शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २२९० - उत्प्रेषण समेत

भाग: २७ साल: २०४२ महिना: जेष्ठ अंक:

निर्णय नं. २२९०     ने.का.प. २०४२            अङ्क २

 

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०४१ सालको रि.नं. २३१२

विषय : उत्प्रेषण समेत ।

 

निवेदक      :जिल्ला स्याङजा थुमपोखरा गा.पं.वार्ड नं. ६ खनिया डाँडा  बस्ने दिल प्रसाद तिवारी ।

ऐ.ऐ बस्ने मुवाडी बस्ने गुनाखर डुम्रे ।

ऐ.ऐ बस्ने काशिराम डुम्रे ।

ऐ.ऐ बस्ने लिला वल्ली डुम्रे ।

विरूद्ध

विपक्षी :जिल्ला स्याङजा स्थित पेखू बाघखोर गा.पं. कार्यालय ।

जि.स्याङजा पेखू बाघखोर  गा.पं. वार्ड नं.४ रैपाले बस्ने कुल बहादुर कामी

आदेश भएको मिति: २०४२।२।३२।६ मा

निर्णय कानुनले तोकेको कार्यविधि अपनाई भएको नभई त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ।

(प्रकरण नं.९)

निवेदक तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

विपक्षी तर्फबाट      :विद्वान अधिवक्ता श्री हरिशंकर निरौला

उल्लेखित मुद्दाःX

आदेश

न्या.पृथ्वी बहादुर सिंहःनेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार रहेछ ।

२.    विपक्षी कुल बहादुरले बाटो गेरो भन्ने खेत मुरी ।३ मध्येको खेत मुरी ।१।१० जग्गा नाप जाँच ऐन, २०१९ बमोजिम सर्भे हुँदा पेखु बाघखोर गा.पं.वार्ड नं. ४ कि.नं. ९७९ मा दर्ता भएको जग्गामा कोपचे खोलाको पानी ठाना पेखू तर्फका मोहीहरूसँग बाँधी दिएको हुँदा कहिलेकाँही झर्ने र कहिलेकाहिँ कालीमाटी मूलका पानीमा मिसाएर लगाई आएको पानी ०४०।४।२६ मा मेरो खेतमा पानी लाने कुलोको बाँध मुहान खनी नोक्सान पारिदिएकोले कुलो पानीको व्यवस्था गरिपाउँ भन्ने समेत फिराद दिनु भएछ । कोपचे खालोको पानी कालीमाटीमा मिसाएर विपक्षीले लाने गरेको होइन । हाम्रो कुलोको बाँध विपक्षीको भनिएको बाँध भन्दा माथि छ । हामीले विपक्षीको कुलोको मुहान भत्काएको होइन भन्ने समेत हाम्रो प्रतिवाद परेको थियो । यस्तो अवस्थामा पुराना जग्गालाई कुलो पाउँदैन भन्न नमिल्ने हुँदा खिचोला गरेको देखिएकोले कोपचे रातो छहरा बोगटीको पँधोरा कालीमाटी समेतको ल्याउने पानी वादी कुल बहादुरले पाउने ठहर्छ भनी रु. ५०। जरिवाना गरी विपक्षी गा.पं. बाट ०४१।२।१ गते फैसला भयो ।

३.    विपक्षीको खेतमा जाने कामीको पधोरा भन्दा तल छुट्टै मूलपानी छ, हाम्रो मुहान माथि छ विपक्षलाई पानी दिएमा हाम्रो खेत सुख्खा लाग्दछ, नक्सा गरी हेरियोस् भनी हामीले जिकिर लिएपछि अ.बं.१७१ नं. बमोजिम नक्सा गर्नुपर्नेमा सो नगरी बुझ्नुपर्ने प्रमाण नबुझी फैसला भएको छ । पञ्चायत ऐनको दफा ५६ को अधिकार प्रयोग गरी फैसला गरिएको छ उक्त ऐन प्रचलनमा छँदै छैन । रु. ५०। जरिवाना कुन कानुन अन्तर्गत गरिएको हो उल्लेख छैन । गा.पं. ऐन, ०१८ को दफा ४१ अन्तर्गत मुद्दा छिनिएको हो कि भन्दा ऐ. उपदफा (४) अनुसार न्यायिक समिति गठन गरिएको छैन । हामी विपक्षी गा.पं.का क्षेत्रका नभई थुमपोखरा गा.पं.का व्यक्ति हुनाले हामीलाई प्रतिवादी बनाई निर्णय गर्ने अधिकार गा.पं.लाई छैन । अधिकारक्षेत्र नभएको निकायले गरेको काम कारवाही बदर हुन्छन् भनी विभिन्न सिद्धान्तहरू प्रतिपादित भएका छन् र अ.बं. ३५ नं. समेतले बदरभागी छ हामीले पेश गरेका प्रमाणको कुनै न्यायिक मूल्याङ्कन भएन तसर्थ विपक्षी गा.पं.को ०४१।२।१ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरी हक प्रचलन गराई पाउँ भन्ने समेत रिट निवेदन ।

४.    विपक्षीहरूबाट लिखित जवाफ मगाई आएपछि नियमानुसार पेश गर्नु भन्ने समेत यस अदालत सिङ्गल बेञ्चको आदेश ।

५.    मेरो कि.नं. ९७८, ९७९ र ९८० का जग्गा साविक परम्परा देखिका खेत हुन् । हाल आवादीका होइनन् कोपचेबाट आउने पानी समेतको कालीमाटी कामीको पँधेरोबाट पानी लाउने खेतहरू मध्ये उक्त कि.नं.का खेतहरू पनि हुन् । विपक्षीहरूको मुहान भन्दा माथि यी तीन कित्तामा पानी लाउने मुहान छ । विपक्षीहरूको भन्दा उक्त खेतमा लाने कुलोको निर्माण पहिले भएको हो, मेरो खेतमा पानी लाउने कामीको पँधेरोे भन्दा तल छुट्टै मूलपानी छैन । त्यस्तो भएको भए झन् टाढाको पानी ल्याउनुपर्ने थिएन । विपक्षीको कुलो र मेरो कुलोको मूल एउटै हो। कुलो पानी मुद्दा हेर्ने अधिकार गा.पं.लाई छ । गा.पं.ऐनको दफा ४१ अन्तर्गत गठित न्यायिक समितिको रायबाझी भई ऐ. दफा ५६ अन्तर्गत गा.पं.बैठकमा पेश भई निर्णय भएको तथ्य लुकाई कालो हात बढाई रिट दायर गर्नु भएकोले खारेज हुनु पर्दछ । गा.पं.को फैसला उपर जि.पं.मा पुनरावेदन लाग्ने व्यवस्था भएकोमा अन्य उपचारको व्यवस्था हुँदाहुँदै दायर गरिएको रिट खारेज हुनु पर्दछ भन्ने समेत कुल बहादुर कामीको लिखित जवाफ ।

६.    गाउँ पञ्चायत ऐन, ०१८ को दफा ४१ ले कुलोपानी सम्बन्धी मुद्दा हेर्ने अधिकार गा.पं.लाई छ । विवादको ठाउँ रहेको वडा नं. ४ को वडाध्यक्ष वडा सदस्य प्र.पं. र उप प्र.पं. रहेको ३ सदस्यीय न्यायिक समितिबाट निर्णय भएको छ । विवादस्पद कुलोको स्थलगत निरीक्षण गरी निर्णय भएकोले नक्सा गर्नुपर्ने होइन । वादी प्रतिवादीको पानीको श्रोत मुहान एउटै देखियो । तसर्थ कसैलाई मार्का नपर्ने गरी न्यायिक मनको प्रयोग गरी निर्णय गरिएको हुँदा रिट निवेदन खारेज हुनुपर्दछ भन्ने समेत विपक्षी पेखू बाघखोर गा.पं. को लिखित जवाफ ।

७.    रिट निवेदकहरूका तर्फबाट रहनुभएका विद्वान व.अ. श्री मुकुन्द रेग्मी र विपक्षी तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री हरिशंकर निरौलाले गर्नुभएको बहस समेत सुनियो ।

८.    अब यसमा निवेदकहरूका मागबमोजिमको आदेश जारी गर्नपर्ने हो वा हैन भन्ने कुराको निर्णय दिनुपरेको छ ।

९.    निर्णयतर्फ विचार गर्दा यसमा विपक्षी पेखु बाघखोर गा.पं.बाट भएको निर्णय कानुन बमोजिम भएको छ छैन त्यसतर्फ हेर्दा प्रस्तुत विवादमा सर्वप्रथम गाउँ न्याय सिमितिमा मुद्दा पेश हुँदा र तीनजना सदस्यको बेग्ला बेग्लै राय भई गाउँ पञ्चायतको बैठकमा नियमावली बमोजिम निर्णयार्थ पेश भएको पाइन्छ । पेखू बाघखोर गाउँ पञ्चायतको बैठकले उक्त विवादमा गाउँ पञ्चायत कार्यव्यवस्था नियमावलीमा तोकिएको ढाँचामा फैसला नगरी आफ्नो माइनट बुकमा लेखी निर्णय गरेको देखिन्छ । अर्कोतर्फ गाउँ न्याय समितिमा राय बेग्ला बेग्लै भई निर्णयार्थ गा.पं. बैठकमा पेश भएको प्रस्तुत विवादमा गाउँ न्याय समितिका कुन सदस्यको राय सदर भएको हो निर्णयमा स्पष्टसँग खुल्न सकेको देखिँदैन । यस्तो स्थितिमा पेखू बाघखोर गा.पं. बाट भएको मिति ०४१।२।१ को निर्णय कानुनले तोकेको कार्यविधि अपनाई भएको नभई त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । अब पुनः कानुन बमोजिम निर्णय गर्नु भनी विपक्षी बाघखोर गा.पं.को नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । जानकारीको लागि आदेशको प्रतिलिपि विपक्षी गा.पं.मा पठाई फाइल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हरगोविन्द सिंह प्रधान

 

इतिसम्वत् ०४२ साल ज्येष्ठ ३२ गते रोज ६ मा शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु