निर्णय नं. २२७६ - ज्यान

निर्णय नं. २२७६ ने.का.प. २०४२ अङ्क २
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०४१ सालको फौ.पु.नं. ६०४
मुद्दा : ज्यान ।
पुनरावेदक/वादी: सियाराम सिंहको जाहेरीले श्री ५ को सरकार ।
विरूद्ध
विपक्षी/प्रतिवादी:जि. स.सुदामा गा.पं. वडा नं. ६ बस्ने रूप नारायण सिंह समेत ।
फैसला भएको मिति: २०४१।१।१३।५ मा
ज्यान लिनेसम्मको अवस्था नपुग्दै वा गुहार मद्दत माग्न नसक्ने वा गुहार मद्दत मागे पनि बखतमा नै मद्दत पुग्न सक्ने अवस्थामा आत्मरक्षाको कसैले चोट छाडी कुनै व्यक्ति मरेमा त्यस्तोमा ज्यानसम्बन्धी महलको ७ नं. आकर्षित हुन सक्दैन ।
(प्रकरण नं.२३)
पुनरावेदक/वादी तर्फवाट: विद्वान सरकारी अधिवक्ता श्री कृष्ण प्रसाद श्रेष्ठ तथा विद्वान व.अ. श्री मुकुन्द रेग्मी
विपक्षी/प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री कृष्णकुमार वर्मा र विद्वान अधिवक्ता श्री अरविन्दकुमार सिंह
उल्लिखित मुद्दाःX
फैसला
न्या.त्रिलोक प्रताप राणाः मध्यमान्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी यस बेञ्च समक्ष पेश हुन आएका प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।
२. ०३७ साल भाद्र २ गतेका दिन बिहान रूपनारायण सिंहले बाटो बन्द गरिरहेको ठाउँबाट सिताराम सिंह आफ्नो खेततर्फ जाँदा रूपनारायण सिंहले मेरो आलीको बाटोबाट किन हिंडेको भनी भन्दा अन्य प्रतिवादीहरूले हात हातमा लाठी भाला समेत लिई आइलाग्दा जगदीश सिंहलाई घेरी दिँदा निज जगदीशले प्राण रक्षार्थ ग्वार मागेका मानिस सिताराम समेत आइपुगे । प्रतिवादीले लाठी भाला चलाउँदा त्यसबखत मद्दतमा आएका सिताराम सिंहलाई प्रतिवादी रूपनारायण समेतका मानिसहरूले चलाएका लाठी भालाले लाग्न गई घाइते भएकाले उपचार निमित्त छतौना हेल्थपोष्टमा लगी उपचार गराउँदा गराउँदै निज सितारामको मृत्यु भएकोले आवश्यक कार्यार्थ लाश समेत साथै राखी जाहेर गरेको छु भन्ने समेत व्यहोराको सिताराम सिंहको जाहेरी दर्खास्त ।
३. काका रूपनारायणले बन्द गरेको बाटोबाट विपक्षहरू हिँडेको देखि काकाले रोक्न जाँदा विपक्षी जगदिश, रमाइन, शिवधारी, रंजित, बालकिशोरसित हामी प्रतिवादीहरूको झगडा भई लाठी भाला आदि हतियार चल्दा रूपनारायणले चलाएको लाठीबाट सिताराम घाइते भई उपचार गराउन लाग्दा निजको मृत्यु भएको हो भन्ने प्रतिवादी जगतनारायणले प्रहरीमा गरेको बयान ।
४. मेरा तर्फका मानिसले गरेको लाठी भालाको प्रहारबाट मृतक सितारामलाई लागी घटनास्थलमा घाइते भई मरेका हुन् तर कसको चोट पीरबाट निजको मृत्यु भएको हो भन्न सक्दिन भन्ने समेत व्यहोराको रूपनारायणको प्रहरीमा भएको बयान ।
५. रूपनारायणले बन्द गरेको आलीको बाटो खुलाउने भनी रामनारायण, जगदीश, सिताराम समेतले लाग्दा प्र.रूपनारायण रोक्न पनि गएका थिए । त्यहाँ झगडा भई जगदीशले लाठी प्रहार गरेपछि रूपनारायणले पनि लाठी चलाउँदा मृतक सितारामलाई लाग्न गई घटनास्थलमा सख्त घाइते भई उपचार गराउन अस्पतालमा लगी उपचार गराउँदा गराउँदैका अवस्थामा निजको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको केही र आत्मरक्षाको लागि रूपनारायणले चलाएको लाठीको चोट मृतकलाई लाग्न गई घाइते भएका र पछि उपचार गराउँदैका अवस्था मरेका हुन् भन्ने अधिकांश व्यक्तिले मौका तहकिकात हुँदाका अवस्था गरिदिएका सरजमीन मुचुल्का ।
६. मृतक र प्रतिवादीका बीच पहिले रिसइवी नभएको र जोखिमी हतियारबाट निजको मृत्यु भएको नदेखिएको समेतबाट प्रतिवादीहरूलाई ज्यानसम्बन्धीको १४ नं. बमोजिम सजायँ गरिपाउँ भन्ने प्रहरी प्रतिवेदन दावी ।
७. ०३७।५।२ गते म घरमा नभई ०३७ श्रावण २७ गते भारततर्फ गई २ गते घर फर्कंदा सितारामको मृत्यु भएको सुने । मैले मारेको होइन प्रहरीले कुटपीट गरी सही गराएका हुन् भन्ने समेत व्यहोराको जगतनारायणको अदालतमा भएको बयान ।
८. ०३७।५।२ का दिन मैले आफ्नो नम्बरीका जग्गाको आलीमा सिसौ र बाँस लगाएकोमा रामनारायण जगदीश जिनीस, सितारामहरू हिँडी भत्काइरहेको देखि किन यस्तो गरेको भनी भन्दा उपरोक्त मानिसहरूले आफ्नो हातमा लिइराखेको लाठी गंडासा मेरा उपर धमाधम प्रहार गर्दा संकटमा परेकोले गुहार माग्दा गुहार नपुग्ने हामी सोही ठाउँमा रहेको बाँसको लाठी उठाई प्रतिरक्षार्थ चलाउँदा मृतक सितारामलाई लाग्न गई निज लडेको देखि विपक्षीहरूले म उपर कुटपीट गरी मलाई बेहोश पारिदिए । मृतकसँग मेरो कुनै रिसइवी थिएन । म घाइते भएकोले मेरा मानिसले छतौना हेल्थपोष्ठमा लगी प्राथमिक उपचार गराई सर्लाही अस्पतालमा लगी उपचार गराई आज अस्पतालले डिस्चार्ज गरेको हुँदा बयान गर्न आएको छु भन्ने रूपनारायण सिंहले अदालतमा गरेको बयान ।
९. ०३७।५।२ गते म गाउँघरमा थिइन । गाउँमा आएपछि सिताराम मरे भन्ने सुनो । के भई कसले कुटी मारे थाहा छैन भन्ने सर्वनारायण सिंहले अदालतमा गरेको बयान ।
१०. ०३७।५।२ गते म भारतमा थिएँ । आजै मात्र आएको हुँ । सिताराम मरे भन्ने त्यसै ठाउँमा सुनेको हुँ मैले कुटपीट गरी निज सितारामलाई मारेको होइन । निज कसरी मरे थाहा छैन भन्ने अनुठा सिंहले अदालतमा गरेको बयान ।
११. ०३७।५।२ मा म बिरामी भई लङडी अस्तपालमा थिएँ । गाउँमा आई सिताराम मरे भन्ने सुनेको हुँ । कसले मारे थाहा छैन । मैले कुटपीट गरी मारेको होइन भन्ने सत्यनारायण सिंह, अस्लोक सिंह, रामनाथ सिंह, रामेश्वर सिंह, सत्यनारायण सिंहले छुट्टा–छुट्टै रूपमा अदालतमा गरेको बयान ।
१२. ०२७।५।२ मा म गाउँमा थिइन । गाउँमा आएपछि सिताराम मरे भन्ने सुनेको हुँ। के भई मरे थाहा छैन । मैले कुटपीट गरी मारेको होइन भन्ने राजदेव सिंह र दिपनारायण सिंहको अदालतमा भएको बयान ।
१३. ०३७।५।२ गते म घर आएपछि सिताराम बिरामी भई मरे भन्ने सुनेको हुँ । के बिरामी भई मरे थाहा छैन । मैले कुटपीट गरी मारेको होइन भन्ने विलट सिंह राजपूतको अदालतमा भएको बयान ।
१४. प्रतिवादीको बयान मिलान साक्षीहरूको बकपत्र भएको ।
१५. रूपनारायण सिंहको शरीरमा कडा घाउ भएको र मर्नेको शरीरमा समेत चोट देखिएकाले रूपनारायणले आत्मरक्षार्थ आफूसँग भएको लाठी प्रहार गरेको देखिँदा ज्यानसम्बन्धीको ७ नं. बमोजिम निजलाई सजायँ गर्नुपरेन । अन्य प्रतिवादीहरूले ज्यानसम्बन्धीको १४ नं. बमोजिम अपराध गरेको ठहर्दैन भन्ने समेत व्यहोराको शुरू सर्लाही जिल्ला अदालतको मिति ०३८।२।१३ को फैसला ।
१६. उक्त फैसलामा चित्त नबुझी श्री ५ को सरकारको तर्फबाट मध्यमान्चल क्षेत्रीय अदालतमा पुनरावेदन परेको ।
१७. दुवै पक्षबाट कुटपीट भएकोमा विवाद देखिएन । प्रतिवादी रूपनारायण सिंहको अस्पताल जाँचको केश फारामबाट निधार आँखीभौँ टाउको समेतका मर्मस्थलमा घाउ लागेको देखिन आयो । उक्त अनुसार शरीरको मर्मस्थलहरूमा प्रहार गरेको अवस्थामा निज प्रतिवादी रूपनारायण सिंहले आत्मरक्षाको लागि आफूसँग भएको लाठी चलाउनुपर्ने स्थिति स्वभाविकै देखिन आएकोले ज्यानसम्बन्धीको ७ नं. को सुविधा पाउँदैन भन्न मिलेन । जगतनारायण नाबालक देखिएको र निज र अन्य प्रतिवादीहरूले पनि अदालतमा अपराध गरेकोमा इन्कार गरेको र निजहरूको जिकिर साक्षीबाट पुष्टि भएको देखिँदा प्रहरी प्रतिवेदन अनुसार प्रतिवादीलाई सजायँ हुनुपर्ने भन्ने विद्वान अ.सर्वोच्च अदालतको बहस जिकिरसँग सहमत हुन सकिएन । शुरूले प्र.हरुलाई रिहाई दिने गरी गरेको इन्साफ मनासिव छ भन्ने समेतको मध्यमान्चल क्षेत्रीय अदालतको फैसला ।
१८. उक्त फैसलामा गम्भीर कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने वादी श्री ५ को सरकारको यस अदालत समक्ष पर्न आएको निवेदनमा प्रतिवादी रूपनारायण सिंहले चलाएको लाठीको चोटबाट मृतक सितारामको मृत्यु भएको भन्ने कुरामा निज स्वतः सावित भई बयान गरेको देखिन्छ । आत्मरक्षाको लागि लाठी चलाएको भनी निजले प्रहरी समक्ष गरेको बयानमा जिकिर लिन सकेको छैन । यस्तो अवस्थामा आत्मरक्षाको लागी लाठी चलाउँदा सितारामको मृत्यु भएको भनी ज्यानसम्बन्धीको ७ नं. को आधारमा प्रतिवादी रूपनारायण सिंहलाई सफाई दिने ठहराएको मध्यमान्चल क्षेत्रीय अदालतको निर्णयमा ज्यानसम्बन्धीको ७ नं. को प्रत्यक्ष त्रुटि देखिएको हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने डिभिजन बेञ्चको आदेश ।
१९. नियम बमोजिम दैनिक सूचीमा चढी पेश हुन आएका प्रस्तुत मुद्दामा श्री ५ को सरकारको तर्फबाट उपस्थित हुनु भएको विद्वान सरकारी अधिवक्ता श्री कृष्ण प्रसाद श्रेष्ठ तथा जाहेरवाला तर्फबाट रहनुभएका विद्वान व.अ. श्री मुकुन्द रेग्मीले मुद्दाको रूपबाट ज्यानसम्बन्धीको ७ नम्बर लाग्ने अवस्था छैन । जाहेरी दर्खास्तबाट रूपनारायण समेतका प्रतिवादीहरूले कुटपीट गरेको देखिन्छ । रूपनारायण लाठी भाँचेमा अदालतमा समेत सावित छ । यस्तो अवस्थामा सबै प्रतिवादीहरूलाई ज्यानसम्बन्धीको १४ नं. बमोजिम सजायँ हुनुपर्नेमा ज्यानसम्बन्धीको ७ नं. बमोजिमको सफाई दिएको मध्यमान्चल क्षेत्रीय अदालतको फैसला मिलेको छैन भन्ने र विपक्षी रूपनारायण समेतका तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री कृष्णकुमार वर्मा र विद्वान अधिवक्ता श्री अरविन्दकुमार सिंहले शुरू अदालतले ज्यानसम्बन्धीको ७ नम्बर लगाई गरेको फैसलालाई सदर गर्ने गरेको मध्यमान्चल क्षेत्रीय अदालतको फैसलामा कुनै त्रुटि छैन रूपनारायण समेतको शरीर जीउमा चोट छ । निज एक्लोलाई सिताराम समेतका धेरै व्यक्तिले कुटपीट गरेको र गुहार माग्ने अवस्था समेत नहुँदा आत्मरक्षाको लागि लाठी चलाउँदा सितारामलाई चोट लागी मर्न गएकोले ज्यानसम्बन्धी ७ नं. बमोजिम रूपनारायण समेतका प्रतिवादीहरूलाई सफाई दिएको मिलेको छ मध्यमान्चल क्षेत्रीय अदालतको फैसला मनासिव छ भनी बहस गर्नुभयो । प्रस्तुत मुद्दा आज निर्णय सुनाउन तारेख तोकिएकोले मध्यमान्चल क्षेत्रीय अदालतबाट रुपनारायणलाई ज्यानसम्बन्धीको ७ नं.को आधारमा र अन्य प्रतिवादीहरूलाई सबूतको अभावमा समेत सफाई दिएको इन्साफ मनासिव वा बेमनासिव के रहेछ सो को निर्णय दिनुपरेको छ । यसमा मौकाको ०३७।५।३ को जाहेरी दर्खास्तमा प्रत्यर्थीहरूमा रूपनारायण सिंह, जगतसिंह, सर्वनारायण सिंह, शिवनारायण सिंह, राजदेव सिंह, शेषनारायण सिंह, भावनारायण सिंह, रामनाथ सिंह, रामेश्वर सिंह, रामश्लोक सिंह, सत्यनारायण सिंह, अनुठा सिंह र विलट सिंहको नाउँ उल्लेख गर्दै शिवनारायण सिंहले यसलाई कुटी ज्यान मार्नुपर्यो भनी वचन दिएको, वचन मानी अन्यायी सर्वनारायण सिंहले आफ्नो हातमा भएको भालाले सिताराम सिंहलाई हाने रोपे । त्यसपछि अन्यायी भावनारायण सिंहले पनि भालाले हाने रोपे । फेरि जगत सिंहले भालाले हानी रोपे । त्यसपछि विलट सिंह राजपूत, राजदेव सिंह राजपूत, दिपनारायण सिंह, जगत सिंह राजपूत, रामेश्वर सिंह राजपूत र रामश्लोक सिंह राजपूत समेतले हात हातमा लिएका बाँसको लाठीले सिताराम सिंहलाई कुटपीट गरे । अन्यायी सत्यनारायण सिंहले आफ्नो हातमा लिई राखेको गडासाले सिताराम सिंहलाई हाने त्यसपछि अन्यायी रामनाथ सिंहले अझ यो मरेको छैन भनि हातको फर्साले सिताराम सिंहको टाउकोमा हाने । यो अन्तिम चोट समेतबाट सिताराम सिंहको हालत खराब भई घटनास्थलमा लडे । अन्यायीहरूको मद्दतका ९ जना समेतले जगदीश सिंहका रक्षार्थ जाने ५ जवानलाई लाठी, गडासा समेतले कुटपीट गरे सो कुटपीटमा पर्ने व्यक्तिहरूले खुलासा नाम खुलाई केश फारामको लागि अलगबाट दर्खास्त गर्नेछन् । उल्लिखित चोटपटकबाट सिताराम सिंह घटनास्थलमै लडेको र अरू व्यक्तिहरू घाइते भएपछि अन्यायीहरू तथा निजका सहयोगीहरू त्यहाँबाट भागी गए । यस प्रकार अन्यायीहरूले यसो गर्दा मानिस मर्न सक्ला भन्ने जानी जानी भाला, गडासा फर्सा जस्तो घातक हतियार प्रयोग गरी सिताराम सिंहलाई हानी लडाई दिएको हुँदा सिताराम सिंहलाई प्रारम्भिक उपचारार्थ छतौना हेल्थपोष्टमा लगी भर्ना गराएकोमा सोही दिनको अं. ४ बजेको बखत सिताराम सिंहको मृत्यु भएकोले कानुनी कारवाहीको लागि दाखिल गर्न ल्याएको छु भनी लेखिदिएको पाइन्छ ।
२०. मृतक सिताराम सिंहको पोष्टमार्टम रिपोर्ट हेर्दा “टाउकोमा धार नभएको हतियारको चोट लाग्न गई स्कल फ्राक्चर भई सोही चोटको कारणबाट मरेको” भन्ने छ “Death is due to external injuries over the head causing depressed fracture of the skull by hard blunt weapon” धार नभएको हतियारबाट टाउकोमा चोट लागी सो चोटबाट सिताराम सिंह मरेको देखिँदा जाहेरी दर्खास्तमा उल्लेख भए बमोजिम प्र.सर्वनारायण सिंह, प्र.भावनारायण सिंह र प्र.जगत नारायण सिंहको भाला प्र.सत्यनारायण सिंहको गडासा र प्र.रामनाथ सिंहको फर्साले सिताराम मरेको भन्ने स्थिति नै रहेन । अब जाहेरी दर्खास्त बमोजिम कुटपीट गरी सितारामलाई मार्नेमा प्र.खिलट सिंह, प्र.राजदेव सिंह, प्र.दिपनारायण सिंह, प्र.राम अश्लीक, प्र.जगतनारायण सिंह, राजदेव सिंह, प्र.रामेश्वर सिंह देखिन्छ । यी सबैको हातमा बाँसको लाठी रहे भएको देखिन्छ । उक्त अन्यायीहरूमा प्र.रूपनारायण सिंहले प्रहरीमा कागज गर्दा निजले समेत मर्ने सितारामलाई लठ्ठीले चोट छाडे भनी स्वीकार गर्नुभएको छ । यिनै प्र.रूपनारायणले अदालतमा बयान गर्दा प्रहरीमा भएको उक्त ०३७।५।११ को कागजलाई पूर्ण चेतन अवस्थामा भएको होइन भन्नुभएको छ तापनि लाठी भाँचेको कुरालाई निजले अदालतमा समेत स्वीकार गर्नुभएको छ । प्रहरीमा भएको ०३७।५।११ को कागजलाई निज प्र.रूपनरायणले कुटपीट गरी वा डरधाक देखाई प्रहरीले कागज गराएको भनी लेखिदिनु नभई पूर्ण चेतन नभएको अवस्थामा उक्त कागज भएको भन्नु हुन्छ ।
२१. तर ०३७।५।११ को उक्त कागजमा स्वयं सम्बन्धित अस्पतालको डाक्टर रोहवरमा बसेको पाइन्छ । रूपनारायण आफ्नो कुरा भन्न सक्ने अवस्थामा नरहेको र निज पूर्ण चेतन अवस्थामा नरहेको भए रोहवरमा बसेको उक्त डाक्टरले सोही कुरा भन्नु वा लेखी दिनुपर्ने थियो, तर सो भएको पाइन्न ।
२२. प्र.रूपनारायणको शरीरमा लागेको चोट पटकको केश फाराम हेर्दा सो चोटपटकबाट निज पूर्ण चेतन अवस्थामा रहन नसक्ने खालको चोटपटक लागेको पाइन्न । उसमा पनि प्र.रूपनारायणको केश फाराम मौकाको छैन । वारदात ०३७।५।२ को देखिन्छ । तर प्र.रूपनारायणको केश फाराम ०३७।५।११ को छ । नजिकैमा हेल्थपोष्ट छ तर वारदातकै दिनमा प्र.रूपनारायणको कुटपीटको केश फाराम भएन । वारदात परेको आठ दिन पछि भएको त्यस्तो केश फारामबाट उक्त चोट सोही वारदातमा मोकैमा लागेको होला भनी भर गर्नसक्ने अवस्थाको नभई त्यस्तो कुटपीट सोही वारदातमा भएको होला भनी भन्नु शंकास्पद नै देखिन्छ ।
२३. शुरू जि.अ. र मध्यमान्चल क्षेत्रीय अदालतबाट समेत प्र.रूपनारायणको आत्मरक्षाको लागि लठ्ठी चलाउँदा सोही लठ्ठीको चोटबाट सिताराम मर्न गएको भनी ठहर गरेकोमा विवाद देखिन्न आफ्नो चोटबाट सिताराम मर्न गएको अदालतको ठहरलाई प्र.रूपनारायणले स्वीकार गरी पुनरावेदन समेत गरेको देखिन्न आफूलाई चोट लाग्न गई रहेको र प्रहार नगरेमा आफू मर्ने सम्भावना भएकोले आत्मरक्षाको लागि प्र.रूपनारायणले उक्त लठ्ठीको चोट मर्ने सिताराम उपर छाडेको हुँदा मुलुकी ऐन ज्यानसम्बन्धीको ७ नं. बमोजिम निज रूपनारायणले सफाई पाउनुपर्छ भन्ने निजको तर्फबाट रहनुभएका विद्वान अधिवक्ताको भनाई भएकोमा आत्मरक्षाको जिकिर निज रूपनारायणले ०३७।५।११ को मौकैको कागजमा लिएको पाइन्न । आत्मरक्षाको लागि प्र. रूपनारायणले लाठी चलाएको र सो कारणबाट सितारामको मृत्यु भएको हो भनी सरजमीनका व्यक्तिहरू अदालतमा आई बकपत्र गरिदिन सकेको देखिन्न । स्वयं प्रतिवादी रूपनारायणले मौकामा लेखी दिन नसकेको कुरालाई पछि आत्मरक्षाको लागि लठ्ठी चलाएको भनी लेखिदिएकै नाताबाट आत्मरक्षाको लागि लठ्ठी चलाएको भन्ने कुरा मिल्ने देखिन्न । निजको भनाई साँचो भए अघि नै सो आत्मरक्षाको जिकिर लिनुपर्ने अवस्था छ । ज्यानसम्बन्धीको ७ नं. को देहाय १ मा “कसैले हातहतियार लिई वा नलिई आफ्नो ज्यान लिनासम्मको जोरजुलुम गर्न लागेकोमा त्यस्तालाई पक्राउ गर्न वा गुहार मद्दत माग्न नसकिने वा मागे पनि बखतमा मद्दत पुग्न नसक्ने वा त्यस्तोको पञ्जाबाट भागी उम्की आफ्नो ज्यान बचाउन समेत फुर्सद नपाउने अवस्थामा आफैंले केही नगरे आफ्नो ज्यान रहँदैन भन्ने पूरा विश्वास भई ज्यान बचाउनका खातिर उसै मौकामा केही गर्दा सो जुलुमीको ज्यान मारेकोमा ज्यान माराको बात लाग्दैन” भन्ने लेखिएको पाइन्छ । जोरजुलुम गर्न लागेकोमा त्यस्तालाई पक्राउ गर्ने वा गुहार मद्दत माग्न नसकिने वा मागे पनि बखतमा मद्दत पुग्न नसक्ने वा त्यस्तोको पञ्जाबाट भागी उम्की आफ्नो ज्यान बचाउने समेत फुर्सद नपाउने अवस्थामा आफूले केही नगरे आफ्नो ज्यान रहँदैन भन्ने पूरा विश्वास भई ज्यान बचाउनका खातिर उसै मौकामा केही गर्दा सो जुलुमीको ज्यान मारेकोमा ज्यान माराको बात लाग्दैन भन्ने लेखिएको पाइन्छ । जोरजुलुम गर्न लागेकोमा त्यस्तालाई पक्राउ गर्न वा गुहार मद्दत माग्न नसकिने वा मागे पनि बखतमा मद्दत पुग्न नसकिने वा त्यस्तो पंजाबाट भागी उम्की आफ्नो ज्यान बचाउन समेत फुर्सद नपाउने अवस्थामा प्रस्तुत वारदात घटेको एवं आफू उपर कुनै व्यक्ति आई लागेको अवस्थामा त्यस्तो व्यक्ति उपर निज जाई लागेको कुरा मिसिल एवं प्रमाणबाट समेत समर्थित छैन । ज्यान लिनेसम्मको अवस्था नपुग्दै वा गुहार मद्दत माग्न नसक्ने वा गुहार मद्दत मागे पनि बखतमा नै मद्दत पुग्न सक्ने अवस्थामा आत्मरक्षाको कसैले चोट छाडी कुनै व्यक्ति मरेमा त्यस्तोमा ज्यानसम्बन्धी महलको ७ नं.आकर्षित हुन सक्दैन । प्र. रूपनारायणको साथ अन्य मानिसहरू मद्दतको लागि रहेको मिसिलबाट देखिन्छ र मर्ने सितारामलाई पक्राउ गर्न गुहार नपाउने अवस्था परी ज्यान जोगाउन सितारामलाई प्रहार छाडेको मिसिलबाट देखिन्न । यस्तो अवस्थामा ज्यानसम्बन्धीको ७ नं. को सुविधा पाइन्छ भन्न मिल्दैन । कुटपीटको समष्टिगत परिणामस्वरूप सितारामको मृत्यु भएको नदेखिई टाउको जस्तो संवेदनशील भागमा चोटपटक लागी सो चोटको कारणबाट सितारामको मुत्यु भएको र त्यस्तो कुटपीट चोटबाट सिताराम मर्न सक्ने साधारण समझ र मिजासका मानिसले बुझ्न सक्ने नै हुँदा अन्यथा विचार गर्ने स्थिति रहेन, कुटपीट हुँदा जसको संभावित चोटबाट सितारामको मृत्यु हुन गएको छ सोही व्यक्तिलाई दोषी ठहर्याउन न्यायोचित हुने र प्र.रूपनारायणको चोटबाट सिताराम मर्न गएको शुरू जि.अ.र मध्यमान्चल क्षेत्रीय अदालतको समेत ठहर भएको तथ्यलाई प्र.रूपनारायणले स्वीकार गरी बसेकोले प्र.विलट सिंह, प्र.रामअश्लोक सिंह, प्र.राजदेव सिंह, प्र.दिपनारायण सिंह, रामेश्वर सिंह र प्र.अनुठा सिंह, शिवनारायण सिंह समेतका अन्य सबै प्रतिवादीहरूलाई सजायँ होस् भन्ने श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । वारदात भएमा विवाद नदेखिँदा र त्यस्तो वारदातमा प्र.रूपनारायणको लठ्ठीको चोटबाट सिताराम मर्न गएको मानी लेखिएको बुँदा प्रमाणबाट सिद्ध भएकोले प्रहरी प्रतिवेदन दावी बमोजिम प्र. रूपनारायण सिंहलाई ज्यानसम्बन्धीको १४ नं. बमोजिम १० वर्ष कैद हुन्छ । प्र.रूपनारायण सिंह बाहेक अन्य प्रतिवादीहरूले सफाई पाउने ठहराएको शुरू जि.अ.को इन्साफ मनासिव ठहराएको मध्यमान्चल क्षेत्रीय अदालतको निर्णय मनासिव ठहर्छ । तपसीलका कलममा लेखिए बमोजिम गर्नु ।
तपसील
विपक्षी प्र.रूपनारायण सिंह के माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्र.रूपनारायण सिंहलाई ज्यानसम्बन्धीको १४ नम्बर बमोजिम १० वर्ष कैद हुने ठहरेकाले सो लगत कस्नु भनी स.जि.अ.तमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु....१
केही उल्टीमा मा.न्या. श्री हरिहरलाल राजभण्डारी, मा.न्या.श्री रुद्रबहादुर सिंहको रेकर्ड राख्नु.......२
उक्त रायमा म सहमत छु ।
न्या.गजेन्द्रकेशरी बास्तोला
इतिसम्वत् २०४२ साल बैशाख १३ गते रोज ५ शुभम् ।