रु. ९९।मा मिति २०३२।३।१ मा बुद्धराज लामाबाट हा.व. गरी लिएको हुँदा फिराद दावी झुठ्ठा हो भन्ने सूर्यकुमारीको प्रतिउत्तर र बुद्धराज लामाले गरिलिएको घरसारको मिति २०३२।३।११ को हा. व. अनुसार निवेदन परी पेश हुँदा तालुकवाला श्री पशुपतिनाथको मूल पुजारीबाट मिति ०४३।२।४/१ मा अमालकोटको राय सदर गरी सदर भए अनुसारको कर्मतुङ्ग लमिनीको नाम खारेज गरी सूर्यकुमारी पाण्डेका नाममा नामसारी कायम भएको हो भन्ने पशुपति अमालकोट कचहरीका तर्फबाट प्रतिवाद परी विवादित कि.नं. को जग्गा पशुपति अमालकोटले गरेको निर्णय बदर गरी वादीको हक कायम हुने ठहरी तह तह अदालतबाट निर्णय भई आएको देखिन्छ । अब निवेदिका तर्फबाट उठाइएका प्रश्नहरुको परिप्रेक्ष्यमा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको इन्साफ मनासिब छ छैन भन्ने तर्फ विचार गर्दा सर्वप्रथम यस अदालतको संयुक्त इजलासबाट विपक्षी झिकाउने आदेश तर्फ हेर्दा उक्त आदेशमा पशुपति अमालकोट कचहरीलाई जग्गाधनी र आफूलाई जोताहा मानी निवेदक सूर्यकुमारीको नाउँमा दा.खा. नामसारी गर्ने गरेको पशुपति अमालकोट कचहरीको निर्णय र सो आधारको २०४२।९।१९ को निर्णय समेत बदर गरी हाम्रो हक कायम गरी पाउँ भन्ने सिद्धराज तथा जितेन्द्र लामाको पिराद परी कारवाही चलेकोबाट जग्गाको स्वामित्वमा विवाद नभै जोताहा हक तर्फको विवाद देखिन्छ । जोताहा विवादको सम्बन्धमा १८५५ सालको ताडपत्र र १९९९ सालको लालमोहरबाट पशुपति अमालकोटलाई नै निर्णय गर्ने अधिकार भएको भनी निवेदक तर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेव ढुंगाना तथा विद्वान अधिवक्ता श्री पन्नामान तुलाधरले कानुन पूर्णाङ्क १ पत्रिका समेत इजलास समक्ष देखाउनु भएको र मोही हक बेहक गर्ने अधिकार पशुपति अमालकोट कचहरीलाई हुने भनी निवेदक गणेशप्रसाद खरेल वि.पशुपति अमालकोट कचहरी समेत भएको उत्प्रेषण मुद्दामा सर्वोच्च अदालतबाट सिद्धान्त समेत प्रतिपादित भई कायम भएको देखिन्छ । उक्त प्रतिपादित सिद्धान्त समेतबाट जोताहाको विवादमा काठमाडौं जिल्ला अदालतबाट अमालकोटको निर्णय बदर भै जग्गामा वादीको हक कायम हुने गरी गरेको इन्साफ तत्कालिन वागमती अञ्चल अदालत र मध्यमाञ्चल क्षेत्रीय अदालतले सदर गरेको देखिनछ । यसरी शुरुबाटै अधिकार क्षेत्रात्मक त्रुटि गरी गरिएको मध्यमाचल क्षेत्रीय अदालतको इन्साफबाट न्याय मिलेको नदेखिएकोले हु.प्र.बमोजिम प्रस्तुत मुद्दामा दोहर्‍याउने निस्सा दिइएको छ भन्ने उल्लेख गरिएको पाइन्छ ।

१५.  सनदबाट सो अधिकारपत्र पशुपति अमालकोट कचहरीलाई हुँदा अदालतर्ला त्यस सम्बनधमा मुद्दा हेर्ने अधिकार भए नभए बारे यस अदालतको पूर्ण इजलासबाट सम्वत् २०४० सालको दे.पु.इ.नं. ९९ मा मिति २०५०।३।१०।५ निवेदिका रमादेवी घिमिरे विपक्षी ग्वारा मुनिकार समेत भएको खिचोला निर्णय दर्ता बदर हक कायम समेत मुद्दामा पशुपति अमालकोट कचहरीबाट यस्तै मोही पजनी विषयमा गरिएको विर्णयलाई काठमाडौं जिल्ला अदालतले बदर गरेकोलाई वागमती अञ्चल अदालत र मध्यमाञ्चल क्षेत्रीय अदालत समेतले सदर गरेको निर्णयलाई सर्वोच्च अदालत पूर्ण इजलास समेतले मनासिब ठहराएबाट अदालतले तयस विषयमा विचार गर्न सक्तैन भन्ने आपत्तिको निराकरण भै सकेको देखिन्छ । सो निर्णयबाट अदालत प शुपति अमालकोट कचहरीको निर्णय उपर विचार गर्न पूर्ण सक्षम देखिन्छ ।

१६.  जितेन्द्र लामाको दर्तावाला कर्मतुङ्ग लामा सँग नाता सम्बन्ध नहुँदा निजको नालेश गर्ने हकदैया छैन भन्ने निवेदिका तर्फका विद्वान अधिवक्ताद्वयको जिकिर तर्फ विचार गर्दा निवेदिकाले बुद्धराज लामाबाट घरसारमा गराई लिएको भनी पेश गरेको मिति ०३२।३।११।४ को बकसपत्रमा बुद्धराज लामा कर्मतुङ्ग लामाको हकदार भनी उल्लेख भै रहेको निवेदिकाले नै बौद्ध गा.पं. को सिफारिश भनी पेश गरेको पत्रमा पनि बुद्धराज लामा कर्मतुङ्ग लामाको हकदार भनी लेखिएको तथा प्रत्यर्थी जितेन्द्र लामा बुद्धराजको छोरा भएको तथ्यमा निवेदिकाले आपत्ति उठाउन नसकेको सन्दर्भमा जितेन्द्रलामा दर्तावाला कर्मतुङ्गको हकदार हो भन्ने तथ्यमा विवाद उठाउन सकिने आधार नै नहुँदा विना कुनै सबूद मौखिक जिकिर लिँदैमा त्यसलाई आधार मानी उजूर गर्ने हकदैया नै छैन भनी नालेश खारेज गर्नु पर्ने आधार देखिएन ।

१७.  वादी दावी भन्दा बाहिर गई इन्साफ गरियो भन्ने निवेदिका तर्फको विद्वान अधिवक्ताको बहस जिकिर तर्फ हेर्दा फिरादपत्रको प्रकरण नं. ९ मा हामी बाट प्रस्तुत भएको निवेदनको कारवाहीको सिलसिलामा टिप्पणी पेश गर्दा हामी प्रति गरिएको अनैतिक कृयाकलापको फाइदा समेत पुनः विपक्षीहरुले उठाई मापोत कार्यालयमा सो हा.व. को प्रश्न समेत उठाउन नसकेको कुरामा पुनः हा.व. सम्बन्धी विस्तृत व्याख्या गर्दै हकभोग समेत निज सूर्यकुमारीकै भएको कुरामा प्रमाणित गर्दै विना आधार प्राकृतिक न्याय सिद्धान्त विपरीत गरी साविक वालाको नाम कट्टा गरी विपक्षी सूर्यकुमारीका नाउँमा कायम गर्ने गरी मिति २०४३।१।१५ मा टिप्पणी सदर कायम गरी दर्ता दा.खा. गर्ने गरेको निर्णय बदरभागी छ भनी दावी गरेकी पाइयो ।

१८.  यस प्रकार दर्तावालाको हकदार छँदाछँदै हकदारलाई बुझ्दै नबुझी घरसारको बकसपत्र लिखतलाई मान्यता प्रदान गरी मोही पजनी गरेको पशुपति अमालकोट कचहरीको मिति २०४३।२।४ को निर्णय कानुनसंगत देखिएन । अतः उक्त निर्णयलाई बदर गरी वादीको हक कायम गर्ने गरेको समेत काठमाडौं जिल्ला अदालतको इन्साफलाई सदर गरेको वागमती अञ्चल अदालतको निर्णयलाई सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय मनासिब देखिँदा सदर हुने ठहर्छ । पुनरावेदिकाको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु

 

न्या.नरेन्द्र बहादुर न्यौपाने

 

इतिसम्वत् २०५१ साल फाल्गुण ३ गते रोज ४ शुभम्

 (साविक पेज नं. १८२)

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु