निर्णय नं. २२७२ - जातक मार्यो

निर्णय नं. २२७२ ने.का.प. २०४२ अङ्क २
फुल बेञ्च
माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह
माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह
माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा
सम्वत् २०४१ सालको दे.फु.नं. १२
मुद्दा : जातक मार्यो ।
निवेदिका/प्रतिवादी:जि.भोजपुर टक्सार गा.पं.वा.नं.६ मोहोरिया घर भै हाल जि.का. कारागार शाखा भोजपुरमा थुनामा रहेको कमला विश्वकर्मा
विरूद्ध
विपक्षी/वादी: प्रेम बहादुरको जाहेरीले श्री ५ को सरकार
फैसला भएको मिति: २०४२।२।४।६ मा
मरेको जातक फेला पर्दैमा जीउँदो नै जन्माई मारेको भन्न स्पष्ट सबूत प्रमाणको अभावमा नमिल्ने ।
(प्रकरण नं.२३)
जिउँदो बच्चा जन्माई मारेको हो भनी निष्कर्षमा पुग्दा पनि आफ्नो नवजात सन्तान प्रतिको ममता, जुन प्राकृतिकरूपले मातृकोखबाट निस्कन्छ त्यसलाई पनि न्यायकर्ताले बिर्सिन सक्दैन ।
(प्रकरण नं.२३)
पक्राउ भएको व्यक्तिलाई पहिलो पटक अदालतमा उपस्थित गराउँदा निजको कागज भइसकेको हुनुपर्छ भन्ने सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को दफा ७(४) को प्रतिबन्धात्मक वाक्यांश (क) मा उल्लेख भएको पाइन्छ ।
(प्रकरण नं.२४)
एकपटक अपराधमा इन्कार रही बयान गरी अदालतबाट म्याद थप भइसकेपछि पुनः ततिम्वा गराएको कुनै कानुनी आधार देखिँदैन, तसर्थ उक्त ततिम्बा बयानलाई प्रमाणमा लिन मिल्ने देखिएन ।
(प्रकरण नं.२४)
फैसला
न्या.सुरेन्द्र प्रसाद सिंहः सर्वोच्च अदालत डिभिजन बेञ्चको निर्णयउपर निवेदकको न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र पर्दा नेपालको संविधानको धारा ७२(ख) बमोजिम दोहर्याई दिनु भन्ने हु.प्र.बक्स भई फु.बे.को लगतमा दर्ता भई पेश हुनआएको प्रस्तुतमुद्दाको संक्षिप्त विवरण निम्नबमोजिम छ ।
२. कमला विश्वकर्मा ०३४ साल चैत्र महिनामा धरान–धनकुटा रोडमा काम गर्न गएकी २०३५ सालमा घर आई बसेकी निजको विवाह भएको थिएन यस्तोमा को कसको गर्भ बोकेकी रहिछ र यही ०३५।१०।२५ को रातमा छोरा वा छोरी हो पैदा गरी मरिरहेको छ भन्ने खबर पाई हेर्न जाँदा मरिरहेको रहेछ र थाङनाले छोपी राखेको देखि के कसको गर्भ हो विवाह नभएको कन्या केटीले बोकी जातक पैदा गरी मरेको पैदा भयो भन्ने बुझिएकोले उक्त जातक रुगारू मानिस राखी प्रतिवेदन गर्न आएको छु कानुन बमोजिम होस् भन्ने समेतको प्रहरी प्रेम बहादुर कार्कीको ०३५।१०।२६ को जाहेरी प्रतिवेदन ।
३. घरको पेटीमा बच्चा जन्मीई रगत देखिएको टाउकोमा केश पलाएको, ठाउँ–ठाउँमा हिलो लागेको मुख अनुहार ओठ नीलो भएको भन्ने समेत लाश प्रकृति मुचुल्का ।
४. काम गर्न भनी धनकुटा रोडमा ०३४।१२।२५ गते गई काम गर्दागर्दै ठेकदार तिर्थबहादुर श्रेष्ठसँग प्रेम बसी ०३४ चैत्र महिनादेखि उठबस भएको र ०३५ ज्येष्ठदेखि गर्भ रही निजलाई सोद्धा जिम्मा लिई हाल्छु भनी कसम खाएकोले ०३५।५।१८ मा घरमा आई बसेका हौं ०३५।१०।२५ गते रातको अं. १०, ११ बजेको होला मरेको बच्चा पैदा भएको हो र पीडाले कराउँदा आमाले थाहा पाई गाउँमा हल्ला गरेकी हुन् भन्ने समेत ०३५।१०।२८ मा कमला विश्वकर्माले बयान गरी बच्चा पैदा भएको अवस्था हेर्दा सास फेर्दै गरेको जस्तो लाग्यो त्यति बेला तिर्थबहादुरले भनेको कुरा सम्झी नानीको घाँटीमा दाहिने हातले थिची केही छिनमा हात निकाली हेर्दा चलेन नानीको प्राण गइसकेको थियो भन्ने समेत ०३५।११।४ मा गरेको ततिम्बा बयान ।
५. यो भन्दा अगाडि कमला विश्वकर्माले गर्भ बोकेको कुरा थाहा थिएन ०३५।१०।२५ गते रातमा बच्चा पैदा हुँदा थाहा पाई हेर्दा मरेकै बच्चा देखेका हौं र गाउँको नन्द बहादुर कार्की समेतलाई सोही बखत खबर गरेका हौं भन्ने समेत कमला विश्वकर्माको आमा पदमकुमारी र बजु डम्बरकुमारीले गरेको कागज ।
६. मरेकै बच्चा पैदा नभई कर्तव्यबाट मारेको जस्तो लाग्यो मरेको वा मारेको के हो मौकामा आँखाले नदेखेको हुँदा किटान भन्न सक्दैनौ गर्भ तिर्थबहादुर श्रेष्ठको हो भन्ने सुनेका हौं भन्ने समेत नन्दबहादुर कार्की समेत ११ जनाले गरिदिएको सरजमीन मुचुल्का ।
७. ज्युँदो बालक जन्माई मारेको हुँदा कमला विश्वकर्मालाई मुलुकी ऐन ज्यानसम्बन्धीको १३(३) बमोजिम तथा तिर्थबहादुर श्रेष्ठले कमला विश्वकर्मालाई करणी गरी बच्चा जिउँदो भए मारी मरेकै जन्मियो भन्नु भन्ने सल्लाह दिएको समेत हुँदा ज्यानसम्बन्धीको १७(३) बमोजिम सजायँ हुन पेश भएको प्रहरी प्रतिवेदन ।
८. मेरो बिहे नभई कन्या नै माइतीमा बसेको त्यस्तैमा धनकुटा मोटर रोडमा काम गर्न ०३४।१२।२५ गते घरबाट हिंडि सो रोडमा तिर्थबहादुरलाई भेटी माटो बोक्ने काममा लगाई दिएकाले तिर्थबहादुरकै डेरामा बस्ने गरेको, राजीखुशीबाट ०३४ चैत्र २८, २९ देखि तिर्थबहादुरले मलाई करणी गर्थे बराबर करणी हुँदै जाँदा ०३५ साल ज्येष्ठ देखि गर्भ रहृयो ०३५।१०।२५ गते विहेबाट राति १०, ११ बजेतिर घर आई भुइँतलाको भर्याङ मुनी सुतकोमा वेथाले चापेकोले बाहिर तल्ला पट्टी सुङ्गुरको खोरमा गारामा हात टेकी बल गरेपछि बच्चा खस्यो सो बच्चा खस्नासाथ मरे भनी कराएको आवाज आमाले सुनी आमा आउँदा म बेहोस भई लडें एकछिन पछि होस् भई बच्चा हेर्दा बच्चा चल्नु चटपटाउनु र रोएको समेत नहुँदा मरेकै जन्मिएछ भन्ने लाग्यो भन्ने समेत कमला विश्वकर्माले अदालतमा गरेको बयान ।
९. प्र. तिर्थबहादुरका नाउँमा म्याद जारी भई ०३६।२।३०।४ मा तामेल भएको ७० दिने म्याद गुजारी बसेको ।
१०. महिना पूरा भई जन्मिएको बच्चालाई जन्मी सकेपछि मारेको जस्तो लाग्छ बालकका घाँटी देखि उभो निलो कालो थियो भन्ने समेतको वादीको साक्षी नन्दबहादुर कार्कीको बकपत्र ।
११. म जाँदा बच्चा मरेको थियो मारेको वा जन्मनु भन्दा अगावै मरेको हो बच्चाको आमा नै जानोस् गर्भ तिर्थबहादुरको हो भन्ने कमलाबाटै थाहा पाएँ भन्ने वादीका साक्षी मान बहादुर कार्कीको बकपत्र ।
१२. अभियुक्त कमला विश्वकर्माले तिर्थबहादुरसँग गैरकानुनी सम्बन्ध भएबाट गर्भ रहन गई जिउँदो जन्मेको बच्चाको घाँटी च्यापी मारेको कुरा निजको प्रहरीमा भएको बयान र पोष्टमार्टम रिपोर्ट समेतबाट देखिएको हुँदा निजलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्छ फरार रहेका तिर्थबहादुरको हकमा अ.बं. १९० नं. बमोजिम मुलतवी राखी दिने ठहर्छ भन्ने समेत भोजपुर जिल्ला अदालतको फैसला ।
१३. ०३४ साल फाल्गुण महिनामा भारतको सिक्किम भन्ने ठाउँमा गई आफ्नो घर आएको छु ०३४ साल चैत्रमा धनकुटा रोडमा काम गर्न गएकी टुल्की भन्ने कमला विश्वकर्माको भनाई अनुसार मैले निजलाई करणी गरेको र बच्चा जन्मनासाथ मारिदिनु तिमी र म विदेश गई बसौंला भनी भनेको समेत होइन भन्ने समेत तिर्थबहादुर श्रेष्ठको बयान ।
१४. प्र. कमला विश्वकर्माले प्रहरीमा तिर्थबहादुर श्रेष्ठले बच्चा जन्मेपछि मारिदिनु भनी भनेको भए तापनि अदालतमा आई बयान गर्दा सो कुरा इन्कार गरेको र सरजमीनका मानिसहरूले निज उपर शङ्कासम्म नदेखाएको र प्र.तिर्थबहादुरका साक्षीहरूले निजलाई सफाई दिई बकपत्र गरेको हुँदा निजले सफाई पाउने ठहर्छ भन्ने समेत भोजपुर जिल्ला अदालतको फैसला ।
१५. शुरू भो.जि.अ.को निर्णयउपर कमला विश्वकर्मा र श्री ५ को सरकारको पू.क्षे.अ.मा परेको पुनरावेदन ।
१६. घाँटी च्यापी मारेको भन्ने कुरा डाक्टरको पोष्टमार्टममा लेखिए देखि बाहेक अभियुक्तले घाँटी च्यापी मारेकै हो भन्ने कुराको चस्मदिद सबूत प्रमाण गुज्रन आएको नदेखिँदा शुरू फैसला उल्टी भई कमला विश्वकर्माले सफाई पाउने ठहर्छ । प्र.तिर्थबहादुरको हकमा कमला विश्वकर्माको बयान बाहेक बालक मार्नलाई निजले सल्लाह दिएको शुरू भोजपुर जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने समेत पू.क्षे.अ.को फैसला ।
१७. उक्त निर्णय उपर श्री ५ को सरकारको सर्वोच्च अदालतमा परेको पुनरावेदन ।
१८. शव परीक्षण प्रतिवेदनबाट मृत्युको कारण घाँटी च्यापी मरेको भन्ने उल्लेख भएको देखिन आएकोले जातक मरेको जन्मेको भन्न मिलेन । यस स्थितिमा प्र.कमला विश्वकर्मालाई सफाई दिएको पू.क्षे.अ.को फैसला मिलेको नदेखिँदा अ.बं. २०२ नं. बमोजिम प्र.कमला विश्वकर्मालाई नोटिस म्याद दिई पेश गर्नु भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चको ०४०।१।६ को आदेश ।
१९. प्र. कमला विश्वकर्माले शुरू अदालत समक्ष इन्कार गरे तापनि प्रहरीमा भएको निजको बयान निजको इच्छा विरूद्ध थियो भन्ने कुराको ठोस प्रमाण गुजार्न सकेको देखिँदैन, पोष्टमार्टम रिपोर्टमा मृतक बच्चा घाँटी निमोठी कर्तव्यबाट मरेको बुझिन्छ भन्ने राय उल्लेख भएको पाइन्छ । यसरी निज प्रतिवादी टुल्की भन्ने कमला विश्वकर्माले प्रहरीमा गरेको साविती पोष्टमार्टम रिपोर्टबाट समर्थित भएको हुँदा सर्वस्वसहित जन्मकैद गरेको भोजपुर जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ । प्र.तिर्थबहादुरको हकमा सफाई दिने गरेको शुरू इन्साफ सदर गरेको पू.क्षे.अ.को इन्साफ मनासिव ठहर्छ भन्ने समेत डिभिजन बेञ्चको ०४०।३।१२ को फैसला ।
२०. घटनास्थल प्रकृतिबाट प्रसूतीको समयमा यथाआवश्यक होसियारी र स्याहारको अभाव देखिएको छ, प्रहरीले सुराक पत्तालगाउँदा पनि मरेकै बच्चा जन्माएको भन्ने पत्तालागेको जाहेरीबाट देखिन्छ । निवेदिकाको आमाले पनि मरेकै बच्चा पैदाभएको भनेकोछ पोष्टमार्टम सुनाई ततिम्बा बयान गराएको अ.बं. ७८ नं. विपरीत छ । सर्वोच्च अदालतको फैसलामा प्रमाण ऐन,२०३१ को दफा ९, १० समेतको त्रुटि छ भन्नेसमेत न्यायिकसमितिको पर्चा ।
२१. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा मिसिल कागजातहरू अध्ययन गरी निर्णयतर्फ हेर्दा प्र.कमला विश्वकर्मालाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सर्वस्वसहित जन्मकैदको सजायँ गरेको सर्वोच्च अदालत डिभिजन बेञ्चको इन्साफ मिलेको छ छैन भन्ने कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
२२. यसमा प्र.टुल्की भन्ने कमला विश्वकर्माले जातक जन्माएको विषयमा प्रहरी प्रेम बहादुरको ०३५।१०।२६ को प्रतिवेदनमा “विवाह नगरेको कन्या केटीले बोकी जातक पैदा गरी मरेकै पैदा भयो भन्ने बुझिएकोले रूगारू मानिस राखी प्रतिवेदन गर्न आएको छु भन्ने व्यहोरा समेत उल्लेख भएको पाइन्छ । त्यस्तै गरी प्र.कमला विश्वकर्माको ०३५।१०।२८ को बयानमा निजले धनकुटा सडकमा काम गर्न जाँदा तिर्थबहादुर श्रेष्ठसँग ०३४ साल चैत्रदेखि नै उठबस भई ०३५ साल ज्येष्ठ महिना देखी गर्भ रहेको कुरा उल्लेख गर्दै ०३५।१०।२५ गते बच्चा पाउने व्यथा लागेकोले राति १०–११ बजेको समयमा उठी बाहिर घरको पेटीमा निस्की बच्चा पाएँ हेर्दा चलेन, सारो परेकोले चिच्याई कराउँदा आमा आई आमाले पनि बच्चा चलाई हेर्दा मरेको रहेछ, बच्चा मैले कर्तव्य गरी मारेको होइन आफैं वा मरेको पैदा भएको हो भन्ने समेत बयान गरेको पाइन्छ । अदालतमा भएको निजको बयानमा पनि मरेकै बच्चा पैदा भएको भन्ने उल्लेख भएको छ । मरेको बच्चा पैदा भएको हैन जिउँदो बच्चा पैदा गरी मारेको हो भन्नलाई त्यस्तो भन्न सकिने किटानी सबूत प्रमाणको अभाव छ । बच्चा पैदा गरेको तुरून्तै पछि घटनास्थलमा पुगी उसकी आमा पदमकुमारीले पनि कमला विश्वकर्माले पैदा गरेको बच्चा मरेकै पैदा भएको भन्ने लेखाएको देखिन्छ ।
२३. वारदातको प्रकृति हेर्दा पनि ०३५।१०।२५ को रातमा घरको बाहिर सुंगुरको खोर पिंडीमा उठी उठी बच्चा जन्माएको, अघिल्लो दिन पानी परेकोले हिलो भएको बच्चाको जीउमा पनि हिलो देखिएको र प्रसूतीको रगत पिंडी घर बाहिर बलेसीमा देखिएको छ । प्रशव वेदनाले छटपटिएको बेला आफ्नै शरीरको राम्रो हेर विचार गर्न नसक्ने अवस्था पर्ने हुँदा जातकलाई सम्हाल्न नसक्ने अवस्था पनि पर्छ, तसर्थ मरेको जातक फेला पर्दैमा जिउँदो नै जन्माई मारेको भन्न स्पष्ट सबूत प्रमाणको अभावमा नमिल्ने हुन्छ । जीउँदो बच्चा जन्माई मारेको हो भनी निष्कर्षमा पुग्दा पनि आफ्नो नवजात सन्तान प्रतिको ममता, जुन प्राकृतिक रूपले मातृकोखबाट निस्कन्छ त्यसलाई पनि न्यायकर्ताले बिर्सिन सक्दैन ।
२४. प्रस्तुत मुद्दामा डिभिजन बेञ्चबाट प्र.कमला विश्वकर्मालाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सजायँ हुने निर्णय गर्दा कमला विश्वकर्माको ततिम्वा बयान र शवपरीक्षण प्रतिवेदनलाई आधार बनाएको पाइन्छ । शव परीक्षण प्रतिवेदनमा निमित्त सिनियर मेडिकल अफिसर चन्द्र बहादुर कार्की भनी दस्तखत गरिएको छ । ०३५।१०।२९ को उक्त प्रतिवेदनमा घाँटी अठ्याइएबाट मृत्यु भएको भन्ने उल्लेख भएको छ । तर वारदातको भोलिपल्ट भएको घटनास्थल लाश प्रकृति मुचुल्कामा शरीरमा कुनै चोटपटक नदेखिएको भन्ने भएबाट लाश प्रकृति मुचुल्कासँग शवपरीक्षण प्रतिवेदन मेल खाएको देखिएन । कमला विश्वकर्माको ०३५।१०।२८ मा बयान भएपछि पुनः ०३५।११।४ मा शवपरीक्षण प्रतिवेदन देखाई ततिम्वा बयान गराएको पाइन्छ । पक्राउ भएको व्यक्तिलाई पहिलो पटक अदालतमा उपस्थित गराउँदा निजको कागज भइसकेको हुनुपर्छ भन्ने सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को दफा ७(४) को प्रतिबन्धात्मक वाक्यांश (क) मा उल्लेख भएको पाइन्छ । सो अनुसार अदालतबाट म्याद थप हुनुभन्दा अगावै ततिम्वा बयान गराएको देखिँदैन । एकपटक अपराधमा इन्कार रही बयान गरी अदालतबाट म्याद थप भइसकेपछि पुनः ततिम्वा गराएकोमा कुनै कानुनी आधार देखिँदैन, तसर्थ उक्त ततिम्वा बयानलाई प्रमाणमा लिन मिल्ने देखिएन ।
२५. अतः उपर्युक्त कारणहरूबाट प्र.कमला विश्वकर्माले जिउँदो बच्चा जन्माई मारेको हो भन्न शंकारहित सबूत प्रमाणको अभावमा नमिल्ने देखिँदा ज्यानसम्बन्धीको १३(३) बमोजिम सर्वस्वसहित जन्मकैद गरेको शुरू इन्साफ सदर गरेको सर्वोच्च अदालत डिभिजन बेञ्चको निर्णय मिलेको देखिएन । वादी दावीबाट सफाई दिने गरेको पू.क्षे.अ.को इन्साफ मनासिव ठहर्छ । अरू तपसील बमोजिम गर्नु ।
तपसील
यसमा माथि इन्साफ खण्डमा डिभिजन बेञ्चको ०४०।३।१२ को इन्साफ उल्टी भई प्र.कमला विश्वकर्मालाई वादी दावीबाट सफाई दिने गरेको पू.क्षे.अ.को ०३८।२।१३ को इन्साफ मनासिव ठहरेकोले सर्वोच्च अदालतको ०४०।३।१२ को फैसला र शुरू भोजपुर जिल्ला अदालतको ०३६।९।३० को फैसला बमोजिमको लगत कायम राख्नुपर्दैन, व्यहोरा जनाई लगत कट्टा गरिदिनु प्र.कमला विश्वकर्मालाई थुनाबाट छाडिदिनु भनि आजै छुट्टै आदेश भई गएकोले केही गरिरहनु पर्दैन, पू.क्षे.अ.को फैसला बमोजिमको लगत बमोजिम गर्नु भनी शुरू भो.जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु.........................................१
मिसिल नियम बमोजिम गरी बुझाई दिनु............२
उक्त रायमा हामीहरूको सहमति छ ।
न्या.बब्बर प्रसाद सिंह
न्या.महेशराम भक्त माथेमा
इतिसम्वत् ०४२ साल ज्येष्ठ ४ गते रोज ६ शुभम् ।